कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फोहोरमा जरुरी कडा कानुन

हरेक व्यक्तिले घरमै फोहोर छुट्याएर पुनर्पयोगलाई अनिवार्य गर्नुपर्छ । छोराछोरीलाई यसबारे सिकाउनुपर्छ, नियम नै बनाएर लागू गर्न सक्नुपर्छ ।
दीप्स शाह

देशकै संघीय राजधानी काठमाडौंको बासिन्दा भएपछि यसका राम्रा–नराम्रा पक्षको भागीदार भइन्छ नै । दैनिकीको उपक्रममा, धूलोधूवाँसँग पौंठेजोरी खेल्दै दिनभरि सहरका गल्ली नाप्दै गर्दा अनेकन् दृश्यको साक्षी भइन्छ । अनि सोच्न बाध्य हुन्छु, ‘हामी र हाम्रो’ भावनाबाट हामी निकै टाढा छौं, खास गरी सार्वजनिक सरोकार र सम्पत्तिप्रति ‘हाम्रो’ भन्ने संवेदनशीलता पटक्कै छैन ।

फोहोरमा जरुरी कडा कानुन

प्रविधिले फड्को मारे पनि, सुखसुविधाका केही उपलब्धि देखिए–भोगिए पनि वास्तवमा चेतनाले सम्पन्न हुन हामीलाई अझै समय लाग्ने देखिन्छ । साँच्चै, देशका कुनाकुनाबाट अनेक आशा र भरोसा लिएर आउनेहरूलाई आश्रय दिने हाम्रो सहर यति कुरूप र भद्रगोल किन छ ? प्रकृतिले भरिपूर्ण सहरलाई किन हामी दिन–परदिन कुरूप बनाइरहेका छौं ?

सहरको मुख्य चुनौती फोहोरमैला व्यवस्थापन हो । हामीमध्ये धेरैलाई लाग्छ— यो सहर सफा राख्ने काम स्थानीय सरकारको हो; कम से कम मेरो वा व्यक्तिको होइन; मैले फ्याँकेको फोहोर उठाउने वा व्यवस्थित गरिदिने अर्को कोही छ र हुनु पनि पर्छ । तर, यस्तो सोच गलत हो । हरेक व्यक्ति जिम्मेवार र सचेत हुनुपर्छ, आफ्नो गाउँ–सहर स्वच्छ र व्यवस्थित राख्नलाई । कम से कम भान्साबाट निस्किने फोहोरलाई घरभित्रै प्रशोधन गर्न सक्नुपर्छ, जसका लागि पहिले त त्यस्तो सोच विकास हुनु जरुरी छ । फोहोर गरिसकेपछि, त्यसलाई सफा गर्नुभन्दा फोहोरै नगर्ने वा गरे पनि सुरुआती चरणमै कसरी व्यवस्थापन गर्ने भन्नेबारे प्रत्येक व्यक्ति सजग हुनु जरुरी छ ।

कुनै समय, वातावरणीय स्वच्छता सरोकारको योजना अनुसार विद्यालय–क्याम्पसका माइक्रो–बससहित सार्वजनिक यातायातमा पनि डस्टबिन राखिने कुरो थियो । यो योजना अत्यन्तै जरुरी र उपयोगी भए पनि सर्वसाधारण, सरोकारवालाको चासो र चेतना अनि नियमनकर्ताको अभावमा त्यति प्रभावकारी हुन सकेन । एक दिन कतै जाँदै गर्दा मेरो टाउकामा सहरको नामी मानिने विद्यालयको बसको झ्यालबाट जंक फुडको खोल भुरुरु उडेर आई लाग्यो । नामी भनिने त्यो विद्यालयको वातावरणीय ज्ञान र व्यवस्थापन देखेर दिक्क लाग्यो । बसको पछाडि विद्यालयको सम्पर्क नम्बर थियो । नम्बर डायल गरें, डराईडराई । फोन उठाउने व्यक्तिलाई यो घटना सुनाएँ । उनले ‘सरी’ भन्दै अबदेखि सजग हुने, यात्रामा पनि विद्यार्थीहरूलाई फोहोर डस्टबिनमै हाल्न लगाउने वाचा गरे । यस्ता दृश्य सहरमा सामान्य नै हुन् ।

फोहोरमैला व्यवस्थापनको भयवहतालाई धेरै हदसम्म न्यूनीकरण गर्न सकिन्छ, जसका लागि सानै पहल काफी छ । र, यो पहल हामीले आफ्नै घरबाट सुरु गर्न सक्छौं ।

देशदुनियाँ सुधार्ने ठेक्का लिन नसके पनि हामीले आफ्नो घरपरिवारको जिम्मा लिन त पक्कै सक्छौं । आजैदेखि तोकिएको ठाउँबाहेक कतै पनि फोहोर फ्याँक्दिनँ र मेरो परिवारका सदस्यहरूलाई पनि यही सिकाउँछु भन्ने प्रण गर्नुपर्छ । यति गरे सहर आफैं सफा भैहाल्छ ।

घरघरबाट निस्किने ८० प्रतिशतसम्म फोहोरमैला पुनर्चक्रण गर्न मिल्ने खालका हुन्छन् । कागज, प्लास्टिकका बोतल, फलाम–काठका टुक्राहरू, पुराना लत्ताकपडा कुनै न कुनै तरिकाले पुनर्प्रयोग गर्न मिल्छन्; आफैंले प्रयोग नगरे कबाडीमा बेच्न सकिन्छ । भान्साबाट निस्किने प्रायः फोहोरमैला कुहिने नै हुन्छन्, जसलाई मल बनाउन सकिन्छ । हरेक अभिभावकले यति कुरा मनन गरेर घरमै फोहोर छुट्याएर पुनर्पयोगलाई अनिवार्य गर्नुपर्छ । छोराछोरीलाई यसबारे सिकाउनुपर्छ, नियम नै बनाएर लागू गर्न सक्नुपर्छ । हरेक विद्यालयले पनि आफ्ना विद्यार्थीलाई यति कुरा गुरुमन्त्रजसरी सिकाऔं त, सहरको मुहार फेरिन कत्ति बेर लाग्दैन ।

फोहोर मोहोर पनि हुन सक्छ भन्ने त फोहोरबाटै जैविक मल, कम्पोस्ट मल र बायोग्यास बनाएबाटै सिद्ध भइसकेको छ । सहरमा जनघनत्व बढ्दै गएसँगै फोहोर व्यवस्थापनको समस्या पनि चुलिँदै गएको हो । अहिले नेपालमा लगभग ६५ प्रतिशत नागरिक सहरमा बसोबास गरिरहेको तथ्यांक छ । फोहोरलाई मोहोर बनाउनमा ध्यान दिने हो भने आधा समस्या सल्टिन्छ । बाँकीका लागि, औद्योगिक, स्वास्थ्य संस्था र घरघरबाट निस्किने नकुहिने फोहोरको उचित व्यवस्थापन गर्न सरकारले ठोस योजना, लगानी र प्रविधिको व्यवस्था गर्नुपर्छ ।

सहरबाट निस्किने कुल फोहोरमा २ प्रतिशतजति मात्र अस्पतालजन्य फोहोर हुने गर्छ तर स्वास्थ्य–जोखिमका हिसाबले यो सबैभन्दा भयावह हुन्छ । हुन त, स्वास्थ्य नीति अनुसार अस्पतालजन्य फोहोरलाई संक्रमणमुक्त गरेर मात्रै अरू फोहोरमा मिसाइनुपर्ने हो तर धेरैजसो ठाउँ र अवस्थामा यो नियम पालन भइरहेको छैन । यी र यस्ता, सर्वसाधारणले चाहेर पनि गर्न नसक्ने व्यवस्थापनमा सरकारले कडीकडाउ गर्नु जरुरी छ । अधिकजसो रोग र संक्रमण फोहोरमैला, प्रदूषित पानी र खानपानबाटै हुने हो ।

संसारका विकसित र व्यस्त भनिने सहरहरू फोहोर उत्पादन नभएरै सफा भएका होइनन् । त्यहाँ फोहोर सम्बन्धी कडा र प्रस्ट कानुन छन् । व्यवस्थापनका आधुनिक र वैज्ञानिक प्रविधि छन् । त्यहाँका सरकारी निकायहरू जिम्मेवारीपूर्वक काम गर्छन् र हरेक नागरिक सचेत र जिम्मेवार छन् । सभ्यताको पहिलो सूचक स्वच्छ गाउँ–सहर हो भन्नेमा जानकार छन् । के हामीलाई चाहिँ सभ्य हुनु छैन ?

प्रकाशित : असार २, २०७९ ०७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?