३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

निर्वाचनमा जनता : कति वास्तविक खेलाडी ?

तीव्र प्रतिस्पर्धाले गर्दा उम्मेदवारहरूले प्रियतावादी नारा, असम्भव लाग्ने प्रतिज्ञा र प्रतिबद्धता व्यक्त गरेका छन् भने मत नदिए हुन्छ । कम आश्वासन दिनेले पछि कम असन्तुष्टि दिन्छ । वाचाल, उत्तेजक, षड्यन्त्रकारी र आचरणहीनहरू सार्वजनिक पदका लागि योग्य हुन सक्दैनन् ।
उमेशप्रसाद मैनाली

नाम चलेका अमेरिकी पत्रकार वाल्टर लिपम्यानले एउटा चर्चित किताब लेखेका छन्— ‘द फ्यान्टम पब्लिक’ । लोकतन्त्रमा जनतालाई कार्टुन चित्रको काल्पनिक नायक ‘फ्यान्टम’ जस्तै सोच्ने गरिन्छ र जनताको सर्वोच्चताका नाममा अस्वच्छ विजेताहरूको शासन चल्ने गर्दछ ।

निर्वाचनमा जनता : कति वास्तविक खेलाडी ?

यसबाट लोकतन्त्रमाथि नै विश्वास गुम्ने मार्मिक विश्लेषण त्यसमा गरिएको छ । जनता सचेत नभएको अवस्थामा गलत नारा, प्रलोभन र विविध हतकण्डाबाट विजयी भएपछि जनताप्रति उत्तरदायी नहुनु राजनीतिज्ञहरूको पुरानै रोग हो जसले गर्दा लोकतन्त्रजस्तो पवित्र राजनीतिक व्यवस्था बदनाम हुँदै छ । त्यस्तै, फ्रान्सका पूर्वराष्ट्रपति चार्ल्स देगालले पनि ‘राजनीतिज्ञहरू मालिक बन्ने दाउमा दासका रूपमा प्रस्तुत हुन्छन्’ भनेर व्यंग्य गरेका छन् । प्रसिद्ध लेखक तथा दार्शनिक मेकियाभेलीले भने जनताको विवेकमाथि विश्वास गर्दै आफ्नो प्रख्यात कृति ‘द प्रिन्स’ मा लेखेका छन्, ‘जनता शासकभन्दा बढी सचेत, सही र विवेकशील हुन्छन् । जनताको आवाज ईश्वरको आवाजजस्तै हुन्छ ।’ यो आदर्श समाजका लागि लागू होला, तर व्यवहारमा निर्वाचनमा भाग लिने अरुचि र सचेतनाको कमीमा सुधार नभएसम्म जनताको सार्वभौम शक्तिको गलत प्रयोग हुन जान्छ । अहिले नयाँ लोकतान्त्रिक देशहरूमा नागरिक सचेतनाको कमीले र पुराना लोकतान्त्रिक देशहरूमा कम मतदान हुनुले सही प्रतिनिधित्व हुन सकिरहेको देखिँदैन । मतदानलाई अनिवार्य गरिएका बेल्जियम, रोमानिया, नेदरल्यान्ड, अस्ट्रेलियाजस्ता देशमा नागरिकहरूले जरिवानाबाट बच्न मात्र मतदान गर्दछन् भने जापान, संयुक्त राज्य अमेरिकाजस्ता मतदान अनिवार्य नगरिदिएका देशहरूमा अति न्यून मतदान हुने गर्दछ । नेपालजस्ता नयाँ लोकतान्त्रिक मुलुकहरूमा नागरिक शिक्षाको कमीले गर्दा धनको प्रलोभन, ‘डन’ हरूको डर र ठालुहरूको दबाबले प्रायः गलत प्रतिनिधिहरू चुनिने गरेका छन् । यसबाट प्रतिनिधिमूलक लोकतन्त्रको औचित्यमाथि नै प्रश्न उठ्न थालेको छ ।

अहिले नेपालका सडक, गल्ली, चोक, चौतारी निर्वाचनको रापतापले तातेका छन् । थरीथरीका उम्मेदवारहरू आफ्ना योग्यताको बखान र आश्वासनका पोका लिएर जनतामाझ धाइरहेका देखिन्छन् । उनीहरूको भाषण र कुरा सुन्दा लाग्दछ, निर्वाचित भएमा ‘छुमन्तर’ मै आफ्ना पालिकाहरूलाई स्वर्ग बनाउनेछन् । भविष्य बुन्ने योजनाभन्दा तत्काल देखिने र चिचीपापा बाँड्ने सपनाको फेहरिस्त सुनाउँदै छन् । असभ्य र फोहोरी गाली गरेर आफ्ना प्रतिस्पर्धीलाई कमजोर साबित गर्न प्रयासरत देखिन्छन् । रचनात्मक आलोचना गर्नेभन्दा ‘कन्स्पिरेसी’ र ‘प्रोपगान्डा’ को प्रयोग गरेर मतदाताहरूमा गलत सञ्चार गरिरहेका छन् । राजनीतिमा ‘कन्भिन्स’ गर्न नसके ‘कन्फ्युज’ गराउनुपर्दछ भन्ने सूत्र प्रयोग भइरहेको छ । पहिले पदमा पुगिसकेकाहरूले आफ्ना उपलब्धि देखाएर जनताप्रति उत्तरदायी भएको देखाउनेभन्दा अन्य फजुल कुरा गरेर झुक्याउने प्रयासमा देखिन्छन् । असम्भव प्रतिबद्धता व्यक्त गरेर मतदाता झुक्याउने रणनीति सबैजसो उम्मेदवारमा देखिएको छ । जर्ज अर्वेलको ‘एनिमल फार्म’ मा जनावरहरूको निर्वाचनको नाराबारे व्यंग्य गरिएको छ— ‘स्नोबललाई भोट दिनुहोस्, तीन दिनको हप्ता । नेपोलियनलाई भोट दिनुहोस्, पूर्ण व्यवस्थापक ।’ उम्मेदवारहरूले यस्तै रमाइला नारा दिँदै छन् ।

स्थानीय तहको निर्वाचनमा उम्मेदवारहरूको भीड भने राम्रै छ र निर्वाचन आयोग फेरि मतपत्र छपाउन बाध्य भएको छ । यसरी आकर्षण बढ्नुको कारण नकारात्मक र सकारात्मक दुवै कोणबाट हेर्न सकिए पनि अधिकांशको नजर स्थानीय तहमा परिचालन गर्न पाइने स्रोतसाधन, व्यक्तिगत सुविधा र फाइदाहरूमा छ भन्न सकिन्छ । बहालवाला सांसद, पूर्वसांसद र मन्त्रीहरूले समेत स्थानीय तहको नेतृत्वमा रुचि राख्नु यसको प्रमाण हो । मर्यादाक्रममा माथि भएका पदबाट स्थानीय तहमा उम्मेदवार हुनु भनेको स्रोतसाधन र अन्य सुविधाको लोभ नै हो । जनताको दैनन्दिनको सेवा गर्न पाइन्छ भन्ने पवित्र उद्देश्यले आउनेहरू छन् भनेर त्यति पत्याउने अवस्था छैन । सरकारी सेवामा राम्रै अवसर भएकाहरूसमेत पदबाट राजीनामा दिएर निर्वाचन लडेका देखिन्छन् र केहीको दलले टिकट नदिएर बिचल्लीमा परेको छ । गायक, कलाकार, नागरिक अभियन्तादेखि सुन्दरी प्रतियोगीसमेत यस दौडमा देखिन्छन् । राजनीतिक रंगमञ्चको यो बहुरंगी रूपले मतदाताहरूलाई राम्रै मनोरञ्जन पनि गराएको छ । यस सन्दर्भमा व्यंग्यकार बिल रोगर्सको अर्थपूर्ण छन्, ‘सबै थोकमा परिवर्तन भइरहेको छ । जनताले हास्य कलाकारहरूलाई गम्भीर रूपमा लिन थालेका छन् भने राजनीतिज्ञलाई ठट्टाका रूपमा ।’ मतदाताहरूले यी विविध रङबाट कुन रङ छान्ने हुन्, प्रतिक्षाको विषय भएको छ । तर के देखिँदै छ भने कलाकार, कर्मचारी र अन्य पेसाधर्मीहरूको ‘डेब्यु’ राजनीतिका पुराना चतुर खेलाडीसामु चुनौतीपूर्ण भने हुन सकेको देखिँदैन ।

ग्रिक दार्शनिक प्लेटोको ‘आफ्ना सरकारको काममा चाख दिँदैनौ भने तिमीले मूर्खहरूबाट शासित हुने दण्ड पाउनेछौ’ भन्ने भनाइ सबै मतदाताले मनन गर्न आवश्यक छ । अहिले हामी आफ्नो स्थानीय सरकार छान्दै छौं । यो सरकार भनेको हाम्रा दैनिक समस्याहरूसँग भिड्ने र अति आवश्यक सार्वजनिक सेवा दिने संस्था पनि हो । सानो क्षेत्रमा सामाजिक, सांस्कृतिक, जातीय र भौगोलिक एकरूपता बढी हुने हुँदा नागरिकका मागहरूको सही सम्बोधन यी संस्थाहरूले गर्न सक्दछन् । त्यसैले स्थानीय सरकारप्रति जनताको विश्वास र माया दुवै हुने गर्दछ । राष्ट्रिय मुद्दाहरूको बहस संघीय संसद्ले गर्दछ र यी तलका सरकारहरू राजनीतिकभन्दा बढी सेवा, स्थानीय विकास र स्थानीयवादको संरक्षणका लागि हुन् । यसमा विकासप्रेमी, जनप्रिय र समाजले पत्याएका व्यक्तिहरू चुनिनुपर्दछ ।

विगतका हाम्रा आशाहरूमाथि जनप्रतिनिधिहरूले धोका दिएका छन्, सेवा र समर्पणभन्दा स्वार्थमा काम गरेका छन्, त्यसैले जनता रिसाएका देखिन्छन् । त्यति मात्र होइन, दलहरूको तानाशाहीबाट उनीहरू आक्रोशित छन् । दलका नेताहरूले कुनैकुनै क्लबमा अभ्यास गरेजस्तो उत्तराधिकारी चयन परिवारभित्रबाट गरेको र व्यवस्थालाई नै पारिवारिक अल्पतन्त्रमा बदल्न खोजेको देखिन्छ । मतदाताले रुचाएको र योग्यभन्दा आफन्तलाई उम्मेदवार बनाउनुले मतदाता रुष्ट देखिन्छन् । यसले गर्दा मतदाताहरूमा मतदानप्रति उत्साह मर्दै गएको छ र राजनीतिक दलहरूमा असंलग्न हुने युवा मतदाताहरूको बाहुल्य देखिँदै छ । मतदाता तीन प्रकारका हुन्छन्— सधैँ मत हाल्ने, कहिल्यै मत नहाल्ने र कहिलेकाहीँ मत हाल्ने । चुनावका खेलाडीहरूले दोस्रो र तेस्रो वर्गका मतदातालाई मतदान गर्न उत्साहित बनाउन सक्नुपर्दछ । अन्यथा अल्पमतलाई लोकसम्मति मानेर अयोग्यहरूले हामीमाथि शासन गर्नेछन् । रबर्ट ए. डाहलले आफ्नो किताब ‘प्रजातन्त्रका बारेमा’ मा प्रजातान्त्रिक प्रक्रियाका मानदण्डहरू प्रभावकारी सहभागिता, मतदानको समानता, सुशिक्षित समझदारी, कार्यसूचीमाथि नियन्त्रण र सम्पूर्ण वयस्कको संलग्नता हुने उल्लेख गरेका छन् । अहिलेको निर्वाचनमा सहभागिता नै न्यून हुने हो कि भन्ने छ भने अन्य मानदण्ड त धेरै परका कुरा भए ।

चाणक्य नीतिमा भनिएको छ, ‘सुनको परख घोटेर, काटेर, तताएर, पिटेर गरिन्छ भने व्यक्तिको परीक्षण उसले कति त्याग गर्दछ, आचरण कस्तो छ, उसको गुण के छ र व्यवहार कस्तो छ भन्ने आधारमा गरिन्छ ।’ मतदाताहरूले आफ्ना प्रतिनिधिहरू छान्ने आधारहरू पनि यिनै हुन् । त्याग, आचरण, व्यवहार र गुणहरू हेरेर सही प्रतिनिधि छान्न नसकेमा हामीमा आफैंलाई शासन गर्ने क्षमता नभएको सिद्ध हुन्छ । यो क्षमता नहुनु भनेको सार्वभौमसत्ता सम्पन्न नागरिक हुने योग्यता नहुनु हो । अजेय मानिएका जहानियाँ तन्त्र, जन्मका आधारमा सम्प्रभु बन्ने तानाशाहीदेखि विविध रूपका निरंकुश तन्त्रसम्मलाई स्वाहा पार्ने क्षमता भएका नेपालीहरूमा ऊर्जा र योग्यता दुवै छ । निराशाको मौन क्रान्तिले उनीहरू निर्वाचनप्रति उदासीन भएका हुन् । यसले अयोग्यहरूलाई सार्वजनिक पदमा पुर्‍याउनेछ । फ्रेन्च क्रान्तिमा जनतालाई उत्साहित बनाउन नारा लगाइएको थियो— उत्साह, सधैँ उत्साह, अझ बढी उत्साह (अडेसिटी, अल्वेज अडेसिटी, मोर अडेसिटी) । अहिले हाम्रो नारा पनि त्यही हुनुपर्दछ जसबाट मतदाताको प्रभावकारी सहभागिताले असल र योग्य व्यक्तिहरू स्थानीय सरकारको नेतृत्वमा पुगून् । गलत मनसाय र नियतले जनमत हासिल गर्न खोज्नेहरू, सार्वजनिक संस्थालाई निजी स्वार्थमा प्रयोग गर्न खोज्नेहरूलाई अनुमान नै नगरेको नतिजा दिएर चकित पारिदिऔँ । यसो गर्न सकेमा राजनीति गर्नेहरूलाई पछिसम्मका लागि शिक्षा हुन सक्दछ । जनलहर नभएर होला, अहिले कुनै पनि उम्मेदवार जित हुनेमा विश्वस्त देखिँदैनन् । दलका उम्मेदवारहरूलाई आफ्नै बागीहरूको डर देखिन्छ । पोगोको ‘हामीले शत्रु भेट्यौं, त्यो हामी नै हौँ’ भन्ने भनाइजस्तै छ यिनीहरूको हालत । सत्ताको गठबन्धन र विपक्षीहरूको गठबन्धन ‘भैँसीदेखि जोगी डराउने र जोगीदेखि भैँसी डराउने’ जस्तै देखिन्छन् । साना दलहरूले चमत्कार गर्ने छाँट कतै छैन र स्वतन्त्रहरू जुवाको खालका च्याँखे दाउ खेल्नेजस्ता देखिँदै छन् ।

चिनियाँ दार्शनिक कन्फ्युसियसले भनेका थिए, ‘म साधु पाउने आशा गर्दिनँ । भद्र व्यक्ति मात्र पाए पनि सन्तुष्ट हुनेछु ।’ अहिलेको निर्वाचनमा सद्गुणहरूको संगम भएको प्रतिनिधि पाउन असम्भवजस्तै भए पनि ‘सैतानले सैतानलाई बाहिर पठाउने’ खेलजस्तो हुन भने दिनु हुँदैन । फ्रान्सेली लेखक फैगवेले भनेजस्तै, यो निर्वाचनलाई ‘अयोग्यहरूको उपासना (कल्ट अफ इनकम्पिटेन्स)’ हुन नदिने मुख्य दायित्व मतदाताहरूकै हो । तीव्र प्रतिस्पर्धाले गर्दा उम्मेदवारहरूले प्रियतावादी नारा, असम्भव लाग्ने प्रतिज्ञा र प्रतिबद्धता व्यक्त गरेका छन् भने मतदाताले मत नदिए हुन्छ । कम आश्वासन दिनेले पछि कम असन्तुष्टि दिन्छ, बढी अपेक्षाले पीडा र आक्रोश बढाउँछ । वाचाल, उत्तेजक, षड्यन्त्रकारी र आचरणहीनहरू सार्वजनिक पदका लागि योग्य हुन सक्दैनन् । संयम, मिजास, बुद्धि, साहस नेताहरूमा हुनैपर्ने गुण हुन् । भनिन्छ, बहादुर सिपाही हिंस्रक हुँदैन र राम्रो लडाकुले संयम गुमाउँदैन । धूर्त राजनीतिज्ञले नढाँटीकन सत्यलाई उपेक्षा गर्ने क्षमता राख्दछ पनि भनिन्छ । अहिले प्रतिस्पर्धा गर्ने उम्मेदवारहरू स्थानीय व्यक्तिहरू नै भएकाले यिनीहरूको आचरण, व्यवहार र अन्य पूर्वक्रियाकलाप मतदाताबाट छिप्न सक्दैनन् । पहिलेका प्रतिनिधिहरूको प्रतिबद्धता र उपलब्धिको ‘रिपोर्ट कार्ड’ मतदाताको मस्तिष्कमा छ । यसका आधारमा उनीहरूको उत्तरदायित्वको अन्तिम परीक्षण गर्न सक्नुपर्दछ ।

मतदाताहरूले जस्तो निर्णय लिन्छन्, स्थानीय सरकार त्यस्तै बन्ने हो । निर्वाचन लोकतन्त्रका लागि अनिवार्य मानिए पनि यही मात्र पर्याप्त भने होइन । सक्षम, जनप्रिय, स्वच्छ छविका जनप्रतिनिधिहरू छनोट गर्न र निर्वाचनपछि प्रभावकारी सहभागिता जनाएर उनीहरूको कार्यसूची (एजेन्डा) मा नियन्त्रण गर्न सकिएन भने वास्तविक लोकतन्त्र छ भन्न सकिन्न । अन्यथा निर्वाचन सम्बन्धी यो व्यंग्य चरितार्थ हुनेछ, ‘खराब राजनीतिज्ञहरूलाई मतदान नगर्ने असल मानिसहरूले सरकारमा पठाए ।’ अर्को रोचक भनाइ छ— निर्वाचन दुई चरणमा हुन्छÙ पहिलो चरणमा नेता तपाईंको चरणमा, चुनावपछि तपाईं नेताको चरणमा ! नेपाली नागरिकहरूको चेतन र अर्धचेतन मनले गलत व्यक्ति पक्कै छान्नेछैन । अहिलेलाई यही विश्वास गर्न मात्र सकिन्छ ।


प्रकाशित : वैशाख २७, २०७९ ०७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?