आइतबारे बिदा रद्द गरौं- विचार - कान्तिपुर समाचार

आइतबारे बिदा रद्द गरौं

नेपालमा बिदा सम्बन्धमा कानुन छैन । कानुन नभएरै बिदाको दुरूपयोग गरिएको छ । प्रधानमन्त्रीले आफ्नो निवासबाट ‘आज बिदा दिने’ भन्ने मौखिक आदेश दिँदा देश ठप्प हुन्छ ।
इन्धन खर्च आइतबारे बिदाले घट्दैन । जागिर खाएर कर्मचारी बन्नुको मतलब जिन्दगीभर सरकारी गाडी चढ्नु होइन । धनी देशले पनि त्यो ग्यारेन्टी गर्दैन । यी कार्यहरू खुल्लमखुला भ्रष्टाचार हुन् ।
बलराम केसी

देउवा सरकारले इन्धन खपत घट्छ भनेर २०७९ वैशाख १३ गते शनिबार र आइतबार हप्ताका दुई दिन बिदा दिने निर्णय गर्‍यो । संयोग कस्तो पर्‍यो भने, आइतबार बिदा दिने भनिएको सुरुआती महिनामै शुक्रबार स्थानीय तह निर्वाचनको बिदा । शनिबार परम्परागत बिदा । आइतबार इन्धन खपत घटाउने ‘आइतबारे बिदा’ । सोमबार बुद्ध जयन्ती बिदा । लगातार चार दिन बिदा । कार्यालय, स्कुल, अस्पताल, उद्योग–व्यवसाय, कलकारखाना सबै बन्द भए । अर्थतन्त्र र सार्वजनिक प्रशासन चार दिन ठप्प भयो ।

विकसित देशमा शनिबार र आइतबार बिदा हुन्छ । अगाडि र बिदापछिको दिन डिसेम्बर २५ क्रिसमस, त्यसपछिको बक्सिङ डे लगातार एकसाथ परेमा बाहेक चार दिन लगातार बिदा सम्भव हुँदैन । तर नेपालमा सम्भव छ । बिदाले अर्थतन्त्रमा पुर्‍याउने असर र सार्वजनिक सेवामा दिने बाधा सरकारलाई मतलब छैन ।

पञ्चायतकालमा राजाको विदेश भ्रमणमा जाँदा र फर्कंदा दुई दिन ‘गजेटेड बिदा’ हुन्थ्यो । विदेशी राष्ट्रप्रमुख नेपाल भ्रमणमा आउँदा र जाँदा दुई दिन बिदा हुन्थ्यो । विदेशी राष्ट्राध्यक्ष मर्‍यो भने बिदा हुन्थ्यो, बरु सम्बन्धित देशमा बिदा हुँदैनथ्यो । औद्योगिक विकास नभएको; कृषि अर्थतन्त्र, ग्रामीण वातावरण, परम्परावादी सोच र प्रचलन भएको एवं सरकार गैरजिम्मेवारी भएकाले होला, बिदा दिनु नेपालमा सामान्य कुरा हो । बिदाले काम बन्द हुन्छ । काम बन्द भएपछि औद्योगिक उत्पादन घट्छ । आम नागरिक सार्वजनिक सेवा पाउनबाट वञ्चित हुन्छन् भन्नेपट्टि कुनै सरकारको कहिल्यै ध्यान पुग्न सकेन । नेपाल गणतान्त्रिक र संघीय भइसके पनि बिदाको मामिलामा पञ्चायती ‘ह्याङ ओभर’ र पञ्चायती ‘लिगेसी’ निरन्तर छ ।

नेपालमा बिदा सम्बन्धमा कानुन छैन । कानुन नभएरै बिदाको दुरुपयोग गरिएको छ । प्रधानमन्त्रीले आफ्नो निवासबाट ‘आज बिदा दिने’ भन्ने मौखिक आदेश दिँदा देश ठप्प हुन्छ । ‘डेमोक्र्याट’ वा ‘कम्युनिस्ट’ जो प्रधानमन्त्री भए पनि हुकुम प्रमांगी शैलीको उसको मौखिक आदेशबाट बिदा घोषणा हुन्छ । सानो समूहले कुनै जात वा वर्गको नाम लिएर, प्ले कार्ड लिएर माइतीघर मण्डलामा हाम्रो समुदायलाई फलानो दिन सार्वजनिक बिदा चाहियो भनेर माग गरे पनि त्यसलाई सरकारले भोट बैंक सम्झिई बालुवाटार दरबारबाट बिदाको हुकुम प्रमांगी बक्स हुने संस्कार विकास भयो । यसले एकसाथ चार गल्ती गर्‍यो । कानुनी शासनको धज्जी उडायो, कार्यकारी अधिकारको दुरुपयोग गर्‍यो, अर्थतन्त्र र औद्योगिक उत्पादनमा प्रतिकूल प्रभाव पार्‍यो एवं संसद्लाई थाहै नदिई कार्यालय बन्द गर्‍यो ।

कुनै पनि दिन देशव्यापी बिदा सामान्य भयो । सरकारले बिदा घोषणा गरेपछि निजी क्षेत्रले पनि बिदा गर्ने भयो । त्यसको असर अस्पतालमा बिरामीको उपचार, जाँच, शल्यक्रियामा पर्ने भयो । विद्यार्थीहरूको पठनपाठनमा पर्ने भयो । आम नागरिक सार्वजनिक सेवा पाउनबाट वञ्चित हुने भए । बैंकिङ कारोबार ठप्प हुने भयो । कलकारखानामा उत्पादन बन्द हुने भयो । बिदाले देशलाई नकारात्मक असर पार्छ भन्ने कहिल्यै महसुस गरिएन । देशमा प्रजातन्त्र आयो, देश एकात्मकबाट संघीय बन्यो तर बिदाका सन्दर्भमा हुकुम प्रमांगी शैलीको आदेशको प्रचलन अझै गइसकेको छैन । कानुनका आँखामा ‘आइतबारे बिदा’ गैरकानुनी हुकुम प्रमांगीकै उपज हो । आइतबारे बिदा २०५६ सालमै प्रयोगपछि असफल सिद्ध भएर रद्द गरिएको हो । एक पटक असफल भएको विषयलाई सरकारले पुनः दोहोर्‍याउन मिल्छ ? कदापि मिल्दैन । देशमा ५२ दिन थप बिदा गर्दा संसद्को अनुमति लिन नपर्ने ? ‘क्याबिनेट सिस्टम अफ गभर्मेन्ट’ भनेको प्रधानमन्त्रीले जे भन्छ, त्यही निर्णय हुने हो । अरू मन्त्रीको कुनै भूमिका हुँदैन । प्रधानमन्त्री एक व्यक्तिको सनकले देश ५२ दिन बन्द हुने ? यसका लागि कानुन नचाहिने ? यही हो कानुनी शासन ?

आइतबारे बिदाले नेपालका प्रधानमन्त्रीहरू अझै ग्रामीण र परम्परावादी सोचबाट मुक्त नभएको देखाउँछ । नेपालमा आर्थिक कारोबार बढेको छ, व्यापार बढेको छ । अर्थतान्त्रिक गतिविधि बढको छ । निजी क्षेत्रको व्यवसाय बढेको छ । ससाना औद्योगिक गतिविधिहरू बढेका छन् । तर सरकारमा त्यो महसुस छैन । सरकार भनेको देशको पहरेदार हो । खास गरी प्रधानमन्त्री । उनले त सोच्नुपर्ने हो, आज देश ग्रामीण समाजबाट सहरीकरण भएको छ । उद्योगहरू स्थापना भएका छन् । निजी क्षेत्र फस्टाएको छ । राणाकालमा जस्तो सिंहदरबार मात्र छैन । बिदाले कार्यालय बन्द गर्छ, कार्यालय बन्द गर्दा देशको अर्थतन्त्रलाई असर गर्छ भनेर सरकारले सोच्नुपर्ने होइन ? के प्रधानमन्त्रीले आइतबार बिदा गर्‍यो भने इन्धन खपत घट्छ भन्ने भ्रमबाहेक अर्को उपाय देखेनन् ? सरकार कुन सोचमा छ ? जुनसुकै बेला जेसुकै कारणमा पनि अकस्मात् सार्वजनिक बिदा घोषणा गरेर देश ठप्प पार्ने संसारमा कुनै देश छ भने त्यो नेपाल हो । धेरै बिदा हुने देशमध्ये नेपाल नै सायद पहिलो नम्बरमा आउँछ । आइतबारे बिदाको रोगबाट सिंहदरबार मुक्त हुनुपर्‍यो ।

बिदा भनेको कार्यालय औपचारिक रूपमा बन्द हुनु हो । कार्यालय ‘कसैको बापको घर होइन,’ सार्वजनिक स्थल हो । कुनै व्यक्तिको सनकमा बिदाका नाममा बन्द गर्न हुँदैन । समाज धेरै अगाडि बढिसक्यो । बिदाले बच्चाहरू रमाउँछन् । बच्चाबाहेक बिदाले कर्मचारीहरू रमाउँछन् । नेपालमा त सबै बच्चा पो देखिए ! आइतबारे बिदा गैरजिम्मेवार संस्कारको उपज हो । मनलागी बिदा दिने कामलाई अब कानुन बनाएर गैरकानुनी हुने बनाउनुपर्‍यो । बिदाले राष्ट्रलाई क्षति पुर्‍याउँछ । सरकारले चालु अधिवेशनमै ‘सार्वजनिक बिदा दिने सम्बन्धी ऐन–२०७९’ विधेयक संसद्मा पेस गर्नुपर्‍यो ताकि हुकुम प्रमांगी शैलीमा बालुवाटारबाट प्रधानमन्त्रीले बिदा दिने आदेश प्रचलन सदाका लागि बन्द होस् । विधेयकमा आइतबारे बिदा रद्द गरिएको दफा पर्नुचाहिँ पर्छ ।

अमेरिका कानुनी शासनबाट चलेको देश हो । प्रजातन्त्र भनेको मानिसको शासन होइन, कानुनको शासन भनेर अमेरिकाबाट सिकियो । अमेरिका मात्र होइन, युरोप, अस्ट्रेलिया, क्यानाडा, जापान हेरौं; ती देशहरूमा कार्यकारी अधिकार छ भन्दैमा प्रधानमन्त्री वा राष्ट्रपतिले बिदा दिँदैनन् । अमेरिकामा कुनै लोकप्रिय राष्ट्रपतिका नामबाट कुनै सडक, इमारत वा विमानस्थलको नामकरण वा कुनै दिनलाई सार्वजनिक बिदा दिने निर्णय गर्नुपर्‍यो भने हामीकहाँ जस्तो एक व्यक्तिको सनक वा स्वविवेकमा होइन, संसदीय अनुमोदनको कानुनबाट मात्र त्यस्तो गर्न सकिन्छ । एक व्यक्तिको निर्णयले औद्योगिक उत्पादन बन्द गर्ने ? विद्यार्थीको शिक्षा बन्द गर्ने ? बैंकिङ कारोबार बन्द गर्ने ? बिरामीको औषधि–उपचार बन्द गर्ने ? त्यसैले बिदा सम्बन्धी कानुन ल्याएर यसमा सुधार गर्नुपर्‍यो ।

‘बिदा काम नगर्ने, काम रोक्ने’ दिन हो । काममा ब्रेक लिने दिन हो । बिदाको असर अर्थतन्त्रमा पर्छ, सार्वजनिक सेवामा पर्छ । बिदाले कार्यालय, स्कुल, सार्वजनिक संस्था, प्रतिष्ठान, कलकारखाना, अस्पताल बन्द गर्छ । उत्पादन गर्ने संस्थाहरू बन्द हुन्छन् । बिदाले कार्यालय बन्दलाई वैधानिकता प्रदान गर्छ । आधिकारिक निर्णय नभएको बन्दलाई हडताल मानिन्छ । आधिकारिक निर्णयका आधारमा गरिएको बन्दलाई बिदा मानिन्छ । बिदासँग सम्बन्धित अर्को कुरा काम गर्ने घण्टा हो । हप्तामा ४२ कार्यघण्टा प्रायः विश्वव्यापी प्रचलनमा छ । बिदा कति र कुनकुन दिन भन्ने आ–आफ्नै देशका परम्परा, प्रचलन, मान्यता, कानुन, संस्कृति, धर्म, आर्थिक विकासको स्तर, देशको भौगोलिक अवस्थिति अनुसार संसद्ले कानुन बनाएर निर्धारण गर्ने कुरा हो । कानुनमा तोकिएको बाहेक थप बिदा दिने अधिकार प्रधानमन्त्रीमा हुँदैन र हुनु पनि हुँदैन ।

दुई दिन बिदा प्रायः संसारभर चलेको बिदा सम्बन्धी मान्य प्रचलन नै हो । तर नेपालमा जँच्दैन । नेपालको ब्युरोक्रेसी जुन प्रकारले र जसरी सञ्चालन हुन्छ, त्यसले गर्दा आइतबारे बिदा प्रत्युत्पादक हुन्छ । देश संघीयतामा गए पनि कतिपय विषयमा केन्द्रीकृत मान्यता गएको छैन । त्यसैले सेवाग्राहीले दुःख पाउँछन् । आइतबारे बिदाले इन्धन खपत घटाउँदैन ।

नेपालाको ब्युरोक्रेसी सेवाग्राहीमैत्री छैन । भाषण सेवाग्राहीमैत्री हुन सक्छ, व्यवहारमा छैन । सरकारले आइतबारे बिदाको तानतुन गरेर ‘जस्टिफाई’ गर्न खोजेको छ । सरकार भन्छ— शुक्रबारको ३ बजे बिदा बन्द गरियो, ५ः३० सम्म कार्यालय खुल्छ । सोम–शुक्र पाँच दिन नै ९ः३०–५ः३० कार्यालय खुला रहन्छ । सरकारले ‘जस्टिफिकेसन’ मा हप्तामा कार्यालय समय ४० घण्टाको देखाइरहेको छ, जुन चित्तबुझ्दो छैन । कार्यालय बिहान ९ः३० मा खुल्ला, बन्द पनि अपराह्न ५ः३० मा होला । ती भए पियनले गर्ने काम । सरकारको ‘जस्टिफिकेसन’ भनेको, कुनै गर्न नहुने काम गरिएछ वा बाध्यतावश गर्नैपर्ने हुन आयो भने त्यसलाई बचाउन ‘यस्तो भए तापनि, उस्तो भए तापनि, देखिए तापनि, गरिए तापनि’ भन्दै भएसम्मको ‘तापनि’ लगाएर आखिरमा ‘यस्तो होइन भन्न नसकिने देखिन्छ’ भनी बलजफ्ती नेगेटिभ–नेगेटिभलाई मिलाई पोजेटिभ बनाएजस्तै हो । एउटा पूरा दिनमा जति काम सम्पन्न हुन सक्छ भनिए पनि, कार्यालय खुल्नेबित्तिकैको पहिलो आधा घण्टा र बन्द गर्नुअगाडिको आधा घण्टामा कुनै काम हुनेवाला छैन । झन् अदालतको न्यायिक काममा त आइतबारे बिदाको ठूलो मार पर्छ ।

जस्टिफिकेसन गरेजस्तो ९ः३० देखि सेवा सुरु भएर ५ः३० सम्म काम चल्नेवाला छैन । अड्डाहरूमा आफैं आफ्नो फाइलको पछि लाग्नुपर्ने हाम्रो संस्कार छ । सेवा मैत्रीपूर्ण छैन । फाइलको पछाडि नलागे निवेदन हराउँछ । आफैंले खोजी गरी फेला परेन भने पुनः त्यही कामका लागि अर्को निवेदन हाल्नुपर्छ । व्यवहारमा लेखकले समेत भोगेको कुरा हो यो । बेलाबेला कार्यालय समयभित्रै पनि सम्बन्धित अधिकृत तथा कर्मचारी टेबलमा भेटिँदैनन् । १०–५ कार्यालय हुँदा ४ बजे कुनै कुरा लिएर गयो भने ‘आज बन्द हुने बेला भयो, भोलि १० बजे आउनू’ भन्ने संस्कार विकास भएको छ । झन् लामो बिदा सुरु हुने दिन वा शुक्रबार हो भने ३ बजेदेखि सेवा पाउन सम्भव हुँदैन । गाउँघरका, आफ्नो कुरा स्पष्ट बुझाउन नसक्ने, ल्याप्चे लगाउने व्यक्तिले त झन् सेवा पाउनै कठिन छ ।

माथि नै भनियो, संघीयता लागू भए पनि मानसिकता र कामकारबाहीको तौरतरिकामा परिवर्तन आएको छैन । नेपाल अमेरिका होइन । अमेरिकामा प्रदेशमा संघको हस्तक्षेप हुँदैन । त्यहाँ राज्यका तीन अंगको मात्र होइन, संघीय सरकार र राज्य सरकारका काम, कर्तव्य र अधिकारका कानुन र व्यवहारसमेत आ–आफ्नै छन् । राष्ट्रिय पर्वबाहेक सरकारी बिदा निजी व्यवसायी वा कानुनले नै स्वशासित बनाएको संगठन वा कम्पनीलाई लागू हुँदैन । अस्पताल, स्कुल, उद्योग कारखाना बिलकुल स्वशासित छन् । नेपालमा सिंहदरबार/बालुवाटारको बिदाको घोषणा नेपाल राज्यभर प्रतिष्ठान, संस्थान, कलकारखाना, निजी व्यवसाय, अस्पताल, स्कुल सबैमा लागू हुन्छ । त्यसैले आइतबार बिदा देशको अर्थतन्त्रका लागि हानिकारक छ, यसलाई रद्द गर्नुपर्छ ।

उत्तरी गोलार्द्धमा पर्ने देशहरूमा हिउँदमा सूर्य ढिलो झुल्किने र चाँडो अस्ताउने भएकाले ‘डे लाइट सेभिङ टाइम’ अन्तर्गत समय एक घण्टा अगाडि–पछाडि मिलाएर सेवालाई निरन्तरता दिने गरिन्छ, कार्यालय समय घटाइँदैन । नेपालमा कार्यालय समय घटाइन्छ । चिनेको वा आफ्नो मानिस भयो भने काम तुरुन्त हुने, भएन भने कठोर हुने नेपाली ‘कल्चर’ हो । पहिलापहिला नेपाल ‘पुलिस स्टेट’ थियो । सरकारको काम मालपोत उठाउनमा सीमित थियो । सरकारले दिने सेवा खासै केही थिएन । जनसंख्या कम थियो । आज जनसंख्या बढेको छ । सरकारले मात्र सेवा दिन सम्भव नहुनाले सरकारी कार्यालयबाहेक पनि निजी क्षेत्र उद्योग–व्यवसायमार्फत सेवा दिने काममा व्यस्त छ । साथै सरकारी कम्पनी, कर्पोरेसन, प्राधिकरणहरू स्थापित भएका छन् । त्यति बेला कम्पनी, कलकारखानाहरू थिएनन् । निजी अस्पताल थिएनन् । निजी स्कुल, उद्योगहरू थिएनन् । सबै सरकारी थिए । बैंक एउटा मात्र थियो । सरकार एकात्मक, केन्द्रीकृत थियो । त्यति बेला सिंहदरबार बन्द भयो भने पनि अर्थतन्त्रमा असर पर्दैनथ्यो । तर आज समयको विकाससँगै निजी उद्योग, व्यवसाय, स्कुल, कलकारखाना, अस्पताल, बैंकहरू पर्याप्त छन् । ग्रामीण, केन्द्रीकृत र एकात्मक व्यवस्थामा जस्तो आज सरकारीसँगै ती निकायहरू पनि हप्ताका दुई दिन बन्द गर्दा सेवाग्राही आम नागरिकलाई ठूलो मार पर्छ । त्यसैले आइतबार बिदा रद्द गरेर हप्ताका छ दिन कार्यालय खोल्नुपर्छ । पासपोर्ट जारी हुने कार्यालय, राष्ट्रिय परिचयपत्र दिने कार्यालय, सवारीचालक प्रमाणपत्र दिने कार्यालय, वैदेशिक रोजगारीमा जाने कार्यालय, वीर अस्पताललगायतका सेवाग्राही कार्यालयमा दिनहुँ कत्रो भीड हुन्छ ! एक दिन बिदा थप्दा यी सेवामा कत्रो असर पर्छ, त्यति पनि थाहा नपाउने सरकार कस्तो ? सरकार सेवामुखी, राज्य कल्याणकारी र आम नागरिकका सुख र सुविधाप्रति समर्पित हुने हो भने थिति बसिसकेका अन्य देशको देखासिकी गरेर आइतबार बिदा नदिऔं । तुरुन्त बन्द गरौं ।

आइतबार बिदा दिनुको मुख्य कारण ‘इन्धन खपत घटाउने’ भनियो, जुन हास्यास्पद र गलत छ । गैरजिम्मेवारी र कच्चापनको पराकाष्ठा हो यो । यसले मन्त्रिपरिषद् कति अपरिपक्व छ भन्ने देखाउँछ । अनावश्यक गाडी खरिद र गाडी सुविधा वितरण रोक्नपट्टि सरकारको ध्यान गएन । सरकारले कार्यकारी प्रशासकीय निर्णय त्यस्तो गर्नुपर्छ जुन कानुन होस् र जसले आम नागरिकलाई मर्का नपारोस् । नेपालमा अहिले सरकारी गाडीको व्यापक दुरुपयोग छ । जुनसुकै कार्यालय गए पनि सरकारी गाडीहरू यति देखिन्छन्, मानौं जापानमा टोयोटा कम्पनीले गाडी उत्पादन गरेर निर्यात गर्न राखेको छ । अथवा, कुनै जापानी बन्दरगाहमा निर्यातका लागि ती गाडीहरूले जहाज कुरिरहेका छन् । हाल राजपत्रांकित प्रथम श्रेणीसम्मकाले सरकारी निर्णय अनुसार गाडी सुविधा लिइराखेका छन् । अनौपचारिक र दुईपाङ्ग्रे त कतिकति ! सरकारसँग सायद हिसाब छैन । संविधानका आँखामा त्यो सुविधा नै गलत छ । संस्थान, प्रहरी, सेना, संवैधानिक निकायले पनि त्यही सुविधा करदाताको रकमबाट लिइराखेका छन् । दुरुपयोग त्यतिमै सीमित छैन । सरकार वा सरकारी संस्थानका करोडौं पर्ने कति गाडीहरू मन्त्री, नेता र पूर्वप्रधानमन्त्री, पूर्वप्रधानन्यायाधीशहरूले पद जानेबित्तिकै नम्बरप्लेट बदलेर दुरुपयोग गरिरहेका छन् । यस्तो कार्य कानुनन भ्रष्टाचार हो । पद गएपछि झन्डा झिकेर सेतो प्लेटलाई रातो बनाई कुदाइएका सवारीसाधन त कति छन् कति ! हजारौं दुईपाङ्ग्रेको दुरुपयोग त हिसाबै नगरे हुन्छ । यस्तो दुरुपयोगले करदाताको पैसामा ‘फुपूको श्राद्ध’ भइरहेको प्रमाणित गर्छ । संविधानतः यी सुविधा दिनुपर्दैन । हाम्रो संविधानको धारा २८५ मा निजामती कर्मचारी सम्बन्धी व्यवस्था छ । भारतको संविधानका धारा ३०८ र ३०९ त्यसकै समकक्षी हुन् । ठ्याक्कै मिल्दैन, तर हाम्रो संविधानको धारा २८५ र भारतको संविधानको धारा २०८ निजामती सेवा गठन सम्बन्धी छ । भारतमा ती धाराको व्याख्या–विवेचना हुँदा राज्यले कर्मचारीलाई तीन कुरा मात्र उपलब्ध गराउनुपर्छ । पहिलो, नोकरीको स्थायित्व; दोस्रो, बढुवाको अवसर; र तेस्रो, पर्याप्त पारिश्रमिक । यीबाहेक अरू सुविधा संविधान र कानुनले उपलब्ध गराउनुपर्दैन । सुरक्षा र प्रतिष्ठाका कारण उच्चतम पदाधिकारीलाई मर्यादाका लागि पदमा रहुन्जेल, सरकारी काममा रहुन्जेल मात्र सुविधा उपलब्ध गराइन्छ ।

प्रधानमन्त्री देउवालाई अनुरोध, इन्धन खर्च आइतबारे बिदाले घट्दैन । जागिर खाएर कर्मचारी बन्नुको मतलब जिन्दगीभर सरकारी गाडी चढ्नु होइन । धनी देशले पनि त्यो ग्यारेन्टी गर्दैन । यी कार्यहरू खुल्लमखुला भ्रष्टाचार हुन् । गाडी चढ्नु पनि भ्रष्टाचार, चढ्न दिनु पनि भ्रष्टाचार हो । दुरुपयोग तुरुन्त रोक्नुपर्‍यो । महालेखापरीक्षकले बेरुजु भन्दाभन्दै अवकाशवाला पूर्वहरूलाई तपाईं र तपाईंभन्दा अगाडिका प्रधानमन्त्रीहरूले गाडी, तेल, मोबिल, मर्मत खर्च, ड्राइभर उपलब्ध गराउनुभएको छ र थाहा नपाएजस्तो गरी बस्नुभएको छ । यस्ता सुविधा दिन तुरुन्त बन्द गर्नुहोस् । बहालवाला राजपत्रांकित प्रथम श्रेणीसम्मका कर्मचारीहरूलाई व्यक्तिपिच्छे चिल्ला, नयाँ, महँगा गाडी उपलब्ध गराउन यो देशको अर्थतन्त्रले धान्न सक्दैन । त्यो बन्द गर्नुहोस् । उनीहरूलाई कार्यालय आउन–जान सामूहिक रूपले तीन जनालाई एउटा गाडी उपलब्ध गराए हुन्छ । प्रधानमन्त्रीज्यू, देश श्रीलंकाजस्तो भयो भने के गर्ने ? अहिले नै विचार गर्नुपर्दैन ? तपाईंलाई याद होला, एक प्रबुद्ध अर्थशास्त्री, योजनाविद् र योजना आयोगको उपाध्यक्ष भैसकेको व्यक्तिले हालै नेपाल अर्थतन्त्र होइन कुशासनका कारणचाहिँ श्रीलंका बन्न सक्छ भने । गाडीको दुरुपयोग कुशासनको प्रमाण हो ।

दुईपाङ्ग्रे सवारीसाधन दिन बन्द गर्नुहोस् । तर सरकारी काममा जुनसुकै बेला जोसुकैलाई प्रयोग गर्न नरोक्ने व्यवस्था गर्नुहोस् । गर्न सकिने यी कुरा कार्यान्वयन गर्नुभयो भने इन्धन बचत स्वतः बढ्छ, सडकमा ट्राफिक जाम घट्छ, प्रदूषण घट्छ, सरकारी सम्पत्तिको दुरुपयोग हुँदैन । इन्धन खपत बचाउन आइतबार बिदा दिनु भनेको टाउकाको रोगमा खुट्टाको उपचार गर्नु हो । इन्धन खर्च बचाउन आइतबार बिदा दिने भनेको जँड्याहा बाउले आफूले रक्सी खान नछाड्नु तर बच्चाको स्कुल छुटाउनुजस्तै हो । यस्तो अपरिपक्व निर्णय फिर्ता लिन र आइतबारे बिदा रद्द गर्न एक नागरिकको हैसियतले म सुझाव दिन्छु । संसदीय चुनाव आइरहेको छ । प्रधानमन्त्रीज्यू, आइतबारे बिदा रद्दको निर्णयले तपाईंको लोकप्रियता बढ्छ । देशलाई ठूलो योगदान हुनेछ ।

पाकिस्तान र मेक्सिकोमा जस्तो, दुरुपयोग भएका ती गाडीहरू फिर्ता लिएर लिलाम गर्नुहोस्; आएको रकम सञ्चित कोषमा जम्मा गर्नुहोस् र आइतबारे बिदा रद्द गरेर बिदासम्बन्धी कानुन ल्याउनुहोस् ।

केसी पूर्वन्यायाधीश हुन् ।

प्रकाशित : जेष्ठ २३, २०७९ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्

बलात्कारपीडितलाई सजाय गर्ने फैसला सच्चिनुपर्छ

न्यायाधीश नियुक्ति, अदालती कारबाही र प्रमाण मूल्यांकन प्रणालीमा सुधार गर्नुपर्छ ।
बलराम केसी

२०६३ सालमा अमेरिकाको म्यासाच्युसेट्सको ‘स्टेट सुप्रिम कोर्ट’ मा एउटा कार्यक्रम थियो । उक्त सुप्रिम कोर्टमा समलिंगी विवाहलाई मान्यता सम्बन्धी मुद्दा परेको रहेछ ।

अदालतले समलिंगी विवाह अदालतको नभई संसद्ले कानुन बनाउनुपर्ने विधायिकी विषय हो भनेर खारेज गरेछ । त्यसको विरोधमा खारेज गर्ने न्यायाधीशको नामसहित ‘... न्यायाधीश न्यायको लागि खतरा हो’ लेखेको ब्यानर सानो प्लेनबाट फरफराएर सहरमाथि उडाइएको थियो । त्यसभन्दा अगाडि अर्कै कार्यक्रममा अमेरिका जाँदा मैले जिल्ला अदालतअगाडि ‘पनिस द क्रिमिनल नट द भिक्टिम’ भन्ने प्लेकार्ड बोकेर एउटा समूहले विरोध प्रदर्शन गरेको देखेको थिएँ । नेपालमा ‘अभियुक्तलाई सफाइ र पीडितलाई जेल’ सजाय गर्ने हालैको फैसलाले अमेरिकामा देखिएको प्रदर्शनको सम्झना दिलायो ।

घटना अछाम जिल्ला अदालतको हो । अदालतले बलात्कार मुद्दामा आरोपितलाई सफाइ र पीडितलाई साढे तीन वर्ष कैद सजाय गर्‍यो । पीडितलाई सजाय गर्ने हो भने, पीडितको हैसियत अदालतद्वारै आरोपितमा परिणत गरिएकाले ‘स्वच्छ सुनुवाइ’ को सबै हक र सुविधा दिलाउनुपर्दछ । ठाडै सजाय गरेको देखियो । त्रुटि त खारेज भएको अध्यादेशका आधारमा गरिएको सजायबाटै पनि देखियो ।

अछामकी ती बलात्कारपीडितका लागि न्याय मर्‍यो । पीडितका लागि अछाम जिल्ला अदालत निष्पक्ष पनि भएन, सक्षम पनि भएन । प्रहरीले पक्रिएर थुन्ला भनेर पीडित लुकीछिपी बस्नुपरेछ । यो लेख लेख्दालेख्दै धरौटीमा पुनरावेदन गर्नका लागि पीडितसँग ४ लाख रकम रहेनछ भन्ने समाचार आयो । पीडितलाई ‘सम्मानपूर्वक बाँच्न पाउने’ मौलिक हक प्राप्त छ, तर उनी असम्मानपूर्वक बाँचिरहेकी छन् । उनलाई ‘कानुन बमोजिमबाहेक स्वतन्त्रता अपहरण नहुने’ मौलिक हक पनि प्राप्त छ । तर उनको हक कानुनविपरीत अदालतबाटै खोसियो ।

संविधानको धारा २१(२) अनुसार उनले सामाजिक पुनःस्थापना र क्षतिपूर्ति पनि पाउनुपर्छ । तर बिनाकसुरको सजायका कारण भोग्नुपरेको मानसिक यातनाको क्षतिपूर्ति कति र कसले दिने ? अभियुक्तलाई सफाइ नै दिए पनि पीडितलाई सजाय नगरिदिएको भए बलात्कारको आलो घाउमा नुन–खुर्सानी दलिने थिएन । न्यायमूर्तिको कलमबाट न्याय निस्कन्छ, तर यहाँ पीडितको हकमा न्याय निस्केन ।

२०७८ चैत १८ को कान्तिपुर दैनिकमा ‘न्याय माग्न आएकी बलात्कारपीडितलाई नै जेल’ शीर्षक समाचार छापियो, जसमा अदालतमा पीडितको बकपत्रमा आउनुपर्ने कुराहरू नै थिए । समाजको अपेक्षा अदालतले अभियुक्तलाई सजाय गर्छ, पीडितलाई गर्दैन भन्ने हुन्छ । अभियुक्तलाई छाडे पनि अदालतले प्रमाण पुगेनछ र छाडेछ भन्ने अनुमान गरिन्छ । अदालतलाई जहिले पनि शंकाको सुविधा हुन्छ । पीडितलाई सजाय दिने फैसला उल्टो भयो । त्यस समाचारले नेपाली समाजलाई अदालतले साढे ३ वर्ष कैद गरेको सूचित गर्‍यो, नजानिँदो ढंगले धारा २७ को नेपालीहरूको सूचित हुने मौलिक हक प्रचलन गराउने काम गर्‍यो । समाचारमा पीडित लुकेर बसेको मात्र होइन, अभियुक्तले आफूलाई बिहे गर्छु भनेर झुक्याएर एकै रात दुई पटक बलात्कार गरेपछि वीर्य पीडितको मुखमा फालेको जस्तो गोप्य कुरादेखि अदालतमा होस्टाइल भएर बकपत्र गर्नुपरेको सम्पूर्ण कारणसम्म खुलाइएको छ । समाचारमा परेका कुरा बकपत्रमा परेका भए अकाट्य प्रमाण हुने थियो । प्रमाण ऐनको दफा ५३ को व्यवस्था न्यायाधीशले त्यति संवेदनशील भएर पीडितसँग प्रश्न गरोस् भनेर भएको हो ।

साक्षीको बकपत्रमा चाहिने कुरा आएनछ भने प्रमाणहरू नछुटून् भनेर प्रमाण ऐन–२०३१ को दफा ५३ ले आफैंले पीडितसँग सोधेर अपुरो बकपत्रलाई पूर्ण गराउन न्यायाधीशलाई त्यस्तो अधिकारसम्पन्न गराएको हो । तर अछाममा न्यायाधीशबाट दफा ५३ प्रयोग नै भएनछ । दफा ५३ प्रयोग गरेर न्यायाधीशले पीडितसँग सोध्नुपर्ने कुरा त पत्रकारबाट सोधिएछ । न्यायाधीशले गर्ने काम त कान्तिपुर संवाददाताबाट भयो । यस घटनाले पीडितका लागि न्याय मर्‍यो र यस्तो घटना दोहोरिने हो भने फौजदारी न्याय प्रणाली ध्वस्त हुन्छ । कान्तिपुरको समाचारबाट प्रधानन्यायाधीश र न्याय परिषद् सचेत हुनुपर्‍यो ।

फौजदारी अपराधमा अनुसन्धान सन्तोषजनक छैन । तर अछाम मुद्दामा अनुसन्धानको कुनै दोष होइन । जिल्ला अदालतले प्रमाण ऐनको दफा ५३ को प्रयोग नगरिदिनाले न्यायमा विचलन आएको हो । कानुन बमोजिम न्याय पाउनु पीडितको मौलिक हक हो । पुनरावेदन उच्च अदालतमा लाग्छ । उच्च अदालतलाई सुरु अदालतलाई भएसरहको अधिकार हुन्छ । यसलाई कानुनी शब्दमा ‘सुरु अदालतको अधिकारको फैलावट’ (एक्सटेन्सन अफ ओरिजिनल जुरिस्डिक्सन) भनिन्छ । ‘सुरु अदालतको अधिकारको फैलावट’ को अन्तर्निहित अधिकार प्रयोग गरी जिल्ला अदालतको पीडितको बकपत्र बदर गरेर प्रमाण ऐन–२०३१ को दफा ५३ को अधिकार आफैं प्रयोग गरी पीडितको बकपत्र पुनः गराई जेजस्तो जवाफ आउँछ, त्यसका आधारमा फैसला गर्न उच्च अदालत अधिकारसम्पन्न छ ।

अछामको फैसलालाई अदालतको नेतृत्व र न्याय परिषद्ले ‘वेक–अप कल’ मान्नुपर्‍यो । दुई पक्षमा सुधार गरे अरू पीडितले अछाम जिल्लाको जस्तो सजाय पाउनुपर्दैन— न्यायाधीश नियुक्ति र अदालती कारबाही । यसका लागि न्यायिक आयोग वा समिति गठन गरिरहनुपर्दैन । नयाँ कानुन पनि चाहिँदैन । रकम पनि चाहिँदैन । न्यायाधीश अनुभवी हुनुपर्‍यो र भैरहेको कार्यविधि कानुनको प्रयोग र पालना गर्नुपर्‍यो, सुधार आफैं आउँछ ।

न्यायाधीश नियुक्तिमा सुधार

२०७० सालदेखि राजनीतिक भागबन्डामा न्यायाधीश नियुक्ति गर्ने परम्परा बस्यो । न्यायाधीश हुने व्यक्तिको अनुभव हेरिएन, राजनीतिक शक्तिकेन्द्र हेरियो । संविधानले जिल्ला न्यायाधीशलाई पनि संवैधानिक पदाधिकारी बनायो । सायद जिल्ला न्यायाधीश सर्वोच्च अदालतको न्यायाधीशसरह संवैधानिक पदाधिकारी बनाइएका थोरै देशमा नेपाल पनि पर्ला । न्यायाधीशमा योग्यताका साथै अनुभव पनि चाहिन्छ । अछाम घटना न्यायाधीशको अनुभावको कमीका कारण भएको देखिन्छ । खारेज भएको अध्यादेश लगाएर सजाय गर्नु, विवाह गर्छु भनेर झुक्याएर गरेको यौनसम्पर्कलाई पनि बलात्कार होइन भन्नु, अपराध संहिताको बलात्कारको परिभाषा नबुझ्नुले यही संकेत गर्छ । पीडितलाई आरोपितमा परिणत गरेपछि पीडितको बयान लिएर उनलाई प्रतिरक्षा गर्ने मौका दिनुपर्दथ्यो । मौकै नदिई साढे ३ वर्ष कैद ठेक्नु प्राकृतिक न्यायको सिद्धान्तविपरीत हो । नेपाली समाजमा पीडितलाई अपमान गरिन्छ । बलात्कार भनेपछि महिलाहरू लजाउँछन् । बलात्कार घटनालाई सामसुम पारेर मिलाउन जाहेरी नदिन दबाब दिइन्छ । बाबुआमासहित आफन्तबाटै यस्तो गरिन्छ । अनुसन्धान गर्ने प्रहरीबाट पनि मिल्न दबाब दिइन्छ । न्यायमूर्ति भएर नेपाली समाजमा व्यापक प्रचलनमा रहेको यस्तो कुरीति न्यायिक जानकारीमा लिनुपर्ने हो । यिनै कारणले पीडित होस्टाइल भएकी हुन् कि भनेर दफा ५३ को प्रयोग गरी कान्तिपुरको समाचारमा आएजसरी विस्तृत सोधपुछ गर्नुपर्थ्यो ।

राजनीतिक भागबन्डामा न्यायाधीश नियुक्तिबाट न्यायसेवाभित्रका अनुभवी र उत्कृष्ट उम्मेदवारलाई जुनियर बनाउने काम भएको छ । तालिमप्राप्त र अनुभवी न्यायाधीश र योग्य कर्मचारीहरू निराश छन् । कनिष्ठ र अनुभव नभएकाहरू भागबन्डाका कारण सोझै उच्च अदालतमा पुगेका छन् । न्यूनतम योग्यता पुग्दैमा र संविधानले संवैधानिक पदाधिकारी बनाउँदैमा अनुभव रातारात हुने होइन । ती त कस्मेटिक परिवर्तन हुन् । भागबन्डाले अनुभवी र इमानदारलाई चिन्दैन । भागबन्डाको घेराभित्र अनुभवी र इमानदार अटाउँदैनन् । भागबन्डाको नियुक्तिमा शक्तिकेन्द्रनजिकका, चाकडीबाज र आफ्ना मानिस मात्र पर्छन् । जबसम्म भागबन्डा प्रणाली अन्त्य गरिँदैन, तबसम्म अछामका जस्ता घटनाको अन्त्य हुँदैन ।

न्याय परिषद् र प्रधानन्यायाधीश संविधान, स्वतन्त्र न्यायपालिका र शपथप्रति समर्पित हुनुपर्‍यो । अदालतको नेतृत्वले न्यायपालिकाजस्तो न्यायको संवेदनशील अंगमा नेताहरूसँग मिलेर ‘कालेकाले मिलेर खाऊँ भाले’ शैलीमा भागबन्डामा नियुक्ति गर्न हुँदैन भन्ने महसुस गर्नुपर्‍यो । नेतृत्वले धारा १३६ को मर्म, भावना र जिम्मेवारी बुझ्नुपर्‍यो । अछाम घटना नदोहोरिन पाएसम्म सेवाभित्रका, खास गरी न्याय र वकिल समूहका अनुभवी र इमानदारलाई न्यायाधीश बनाउनुपर्‍यो । २०७० पछिको भागबन्डाको नियुक्तिले गर्दा यस्ता घटना पुनः हुन सक्दछन् । न्याय परिषद्लाई फुटाएर भागबन्डामा नियुक्ति गर्नाले पनि आज न्यायपालिकामा यो अवस्था निम्तिएको हो । हिम्मत र इमानदारी भए, दामोदर शर्मादेखि वर्तमानका निलम्बित प्रधानन्यायाधीशसहित चारै जनालाई ज–जसले भागबन्डामा नियुक्ति गरे, तिनले ‘गल्ती भएछ’ भनेर विज्ञप्ति जारी गरे हुने हो । विज्ञप्ति जारी गर्ने परम्परा बसेकै छ । बोध गरेर एउटा विज्ञप्ति आइदिँदा ती चार न्यायमूर्तिहरूको सम्मान बढ्दथ्यो ।

गएको वैशाख १ गते एउटा टीभीमा २०७८ साल न्यायपालिकाका लागि कस्तो रह्यो भन्नेबारे कार्यक्रम थियो, जसमा यो पंक्तिकार, पूर्वमहान्यायाधिवक्ता एवं वरिष्ठ अधिवक्ता र बारका नवनिर्वाचित अध्यक्ष थियौं । डेढ घण्टाको कार्यक्रममा न्यायाधीश नियुक्तिको प्रसंग पनि उठ्यो । त्यति बेलाको न्यायिक नेतृत्वले तत्कालीन महान्यायाधिवक्तालाई ‘मैले माओवादी सांसदको रोहबरमा माओवादीका वकिलहरूलाई न्यायाधीश बनाएँ, तपाईं माओवादीको महान्यायाधिवक्ता भएर विरोध गर्ने ?’ भनेको कुरा पनि छलफलमा आयो । न्यायाधीश नियुक्तिमा विकृति र भागबन्डाको नियुक्तिको योभन्दा अर्को प्रमाण चाहिएन ।

अदालतमा सुधार

प्रमाण मुद्दाको मुटु हो । बलात्कार मुद्दामा पीडितलाई अति महत्त्वपूर्ण प्रमाण मानिन्छ । न्यायाधीशसमक्ष साक्षी (पीडित) को परीक्षण हुनुपर्दछ । पीडित न्यायाधीशसमक्षको परीक्षणमा जिरहमा समेत उत्तीर्ण हुनुपर्छ । पीडित जिरहमा उत्तीर्ण हुन सके विश्वसनीय मानिन्छ । पीडित जिरहमा विश्वसनीय नदेखिए न्यायाधीशले त्यसलाई प्रमाणका रूपमा नलिन सक्दछ । तर विश्वसनीय देखिए त्यही एक मात्र प्रमाणका आधारमा अभियुक्त सजायको भागी हुन सक्दछ ।

अनुभवबाट देखिएको कुरा हो, साक्षी परीक्षणमा न्यायाधीशले दफा ५३ प्रयोग गरेको पाइँदैन । बकपत्रमा रीत पुर्‍याउन सामान्य केही प्रश्न गरिए पनि ती अपवादमा हुन सक्छन् । बकपत्रको शिरमा ‘न्यायाधीशको इजलासमा साक्षीले गरेको बकपत्र’ भनेर लेखिन्छ तर बकपत्र इजलाससमक्ष नभई कर्मचारीद्वारा गराइन्छ, जसमा न्यायाधीशको ध्यान गएकै हुँदैन । न्यायाधीश बहस सुनेर मुद्दा फैसलाको लगत बढाउन तल्लीन हुन्छन् । यस विषयमा सुन्तली धामीको मुद्दामा लामो र विस्तृत आदेश भएको थियो, तर त्यसको कार्यान्वयन आजसम्म भएको छैन । बकपत्र न्यायिक अधिकार नभएको कर्मचारीबाट गराइन्छ । फौजदारी न्याय र स्वच्छ सुनुवाइको मान्यता अनुसार फैसला गर्ने न्यायाधीश आफैंले साक्षी परीक्षणका सबै क्रियाकलाप हेर्नुपर्दछ । साक्षीले के बक्यो, त्यो त लेखिन्छÙ साक्षी परीक्षणमा न्यायाधीशले साक्षीले कसरी बक्यो, कसरी जवाफ दियो आदि उसका क्रियाकलाप हेर्नुपर्दछ । साक्षी परीक्षण सम्बन्धी विश्वव्यापी मान्यता नै यही हो । एउटा न्यायाधीशले साक्षी बकाउने, अर्कोले फैसला गर्ने पनि गरिँदैनÙ आदेश दिएर कर्मचारीबाट गराउने त प्रश्नै हुँदैन । अछाम घटनामा जिल्ला न्यायाधीशले साक्षी परीक्षण सम्बन्धी व्यवस्था, उद्देश्य र सर्वमान्य सिद्धान्त अनुसार आफैंले हेरेर दफा ५३ को अधिकार पूर्ण रूपमा प्रयोग गर्दै बकपत्र गराएका भए पीडितले सजाय पाउने थिइनन् । समग्रमा भन्नुपर्दा, नेपालको साक्षी बकपत्र प्रणाली झारा टार्ने खालको छ, जुन न्यायका लागि धोका हो । यसलाई सुधार नगर्ने हो भने अरू धेरै पीडित सजायको भागी बन्नेछन् । अमेरिकाको कुरा गर्ने हो भने, साक्षी परीक्षण हुँदा ‘ट्रान्सक्रिप्ट’ मा न्यायाधीश उँघेको देखियो, त्यही आधारमा पुनरावेदन सुन्ने अदालतले स्वच्छ सुनुवाइ भएन भनेर जिल्ला अदालतको कारबाही बदर गर्‍यो । न्याय नमरोस् भनेर नेपालमा २०३२ सालमा प्रमाण ऐन–२०३१ लागू भयो । तर साक्षी परीक्षण प्रमाण ऐन लागू हुनुभन्दा अगाडिको शैलिमा चलिरहेको छ । धेरै नेतृत्व फेरिए, कसैले वास्ता गरेनन् ।

एकातर्फ, प्रहरी पीडितमैत्री छैन । बलात्कारपीडित वा उनको परिवारले जाहेरी दरखास्त दर्ता गर्दा नै लज्जित हुनुपर्छ । अनुसन्धान फितलो छ । घरेलु हिंसा, बलात्कार, महिलामाथि एसिड आक्रमण आदि एक प्रकारले मानवताविरुद्धका अपराध हुन् । यस्तो अपराध बढ्दो छ । कानुन कार्यान्वयन दयनीय अवस्थामा छ । अदालत बलात्कार–पीडित–मैत्री छैन । अदालतको प्रमाण मूल्यांकन प्रणाली वैज्ञानिक र कानुनी छैन । साक्षी परीक्षण कर्मकाण्डी छ । बलात्कार मुद्दा जिल्ला अदालतबाट सुरु हुन्छ, जो विशिष्टीकृत छैन । सामान्य लेनदेन मुद्दा र गम्भीर बलात्कारका मुद्दा पनि एउटै न्यायाधीशले हेर्दछन् । जिल्ला अदालतलाई खिचडी बनाइएको छ । २०४७ सालदेखि संविधानले जिल्ला अदालतलाई खिचडी

बनाउन हुँदैन, फौजदारीका लागि छुट्टै र देवानीका लागि छुट्टै गरेर क्रमैसँग अदालतलाई विशिष्टीकृत बनाउनुपर्दछ भन्ने व्यवस्था गर्‍यो तर आज ३० वर्षपछि पनि खिचडी नै छ । न्यायाधीश नियुक्ति गर्दा इजलास अधिकृत र सरकारी वकिलजत्ति अनुभवी र तालिमप्राप्त पनि खोजिँदैन । नाम ‘कानुन’ काम, चाहिँ ‘प्रशासनको गर्ने’ मन्त्रालयमा कार्यरत प्रशासनिक सोच, विचार र व्यवहार भएको व्यक्तिलाई पनि एउटै सेवाका कारण कुनै तालिम नदिईकन न्यायाधीश बनाइन्छ । वकिल पद भएका, कालो कोट र बारको लोगो लगाएका तर राजनीतिक दल पछ्याएकाहरूलाई पनि न्यायाधीश बनाइन्छ । अनि कसरी राम्रो फलको अपेक्षा गर्ने ?

अर्कातर्फ, समाज र घर महिलाका लागि सुरक्षित छैनन् । छोरी, बहिनी, दिदी, भाउजू, भान्जी, जेठानी जे नाता होस्, महिलाहरू घरकै पुरुषबाट डराउनुपर्ने बलात्कारको संस्कृति विकास भएको छ । कानुन कार्यान्वयन फितलो भएकै कारण यस्तो भएको हो । बाबुआमा नभएका र गरिबका बच्चाहरू बालगृहमा सुरक्षित छैनन्, अभिभावक भनिने त्यहाँका रक्षकबाटै असुरक्षित छन् । उनीहरू सदा डरमा बस्दछन् । स्कुलमा बच्चीहरू शिक्षकबाटै त्रसित बन्नुपरेको छ । नेपालमा कानुनको प्रभावकारी कार्यान्वयन हुने; प्रहरी दक्ष, इमानदार र समर्पित हुने अनि अनुसन्धानमा पोख्त हुनेÙ जिल्ला न्यायाधीशहरूले मुद्दाको पुर्पक्षमा खास गरी साक्षी परीक्षणमा त्यसको उद्देश्य अनुसार दफा ५३ प्रयोग गरिदिने र यान्त्रिक नभई मान्य सिद्धान्त अनुसार प्रमाण मूल्यांकन गरिदिने हो भने सुधार आउँछ ।

बलात्कारका घटनामा पीडित महिलाको होसहवास उडेको हुन्छ । पीडितलाई काउन्सिलिङको आवश्यकता पर्दछ । पीडित र परिवारलाई सम्झाएर पीडितमाथि अपराध भयो, कानुनी लडाइँ लड्न सम्झाउनुको सट्टा उल्टो इज्जत जान्छ भनेर अपराध ढाकछोप गर्नपट्टि लाग्ने चलन बढ्दो छ । पीडकसँग लागेर यस्ता घटना गुपचुप राख्नुपर्छ भनेर बिचौलियाहरू सलबलाउने संस्कृति पनि बढेको छ । ठूलै रकम, गहना आदि दिएर मिलाउने बिचौलियाहरू फस्टाएका छन् । त्यस्ता कति त पीडककै परिवार पनि हुन्छन् । बकपत्र फेरेर होस्टाइल हुने कारण यिनै हुन् । न्यायमूर्ति यान्त्रिक भएर यस्तो परिस्थिति नबुझ्ने हो भने न्यायको सट्टा अन्याय हुन्छ । बलात्कारलाई अदालतले राजीखुसीको यौनसम्पर्क (कन्सेन्सुअल सेक्स) भनेर प्रमाणित गर्ने चलन पनि आयो । अभियोगपत्रमा बलात्कारको सजाय माग गरिएको हुन्छ, अदालतले प्रमाण पुगेको नदेखे अभियुक्तलाई सफाइ दिए हुनेमा राजीखुखीको यौनसम्पर्क भनेर पीडितको सम्मानमा ठेस पुर्‍याउने काम रोकिनुपर्‍यो ।

प्रमाण कानुनले पीडितलाई महत्त्वपूर्ण साक्षी मान्छ । केही वर्षयता अमेरिकामा ‘मी टु मुभमेन्ट’ चल्यो । वर्षौंअगाडि भएका बलात्कारलाई महिलाहरूले सार्वजनिक गरेर उजुरी गरेका धेरै घटना आए । यही सन्दर्भमा हलिउडका चर्चित सिनेमा निर्माता हार्भे वाइन्स्टिनको मुद्दा अघि आयो । सिनेमामा भूमिका दिएबापत उनले धेरै महिला कलाकारलाई बलात्कार, यौन हिंसा गरेका रहेछन् । मुद्दा चल्यो । उनले सबै ‘कन्सेन्सुअल सेक्स’ रहेको जिकिर गरे । घटना पुरानो भएकाले बलात्कार हुँदा लगाएका अन्डरवेयर, बिछ्यौना, वीर्य आदि कुनै प्रमाण उपलब्ध हुने कुरा भएन । तर महिलाहरूको उजुरी, प्रहरीसमक्षको बयान, अदालतमा बयान, पीडितको कडा जिरहको सामना, ती महिलाहरूको वर्षौंअगाडि वाइन्स्टिनसँग कामको सिलसिलामा भएको भेटका आधारमा सिनेमा निर्माता दोषी ठहरिए । वाइन्स्टिन अहिले २३ वर्षको जेल सजाय काट्दै छन् ।

हामीले अनौठो विधिशास्त्र विकास गर्‍यौं । प्रहरीले बलात्कार भएकी महिला यिनै हुन् भनेर पीडितलाई पेस गर्छ । यिनलाई कानुन बमोजिम पर्याप्त मात्रामा जिरह गरियोस्, यिनले जिरह पास गरिनन् भने अभियोग नठहरियोस्, जिरह पास गरिन् भने यिनी सक्कली पीडित हुन् प्रमाणमा लिइयोस् भनेर पेस गर्दा पनि अदालतले न साक्षी परीक्षण प्रयोग गर्छर् न पीडितले ‘म बलात्कृत भएँ’ भनेको बयान र बकपत्र पत्याउँछ । अनि कसरी पीडितले न्याय पाउने ? के सबै अभियुक्त अदालतमा साबित भए मात्र दोषी ठहरिने हो ? अनि मात्र सजाय हुने हो ? सुधार्नुपर्‍यो यस्ता न्यायिक विकृतिहरू ।

केसी पूर्वन्यायाधीश हुन् ।

प्रकाशित : वैशाख १५, २०७९ ०७:४२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×