कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बालेन-उदयको भाष्य

दलहरूका यिनै भ्रष्ट र मनोमानी प्रवृत्ति र विकल्पमा उदाएका उही पुराना विचार र चालढालका दलबाट पनि आजित हुनुको परिणाम हो- बालेनको उदय र जित । बालेनको उदय दलगत विकृति र भ्रष्टीकरणविरुद्ध नेपाली युवा पुस्ताको हुँकार हो ।
प्रमोद मिश्र

हालै सम्पन्न स्थानीय चुनावमा स्वतन्त्र उम्मेदवारहरूको विजयले, खास गरी सबैतिर हलचल मच्चाउने काठमाडौंमा बालेनको र धरानमा हर्क साम्पाङको जितले एकातिर लोकतन्त्रमा प्रक्रियागत स्वतः परिमार्जन (सेल्फ करेक्सन) हुने सम्भावनाहरू उजागर गरेको छ भने, अर्कातर्फ खतराको घण्टी पनि बजाएको छ । वर्षौंको सार्वजनिक हितका लागि गरेको व्यक्तिगत संघर्ष र प्रचारप्रसारका कारण जनजातिबहुल सहर धरानमा हर्क साम्पाङको जित लोकतन्त्रमा सुखद घटना हो ।

बालेन-उदयको भाष्य

साम्पाङको उदाहरण अरू ठाउँमा पनि अनुकरणीय हुन सक्छ र हुनु पनि पर्छ । तर काठमाडौंमा बालेनको युवा लहर अन्ततः जितमा परिणत हुनु अनेकौं कारणले अप्रत्याशित, प्रतीकात्मक र ‘गेमचेन्जर’ सम्भावना बोकेको ऐतिहासिक घटना हो ।

बालेन लहर नेपाली लोकतन्त्रमा अति दलीयकरण, दलभित्र र बाहिर दलहरूले ल्याएको बेथिति, हरेक क्षेत्रको भ्रष्टीकरण, कार्यकर्ता र दलका नेताबीच मालिक (प्याट्रन)–झोले (क्लायन्ट) सम्बन्ध, शीर्ष नेताहरूको मनोमानी अनि पार्टीभित्र एकल हैकमबारे खबरदारी गराउने परिणाम र घटना अवश्य हो, तर यो नानीमैया दाहाल वा पुहातु चौधरीको विगतमा भएको ‘प्रोटेस्ट’ जित मात्र पक्कै होइन । किनभने बालेन भिन्नै माटाले बनेका पात्र हुन् र नेपाल पुस्तान्तरणको संघारमा उभिएको छ ।

सोझै भन्दा, देउवा अहिले पनि कांग्रेसबाट पाँचौं पटक ७५ वर्षको उमेरमा पनि प्रधानमन्त्री किन भइरहने ? उनमा त्यस्तो के अद्भुत खुबी छ, जो बारम्बार असफल दरिए पनि प्रधानमन्त्री भइरहन्छन् ? गगन थापा यत्तिका वर्ष युवा नेताकै रूपमा किन रहिरहने र पचास पुग्न लाग्दा मात्र मन्त्री र महामन्त्रीसम्म हुने ? ओलीमा पार्टीभित्र र बाहिर भाँडभैलो गर्ने र समय–कुसमयमा उखानटुक्कासहित विषवमन गर्नेबाहेक के छ खुबी, सत्तरी वर्षको उमेर र दुईदुईचोटि मृगौला प्रत्यारोपणपछि पनि ? यस्तै कुरा अरू शीर्ष नेताका बारेमा पनि भन्न सकिन्छ । तर खुबी नै भए पनि एक पटक प्रधानमन्त्री र दल अध्यक्ष भइसकेपछि पनि तिनै ‘जिनियस’ अनेक तिकडम गरेर बारम्बार अध्यक्ष र प्रधानमन्त्री भई मुलुकको राजनीतिमा छाइरहन्छन्, गगन थापा र घनश्याम भुसालहरूको युवा शक्ति परीक्षण गर्ने पालै आउँदैन । हाम्रो दलीय प्रणालीमा केही त गडबडी छ जसले गर्दा नयाँ र युवा प्रतिभा फास्ट ट्र्याकमा माथि आउनै पाउँदैनन् ।

यसको एउटा कारण नेताहरूले पार्टी कार्यकर्ताहरूलाई झोले बनाउनु हो । पार्टीभित्र नेताविशेषका गुट–उपगुटले माथिदेखि गाउँस्तरसम्म कार्यकर्तालाई पालेका हुन्छन् । गाउँगाउँमा दलका कार्यकर्ताले जनताका लागि आएको विकास बजेट, अरू अनुदान सहायता (पानी कल, गृह र विद्यालय भवन निर्माण आदि) आफू र आफ्ना कार्यकर्तामा बाँड्छन् । सडकमा माटो भर्दा, ग्राभेल गर्दा, स्कुल–मदरसा बनाउने र चलाउने बजेट आउँदा कार्यकर्ताले भ्रष्टाचार त गर्छन् । र, कथंकदाचित् पर्दाफास भएर समातिए पनि पार्टीले उकास्ने काम गर्छ, पैसा दिएर होस् कि प्रशासनमाथिको छलबलले । २०१९ को डिसेम्बरमा झापादेखि कैलालीसम्म गाउँगाउँ यात्रा गर्दा हामीले आम मानिसबाट यस्तै कुरा सुन्यौं । यसपालिको लामो गाउँबसाइमा यस कुराको पुष्टि भयो । प्रशासनका तहतहमा भ्रष्टाचार व्याप्त रहेको कुराले आम मानिसको मानसपटलमा घर गरेको छ । मन्त्रीले सरुवा–बढुवा गर्दा कर्मचारीबाट लिने रकम तोकिएको हुन्छ । निर्माण कार्यमा ठेकेदार, इन्जिनियर, कर्मचारी, मन्त्री, दलबीच प्रतिशत तोकिएको हुन्छ भन्ने कुरा हामीले गाउँगाउँमा सुन्यौं । र एक जना महत्त्वपूर्ण पद ओगटेका नेताले पुष्टि पनि गरे । यी कुरा वास्तवमै सत्य हुन् ? कर्मचारीदेखि वडा सदस्यसम्मले गणतन्त्रमा तलबभत्ता पाउँछन् । फेरि भ्रष्टाचार किन ?

हो, दलबिना लोकतन्त्रको कल्पना गर्न सकिन्न । र दल हाँक्न, चुनाव लड्न रकम चाहिन्छ । त्यो पैसाको स्रोत, आय–व्यय जान्ने अधिकार जनतालाई हुन्छ । दल भनेको पञ्चायतकालीन दरबार होइन जो अपारदर्शी र रहस्यमय रहिरहोस् । बहुदल र गणतन्त्र आएको यत्तिका वर्षमा दलहरूले कार्यकर्ता र मतदातालाई मिहिनेत गर्न सिकाउनुको सट्टा अवैध पैसा र भोजको लत लगाए । त्यो दुर्व्यसन कसरी हटाउने ? दलहरूसँग जवाफ छ ?

त्यसै गरी चुनावमा टिकट बाँड्ने प्रक्रियाले दलहरूभित्र गुटतन्त्र जन्माए–हुर्काएको छ । यसैपालिको स्थानीय चुनावमा नेताहरूले धेरै ठाउँमा विगत पाँच वर्षमा राम्रो काम गरेका वडाध्यक्षलाई समेत टिकट नदिई पैसा र पहुँचका भरमा नामै नसुनेकालाई मेयरको उम्मेदवार बनाए, मालिक–झोले परम्परालाई निरन्तरता दिँदै ।

दलहरूका यिनै भ्रष्ट र मनोमानी प्रवृत्ति र विकल्पमा उदाएका उही पुराना विचार र चालढालका दलबाट पनि आजित हुनुको परिणाम हो- बालेनको उदय र जित । कांग्रेस–एमालेले सीमान्तकृतलाई संविधानमा अधिकार र पहिचान त दिएनन् नै, आम जनतालाई सुशासन दिनुको सट्टा बेथिति र भ्रष्ट आचरण पनि दिए । पहिचानवादी वैकल्पिक दलहरूले पनि कांग्रेस–एमालेकै प्रक्रिया सिको गरे ।

यस अर्थमा बालेनको उदय दलगत विकृति र भ्रष्टीकरणविरुद्ध नेपाली युवा पुस्ताको हुँकार हो । तर के वर्तमान दलहरूभित्र युवा छैनन् ? पक्कै छन् । तर ती युवा एक त आफ्ना दलका उही पुराना नेताका दलगत भारमुनि थिचिएका छन् र पार्टी पंक्तिमा तिनको उक्लिने चान्सै छैन, अधबैंसे नहुन्जेल । अर्को, ती प्रायः सरकारी क्याम्पसको विद्यार्थी राजनीति गर्दै आएका पुस्ताका हुन् जसको प्रमाणपत्र भनेको मेधा होइन टायर बाल्नु, बन्द–हडताल र जुलुसमा जानु अनि तोडफोड गर्नु भएको छ । पार्टीमा आउन्जेल ती झोले कार्यकर्ता र गुटे नेतामा परिणत भइसक्छन् । तिनमा न कुनै क्रान्तिकारी विचार बाँकी रहन्छ न आफ्नो पार्टी पंक्तिलाई चुनौती दिएर फास्ट ट्र्याकबाट माथि उक्लिने आँट, मेधा, क्षमता वा महत्त्वाकांक्षा । गगन थापा र घनश्याम भुसालको उदाहरण तिनको बचेखुचेको जोस हरणका लागि पर्याप्त हुन्छ ।

तर बालेनका पछाडि कुद्ने युवा भिन्नै भुंग्रोमा खारिएका धातु हुन् । ती प्रायः बालेनजस्तै निजी विद्यालयका उत्पादन हुन् भन्ने मेरो अनुमान छ र केही वर्षयता काठमाडौंमा नागरिक आन्दोलनले बालेको प्रकाशद्वारा प्रज्वलित पथगामी पनि । तिनमा जोस र होस त छ नै, दलहरूले ल्याएको वर्तमानप्रति चरम वितृष्णा र भविष्यप्रति निराशा पनि । ती दलका कार्यकर्ता हुन चाहँदैनन् । ती अवसरको खोजीमा छन् र आफ्नो र देश समाजको भविष्य आफ्नो शिक्षा र मेधाले स्वयम् निर्माण गर्न चाहन्छन् । यो युवा वर्गले अहिलेसम्म नेपाली राजनीतिमा स्थान पाइराखेको थिएन । बालेन तिनको सामूहिक आवाज भएर निस्केका छन् किनभने उनी शिक्षित छन् र कला, विज्ञान–प्रविधिमा अभिप्रमाणित, पर्याप्त होमवर्क गरेर तथ्यमा पकड राख्ने, अनुशासित पनि ।

अन्तमा बालेनको पहिचानको कुरा गरौं । बालेनको पहिचान र उनको आफ्नो पहिचानप्रतिको दृष्टिकोण दुवै जटिल छ । केही हदसम्म यो रेटोरिकल (वाक्शास्त्रीय) पनि छ, नेपालजस्तो दुरूह पहिचान बोकेको समाजका लागि । बालेनको पहिचान र उनको धारणाबारे मधेशी–पहाडे टिप्पणीकारका कथनहरू पनि कम खुलस्त (रिभिलिङ) छैनन् । बालेन मधेशी कि पहाडे ? मधेशी टिप्पणीकारले बालेनले आफू मधेशी भएको डंका पिट्नुको सट्टा कालो टोपी र झन्डाभित्र आफ्नो पहिचान लुकाउन खोजेको आरोप लगाउन खोजेका छन् भने कुनै जमानाका नामी बाहुन पत्रकारले बालेनलाई मधेशमा होच्याउन भनिने जात जनाउने शब्द ‘तेली सुँडी’ सम्म भन्न भ्याएका छन् । चुनावमा तेस्रो स्थान ओगटेका केशव स्थापितले त मधेशी पहिचान लुकाएको र ठकुरी हुन खोजेको भनेर बालेनलाई ‘अन्तर्राष्ट्रिय ठग’ को संज्ञा पनि दिए । बालेन ठकुरी शाह कि मधेशका साह ? पत्रपत्रिकामा पनि बालेनको ‘शाह’ थर रातारात ‘साह’ मा परिणत भयो । नेपालमा तालव्य ‘श’ वाला ‘शाह’ लाई ठकुरी थर जनाउने र दन्त्य ‘स’ वाला ‘साह’ लाई मधेशी जनाउने गरी ‘श’ र ‘स’ मा विभाजन कुन शक्तिले गर्‍यो र किन ? ‘श’ शासक र ‘स’ हेपिने मधेशी भनेर छुट्याउनका

लागि हैन ? होइन भने भारतमा त मधेशकाले ‘शाह’ नै लेख्छन् !

मधेशी टिप्पणीकारको मनसाय ‘देशी मुर्गी बेलायती बोली’ भन्ने देखिन्छ भने स्थापितले काठमाडौंका रैथानेले मधेशी भनेपछि भोटै दिँदैनन् भन्ने सोचेका थिए । ती ‘आउटडेटेड’ बाहुन पत्रकार भने एउटा मधेशी अमुक जातको ठिटोले काठमाडौंमा मेयर हुने आँट कसरी गर्‍यो भनेर मुरमुरिरहेको बुझिन्छ, तिनको जातधर्म–सिञ्चित पारम्परिक नेपाली राज्यले ओढाएको उच्चजातीय अहंकारका कारण । दुवै थरीले बालेनलाई विभेदकारी र विभेदीकृत पहिचानको संकीर्ण बाकसमा कैद गरेर, उनको ‘बोल्ती’ बन्द गर्न, कद सानो पार्न खोजेको बुझिन्छ । तर आफ्नो पहिचानबारे बालेनको प्रत्युत्तर - ‘म प्योर राजाको छोरा हुँ’ - लाई कसरी लिने ? के तिनले झुट बोलेका हुन् ?

मेरो व्याख्यामा बालेनको आफ्नो पहिचान पुरानो राजघरानासँग जोड्ने वक्तव्य पनि रेटोरिकल (वाक्शास्त्रीय) कदम हो । आफ्नो इथोस (व्यक्तित्व) लाई श्रोता (काठमाडौंका जनता) माझ दमदार बनाउन र होचिनबाट बचाउन । किनभने नेपालका शासकहरूले आफ्नो दमदार पहिचान स्वयम् निर्माण गरे । राणाहरूले राजस्थानका राजपूतसँग र शाह राजाहरूले पनि भारतका राजघरानासँग वंश स्थापित गराउनु त्यसका ज्वलन्त उदाहरण हुन् । बालेनको पनि उद्देश्य आफूलाई जनता र भारदारमाझ शासक वंशको र अरूभन्दा श्रेष्ठ हुँ भनी स्थापित गर्नु थियो, वास्तविकता जेसुकै भए पनि ।

यस घटनाले पहिचानबारे पनि केही खुलासा गर्छ । पहिचान भनेकै अन्ततः प्राकृतिक, जैविक (ओन्टोलोजिकल) हुँदैन । यो जहाँ पनि निर्मित (कन्स्ट्रक्टेड) हुन्छ । इतिहासको खास कालखण्डमा समाजको शक्ति सञ्चय वा वितरण गर्ने स्वार्थ र आवश्यकता पूर्ति गर्न यसको निर्माण गरिन्छ । प्रकृतिले कसैलाई ब्राह्मण र कसैलाई अछुत, राजवंशीय वा भिखारी बनाएको हुँदैन । यो राज्य, समाज र इतिहासभित्र मानवनिर्मित तथ्य हो जसमा विभिन्न कारणले परिवर्तन भइरहन्छ । र बालेनको उदय र जितले यही शाश्वत नियमलाई उजागर गरेको छ । यस गतिशील पहिचान निर्माणक्रममा काठमाडौंका युवाले बालेनलाई मधेशी जैविकी (बायोलोजिकल, ओन्टोलोजिकल) पहिचानभित्र कैद गर्न चाहेनन् र बालेनको स्वनिर्मित नेपाली हिपहप र्‍यापर, काठमाडौंको सम्पदा संरक्षण गर्ने नेवाः, सिभिल र स्ट्रक्चरल इन्जिनियरको डिग्रीवाला विज्ञान–प्रविधि विशेषज्ञ अनि परिवर्तनवाहकको पहिचान स्विकारे । यो पहिचान निर्माणमा बालेन स्वयंको भूमिका कम छैन ।

मधेशी मूलका युवा बालेनलाई राजधानीका पहाडेबहुल मतदाताले जिताएकाले के पहिचानको राजनीति नेपालमा सिद्धियो त ? केही हदसम्म यस घटनाले नयाँ नेपालको झलक अवश्य दिन्छ । तर बालेनको जितबाटै पहिचानको समस्या र यसको राजनीति पक्कै सिद्धिएको छैन । बालेनको काठमाडौंकरण, नेवाःकरण वा भनौं राष्ट्रकरण उनले स्वयं र उनको काठमाडौंको मुटुमा भएको पालनपोषणले गरेको छ । नितान्त स्थानीय पदका लागि यी आवश्यक सर्तहरू थिए । एउटा मधेशी मूलको युवाले यी सब नभई मेयरको उम्मेदवारी दिन सम्भव थिएन । अमेरिकामा इटालियन आप्रवासीको अमेरिकीकरण माफियाबारेका किताब र सिनेमामा (जसमा ‘द गडफादर’ प्रमुख मानिन्छ) रगत र परिवारमार्फत भएजस्तै, एसियन अमेरिकनको अहिले आएर विज्ञान–प्रविधि र स्वास्थ्य सेवामा बाहुल्यमार्फत भएजस्तै बालेनको काठमाडौंकरण नेपाली भाषामा हिपहप गीत संस्कृति, नेपाली झन्डा, विज्ञान–प्रविधिमा अभिप्रमाणित दक्षता एवं काठमाडौंबारे प्रभावी ज्ञान र प्रतिबद्धताले भएको हो । उनको मधेशी पहिचान फगत बायोलोजीमा सीमित हुन पुगेको छ जबकि पहिचानको राजनीति भाषा, पहिरन, क्षेत्र र संस्कृतिसँग गाँसिएको हुन्छ ।

अन्तमा, बालेन्द्र शाहबारे सबै कुरा अहिले जान्न सम्भव छैन किनभने आफूबारे सबै कुरा बालेन स्वयंलाई समेत थाहा छैन । उनी अहिले बन्दै गरेका (वर्क–इन–प्रोग्रेस) व्यक्ति हुन् । काठमाडौंका लागि उनले राम्रो व्यवस्थापन गर्लान् भन्ने पक्कापक्की बुझिन्छÙ उनको ज्ञान, प्रस्तुति, अनुभव र प्रतिबद्धतालाई हेर्दा । तर राष्ट्रिय राजनीतिमा उनको विकास (इभोल्युसन) कस्तो र कसरी हुनेछ, अहिले नै अडकल काट्नु सञ्जाल–पण्डितका लागि सहज भए पनि ठोकुवा गर्नुचाहिँ हतारो हुनेछ । नयाँ नेपालबारे आशावादी भएकाहरूलाई उनले रवीन्द्र मिश्रले जस्तै दक्षिणपन्थी धार समातेर निराश पनि पार्न सक्छन् । तर काठमाडौंको परम्परा, संस्कृति र सम्पदाको पुनर्जीवन र संरक्षण गर्दा यहाँको नेवाः भाषा र पहिचानको रक्षा र प्रवर्द्धन पनि स्वतः हुन जान्छ । पहिचानको व्यावहारिक राजनीतिबिना यो कसरी सम्भव होला र ?

तर स्थानीय स्तरको राजनीतिमा निर्दलीयता नै राम्रो हो किनभने स्थानीय स्तरमा दलीय राजनीतिका कारण गाउँ–गाउँ विभाजित भएको छ । यसले भ्रष्टाचारलाई प्रोत्साहन गरेको छ । स्थानीय तहका दलगत पदाधिकारीहरूले भ्रष्टाचार गरे भने वा दलका कार्यकर्ताहरूले हूलदंगा वा अपराध गरे भने तिनको दल तिनलाई जसरी पनि जोगाउन लागिपर्छ, कार्यकर्ता अन्त कतै नजाऊन् भनेर ।

त्यसैले स्थानीय तहभन्दा माथि राजनीति गर्ने महत्त्वाकांक्षा भएको खण्डमा बालेनले मुलुकका प्रमुख मुद्दाबारे उचित समयमा आफ्ना धारणा प्रस्ट पार्नुपर्नेछ । तर अहिले उनलाई काठमाडौं बनाउनमा मद्दत र सद्भावना दिनु नै समयोचित हुनेछ ।

प्रकाशित : जेष्ठ १७, २०७९ ०७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?