आइतबारे बिदा : केही झार्ला त ?- विचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आइतबारे बिदा : केही झार्ला त ?

झन् गाडीहरु चले भने इन्धन बच्ला त ? उल्टै शनिबार तथा आइतबार पिकनिक, भेटघाट, घुमफिर भनेर गाडीको चाप बढ्यो भने सरकारको निर्णय के होला ? पहिले तथा अहिलेको शनिबार चल्ने–चलाइने गाडीहरुको चापको तुलना गरे सहजै जानकारी मिल्छ । यति कुराको जानकारी ट्राफिक प्रहरीले पनि दिन्थ्यो होला कि त ?
विद्यानाथ कोइराला

बिदाको इतिहासले के भन्छ ?
यहुदीहरू बाइबलको ओल्ड टेस्टामेन्ट मान्छन् । त्यहीँ जेनिसिसको १ र २ ले भन्छ- परमेश्वरले पहिलो दिन उज्यालो र अँध्यारोको सृष्टि गरे । दोस्रो दिन स्वर्ग र पृथ्वीको । तेस्रो दिन जमिन र बिरुवाको । चौथो दिन दिन र रातको । पाँचौं दिन समुद्र र हावाको । छैटौं दिन अरू जीवको । सातौं दिन परमेश्वरले साबाथ लिए । साबाथ भनेको आरामको दिन हो । त्यसैले यहुदीले त्यस दिनलाई सुत्ने दिन माने । आरामको दिन । क्रमशः उनीहरूले शुक्रबारको सूर्यास्तदेखि आइतबारको सूर्यास्तसम्मलाई बिदाको दिन बनाए । साबाथको दिन । 


इसाईले बाइबलको न्यु टेस्टामेन्ट मान्छन् । यिनीहरूमध्ये अधिकांशले विश्वास गर्छन् कि जिसस शुक्रबार शूलीमा चढे । शनिबार चिहामा आराम गरे । आइतबार ब्युँतिए । जसले तीन दिन तीन रातको चिन्तन मान्छन्, उनले अर्कै तर्क दिन्छन् (म्याथ्यु, १२ः३८-४०) । पासओभरचाहिँ यहुदीको चाड हो । इजरायलीहरू इजिप्टको दासताबाट मुक्त भएको दिन । मोजेजले माउन्ट साइनाईमा चौथो कमान्डमेन्ट दिएको दिन । त्यो दिन शनिबार थियो । तर रोमन क्याथोलिक इसाईहरूले सन् ३२१ मा शनिबारको सट्टा आइतबारलाई पवित्र दिन मान्ने चलन चलाए । उनीहरूको तर्क हो- सो दिन इस्टर सन्डे (आइतबार) हो । जिसस ब्युँतिएको दिन । समग्रमा हेर्दा, यहुदी तथा इसाईले शुक्रबारलाई जिससले शूली चढेको दिन माने । त्यही दिनको सम्झनास्वरूप शुक्रबार साँझलाई गुड फ्राइडे भने । परमेश्वरले आराम गरेको दिन भनेर शनिबारलाई आरामको दिन माने । अर्थात्, जिसस गाडिएकै ठाउँमा आराम गरे भनेर साबाथको दिन माने । आरामको दिन । जिसस ब्युँतिएको दिन भनेर आइतबारलाई चर्च जाने दिन बनाए । प्रार्थना गर्ने । हप्ताभर गरे–गराएका अपराधहरू स्विकार्ने । क्षमा माग्ने । अब अपराध गर्दिनँ–गराउँदिनँ भन्ने । यसरी यहुदी तथा इसाईका चिन्तन जोडेर पश्चिमाहरूले शुक्रबार गुड फ्राइडे मनाए । शनिबार र आइतबारचाहिँ बिदा दिने चलन चलाए । यसैले उनका लागि शनिबार र आइतबार होली डे हुन् । पवित्र दिन ।

नेपालले किन शनिबार बिदा दियो त ? राणाकालमा हप्तामा एक दिन बिदा दिने चलन चल्यो । कसैको मतमा देवशमशेरले । कसैको मतमा भीमशमशेरले । जसले बिदा दिने चलन चलाए पनि उनीहरूले ज्योतिषको आधार लिए । शनिबार शनि ग्रहको दिन हो । असल काम सुरु गर्नु नहुने दिन । त्यसैले यहुदी तथा इसाईका जस्ता ती हाम्रा होली डे अर्थात् पवित्र दिन हैनन् । बिदाका दिन मात्र हुन् । सुत्ने दिन पनि होइनन् । दिनहुँ पूजा–आराधना गर्ने संस्कार भएकाले प्रार्थनाका दिन पनि होइनन् । सृष्टिकर्ता सुतेका दिन पनि होइनन् । चिहानबाट ब्युँतिएका दिन पनि होइनन् । राणाकालीन शासकले त शनिबारलाई निषेधी दिन मानेका हुन् । नयाँ काम सुरु नगर्ने दिन । अब हामी आइतबार पनि बिदा दिन थाल्यौं । यस अर्थमा हामीलाई शनिबार र आइतबारको बिदा किन भनेर कुनै किरात धर्मावलम्बीले सोधे के उत्तर दिने ? हिन्दुले सोधे के उत्तर दिने ? बौद्धमार्गीले सोधे के उत्तर दिने ? ज्योतिषीहरूसँगै पो उत्तर छ कि ? यहुदी र इसाईकै होली डेकै अनुकरण गरेको भन्ने कि ? अरू केही भन्ने ? प्रश्न निर्णायकमा छाडें ।


बिदामा के गर्ने ?

चीनका प्राथमिक विद्यालयहरू बिहान ८ बजे खुल्छन् । अपराह्न ५ बजे बन्द हुन्छन् । निम्न माध्यमिक विद्यालयहरू बिहान ७ बजे खुल्छन् । राति ९ बजे बन्द हुन्छन् । माध्यमिक विद्यालयहरू बिहान ७ बजे खुल्छन् । राति ११ बजे बन्द हुन्छन् । विद्यार्थीहरू शनिबारका दिन बास्केटबल तथा कम्प्युटर गेम खेल्छन् । संगीत सिक्छन् । स्कुलमा पढाइने मूल विषयमा थप सिकाइ सिक्छन् । पढ्दा उत्तर नपाइएका कुराको खोजी गर्छन् । अन्य अतिरिक्त क्रियाकलाप गर्छन् । भविष्यमा के गर्ने भन्ने सोच बनाउँछन् । आइतबार क्रयाम स्कुल जान्छन् । त्यस्ता स्कुलमा चार घण्टा अंग्रेजी, भौतिक विज्ञान, गणित तथा भाषा पढ्छन् । ती सबै बेला शिक्षकको सेवा पाउँछन् । यसरी चिनियाँ बालबालिका हप्तामा ६५ देखि ७७ घण्टासम्म पढ्छन् ।

लामो बिदामा पनि चीनले स्कुले विद्यार्थीलाई व्यस्त राख्छ । संगीतमा । पहिले सिकेका कुरा सुदृढ गर्नमा । चिनियाँ जीवनसँग परिचित हुनमा । घुमघाम गर्नमा । रहरका अन्य काम गर्नमा । पढ्दा नबुझेका तथा नजानिएका कुराको थप जानकारी लिनमा । यसरी हेर्दा चिनियाँ बालबालिका कन्फुसियस तथा माओको पढ्ने, पढ्ने अनि पढ्ने दीक्षा लागू गर्छन् । छोटो अवधिका गरिखाने सीप पनि बिदाका दिनमा सिक्छन् । शिक्षकहरू तिनलाई सघाउँछन् ।

भारतका विद्यालयहरू वर्षमा २३६ दिन चल्छन् । हाम्रा २२० दिन । त्यसमा पनि वर्षको अलमलले १६५ दिन मात्र चल्छन् । २३६ दिन स्कुल चलेर पनि भारतले गरिखाने सीप सिकाउने अभियान थालेको छ । अनलाइन शिक्षा थालेको छ । हाम्रा शिक्षकहरूले के गर्ने हो ? हाम्रा विद्यार्थीहरूलाई के गराउने हो ? बिदा बढाएर शिक्षक तथा विद्यार्थीको शैक्षिक गुणस्तर सुधार्ने कि ? तिनलाई गरिखाने शिक्षा दिने हो कि ? तिनलाई व्यस्त राख्ने कुनै तरकिब छ कि ? निर्णायकहरूलाई प्रश्न गरें ।

अमेरिकाले वर्षमा १८० दिन पढाउँछ । ६ घण्टा स्कुलमा बसाउँछ । चार्टर स्कुलले त्यसमाथि थप घण्टा पढाउँछन् । त्यति गर्दा पनि कार्नेजी इकाइको अध्ययनले भन्छ- १८० घण्टाको पढाइले पुगेन । हिउँ परेका दिन (स्नोडेज) अर्थात् हिउँदे बिदाका दिनले गर्दा शैक्षिक उपलब्धि घट्तो रहेछ भन्छ । यी र यस्तै अध्ययनका आधारमा अमेरिकी स्कुलमा विद्यार्थीहरूलाई थप पढाइका लागि अतिरिक्त क्रियाकलापमा संलग्न गराइन्छ । समुदायमा गएर सिक्ने काम दिइन्छ । अनुसन्धान तथा परियोजना कार्यमा लगाइन्छ । अर्थात्, सिक्ने काममै व्यस्त राखिन्छ । बिदाकै बेलामा शिक्षकलाई आफूले आफैंलाई अद्यावधिक गर्न आंशिक कलेज पठाइन्छ । समर कलेजमा । विन्टर कलेजमा । स्वेच्छाले रकम तिर्ने गरी । छात्रवृत्ति रकम पाउने गरी । विद्यार्थीको गल्ती खोज्न सिकाइन्छ । त्यसलाई सुधार्ने सोच बनाउन लगाइन्छ । त्यसैमा अनुसन्धान गर्न लगाइन्छ । विद्यार्थी के गर्दै छ भनी पहिचान गर्न रेखदेख क्रियाकलाप (केयर एक्टिभिटी) मा व्यस्त बनाइन्छ । के हाम्रा शिक्षक तथा प्राध्यापक यस्ता कार्यहरू गर्न–गराउन तयार छौं त ? बिदा दिन तथा बिदा बस्न मात्र रमाउने हामीले यो कुरा सोचेका छौं त ?

हामी नेपालमा हप्तामा ३६ घण्टा पढाउँथ्यौं । हप्ताका दुई दिन बिदा हुनासाथ हामी ३० घण्टा पढाउन थाल्छौं । साढे ९ र साढे ४ को स्कुल बनायौं भने ४२ घण्टा पढाउँछौं । हिमाली भेगमा यो नियम लागू होला त ? बिहानै काममा जाने संस्कृति भएको पहाडमा यो नियम स्विकार्लान् त ? यसरी छुट्ने वा ढिला स्कुल आउने विद्यार्थीलाई शिक्षकले विशेष ध्यान देलान् त ? किताबबाट सार्ने खाले गृहकार्य दिने संस्कृति बदल्लान् त ? यी प्रश्नका उत्तर नखोज्ने हो भने हाम्रा बिदा लिन र बिदा दिन बानी लागे–लगाइएका संस्कारहरूमा फेरबदल होला त ? अन्यथाको अवस्थामा बनेको आइतबार बिदा दिने क्रान्तिकारी सोचले हामीलाई कता लान्छ ? के चिनियाँको जस्तो आफूमा पढ्ने, समुदायमा पढ्ने, अनि विज्ञसँग पढ्ने संस्कृति सिकाउँछ त ? के हामी शिक्षक तथा प्राध्यापकले विद्यार्थीका हिजोका नतिजाहरू सुधार्ने बानी बसाल्छौं त ? के हामी हाम्रा शिक्षकहरूलाई प्रतिहप्ता अद्यावधिक गर्ने चीनको जस्तो साप्ताहिक अभियान चलाउँछौं त ? के हामी अमेरिकाको जस्तो हिउँदे तथा बर्खे बिदामा चल्ने कलेज चलाउँछौं त ? के हामी भारतले जस्तो अनलाइन छोटो अवधिको गरिखाने सीप सिकाउँछौं त ? के हामी अहिलेकै क्रान्तिकारी निर्णयले गुणस्तरीय शिक्षा सुनिश्चित गर्छौं त ? संविधानको धारा ५१ ज को १ ले भनेजस्तो शिक्षा दिन सक्छौं त ? शिक्षा मन्त्रालयका विचारक समूहमा यी प्रश्नहरू छाडें ।


लामा बिदा किन दिइए ?

काठमाडौं उपत्यकाको हिउँदमा कुनै बेला दुई मिटर बाक्लो कुहिरो लाग्थ्यो । बाटामा तुसारो पर्थ्यो । धाराको पानी जम्थ्यो । पोखरी सेताम्य हुन्थ्यो । रैथाने वयोबड्डाहरूको भनाइमा माछा पनि कठ्यांग्रिन्थे । मीन भनेको माछा हो ।

पचास भनेको ५० दिनसम्म । त्यसैले काठमाडौंका शिक्षक, प्राध्यापक तथा विद्यार्थीलाई मीन पचास बिदा । जाडो छल्न । हिमाली बस्तीमा स्कुल खोल्दा मीन पचासको बिदा नै लागू भयो । अहिले हिउँदे बिदा भनेको मीन पचासको विस्तारित नाम हो ।

त्यस्तै, गुजारामुखी खेतीमा बाँचेका हामी मधेश तथा पहाडका शिक्षक, प्राध्यापक एवं विद्यार्थीले खेतीका बेला बिदा पायौं । असार–साउनको बिदा । हामीलाई

मीन पचास बिदा थिएन । चाहिएन पनि । त्यसैको विस्तारित नाम बर्खे बिदा

हो । ती दिनका बिदा कटाउनुको सोझो अर्थ हो- काठमाडौं उपत्यका तथा हिमाली भेगमा माछा कठ्यांग्रिँदैनन् । अर्थात्, त्यहाँ जाडोको दिन घट्यो । अथवा, त्यहाँका स्कुल–कलेजमा वातानुकूलित व्यवस्था छ । त्यस्तै बर्खे बिदा कटाउनुको अर्थ हो- अब हामी गुजारामुखी खेतीमा छैनौं । बजारमुखी खेतीमा गइसक्यौं । अथवा, हाम्रा विद्यार्थी, शिक्षक तथा प्राध्यापकहरू प्लेटोका शब्दमा कामदार वर्ग होइनौं । पेटको चिन्तन गर्ने । उनकै शब्दमा अभिभावक वर्ग भइसक्यौं । के यो कुरा सही हो ?

प्रत्येक जातजाति तथा धर्मका चाडपर्वमा स्कुल तथा कलेज बन्द गर्ने हाम्रो संस्कार बनिसक्यो । क्यालेन्डर पनि त्यसरी नै मिलिसक्यो । नमिलेको ठाउँमा मन्त्रिपरिषद्ले बिदा दिने निर्णय गर्ने चलन भइसक्यो । पराईका देशमा भने अर्कै चलन छ । जस्तो- क्यालेन्डरअनुसार पठन–पाठन गर्न क्यानेडियनले स्कुल–कलेजमै बहुसांस्कृतिक चाड मनाउँछन् । पठन–पाठन भने रोक्तैनन् । जातजाति तथा धर्मका मान्छेले आफ्नो आवश्यकताअनुसार बिदा लिन पाउने व्यवस्था गर्छन् । के हामी त्यसो गर्न सक्छौं त ? गर्छौं त ?

सरकारकै कर्मचारीलाई बिदा दिने नीति स्कुल–कलेजमा लगाए पनि हुथ्यो कि त ? जम्मा यति दिन बिदा पाउने । अनिवार्य बिदा नदिने । शिक्षक तथा प्राध्यापकले बिदा लिएका दिनमा पनि पढाइ निरन्तर रहने । कुनै दिन औपचारिक पढाइ । कुनै दिन अतिरिक्त क्रियाकलाप । कुनै दिन गरिखाने पढाइ । विद्यार्थीलाई पनि त्यस्तै बिदा दिने । सबै आएको दिनमा मूल विषय पढ्ने । नआएको दिनमा इच्छाधीन । यस्तो तरकिब बनाए पनि हुन्थ्यो कि त ? किन यस्तो सोच नबनेको होला ? नबनाइएको होला ? किन जबर्जस्ती बिदाको चिन्तनमै हामी अलमलिएका हौंला ? कसैले भनिदिन्छौं कि त ?

इन्धन बच्ला त ?

आइतबार बिदा दिनु भनेको इन्धन बचाउनु हो । इन्धन किन्ने डलर बचाउनु हो । सरकारको बलियो तर्क यही रह्यो । यसो हो भने, हामी इको चिप्स प्रयोग गर्न सक्छौं त ? इको चिप्स भनेको टर्निङ बक्स हो । यसमा ओबीडीटू कनेक्टर हुन्छ । यो गाडीमा जोडिनासाथ इन्धन बचत हुन्छ । त्यस्तै, हामी इको राइडको व्यवस्था गर्न सक्छौं कि त ? इको राइड पनि प्लग एन्ड राइड सामग्री हो । कार फ्युल सेभरको प्रयोग गर्न सक्छौं त ? तिनीहरूको परीक्षणले भन्छ- इको चिप्सले ५५ प्रतिशत इन्धन बचाउँछ । इको राइडले १५ प्रतिशत । कार फ्युल सेभरले केही प्रतिशत । यो चिन्तन गरेको भए हुने थियो कि त ? शिक्षा मन्त्रालयमै विज्ञान तथा प्रविधि मन्त्रालय पनि छ । यसबारे किन नसोचिएको होला ? विज्ञान प्रविधि मन्त्रालयसँग पो यसको उत्तर छ कि त ? इन्धन पनि बच्ने । शिक्षामा अपत्यारिलो नियति भोग्नु पनि नपर्ने ।

उपसचिव तथा सोभन्दा माथिका सरकारी कर्मचारी, संस्थानका कर्मचारी, गैरसरकारी संस्थाका कर्मचारी, निजी विद्यालयका सञ्चालक, निर्वाचित तलबी जनप्रतिनिधि, निजी विद्यालयमा पढ्ने–पढाउने विद्यार्थी एवं शिक्षकहरू पनि त जनताकै सन्तति हुन् । तिनले एक दिन सार्वजनिक यातायात चढे हुँदैन र ? हिँडेरै गन्तव्यमा पुगे हुँदैन र ? अर्थात्, मोटर चढ्न पाउने भाग्यमानी व्यक्तिहरूले त्यस दिन जनता बन्न मिल्दैन र ? त्यसो गरेको भए क्रमशः सार्वजनिक यातायात समयमा चल्थे होलान् कि त ? ती भाडाका सवारीमा चढ्नु नपर्नेहरूले पनि जनताका दुःख–दर्द बुझ्थे कि त ? त्यसो गर्न मन नलागे केही सार्वजनिक गाडीहरूको रुट आइतबारका लागि बदल्न पो सकिन्थ्यो कि त ? क्यानाडातिर त्यसो गर्छन् भन्ने कुरा हामी निर्णायकहरूले जानेका छैनौं र ? यसो गरेको भए आकाश खस्थ्यो र ? किन सोचेनौं भाग्यविधाताहरूले ? सोच नपुगेको हो र ?

हाम्रा नेतृत्वहरू जनताका कुरा गर्छौं । जनताकै जीवनशैली जिउनचाहिँ किन डराउँछौं ? यदि नडराउने हो भने एक दिन जनता चढ्ने गाडीमै चढे के हुन्छ ? त्यसो गर्न सकिँदैन भने धेरैवटा कार्यालयका लागि एउटा गाडी घुमाए के हुन्छ ? यसो गर्दा गाडी किन्ने खर्च बच्छ । जागिर छोड्दा पनि मोटर चढ्नुपर्छ भन्ने चाहना हुन्न । फलतः भ्रष्टाचार घट्छ । जनतासँगको सम्बन्ध बनिरहन्छ । यसबारे जनताका कुरा गर्नेहरूले किन सोचेनौं ? शिक्षा मन्त्रालयका निर्णायकहरू यसबारे केही बोल्न सक्छौं त ?

हाम्रो अभ्यासले भन्छ- शनिबार पनि हामीले सरकारी गाडी कुदाएकै छौं । निजी स्कुलका गाडी दगुराएकै छौं । संस्थानहरूले त्यसै गरेका छौं । जनप्रतिनिधि पनि त्यही मार्काका छौं । यसो हो भने स्कुल–कलेज बन्द गर्दर्मौ आइतबार गाडी चल्दैन भनी निश्चिन्त हुने आधार छ र ? बढ्दो नवधनाढ्य तथा मध्यमवर्गीको रबाफले झन् गाडीहरू चले भने इन्धन बच्ला त ? उल्टै शनिबार तथा आइतबार पिकनिक, भेटघाट, घुमफिर भनेर गाडीको चाप बढ्यो भने सरकारको निर्णय के होला ? पहिले तथा अहिलेको शनिबार चल्ने–चलाइने गाडीहरूको चापको तुलना गरे सहजै जानकारी मिल्छ । यति कुराको जानकारी ट्राफिक प्रहरीले पनि दिन्थ्यो होला कि त ? किन हामीले खोजेनौं ? खोजाएनौं ?

सकिएला त ?

केही अपवादबाहेक कोरोनाकाल बिदाकै दिन बन्यो । बनाइयो । ती दिनहरूमा हामी शिक्षक तथा प्राध्यापकले के गर्‍यौं ? विद्यार्थीलाई के गरायौं ? कसरी गुणस्तर कायम गर्‍यौं ? यति कुराको लेखाजोखा गरेको भए बिदामा हामी के गर्छौं भन्ने कुरा जानिन्थ्यो । शनिबार हाम्रा शिक्षक, प्राध्यापक, तथा विद्यार्थीको दैनिकी हेरेको भए अर्को कुराको जानकारी हुन्थ्यो । यो काममा सरकारलाई चासो भएन । बरु बिदा समायोजनमा हाम्रा भाग्यविधाताहरूको ध्यान गयो । यति हुँदाहुँदै पनि अहिलेको बिदा समायोजनको क्रान्तिकारी अभ्यासले केही कुराको संकेत गर्ला कि त ?

पहिलो संकेत हो- हामी केही शिक्षक तथा प्राध्यापकहरू पेसाकर्मी छौं । तिनको खोजी हुन्छ । सम्मान हुन्छ । अनुकरण हुन्छ । कोही पेसाधारी छौं । तिनलाई पेसाकर्मी बनाउने दह्रिलो जोडबल हुन्छ । कोही भुलिएर पेसामा आएका छौं । तिनीहरू पेसाबाट अलग हुन्छौं । कोही दलीय आशीर्वाद भजाउँदै विद्यार्थीको समय खाइरहेछौं । तिनीहरू पाखा लाग्छौं । दोस्रो, हाम्रा विद्यार्थीहरू हप्ताका दुईदिने बिदा तथा लामा बिदामा अनुसन्धान गर्छन् । परियोजना गर्छन् । समुदायमा गएर सिक्छन् । सिकाउँछन् । गरिखाने सीप सिक्छन् । अतिरिक्त विषयमा जानकार हुन्छन् । त्यसका लागि शिक्षक तथा प्राध्यापकको अथक एवं निरन्तर सहयोग पाउँछन् । यस क्रममा स्कुल, कलेज तथा विश्वविद्यालयहरू अहोरात्र खुल्छन् । बन्द मोडमा । खुला मोडमा । यस काममा हामी शिक्षक तथा प्राध्यापकहरू जिम्मेवार बन्छौं । तेस्रो, अब पश्चिमाको जस्तै हाम्रो शैक्षिक क्यालेन्डर तलमाथि हुन दिँदैनौं । जे भए पनि जसो भए पनि । चौथो, रहर लागेका बेला मन्त्रिपरिषद्ले बिदाको निर्णय पनि गर्दैनौं । पाँचौं, हाम्रा शिक्षक तथा प्राध्यापकहरूलाई तत्स्थानमै अद्यावधिक गर्ने प्रबन्ध मिलाउँछौं । छैटौं, लामो अवधिको स्कुल–कलेज होस् कि छोटो अवधिको, हामी शैक्षिक गुणस्तर सुनिश्चित गर्छौं । गराउँछौं ।

प्रकाशित : जेष्ठ ४, २०७९ ०७:१९
प्रतिक्रिया
पठाउनुहोस्

केमा निरन्तरता, केमा क्रमभंग ?

भेडोपनको खेती हाम्रो संस्कृति बन्यो । त्यो खेतीमा क्रमभंग गरौं । बुद्धिजीवीलाई बुद्धुजीवी भेडो बन्न–बनाउनबाट बचाऔं । यसरी हाम्रो शिक्षा तथा संस्कार फेरौं ।
विद्यानाथ कोइराला

ऐतिहासिक नेपालको निरन्तरता अथर्ववेदको परिशिष्टमा नेपालको नाम उल्लेख छ । अथर्वशीर उपनिषद्मा पनि नेपालको नाम छ । नामको व्याख्याले भन्छ— नेपाल ज्ञानभूमि हो । शान्तिभूमि हो । तपोभूमि हो ।

स्कन्दपुराण परिच्छेद ७१ को हिमवत्खण्ड अनुसार नेपालका चारवटा नाम छन् । सत्ययुगमा नेपालको नाम सत्यवती थियो । त्रेतायुगमा यसको नाम तपोवन भयो । द्वापरयुगमा नेपालको नाम मुक्तिसोपान बन्यो । कलियुगमा नेपालको नाम नेपालिकापुरी हुन गयो । स्कन्दपुराणको ८१ औं परिच्छेदले त्यस बेलाको नेपालको महिमा बताउँछ । प्रा.डा. वेणीमाधव ढकालद्वारा अनूदित हिमवत्खण्ड (पृष्ठ ५८३–५८८) ले यसको आंशिक जानकारी दिन्छ ।

हाम्रा इतिहासकारहरूले नेपाल मण्डलको इतिहास मात्र लेखेका हुन् । त्यसैलाई नेपाल भनेका हुन् । नेपाल मण्डल भनेको तिनताकाको काठमाडौं उपत्यका मात्र हो । नेपाल मण्डललाई काठमाडौंबाहिरका मानिसहरूले नेपाल भनेका हुन् । यसरी हेर्दा नेपाल मण्डल, नेमुनि, गोपालवंशी, किरातवंशी, लिच्छविवंशी, मल्लवंशी तथा शाहवंशी शासक भनेर मात्र पढाउँदा नेपालको इतिहासले निरन्तरता पायो र ? यो कुरामा राजनीतिज्ञहरू कति सजग छौं ? शिक्षक तथा प्राध्यापक कति सजग छौं ? इतिहासकारहरू कति सजग छौं ? छौं भन्ने हो भने किन हामीले यी कुराहरू जोडेर पढाइरहेका छैनौं त ? कतै हामीले नेपालको इतिहास नै पढेनौं कि ? पढाएनौं कि ? पढाउनै पो जानेनौं कि ?

यसरी हेर्दा नेमुनिको नामबाट नेपाल शब्द बन्यो भन्ने कुरा अधुरो देखिन्छ । मञ्जुश्रीको इतिहास काठमाडौं मण्डलमा सीमित हुन्छ । गोपालवंशी इतिहास अधुरो हुन्छ । किरातवंशी इतिहास अपुरो हुन्छ । अपुरो तथा अधुरो कुरालाई पूरा बनाउन स्कन्दपुराण जोड्न मिल्दैन र ? अथर्ववेदको परिशिष्टको चर्चा गर्न मिल्दैन र ? अथर्वशीर उपनिषद्को हवाला दिन मिल्दैन र ? शतपथ

ब्राह्मणमा लेखिएको विदेहको इतिहासले नेपाल जोड्छ भन्न मिल्दैन र ? बाइसे तथा चौबीसे राज्यको जानकारी जोडे हुँदैन र ? पुर्खाले त हुन्छ, जोड भनिरहेका थिए । हामीले त्यसलाई तोडिरह्यौं । इतिहासविज्ञ भएर । सामाजिक शिक्षाविज्ञ भएर । किन हामीले यो काम गरेका–गराइरहेका हौं ? नजानेर ? नसकेर ? प्रामाणिकता छैन भनेर ? अरू कुनै कारणले ? नेपालको इतिहासको निरन्तरता खोज्नेलाई के जवाफ दिने हो ?

ज्ञान–विज्ञानको निरन्तरता

हाम्रो इतिहासले भन्छ— नेपालमा अनेकन् ज्ञान, विज्ञान तथा प्रविधि छन् । ती ज्ञान, विज्ञान तथा प्रविधिहरू हाम्रा कलामा देखिन्छन् । संस्कृतिमा देखिन्छन् । व्यवहारमा देखिन्छन् । पानीघट्ट एउटा उदाहरण हो । आरन अर्को उदाहरण हो । मन्दिरको टुँडाल तेस्रो उदाहरण हो । यस्ता अनगिन्ती उदाहरण छन् ज्ञानका । विज्ञानका । प्रविधिका । तर ती स्रष्टाहरूले कुन विज्ञान प्रयोग गरे ? कुन ज्ञान प्रयोग गरे ? कुन प्रविधि प्रयोग गरे ? कुन सृजना प्रयोग गरे ? कसरी तिनमा ती ज्ञान, विज्ञान तथा प्रविधिका सोचहरू जन्मिए ? को हो त्यो ? कसरी त्यसले त्यो सोच बनायो ? कति पढेको थियो त्यसले ? कुन प्रयोगशालामा विचारको परीक्षण गर्‍यो त्यसले ? यी कुराको खोजबारे हाम्रै चिन्तन के त ?

विज्ञान भन्छ— पानीघट्टले काइनेटिक तथा पोटेन्सियल इनर्जीलाई मेकानिकल कार्यमा बदल्छ । नेपाल, चीन, भारत, पाकिस्तान तथा टर्कीमा यस्ता घट्टहरू छन् । ती घट्टका स्रष्टा को हुन् ? विस्तारक को हुन् ? ती गुमनाम डिजाइनर कुन युगका थिए ? तिनको गणितीय ज्ञान के थियो ? विज्ञानको ज्ञान के थियो ? प्रविधिको ज्ञान के थियो ? अर्थशास्त्रीय ज्ञान के थियो ? समाजशास्त्रीय ज्ञान के थियो ? यो कुराको जानकारी हामीलाई छैन । हामीले पत्याएको ज्ञान हो, १९ औं शताब्दीमा पानीघट्टको विकास भएको हो । के यो ज्ञानमा सत्यता होला ? किनकि ती खोजकर्ता विदेशी हुन् । घट्ट नदेखेका मान्छेहरू । आरन नचिनेका मान्छेहरू । टुँडाल नदेखेका मान्छेहरू । तिनले भनेका कुरामा मात्र प्रामाणिकता छ भन्ने हो भने हाम्रा ज्ञान, विज्ञान तथा प्रविधिहरू हराउँछन् । विश्वविद्यालयहरूले यसको खोजी गर्नुपर्ने हैन र ? अनुसन्धाताहरूले कलम चलाउनुपर्ने होइन र ? यी र यस्ता ज्ञान, विज्ञान एवं प्रविधिको खोजी गर्ने विश्वविद्यालय खोल्नुपर्ने हैन र ? रैथाने ज्ञान, विज्ञान तथा प्रविधिको विश्वविद्यालय । तिनको खोजी गर्ने खालको । खोजीका आधारमा उद्यमीकरण गर्ने खालको । सीप सिकाउने खालको । प्राज्ञिक दक्षता सुनिश्चित गर्ने खालको । किन सोच्तैनौं संस्कृति–संरक्षक हौं भन्नेले ? किन सोच्तैनौं राष्ट्रवादी हौं भन्नेले ? विदेशी कुरा मात्रै पढायौं भन्नेले ? पढ्यौं भन्नेले ? अन्यथा हाम्रो ज्ञान, विज्ञान तथा प्रविधिको निरन्तरता हुन सक्ला र ?

सम्भावनाको निरन्तरता

सम्भावना हुने हो कि बनाउने हो ? चीनको अनुभवले भन्छ— बनाउने हो । अक्करे भीरमा झुन्डिने होटल बन्दो रहेछ । चल्दो रहेछ । कहालीलाग्दो खोलामाथि बन्जीजम्प हुँदो रहेछ । पानीमा छाया देखिने सुन्दर पहाडमा कलाप्रेमी धाउँदा रहेछन् । अस्ट्रेलियाको अनुभवले भन्छ— हिलोमा खेल्ने खेलमा युवा धाउँदा रहेछन् । अमेरिकी अनुभवले भन्छ— धामीझाँक्रीको ज्ञानमा शोध गरे विद्वान् आउँदा रहेछन् । नेपालकै अनुभवले भन्छ— फनपार्क बनाए बालबालिका रमाउँदा रहेछन् । नवलपरासीको शाश्वतधाममा जस्तो सर्वतीर्थ बनाए आध्यात्मिक तथा धार्मिक मान्छे आउँदा रहेछन् । सर्लाहीको वाग्मती नगरपालिकाको अनुभवले भन्छ— ठूलो पोखरी बनाए सबैथरी धाउँदा रहेछन् ।

हिमाली क्षेत्रका नेपालीले पखेरामा प्वाल पारेर घर बनायौं । सिमेन्टवालाले त्यसलाई अन्त्य गरिदियौं । पहाडमा जडीबुटीबाट औषधि गर्‍यौं । आधुनिक औषधिपसलले त्यसलाई बन्द गरिदियौं । मधेशमा काठ तथा फुसको घर बनायौं । जमिनभन्दा तल मझेरी बनायौं । परिणामतः घरहरू शीतल थिए । अहिले कुर्सी (डीपीसी तह) उठायौं । गिलेवा (माटो) को सट्टा सिमेन्ट प्रयोग गर्‍यौं । परम्परागत प्राकृतिक शीतलता गुमायौं । यी अभ्यासहरूले हामीलाई आफ्नोपनबाट टाढा लगे । लाँदै छन् । यी कुराहरूले अध्ययन खोज्छन् । त्यस्तो अध्ययन गर्ने–गराउने कोही छौं त ? संस्थाका रूपमा ? समूहका रूपमा ? व्यक्तिका रूपमा ? त्यसो नगर्दा सम्भावनाहरू बन्छन् त ? आफ्नोपनको सम्भावना ?

वचनको निरन्तरता

बोली र गोली फुत्केपछि आउन्नन् । होस चाहिने त्यसैले हो । हामी भने वचनमा दरिद्र नबन्ने चिन्तनमा पुग्यौं । अनिवार्य शिक्षा भन्छौं, सक्तैनौं । सत्तरी प्रतिशतलाई गरिखाने शिक्षा दिने भन्छौं, लाचारी व्यक्त गर्छौं । असंलग्न परराष्ट्रनीति भन्छौं, पक्ष लागेर बोल्न छाड्दैनौं । एमसीसीको कुरा गर्छौं, बीआरआई छुँदैनौं । बीआरआईको कुरा गर्छौं, एमसीसी छुँदैनौं । देशको साँधसीमा मिचेको कुरा गर्छौं, चारैतिरको साँधसीमाको एकसाथ चर्चा गर्दैनौं । अर्थात्, बित्थामा पक्ष बनिदिन्छौं । विपक्ष बनिदिन्छौं । बन्न लगाउँछौं । बनाउँछौं । के सधैं पक्ष–विपक्षकै कुरामा अल्झिने हो र ? आग्रह र पूर्वाग्रहमै बाँच्ने–बचाउने हो र ?

हामी सबैसँग मित्रता छ भन्छौं, त्यसको पालना गर्दैनौं । त्यसैले सी चिनफिङले भनिदिए— हामी जे बोल्छौं, त्यो गर्छौं । उनको भनाइले हामीलाई कुनै क्षेत्रमा पनि लज्जित बनाएन । कृषिमा आत्मनिर्भर भनेको कति वर्ष भयो ? अहिले पराश्रयी बनिसक्यौं । शिक्षामा गुणस्तरीयता भनिरह्यौं । हाम्रा प्रमाणपत्रहरू अपत्यारिला बनिसके । युवा स्वरोजगारीका कुरा गर्‍यौं, युवा बाहिर लैजाने परामर्शकेन्द्र तथा म्यानपावर कम्पनीहरू थपिइरहे । जनचाहना अनुसारका काम गर्ने–गराउने भनिरह्यौं, जनआक्रोश बढाइरह्यौं । यसरी हेर्दा, हामी जे बोल्छौं, गर्दैनौं । जे गर्छौं, बोल्दैनौं । यो स्थितिमा हामी अपत्यारिला बनिसक्यौं । नीतिगत रूपमा । कार्यगत रूपमा । त्यसैले वाग्दानको निरन्तरता कसरी सुनिश्चित गर्ने ? कृषिमा हाम्रा वाग्दानहरू केके थिए ? स्वास्थ्यमा केके थिए ? शिक्षामा केके थिए ? विदेशनीतिमा केके थिए ? शान्ति सम्झौतामा केके थिए ? प्रशासन सुधारमा केके थिए ? विकेन्द्रीकरणमा केके थिए ? यी कुराहरूको लिखत किन राखेनौं ? त्यो दिशामा किन काम गरेनौं ? हाम्रा स्वार्थ भए पनि तिनलाई वाग्दानमा नैं मिलाउने काम किन गरेनौं ? त्यसो नगर्दा वचनको निरन्तरता भएन । त्यो भनेको वाग्दान फेल हुनु हो । अपत्यारको निरन्तरता बन्नु हो । ‘नो भोट’ को अधिकार त्यसैले बनेको हो । राजनीति भनेको झूटको खेती हो भन्ने धारणा त्यसैले बनेको हो । वाग्दानमा टिकेको पुर्ख्यौली संस्कारमा धावा हुँदा हामी झूटको पुलिन्दा बन्यौं । बनाइयौं । यसबारे हामी किन गहिरिएनौं ?

नीतिगत निरन्तरता

आयोग बनाउन र प्रतिवेदन लेखाउन हामी खप्पिस छौं । जुन क्षेत्रमा हेरे पनि त्यही देख्छौं । तर ती नीतिमा के कुरामा निरन्तरता दिने, केमा क्रमभंग गर्ने भनी लेख्ने संस्कार बनाउन सकेनौं । अर्थात्, कतै शब्दान्तर गर्‍यौं । कतै भावान्तर । कतै थपथाप गर्‍यौं । यसो गर्दा प्रतिवेदन त ठूलो बन्यो, गाँठी कुरा भने आएन । केमा निरन्तरता दिएका छौं भनेर । केमा भिन्न छौं भनेर । केमा नयाँ कुरा ल्यायौं भनेर । केमा क्रमभंग गर्‍यौं भनेर । शिक्षाको उदाहरण हेरौं । २०१२ सालदेखि अनिवार्य शिक्षाको गुड्डी हाँक्यौं । अहिले पनि त्यही भन्दै छौं । त्यो काम कसको हो ? अहिलेसम्म किटानी गरेनौं । त्यो काम पूरा गर्ने को हो ? त्यसको लेखा पनि राखेनौं । त्यो काम नगर्नेलाई सजाय दिने चिन्तन पनि बनाएनौं । यही हालत कृषिमा छ । यस वर्ष सयवटा नर्सरी बनाउने भनी पहिलो विकास योजनामा लेख्यौं । अहिले पनि त्यही बुद्धिको निरन्तरता छ । हर पालिकामा बीउ तथा बेर्नाको नर्सरी बनाउने चिन्तन आएकै छैन । यसको अर्थ हो— हामी गर्ने विकासको काममा लागेकै छैनौं । गरिदिने विकासमा मात्र हाम्रो ध्यान छ । यस्ता अनेकन् उदाहरण छन् । यी उदाहरणले भन्छन्— हामीले निरन्तरता दिने कुरा त जानेछौं, कसरी निरन्तरता दिने भन्ने कुरामा चाहिँ हिजैको सोच बोकेछौं । यही चिन्तनले गर्दा हामीले विकेन्द्रीकरण गर्न सकेनौं । संघीयता भने पनि त्यसको अभ्यास गर्न सकेनौं । जे गर्‍यौं, त्यो अधिकार प्रत्यायोजन मात्र हो । यो स्थितिमा हामीले बनाउने योजनामा निरन्तरता दिने केमा हो ? क्रमभंग गर्ने केमा हो ? नयाँ कुरा भित्र्याउने केमा हो ? यी र यस्ता कुरा किन गरेनौं ? किन गराएनौं ? जे लेखे पनि इतिहास मात्रै लेख्यौं । अर्थात्, इतिहास भजाएरै खान सिक्यौं । सिकायौं । विकासको इतिहास । शिक्षाको इतिहास । कृषिको इतिहास । स्वास्थ्यको इतिहास । यति बेला हामीले इतिहास लेख्ने कि ? रच्ने ? यो कुरामा संवाद गर्न कसले रोक्यो ? त्यसरी नै छरिता प्रतिवेदनहरू बनाउन कसले छेक्यो ? किन यसमा हामी मौन छौं ? किन अभ्यास गर्दैनौं ?

भेडोपनीय संस्कारको निरन्तरता

हाम्रा कार्यशैलीमा भेडोपन छ । नेता पछ्याउने । नेताहरूमा अर्को भेडोपन छ । जेजस्तो भए पनि नेतै बन्ने । यो भेडोपनीय संस्कारले हामीलाई विवेकहीन बनायो । पछौटे बनायो । यो संस्कारलाई निरन्तरता दिने कि क्रमभंग गर्ने ? निरन्तरता दिँदा हामीले दलीय भेडाहरूको हूललाई संस्थागत गर्‍यौं । शिक्षकमा । प्राध्यापकमा । कर्मचारीमा । वकिलमा । चिकित्सकमा । पत्रकारमा । विद्यार्थीमा । तिनको चुनावले यही भन्छ । तिनले निम्ता गर्ने नेता समूहले त्यही भन्छ । बुद्धिजीवी समुदायको यो भेडोपनको निरन्तरता कायम राख्ने कि तिनलाई बुद्धिजीवी नै बन्न दिने ? राजनीतिक दलमा भेडोपनीय संस्कार स्वीकार्य होला । बुद्धिजीवीलाई भेडो बनाउँदा सबै चौपट बन्यौं । दलीय आग्रहमा बस्ने । सोही आग्रहमा रमाउने । परिणामतः हामीले सन्तुलन गुमायौं । यो गुमेको सन्तुलन फर्काउने पुर्ख्यार्लैी चलन थियो । महाभारतका भीष्मको भनाइले त्यही चिनाउँछ । विदुरको चिन्तनले त्यही भन्छ । राजर्षि जनकका सभासद्लाई

चुनौती गर्ने अष्टावक्रको हिम्मतले त्यही भन्छ । विगतको वसियतबाट सिकेर हाम्रो भेडोपनीय स्वभावलाई सन्तुलनमा ल्याउने अभ्यास थाल्ने कि ? अभ्यास थाल्ने हो भने दलीय आधारमा बुद्धिजीवी समूह बनाउने दुष्कर्म छोड्ने कि नछोड्ने ? भेडापनीय बुद्धिजीवीकै खेतीमा रमाउने हो भने खाल्डोमा खस्न तयार बनौं । सन्तुलनको खेजी हो भने दलीय बुद्धिजीवी बन्ने–बनाउने संस्कार भत्काऔं । अर्थात्, केमा निरन्तरता दिने भन्ने कुराको यकिन गरौं । यसबारे दलहरूका शीर्षस्थ नेताहरू किन चुप छौं ? किन भेडोपनकै खेतीमा मक्ख छौं ? किन बुद्धिजीवीलाई सन्तुलनका लागि बाटो खोल्दैनौं ? अर्थात्, बुद्धिजीवीलाई भेडोपनबाट बचाउने उपक्रम गर्दैनौं ? बुद्धिजीवीहरू पनि किन भेडोपनमै मक्ख छौं ? यो मक्खता बदल्ने बेला भएन र ?

निर्क्योल

केमा निरन्तरता दिने ? केमा क्रमभंग गर्ने ? केमा विस्तार गर्ने ? केमा नवीनता जोड्ने ? यी आधारभूत प्रश्न हुन् । यी प्रश्नहरूको विधागत उत्तर खोज्नासाथ हामी टुंगोमा पुग्छौं । जस्तो, नेपालको इतिहासमा हामीले युगीन कुरा जोडे–जोडाएका छैनौं । त्यहाँ हामीलाई निरन्तरताको खाँचो छ । ज्ञान–विज्ञानमा हामीलाई निरन्तरता चाहिएको छ । नेपालको हर विधाको ज्ञान कसले बनायो ? विज्ञान कसले चिनायो ? प्रविधि कसले बनायो ? विस्तार कसले गर्‍यो ? यो कुराको डिजिटल तथा नन डिजिटल दस्तावेज हामीसँग छैन । त्यसैले यो खोजको निरन्तरता जरुरी छ । त्यस्तै, हामीले हर पटक इतिहास दोहोर्‍यायौं । नीति लेख्ता । आयोगका प्रतिवेदन लेख्ता । अनुसन्धानका प्रतिवेदन बनाउँदा । त्यहाँ रेफर गर्ने संस्कार चाहिन्छ । निरन्तरता छोड्नुपर्छ । लेख्ने नै हो भने यो कुरालाई निरन्तरता दिन्छौं, यो कुरामा बदल्छौं भन्नुपर्छ । त्यो कुराको निरन्तरता हाम्रा लागि जरुरी छ । वचनमा हामी अधिकांश चुक्यौं । स्वदेशीलाई दिएको वचनमा । विदेशीलाई दिएको वचनमा । यो स्थितिमा हाम्रा वचनहरूको लिखतले निरन्तरता माग्छ । त्यसको लेखाजोखा माग्छ । यो कार्यलाई निरन्तरता दिऔं ।

भेडोपनको खेती हाम्रो संस्कृति बन्यो । त्यो खेतीमा क्रमभंग गरौं । बुद्धिजीवीलाई बुद्धुजीवी भेडो बन्न–बनाउनबाट बचाऔं । यसरी हाम्रो शिक्षा तथा संस्कार फेरौं । अन्यथा हामी जर्ज अर्वेलको ‘जनावरको राज्य’ बन्छौं । बनाउँछौं । एल्डस हक्स्लेको ‘बहादुरको संसार’ बनाउँछौं । तिनकै बहुमतका । तिनकै बुद्धिका । त्यसैले केमा निरन्तरता दिने भन्नेमा घोत्लिन थालौं । केमा क्रमभंग गर्ने भन्नेमा विचार गर्न थालौं । केको थालनी गर्ने, केको विस्तार गर्ने भन्नेमा विधागत चिन्तन गरौं । शिक्षामा । स्वास्थ्यमा । स्वदेशी तथा विदेशी सन्धि–सम्झौतामा । अन्य विविध विधामा ।

प्रकाशित : चैत्र १४, २०७८ ०७:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×