कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भारतले नदिएको हवाईमार्ग

भारतले नेपाललाई भैरहवा, नेपालगन्ज र महेन्द्रनगरजस्ता वायुमार्ग उपयोग गर्न दिए इन्धन खपत कम हुने, उडान अवधि घट्ने, उडान खर्च बच्ने, हवाई ट्राफिक जाम समस्या हल हुने, यात्रुको समय र पैसा बचत हुने थियो ।

सिमाना भन्नाले सामान्यतः पृथ्वीको सतहमा अंकन गरिएको सीमारेखा हो भन्ने ठानिन्छ । तर अन्तर्राष्ट्रिय सीमा सिद्धान्त अनुसार, दुई देशबीचको सिमाना जमिनको सतहबाट सीधै माथि १ सय किलोमिटरको आकाशीय दूरीसम्म र जमिनभित्र १ हजार २ सय २० किलोमिटरमुनि पृथ्वीको केन्द्रविन्दु अर्थात् पातालसम्म पुगेको मानिन्छ । नेपाल र भारतबीच पनि वायुयान आवागमन गर्ने आकाशीय सीमामार्ग रहेकाले अन्तर्राष्ट्रिय उडान भर्ने हवाईजहाजले जंगे सीमाखम्बाको सीमाविन्दुले सोझै माथि वायुमण्डलमा बनाएको नेपालको आकाशीय सीमारेखाभित्र प्रवेश गर्नुभन्दा पहिले नै हवाईजहाजभित्र जडान गरिएका सञ्चारमाध्यमद्वारा नेपालको नागरिक उड्डयन निकायसँग अनुमति लिइसक्नुपर्छ ।

भारतले नदिएको हवाईमार्ग

यसै गरी भारतीय नागरिक उड्डयन निकायले तोकिएको आकाशीय सीमानाकाबाट वायुयानलाई नेपालको वायुसीमाभित्र पस्न निर्देशन दिन्छ । यसबाट आकाशीय सीमामार्गमा नियमन (रेगुलेटेड) सीमा पद्धति रहेको बुझ्नुपर्छ, जबकि नेपाल र भारतको स्थलमार्गमा खुला सीमा व्यवस्था छ ।

वायुयान मार्ग

नेपाल–भारत वायुयान मार्ग रेगुलेटेड व्यवस्था अन्तर्गत चलेको छ । भारतको आकाश भई नेपालको आकाशभित्र वायुयान जहीँतहीँबाट पस्न र निस्कन सक्ने अर्थात् खुला पद्धतिको छैन अनि बन्द पद्धतिको पनि होइन । नेपालको सिमानाभित्र सबै अन्तर्राष्ट्रिय उडान बारा जिल्लाको कलैयादक्षिणको जंगे सीमाखम्बा नम्बर ६५ ले आकाशमा अंकित गर्ने २६ डिग्री ५० मिनेट उत्तरी अक्षांश र ८५ डिग्री ५ मिनेट पूर्वी देशान्तरको नाकाबाट पस्ने गर्छन् । निस्कँदाचाहिँ भैरहवा र महेन्द्रनगरको आकाशमार्ग पनि समात्न सक्छन् ।

नेपालको दोस्रो अन्तर्राष्ट्रिय स्तरको गौतम बुद्ध विमानस्थल जेठ २ देखि सञ्चालनमा आएको छ । पश्चिमका देशतर्फबाट आउने वायुयानहरू इस्तान्बुल, दोहा, काबुल, इस्लामाबाद, राजस्थान, दिल्ली उत्तर, लखनउ हुँदै कलैयादक्षिणबाटै नेपाल भित्रिन्छन् । गौतम बुद्ध विमानस्थलमा अवतरण त्यस्ता वायुयानलाई पूर्वको कलैया हवाईमार्गबाट नेपाल पसी घुमेर त्यहाँ पुग्नुपर्छ । भारतले लखनउबाट सीधै नेपालको गौतम बुद्ध विमानस्थलतर्फको भैरहवा वायुमार्ग उपयोग गर्न दिए हवाई उडान २० मिनेट छोटो हुने थियो । यसै गरी दिल्लीबाट काठमाडौं आउने भारतीय यात्रुवाहक विमानलाई नेपालगन्जको वायुमार्ग भएर पस्न दिइए भारतीय यात्रुहरूलाई खर्च सस्तो पर्ने थियो । यस्ता आकाशमार्ग उपयोग गरिए इन्धन खपत कम हुने, उडान अवधि घट्ने, उडान खर्च बच्ने, आकाशमै विमान होल्ड गर्नुपर्ने बाध्यता हट्ने, हवाई ट्राफिक जाम समस्या हल हुने, यात्रुको समय र पैसा बचत हुने थियो ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी छघण्टे कार्यक्रममा हालै लुम्बिनी आउँदा दिल्लीबाट ठूलो हवाईजहाजमा कुशीनगर उत्रेर त्यहाँबाट हेलिकप्टरमा चढेका थिए । दिल्लीबाट उडेको उनको वायुयान सीधै किन गौतम बुद्ध विमानस्थलमा ल्याइएन, अथवा कलैया हवाईमार्ग भएर उनको वायुयान किन भैरहवातर्फ ल्याइएन भन्ने जिज्ञासा नेपाली जनमानसमा उब्जेको छ ।

नेपालको अनुरोध

नेपालले भैरहवा, नेपालगन्ज र महेन्द्रनगर भएर अन्तर्राष्ट्रिय विमानलाई नेपालको आकाशभित्र पस्ने अनुमति दिन भारतलाई बारम्बार अनुरोध गरेको थियो । पर्यटनमन्त्री प्रेमबहादुर आलेले २०७८ चैत १० मा आफ्ना भारतीय समकक्षी ज्योतिरादित्य सिन्धियासँग हैदराबादमा भएको विङ्स इन्डिया–२०२२ सम्मेलनमा यस्तो प्रस्ताव राखेका थिए । यसबारे गृहकार्य गरी अनुमति दिने जवाफ आएको थियो । तर अहिलेसम्म भारतले कुनै गृहकार्य नगरेकाले, लाजगाल बचाउन मोदीको वायुयान सीधै लुम्बिनी नल्याइएको हुन सक्ने उड्डयनविद्को भनाइ छ । तर, मोदीको सुरक्षा प्रबन्ध मिलाउन आएका ३० जना भारतीय सुरक्षाकर्मीको डफ्फाचाहिँ हवाईजहाजबाट कलैयाको आकाशमार्ग हुँदै गौतम बुद्ध विमानस्थलमा उत्रेको थियो ।

लुम्बिनीमा प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी मोदीसँग गौतम बुद्ध विमानस्थल सुरु भइसकेको स्मरण गराउँदै भैरहवा, नेपालगन्ज, महेन्द्रनगरमा थप हवाई प्रवेश रुट उपलब्ध गराउन आग्रह गरेका थिए । देउवाको प्रस्तावमा मोदीले सम्बन्धित भारतीय अधिकारीले यसबारे गम्भीरतापूर्वक छलफल गर्ने आश्वासन दिएका थिए । देउवाले चैत १९ देखि गरेको भारत भ्रमणका अवसरमा भएको औपचारिक वार्तामा पनि हवाई रुट अनुमतिका लागि आग्रह गरेका थिए । तर अहिलेसम्म छलफल गर्ने आश्वासन दिनेबाहेक कुनै काम भएको छैन । यो वायुमार्ग दिन भारतले किन आनाकानी गरिरहेको छ ? यसमा भारतले किन अप्ठेरो मानेको हो ? सोचनीय छ ।

सामान्यतया, सैन्य किल्ला, आणविक अध्ययन अनुसन्धान केन्द्र, प्राकृतिक तथा सांस्कृतिक महत्त्वजस्ता संवेदनशील स्थानमाथिको आकाशमार्ग अरूलाई उपयोग गर्न नदिइने प्रचलन छ । तर भारतको लखनउबाट भैरहवा र राजस्थान भएर महेन्द्रनगर आउने वायुमार्गमा त्यस्ता सुरक्षाचासोका संवेदनशील स्थान छैनन् । अर्कातर्फ, त्यही आकाशमार्ग भएर नेपालबाट भारततर्फ जाने हवाईजहाजलाई रोकिएको छैन । जान दिने, आउनचाहिँ नदिने भारतीय परिपाटी युक्तिसंगत देखिँदैन । गौतम बुद्ध विमानस्थल चिनियाँ कम्पनीले बनाएकाले भारतले आकाशमार्ग दिन आनाकानी गरेको र मोदीको विमान नल्याइएको भए यसलाई एउटा असल विचार मान्न सकिँदैन ।

कान्तिपुर दैनिकको जेठ ३ को अंकमा उल्लेख भए अनुसार, मोदीले लुम्बिनी तीर्थाटनका क्रममा भनेका थिए, ‘नेपाल–भारत सम्बन्ध हिमालझैं अटल छ । दुवै मुलुक मिलेर आपसी सम्बन्धलाई हिमालको जस्तै उचाइ दिनुपर्छ । अब हाम्रो सम्बन्धलाई विज्ञानसित जोडेर अगाडि बढाउन सकिन्छ, यसका लागि भारत काँधमा काँध मिलाएर सघाउन तयार छ । मायादेवी मन्दिर दर्शनको अवसर मेरा लागि अविश्वसनीय हो, मानवका रूपमा भगवान् बुद्धले जन्म लिएको स्थानमा टेक्न पाएकोमा हर्षित छु ।’ भारतका सरकार प्रमुखको यस्तो अभिव्यक्ति आउँदा–आउँदै पनि नेपालले गौतम बुद्ध विमानस्थलमा उत्रने छोटो आकाशमार्ग पाउन सकेको छैन । किन यस्तो कन्जुस्याइँ गरिएको होला ? यसबाट नेपाल–भारत सम्बन्ध मोदीले भनेजस्तो साँच्चै उचाइमा पुग्नेमा सन्देह उत्पन्न हुन्छ ।

अर्कातर्फ, भारतले ‘अरुण–४ अर्धजलाशययुक्त जलविद्युत् आयोजना’ नेपाल–भारत संयुक्त रूपमा निर्मार्ण गर्ने सम्झौतामा हस्ताक्षर गराइछाड्यो । जबकि भारतीय सहयोगको अरुण–३ जलविद्युत् आयोजना पूरा हुन अझ निकै वर्ष कुर्नुपर्छ । भारतले माग्नेबित्तिकै नेपालले दिने, नेपालले भने पटकपटक अनुनय–विननय गर्दा पनि भारतले आकाशमार्गको अनुमति दिने छाँट छैन । त्यसैले मोदीको ‘भारत काँधमा काँध मिलाएर नेपाललाई सघाउन तयार छ’ भन्ने भनाइ सार्थक होला भनी नेपाली जनताले पत्याएका छैनन् ।

सीमा मामिला

प्रधानमन्त्री देउवाको भारत भ्रमण र मोदीको लुम्बिनी भ्रमणका अवसरमा नेपाल र भारतबीच काँचै रहेको सीमा समस्याको उठान हुन्छ कि भनी नेपाली जनताले आशा राखेका थिए । नेपाली सञ्चारमाध्यमहरूले पनि यसको आवश्यकतालाई लिएर समाचार सम्प्रेषण गरेका थिए । तर खास वार्ताको तहमा आउन सकेन ।

भारतका विदेशसचिव विनयमोहन क्वात्राले वैशाख ३० मा पत्रकार सम्मेलनका क्रममा ‘सीमाका विषयमा हल निकाल्न परराष्ट्र सचिवस्तरीय द्विपक्षीय संयन्त्र रहेको र यस विषयलाई थप राजनीतीकरण नगर्न’ आग्रह गरेका थिए । यस्तो आग्रह पहिलेदेखि नै गरिँदै आएको छ ।

२०७७ मंसिर ११ मा भारतका तत्कालीन विदेशसचिव हर्षवर्धन शृंगलाको नेपाल भ्रमणका बेला दुवै देशका परराष्ट्र सचिवस्तरीय बैठकमा ‘नेपालले जारी गरेको राजनीतिक नक्सा कालापानी–सुस्ताको विवादास्पद भूभागबारे सम्बद्ध मन्त्रालय तथा निकायबीच छलफल सुरु गर्ने आपसी समझदारी बनेको थियो । सीमा समस्यालगायत दुई देशबीच जेजति बाँकी विषय छन्, तिनलाई पनि समाधान गर्दै जाने र त्यसका लागि प्रक्रियामा राखेर अघि बढ्ने’ विषयमा पनि छलफल भएको थियो ।

पछिल्लो भारत भ्रमणका बेला प्रधानमन्त्री देउवाले सीमा समस्या द्विपक्षीय संयन्त्रमार्फत समाधान गरौं भन्ने प्रस्ताव राख्दा मोदी यसबारे केही बोलेनन् । तथापि लगत्तै गरिएको पत्रकार सम्मेलनमा भारतका तत्कालीन विदेशसचिव शृंगलाले सीमाका सम्बन्धमा प्रधानमन्त्री देउवाले आफ्नो भनाइ राखेको पुष्टि गर्दै भनेका थिए, ‘यस मामिलामा संक्षिप्त रूपमा छलफल भएको थियो । दुवै पक्षले यसलाई वार्ताका माध्यमले जिम्मेवारीपूर्ण रूपमा सम्बोधन गर्नुपर्छ भनेर आम समझदारी भयो । हाम्रो निकट र मैत्री सम्बन्धको भावनामा सीमा विवाद समाधान गर्नुपर्छ, यस्ता विषयलाई राजनीतीकरण गर्नु हुन्न ।’ विदेशसचिव शृंगलाले अझ थपेका थिए, ‘दुई मुलुकले समस्या समाधानका लागि मित्रवत् बाटो खोज्नेमा शंका छैन । दुई छिमेकी मित्रराष्ट्रहरूबीचको महत्त्वपूर्ण पक्ष भनेको आपसमा छलफल गरेर समस्या समाधान गर्न सक्नु हो । हामीेले यसरी नै बंगलादेशसँग सीमा समस्या समाधान गरेका छौं । नेपालसँग पनि हाम्रा केही सम्बन्ध छन् । यस विषयलाई अघि बढाउन जिम्मेवार छलफल र वार्ताका लागि हामी गम्भीर छौं ।’

समाधान

भारतले सीमा मामिला समाधानबारे आफू जहिल्यै वार्ताका लागि गम्भीर रहेको सन्देश त दिने गरेको छ तर नेपालले वार्ताका लागि पाँच पटक कूटनीतिक नोट पठाए पनि कार्यान्वयनको सकारात्मक जवाफ नदिने परिपाटी अहिलेसम्म यथावत् छ । हवाईमार्ग दिने सम्बन्धमा पनि गम्भीरतापूर्वक छलफल गर्ने आश्वासन दिने, तर त्यस्तो वाचा कहिल्यै पूरा नगर्ने परम्परा चलिरहेकै छ ।

एकातिर नेपाल–भारत सीमा समस्या समाधान गर्ने संयन्त्रले काम सुरु गर्न सकेको छैन भने, अर्कातिर आकाशमार्ग दिन भारत हिचकिचाइरहेको छ । भारतीय प्रधानमन्त्री मोदीले ‘दुई देशबीचको आपसी सम्बन्ध हिमालझैं अटल राख्न, हिमालको जस्तै उचाइमा पुर्‍याउन’ नेपाललाई आवश्यक पर्ने आकाशमार्ग उपयोग गर्न दिनमा ढिलाइ गर्नु हुन्न ।

प्रकाशित : जेष्ठ २७, २०७९ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?