स्टालिनको बर्बरता दोहोर्‍याउँदै पुटिन- विचार - कान्तिपुर समाचार

स्टालिनको बर्बरता दोहोर्‍याउँदै पुटिन

पुटिनको लिगेसी स्टालिनको भन्दा हिटलरको जस्तो हुने सम्भावना धेरै छ । दोस्रो विश्वयुद्धमा हारसँगै सन् १९४५ मा एडोल्फ हिटलरले आत्महत्या गरेपछि पुस्तैनी थर हिटलर भएका धेरैले आफ्नो थरै बदले । हिटलर शब्द नै क्रूर अधिनायकवादी शासकको विम्ब बन्यो र गालीका लागि प्रयोग हुन थाल्यो ।
जीवन क्षेत्री

कम्युनिस्ट पार्टीहरूका ब्यानरमा चार व्यक्तिका तस्बिर अंकित हुन्छन्— कार्ल मार्क्स, फ्रेडरिक एंगेल्स, भ्लादिमिर लेनिन र जोसेफ स्टालिन । माओवाद मान्ने पार्टीहरूले तिनमा माओ त्सेतुङको तस्बिर पनि थपेका हुन्छन् । वामपन्थी साहित्यले देवतुल्य चित्रण गर्ने यी पाँच जनाका अवगुण वा कमजोरी पनि हुन सक्छन् भनेर वामपन्थी पाठशालाबाट आएका धेरैलाई पत्याउन पनि कठिन ह्न्छु । धेरैका विचारमा कम्युनिस्ट आन्दोलन भ्रष्टीकरण भएको पछि मात्रै हो, रुसमा स्टालिनको मृत्यु भएर निकिता ख्रुस्चेभ आएपछि र चीनमा माओको मृत्यु भएर देङ स्याओपिङ आएपछि । 

त्यसैले अहिलेको युक्रेन युद्धमा देखाइरहेको बर्बरताका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको तुलना स्टालिनसित हुँदा धेरैलाई आश्चर्य लागेको हुन सक्छ । तर रुसको इतिहास साक्षी छ, स्टालिनले सोभियत राज्यमा जसरी हिंसा र नृशंसतालाई संस्थागत गरे, त्यो अविच्छिन्न रूपमा पुटिन नेतृत्वको रुससम्म आइपुगेको हो ।

स्टालिनकालीन सोभियत संघको यथार्थ बुझ्न त्यो प्रणालीलाई भित्रैदेखि देखेका मानिसहरूको अनुभव उपयोगी हुन्छ । स्टालिनकी छोरी स्वेतलाना अलिलुएभाले आफ्नो परिवार र देशको इतिहास समेटेर एउटा गहन संस्मरणको पुस्तक प्रकाशित गरेकी छन् । त्यसमा उनी लेख्छिन्— सोभियत संघका तर्फबाट लड्न मोर्चामा खटिएका उनका सौतेनी दाइ (स्टालिनका आफ्नै छोरा) याकोभलाई जर्मन सेनाले जीवितै कब्जा गरेर उनलाई आफ्ना केही युद्धबन्दीसित साट्ने प्रस्ताव राखेका थिए । तर स्टालिनले त्यसलाई सीधै नकारे ।

स्टालिनका पूजकहरूले उनको त्यो कदमलाई उनी पारिवारिक स्वार्थ वा भावुकताबाट माथि उठेको भनेर चित्रण गर्छन् । तर यथार्थमा स्टालिनको मानसिकता विकृत र डरलाग्दो थियो । स्वेतलानाकी आमा तथा स्टालिनकी कान्छी श्रीमती नादेझ्दा अलिलुएभाले ३१ वर्षको उमेरमा आत्महत्या गरेपछि उनको परिवारको लय खलबलिएको थियो । त्यो माहोलमा उनका तिनै छोरा याकोभले युद्धमा जानुअगाडि आत्महत्याको प्रयास गरेका थिए । त्यो प्रयास असफल भएपछि उनलाई आडभरोसा दिनुको सट्टा स्टालिनले भनेका थिए— यसले जीवनमा अरू त केही गर्न सकेन–सकेन, कन्चटमा गोली चलाउन पनि सकेन ।

स्टालिनकी जेठी श्रीमतीका दाइ अलेक्जान्डर स्वानिद्जे जर्जियाबाट स्टालिनसँगै बोल्सेभिक पार्टीका लागि काम गरेर माथि उठेका थिए । सोभियत सत्ता स्थापित भएपछि बर्लिन, जेनेभा र लन्डनमा आर्थिक विषयमा सिकाइ र अनुभव बटुलेका उनले मस्को फर्केपछि त्यहाँको एउटा मुख्य बैंकका प्रमुख भएर काम गरे । तर स्टालिनका कुख्यात ‘पर्ज’ हरूमध्ये एउटाका क्रममा उनीविरुद्ध कसैले स्टालिनलाई कुरा लगाइदियो । उनीमाथि लागेको आरोप के हो, कहिल्यै थाहा भएन, तर अक्सर त्यस्ता व्यक्तिलाई स्टालिन वा सोभियत संघको वैरी भएको आरोप लगाइन्थ्यो । उनी तुरुन्त श्रीमतीसहित पक्राउ परे, दुवै अलग–अलग ठाउँमा थुनिए । स्नायु प्रणालीमा समस्या भएका उनीहरूका छोरा एक्लै बाहिर रहे ।

त्यसरी मानिसहरूलाई पक्राउ गरेपछि अक्सर सोभियत संघका कुख्यात प्रहरी प्रमुख लाभ्रेन्ती बेरियाले केरकार गर्थे । अनि तीनमध्ये एउटा नतिजा स्टालिनसम्म पुर्‍याउँथे— फलानोले गल्ती स्वीकार गर्‍यो, उसको गल्ती अर्को कसैले पुष्टि गर्‍यो वा उसले गल्ती स्वीकार गरेन । स्वेतलाना लेख्छिन्— तीनै नतिजाको हकमा मृत्युदण्ड निश्चित थियो । स्टालिनका जेठान स्वानिद्जेले गल्ती स्वीकार गरेनन् । १९४२ फेब्रुअरीमा ६० वर्षको उमेरमा उनलाई सोभियत प्रहरीले गोली हानेर मार्‍यो । जब उनको मृत्युदण्डबारेको समाचार श्रीमती मारियालाई सुनाइयो, हृदयाघातका कारण तत्काल उनको पनि मृत्यु भयो । सुसारेका भरमा हुर्केका उनीहरूका छोरासमेत पछि पक्राउ र देशनिकालामा परे । सन् १९३२ पछिको एक दशकमा हृदयाघातका कारण मृत्यु हुने स्टालिनका आफन्तहरूको संख्या मात्रै झन्डै आधा दर्जन थियो । अरू केही मानसिक रूपमा विक्षिप्त भएका थिए ।

आफ्नो परिवारका सदस्यहरूप्रति त स्टालिनको क्रूरता यस्तो थियो भने, आम रुसी र रुसी सेनाका सिपाहीहरूप्रति उनको व्यवहार झनै क्रूर थियो । दोस्रो विश्वयुद्धभर सैनिक र गैरसैनिक गरी अढाई करोड रुसीहरू मारिएका थिए । त्यो तथ्यलाई सोभियत संघले सधैंभर नाजी जर्मनीलाई परास्त गर्न आफूहरूले दिएको बलिदान भनेर सगौरव उद्धृत गरिरह्यो । तर त्यो आँकडामा ४० लाखदेखि ६० लाखसम्म यस्ता सोभियत युद्धबन्दी थिए जसलाई स्टालिनले गद्दार घोषणा गरेका थिए र सोभियत संघले परित्याग गरेको थियो । उनीहरूमध्ये ३० लाख हाराहारी जर्मनहरूको कब्जामै भोक र कठोर श्रमका कारण मरे, जसमध्ये स्टालिनका छोरा याकोभ पनि एक थिए । ती युद्धबन्दीहरूलाई मानवीय सहयोग गर्ने प्रस्तावसहित रेडक्रसले पत्र पठाउँदा सोभियत विदेशमन्त्री भ्याचेस्लाभ मोलोतोभले ‘ने ओट्भेचाट’ वा ‘मतलब नगर्नू’ भनेर सही गरेका प्रमाणहरू अद्यापि सुरक्षित छन् ।

जबकि विश्वयुद्धमा सामेल हिटलरको जर्मनीसहितका देशहरू आफ्ना युद्धबन्दी छुटाउन उनीहरूको साटासाट लगायत हरतरहले प्रयास गर्थे र नछुटुन्जेल रेडक्रसमार्फत भरथेग गर्थे । युद्धपश्चात् घर फर्किने अरू देशका युद्धबन्दीहरूले नायकको जस्तो स्वागत पाए भने धेरै सोभियत युद्धबन्दी गद्दार घोषित भएर साइबेरियाका कुख्यात ‘गुलाग’ वा श्रम शिविरमा पठाइए । सन् १९४२–४३ का आठ महिनासम्म चलेको स्टालिनग्राडको लडाइँमा मात्रै १० लाखभन्दा बढी सोभियत सैनिक मरेका थिए । ‘हिस्ट्री’ च्यानलको एउटा विश्लेषण अनुसार, त्यो युद्धको उत्कर्षमा युद्धमैदानमा पुग्ने सोभियत सिपाहीको औसत बाँकी आयु चौबीस घण्टा हुन्थ्यो ।

सन् १९४५ मा दोस्रो विश्वयुद्ध सकियो । संयुक्त राष्ट्रसंघको गठनसँगै नयाँ विश्व व्यवस्था सृजना भयो । त्यो व्यवस्थामा सुरु भएको सोभियत संघ र पुँजीवादी पश्चिमा विश्वबीचको शीतयुद्ध पनि सन् १९९१ मा विधिवत् रूपमा टुंगियो । संसारका सबैजसो देशले सेनाको संरचनादेखि परिचालन विधि र युद्धनीतिहरूमा व्यापक आधुनिकीकरण गरे । तर विश्लेषकहरू भन्छन्— २१ औं शताब्दीसम्म आउँदा पनि भ्लादिमिर पुटिन नेतृत्वको रुसी राज्यले स्टालिनकालीन युद्धनीतिलाई निरन्तरता दिएको छ जहाँ दुस्मनको तोपका अगाडि आफ्ना सैनिकका शरीरहरू हुरेलेर भए पनि विजयको प्रयास हुन्छ । सिपाहीलाई युद्ध गर्न उत्प्रेरित गरेर हैन, विवश बनाएर पठाइन्छ । अनि मोर्चाबाट पछि हट्न सक्ने सिपाहीहरूलाई छेकेर गोली हान्नकै लागि अरू सिपाही वा वफादार मिलिसियालाई खटाइन्छ ।

पछिल्ला डेढ दशकमा रुसभित्रकै चेचेन्या र बाहिरका जर्जिया, सिरिया र युक्रेनमा रुसको अमानवीय युद्धनीति उदांगो भएको छ । यसअघिका ती सबै युद्धभन्दा निकै ठूलो स्केलको युक्रेनमाथिको रुसी अतिक्रमण अहिले जारी छ । यी सबै युद्धमा रुसको रणनीति उही रहिआएको छ— सिंगो सहर ध्वस्त पार्नुपर्छ भने पार, निहत्था नागरिकहरूको सामूहिक हत्या गरे पनि गर, तर विजय पाइछाड । यसअगाडि रुसी सेनाले चेचेन्याको ग्रोज्नी र सिरियाको अलेप्पोजस्ता सहरहरूलाई पूरै खण्डहरमा परिणत गरेको थियो । त्यसो गर्दा आफूतिर हताहती हुँदैनथ्यो भने अर्कातिर बालबालिकासहित सबै गैरसैनिक अन्धाधुन्ध मारिने हुँदा आतंक सृजना हुन्थ्यो र मानिस ठूलो स्केलमा विस्थापित हुन्थे । आकाशबाट महिनौं बमबारी गरेपछि सहर नभए पनि त्यसको भग्नावशेष आफ्नो नियन्त्रणमा हुन्थ्यो ।

अढाई महिना कटिसकेको अहिलेको युद्धमा रुसले दक्षिण–पूर्वी युक्रेनको मरिउपोलका ९० प्रतिशतभन्दा बढी संरचना ध्वस्त पारिदिएको छ । युक्रेनभरका रेलवे स्टेसन र अस्पतालहरूमा बारम्बार बमबारी गरिरहेको छ । रुसी सेनाले केही समय कब्जा गरेर छाडेका उत्तरी युक्रेनका बस्तीहरूमा धेरै सामूहिक चिहानहरू फेला परेका छन् । रुसी सेनाले यो युद्धमा गरेका युद्ध अपराधहरूमध्ये सबैभन्दा कुख्यातचाहिँ युक्रेनको राजधानी किभनजिकैको बुचा सहरमा भएको छ । त्यहाँ सडकमा लस्करै हात बाँधेर गाली हानेर मारिएका मानिसहरूका लास फेला परेका छन् । यसैबीच युद्धमा खटाइएका रुसका पेसेवर सैनिक र एकवर्षे अनिवार्य सैन्य सेवामा रहेका ‘कन्स्क्रिप्ट’ किशोर र युवाहरूलाई यथोचित तालिम र सूचनासम्म नलिई रातारात युद्धमा खटाइएको पुष्टि भएको छ । २ लाखभन्दा बढी रुसी सैन्यबल युक्रेन अतिक्रमणका लागि परिचालन गरिएकामा दुई महिनामा १५ हजारभन्दा बढी मारिसकिएको मानिन्छ । तिनका परिवारलाई समयमै सूचना नदिइएको भनेर अहिले रुसमा असन्तुष्टिहरू प्रकट भएका छन् ।

युद्धको बर्बरताबीच पुटिनले केही त्यस्ता कदम चालेका छन् जसले इतिहासकारहरूलाई स्टालिनकालको जस्तो जवाफदेहीको अभाव याद दिलाइरहेका छन् । स्टालिनले मार्क्सवादी दार्शनिक, बोल्सेभिक क्रान्तिकारी तथा स्टालिनको आफ्नै ‘एकदेशीय समाजवाद’ का व्याख्याता तथा कुनै बेलाका निकट सहयोगी निकोलाई बुखारिनलाई १९३८ को मार्चमा मृत्युदण्ड दिए । स्वेतलानाका अनुसार आज साँझसम्म स्टालिनको टेबलमा डिनर गरिरहेका उच्चपदस्थ सोभियत अधिकारीहरू भोलि बिहान जेलमा हुन्थे, केही दिनमा मृत्युदण्ड पाइसकेका हुन्थे । तर आफूलाई जीवनभर ‘म्यानिपुलेट’ गरेर धमाधम बोल्सेभिक कमरेडहरूलाई मार्न लगाउने आन्तरिक मामिलामन्त्री लाभ्रेन्ती बेरियालाई स्टालिनले जीवनभर पुरस्कृत गरिरहे । बेरियालाई मृत्युपरान्त सिलसिलेवार हत्यारा र बलात्कारी भएको भन्ने आरोपहरू लागेका थिए । तर स्टालिनको मृत्युलगत्तै नयाँ नेतृत्वले मृत्युदण्ड दिएका बेरिया जीवनभर आफूले गरेको कुनै पनि अपराधका लागि जवाफदेह हुनुपरेन । पुटिनले पनि बुचामा निहत्था नागरिकहरूको आम संहार गरेको पुष्टि भएको रुसी सेनाको ६४ औं ‘मोटराइज्ड इन्फेन्ट्र ब्रिगेड’ लाई ‘सामूहिक नायकत्व र साहस’ का लागि विभूषित गरेर सन्देश दिएका छन्— युद्ध अपराधीहरू दण्डित हैनन्, पुरस्कृत हुन्छन् ।

उसो त यो युद्ध सुरु हुनुअगावै पुटिनले अरू धेरै स्टालिनकालीन अभ्यासहरू गरेका थिए । सन् १९२९ मै सोभियत संघबाट निकाला भएका स्टालिनका पूर्वकमरेड तथा प्रतिद्वन्द्वी लियोन ट्रट्स्कीको उनले १९३८ मा मेक्सिको सहरमा हत्या गराए । अनेक प्रयास असफल भएपछि अन्ततः एक गुप्तचर हत्याराले बन्चरोले टाउकामा हानेर उनको हत्या गरेको थियो । पुटिनले पनि रुस छाडेर जाने आफ्ना विरोधी वा पूर्वजासुसहरूको बारम्बार विदेशी भूमिमा रेडियोधर्मी रसायनसम्मको प्रयोग गरेर हत्या गराएका छन् । देशभित्रै बसेर प्रतिस्पर्धी दल बनाई राजनीति गरिरहेका अलेक्सेई नाभाल्नीको उनले दुई वर्षअगाडि नोभिचोक नामक स्नायु–विष प्रयोग गरेर हत्या गर्न खोजेका थिए । त्यो प्रयासबाट मुस्किलले बाँचेका नाभाल्नी अहिले रुसकै जेलमा बन्द छन् ।

स्टालिन र पुटिनको शासनका यी समानतापछि अब केही भिन्नता हेरौं । पहिलो कुरा त यो पौने शताब्दीको अवधिमा परिवेश निकै बदलिएको छ । झन्डै १ करोड नागरिकहरूलाई शान्तिकालमै अकाल मृत्युतिर धकेले पनि स्टालिन जीवनभर सर्वहाराको मुक्तिदाता भनेर चिनिइरहे, विश्वभर नै । उनका केही करतुत सन् १९५३ मा उनको मृत्युलगत्तै सार्वजनिक भए पनि १९९१ मा सोभियत संघको पतन भएपछि मात्रै उनको ‘लिगेसी’ बारे खुला बहस हुन थालेको हो । तर भ्लादिमिर पुटिनको क्रूरता र उनको सेनाले गरेका युद्ध अपराधहरू झन्डै ‘रियल टाइम’ मा संसारभर प्रसारण भइराखेका छन् । स्टालिनलाई झैं उनलाई कुनै विचारधारा वा दार्शनिक पक्षधरताको आडभरोसा छैन ।

युक्रेनको बुचामा रुसी सेनाले गरेका युद्ध अपराधहरूबारे समाचार आउनासाथ रुसले प्रतिकार गर्दै भन्यो— रुसी सेना निस्किसकेपछि युक्रेनीहरूले आफैं नागरिकहरूलाई मारेर रुसलाई बदनाम गर्न लास सडकमा फ्याँके ।

तर रुसको त्यस्तो दाबी आएको आधा घण्टामै मानिसहरूले मितिअनुसार स्याटेलाइट र ड्रोन क्यामेराले खिचेका भिडियोहरू प्रस्तुत गरेर तत्काल रुसलाई झुटो प्रमाणित गरिदिए । रुसका तर्फबाट लडिरहेका चेचेन युद्ध सरदार रम्जान कादिरोभका मिलिसियाहरूले नित्य बनाउने टिकटक भिडियोहरू अहिले रुसी पक्षको युद्ध अपराध पुष्टि गर्ने मूल्यवान् सामग्री बनेका छन् । अहिले युक्रेनका हजारौं सर्वसाधारण, पत्रकार र शोधकर्ताहरू निरन्तर रुसी पक्षका त्यस्ता अपराधका प्रमाणहरू संकलन गरेर अन्तर्राष्ट्रिय फौजदारी अदालतलाई बुझाउन सक्रिय छन् ।

स्टालिनले लामो शासनकालमा जति बर्बरता देखाए पनि आजका दिनसम्म धेरैका लागि उनी ‘पूज्य’ छन् । तर विश्लेषकहरू भन्छन्— पुटिनको लिगेसी स्टालिनको भन्दा हिटलरको जस्तो हुने सम्भावना धेरै छ । दोस्रो विश्वयुद्धमा हारसँगै सन् १९४५ मा एडोल्फ हिटलरले आत्महत्या गरेपछि पुस्तैनी थर हिटलर भएका धेरैले आफ्नो थरै बदले । हिटलर शब्द नै क्रूर अधिनायकवादी शासकको विम्ब बन्यो र गालीका लागि प्रयोग हुन थाल्यो । पुटिन शब्द पनि अहिले त्यही दिशामा गइरहेकाले स्टालिनले भन्दा कम मानिस मारेर पनि भ्लादिमिर पुटिन इतिहासमा उनीभन्दा धेरै बदनाम हुने निश्चित छ ।

प्रकाशित : वैशाख ३०, २०७९ ०६:३०
प्रतिक्रिया
पठाउनुहोस्

सिटी प्रिमियर लिग उपाधि संघारमा

एएफपी

लन्डन — केभिन डे ब्रुएनाले चार गोल गरेपछि इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले उल्भ्सलाई उसकै घरमा ५–१ ले हरायो र लिग उपाधि जित्ने संघारमा पुग्न सफल रह्यो । यो जितपछि पेप ग्वार्डिओलाको टिमले दोस्रो स्थानमा रहेको लिभरपुलमाथि तीन अंकको अग्रता खोलेको छ । दुवै टिमले दुई चरणका खेल खेल्न मात्र बाँकी छ र सिटीलाई शीर्ष स्थानमा लिभरपुलमाथि गोल अन्तरको पनि फाइदा छ ।

अब सिटीले आइतबार वेस्ट ह्यामको यात्रा गर्नेछ र त्यस क्रममा लिग उपाधिको रक्षा गर्न उसलाई चार अंकको मात्र आवश्यकता पर्नेछ । सिटी पाँच वर्षमा चौथोपल्ट उपाधि जित्न बाटोमा रहेको छ । बेल्जियमका खेलाडी ब्रुएनाले पूरा खेल अवधिमा उत्कृष्ट प्रदर्शन गरे र उनको ह्याट्रिक २४ मिनेटमा सम्भव भएको थियो । सिटीका लागि अर्को गोल रहिम स्टर्लिङले गरे । उल्भ्सले पनि सिटीसामु कुनै प्रकारको चुनौती पेस गर्न सकेन् ।

सिटीले यस खेल अगाडि बोरुसिया डर्टमुन्डबाट इर्लिङ हाल्यान्डलाई अनुबन्ध गर्ने निश्चित भएको घोषणा गरेको थियो । नर्वेली खेलाडीको आगमनपछि सिटी अझ बलियो हुनेछ र उसले घरेलु लिगमा अझ बलियो चुनौती पेस गर्न सक्नेछ । उल्भ्सलाई हराएयता ग्वार्डिओलाले पनि आफ्नो टिम अझ मजबुत हुने दाबी गरे र यस क्रममा हाल्यान्ड आएपछि आफ्नो टिमले अझ बढी संख्यामा गोल गर्न सक्ने पनि बताए ।

उल्भ्समाथि अझ बढी गोल गर्ने सम्भावनामा चुमेकोमा गुनासो गरिरहेका ग्वार्डिओलाले थपे, ‘हाल्यान्डको आगमनपछि हामीले अझ धेरै गोल गर्न सक्ने छौं । यसका लागि म आफ्नै क्लबलाई बधाई दिन चाहन्छु । अर्को सिजन हल्यान्ड टिममा हुनेछन् र उनको आगमन हाम्रो लागि अझ खुसीको समाचार हो । अर्को सिजन हामी सँगै मिलेर काम गर्नेछौं । उनलाई म्यानचेस्टरमा अभ्यस्त हुन पनि हामीलाई सहयोग गर्नुपर्नेछ ।’

इन्टर ह्याट्रिकतर्फ
मिलान- इन्टर मिलानले बुधबार कोपा इटालिया जित्ने क्रममा आफ्नो पुरानो प्रतिद्वन्द्वी युभेन्ट्सलाई अतिरिक्त समयमा ४–२ ले पराजित गरेको छ । फाइनल आफैं भने विवादास्पद र रोमाञ्चक घटनाले भरिपूर्ण रह्यो । इभान पेरिसिचले अतिरिक्त समयमा दुई गोल गरेपछि इन्टर जित निकाल्न सफल रह्यो । इन्टरले निर्धारित समयको अन्त्यतिर पेनाल्टी पाएपछि खेल उसको पक्षमा मोडिएको हो ।

त्यसमा हाकन चाल्हानोग्लुले गोल गरे र खेलले ९० मिनेट काटेर अतिरिक्त समय गएको थियो । युभेन्ट्सले एलेक्स सान्ड्रो र डुसान भ्लाहोभिचको गोलले खेलमा २–१ ले अग्रता लिएको थियो । त्यस अगाडि इन्टरले निकोलो बरेलाको गोलले अग्रता लिएको थियो । इन्टरले इटालियन सुपर कपको उपाधिका लागि यस अगाडि युभेन्ट्सलाई नै पराजित गरेको थियो । इन्टरसामु सिरी ‘ए’ उपाधि जित्ने अवसर पनि कायम छ । सिरी ‘ए’ मा इन्टरमाथि छिमेकी एसी मिलानलाई शीर्ष स्थानमा दुई अंकको अग्रता प्राप्त छ ।

हारको अर्थ युभेन्ट्स यो सिजन कुनै पनि उपाधि जित्न असफल रह्यो । युभेन्ट्सले सिजनमा कुनै पनि उपाधि जित्न नसकेको यो सन् २०१०–२०११ यता पहिलोपल्ट हो । सिरी ‘ए’ मा अहिले टुरिन क्लब युभेन्ट्स ६९ अंकमा चौथो स्थानमा छ र उसका लागि यो सिजन युरोपेली च्याम्पियन्स लिग छनोट हुनु नै सबैभन्दा ठूलो उपलब्धि रहेको छ ।

प्रकाशित : वैशाख ३०, २०७९ ०६:२९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×