पैसा र परिवारवादमा अल्झेको राजनीति- विचार - कान्तिपुर समाचार

पैसा र परिवारवादमा अल्झेको राजनीति

पैसाबिना चुनाव जित्न त कुरै छाडौं टिकटसम्म पाइन्न, त्यस्तै हरेक दलभित्र परिवारवाद वनमाराझैं मौलाइरहेको छ, इमानदार नेता–कार्यकर्ता उग्लिँदै छन्, यसले दलीय राजनीतिलाई नै विकृत बनाइरहेको छ ।
साधना प्रतीक्षा

स्थानीय निर्वाचन जतिजति नजिकिँदै छ, राजनीति त्यति नै तातिरहेको छ । दल तथा नेताहरूप्रति असन्तुष्टि पनि चुलिँदै छ । एकातिर सत्तारूढ दलहरू गठबन्धनको गाँठो कस्न भरमग्दुर प्रयास गरिरहेका छन्, अर्कातिर कार्यकर्ता यसको विरोध गरिरहेका छन् । दलीय आस्था वा सिद्धान्तविपरीत एवम् आमकार्यकर्ताको चाहनालाई बेवास्ता गर्दै केवल सत्ताका लागि गरिएको चुनावी तालमेलले असन्तुष्टि जन्माएको हो ।

दलहरूले ‘राम्रा’ लाई उम्मेदवार बनाएको दाबी गरे पनि अधिकांश उम्मेदवार ‘हाम्रा’ मध्येबाटै छानिएका छन् । उम्मेदवार छनोटको अर्को मापदण्ड आर्थिक हैसियत तथा लेनदेन हुने गरेको पाइन्छ । दलभित्र मौलाइरहेको परिवारवाद तथा पैसावादले सच्चा नेता–कार्यकर्ता निराश छन्, जसका कारण कतिपय कार्यकर्ता त राजनीतिबाटै अलग भइरहेका छन् । दलीय व्यवस्थामा राजनीतिक स्थायित्वका लागि दलहरू शक्तिशाली र इमानदार बन्नुपर्ने यथार्थविपरीत यस्तो विचलन देखिनु लोकतन्त्रका लागि शुभसंकेत होइन ।

शीर्ष नेताहरूले आम कार्यकर्ताको त्याग तथा योगदानप्रति आँखा चिम्लेर शीर्षस्थानको एकछत्र उपभोग गरिरहेका छन् । सबैले समान अवसर पाउनुपर्छ भन्ने मान्यताविपरीत जसरी हुन्छ आफैंले आजीवन पद सम्हालिरहनुपर्छ भन्ने एक प्रकारको रोगले ग्रस्त छन् । त्यसैले पनि नेतृत्व हस्तान्तरण प्रत्रिया अवरुद्ध छ । शीर्ष नेताहरू आफ्नै परिवारका सदस्यलाई भावी नेतृत्वका लागि तयार पार्नमा तल्लीन छन् । विगतका तथा वर्तमान निर्वाचनमा महत्त्वपूर्ण स्थानमा उठाइएका उम्मेदवारहरूले यसको पुष्टि गरेको छ ।

अहिले दलहरूभित्र चुलिएको अन्तरकलहको मूल कारण ती दलहरूका नेतृत्वले आफ्ना श्रीमती, छोरी, बुहारी, भाइभतिजा लगायतलाई उत्तराधिकारीका रूपमा स्थापित गर्न खोज्नु हो । चुनावका लागि टिकट वितरण गर्दा दलका योग्य, प्रतिबद्ध एवम् लामो इतिहास बोकेका कार्यकर्तालाई पछाडि पारिएको छ । स्थानीय तहमा दलहरूबीच योजना र कार्यक्रमका आधारमा निकटता एवम् दूरी बन्नुपर्नेमा पारिवारिक विरासत स्थापनाको एकसूत्रीय अभियानका लागि साझेदार बनेको देखिन्छ । यही कारण स्थानीय विकास निमार्णका कार्यक्रम र सेवासुविधा वितरणतिर निर्वाचन केन्द्रित हुन सकेको छैन । दलहरूको खिचातानी तथा जुँगे लडाइँ हेर्दा जुनसुकै दलले चुनाव जिते पनि विकास निर्माण प्राथमिक एजेन्डा हुने छैन । जित्नेले हार्नेविरुद्ध कसरी प्रतिशोध साध्ने भन्ने नै भोलिको स्थानीय राजनीतिको मूल मियो बन्न सक्छ । यस्तो खतरा मध्यनजर गर्दै जनताले कुन दल या व्यक्तिले आफ्ना चाहना र प्राथमिकतालाई सम्बोधन गर्न सक्छन् भन्ने पहिचान गर्नु चुनौतीपूर्ण बनिरहेको छ ।

अहिले हरेक दलभित्र परिवारवाद वनमाराझैं मौलाइरहेको छ, इमानदार नेता–कार्यकर्ता उग्लिँदै छन् । हो, मुलुकमा विभिन्न कालखण्डमा भएका राजनीतिक परिवर्तनमा शीर्ष नेताहरूले अहम् भूमिका निर्वाह गरेका थिए, यसो भन्दैमा दलीय नेतृत्व तथा सत्ता नेतृत्वमा सदा उनीहरू नै रहनुपर्छ र ? के उनीहरूको त्याग व्यक्तिगत प्राप्तिका लागि थियो त ? थियो भने उनीहरूले जनतासामु भनून्, ‘हामीले त्याग देश र जनताका लागि होइन, आफ्नै लागि गरेका थियौं । त्यसैले राजनीतिक विरासत सदा हाम्रै रहनुपर्छ ।’ यस्तो इमानदारी नेताहरूमा छैन भने सत्ता र शक्तिको मृगतृष्णाबाट मुक्त भएर उनीहरूले बिनाकुनै आग्रह योग्य व्यक्तिमा नेतृत्व हस्तान्तरणको सस्कृंति बसाल्नुपर्छ । आफ्नो त्यागको बदलामा दलभित्र परिवारवाद स्थापित गराउने हो भने जहानियाँ राणाकाल र गणतन्त्रमा के भिन्नता रहन्छ र ? यही प्रश्नबीच अल्झिएको वर्तमान परिवेशमा असंख्य युवा आफ्नो ऊर्जावान समय राजनीतिमा खर्चेर उमेरले डाँडो काटिसक्दा पनि कुनै जिम्मेवारी नपाएर ‘घरको न घाटको’ भइरहेका छन् ।

दलीय राजनीतिको अर्को दुर्भाग्य यसलाई सेवा नभई व्यापारका रूपमा हेरिनु हो । पैसाबिना चुनाव जित्न त कुरै छाडौं टिकटसम्म पाइन्न । आर्थिक हैसियत नभएका तर राजनीतिमा जीवन बिताएर जनमन जितेका व्यक्तिहरू उम्मेदवारका लागि प्राथमिकतामा पर्न सकिरहेका छैनन् । व्यापारी, जागिरे वा सम्पन्न व्यक्तिहरूले दलको अग्रस्थानमा छन्, तिनैले जनप्रतिनिधि हुने अवसर पाएका छन् । स्थानीय निर्वाचन जित्न लाखौं खर्चिनुपर्ने अवस्था छ, यस्तोमा जनप्रतिनिधिबाट आर्थिक अनियमितता नहोला भन्न सकिँदैन । निर्वाचनका बेला असंख्य कार्यकर्ता पाल्नुपर्ने, मतदातालाई आर्थिक प्रलोभन वा विभिन्न सामग्री वितरण गर्नुपर्ने, भड्किलो प्रचारप्रसारमा प्रतिस्पर्धा गर्नुपर्नेजस्ता कारण टिकट पाउन र चुनाव जित्न आर्थिक हैसियतको आवश्यकता देखिएको हो । सही अर्थको राजनीतिको परिचायक भने यस्तो परम्परा होइन । मतदान जनताले आफ्नो मनले खाएको प्रतिनिधि छान्ने पद्धति हो । कुनै पनि सचेत नागरिकले आफ्नो मत प्रलोभनका आधारमा दिँदैन र दिनु पनि हुँदैन । दलभित्र देखिएको यस्तो व्यापारीकरणको अन्त्य अपरिहार्य छ ।

चुनावी सन्दर्भमा, हरेक दलभित्र देखिने अर्को पक्ष योग्य र इमानदारहरूलाई पाखा लगाएर नेतृत्ववर्गको वरिपरि परिक्रमा गर्ने चाकडीबाजहरूलाई उम्मेदवार बनाइनु हो । यसले दलभित्रको गुट–उपगुट संस्कृतिलाई गति दिइरहेको छ । राजनीतिलाई सेवा ठान्नेहरूलाई भने निराश बनाइरहेको छ । चाकडी–चाप्लुसीका भरमा जिम्मेवारी पाएका व्यक्तिहरूबाट दलभित्रको गुट–उपगुटले फाइदा पाए पनि यसले समग्र दल एवम् दलीय राजनीतिलाई नकारात्मक प्रभाव पारिरहेको छ ।

आसन्न निर्वाचनको परिवेशमा हाम्रो दलीय राजनीतिमा देखिएको यस प्रकारको अस्वाभाविक परिदृश्यले आम जनतामा नकारात्मक सन्देश प्रवाह गरिरहेको छ । लामो समयदेखि राजनीतिक खिचातानीमा अल्झेका, अनेक विकृति–विसंगतिमाझ दैनिकी चलाइरहेका, महामारीले थला पारेका, भावी आर्थिक संकटको सन्त्रासले पिरोलिएका नेपालीलाई यस्तो परिदृश्य सहज लागेको छैन । जेजसरी भए पनि चुनाव जित्नैपर्ने बाध्यता केका लागि भन्ने प्रश्न गर्न अब जनता तयार भएका छन् । देश विकास एवम् जनसेवाका लागि यस्तो खिचातानी भएको हो भने यो देश तीन दशकअघि नै विकासको मार्गमा अग्रसर हुने थियो । अब जनता सत्ता परिवर्तन मात्र होइन, सत्तासीन हुन चाहनेहरूको सोचमा पनि परिवर्तन चाहन्छन् । मुलुकको राजनीति कसैको पारिवारिक विरासत थाम्ने माध्यम वा कसैले पैसाले खरिद गर्न सक्ने साधन बन्दै गएकामा असन्तुष्ट भएका सचेत नागरिकले ‘नो भोट’ को प्रावधान मागिरहेका छन् ।

जनप्रतिनिधित्वका लागि निश्चित योग्यता एवम् मापदण्ड पनि आवश्यक हुन्छ, जुन कानुनी मात्र नभएर उसको कार्यगत क्षमता र विज्ञतासँग जोडिएको हुनुपर्छ । यो पक्षलाई राज्यको निर्णायक तहमा भएकाहरूले बेवास्ता गर्ने हो भने ‘आम नागरिकले मतदान गर्नु नै पर्छ’ भन्ने धारणा नरहन पनि सक्छ किनकि, सबै खराब विकल्पमध्ये एउटा खराब विकल्प छान्नका लागि मतदन किन गर्ने ? यही कारण मागिएको हो ‘नो भोट’ । यस्तो प्रावधान भएमा आम नागरिकको मतदानको अधिकार सुनिश्चित हुनेछ र वर्तमान राजनीतिमा देखिएका विकृतिहरू पनि समाप्त हुँदै जानेछन् । ‘म कसैलाई भोट दिन्नँ’ भन्ने माग पनि मताधिकार नै हो । यसको अर्थ हुन्छ ‘निर्वाचनमा मैले कुनै व्यक्तिलाई योग्य उम्मेदवार देखिनँ । त्यसैले मतदान गर्न चाहन्नँ ।’ यसले मताधिकार प्रयोगका नाममा एउटालाई मतदान गर्नैपर्ने बाध्यात्मक अवस्थाको अन्त्य पनि गर्नेछ । यस्तो प्रावधान आउनुपूर्व नै दलभित्र फस्टाउँदै गरेका विकृतिको अन्त्य गर्नु उपयुक्त हुनेछ ।

प्रकाशित : वैशाख २६, २०७९ ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्

नारीवाद : समानता र सहअस्तित्व

दुःख–पीडा, हाँसो–खुसी, पीर–व्यथा नारी–पुरुष दुवैका हुन्छन् । पीडामा दुवैका आँखा भरिन्छन्, सुखमा दुवैका ओठ मुस्कुराउँछन् भने के भिन्नता छ दुवैमा ?
साधना प्रतीक्षा

नारीवादी चिन्तनले तीन शताब्दी पार गरिसक्दा अनि विश्वका विकसित मुलुकका महिलाहरू स्वतन्त्र भएर प्रगतिपथमा निकै अघि बढिसक्दा पनि हामीकहाँ भने महिलाको जीवनस्तरमा उल्लेख्य परिवर्तन देखिन सकेको छैन ।


महिलाहरूद्वारा आफ्नो हकहितका लागि पटकपटक गरिएका राजनीतिक आन्दोलन एवम् सामाजिक अभियानको फलस्वरूप राज्य र कानुनले उनीहरूका लागि केही अधिकार र आरक्षण सुनिश्चित गरिदिएका छन् तर पनि स्थापित पितृसत्तात्मक सामाजिक संरचना र त्यसद्वारा निर्देशित विभेदकारी मूल्यहरूका कारण ती व्यवहारमा लागू हुन सकेका छैनन् । त्यसैले एक्काइसौं शताब्दीको उत्तरार्द्धमा पनि हाम्रो र हाम्रोजस्तै अविकसित मुलुकका महिलाहरू दोस्रो दर्जामै आफूलाई सीमित पार्न बाध्य देखिएका छन् । परम्परागत पारिवारिक भूमिका, कामको दोहोरो मार, अनुत्पादक कार्यमा गर्नुपर्ने श्रम तथा श्रमबजारमा हुने असमान ज्याला, कार्यक्षेत्रमा हुने श्रम शोषण तथा यौनिक उत्पीडन, घरेलु हिंसा, न्यायिक क्षेत्रमा पहुँच नहुनाले न्यायबाट वञ्चितीकरण, पुरातन सामाजिक मूल्यका कारण आफूमाथिका शारीरिक तथा मानसिक शोषणविरुद्ध आवाज उठाउनमा कठिनाइजस्ता असंख्य समस्या झेलिरहेका छन् आज पनि हाम्रो समाजका नारीहरू ।

समाज अहिले दुई वर्गमा विभाजित छ- सीमित सहरी क्षेत्रको शिक्षित तथा सम्पन्न वर्ग र ग्रामीण क्षेत्रको अशिक्षित तथा विपन्न वर्ग । यी दुवै वर्गका नारीहरूले झेल्ने समस्याका प्रकार भिन्नभिन्न छन् तर चुरो एउटै छ, त्यसको कारक तत्त्व पनि एउटै छ र त्यो हो- युगौंदेखि स्थापित पितृसत्तात्मक समाजिक संरचना र त्यसबाट निर्दिष्ट सांस्कृतिक मूल्य । यस्ता मूल्यहरूले महिला तथा पुरुषका लागि भिन्नाभिन्नै भूमिका निर्धारण गरिदिएकाले महिलाहरूले श्रमको दोहोरो मार खेप्नुपर्छ । प्रकृतिप्रदत्त केही भूमिकाबाहेक अन्य घरेलु भूमिकामा पुरुषको पनि सहभागिता हुने हो भने महिलाका आधा समस्याको समाधान हुन सक्छ । तर चाहे शिक्षित अनि सम्पन्न होऊन् चाहे अशिक्षित अनि विपन्न, प्रायः दुवै वर्गका पुरुषहरू घरेलु भूमिकाबाट पन्छिन चाहन्छन् । गाउँघरमा महिलाहरू घरधन्दा, मेलापात आदि सबैमा खटिएका हुन्छन् भने पुरुषहरू बाहिरको कामबाहेकको समय चियादोकान वा चौतारीमा गफ चुटेर वा तास खेलेर बिताउने गर्छन् । सहरबजारमा समान योग्यता भएका पतिपत्नीमध्ये पति बाहिरको काम सकेर आराम, मनोरञ्जन, साथीभाइ आदिमा रमाइरहेका देखिन्छन् भने महिलाहरू बाहिरको कामपछि

घरेलु भूमिकामा भ्याई–नभ्याई खटिएकै हुन्छन् । ती पुरुषहरू आफूलाई घरेलु काम र बालबच्चाको स्याहारको ‘आइडिया’ नभएको भनेर उम्कने गर्छन् । उनीहरूको यो प्रवृत्तिलाई परिवारका छोराहरूले पनि अनुकरण गर्ने हुनाले यस्तो समस्या पुस्तौंपुस्तासम्म पनि चलिरहन्छ । त्यसैले त होला, मनोविश्लेषणत्मक नारीवादी नान्सी चोडोरोले पुरुषलाई नारीकरण गर्नुपर्ने विचार राखेकी !

महिलाहरूका कतिपय पीडा व्यक्त हुन्छन् तर अधिकांश महिला अव्यक्त पीडामा छटपटाइरहेका हुन्छन् किनकि उनीहरू आफ्ना पीडा र समस्याबारे बोल्न सक्छन् र पनि बोल्न चाहँदैनन् । भनिन्छ नि, निदाएकोलाई ब्युँझाउन सकिन्छ तर निदाएको अभिनय गरेकोलाई ब्युँझाउन सकिँदैन । हामीकहाँ त्यस्तै निदाएको अभिनय गर्ने धेरै पुरुष छन् जसले नारीका समस्या बुझेर पनि बुझ पचाउँदै आएका छन् । नारीसँग सहकार्य गर्दा आफू तल परेको ठान्छन् उनीहरू । सहअस्तित्वलाई स्वीकार गर्दा आफ्नो सत्ता गिरेको मान्छन् उनीहरू । यस्तै पितृसत्तात्मक सोचका कारण विशेष गरी मध्यमवर्गीय अनि कामकाजी महिलाहरू आफ्नो दोहोरो–तेहरो भूमिका र दायित्वबाट पीडित हुने गर्छन् । उनीहरूसँग असंख्य समस्या हुन्छन् तर ती देखिँदैनन्, देखाउन पनि मिल्दैनन् कतिपय समस्या । त्यसैले त होला, अमेरिकी महिलाहरूका यस्तै समस्याका सन्दर्भमा ती समस्या अदृश्य र रहस्यका रूपमा रहेको भन्दै बेटी फ्राइडनले ‘फेमिनिन मिस्टिक’ (महिला रहस्य) पुस्तक नै लेखेकी ! हो, यस्तै रहस्यमयी समस्याभित्र हाम्रो समाजका असंख्य शिक्षित अनि विभिन्न कार्यक्षेत्रमा सहभागी महिलाहरू जेलिएका छन् । यसको निराकरणका लागि त्यस्ता पुरुषहरूले आफ्ना आँखामा बाँधिएको पुरुषश्रेष्ठताको पट्टी फुकालेर समानता र सहअस्तित्वलाई आत्मसात् गर्नुपर्छ ।

प्रत्येक घरपरिवारमा महिला र पुरुषबीच सहकार्य एवम् सहअस्तित्वको खोजी हुने हो भने महिलाहरूलाई आफ्नो अस्तित्व र पहिचानका लागि सडकमा उत्रिनुपर्ने बाध्यता रहँदैन । विश्वमा नारीवादी चिन्तनको आरम्भका सन्दर्भमा हामी अठारौं शताब्दीको पाश्चात्य जगत्मा पुग्छौं तर पूर्वीय सनातन परम्परामा आदिकालदेखि नै रहिआएको नारीको सम्माननीय स्थानको खोजी गर्न पछि परेका छौं । आदिशक्तिका रूपमा नारीदेवतालाई पुज्ने अनि जहाँ नारीको सम्मान हुन्छ त्यहाँ भगवान् खुसी हुन्छन् भन्ने मान्यता बोकेको हाम्रो पूर्वीय परम्परामा नारी र पुरुषको सहअस्तित्वका रूपमा अर्धनारीश्वरलाई स्थापित गरिएको छ । आधा नारी आधा पुरुष अर्थात् शिव र शक्तिको मिलित रूपलाई पुज्ने हाम्रो समाज व्यवहारमा किन पुरुषश्रेष्ठताको अहंबाट मुक्त हुन सकेको छैन ? यही प्रश्नको उत्तर खोजिनु अब सही अर्थको नारीवादी चिन्तन हो । सहभावको परम्पराका अनुयायी हामीले यही सहभावलाई आत्मसात् गर्दै अघि बढ्ने हो भने नारीहरूले आफ्ना पीडा ओकल्दै अधिकार र अस्तित्व खोज्न वर्षको एक दिन नारी दिवस कुर्नुपर्दैन, उसका लागि हरेक दिन नारी दिवस बन्न जान्छ ।

युगौंदेखि पितृसत्ताको जाँतोमा पिनिएका नारीहरूको सहनशीलताले हद पार गरेपछि त्यसविरुद्ध धावा बोल्दै उनीहरू आन्दोलित भए । पुरुषदमनप्रति अत्यन्त आक्रोशित उनीहरूमा पुरुषद्वेषी भावना हुनु, प्रतिशोध चेतको विकास हुनु अस्वाभाविक होइन किनकि यस्तो उग्र नारीवादी सोच घातपछिको प्रतिघातको प्रयास हो । आफ्ना हक–अधिकारप्रति नारीमा आएको सचेतता देखेर परम्परागत पितृसत्तात्मक सोच भएका पुरुषहरू आफ्नो सत्ता गुम्ने भयले त्रस्त भई चेतनशील नारीहरूलाई हतोत्साही गर्न लागिपरेका छन् । यसले उत्पीडित नारी मानसिकतालाई झनै उग्र बनाउने गर्छ । उनीहरू पुरुषसत्ताविरुद्ध झनै आक्रामक हुन्छन् । आदिकालदेखि नै आधाआधा गरी सिंगो सृष्टि चलाइरहेका नारी–पुरुषबीच सहभाव र सहअस्तित्व नै सही अर्थको नारीवाद हो । त्यसैले नारीवादीसँग पुरुष विचलित हुनु आवश्यक छैन ।

युगौंदेखि समाजमा स्थापित पितृसत्ताले महिला उत्पीडित भएको सन्दर्भबाट उठेको नारीवादी चिन्तनको गन्तव्य पितृसत्ताको अन्त्य गरी मातृसत्ता स्थापित गर्नु कदापि होइन । सत्ता सदैव दमनकारी हुन्छ । त्यसैले साँचो अर्थमा नारीवाद सत्ताविहीन समानता र सहअस्तित्व स्थापनाको मार्गमा अग्रसर हुनुपर्छ । परिवार होस् अथवा समाज, नारी र पुरुष हातेमालो गरी अघि बढ्नुको विकल्प छैन । दुःख–पीडा, हाँसो–खुसी, पीर–व्यथा नारी–पुरुष दुवैका हुन्छन् । पीडामा दुवैका आँखा भरिन्छन्, सुखमा दुवैका ओठ मुस्कुराउँछन् भने के भिन्नता छ दुवैमा ? शारीरिक संरचनाबाहेक मानसिक संवेदना एकै भएका यी दुवैबीचको सहकार्य वर्तमान उन्नत समाजको परिचायक हो । त्यसैले चाहे शिक्षित सम्पन्न वर्गका घरपरिवारमा होस् चाहे विपन्न र अशिक्षित वर्गका झुप्राहरूमा, सहभावको प्रसार नै प्रमुख आवश्यकता हो । परिवर्तित राजनीतिक–सामाजिक परिवेशसँगै नारी–पुरुषको आपसी दृष्टिकोणमा परिवर्तन भएर एकले अर्काको अस्तित्व स्वीकार गरेर अघि बढ्नु नै पर्छ किनकि आखिर कतिन्जेल महिलाहरूले आफ्ना पीडा ओकलिरहने ? सडक, मञ्च, आम सञ्चार, महिलाका विचार अनि सामाजिक सञ्जालका भित्ताभरिभरि नारी उत्पीडन कहिलेसम्म पोखिइरहने ? के यसको अन्त्यको दायित्व नारी–पुरुष दुवैको होइन ? त्यसैले थुप्रै राजनीतिक परिवर्तन भोगिसकेका हामीले आआफ्नो वैचारिक परिवर्तन गरौं अनि सहअस्तित्वलाई आत्मसात् गरौं ताकि अबका दिनहरूमा महिलाहरूले केवल उत्पीडन मात्र पोख्न नपरोस् ।

प्रकाशित : चैत्र १८, २०७८ ०८:१७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×