कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

झन्झन् उपेक्षित मानविकी संकाय

सुनीता गाइसी

हाम्रो शिक्षा प्रणालीमा प्रायः प्राविधिक विषयलाई मात्र जोड दिइन्छ । यही कारण समृद्ध हुँदाहुँदै पनि मानविकी संकायले समाजलाई लोभ्याउन सकेको छैन । मानविकीको अध्ययनले समाजलाई हेर्न–बुझ्न विशेष दृष्टिकोण दिन्छ । सामाजिक मूल्य–मान्यता, जीवनशैली, खानपान, रहनसहन, बोली–व्यवहारबारे वैज्ञानिक विश्लेषण गर्ने आधार पनि ।

झन्झन् उपेक्षित मानविकी संकाय

मानिस समाजबाट एक्लिएर बस्न सक्दैन । दैनिक जीवनका आवश्यकता पूरा गर्न हरपाइलामा समाज चाहिन्छ र अर्को व्यक्तिसँग मिलेर काम गर्नुपर्छ । मानिसहरू एकअर्कामा अन्योन्याश्रित छ । यही सम्बन्ध बुझ्न सके, प्रशासन तथा अन्य क्षेत्र सञ्चालनमा पनि सहज हुन्छ । मानव जीवनमा शिक्षाको भूमिका महत्त्वपूर्ण हुन्छ । हाम्रोमा विशेष गरी एसईईपछि के पढ्ने–पढाउने भन्ने चिन्ता हुन थाल्छ । अभिभावकले छोराछोरीलाई एसईई सकिनेबित्तिकै प्राप्त अंकका आधारमा कुन संकायमा पढाउने भनी विचार गर्न थाल्छन् । अलि राम्रो नम्बर आए विज्ञान संकाय पढ्नुपर्छ भनिन्छ, कम आए मात्र व्यवस्थापन, मानविकी वा शिक्षाजस्ता संकायमा भर्ना गरिन्छ ।

प्रायः अभिभावक पुरातन विचारधाराकै छन् । छोराछोरीमाथि आफ्नो चाहना लाद्ने गर्छन् । राम्रो नम्बर ल्याएमा विज्ञान पढ्नैपर्ने दबाब दिन्छन् । अन्य विषय पढेमा अरूले हेप्ने वा पछि काम पनि नपाउने हुन सक्छ भनेर अभिभावकहरू डराउँछन् । साथीभाइमाझ पनि छोराछोरीलाई विज्ञान पढाएकामा फुर्ती लगाउँछन् । कतिपय अवस्थामा त विद्यार्थी स्वयंले पनि साथीभाइबाट हेपिएको महसुस गर्ने गरेका छन् । कतिपय अभिभावकले आर्थिक रूपमा कमजोर भए पनि, छोराछोरीको क्षमता कम भए पनि विज्ञानै पढाउन जोड दिनुको कारण यही हो । यसो भन्दै गर्दा विज्ञान संकायलाई नराम्रो भन्न खोजेको होइन । सबै संकायका आ–आफ्नै विशेषता हुन्छन्, फाइदा र बेफाइदा पनि । समाजलाई निरन्तर अगाडि बढाउन सबै विषयको उत्तिकै भूमिका हुन्छ ।

पछिल्लो समय, मानविकी संकायप्रति अभिभावक र विद्यार्थीहरूको रुचि साँच्चै कम भइरहेको छ । मानविकी संकायले विद्यार्थीहरूलाई लोभ्याउन सकेको छैन । कतिपय स्थानीय निकायले संस्कृति, राजनीतिशास्त्र विषयमा छात्रवृत्तिको व्यवस्था गरे पनि विद्यार्थी आकर्षित हुन सकेका छैनन् । पछिल्लो समय त त्रिभुवन विश्वविद्यालयको केन्द्रीय विभागमै मानविकी संकाय अन्तर्गतका विभिन्न विषयमा विद्यार्थीसंख्या स्वाट्टै घटेको छ । तैपनि सबै विषयलाई निरन्तरता दिएकाले विश्वविद्यालयमाथि आर्थिक भार बढिरहेको छ । अन्य सामुदायिक कलेजको हालत पनि यस्तै छ ।

मानविकीको सार्वजनिक महत्त्वबारे पछिल्लो समय बुझाउन सकिएको छैन । यस अन्तर्गतका संस्कृति, राजनीतिशास्त्र, पत्रकारिता, अर्थशास्त्र, इतिहास, मनोविज्ञानलगायत विषयको महत्त्व समाजमा निकै छ । समाजका गतिविधिहरूलाई बुझ्न र तिनको हल गर्न मानविकी अध्ययनले सघाउँछ । उदाहरणका लागि, भ्रष्टाचार के, कसरी र किन हुन्छ भन्ने पृष्ठभूमि बुझ्नका लागि त्यसबारे विभिन्न तरिकाले व्याख्या गर्नुपर्ने हुन्छ, जसका लागि मानविकी अध्ययन सहायक हुन सक्छ ।

नेपालको प्रशासनिक क्षेत्रमा पनि मानविकीका विद्यार्थीहरूको उपस्थिति अपरिहार्य छ, समाजमा भइरहेका विभिन्न घटना बुझ्न प्राविधिक ज्ञानबाट मात्र सम्भव छैन । सरकारी सेवाहरूलाई प्रभावकारी बनाउन पनि मानविकीका विद्यार्थीहरूको आवश्यकता छ । त्यसैले यो विषयमा आकर्षण बढाउन विश्वविद्यालय आफैं लाग्नुपर्छ । त्यस्तै मानविकी संकाय अन्तर्गतका विषयहरू अन्य संकाय वा प्राविधिक ज्ञान हासिल गरेका विद्यार्थीहरूलाई पनि पढाउनु आवश्यक छ । त्यसका लागि नयाँ पाठ्यक्रम नै बनाउनुपर्छ, जसको तयारी सम्बद्ध पक्षले थालिहाल्नुपर्छ ।

प्रकाशित : वैशाख २२, २०७९ ०७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?