कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१४
सम्पादकीय

दुई दिन बिदाले नबिथोलियोस् स्वास्थ्य सेवा

सम्पादकीय

सातामा दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारी निर्णय स्वास्थ्य क्षेत्रमा त्यत्तिकै कार्यान्वयन गरिएमा बिरामीहरू थप मर्कामा पर्नेछन् । एक दिन मात्रै साप्ताहिक बिदा हुँदा त ठूला तथा सुविधासम्पन्न सरकारी अस्पतालहरूमा बिरामीको चाप अत्यधिक छ; शल्यक्रियाका निम्ति पालो पाउन मात्र होइन, कतिपय रोगका लागि बहिरंग सेवा (ओपीडी) लिनसमेत सकस छ । यस्तो अवस्थामा बिनाविकल्प दुई दिन बिदा दिन थालिएमा स्वास्थ्य सेवा झनै प्रवाहित नहुने निश्चित छ । त्यसैले, बिरामीहरूप्रति संवेदनशील भई स्वास्थ्य क्षेत्रमा साबिकको सेवा नबिथोलिने गरी मात्रै बिदासम्बन्धी व्यवस्थापन मिलाइनुपर्छ ।

दुई दिन बिदाले नबिथोलियोस् स्वास्थ्य सेवा

प्रमुख सरकारी अस्पतालहरूमा हाडजोर्नी, नसा, डेन्टल, सुत्केरी–गर्भवतीको जाँच, छाला, न्युरो, साइक्याट्रिक, नाक, कान, घाँटीलगायतका ओपीडी सेवाका लागि अहिल्यै भ्याइनसक्नुको भीड लाग्छ । सेवा व्यवस्थापनलाई चुस्त नबनाइँदा टिकट काट्नदेखि बिरामी जँचाउन र रिपोर्ट लिनसम्म लामो लाइन बस्नुपर्छ । यही अवस्थामा अब दुई दिन ओपीडी बन्द गरिएमा यो चाप अझ बढ्ने निश्चित छ । यसबाट शल्यक्रिया सेवा पनि प्रभावित हुने देखिन्छ । सरकारी ठूला अस्पतालमा चापका कारण पत्थरी, एपेन्डिसाइटिस, हाडजोर्नी, नसा च्यापिएको, ट्युमरजस्ता नियमित हुने अप्रेसनका लागि बिरामी वर्षौंसम्म कुर्न बाध्य छन् । देशकै जेठो वीर अस्पतालमा शल्यक्रिया गराउन पालो कुरिरहेका बिरामी अहिल्यै २ हजार हाराहारी छन् । कान्ति बाल अस्पतालमा पनि दुई वर्षसम्म पालो नपाउने समस्या छ । दुई दिन बिदाको व्यवस्थापन राम्ररी हुन सकेन भने शल्यक्रियाको यो पात्रो पनि खलबलिन सक्छ, मुस्किलले पाएको मितिमा बिरामीको शल्यक्रिया नहुन सक्छ ।

स्वास्थ्य क्षेत्रमा अहिलेकै अवस्थामा अरू प्रशासनिक कार्यालयहरूमा जस्तो साप्ताहिक कार्यघण्टामा अन्तर नपारेकै भरमा सेवा अविच्छिन्न प्रदान गर्न सम्भव छैन । आज पनि देशभरका बिरामीहरू अलि ठूलो रोग लागेमा प्रमुख सहरहरू धाउन बाध्य छन्, कतिपय रोगका निम्ति त संघीय राजधानी नै धाउनुपर्ने अवस्था छ । यस्तोमा दुई दिन बिदाको प्रावधानले अस्पतालको सेवा त प्रभावित हुन्छ नै, ग्रामीण क्षेत्रका बिरामी र तिनका आफन्तको सहर बसाइँ पनि लम्ब्याउँछ, र अनावश्यक रूपमा खर्च बढाउँछ । समयमै उपचार–शल्यक्रिया गराउन नपाउँदा अहिले सरकारी सेवा नै लिइरहेका कतिपय बिरामी निजीतर्फ धकेलिन बाध्य हुनेछन् । त्यस्तो अवस्थामा गरिबीको रेखामुनि रहेकाहरू थप प्रताडित हुनेछन् । तसर्थ, बिदालाई सुव्यवस्थित बनाउनुको विकल्प छैन ।

स्वास्थ्य मन्त्रालयमा दुई दिन बिदाको व्यवस्थापनबारे सरोकारवालासहित बैठक भए पनि निष्कर्ष निकालिएको छैन । जेठदेखि थप बिदा कार्यान्वयन हुने भएकाले मन्त्रालयले समयमै निर्णय गरी अस्पताल/स्वास्थ्य संस्थाहरूलाई त्यसबमोजिम निर्देशन दिनुपर्छ । शल्यक्रियाको पालो प्रभावित नहुने र पाँच कार्यदिनमै ओपीडीमा बिरामीले सहज रूपमा सेवा पाउन सक्ने अवस्था हुन्थ्यो भने सातामा दुई दिन बिदा आफैंमा अन्यथा होइन, यसबाट चिकित्सक तथा स्वास्थ्यकर्मीको मानसिक, शारीरिक स्वास्थ्यमा फाइदै पुग्थ्यो, र उनीहरूबाट प्रदान हुने सेवाको गुणस्तर पनि बढ्न सक्थ्यो । तर, स्वास्थ्य जनशक्ति र बिरामीको चापका दृष्टिले तत्काल त्यस्तो सम्भव छैन ।

अतः स्वास्थ्य सेवामा कुनै पनि नकारात्मक प्रभाव नपर्ने गरी बिदाको व्यवस्थापन मिलाइनुपर्छ । यसका निम्ति पहिलो उपाय, सरकारी अस्पतालहरूलाई स्रोतसाधन र जनशक्तिले सम्पन नबनाउन्जेल एक दिन मात्र बिदा दिएर सेवा प्रभावित नहुने सुनिश्चित भएपछि मात्रै दुई दिन बिदा दिन थाल्नु हो । दोस्रो, दुवै दिन बिदा तोके पनि चिकित्सक तथा स्वास्थ्यकर्मीलाई अतिरिक्त भत्ताको व्यवस्था गरी एक दिनको बिदामा काममा लगाएर ओपीडी र शल्यक्रिया पात्रो प्रभावित हुन नदिनु हो । तर, त्यस्तो भत्ता कोभिडका बेलामा जस्तो केहीले मात्र पाउने जोखिम भने रहनु हुन्न, त्यस्तो भएमा सेवा झनै चौपट हुन सक्छ ।

त्यसो त, स्वास्थ्य सेवामा दुई दिन दिइने बिदाबाट सरकारले कारण देखाएको इन्धन बचत पनि कति हुन्छ टुंगो छैन, बिदा घोषणा गर्नुअघि सरकारले यसबारे अध्ययन र गृहकार्य केही गरेकै छैन । त्यसैले, इन्धन बचत वा अरू कुनै पनि नाममा स्वास्थ्य सेवामा सम्झौता हुनु हुन्न, अहिलेकै सेवामा आमूल सुधार आवश्यक रहेको बेलामा यसलाई थप प्रभावित तुल्याउनु हुन्न । जसरी हुन्छ, सर्वसाधारणको स्वास्थ्यलाई मध्यनजर राख्दै सरकारले बिदाको व्यवस्थापन मिलाउनुपर्छ ।

प्रकाशित : वैशाख २६, २०७९ ०७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?