नेपाल यसैले ‘खुसी’ छ !- विचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपाल यसैले ‘खुसी’ छ !

खुसी मनोभावका लागि ३०–४० प्रतिशत आनुवंशिकता नै जिम्मेवार छन् । त्यसमा वातावरणीय अर्थात् सामाजिक पक्षको हात ६०–७० प्रतिशत हुन्छ ।
अजय रिसाल

काठमाडौँ — अब त ढुक्क भयो ! भोलि सजिलै अफिस जान पाइने भैयो !’ घर छिर्दाछिर्दै प्रफुल्लित मुद्रामा उनले सुनाइन् । पेट्रोल व्यवसायी/ढुवानीकर्ताहरूको कमिसनका लागि चलाइएको चक्कर अनि आयल निगमको अकर्मण्यताका कारण केही समयअघि पेट्रोलियम पदार्थको कृत्रिम हाहाकारको समयमा आफ्नो स्कुटरमा चार लिटर इन्धन हाल्न पाएकामा खुसी देखिन्थिन् मेरी श्रीमती । हामीलाई ‘खुसी’ हुन धेरै केही चाहिँदै चाहिँदैन !

छ वर्षअघि (२०७२ असोज–कात्तिक) नाकाबन्दीको समयमा ग्यास, मट्टीतेल, पेट्रोलजस्ता अत्यावश्यक इन्धनको चरम संकट पर्‍यो । भान्सामा रहेको माटाको चुलो भत्काइसकिएको थियो । तर पनि बाहिर कौसीमा माटाको ससानो चुलो बनाएर अनि कतैबाट दाउरा खोजेर ल्याएर आगो बालेर खाना पकाउन पाउँदा मात्र पनि हामी सन्तुष्ट नै रहन्थ्यौं, ‘खुसी’ नै थियौं ।

त्योभन्दा छ महिनाअघि (२०७२ वैशाख) विनाशकारी भूकम्पको समयमा सर्वसाधारण नेपालीहरूलाई ज्यान जोगाउनै हाहाकारझैं भएको थियो । विदेशी चिकित्सक अनि स्वास्थ्य अनुसन्धाताहरू प्राकृतिक प्रकोप, मानसिक तनाव र त्यसले ल्याउने मनोसामाजिक समस्याहरूका बारेमा हामीसँग प्रश्न गर्दथे । उनीहरूले सोचेजस्तो परिणाममै ‘पोस्ट ट्रमाटिक स्ट्रेस डिस्अर्डर’ या अन्य तनावजन्य मानसिक समस्याहरू नेपाली जनमानसमा पाइएको थिएन । भत्किएका घरहरूलाई चटक्क छोडेर बारीका पाटामा पाल लगाएर या निथ्रुक्क भिजेरै सुत्दा पनि उनीहरू हाँसिरहेकै देखिन्थे, बाँचिरहेकै थिए ।

त्यस्तै एक–डेढ दशकजतिको लोडसेडिङको अन्धकारको समयमा पनि केही घण्टा बढी बत्ती आउने सूचनाले नै फुरुंग पार्ने गरेकै हो हामीलाई । माओवादी जनसंघर्षको समयमा गाउँघर छाडेर सहर–सदरमुकाम अनि देश छाडेर विदेश हान्निनुपर्दा या आफन्तहरू गुमाउनुपर्दा पनि मुस्कुराएरै जीवन बिताइदिन सक्ने जब्बर जाति नै हौं हामी । विदेशी ठूला नेता नेपाल भ्रमणमा आइदिँदा या तिनले हाम्रा कार्यकारीलाई भ्रमणमा बोलाइदिँदा मात्र पनि दंग हुन्छौं हामी । साँच्चै, नेपालीहरूलाई ‘खुसी’ बनाउन धेरै केही गर्नैपर्दैन ।

संयुक्त राष्ट्रसंघले बर्सेनि प्रकाशित गर्ने ‘खुसी सूचकांक’ को केही समयअघि चर्चा भयो । प्रतिवर्ष २० मार्चमा मनाइने अन्तर्राष्ट्रिय खुसी दिवसको सेरोफेरोमा करिब १५० देशमा गरिने सर्वेक्षणका आधारमा बन्ने खुसी राष्ट्रहरूको सूचीमा यो वर्ष (सन् २०२२) नेपाल ८४ औं नम्बरमा परेछ । अझै महत्त्वपूर्ण कुरो त, दक्षिण एसियाली देशहरूमा पहिलो भएछ नेपाल । सुशासन, सदाचार, आर्थिक अवस्था, खेलकुद आदि अरू जेसुकै अन्तर्राष्ट्रिय आँकडाहरूमा सधैं पुछारमा रहने आफ्नो देश खुसीको मामिलामा भने केही अगाडि देखिँदा अलिकति भए पनि मनमा ‘खुसी’ नै थपिँदो रहेछ । हुन त, विगत तीन वर्षको तथ्यांक हेर्दा नेपालको स्थितिमा सुधार भैरहेकै देखिन्छ पनि, सन् २०२० मा ९२ औं स्थानमा रहेको नेपाल २०२१ मा ८७ औं अनि अहिले ८४ औं स्थानमा उक्लेको हो ।

कोरोना महामारीको उभार थपिँदै जाँदा सन् २०१९ को पहिलो लहरमा भन्दा दोस्रो, तेस्रो अनि पछिल्ला लहरहरूमा विश्वभर नै मानवीयता, परोपकार, स्वयंसेवी भावना आदि मानवीय गुणहरूको अभिवृद्धि हुँदै गई खुसीको संवाहन ज्यादा भएको हो भन्नेहरूसमेत छन् । गरिबी, अभाव, अविकास, भ्रष्टाचार, राजनीतिक उतारचढाव आदि समस्याहरूबाट ग्रस्त नेपालजस्तो मुलुक खुसीको मानकमा विश्वभरका आधा मुलुकहरूभन्दा माथिल्लो स्थानमा छ भनेर पत्याउन अलि गाह्रै परेको हो मलाई पनि ।

केही समयअघि कान्तिपुर हेडलाइनर्समा मलाई सोधिएको प्रश्नको आशय नै त्यही थियो, ‘नेपालजस्तो आर्थिक रूपले गरिब अनि पिछडिएको मुलुक कसरी त्यत्ति साह्रो खुसी हुन सक्छ ?’

यो प्रश्नले एउटा कुरा भने प्रस्ट पारेको छ । ‘खुसी’ को मापन धनसम्पत्ति, आय, बचतजस्ता आर्थिक या भौतिक कुराले मात्र गर्न सकिने होइन रहेछ । भाइचारा, शान्ति, सन्तुष्टि, जीवन सन्तुलन, सहकार्य, आपसी विश्वास, हेरचाह आदिजस्ता आध्यात्मिक पक्षहरूको पनि ‘खुसी’ जस्तो सापेक्षिक मनोभावको निर्माणमा ठूलो हात रहन्छ भन्ने कुरा त पछिल्ला अध्ययनहरूले नै दर्साइसकेकै छन् ।

हुन पनि हो, पूर्वीय सभ्यता अनि सनातन संस्कृतिको मूलथलो नेपालमा वैदिक ऋचाहरूले शंखनाद नै गरेका छन्— ‘सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामयाः’ अर्थात् सबै सुखी अनि निरोगी होऊन् । ‘संगच्छध्वं संवदध्वं सं वो मनांसि जानताम्’ अर्थात् सँगै हिँडौं, सँगै बोलौं, हामीहरू सबैको एकै मन होस् । ‘सुखेदुःखे समे कृत्वा...’ भन्दै सुख र दुःखलाई एकै सिक्काका दुई पाटा मानेरै जीवनमा अगाडि बढ्ने संस्कार छ हाम्रो । आफ्नै मात्रै ‘सब्जेक्टिभ वेलबिइङ’ नभनी विश्वकै सामूहिक कल्याणका लागि आह्वान गर्दथे हाम्रा ऋषि–महर्षिहरू । त्यसैले हामी ‘सन्तोषं परम सुखम्’ भन्दै ससाना कुराहरूमै सन्तुष्ट एवं खुसी हुन सकेका हौं कि ?

खुसीका जैविक कारक तत्त्व खोतल्ने उद्देश्यका साथ हाल सालै गरिएका अध्ययनहरूले नै जनाएका छन्— खुसी मनोभावका लागि ३०–४० प्रतिशत आनुवंशिकता नै जिम्मेवार छन् । त्यसमा वातावरणीय अर्थात् सामाजिक पक्षको हात ६०–७० प्रतिशत हुन्छ । शतप्रतिशत नै आनुवंशिक समानता रहने जुम्ल्याहाहरूमाझ गरिएको अध्ययनले ती जुम्ल्याहामध्येका विवाहित व्यक्ति अविवाहितभन्दा बढी खुसी हुने गरेको देखाएको थियो । यही आँकडालाई केलाउँदा पनि वैवाहिक संस्था, पारिवारिक संरचना अनि सामाजिक

एकता पश्चिमी विकसित मुलुकहरूमा भन्दा हाम्रोजस्तो पूर्वीय संस्कृतिमा भिजेका देशहरूमै बलियो पाइन्छ । त्यसैले आर्थिक रूपमा गरिब नै भए पनि सामूहिक भावनामा धनी नेपालजस्तो देश व्यक्तिवादी चिन्तनले अभिशप्त धनी मुलुकहरूकै दाँजोमा खुसी रहन सफल भएको हो कि ?

अब एक पटक माथि उल्लिखित ‘खुसी सूचकांक’ का मापकहरूलाई केलाऔं । ‘जीवनको व्यक्तिपरक मूल्यांकन’ का छ आधारलाई ‘खुसी सूचकांक’ को सर्वेक्षणका लागि प्रयोग गर्ने गरिएको छ । ती आधार हुन्— प्रतिव्यक्ति आय, सामाजिक सहायता, स्वस्थ जीवन, वैयक्तिक स्वतन्त्रता, उदारता र भ्रष्टाचारप्रतिको धारणा । यी छ अवयवलाई हेर्दा गार्हस्थ्य उत्पादनजस्तो आर्थिक पक्ष, वैयक्तिक स्वतन्त्रताजस्तो राजनीतिक प्रश्न अनि भ्रष्टाचारप्रतिको सहनशीलताजस्तो जीवनशैलीको दृष्टिकोणमा फिनल्यान्ड, डेनमार्क, नर्वेजस्ता स्क्यान्डेभियन मुलुकहरू अगाडि भएर खुसीको मापनमा माथिल्ला स्थानमा पुगेको देखिन्छ । नेपाल भने अहिले बढ्दै गएको औसत आयु (केही दशकअघि ५०–५५ वर्षको हाराहारी रहेकामा अहिले आएर ७३–७५ वर्ष) जस्तो स्वास्थ्यको पक्ष अनि सामाजिक सहायता एवं उदारताजस्ता हाम्रा सनातनी संस्कारहरूकै कारण खुसी मनोभावनाको मामिलामा थुप्रै देशभन्दा अगाडि भएको स्पष्ट हुन्छ । नेपाली संस्कृतिका सकारात्मक पक्षहरूमा अडिग रहेर भ्रष्टाचारजस्ता कुसंस्कारमा शून्य सहनशीलताको नीति लिई राजनीतिक स्थायित्व अनि आर्थिक विकासको दिशामा मिहिनेत गर्ने हो भने हाम्रो मुलुक पनि पश्चिमी विकसित राष्ट्रहरूकै हाराहारीमा नपुग्ने भने होइन रहेछ ।

अब कुरा गरौं मानसिक स्वास्थ्यको ।

‘खुसी’ जस्तो सापेक्षिक मनोभावनाका आधारमा मानसिक स्वास्थ्यको यथोचित मापन हुने त होइन तर अझै पनि हामीले मानसिक समस्याहरूको मापनका लागि पश्चिमी मुलुकहरूकै वर्गीकरण पद्धति अनि निदान प्रणालीहरूकै भर परिरहनु परेको छ । अझै पनि हाम्रो सामाजिक बनोट अनि अद्वितीय संस्कृतिका आधारमा मनोसामाजिक समस्याहरूको पहिचान अनि वर्गीकरण गर्ने प्रणालीको निर्माण भनौं या प्रमाणीकृत गर्ने आधारशिलाको उल्लेखनीय रूपमा विकास गरिसकेका छैनौं । धर्म, संस्कृति, रहनसहन, आहारविहार, सामाजिक बनोट आदि नै व्यक्ति मनोविज्ञान अनि व्यक्तित्व निर्माणका मूल आधार हुन् । मनोसामाजिक अवस्थाको परीक्षणका मानकहरू पनि तिनै सामाजिक–सांस्कृतिक अवस्थिति नै हुन् । त्यसैले मनोवैज्ञानिक परीक्षणमा हामीले आफ्ना विविध सांस्कृतिक–सामाजिक विशेषताहरूलाई अन्तर्घुलित गर्ने पद्धति बसाल्नुपर्दछ । यस्तो हुन सके भविष्यमा नेपाल ‘खुसी’ मात्र नभई मनोसामाजिक रूपमै स्वस्थ मुलुकको श्रेणीमा पर्नेछ ।

रिसाल मनोचिकित्सक हुन् ।

प्रकाशित : वैशाख १६, २०७९ ०८:०५
प्रतिक्रिया
पठाउनुहोस्

आत्महत्या घटाउन परिवारको ठूलो हात

अजय रिसाल

गत हप्ता मनोसामाजिक समस्याहरूको उपचार सम्बन्धी अभिमुखीकरण तालिममा प्रशिक्षकका रूपमा प्रस्तुत भएको थिएँ म । स्वास्थ्यकर्मीहरूका लागि सञ्चालित उक्त तालिमका सहभागीहरूले छलफलका क्रममा आफ्नो गाउँठाउँमा रहेको आत्महत्याको कहालीलाग्दो तस्बिर देखाएका थिए ।

त्यसै समय ‘चितवनको गणेशकुञ्ज गाउँमा आत्महत्याको डरलाग्दो तथ्यांक’ बोकेको मिडिया रिपोर्ट (राजेश घिमिरे, सेतोपाटी अनलाइन, २०७८ फागुन ५) पढ्न पाएँ । मनोचिकित्सक भईकन पनि मलाई सकभर यो प्रसंग नआइदिए हुन्थ्यो अनि यसबारे बोल्न–पढ्न–लेख्न नपरे हुन्थ्यो भन्ने लागिरहन्छ । तर के गर्नु !

चितवनको त्यो गाउँमा चार कक्षाका बालबालिकाले रूखलाई ‘मान्छे झुन्डिने ठाउँ’ का रूपमा बुझ्न थालेका रहेछन् । शिक्षकशिक्षिका अनि अभिभावकले हप्काउँदा या आफूलाई मन नपर्ने अवस्था आउँदा ती बालबालिका ‘मरिदिन्छु’ भनेर घुर्की लगाउँदा रहेछन् । बालमस्तिष्कमै ‘आत्महत्या गरेर मरिदिनु नै सबै समस्याको हल हो’ भन्ने मनोविज्ञानको विकास हुनु चिन्ताजनक नै हो । तथ्यांकहरूले पनि त्यस ठाउँमा त्यस्तै नकारात्मक मानसिकता फैलिएको प्रस्ट्याउँछन् । ‘पन्ध्र दिनमा तीन जनाले, एक वर्षमा सात जना अनि पाँच वर्षमा चौध जनाले’, त्यो पनि एकै गाउँका मानिसहरूले, आत्महत्या गरेर ज्यानै फाल्नु पक्कै पनि सामान्य अवस्था होइन । प्रहरी तथ्यांक अनुसार, चितवन जिल्लामा गत आर्थिक वर्षमा २१९ (यो वर्ष आहिलेसम्म ९९) जनाको आत्महत्याका कारण मृत्यु भएको छ । ‘रेकर्ड’ नभएका त अझ कति होलान् ! वरिपरिका अरू गाउँमा समेत यो समस्या फैलन सक्नेमा चिन्तित रहेछन् सरोकारवालाहरू । के आत्महत्या सरुवा रोग नै हो त ? मनस्थितिमा आउने नकारात्मकता कोभिड महामारीजस्तै गरी व्यक्ति, परिवार अनि समाजमा फैलिन सक्ला ? प्रश्न गम्भीरै छ ।

मैले काम गर्ने जिल्ला काभ्रेको अवस्था पनि त्यत्ति राम्रो छैन, यस मामिलामा । हामी चिकित्सकहरूले त अस्पतालमा ल्याइपुर्‍याइएका आत्महत्याको प्रयास गर्ने बिरामीहरूको आँकडाका आधारमै आत्महत्यारूपी समस्याको आकलन गर्ने हो । केही वर्षअघि हामीले ६ महिनामा ७३ (महिनामा करिब १२–१३) जनाले आत्महत्याको प्रयास गरेकाले धुलिखेल अस्पताल ल्याइपुर्‍याइएको तथ्यांकका आधारमा एउटा स्वास्थ्य जर्नलमा शोधपत्र प्रकाशित गरेका पनि थियौं । अझै पनि वर्षा ऋतु (कृषिको मौसम) मा कीटनाशक औषधि खाई आत्महत्याको प्रयास गर्ने बिरामीहरू हाम्रो निगरानीमा ल्याइपुर्‍याइने गरिएकै छन् । त्यस समूहमा महिला अनि किशोरकिशोरीकै अधिकता पाइने गरेको छ । विस्तृत मानसिक परीक्षण गर्दा तिनीहरूमा हामी मनोसामाजिक समस्याहरूका रूपमा डिप्रेसन, मद्यपानजन्य अनि व्यक्तित्वजन्य समस्याहरू अधिक मात्रामा पाउने गर्छौं । त्यसैले आत्महत्यालाई मानसिक स्वास्थ्यको गम्भीर समस्या या सबै प्रकारका मानसिक रोगहरूको जटिलताका रूपमा लिने गरिएको छ । तर प्रश्न उठ्छ फेरि पनि- आत्महत्या मनोसामाजिक अनि मनोवैज्ञानिक समस्या मात्र हो त ?

‘एक व्यक्तिका सहोदर तीन दाजुभाइमध्ये दुई जनाले आत्महत्या गरेरै मृत्युवरण गरेकाले कान्छा भाइ उद्वेलित भइरहेका थिए रे !’ उक्त तालिममा एक स्वास्थ्यकर्मी सुनाउँदै थिए, ‘मेरो विचारमा ती कान्छा भाइले पनि आत्महत्या गरेरै छाड्छन् । आत्महत्या त वंशानुगत नै हो नि, होइन र सर ?’ मानिसको मन अनि उसको मनोविज्ञान गणितका सूत्रजस्तै सरल रेखामा हिँड्ने भए अनि प्रश्नोत्तर गरेरै यो मनोवृत्तिको सैद्धान्तिक रूपमा हल खोज्न सकिने भए त म पनि ठोकुवा गरेरै भनिदिन्थें होला, हो या होइन ।

केही हप्ताअघि राष्ट्रिय योजना आयोगको निमन्त्रणामा आत्महत्या निराकरणका लागि राष्ट्रिय कार्ययोजना निर्माण सम्बन्धी एउटा अनलाइन गोष्ठीमा सहभागी हुने अवसर मिलेको थियो । मनोचिकित्सक, मनोविद्, प्रशासक, प्रहरी, सामाजिक कार्यकर्ता, योजनाविद्, एनजीओकर्मी आदि सहभागी उक्त कार्यक्रममा प्रश्न उठेको थियो- ‘आत्महत्या वास्तवमा कानुनी समस्या हो या स्वास्थ्य समस्या ? यसलाई गैरकानुनी या दण्डनीय अपराधकै श्रेणीमा राखिराखेर यो समस्याको निराकरण गर्न सकिएला त ?’ सीधा प्रश्नको सरल उत्तरका रूपमा यसको समाधान दिन पक्कै पनि नसकिएला ।

सीधासीधा ‘मृत्युको इच्छा’ व्यक्त गर्ने रोगीहरू, ‘तपाईंलाई मरूँमरूँजस्तो लाग्छ ?’ भन्ने हाम्रो सीधा प्रश्नको सरल उत्तर दिनेहरू, आत्महत्याप्रति उत्साह व्यक्त गरिरहने या कुनै न कुनै रूपमा आत्महानिको लक्षण देखाउने बिरामीहरूलाई हामी मानसिक वार्डमा भर्नै गरेर निगरानीमा राख्छौं । विशेष जाँच–पडतालपश्चात् तिनमा पाइने मनोसामाजिक समस्याहरूको उपचारका लागि अहोरात्र खट्छौं । ‘आत्महत्याको प्रयास’ गर्नेहरूलाई तिनको मनोभावको अध्ययन गरेर उपचार पनि गरेका छौं हामीले । तर पनि यो जत्तिको अस्पष्ट, निराशाजनक, अपजसे अनि मनमा उद्वेग पैदा गर्ने अर्को विषय नै छैन मेरा लागि ।

कुनै पनि मानसिक समस्यालाई कार्य–कारण सम्बन्धको एक्लो मानकले कदापि इंगित गर्न सकिंँदैन । आत्महत्या त अझ मनोसामाजिक समस्याको वियोगान्त रूप अनि ती समस्याहरू अझै जटिल बन्दै गएको अवस्था हो । तर शारीरिक रोगहरूको जटिलताजस्तो आत्महत्या गरिसकेपछि फर्केर आउँदैनन् ती व्यक्ति । फेरि एक पटक आत्महत्याको प्रयास गर्ने व्यक्तिले त्यस्तो प्रयास दोहोर्‍याउने सम्भावना भने पचास प्रतिशतभन्दा बढी हुन्छ । तर आत्महत्याको प्रयास गर्नेहरूलार्ई मनोसामाजिक उपचारद्वारा भविष्यमा त्यस्तो गर्नबाट बचाउने प्रयास भने गर्न सकिन्छ । अनि यो कटु यथार्थ नै हो, प्रायशः ‘आत्महत्या’ गर्ने व्यक्तिहरू कुनै न कुनै मानसिक रोगद्वारा पीडित हुन्छन् नै । त्यसैले डिप्रेसन, बाइपोलार डिस्अर्डर, मद्यपान/लागूपदार्थजन्य मानसिक समस्या, साइकोसिसजस्ता मनोरोगहरूको शीघ्र पहिचान एवं उपचार गर्न मात्र सक्ने हो भने पनि असी–नब्बे प्रतिशत आत्महत्यालाई नियन्त्रण गर्न सकिन्छ ।

आत्महत्याका सबै कारक तत्त्वलाई पूर्ण रूपमै जान्न नसकिए पनि तीन खण्डमा बाँडेर अध्ययन भने गर्ने गरिएको छ । आनुवंशिकता अनि सेरोटोनिन नामक रसायनको कमीलाई जैविक कारक मानिएको छ । तर प्रस्ट्याउनुपर्छ नै- आनुवंशिकता आत्महत्या गर्ने प्रवृत्ति अनि मानसिक रोगहरूका लागि केही मानेमा जिम्मेवार होला, सबैमा यो वंशानुगत रूपमा सर्नेजसरी नै लागू भएको भने पाइँदैन । आत्महत्याको मनोवैज्ञानिक कारणमा फ्रायड, मेनिन्जर आदिका सिद्धान्त अनुसार ‘आफूले आफूप्रति नै देखाएको रिस’ अनि ‘मर्ने या मार्ने चाहना’ आदिलाई देखाइएको छ । तर किन त ? पूर्ण उत्तर छैन हामीसँग ।

आत्महत्याका सामाजिक अवयव पनि छन् । हाम्रो परिवेशमा गरिबी, अभाव, चेतनाको कमी आदि महत्त्वपूर्ण हुन सक्छन् भने विकसित राष्ट्रहरूमा तीव्र औद्योगिकीकरण, सामाजिक संरचनाको उतारचढाव, पारिवारिक विघटन, भौतिकवादी–व्यक्तिवादी–उपभोक्तावादी संस्कृतिको प्रभाव, असहिष्णुता, आध्यात्मिक चिन्तनको कमी आदिलाई अध्ययनहरूले आत्महत्याका लागि जिम्मेवार मानेका छन् । त्यस्तै, घरेलु हिंसा, पतिपत्नी, सासू–बुहारी कलह, दाइजो प्रथा, छोरीे जन्मँदा सुत्केरीहरूले भोग्ने पीडा, पतिहरूमा व्याप्त मद्यपानको अम्मल र जुवातासको लत आदि पनि महिलालाई आत्महत्याका लागि प्रेरित गर्ने कारक तत्त्व हुन् ।

आत्महत्या सरुवा रोगझैं हुन सक्छ त भन्ने प्रश्नमा घोत्लिँदा, बेलाबेलामा समाचारहरूमा आइरहेका सामूहिक–पारिवारिक आत्महत्याका अनि विद्यार्थी–कृषक वर्ग आदिमा देखिने सामूहिक आत्महत्याका भयावह खबरहरूले यो प्रवृत्तिको सरुवा रूप नै देखाउँछन् । विश्वइतिहासमै पनि धार्मिक–साम्प्रदायिक अनुबन्धनमा परेर अथवा अन्धविश्वासको चपेटामा परेर ‘समुन्नत भविष्य’ अनि ‘आदर्श संसार’ या ‘मुक्ति’ को कामना गरी सामूहिक रूपमै स्व–मृत्युवरण गरेका कैयौं सन्दर्भ पाइन्छन् । सतीप्रथा, जोहर, संन्यास–मरण या मोक्षमार्ग आदि पनि सामूहिक आत्महत्याकै प्रकार हुन् । राजनीतिक कारणले आत्मघाती विस्फोट गराउने या सामूहिक आत्मदाह गर्ने प्रवृत्ति पनि यदाकदा देखिन्छ ।

आत्महत्या गर्ने प्रवृत्ति संक्रामक पनि हुन सक्छ अनि यही संक्रामकता नै सामूहिक आत्महत्याको प्रमुख माध्यम हुन सक्ने आकलन गरिएको छ । व्यक्तिगत सामीप्य वा सम्बन्धहरूका कारण आत्महत्या गर्ने विचार, इच्छा या प्रवृत्ति प्रत्यक्ष–अप्रत्यक्ष रूपमा एकबाट अर्कोमा सर्न सक्छ । वाईफाई, स्मार्टफोन अनि सामाजिक सञ्जालको व्यापकता रहेको आजको समाजमा त किशोरवर्गमा झनै भयावह रूपमा फैलन सक्छ यो प्रवृत्ति । एकअर्काको देखासिकी या नक्कल गर्ने प्रवृत्ति, अझ ठूलाबडाको अनुकरण गर्ने चलनले पनि सामूहिक आत्महत्याको संख्या बढाएको हुन सक्छ । हारेका सिपाहीहरू या योद्धाहरूले सामूहिक आत्महत्या गर्ने गरेको इतिहासमा पढिएको पनि हो । राजनीतिक नेता या सिनेकर्मीहरूजस्ता लोकप्रिय या प्रसिद्ध व्यक्तिको आत्महत्याको खबरले अन्य व्यक्तिलाई पनि त्यसतर्फ प्रवृत्त गराउन सक्ने तथ्य पनि अध्ययनहरूले औंल्याएका छन् । व्यक्तिगत स्वार्थभन्दा समूहगत स्वार्थ हाबी भएको अवस्थामा या एकै किसिमका चिन्ता या तनावले ग्रस्त गराएको समूह (प्रायशः परिवारका सदस्यहरू) पनि एकैसाथ मर्न तम्सिन सक्ने तथ्यसमेत मनोवैज्ञानिकहरूले औंल्याएका छन् ।

यी सब जैविक, मनोवैज्ञानिक अनि सामाजिक अवयवहरूको निराकरण या उपचार एक्लो मनोचिकित्सकले मात्र कसरी गर्न सक्ला त ? फेरि अपराधका रूपमा हेरेर कानुनी उपचारले मात्र निराकरण हुन सक्दैन आत्महत्याजस्तो गम्भीर विषय । यसका लागि सामूहिक राष्ट्रिय चिन्तन एवं संकल्पकै आवश्यकता रहन्छ ।

विडम्बना, त्यति बजेट नचाहिने मानसिक रोगहरूको उपचार योजना अझै पनि हाम्रो मुलुकको मूल स्वास्थ्यनीतिमा समेटिन सकेको छैन । मानसिक रोगका लागि प्रभावकारी मानिएका औषधिहरूको परिपूर्तिका लागि एक प्रतिशतभन्दा कमै मात्र पनि स्वास्थ्य बजेट प्रत्याभूत गर्ने हो भने, सम्बन्धित निकायले नै मनोसामाजिक परामर्शका कार्यक्रमहरू सञ्चालन गर्ने हो भने आत्महत्या दर घट्दै जानेछ ।

व्यक्तिविशेषको आत्महत्या–इच्छा हटाउन परिवार एवं बन्धुवर्गको ठूलो भूमिका हुन्छ । आत्महत्याबारे कुरै गर्न नहुने या त्यसलाई लुकाउनैपर्ने गलत धारणा समाजमा व्याप्त छ । आत्महत्याको विचार सम्बन्धी प्रश्न गर्दैमा कसैले त्यस्तो प्रयास गरिहाल्दैन, बरु त्यसले उसलाई मन फुकाउने मौका दिन्छ । अतः आत्महत्याको सम्भावना भएका व्यक्ति या समूहको पहिचान गरेर तिनलाई आफ्ना भावना–मनस्थिति या तनावजन्य परिस्थितिबारे खुलासा गर्ने वातावरण बनाइदिनुपर्छ । परिवारमा, विद्यालयहरूमा अनि कार्यस्थलमै पनि वार्तालाप, सरसल्लाह अनि घुलमिल गर्ने अवस्था बनाइदिनुपर्छ । बेलाबेलै मर्ने चाहना व्यक्त गर्ने जोसुकैलाई मनोचिकित्सककहाँ ल्याउनुपर्छ, यसलाई हलुका रूपमा कदापि लिन हुँदैन । यी तथ्यबारे चेतना फैलाउन शिक्षक, राजनीतिक कार्यकर्ता, अभिभावक, मिडिया अनि नागरिक समाज सबैमा सामूहिक चिन्तन अनिवार्य छ । आत्महत्याको प्रयास असफल भएर अस्पताल ल्याइएका व्यक्तिहरूलाई मनोविमर्शसहित निदानजन्य क्रियाकलापमा सामेल गर्नुपर्छ । स्कुल, विश्वविद्यालयजस्ता ठाउँहरूमा मानसिक स्वास्थ्य अनि आत्महत्याबारे सुसूचित गराउने कार्यक्रमहरू सञ्चालन गर्नुपर्छ । स्कुले शिक्षामै मानसिक स्वास्थ्यको पाठ्यक्रम राखेर विद्यार्थीहरूलाई आत्महत्या निराकरणका पाठहरू पढाउनुपर्छ ।

हाम्रा सांस्कृतिक विधि–व्यवहार आदिले पनि आत्महत्यामा न्यूनीकरण गराउन सक्छन् । प्रौढावस्था या वयस्क समूहहरूसँग अनुभव आदानप्रदान अनि आध्यात्मिक स्रोत–सन्दर्भहरूको अध्ययन–सत्संग आदिले पनि तनाव व्यवस्थापनमा मद्दत पुर्‍याउन सक्छन् । आत्महत्या संक्रामक पनि हुन सक्ने तथ्यलाई बेवास्ता गर्न सकिन्न । अतः मिडियाकर्मीहरूले पनि यस्ता समाचार सम्प्रेषण गर्दा सचेतना अनि संवेदनशीलता अपनाउनुपर्छ । यसमा प्रेस काउन्सिल, पत्रकार महासंघ अनि सम्बन्धित निकायको ध्यान जानुपर्छ । गरिबी, असमानता, आर्थिक दुरवस्थाजस्ता आत्महत्याका सामाजिक कारकहरूको निराकरण गर्न त राजनीतिक इच्छाशक्तिकै आवश्यकता पर्छ । सबै पक्षको हातेमालो भए मात्र आत्महत्याका यति साह्रो समाचार हामीले फेरि पढ्न–सुन्न नपर्ने हुन सक्ला ।

रिसाल धुलिखेल अस्पतालका मनोचिकित्सक हुन् ।

प्रकाशित : फाल्गुन २०, २०७८ ०८:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×