कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

संवैधानिक मर्यादा नभुलेका राजा

२०४७ सालपछि आफूलाई संवैधानिक मर्यादाभित्र राखेर सबै दलसँग समान व्यवहार गरी उदाहरणीय भूमिका निर्वाह गर्नुभएकाले राजा वीरेन्द्रको आजपर्यन्त प्रशंसा हुने गर्छ ।
टीका धमला

नेपालको राजनीतिक हिसाबकिताबमा राजसंस्थाको महत्त्व कसैले नकार्नै सक्दैन । त्यसमा पनि प्रजातान्त्रिक राजनीतिक निकास तथा विकासमा राजा वीरेन्द्र शाहको भूमिका महत्त्वपूर्ण छ ।

संवैधानिक मर्यादा नभुलेका राजा

राजा वीरेन्द्र बाल्यकालदेखि २०५८ जेठ १९ गतेसम्मै नेपालको सर्वपक्षीय विकासमा केन्द्रित भएको देखिन्छ । दार्जिलिङमा स्कुल पढ्दादेखि नै उहाँले साथीहरूलाई ‘तिमीले पढाइसकेपछि नेपालको विकास गर्नतिर लाग्नुपर्छ है’ भनेको प्रसंग चर्चित छ । राजा नहुँदै नेपालका विभिन्न भागको भ्रमण गरी त्यहाँका समस्याहरू र समाधानका उपायबारे बुझेका राजा वीरेन्द्रले राज्यारोहणपछि नेपाललाई पाँच विकास क्षेत्रमा विभाजन गरी, हरेक वर्ष कतै न कतै दुर्गममा भ्रमण गरी समग्र विकास गर्ने अठोट गर्नुभएको थियो ।

राजा वीरेन्द्रका कैयौं अनौठा बानी थिए । तीमध्येको एउटा, बलियामाथि शंका गर्ने र निर्धालाई माया गर्ने थियो । उहाँको कार्यकालमा जिम्मेवार पदमा रहेका उच्चपदस्थ कर्मचारीहरू र राजनीतिक नेतृत्वहरूले पद र शक्तिको दुरुपयोग गर्ने कमै सम्भावना थियो । नेपालको सुन्दर पक्ष नै अनेकतामा एकता हो र यसको रक्षाका लागि सबै जातजाति, भाषाभाषी, तराई पहाड हिमाल मिलेर अघि बढ्नुपर्छ भन्ने सोच राजा वीरेन्द्रको थियो । यसैका लागि सत्यमोहन जोशीको संयोजकत्वमा नेपालभित्र बोलिने सबै भाषाको संवर्द्धन र संरक्षणका लागि एउटा संयन्त्र बनाएर काम सुरु गरिएको थियो ।

२०४७ सालको अन्तरिम मन्त्रिमण्डलका स्वास्थ्यमन्त्री मथुराप्रसाद श्रेष्ठ थिए । उनी लगायत केही कर्मचारी २०४६ सालको आन्दोलनमा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा लागेका थिए । अन्तरिम कालको मन्त्रिमण्डलको शपथ ग्रहणपछि स्वास्थ्यमन्त्रीले ‘नेपाली सेनाको सुरक्षा मलाई चाहिँदैन, म जनताको मन्त्री हुँ, सेना–सुरक्षाको आवश्यकता छैन’ भनेर सुरक्षाटोली लिएनन् । यो सुनेपछि राजा वीरेन्द्रले हाँस्दै कस्तो अपरिपक्व मन्त्री भन्नुभयो । केही दिनपछि, वीर अस्पतालमा खटिएका, राजनीतिको हावा लागेका स्वास्थ्यकर्मीहरूले त्यहाँ उपचाररत घाइते प्रहरीहरूको सलाइन पानीको पाइप छुटाइदिने, सही औषधि नखुवाइदिने गरेका जस्ता अमानवीय घटनाहरू बाहिर आए । यस्तो हुँदा आक्रोशित प्रहरीहरू अस्पताल घेर्न पुगे, उनीहरू स्वास्थ्यकर्मीहरूमाथि जाइलाग्ने सम्भावना भयो । राजा वीरेन्द्रले यो कुरा थाहा पाएर तुरुन्तै सेना परिचालन गर्नुभयो । यसरी ठूलो घटना हुनबाट वीर अस्पताल बच्यो । त्यस बेला स्वास्थ्यमन्त्रीले राजा वीरेन्द्रसँग गुहार मागी सेनाको सुरक्षा लिएका थिए ।

वैश्विक र क्षेत्रीय राजनीतिका पारखीहरूले नेपालको वर्तमान राजनीति र दलहरूका नेतृत्वको कार्यशैली देखेर राजा वीरेन्द्रको नेतृत्वकाललाई सम्झिरहेको हुनुपर्छ । राजा वीरेन्द्रलाई नेपालीले मात्र हैन, हाम्रा छिमेकी देशका उच्च अधिकारीहरू तथा नेपालको भलो चाहने अरू विदेशीले पनि सम्झँदै भन्ने गरेका छन्, ‘त्यो स्तरको नेतृत्व नेपालले कहिले पाउने होला ?’ २०७३ चैत १० गते चिनियाँ रक्षामन्त्री, चिनियाँ सैनिक आयोगका सदस्यसमेत रहेका च्याङ वान क्वानले भ्रमणका दौरान ‘हामीले खोजेको नेपालको नेतृत्व राजा वीरेन्द्रको जस्तो हो’ भन्ने कुरा तत्कालीन रक्षामन्त्री रामबहादुर थापासहितको टोलीसमक्ष राखेका थिए । हाम्रो दक्षिणको मित्र देशका नेतृत्वहरूलाई पनि राजा वीरेन्द्रले राखेको शान्ति क्षेत्रको प्रस्ताव आज झलझली सम्झँदै, त्यसमा भारत पक्षबाट भएको कमीकमजोरीले आत्मग्लानि भैरहेको हुनुपर्छ ।

राजा वीरेन्द्रको शासनकालमा ‘न्याय पाइन्छ’ भन्ने भरोसा सबैले गरेका हुन्थे । आज नेपालमा सबैले न्याय पाएको विश्वास गर्न गाह्रो छ । कुनै पनि निकायमा भनसुन र अनैतिक लेनदेनबेगर काम भए–गरेको अधिकांश जनताले अनुभूति गर्न सकेका छैनन् । यसले देशको समग्र विकासमा ठूलो बाधा पुर्‍याइरहेको देखिन्छ । यही स्थिति रहिरहेमा देशको भविष्य कसरी सुरक्षित हुन सक्ला ?

देश विकासका लागि कुनै पनि व्यवस्था र राजनीतिक संरचनाले त्यति असर पार्दैन, जति हाम्रो आपसी द्वन्द्वले पार्छ । ‘भाइ फुटे गँवार लुटे’ उखान त्यसैले जहिल्यै सार्थक हुन्छ । सबै तहका नेतृत्वहरूले यसबारे मनन गर्न ढिलो भइसक्यो । यसको उदाहरणका लागि राम र रावणको लडाइँको एउटा कथन सान्दर्भिक हुन्छ । रावणले रामसँगको लडाइँमा हारेपछि, आफू मर्नुअघि रामलाई भनेका थिए, ‘उमेरमा म तिमीभन्दा जेठो छु, ज्ञान र बलमा पनि म तिमीभन्दा अघि छु, तिम्रो सुनको घर छ तर मेरो सुनको देश छ । तपस्या र क्षमता पनि मेरो नै बढी छ । देश पनि मेरै ठूलो छ । तैपनि म हारें । यसको मुख्य कारण हो— तिम्रो भाइ लक्ष्मण तिम्रै साथमा छ । तर मेरो भाइ विभीषण दुस्मनको साथमा छ ।’ यो ज्ञानलाई मनन गरी हामी कसैले पनि क्षणिक व्यक्तिगत स्वार्थपूर्तिका लागि पराईसँग साँठगाँठ गरेर नेपाललाई कमजोर बनाउन कदापि खोज्नु हुन्न । यसका लागि राजा वीरेन्द्रको जस्तो नेतृत्वको आवश्यक पर्छ ।

देशले एक पटक गुमाइसकेको राजनीतिक स्वाधीनता र स्वतन्त्रता समय र परिस्थितिले साथ दिएपछि फेरि फर्किएका उदाहरणहरू छन् । तर एक पटक गुमिसकेको धार्मिक र सांस्कृतिक परम्परा पूर्ण रूपमा फर्काउन र कायम गर्न प्रायः असम्भव देखिन्छ । यसैलाई मनन गरेर नै राजा वीरेन्द्रले बेलाबखत भन्नुहुन्थ्यो, ‘नेपालका सबै पक्षको विकासका लागि नेपाली जुनसुकै जात–थरका होऊन्, जुनसुकै मातृभाषा बोल्ने होऊन्, उनीहरू सबै नै नेपालका सर्वस्व हुन् ।’ यो सारगर्भित कुरा नेपालका लागि मन्त्र नै हो, हामी कसैले यसलाई भुल्नु हुँदैन ।

कतिपय जटिल अवस्थामा देशलाई प्रजातन्त्रीकरण गर्ने मार्गमा दत्तचित्त रहेका राजा वीरेन्द्रको योगदान अतुलनीय छ । विशेष गरी २०४७ सालपछि आफूलाई संवैधानिक मर्यादाभित्र राखेर सबै दलहरूसँग समान व्यवहार गरी उदाहरणीय भूमिका निर्वाह गर्नुभएकाले सबै तह र तप्काबाट उहाँको प्रशंसा भैरहने गर्छ । राष्ट्रको सर्वोच्च शक्तिका रूपमा रहेर पनि असंख्य गुनासा र सुझावका पोकाहरू धैर्यपूर्वक खोल्दै समाधानको प्राथमिकता निर्धारण गरी सबैसँग हातेमालो गर्दै देशको समग्र विकासमा जुट्ने राजा वीरेन्द्र आज हामीबीच हुनुहुन्न । तथापि उहाँका देशभक्तिपूर्ण बोली–व्यवहार प्रत्येक नेपालीका निम्ति सदा स्मरणीय रहनेछन् ।

राजा वीरेन्द्रका अंगरक्षक रहेका धमला नेपाली सेनाका अवकाशप्राप्त उपरथी हुन् ।

प्रकाशित : जेष्ठ १९, २०७९ ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?