कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८७
रेडियो कान्तिपुरको २३ औं वार्षिकोत्सव

विपत्‌को साथी रेडियो

पहुँचका हिसाबले रेडियो नेपालपछिको ठूलो रेडियो हुनुको नातालाई प्रमाणित गर्न सुदूरका कथा र व्यथासँगै आशा र सम्भावनाका अनेक पाटा रेडियो कार्यक्रममार्फत उजागर गर्दै लैजाने काममा रेडियो कान्तिपुर सदैव सचेत छ ।
पवन आचार्य

श्रव्य माध्यम भएकाले रेडियोको फाइदा के हो भने, यसले श्रोताको काममा कुनै बाधा–व्यवधान खडा गर्दैन । अझ, प्रसारण माध्यममा पनि टेलिभिजनका तुलनामा रेडियोका श्रोता एकाग्र प्रायः भइरहनुपर्दैन । त्यसैका कारण पनि रेडियो सजिलो र सर्वसुलभ भएको छ । तर विडम्बना, हरेक वर्ष रेडियो सुन्नेहरूको संख्या घट्दै गएका तथ्यांकहरू सार्वजनिक भैरहेका छन् । सामान्य अवस्थामा रेडियो अचेल बिहान र साँझ 

विपत्‌को साथी रेडियो

सुनिने माध्यम भएको छ । जबकि, विपत्को समयमा यो सबैको र हरपलको साथी हुने गर्छ । विश्वव्यापी कोरोना महामारीका समयमा नेपालमा रेडियो श्रोताको संख्यामा बढोत्तरी भएको सेयरकास्ट इनिसिएटिभको तथ्यांकले देखाउँछ, जबकि केही रेडियोहरू सोही समयमा बन्द पनि हुन पुगे ।

प्रविधिको अधिकतम विकास र इन्टरनेटको व्यापकताबीच जनताले समाचार र सूचना अझै पनि सबैभन्दा पहिले रेडियोबाटै थाहा पाउने गरेका छन् । श्रोतामा रहेको यही विश्वसनीयतालाई अझै प्रगाढ र दरिलो बनाउँदै लैजानु नै रेडियोको अहिलेको चुनौती र अवसर दुवै हो । २३ औं वार्षिकोत्सव मनाइरहँदा रेडियो कान्तिपुरले सूचना श्रोताको पहिलो अधिकार रहेको तथ्यलाई व्यवहारमा उतार्न प्रयत्न मात्र गरेको छैन, त्यसमा सफलता पनि पाएको छ । नेपालमा व्यावसायिक रेडियो प्रसारणको इतिहास रेडियो कान्तिपुरसँगै जोडिएकाले यो चुनौतीलाई बोक्ने अभिभारा अझ यसकै काँधमा छ । पछिल्लो एक दशकमा रेडियो कान्तिपुरले यसमा आफूलाई अब्बल साबित गर्दै आएको छ ।

विशेष गरी विपत्का समयमा सूचना प्रवाह गर्ने सशक्त माध्यम रेडियो नै हुँदो रहेछ भन्ने अनुभव हामीले २०७२ वैशाख १२ र २९ को विनाशकारी भूकम्पमा गरेकै छौं । पछिल्लो समय नेपालीजनले बेहोरेको कष्टपूर्ण लकडाउनका बेला पनि रेडियो धेरैको सहारा बन्यो । मुलुक अघिल्लो वर्ष कोरोनाको चपेटामा परेका बेला रेडियो कान्तिपुरले आफ्नो वार्षिकोत्सव पनि मनाएन । आफ्ना लाखौं श्रोता कोरोनाको डरले घरभित्र खुम्चिन बाध्य भएको समय हामीले हर्षोल्लासपूर्वक वार्षिकोत्सव गर्नुको अर्थ हुन्थेन । बिस्तारै जनजीवन सामान्य हुँदै गएपछि फेरि श्रोताकै सहभागितामा रेडियोले यो वर्ष २३ औं वार्षिकोत्सव आयोजना गर्दै छ । यसरी हामी श्रोतासँग नजिक मात्रै छैनौं, जोडिएका पनि छौं ।

तर, सुख–दुःख र आपत्–विपत् सबैमा साथीको भूमिका निर्वाह गर्ने रेडियोले आफूलाई सदैव त्यही रूपमा किन उभ्याउन सक्दैन ? अहिलेको यक्षप्रश्न यही हो । विपत्का बेला आफ्ना घरपरिवारभन्दा श्रोतालाई केन्द्रविन्दुमा राख्ने रेडियोकर्मीहरू अरू बेला त्यस्तै गरी किन खटिरहेका छैनन् ? यी र यस्ता अनेक प्रश्नको जवाफ खोज्ने बेला आइसकेको छ । साथै हाम्रा रेडियोहरू कसरी र के उद्देश्यले सञ्चालन भइरहेका छन् भन्ने पनि जान्ने बेला भइसकेको छ ।

श्रोताको विविधतासँगै रेडियोका कार्यक्रमहरूमा पनि विभिन्नता ल्याउनु अपरिहार्य भइसकेका छन् । विषयगत रूपमा रेडियोलाई एउटैमा मात्रै केन्द्रित गर्ने परिपाटी हामीकहाँ अलि कम छ । तर जतिले त्यसलाई अपनाएका छन्, उनीहरू बिस्तारै लोकप्रियताको शिखर चढ्दै छन् । मनोरञ्जन र हास्यव्यंग्य प्रस्तुत गर्ने रेडियो अडियो उपत्यकामा लोकप्रिय छ । त्यस्तै, पछिल्लो समय गीत–संगीत मात्रै बजाउने रुस्लान एफएम चर्चामै छ । बाटाको अवस्थाबारे बुझ्न ट्राफिक प्रहरीले सञ्चालन गर्ने एफएम सुन्नेको संख्यासमेत बिस्तारै बढ्दै छ ।

यसले देखाउँछ, श्रोताको चाहना समयसँगै परिवर्तन हुँदै गइरहेको मात्रै छैन, विषयविशेषमा उनीहरूको रुचि पनि उत्तिकै बढ्दो छ । पहिलेजस्तो एउटै रेडियोबाट सूचना, मनोरञ्जन, व्यंग्य, शिक्षा, स्वास्थ्य लगायतको जानकारी खोज्ने श्रोता अचेल छैनन् ।

परिवर्तित समय र सन्दर्भमा आफूलाई पनि परिष्कृत गर्दै लैजाने चुनौती रेडियो कान्तिपुरको काँधमा आएको छ । सञ्चार प्रविधिको विकाससँगै हातहातमा मोबाइल र घरघरमा इन्टरनेटको पहुँचले रेडियोको दायरामा केही हदसम्म संकुचन ल्याउने प्रयास गरेको छ । अझ सामाजिक सञ्जालहरूबाटै समाचारहरू ब्रेक हुन थालेपछि अनलाइन, रेडियो र टेलिभिजनहरूले उपल्लो स्तरको चुनौती खेप्दै आएका छन् । यसलाई अवसरका रूपमा प्रयोग गर्नेतर्फ अग्रणी संस्थाका नाताले रेडियो कान्तिपुरले नेतृत्व लिनुपर्ने नै छ ।

व्यावसायिक रेडियोकर्मको २३ औं वसन्त पार गर्दैगर्दा गर्विलो इतिहासको सम्झनाले मात्रै रेडियो कान्तिपुरलाई आगामी दिनमा अझ परिपक्व बनाउँदै लैजान सकिँदैन । त्यसका लागि कार्यक्रममा विविधता, सूचना संकलनदेखि प्रसारणसम्म गुणस्तरीयता र प्रविधिमा नयाँपन खोज्न जरुरी भइसकेको छ । र यसको सुरुआत रेडियो कान्तिपुरले नयाँ वेबसाइटलाई श्रोताकेन्द्रित तुल्याएर गरिसकेको छ ।

प्रसारणमा रहेका रेडियोमध्येको अग्रणी संस्था भएकाले उदाहरणीय काम गर्नु पनि यसको दायित्व हो । गीत–संगीत बजाएबापत सम्बन्धित स्रष्टाहरूलाई रोयल्टी प्रदान गर्ने निजी क्षेत्रको पहिलो रेडियो भएर रेडियो कान्तिपुरले यसको प्रमाण पेस गरिसकेको छ ।

दूरदराजका नसुनिएका कथाहरूलाई जस्ताको तस्तै सुनाउने काममा रेडियो कान्तिपुर लाग्नुपर्ने भएको छ । पहुँचका हिसाबले रेडियो नेपालपछिको ठूलो रेडियो हुनुको नातालाई प्रमाणित गर्न सुदूरका कथा र व्यथासँगै आशा र सम्भावनाका अनेक पाटा रेडियो कार्यक्रममार्फत उजागर गर्दै लैजाने काममा रेडियो कान्तिपुर सदैव सचेत छ ।

श्रोताका चाहनाको विविधता र गहिराइ नापेर कार्यक्रम उत्पादन र प्रसारण गर्नु रेडियो कान्तिपुरका लागि चुनौतीपूर्ण त छँदै छ, त्यसमाथि संघीय संरचना अनुसारको संरचनागत विकास गर्नु पनि अपरिहार्य छ । किनभने व्यापक पहुँच बनाएको रेडियो हुनुको नातालाई प्रमाणित गर्ने बेला यही हो । स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा निर्वाचन तथा संघीय संसद्को माथिल्लो सभा राष्ट्रिय सभा निर्वाचनका क्रममा सूचना र समाचार प्रस्तुत गर्दा रेडियो कान्तिपुरले आफू सर्वव्यापी पहुँचमा रहेको छनक दियो । साथै, दूरदराजका सूचना र आजावविहीनहरूको आवाजलाई मूलधारमा ल्याउन यथोचित प्रयत्न पनि गर्‍यो । अझ, २०७९ साल चुनावी वर्षका रूपमा रहने निश्चित छ । सम्मुखमा रहेको स्थानीय तह निर्वाचन एवं त्यसपछि हुने प्रदेश र संघीय निर्वाचनमा पनि जनताको भावना र आवाजलाई मुखरित गर्नुपर्ने दायित्व रेडियोकै हो । किनभने दूरदराजमा अझै पनि सूचना पाउने पहिलो र आधिकारिक माध्यम रेडियो नै हो ।

नेपालमा मिडियाको सर्वेक्षण खासै हुँदैन, जेजति भएका छन् तिनले पनि श्रोताहरू पहिलेजस्तो रेडियो सुनेर बस्दैनन् भन्ने देखाएका छन् । समाचार र विभिन्न सूचना जान्न रेडियो सुन्नेले पनि आफ्नो अनुकूलतामा मात्रै यसको प्रयोग गर्छन् । साँझ–बिहानबाहेक आफ्नो अनुकूलता वा फुर्सदमा रेडियो सुन्ने जमात बढ्दो छ । त्यसैले श्रोता जहाँ त्यहीँ रेडियोको सामग्री पुर्‍याउनुपर्ने नयाँ चुनौती रेडियोकर्मीहरूमा आइपरेको छ । श्रोताका चाहनाको विविधतालाई समेट्न एउटै रेडियोबाट समेट्न मुस्किल पर्न थालिसकेको छ । रेडियो कान्तिपुरजस्तो व्यावसायिक एफएमलाई आफ्नो प्रस्तुतिमा विविधता सिर्जना गर्नु मात्रै नभएर सबैको मागलाई सम्बोधन गर्नुपर्ने चुनौती पनि थपिएको छ । किनकि, माथि नै भनियो, पहुँचका हिसाबले रेडियो नेपालपछि मुलुककै ठूलो एफएम रेडियो कान्तिपुर नै हो ।

रेडियो कान्तिपुरको चुनौती श्रोताले दर्साएको माया र विश्वासलाई आगामी दिनमा समेत कायम राख्नु हो । आफ्ना कार्यक्रम र समाचारलाई थप परिष्कृत गर्ने, स्रष्टाहरू एवं रेडियो पत्रकारितामा लागेका अग्रजहरूको सम्मान गर्ने र नयाँलाई प्रोत्साहन गर्ने कामलाई निरन्तरता दिँदै गए रेडियो कान्तिपुरले आफ्नो इतिहासमा थप गर्व गर्न पाउनुका साथै स्वर्णिम भविष्यको परिकल्पना पनि साकार पार्नेमा द्विविधा छैन ।

प्रकाशित : वैशाख २३, २०७९ ०७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

इलाम-२ को चुनावी मतपरिणामले आउँदो निर्वाचनका लागि दिएको संकेत के हो ?