गालीमा अडिएको राजनीति- विचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गालीमा अडिएको राजनीति

रामेश्वरी पन्त

अचेल कसैले बोलीचालीमा अपशब्द प्रयोग गरे ‘कस्तो, नेताहरूको जस्तो भाषा हो’ भन्ने गरिन्छ । अचेल देश, समाज र नागरिकको भाग्य निर्माण गर्ने राजनीतिलाई डोर्‍याउने हरेक दलका अगुवाहरू यति असभ्य र अश्लील भाषामा एकअर्कालाई गाली गर्न थालेका छन्, घरमा बालबालिकाका अगाडि रेडियो/टेलिभिजन खोल्नै पनि डर लाग्ने भइसक्यो । 


स्थानीय तहको चुनाव नजिकिँदै गर्दा प्रायः राजनीतिक दल एकअर्कालाई होच्याउन वा गाली गर्न प्रतिस्पर्धारत छन् । लोकतान्त्रिक शासन व्यवस्थाका लागि निर्वाचन सबैभन्दा ठूलो पर्व हो । हाम्रो सन्दर्भमा निर्वाचन एक प्रकारको ‘दसैं’ हुनुपर्ने हो । जसरी दसैंमा हरेक घरपरिवारमा उमंग छाउँछ; घर टालटुल पार्ने, सिँगार्ने, नयाँ लुगा किन्ने, मीठो खानेकुराको जोहो गर्ने आदि गरिन्छ, त्यसै गरी निर्वाचनमा पनि स्वतन्त्र भएर भोट हाल्ने, नयाँ नेतृत्व चुन्ने, विकास र समृद्धिका सपना बुन्नेजस्ता विषयले आम नागरिकको मनमा उमंग छाउनुपर्ने हो तर यस्तो हुन सकेको छैन । अघिल्लो पटक झुटा आश्वासनका पोका र तिलस्मी सपना देखाएरै भए पनि चुनाव जितेका नेताहरूले पदमा पुगे पनि सबै प्रतिबद्धता बिर्सिए । कुर्सी तानातान र आरोप–प्रत्यारोपमै पाँच वर्ष बिताए । यसबीच नागरिकले सम्झनलायक काम खासै भएनन् ।

चुनावअघि बाँडिएका समृद्धिका सपनाहरूले भ्युटावरका टुप्पाबाट अट्टहास गरिरहेका छन् । सुत्केरी व्यथाले च्यापेपछि बचाउने आशामा घण्टौं हिँडाएर स्वास्थ्यचौकी पुर्‍याउनुपर्छ । कति आमाहरू स्वास्थ्य चौकी पुग्नै नपाई बाटामै उच्च रक्तस्रावका कारण प्राण त्याग्न विवश छन् । ती आमाहरूको आर्तनाद र संसार देख्नै नपाई बिदा भएका शिशुहरू भ्युटावरबाट देखिए होलान् कि नाइँ ?

स्थानीय तहको चुनाव संघारमै भए पनि यो देशका भाग्यविधाता भनाउँदाहरूसँग न कुनै विकासको एजेन्डा छ न बाँड्नकै लागि भए पनि कुनै योजनाको खाका । छन् त केवल गाली, गाली अनि फेरि गाली ! व्यक्तिगत आक्षेप र अत्यन्त तल्लो स्तरमा ओर्लेर गरिने गालीगलौज नै सबैजसो दलका चुनावी नारा वा मुद्दा भएका छन्, यस पालि । कसले कसलाई कति तल झरेर गाली गर्ने ! कस्ता शब्द प्रयोग गरेर गाली गर्दा हनुमानहरूले कति ताली पड्काउँछन्, त्यसैमा नेताहरूको दिमाग खर्च भइरहेको छ ।

आम नागरिकको हैसियतले अहिलेसम्मको गाली प्रतियोगिताको मूल्यांकन गर्दा, अग्रपंक्तिमा देखिएका छन् वाक्पटु केपी ओली । उनको जिब्रोलाई उछिन्न हजार जिब्रा भएका शेषनागलाई पनि मुस्किल छ । देश र जनताका लागि ‘केही गरेर देखाउलान् कि’ भनेर जनताले उत्साहित हुँदै दिएको करिब दुईतिहाइको बहुमतलाई ‘नरिवल’ ठानेर सत्ताको उन्मादले खेलाउँदै वा उफार्दै अन्ततः संविधान र संसद्लाई नै भड्खालोमा हाल्ने स्थितिसम्म पुगे उनी । सत्ताबाट बाहिरिएपछिका वर्षदिन आफ्ना विरोधीहरूलाई सत्तोसराप गर्नमै ओलीको ऊर्जा र समय खर्च भइरहेको छ । यति बेला उनका सबैभन्दा ठूला शत्रु पुष्पकमल दाहाल, माधव नेपाल र झलनाथ खनाल भएका छन् । दिनहुँजसो उनले सराप्ने तिनीहरूलाई नै हो । ओली यति तुच्छ शब्द प्रयोग गर्छन्, पछिल्ला दिनमा दाहाललाई ‘नीलो स्याल’ भन्न भ्याए, अस्ति मात्र एउटा चुनावी सभामा पाँचदलीय गठबन्धन ‘कुहिएर फतक्कै झरोस्’ भने ।

दाहाल, नेपाल र खनाल पनि कम छैनन् । तर तिनैका गाली जोड्दा पनि ओलि एक्लै भारी देखिन्छन् । अर्कातिर, आफ्ना प्रतिस्पर्धीलाई गाली गर्न कम्युनिस्ट मात्र होइन, ‘गालीको संस्कार नभएका’ भनिएका केही उदीयमान कांग्रेसी नेताहरू पनि अघि सर्न थालेका छन् । उनीहरूमा पनि ओली–प्रवृत्ति विकसित हुन खोजेको आभास हुँदै छ । कांग्रेस उपसभापति धनराज गुरुङको ‘हात्तीको कान र चमेरो’ शब्दावली निकै निम्नस्तरको सुनियो । नेता गगन थापाको प्रत्युत्तर पनि ओलीपथको झल्को दिने खालको छ । यति मात्र होइन, अरूलाई तुच्छ गाली गर्न नजानेका भनिएका प्रधानमन्त्री शेरबहादुर देउवाले पनि केही दिनअघि भीम रावललाई ‘दिमाग फुस्केको’ भनिदिए । नेताहरूले आफ्ना कार्यकर्ता वा नयाँ पुस्तालाई कस्तो संस्कार, कस्तो संस्कृति र कस्तो सभ्यता सिकाइरहेका छन् भनेर प्रश्न गर्न निकै ढिलो भइसकेको छ ।

नेताहरूको व्यवहार र भाषा हेर्दा देशको आर्थिक, सामाजिक, सांस्कृतिक र शैक्षिक भविष्य अँध्यारो सुरुङतिर जाँदै गरेको अनुभूति हुन थालेको छ । स्थानीय तहको चुनाव आउन एक महिना पनि छैन तर नेताहरूसँग आफ्ना मतदातालाई सुनाउनका लागि न विगत पाँच वर्षमा गरेको कुनै उपलब्धिको फेहरिस्त छ न त भविष्यको कुनै योजना नै । न सत्ताधारी दलसँग जनतालाई सुनाउने र देखाउने चुनावी एजेन्डा छन् न प्रतिपक्षसँग नै । खै राजनीतिक एजेन्डा ? खै विकासका योजना ? फेरि ङिच्च दाँत देखाउँदै उनीहरू हाम्रा घरदैलामा आउनेछन्, फेरि यिनैलाई मत दिएर आफ्नो भविष्यमाथि फेरि पनि बन्चरो हान्न अभिशप्त हुनेछौं हामी । यिनलाई बहिष्कार गर्ने र विकल्प खोज्ने हिम्मत र जाँगर हामीमा छैन किनभने नागरिकको सोच पनि उही दास मानसिकताबाट प्रेरित छ । हामी ‘औंला उठाउन’ हैन, ‘औंला जोड्न’ अभ्यस्त छौं । त्यसैले त, जुनसुकै शासन व्यवस्था आओस्, हामी फेरि यिनै पुराना अनुहारहरूलाई जिताएर हाम्रो ‘भाग्य’ र भविष्य बनाउन पठाइरहेका छौं, यस्तो कहिलेसम्म ?

प्रकाशित : वैशाख ११, २०७९ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्

कसले ठुट्यायो हामीलाई प्राणवायु दिने शमी र पीपल ?

रामेश्वरी पन्त

करिब एघार महिनाअघि २०७८ वैशाख २२ गते, कोभिड–१९ को दोस्रो लहरको महामारीको उत्कर्षकै बीच हामी दम्पती एकै पटक कोरोना संक्रमित भएको एक हप्ता भएको थियो । भाइरसले हाम्रो शरीरलाई बिस्तारै गलाउँदै लगेको थियो ।



घरबाट टाढा रहेका छोराछोरीको जिद्दीका कारण छातीको एक्स–रे गराउनैपर्ने भयो । तर जाने कहाँ ? संक्रमित भनेपछि छिमेक, टोल, समाज मात्र होइन, अस्पतालले पनि अछुतको व्यवहार गरिरहेको त्यो समयमा बल्लतल्ल पहुँचवालालाई भनसुन गरेर नयाँ बानेश्वरमा रहेको एभरेस्ट हस्पिटलमा समय लिन सकियो । जम्माजम्मी पन्ध्र मिनेटको बाटो । संक्रमितले ट्याक्सी चढेर जानुभन्दा बिस्तारै हिँडेरै जानु उचित लाग्यो ।

सडकछेउमा हुर्कंदै गरेका शमी र पीपलको छहारी लाग्दै र तिनले छोडेको शीतल हावाबाट अक्सिजन लिँदै सुस्तसुस्त हामी बूढाबूढी बबरमहलबाट अस्पताल पुग्यौं र त्यहाँको कोभिड इमर्जेन्सीमा गएर दुवैले छातीको एक्स–रे गरायौं । मेरो सामान्य रहे पनि बूढाको छातीमा इन्फेक्सन देखिएको भन्दै डाक्टरले जतिसक्दो छिटो जहाँको अस्पतालमा भए पनि भर्ना हुन भने । अघि भर्खरसम्म सामान्य रहेका हामी यो सुन्नासाथ लल्याकलुलुक भयौं । एकै छिनमा हामीलाई सास फेर्न पनि सकस हुन थाल्यो । घर त आउनु नै थियो । सुस्तसुस्त पाइला चाल्यौं । दुई–चार पाइला हिँडेपछि तिनै शमी र पीपलका रूखमुनि सुस्ताउँदै केही बेर लामोलामो सास तान्थ्यौं र फेरि पाइला बढाउँथ्यौं । जहाँजहाँ पीपलको रूख भेट्थ्यौं त्यहाँ फेरि त्यसरी नै उभिएर लामो सास तान्थ्यौं । यसो गर्दा हामीलाई सास फेर्न सहज पनि भएको थियो । त्यति बेला महसुस भयो, हाम्रा पुर्खाले किन ‘स्वर्ग जानु छ भने बाटाका छेउछाउमा सहस्र पीपल र वरका रूख रोप्नू’ भनेका रहेछन् ।

हाम्रा पुर्खाले स्वर्गको आशा देखाएरै भए पनि मानिसलाई यस्ता प्राणवायु दिने रूख रोप्न प्रेरित गरे । अर्कातिर, बटुवाहरूलाई थकान मेट्न शीतल छहारी उपलब्ध गराए । तर, पछिल्लो पुस्ता यसरी रूख रोप्नभन्दा पुर्खाले रोपेका तिनै रूख काटेर–मासेर विकासका नाममा विनाश निम्त्याउन लागिपरेको छ । सडक विस्तारका नाममा आज सहरका मात्र होइन, गाउँगाउँका गोरेटामा रहेका वर, पीपल र शमीका रूख काटिँदै छन् । वर्षौं लागेर हुर्किएका यस्ता रूख मासिएपछि फेरि ती सडकका छेउमा नयाँ रूख कहिले र कसले रोप्ने हो, थाहा छैन । रोपिए भने पनि ती रूखलाई संरक्षण गरेर हुर्कन कति वर्ष लाग्ने हो, त्यो पनि थाहा छैन । तर योचाहिँ पक्का छ, विकासका नाममा दिनहुँ रूख र हरियाली मासिँदै जाँदा वातावरण र जलवायुजन्य समस्या विकराल रूपमा निम्तिनेछ जसको असर देखिने क्रम सुरु भइसकेको छ ।

मानिस बाँच्नका लागि अक्सिजनको महत्त्व कति हुँदो रहेछ भन्ने त कोभिड महामारीमा अक्सिजन अभावले तड्पिँदै र छटपटिँदै प्राण त्याग्न विवशका परिवार र बल्लतल्ल प्राण बचाएर अस्पतालबाट घर फर्केकालाई सोधे थाहा हुन्छ ।

सडक विस्तारका क्रममा वर्षौंअघि उजाडिएका काठमाडौंका सडकपेटीहरूमा भर्खरभर्खर नयाँ रूखबिरुवाले जरा टेक्दै छन् । ढिलै सही, सडकका दायाँबायाँ रोपिएका वर, पीपल र शमीका बिरुवाले पालुवा छोडेर हरियाली र शीतलता दिने विश्वासमा खुसी हुँदै प्रायः माइतीघर, बबरमहल, बानेश्वर र तीनकुने डुलिरहने म जब केही दिनअघि सडकमा निस्कें, हुर्किंदै र मस्किँदै गरेका ती वर, पीपल र शमी लगायतका रूखका हाँगा काटिएर ठुट्टै पारिएको देखेर मेरो मनमा पलाउँदै गरेको खुसी एकाएक हरायो । कोरोनाले थकित र गलित भएर हिँड्दै गर्दा त्यही बाटामा सुस्ताउँदै प्राणवायु लिएका पीपलका सबै बोट ठुट्याइएका थिए । कस्तो दिमागले, कुन उद्देश्यले ठुट्याउन लगायो होला यी हुर्कंदै गरेका रूख ? सडकबीच हुर्किएका रूखहरूको फेदमा उम्रिएका झाङझाडी सफा गराउनु र सवारीसाधनलाई बाधा पुर्‍याउने हाँगा काट्नु त उचितै हो तर सडकपेटीमा वर्षौं लगाएर बल्लतल्ल हुर्केका रूखहरूले के पिरेका थिए र त्यसरी खुइल्याइएका होलान् ? आखिर ती रूखले हुर्केर आकाशतिरै ताक्ने हुन्, सडकमा तेर्सिने त होइनन् !

२०७७ को साउनमा भारतको एउटा अत्यन्त सुन्दर र हरियालीपूर्ण सहर चण्डिगढ घुम्ने अवसर मिलेको थियो । विभिन्न सेक्टरमा विभाजन गरेर विकास गरिएको त्यो सहरको प्रत्येक सडक रूखैरूखले ढाकिएको थियो । सडकका दुवैतिर झपक्क परेका विभिन्न किसिमका रूखहरूले सडकलाई शीतल बनाइरहेका थिए । साउनको त्यो गर्मीमा सडकमा निस्केर दिनभर पैदल हिँड्दा पनि अनुहारमा घाम नपर्ने त्यो हरित सौन्दर्यप्रति मोहित भइरहँदा आफ्नो देशका बन्दै गरेका र विस्तारित हुँदै गरेका सडक सम्झेर भविष्यमा यस्तै हरियालीको कल्पना गरें । काठमाडौंका सडकमा हुर्कंदै गरेका रूखहरूलाई सम्झें । सडकका दायाँबायाँ पुर्खाले हुर्काएका आँप, पीपल र वरका सयौं रूख मासेर भर्खरै बनाइसकिएको बुटवल–सुनौली सडक अनि विस्तारित हुने क्रममा रहेको भैरहवा–लुम्बिनी सडकलाई सम्झें र अनेक बोटबिरुवा रोपेर चण्डिगढजस्तै हरियालीले भरिपूर्ण बनाएको देख्ने कल्पना गरें ।

चण्डिगढ सहरका सडकलाई ढाकिरहेका रूखहरूले न कुनै सवारीसाधनलाई बाधा पुर्‍याइरहेका थिए न त पैदलयात्रुलाई नै । सडकहरू यति सफा कि रूखैरूखले ढाकिए पनि भुइँमा कुनै पात कुहिएर खात नलागेको ! रातभर झरेका पात बिहान उज्यालो नहुँदै सफा गरिसकिने रहेछ । सडकमा हिँड्दा यस्तो लाग्थ्यो कुनै निकुञ्जभित्र हिँडिरहेछौं । तर पनि सडक बिलकुल सफा ! न कतै कागजको टुक्रा भेटिने, न प्लास्टिकका झोला न चाउचाउ, सुर्ती र चक्लेटका खोल नै । न कसैले सडकमा खकारेर प्याच्च थुकेको देखियो न कतै प्रयोग गरेर फालेको मास्क नै । कुनै पनि समाज सफा र समृद्ध हुन त्यो समाजको कानुन, नीतिनियम र त्यसको संरक्षक मात्र होइन, त्यहाँका नागरिक पनि सभ्य र विवेकशील हुनुपर्ने रहेछ ।

‘नेपालको राजधानीका मानिस सभ्य बन्न सक्लान्–नसक्लान्; तिनले सडक र गल्लीमा पाल्तु कुकुरलाई डोर्‍याएर आची गराउँदै हिँड्न छोड्लान्–नछोड्लान्; फुटपाथमा हिँड्नेले खकारेर थुक्न छोड्लान्–नछोड्लान्; गाडीका झ्यालबाट सडकमा चाउचाउ, बिस्कुट र सुर्तीका खोल फाल्न र पिच्च थुक्न छाोड्लान्–नछोड्लान् तर काठमाडौंका मुख्य सडकपेटीमा हुर्कंदै गरेका वर, पीपल र शमीका रूखहरूले कुनै दिन चण्डिगढ सहरको झल्को त देलान् नि भनेर कल्पिने मेरो मन यति बेला असाध्यै निराश भएको छ । चण्डिगढ मात्र होइन, विश्वमा यस्ता कैयौं सहर छन् जसले रूखको महत्त्व बुझेका छन्, हरियालीको महत्त्व बुझेका छन् र आफ्ना सडकलाई हरियालीपूर्ण बनाएका छन् । धेरै टाढा नगएर चीनकै कुरा गरौं । चीनले हङकङको विकल्पका रूपमा सन् १९८० देखि स्थापित गरेको सेन्जेन सहरमा विकास गरेको हरियालीबारे नेपालका वातावरणविद् कत्तिको जानकार होलान् ? कसले देला ती रूख ठुट्याउन आदेश दिनेलाई सद्बुद्धि ?

प्रकाशित : चैत्र ८, २०७८ ०९:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×