कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भत्काउनै जन्मेकाहरू

महेन्द्र पी‍. लामा

दार्जिलिङको टर्नबुल हाइस्कुलमा अल्बर्ट मुखिया सरले नैतिक शिक्षा (मोरल साइन्स) पढाउँथे । चरित्र, प्रकृति, विज्ञान, इतिहास, परिवार, समाज, विकास, राजनीति सबैलाई समेटेर मीठो उदाहरण दिँदै नैतिकतालाई मानव जीवनको ठूलो उपहार हो र यसदेखि बाहिर केही गर्नु हुँदैन भन्थे ।

भत्काउनै जन्मेकाहरू

प्रकृति–मानव–समाज संहारबारे बोल्दै उनले एक दिन भने, ‘यिशु मसिह, प्रोफेट मुहम्मद, भगवान् बुद्ध, राम–सीता, लक्ष्मी–सरस्वती–दुर्गा र महावीरहरू सबै केही दिन, अझै बनाउन, शान्ति र सद्भावना अघि ल्याउन जन्मेका थिए । तर केटा हो, कोही व्यक्तिहरू भने भत्काउनैका लागि जन्मेका हुन्छन् ।’ यो कुरो धेरै गहिरो रहेछ, कलिलो उमेरमा मनमा छाप त बस्यो, सायद बुझ्न सकेनौं । गत छ दशकमा, मुखिया सरले श्रेणी/कक्षामा भनेका कुराहरू भने छ्यापछ्याप्ती देख्यौं । साँच्चै कोही मानिस नष्टभ्रष्ट गर्ने चरित्र–शक्ति–सोच लिएरै जन्मेका हुँदा रहेछन् । कोही आफ्नो जीवनकालको आधा बैंसमा यो क्षयरोगले संक्रमित हुँदा रहेछन् । कसैले सीधै भत्काइदिँदा रहेछन्, कसैले नदेख्ने प्रकारले त कसैले बनाइटोपलेर पनि भत्काइदिँदा रहेछन् । फेरि कसैले परिवार–समुदाय–समाज नै सर्वनाश गर्दा रहेछन् । कसैले भने राष्ट्र विनाशमाथि आँखा गाड्दा रहेछन् । अर्कातिर कसैले प्रकृति नै खर्लप्प खाने गरी, प्राकृतिक सबैमा आक्रमण गर्दा रहेछन् । अझै भयानक त भत्काउने प्रक्रियामा खप्पिसहरूले त समाज–समुदाय–राज्य–सरकार चल्ने प्रणाली (सिस्टम) नै स्वाहा पारिदिँदा रहेछन् । भत्काउने मानसिकतामा परिपक्वता हासिल गरेकाहरूले भने प्रत्यक्ष रूपमा संघ–संस्थाहरूलाई ध्वंस पारिदिँदा रहेछन् । संस्थाहरू नै खत्तम पारिदिएर, मानिस–समाज भेला भएर विरोध गर्ने आधार नै भत्काइदिएर एक्लै सर्वशक्तिले उन्मत्त हुन पाउने वातावरण खोज्दा रहेछन् ।

भत्काउने प्रकृति र शक्ति भएकाहरूका हूल, बथान, समूहबारे कैयन् पुस्तक लेखिएका छन्, अन्वेषणसम्म गरिएका छन् । कसैले रिसले भत्काउँछन्, कसैले ईर्ष्या र घमन्डले त फेरि कसैले आफ्नो तल्लो दर्जाको अक्षमता र कमजोरी लुकाउन समाज–राष्ट्रलाई प्रलयको दिशातर्फ घचेट्दा रहेछन् । केही पुस्तकमा त मोज–मज्जा–सम्भोगका निम्ति पनि भत्काउने चरित्रहरू भेट्टाइएका छन् । भनिन्छ, चीनमा सांस्कृतिक क्रान्ति र त्यसको अघिपछिको अवधि (सन् १९४३–७६) मा माओ त्सेतुङले ७ करोडभन्दा बढी आफ्नै देशवासीलाई मारे । जर्मनीका एडोल्फ हिटलरको क्रूरताबारे आत्मा नै रुने घटनाहरू छन् जसअन्तर्गत १.७ करोड मानिस स्वाहा भए । कम्बोडियामा पोल पोटले सन् १९६३–८१ को अवधिमा लगभग १७ लाख मानिसको संहार गरेको मानिन्छ । अर्कातिर, दोस्रो विश्वयुद्धको खलनायक जापानका प्रधानमन्त्री (सन् १९४१–४४) हिदेकी तोजोले चीन–कोरिया–बर्मा–भारत र अन्य एसियाली राष्ट्रहरूमा ५० लाख मानिस मारेपछि नै अमेरिकाले जापानका हिरोसिमा–नागासाकीमा एटम बमको प्रहार गरेर लाखौं जापानीलाई लथालिंगै पारिदियो । रुसमा जोसेफ स्टालिनले सन् १९२२–५३ को अवधिमा २ करोडभन्दा बढी नै मानिसको संहार गरे । उता उत्तर कोरियामा आफ्नै नेता किम इल–सुङले सन् १९४८–९४ बीच १६ लाख कोरियालीको नामोनिसान राखेनन् । मानव संहार एकापट्टि, प्राकृतिक–वैकासिक–संस्थागत विध्वंस अर्कापट्टि । विश्व नै विचलित र शोकाकुल बनेको थियो । यसरी नै, राष्ट्रिय सुरक्षा र हितका नाममा आफूलाई अर्को राष्ट्र भत्काउनमा संलग्न गराउनेमध्ये प्रथम दर्जामै अमेरिका आउँछ । के गरेन अमेरिकाले ? गत केही दशकमा मात्रै भियतनाम, इराक, अफगानिस्तान आदिमा हमला गरेर मानव संहार गरेसँगसँगै ती राष्ट्रहरूलाई नै दिशाहीन बनाइदियो ।

संस्थाहरू बसाउन, बनाउन र प्रभावशाली बनाउन दशकौं लाग्छ । मानिस मरेर जान्छ तर संस्थाले पिँढी–पिँढीलाई जोड्छ । संस्थाले विकास, यश, ब्रान्ड, ज्ञान, कोष ल्याउँछ र विश्वसँगको आदानप्रदानको जग बसाल्छ । अर्थात्, संस्थाहरूले व्यक्तिहरूभन्दा धेरै माथिको स्थान–दर्जा ओगट्छन् । संस्था नै नभएको समाज–राष्ट्र भीरको चिन्डोझैं उँधो न उँभो हुन्छ । राजनीतिक–आर्थिक, सामाजिक–शैक्षिक, स्वास्थ्य–कानुन, खेलकुद–साहित्य, विज्ञान–पर्यावरण सबै क्षेत्रमा संस्थाहरू नै हावी भएकाले नै विकसित राष्ट्रहरू उकालो लागे । भारतलाई पनि अंग्रेज उपनिवेशवादी सरकार र स्वतन्त्र भएपछि भारत सरकारले निर्माण गरेका संस्थाहरूले नै धेरै अघि बढाए । धेरै भत्काउनेहरूले संस्थामा आँखा लगाउँदा रहेछन् । संस्था बनाउन गाह्रो तर भत्काउन सहज । अझै संस्थाभित्रै सर्वोच्च स्थानमा बस्ने व्यक्तिलाई कसैले थाहै नपाई संस्थाका अंग–प्रत्यंग तोड्न र गतिहीन बनाउन त अझै सहज ।

उदाहरणहरू आँखाकै अघि पर्याप्त छन् । भारतको दिल्लीस्थित विश्वप्रसिद्ध जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयू) लाई एउटै व्यक्तिले भत्काउने र भस्म पार्ने यति दुष्प्रयास गरे, जसको वर्णन गर्न कैयन् वर्ष लाग्ला । जेएनयुले प्रधानमन्त्री, विदेशमन्त्री, रक्षामन्त्री, वित्तमन्त्रीलगायत विभिन्न राष्ट्रका अनेकन् नीतिनिर्धारकहरू जन्मायो । पचास वर्षको छोटो अवधिमै जेएनयूले कुलपति, बैंकका प्रमुख, राजदूत, प्रशासक, वैज्ञानिक, पत्रकार, विशेषज्ञ आदि झुन्डका झुन्ड जन्मायो । नोबेल पुरस्कारसम्म पाए यही विश्वविद्यालय पढेका एक विद्यार्थीले । जेएनयूका विद्यार्थीहरू जहाँ गए पनि चम्किने, उदीयमान, कटिबद्धता र सिद्धान्तमा कायम, लगनशीलताले भरिपूर्ण । भारत सरकारका कैयन् मन्त्री र सचिवहरू, राज्य सरकारका मन्त्री र मुख्य सचिव अनि पुलिस प्रमुखहरू, विश्वका विभिन्न संस्था, वर्ल्ड बैंक र नामी विश्वविद्यालयहरू सबैमा जेएनयूका विद्यार्थी–शिक्षकहरू नै अघि । एउटा सिंगो व्यक्ति जेएनयूको इतिहास, आत्मा र सग्लोपनलाई निमोठेर स्वाहा नै पार्छु भन्ने धृष्टता अघि राख्दाराख्दै कसरी बदनामीको डोकामा पसे ! अति नै चिन्ताजनक अवधि थियो त्यो । के गरेनन् उनले ? भारतमा विद्यार्थी नपाएर इन्जिनियरिङ र म्यानेजमेन्टका कैयन् कलेज बन्द भइरहेको समयमा जेएनयूमा यी नचाहिँदा विषयहरूका स्कुल–विभागहरू खोलिए । आज विद्यार्थी–शिक्षक दुवैको बिल्लीबाठ ! कारण, बुनियादी सुविधाहरू नै छ्रैनन् यी नचाहिँदा विभागहरूका निम्ति । कहाँ उच्च शिक्षामा विश्व–यश हासिल गरेको जेएनयू, कहाँ पहिल्यैदेखि चारैतिर चना–मटरजस्तै पाइने इन्जिनियरिङ र म्यानेजमेन्टका विषयहरू ! जेएनयूको एउटा सग्लो एवं अनुकरणीय परम्परा— शिक्षक र विद्यार्थी कसैले पनि दैनिक रूपमा कक्षा–कार्यालयमा हाजिरी दर्ता गर्नुपर्दैन । सबैले आआफ्ना जिम्मेवारी नैतिकता र निपुणतासाथ पूरा गर्ने प्रथा । उडेरै आएका ती व्यक्तिले सायद ईर्ष्याले नै होला, विद्यार्थी–शिक्षकलाई दैनिक रूपमा हाजिरी लगाउन आदेश दिए । तर कहाँ–कसरी भन्ने कुरो अत्तोपत्तो भएन । हाजिरी नलगाउने शिक्षकले आधिकारिक छुट्टी नपाउने रे, विद्यार्थीले यो–त्यो नपाउने रे ! यो थोत्रे नियम पनि जसरी सुरु गरियो, त्यसरी नै हराएर गयो । देश–विदेशमा अन्वेषण कार्य, सेमिनार आदिमा भाग लिन जानुपर्ने शिक्षकहरू आधिकारिक बिदाका लागि, हवाईअड्डा पुग्नुभन्दा चार घण्टाअघिसम्म रोकेर राखिने भए । अर्थात्, सताउनु र अन्योलमा पार्नु नै उनको एकलौटी ध्येय । कारण, बिदाको आवेदनपत्रमा उनकै हस्ताक्षर र आदेश हुनुपर्ने ।

कोभिड–१९ महामारीले दिल्ली–भारत–विश्व नै भयानक रूपमा रुमलिएको समय पनि विश्वविद्यालयको क्याम्पसमा कुनै बुनियादी स्वास्थ्य सुविधा खोल्नै दिएनन् । विश्वविद्यालयका शिक्षक आदि दिल्ली उच्च न्यायालयसम्म जानुपर्‍यो । सबैले आफ्नै खल्तीबाट पैसा उठाएर काम चलाउन थाले । कुनै पनि शिक्षक आफ्नो सरकारी घर छोडेर जान नसक्ने भए किनकि विश्वविद्यालयमा सुरक्षाकर्मीको यति कमजोर र दयनीय झुन्ड ल्याइयो कि घर छोड्नासाथ चोरी हुन थाल्यो । यस्तो हत्तपत्त भएकै थिएन । धेरै शिक्षकले जीवनभरिको संकलन–सम्पत्ति गुमाए । स्कुल र विभागका प्रमुखहरूमा वरिष्ठतालाई आधार मानिने परम्परागत र प्रभावशाली प्रथालाई रातारात परिवर्तन गर्दै, वरीयता क्रममा धेरै तलकालाई नियुक्ति दिन थालियो । हाहाकार भयो विश्वविद्यालयमा, एउटा विभागको तलतिरको वरीयता भएको शिक्षकलाई अर्को विभागको प्रमुख नियुक्त गरिँदा । अर्कापट्टि, कक्षा–श्रेणी–पाइखाना–बाटो–बिजुली–पानी–विद्यार्थी आवासको देखरेख नहुँदा क्याम्पस नै आलसतालस भयो । विश्वविद्यालयले कहिल्यै नसोचेका र नदेखेका हिंसात्मक कुराहरू भए । विद्यार्थी–शिक्षकहरू कुटपिट–चोट–मर्काका सिकार भए । विश्वविद्यालयको अति घतलाग्दो प्रणाली नै स्वाहा बनाइयो । विश्वविद्यालयको नाइकेलाई पत्र लेख्दा कहिल्यै जवाफ नआउने भयो । शिक्षकहरूले भित्री पत्राचारका निम्ति पनि पोस्ट अफिस गई रजिस्ट्री पत्र पठाउन थाले, पत्राचारको रेकर्ड राख्नलाई । विश्वविद्यालय क्याम्पसको एकदुई सय मिटरको सानो बाटोलाई पनि भारतका गण्यमान्य व्यक्तिहरूका नाममा राखिँदा हामी अवाक् मात्रै बनेनौं, लाज मान्नुपर्ने भयो । विश्वले मानेका भारतका प्रधानमन्त्री अटल बिहारी वाजपेयीलाई समेत कहिल्यै अघि नबढ्ने म्यानेजमेन्ट स्कुल–विभागसँग जोडिदिए । जो शिक्षकले बोल्यो र विरोध गर्‍यो, उसको विरोधमा प्रोटेस्ट, पुलिस थानामा प्राथमिकी दर्ता र सेवानिवृत्त भएकाहरूको पेन्सन–ग्राच्युइटीमा रोक । मार्च २०२० मा कोरोना महामारीको प्रथम लकडाउन सुरु हुनुअघि विश्वविद्यालय लगभग ७० दिन बन्द रहेर भर्खर खुल्न लागेको थियो । त्यसको अर्थ हो, पछिपछिको लकडाउनसमेत गर्दा, विश्वले मानेको विश्वविद्यालय लगभग दुई वर्ष नै बन्द रह्यो । विद्यार्थीहरूको स्ट्राइक–बन्दलाई तोड्न विश्वविद्यालयले विभाग– स्कुलका ढोकाहरूसमेत भत्काएर लग्यो । र पनि कोही शिक्षक र विद्यार्थी भित्र गएनन् । यति भीषण अनि गहिरो विरोध क्याम्पसले कहिल्यै देखेको थिएन, केवल एउटै व्यक्तिका कारणले । न उनले सुन्न मान्थे न बुझ्न, समाधानतिर जाने त कुरै थिएन । लकडाउन अवधिमा पढाउनलाई न विश्वविद्यालयले कुनै सुविधा दियो न नियम नै बनायो । छताछुल्लै भयो, व्यवस्थाहीन–दिशाहीन भयो यति यशस्वी संस्था । यति न्यायपूर्ण र त्रासदीपूर्ण समयमा विश्वविद्यालयले आफैं सेमिनार गर्न थाल्यो । एउटा सेमिनारको शीर्षक थियो- ‘क्रिम अफ कोरोना भाइरस’ अर्थात् कोरोना भाइरसको तर । हामी हास्यौं । विश्वविद्यालय परिचालन गर्ने एकेडेमिक काउन्सिल, एक्जिक्युटिभ काउन्सिलको अभूतपूर्व रूपमा दुरुपयोग गरियो, आफ्नै शिक्षक–विद्यार्थीविरुद्ध । भत्काएरै गए, लथालिंगै पारेर गए । स्कुलमा मुखिया सरले भनेका कुराहरू मेरा कानमा बारम्बार बज्न थाले ।

सिक्किममा प्रथम राष्ट्रिय विश्वविद्यालयको संस्थापक कुलपति भएर यो संस्था निर्माण गर्दाको अनुभव पनि घतलाग्दो छ । धर्को पनि कोरिएको थिएन, हामीले यो विश्वविद्यालय बनाउने कार्य सुरु गर्दा । फाउन्टेन पेन, टेबल, कम्प्युटर, टेलिफोन, इन्टरनेट केही थिएन । एकएक गर्दै जोड्यौ र सन् २००७–२०१२ को अवधिमा राष्ट्रले मानेको विश्वविद्यालय बनायौं । पहाड–पर्वत–समाज–समुदायलाई सुहाउने विषयहरू, वैज्ञानिक ढाँचाले छोएको प्रशासन–व्यवस्थापन, सम्पूर्ण भारतका विद्यार्थीहरूभित्र पनि स्थानीय विद्यार्थीहरूको बहुसंख्या, भारत सरकार र विश्वका अनेकन् संस्थाहरूसँग सहकार्य, चारैतिरका उदीयमान शिक्षकहरूको उपस्थिति अनि नयाँनयाँ कार्यक्रमहरू । विश्वविद्यालय बन्न सुरु भएको २८ महिनामै भारतका राष्ट्रपति नै प्रथम दीक्षान्त समारोहका मुख्य अतिथि । दूरदर्शन र पुनाको फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युटले भारतको अर्को पिँढीको मोडल विश्वविद्यालय भन्दै दुइटा फिल्म नै बनाएर चारैतिर देखाए । प्रथम पटक सेमेस्टर सिस्टम र क्रेडिटमा आधारित परीक्षा प्रणाली । स्थानीय कलेजहरूलाई उच्च शिक्षा रूपान्तरण कार्यमा गहिरो रूपमा संलग्न गरियो ।

तर यो कलिलै विश्वविद्यालयलाई पनि भत्काउनमा आतुर थिए कोहीकोही । राज्यकका ‘ठूलै’ व्यक्तिले विश्वविद्यालयलाई क्षति पुर्‍याउने नग्न कामहरू नियमित ढंगमा गरे । जमिन दियौं, लैजाऊ भनेर चिठी आयो! जमिन लिन जाँदा स्थानीय बासिन्दाको एउटा पोकोलाई विश्वविद्यालयका अधिकारीहरूलाई पिउने पानी पनि नदिनू भन्दै विरोध गर्न लगाए । विश्वविद्यालयले जमिनदाताहरूलाई भारु १५ करोड दिएपछि पनि अफवाह फैलाउँदै जमिनै दिइएन । विश्वविद्यालयको सर्वोच्च एक्जिक्युटिभ कमिटीले अब विश्वविद्यालय अर्को राज्यमा सार्नुपर्छ भन्ने प्रस्ताव पारित गरेपछि मात्रै जमिन दिइयो (जमिन नदिनुका भित्री कारणहरू पछि लेखुँला) । नचिनेका विद्यार्थीहरूलाई राजनीतिक पार्टीका सदस्यहरूसँग मिलाई विरोध गराउने प्रयास जारी रह्यो । प्रोटेस्ट गर्ने कारण नै थिएन । प्याक लन्च र मिनरल वाटर बोकेर तिनीहरूले प्रोटेस्ट गर्दा हामी हास्थ्यौं । जासुसहरू चारैतिर फ्याँकेका थिए । हामीलाई के खाँचो ! तर ती ‘ठूलै’ मान्छेको चरित्र र इतिहास सबैलाई थाहा थियो । तिनले भत्काउनमा निपुणता हासिल गरेका तथ्यहरू थाहा थियो । केही वर्षअघि मात्रै ठीकसँग सल्लाह नगरीकनै सिक्किमका पवित्र नदीहरू टिस्टा र रंगीतमा बीभत्सता ल्याउने गरी जलविद्युत् विकासार्थ कहिल्यै नसुनिएका निजी कम्पनीहरूलाई निम्त्याएर निर्माण कार्य सुम्पिएका थिए । भयानक विरोध भयो, यस्तो विकास सिक्किमलाई कहिल्यै चाहिएकै थिएन । त्यो किन ल्याइयो, के सर्तमा ल्याइयो, के व्यवस्था थियो भनी तिनताकका राज्य योजना आयोगका वरिष्ठ सदस्यहरूले सोद्धा केही जवाफ नै दिन सकेनन् र बारम्बार योजना आयोगले प्रश्न उठाउँदा योजना आयोगलाई नै कुनै नोटिस–अर्डरबिनै नकारेर अर्को मिल्ने योजना आयोग बनाएका थिए । यसले सिक्किममा प्रथम पटक विकासलाई व्यक्तीकरण गरिएको छर्लंग पार्‍यो । एकएक गरी संस्था र सिस्टम भत्काएपछि, जनसमूह विकास खोज्न एउटै व्यक्तिकामा जाने भए । व्यक्ति बलियो भयो, संस्थाहरू तोडिए र जनआवाजविहीन भए । सिक्किम विश्वविद्यालयलाई यस किसिमको सोच र प्रवृत्ति पटक्कै मान्य थिएन । कारण, संस्था व्यक्तिभन्दा धेरैमाथिको कुरो हो । विश्वविद्यालय व्यक्तीकरण र ध्वंसकरणको विरोधमा डटेरै लड्यो । आज ती ‘ठूलै’ व्यक्ति कहाँ गएगए, समाज–युवाहरूको भविष्य बनाउने संस्था भने जीवित र सर्वविदित छ ।

अभाग्यवश, सिक्किम विश्वविद्यालयमा पनि जेएनयूमा झैं भत्काउने सोच भएका व्यक्ति पसेछन् र ध्वंसको बिगुल फुकी फर्केछन् पनि । विश्वविद्यालयका संस्थापक शिक्षक र विद्यार्थीहरूले भित्रैबाट भत्काइने प्रयासका यी घटनाहरू यथेष्ट र त्रासदीपूर्ण ढंगमा अघि ल्याएका छन् । संस्थाका अगुवाले नै, बुझेर हो वा अरू कारणले, आठ–दसवटा विश्वविद्यालयको जरा काट्ने काम गरे रे ! प्रथम, सर्वभारतमा हुने एडमिसन टेस्टलाई लोकल मात्रै बनाइएपछि कक्षामा होडबाजीको वातावरण नै स्वाहा भयो । विश्वले मन पराएका विषय विभागहरू भत्काइए अरे । पहाड–पर्वत–समाज–समुदायका हितमा अघि ल्याइएका एक्नो–बोटनी र सोसियल मेडिसिनको विभागलाई केवल बोटनी बनाउँदा, विद्यार्थीहरू अवाक् भए रे ! सेमेस्टरको नाम वसन्त (स्प्रिङ) र हिउँद (विन्टर) हटाएर एक र दुई राखियो रे, र हाम्रो पर्वतका दुई प्रमुख ऋतुहरूबारे अगुवाले नै बुझेनन् रे ! विश्वविद्यालयका अति आकर्षक कार्यक्रमहरू हिउँदो यात्रा (विन्टर सोजर्न), मौखिक इतिहास (ओरल हिस्ट्री) र बायोडाइभर्सिटी एवं एथ्निक संग्रहालयलाई भताभुंगै पारियो रे ! विश्वविद्यालयको दीक्षान्त समारोहमा लगाइने पोसाकसम्म अर्को विश्वविद्यालयबाट पैंचो ल्याउनुपर्‍यो र भारतमा एउटै राष्ट्रिय संस्था र विश्वविद्यालयमा मात्रै सबै मिलेर गाइने नेपाली स्तुति वन्दनालाई प्रतिबन्ध लगाइयो । विश्वविद्यालयको मानक डाक्टरेट डिग्री केवल अति नै प्रसिद्ध व्यक्ति एवं भारतका प्रधानमन्त्री–राष्ट्रपतिलाई मात्रै दिने नियम–कानुन तोड्दै अमान्य व्यक्तिहरूलाई दिँदा विश्वविद्यालयमा विरोध पनि भयो रे ! यस्ता भत्काउने व्यक्तिहरू जन्मेकै विनाश–सर्वनाशका लागि हुँदाहुँदै पनि व्यक्ति–समाज–समुदाय र राष्ट्र एक भएर भत्काउने सोच नै छरपस्ट बनाइदिनुपर्छ । यिनीहरूको इतिहास र कार्य घरीघरी जनमानसबीच ल्याउनुपर्छ, हिटलर, माओ, पोल पोट, स्टालिन र हिदेकीलाई ल्याएजस्तै ।

प्रकाशित : जेष्ठ २४, २०७९ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?