कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

गालीमा अडिएको राजनीति

रामेश्वरी पन्त

अचेल कसैले बोलीचालीमा अपशब्द प्रयोग गरे ‘कस्तो, नेताहरूको जस्तो भाषा हो’ भन्ने गरिन्छ । अचेल देश, समाज र नागरिकको भाग्य निर्माण गर्ने राजनीतिलाई डोर्‍याउने हरेक दलका अगुवाहरू यति असभ्य र अश्लील भाषामा एकअर्कालाई गाली गर्न थालेका छन्, घरमा बालबालिकाका अगाडि रेडियो/टेलिभिजन खोल्नै पनि डर लाग्ने भइसक्यो । 

गालीमा अडिएको राजनीति

स्थानीय तहको चुनाव नजिकिँदै गर्दा प्रायः राजनीतिक दल एकअर्कालाई होच्याउन वा गाली गर्न प्रतिस्पर्धारत छन् । लोकतान्त्रिक शासन व्यवस्थाका लागि निर्वाचन सबैभन्दा ठूलो पर्व हो । हाम्रो सन्दर्भमा निर्वाचन एक प्रकारको ‘दसैं’ हुनुपर्ने हो । जसरी दसैंमा हरेक घरपरिवारमा उमंग छाउँछ; घर टालटुल पार्ने, सिँगार्ने, नयाँ लुगा किन्ने, मीठो खानेकुराको जोहो गर्ने आदि गरिन्छ, त्यसै गरी निर्वाचनमा पनि स्वतन्त्र भएर भोट हाल्ने, नयाँ नेतृत्व चुन्ने, विकास र समृद्धिका सपना बुन्नेजस्ता विषयले आम नागरिकको मनमा उमंग छाउनुपर्ने हो तर यस्तो हुन सकेको छैन । अघिल्लो पटक झुटा आश्वासनका पोका र तिलस्मी सपना देखाएरै भए पनि चुनाव जितेका नेताहरूले पदमा पुगे पनि सबै प्रतिबद्धता बिर्सिए । कुर्सी तानातान र आरोप–प्रत्यारोपमै पाँच वर्ष बिताए । यसबीच नागरिकले सम्झनलायक काम खासै भएनन् ।

चुनावअघि बाँडिएका समृद्धिका सपनाहरूले भ्युटावरका टुप्पाबाट अट्टहास गरिरहेका छन् । सुत्केरी व्यथाले च्यापेपछि बचाउने आशामा घण्टौं हिँडाएर स्वास्थ्यचौकी पुर्‍याउनुपर्छ । कति आमाहरू स्वास्थ्य चौकी पुग्नै नपाई बाटामै उच्च रक्तस्रावका कारण प्राण त्याग्न विवश छन् । ती आमाहरूको आर्तनाद र संसार देख्नै नपाई बिदा भएका शिशुहरू भ्युटावरबाट देखिए होलान् कि नाइँ ?

स्थानीय तहको चुनाव संघारमै भए पनि यो देशका भाग्यविधाता भनाउँदाहरूसँग न कुनै विकासको एजेन्डा छ न बाँड्नकै लागि भए पनि कुनै योजनाको खाका । छन् त केवल गाली, गाली अनि फेरि गाली ! व्यक्तिगत आक्षेप र अत्यन्त तल्लो स्तरमा ओर्लेर गरिने गालीगलौज नै सबैजसो दलका चुनावी नारा वा मुद्दा भएका छन्, यस पालि । कसले कसलाई कति तल झरेर गाली गर्ने ! कस्ता शब्द प्रयोग गरेर गाली गर्दा हनुमानहरूले कति ताली पड्काउँछन्, त्यसैमा नेताहरूको दिमाग खर्च भइरहेको छ ।

आम नागरिकको हैसियतले अहिलेसम्मको गाली प्रतियोगिताको मूल्यांकन गर्दा, अग्रपंक्तिमा देखिएका छन् वाक्पटु केपी ओली । उनको जिब्रोलाई उछिन्न हजार जिब्रा भएका शेषनागलाई पनि मुस्किल छ । देश र जनताका लागि ‘केही गरेर देखाउलान् कि’ भनेर जनताले उत्साहित हुँदै दिएको करिब दुईतिहाइको बहुमतलाई ‘नरिवल’ ठानेर सत्ताको उन्मादले खेलाउँदै वा उफार्दै अन्ततः संविधान र संसद्लाई नै भड्खालोमा हाल्ने स्थितिसम्म पुगे उनी । सत्ताबाट बाहिरिएपछिका वर्षदिन आफ्ना विरोधीहरूलाई सत्तोसराप गर्नमै ओलीको ऊर्जा र समय खर्च भइरहेको छ । यति बेला उनका सबैभन्दा ठूला शत्रु पुष्पकमल दाहाल, माधव नेपाल र झलनाथ खनाल भएका छन् । दिनहुँजसो उनले सराप्ने तिनीहरूलाई नै हो । ओली यति तुच्छ शब्द प्रयोग गर्छन्, पछिल्ला दिनमा दाहाललाई ‘नीलो स्याल’ भन्न भ्याए, अस्ति मात्र एउटा चुनावी सभामा पाँचदलीय गठबन्धन ‘कुहिएर फतक्कै झरोस्’ भने ।

दाहाल, नेपाल र खनाल पनि कम छैनन् । तर तिनैका गाली जोड्दा पनि ओलि एक्लै भारी देखिन्छन् । अर्कातिर, आफ्ना प्रतिस्पर्धीलाई गाली गर्न कम्युनिस्ट मात्र होइन, ‘गालीको संस्कार नभएका’ भनिएका केही उदीयमान कांग्रेसी नेताहरू पनि अघि सर्न थालेका छन् । उनीहरूमा पनि ओली–प्रवृत्ति विकसित हुन खोजेको आभास हुँदै छ । कांग्रेस उपसभापति धनराज गुरुङको ‘हात्तीको कान र चमेरो’ शब्दावली निकै निम्नस्तरको सुनियो । नेता गगन थापाको प्रत्युत्तर पनि ओलीपथको झल्को दिने खालको छ । यति मात्र होइन, अरूलाई तुच्छ गाली गर्न नजानेका भनिएका प्रधानमन्त्री शेरबहादुर देउवाले पनि केही दिनअघि भीम रावललाई ‘दिमाग फुस्केको’ भनिदिए । नेताहरूले आफ्ना कार्यकर्ता वा नयाँ पुस्तालाई कस्तो संस्कार, कस्तो संस्कृति र कस्तो सभ्यता सिकाइरहेका छन् भनेर प्रश्न गर्न निकै ढिलो भइसकेको छ ।

नेताहरूको व्यवहार र भाषा हेर्दा देशको आर्थिक, सामाजिक, सांस्कृतिक र शैक्षिक भविष्य अँध्यारो सुरुङतिर जाँदै गरेको अनुभूति हुन थालेको छ । स्थानीय तहको चुनाव आउन एक महिना पनि छैन तर नेताहरूसँग आफ्ना मतदातालाई सुनाउनका लागि न विगत पाँच वर्षमा गरेको कुनै उपलब्धिको फेहरिस्त छ न त भविष्यको कुनै योजना नै । न सत्ताधारी दलसँग जनतालाई सुनाउने र देखाउने चुनावी एजेन्डा छन् न प्रतिपक्षसँग नै । खै राजनीतिक एजेन्डा ? खै विकासका योजना ? फेरि ङिच्च दाँत देखाउँदै उनीहरू हाम्रा घरदैलामा आउनेछन्, फेरि यिनैलाई मत दिएर आफ्नो भविष्यमाथि फेरि पनि बन्चरो हान्न अभिशप्त हुनेछौं हामी । यिनलाई बहिष्कार गर्ने र विकल्प खोज्ने हिम्मत र जाँगर हामीमा छैन किनभने नागरिकको सोच पनि उही दास मानसिकताबाट प्रेरित छ । हामी ‘औंला उठाउन’ हैन, ‘औंला जोड्न’ अभ्यस्त छौं । त्यसैले त, जुनसुकै शासन व्यवस्था आओस्, हामी फेरि यिनै पुराना अनुहारहरूलाई जिताएर हाम्रो ‘भाग्य’ र भविष्य बनाउन पठाइरहेका छौं, यस्तो कहिलेसम्म ?

प्रकाशित : वैशाख ११, २०७९ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चालु वर्षको ९ महिनामा वार्षिक लक्ष्यको ३२.२४ प्रतिशत मात्र विकास खर्च हुनुको अर्थ के हो ?