१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८६

दान गरेको रगतमा पनि व्यापार !

प्रत्येक जुन १४ मा विश्व रक्तदाता दिवस मनाइन्छ र यसपालिको नारा हो- ‘रक्तदान कार्यमा ऐक्यबद्धता जनाऔं । जीवन बचाउने अभियानमा सहभागी होऔं ।’ सन् २००४ देखि प्रत्येक वर्ष संसारभरि नै यस्तै नाराबीच विश्व रक्तदाता दिवस मनाउँदै आइएको छ । यो वर्षको नाराले तपाईं हामीलाई पनि रक्तदान कार्यमा कुनै न कुनै कोणबाट ऐक्यबद्धता जनाउन आग्रह गरेको छ ।

दान गरेको रगतमा पनि व्यापार !

जीवन बचाउने कर्म हो यो । रक्तदाताहरूले दिएको रगत आवश्यक पर्ने बिरामीलाई अमृतसरह हुन्छ । दिनप्रतिदिन उपचारका लागि रगत र रगतबाट तयार पारिएका रक्त–तत्त्वहरूको माग बढ्दो छ । पछिल्लो वर्ष हाम्रोमा झन्डै तीन लाख स्वयंसेवी रक्तदाताहरूले रक्तदान गरेको तथ्यांक छ । र, यो संख्या बढ्दो क्रममै छ ।

यो वर्षको नाराले प्रत्येक्ष अभियानमै सहभागी हुनसमेत आग्रह गरेको छ । कुनै न कुनै तरिकाबाट सद्भाव देखाउनु एउटा पक्ष भयो । तर रक्तदान गर्न/गराउन प्रत्यक्ष सहभागिता जनाएर यो क्षेत्रमा आफ्नो समर्पण र अपनत्व जाहेर गर्नु अर्को पाटो । यसरी गरिएको सहयोगले मात्र रक्त व्यवस्थापन र रक्त आपूर्तिमा अहम् भूमिका खेल्छ ।

नेपालले सन् २००६ देखि मात्र रक्तदाता दिवस मनाउन सुरु गरेको हो । यो वर्षको विश्व रक्तदाता दिवसको अवसरमा अन्तर्राष्ट्रिय कार्यक्रम भने मेक्सिकोको राजधानी मेक्सिको सिटीमा हुँदै छ । नेपालमा पनि यसै सन्दर्भमा विभिन्न कार्यक्रम हुँदै छ ।

रक्तदाता दिवस मनाइरहँदा हामीले ध्यान दिनुपर्ने पक्ष पनि निकै छन् । स्वयंसेवी रक्तदाताहरूले दान गरिरहेको रगत र त्यसबाट तयार पारिएका रक्त–तत्त्वहरू प्राविधिक परीक्षण र गुणस्तरको नाममा बिरामीलाई चर्को मूल्य तिर्न विवश बनाइन्छ । यस्तो चलनले स्वयंसेवी रक्तदाताको संख्यामा ह्रास आउन सक्छ । सरकारले यस्तो पक्षमा ध्यान दिनुपर्छ । यसै सन्दर्भमा अघिल्लो दिवसका बेला नेपाल स्वयंसेवी रक्तदाता समाजले गरेको कार्यक्रममा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक रुणा झाले भन्नुभएको कुरा स्मरणीय छ- ‘आगामी पन्ध्रौं राष्ट्रिय स्वयंसेवी रक्तदाता दिवससम्ममा आइपुग्दा तपाईंहरूले उठाउँदै आउनुभएको निःशुल्क रगत र त्यसबाट तयार पारिएका रक्त–तत्त्वहरू निःशुल्क उपलब्ध हुनुपर्ने मागलाई केही हदसम्म भए पनि सम्बोधन हुने कुरामा विश्वास दिलाउन चाहन्छु ।’ तर उहाँकै हस्ताक्षरमा २०७९ वैशाख १९ मा जारी भएको सूचनाले भने हामी समस्त स्वयंसेवी रक्तदाताहरूलाई स्तब्ध बनाइदिएको छ । उक्त सूचनामा स्वयंसेवी रक्तदाताहरूले दान गरेको रगत र त्यसबाट तयार पारिएका रक्त–तत्त्वहरूको मूल्य निर्धारण गरी बजार व्यवस्थापन गर्न खोजिएको छ । ८१० देखि १६४० रुपैयाँसम्मको बजार मूल्य निर्धारण गरी खुलेआम व्यापार गर्ने आधिकारिकता प्रदान गरेको छ । राज्यको निकायका जिम्मेवार व्यक्तिहरू नै आफ्नो अभिव्यक्तिप्रति उत्तरदायी नहुने हो भने जनमानसले अपेक्षा गरेका गतिविधिहरूको व्यवहारीकरणको माहोल कहिले बन्ला ?

निर्देशक झाले आफ्नो अभिव्यक्तिविपरीत काम गर्नुभएको छ, जसको जिम्मेवारी उहाँले लिने कि नलिने ? स्वयंसेवी रक्तदाताहरूले दान गरेको रगतको व्यापारका लागि गरिएको निर्णय गर्नेलाई हदैसम्मको सजायको भागीदार बनाउने कि उन्मुक्ति दिने ? सरकारको जवाफ चाहियो ! स्वयंसेवी रक्तदाताहरूलाई थप उत्साहित र उत्प्रेरित गर्ने/गराउने अवस्था बनाउनतर्फ अग्रसर हुन सकेमा मात्र विश्व रक्तदाता दिवस सार्थक हुनेछ ।

प्रकाशित : जेष्ठ ३१, २०७९ ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?