हिजो किन ढाँट्यौ ? सोधौं- विचार - कान्तिपुर समाचार

हिजो किन ढाँट्यौ ? सोधौं

राजनीतिलाई विश्वासयोग्य बनाउन पनि हामीले अब प्रश्न गर्नुपर्छ । अन्यथा, राजनीति फेरिन्छ कसरी ? अन्यथा, जनप्रतिनिधिहरू जिम्मेवार बन्छन् कसरी ? सबै कुरा चुपचाप सहने हो भने अवस्था फेरिन्छ कसरी ?
केशव दाहाल

वरिपरि स्थानीय चुनावको उमंग छ । कतै यो उमंगमा रमाइरहँदा तपाईंले पुराना ती दिनहरू त भुल्नुभएको छैन ? अर्थात्, कोभिड–१९ ले कायल बनाएका दिनहरू । सम्झनुहुन्छ ती अत्यासलाग्दा क्षण, जति बेला गरिखानेका घरमा चामल सबैभन्दा चर्को थियो ? चिसा चुला, रित्ता कराही ? सम्झनुहुन्छ भ्रष्टाचारका कथाहरू, जुन बेला केही मान्छेहरू औषधिमा समेत कमिसन खाइरहेका थिए ? न त क्वारेन्टिन, न त पीसीआर । अक्सिजनको अभावले भुइँमान्छे मर्दै गर्दा केही ठालुहरू सिलिन्डर लुकाउँदै थिए । सम्झनुहुन्छ को थिए ती ठालुहरू ?

जति बेला सयौं किलोमिटर लामो यात्रा गरेर भारतीय भूमिबाट देशको सिमानामा आई मान्छेहरू भरोसा खोज्दै थिए, यता दशगजावारि गजबार लाग्दै थियो । देशभित्र आफ्ना नागरिकलाई छिर्न नदिने ती को थिए, सम्झनुहुन्छ ? सम्झनुहुन्छ सूर्यबहादुर र मलर सदाहरू जो रोगले हैन, भोकले मरेका थिए ? र, त्यति बेलै काठमाडौंका छोटे दरबारहरूमा सत्ताको रडाको, कुर्सीको सकस र आसेपासेहरूको रजगज चलिरहेको थियो ? कतै यो स्थानीय तहको चुनावमा ठूलठूला प्रतिज्ञा गर्दै तपाईंका घरआँगनमा तिनै मान्छेहरू त आइरहेका छैनन् ? के तपाईं उनीहरूलाई सम्झनुहुन्छ ?

तपाईं सम्झनुहुन्छ कष्टका ती दिनहरू, जति बेला हामी त्यो दुःखलाई कहिल्यै नभुल्ने कसम खाइरहेका थियौं ? अब बेला भएको छ, ती मान्छेहरूलाई सम्झने, जसले दुःखमा हामीलाई बिर्सिए । जसले पटकपटक हाम्रो विश्वासमा कुठाराघात गरे । जसले दुःखमा हामीलाई साथ दिए, उनीहरू त आफ्नै मान्छे भए, उनीहरूलाई त कसरी बिर्सनु ! तर जसले पदको अहंकारमा मतदाताहरूलाई बिर्सिए, के उनीहरूलाई तपाईं सम्झनुहुन्छ ?

तपाईं सम्झनुहुन्छ ती बेइमानहरूलाई, जसले पछिल्लो स्थानीय चुनावमा ठूलठूला वाचा गरेका थिए ? अब तिनीहरूलाई प्रश्न गर्ने समय आयो । जस्तो कि, तिनले चुनाव जितेर हामीलाई के भयो ? गाउँमा किन गतिलो स्कुल बनेन ? हामीसँग किन राम्रो अस्पताल छैन ? बितेका पाँच वर्षमा खेल्नलाई रंगशाला, डुल्नलाई पार्क र आराम गर्न सान्त ठाउँ किन कतै बनेन ? धारामा पानी आउँदैन । चोकको फोहोर समयमा उठ्दैन । बाटो सधैं भत्किरहन्छ । न रोजगारी, न त सामाजिक न्याय । न मोनोरेल, न त सार्वजनीक शौचालय । यता गाउँमा सिटामोल छैन, उता छन् अनगिन्ती भ्युटावर । यो उल्टो विकास कसले गर्‍यो ? त्यसो त विगत ७० वर्षदेखि दलहरूले चुनावमा घोषणापत्र लेखेकै हुन् तर किन वाचाहरू अधुरै भए ? के आफ्ना वाचा पूरा नभएकामा ती मान्छेहरूलाई कुनै ग्लानि होला ? यो प्रश्न गर्ने समय हो । नभुलौं, प्रश्न गर्नु मतदाताहरूको सार्वभौम अधिकार हो ।

जाली तमसुक

एकै छिन घोषणापत्रको सम्झना गरौं । जस्तो कि, कांग्रेसले प्रत्येक निर्वाचनमा घोषणापत्र लेख्छ । केन्द्रीय निर्वाचनमा पनि, स्थानीय निर्वाचनमा पनि । यो सिलसिला २०१५ सालदेखि जारी छ । कांग्रेसजनहरू घोषणापत्रमा पटकपटक बीपी कोइरालाका कुरा गर्छन् । लेख्छन्— ‘किसानलाई एक हल गोरु, एउटा गाई र सानो घर ।’ मानौं उनीहरू लगातार एउटै कविता गुनगुनाइरहेका छन् । तर भयो के ? घोषणापत्र लेख्दा कांग्रेसले गरिबी देख्यो । र, सत्तामा पुगेपछि उसले आफ्ना वाचाहरू बिचौलियाका पाउमा समर्पित गरिदियो ।

कांग्रेस पटकपटक सरकारमा पुग्यो । उसले केन्द्रको सरकार पनि चलायो, स्थानीय सरकार पनि । अहिले पनि कांग्रेस सर्वत्र छ । भुइँदेखि केन्द्रसम्म । यस्तो अपार अवसर पाउँदा पनि उसले किन आफ्नै वाचाहरू भुल्यो ? उसले किन सुकुम्बासी भुल्यो, किसान भुल्यो र भुल्यो महिला, दलित र जनजातिहरू ? शिक्षा र स्वास्थ्य बिचौलियाका हातमा सुम्पेर कांग्रेस आज कस्तो समाजवाद बनाउँदै छ ? आफ्नै पुराना घोषणापत्रहरू पल्टाएर कांग्रेसले हेरोस्, उसलाई आफ्नै वाचाहरूले तर्साउनेछन् । र, उसलाई आफ्नै झुट, भ्रम र बेइमानीले गलाउनेछन् । यस्तो बेला कांग्रेसले नयाँ घोषणापत्र लेख्नुको के अर्थ ?

त्यसो त प्रश्नहरूबाट उम्किने ठाउँ एमालेलाई पनि छैन । न समाजवादीलाई छ, न त माओवादीहरूलाई । २०४६ सालपछिका अनेक सरकारमा एमाले छ । तर जसै ऊ दरबारमा प्रवेश गर्छ, उसका वाचाहरू बालुवाको आँधी बन्छन् र उडाउँछन् भुइँका सपनाहरू । मान्छेहरू भन्छन्— चिसा छन् एमालेका हातहरू, कपट छ उसको मनमा । त्यसैले त सरकारबाहिर हुँदा जनजीविका, आर्थिक न्याय र विकासको कुरा गर्ने एमाले सत्तामा पुगेपछि सेवा गर्छ दलाल पुँजीवादको । यस्तो लाग्छ, उसको समाजवाद मात्र मायाजाल हो, जसमा जनताका सपनाहरू जेलिन्छन् र मर्छन् । त्यसैले त आज एमाले छ तर उसको दरबारमा सर्वहारा वर्ग छैन ! भुइँमा भव्यतम सभाहरू हुन्छन् तर त्यहाँ नारा लगाउन श्रमिकहरू छैनन् ।

माओवादीमा पनि यही कुरा लागू हुन्छ । तीव्र संघर्ष, महान् सपना (?) र विशाल क्षतिबाट जन्मिएको माओवादी पार्टीले यसबीच रङ फेर्नेबाहेक के गर्‍यो ? हिजो द्वन्द्वमा जीवन गुमाउनेका परिवारहरू आज कता छन् ? बेपत्ता परिवार कता छन् ? द्वन्द्वको घाउ कोट्याउँदा देखिन्छ, निर्धा मान्छेका सपनाहरू पत्रपत्र जमेर छातीमा बसेका छन् । न कराउने ठाउँ छ, न त रुने । माओवादी स्वयंले भन्ने गरेको वाद र तन्त्रले सायद उसैलाई तर्साउला । राजनीतिमा छलकपटको पर्याय बनेको यो पार्टीसँग आजलाई जनताबीच प्रतिज्ञा गर्ने नयाँ कुरा के छ ?

त्यसो त घोषणापत्रको चर्चा गर्दा संघीय समाजवादी, मधेशवादी र राप्रपाजस्ता शक्तिको पनि कुरा आउला तर उनीहरूमा न कतै आशाको झिल्को छ, न त विश्वासको दियो । यस्तो लाग्छ, यी दलहरूले गर्ने प्रतिबद्धताहरू मात्र पानीका फोका हुन्, अजेय भीष्म प्रतिज्ञा होइनन् । अतः दलहरूले बुझून्, घोषणापत्रहरूका अक्षर नयाँ हुँदैमा तिनले मान्छेको जीवनमा कुनै फरक पार्दैनन् । यसो भन्नु दलहरूमाथिको पूर्वाग्रह होइन, यो उनीहरूलाई बदल्ने प्रस्ताव हो ।

करारनामाको भाष्य

घोषणापत्रहरू खासमा दलहरूले जनतासँग गरेका वाचापत्र हुन् । त्यसैले आजकल दलहरू घोषणापत्रलाई प्रतिज्ञापत्र पनि भन्छन् । दलका तिनै प्रतिबद्धताहरूको भर परेर जनताले उनीहरूलाई छान्छन् । त्यसपछि के हुन्छ ? चुनाव सकिन्छ । नेता भोट जितेर हराउँछ, भुइँमा बाँकी रहन्छन् गरिबी र भोकमरीका कथाहरू । अर्थात्, चुनाव हुन्छ, नेताहरू चुनाव जित्छन् र दरबार छिर्छन् । भुइँमा बाँकी रहन्छन् फोहोर, धूलो र धूवाँका असह्य सास्तीहरू । त्यसपछि घोषणापत्रको राजनीतिक गरिमा सकिन्छ र ती बन्छन् गाउँका सुदखोरहरूले निर्धा मान्छेलाई झुक्याउन बनाउनेजस्ता जाली तमसुकहरू । जब राजनीतिले विश्वास गुमाउँछ, कसले पढ्छ घोषणापत्र ? आफ्ना प्रतिबद्धताप्रति कहिल्यै जिम्मेवार हुनु नपर्ने राजनीतिमा आखिर जसले जे लेखे पनि के फरक पर्छ ?

निर्वाचन आफैंमा करारनामा हो । मतदाता र उम्मेदवारबीचको करारनामा । राजनीतिक पार्टी र जनताबीचको करारनामा । जस्तो कुनै उम्मेदवारले जनताका खास सपनाहरू पूरा गर्ने प्रतिज्ञा गर्छ । तिनै वाचाहरूमा भर परेर मतदाताहरूले भोट हाल्छन् । तर जब वाचा तोडिन्छ, तब के गर्ने ? जब नेता स्वयं आफूले गरेका वाचाहरूप्रति जिम्मेवार हुँदैन, तब के गर्ने ? हाम्रो संविधानले भन्छ, जनता सार्वभौम हुन्छन् । के तपाईं–हामीले आफूलाई सार्वभौम ठानेका छौं ? यदि जनता सार्वभौम हो भने राजनीतिक दल र जनप्रतिनिधिलाई प्रश्न गर्ने बेला यही हो । अतः सोधौं— हिजो किन ढाँट्यौ ? र, आज किन विश्वास गर्ने ? आफ्ना वाचाहरूप्रति कुनै नयाँ प्रतिबद्धता छैन । आफ्ना कमजोरीहरूप्रति कुनै आत्मालोचना छैन । न ग्लानि, न त आत्मबोध । यस्तो बेला, स्थानीय चुनावमा नेताहरूले गर्ने चलनचल्तीका फूलबुट्टे प्रतिबद्धताहरूको के अर्थ ?

वाचा नतोड

के भोट पाउनेले सधैं जित्ने र भोट हाल्नेले सधैं हार्ने तरिका फेरिएला ? अवश्य फेरिन्छ । फेर्नैपर्छ । यसका लागि नागरिकले प्रश्न गर्ने अभियान सुरु गर्नुपर्छ । हिजो हामीले दलहरूलाई प्रश्न गरेनौं । हिजो हामीले नेतालाई आलोचना गरेनौं । हिजो हामी डरायौं । हिजो हामीले आफ्नो

सार्वभौम शक्तिलाई चिनेनौं । हिजो हामीले आफ्नो राजनीतिक चेतनालाई आफ्नै स्वार्थको बर्कोले छोप्यौं । जसले हाम्रो राजनीतिलाई नै अनैतिक, बेइमान र जवाफदेहीविहीन बनायो । त्यसैले राजनीतिलाई विश्वासयोग्य बनाउन पनि हामीले अब प्रश्न गर्नुपर्छ । अन्यथा, राजनीति फेरिन्छ कसरी ? अन्यथा, जनप्रतिनिधिहरू जिम्मेवार बन्छन् कसरी ? सबै कुरा चुपचाप सहने हो भने अवस्था फेरिन्छ कसरी ?

सायद राजनीतिक दलहरू चिप्ला कुरा गरेर जनतामाथि आफ्नो प्रभुत्व कायम गर्न चाहन्छन् । तर अब हामीले नेताहरूको प्रभुत्वका लागि काम गर्ने हैन, स्वयं आफ्नो अस्तित्व निर्माण गर्ने हो । मतदाताको अस्तित्व कसरी बन्छ ? जब उसले उम्मेदवारलाई प्रश्न गर्छ, जब सार्वभौम मतदाताले नेताका फूलबुट्टे प्रतिज्ञामा हैन, उसको चरित्रमा भर गर्छ । योग्यता आजको आवश्यकता हो । भाषण हैन, काम र परिणाम आजको आवश्यकता हो । राजनीति फेरिए मात्र, धेरै कुरा फेरिन्छ । अन्यथा, कार्यान्वयनबिनाका घोषणापत्रहरू फगत झुटका सस्ता पुलिन्दा हुन् । झुटका पुलिन्दाहरूको भारी बोकेर हामी मतदाताहरू कसरी सार्वभौम बन्न सक्छौं ?

यो प्रश्न गर्ने बेला हो । यो भ्रमको भारी फ्याल्ने बेला हो । अन्यथा, फेरि पनि घोषणापत्रहरू लेखिँदै जानेछन् । उसरी नै मीठामीठा प्रतिबद्धताहरू आई नै रहनेछन् । चुनाव भई नै रहनेछ । तर कुनै नयाँ र उन्नत परिणाम आउनेछैन । अर्थात्, हाम्रो जीवन फेरिनेछैन । हाम्रो पालिका फेरिनेछैन । हाम्रो गाउँ फेरिनेछैन । र, मतदाताहरूको लाचारीकै कारण राजनीति क्रमशः अनैतिक, झुट र बेइमानहरूको रोजगारी बन्नेछ । पार्टीको रङ, झन्डा र चुनाव चिह्नलाई मात्र हेरेर भोट हाल्ने जमाना सकियो । अब प्रश्नहरूसहित उम्मेदवारलाई मतदाताले घेर्नुपर्छ । अन्यथा, हामी मतदाताहरू नफेरिए नेता फेरिन्छन् कसरी ? हामी मतदाता स्वयंले पटकपटक पुराना गल्ती दोहोर्‍याउने हो भने, नयाँ परिणाम आउँछ कसरी ? बेइमानहरूले लगातार ढाँट्दै जाने र जनताले त्यसलाई पत्याउने भ्रमको राजनीति अब फेरिनुपर्छ ।

प्रकाशित : वैशाख ८, २०७९ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्

कस्तो मेयर ?

मेयर मुख्यतः स्वप्नद्रष्टा हुनुपर्छ । ऊसँग हुनुपर्छ सपना अर्थात् भिजन । ऊसँग आफ्नो पालिकालाई पाँच वर्षभित्र कस्तो बनाउने, त्यसको सफा र भविष्यमुखी चित्र हुनुपर्छ । आफूले देखेको सपना पूरा गर्ने ऊसँग हुनुपर्छ पूरापूर रणनीति र संकल्प ।
केशव दाहाल

स्थानीय निर्वाचन सन्निकट छ । यसै उपलक्ष्यमा एउटा प्रश्न सोधौं- तपाईंलाई कस्तो मेयर चाहिन्छ ? सुन्नका लागि यो निकै सजिलो प्रश्न हो । कसैलाई लाग्ला, चुनावहरू आउँछन्, जान्छन् । यस पटक के नै पो फरक होला र ? खासमा यस्तै उत्तरले हामीलाई पटकपटक धोका दिएको छ ।


त्यसैले, प्रश्नहरू सरल हुँदैमा सबै कुरा ठीक, दुरुस्त हुँदैनन् । अतः आजलाई सोचौं, यस पटक कस्तो मेयर छान्ने ? यहाँ मेयर मात्र एक प्रतिनिधि पद हो । खासमा हामीलाई चाहिएको छ, भुइँमा प्रभावकारी सरकार ।

कामको कुरा
सबैलाई थाहा छ, पालिकाहरू सेवाप्रवाहका आधार–एकाइ हुन् । राज्यलाई जनताका घरदैलामा पुर्‍याउने प्राथमिक संरचना । अर्थात्, घरघरका सिंहदरबार, जसबारे संविधान (भाग १७, १८ र १९) मा सुस्पष्ट व्यवस्था गरिएको छ । मानौं, तपाईंको पालिका स्वयं एउटा देश हो, जसको आफ्नै भूगोल छ, खेत छ, बारी छ, पानी छ, वनजंगल छ र छन् अनेकौं स्रोत । साथमा छन् विभिन्न सम्पदा र संस्कृति । भाषा, धर्म र सभ्यता छ । मुख्य कुरा जनता छन् र यो सबैको सुखद व्यवस्थापन गर्न पालिकासँग संवैधानिक अधिकार छ । त्यसको कार्यकारी प्रमुख हो- मेयर । अब सोचौं- हामीलाई कस्तो मेयर चाहिन्छ ?

पालिकाका अधिकारहरू संविधानका अनुसूची ८ र ९ भित्र २२ वटा बुँदामा सूचीबद्ध छन् । ती सबै हेर्दा लाग्छ, पालिकाहरू आफैंमा अधिकारसम्पन्न र पूर्ण सरकार हुन्, जसले आफ्नो विकासको खाका स्वयं कोर्छन् र कार्यान्वयन गर्छन् । संविधानको सीमाभित्र आफ्नो कानुन आफैं बनाउँछन् र लागू गर्छन् । जस्तो- संविधानमा पालिकाहरूलाई नगर प्रहरी राख्ने, सहकारी चलाउने र एफएम सञ्चालन गर्नेदेखि कर (सम्पत्ति कर, सेवा शुल्क, पर्यटन शुल्क, विज्ञापन कर, व्यवसाय कर, दण्ड–जरिवाना, मनोरञ्जन कर आदि) संकलन गर्नेसम्मका अधिकारहरू दिइएका छन् । पालिकाहरूले आफ्ना नागरिकका लागि सेवाको सुलभ प्रबन्ध गर्नेदेखि रोजगारी सृजना, उत्पादन वृद्धि र न्यायपूर्ण वितरणका कामहरू गर्न सक्छन् । विकास परियोजनाहरू निर्माण र सञ्चालन गर्ने हक त पालिकाहरूसँग छ नै, उनीहरूले स्कुल र अस्पताल सञ्चालन गर्ने अधिकारसमेत राख्छन् । सामाजिक सुरक्षाको प्रत्याभूतिदेखि स्थानीय भाषा, संस्कृति र ललितकलाको संरक्षण गर्ने अधिकारसमेत स्थानीय पालिकाहरूसँग निहित छ । यी काम गर्न पालिकाहरूले आफैं अनेक साझेदार खोज्न र सहकार्य गर्न सक्छन् ।

प्रदेश र संघसँग मिलेर पालिकाहरूले गर्ने अरू पनि काम छन्, जसलाई संविधानभित्र साझा अधिकार सूची अन्तर्गत १५ वटा बुँदामा सूचीकृत गरिएको छ । त्यसै गरी, पालिकाहरूलाई आफ्नै कोष सञ्चालन गर्ने अधिकार छ, जसमा सबै प्रकारको राजस्व, अनुदान, ऋण वा अन्य रकम जम्मा हुन्छ, जुन रकम पालिकाहरूले बजेट बनाई खर्च गर्न सक्छन् ।

मेयरको योग्यता
कतिपय मान्छे भन्छन्- मेयर असल, नैतिकतावान्, सहृदयी र स्वच्छ हुनुपर्छ । निश्चय नै, हुनैपर्छ । तर यस्तो गुण त ध्यानी, जोगी वा साधकमा पनि हुन सक्छ । के हामी जोगीलाई मेयर बनाउँछौं ? किनभने यी गुणहरू हुँदैमा मान्छे मेयर बन्न योग्य हुँदैन । मेयर हुन अतिरिक्त गुण चाहिन्छ । अर्थात्, विशेष गुण । के हो त्यो विशेष गुण ? मेयर मुख्यतः स्वप्नद्रष्टा हुनुपर्छ । ऊसँग हुनुपर्छ सपना । अर्थात्, भिजन । ऊसँग आफ्नो पालिकालाई पाँच वर्षभित्र कस्तो बनाउने, त्यसको सफा र भविष्यमुखी चित्र हुनुपर्छ । आफूले देखेको सपना पूरा गर्ने ऊसँग हुनुपर्छ पूरापूर रणनीति र संकल्प । आफ्नो पार्टीको आकारमा घमन्ड गर्ने होइन, आफ्नो सपनामा विश्वास गर्ने मान्छे नै आजका लागि योग्य मेयर हो । आफ्ना सपनाहरू पूरा गर्न ऊ कुन हदसम्म त्याग गर्न सक्छ ? चुनौतीहरूको सामना गर्ने उसको आत्मविश्वास के हो ? सम्भावित मेयरसँग यसको इमानदार जवाफ हुनुपर्छ । र, ऊसँग हुनुपर्छ आफ्नो सपनाको वरिपरि जनतालाई चुम्बकले झैं तान्ने अपार शक्ति ।

मेयरमा हुनुपर्ने अर्को योग्यता हो- सुन्ने, सिक्ने र जोड्ने क्षमता । अर्थात्, स्थानीय सपनाहरूको संग्रह गर्ने, प्राथमिकता निर्धारण गर्ने र साझा ज्ञानको झिल्को बाल्ने क्षमता । म विशेष हुँ भन्ने घमन्डी मान्छेको सार्वजनिक जीवनमा कुनै काम छैन । आफ्नो ज्ञान, क्षमता र योग्यताका सीमाहरू बुझ्ने र सिक्न हरदम तयार हुने मान्छे नै आजको योग्य मेयर हो । अर्थात्, उसले अनुभवीहरूलाई, युवाहरूलाई, महिलाहरूलाई, अनेक जातजातिलाई, अनेक वर्ग र पेसालाई जोड्न र परिवर्तनको लक्ष्यमा एकाकार गर्न सकोस् । समाजलाई नजोडी र बदलावको साझा दियो नबाली लक्ष्य भेट्न असम्भव छ ।

विकासलाई बुझ्ने क्षमता मेयरमा हुनुपर्ने अर्को क्षमता हो । विकासविद्हरू भन्छन्, ‘विकासको आफ्नै नियम हुन्छ ।’ यो नियम अग्लो सिँढी चढेजस्तै हो । टेक्ने ठाउँमा समायो भने पनि लडिन्छ । समाउने ठाउँमा टेक्यो भने पनि लडिन्छ । फड्किन खोज्यो भने पनि लडिन्छ, ढिलो हिँड्दा पनि लडिन्छ । त्यसैले ठीक ठाउँमा समाउनुपर्छ र ठीक ठाउँमा टेक्नुपर्छ । हाम्रो सन्दर्भमा पालिकाहरूका आ–आफ्नै विकास प्राथमिकताहरू हुन सक्छन् । जस्तो- कसैलाई कृषि मुख्य होला, कसैलाई पूर्वाधार । कसैलाई पशुपालन, कसैलाई पर्यटन । कसैलाई स्वास्थ्य र शिक्षा, कसैलाई रोजगारी । कसैलाई रणनीतिक क्षेत्रमा लगानी गर्नु होला, कसैलाई सहरी सुन्दरतामा । अर्थात्, प्रत्येक पालिकाका सम्भावना र आवश्यकताहरू आआफ्नै हुन्छन् । मेयरसँग आफ्ना फरक आवश्यकता र सपनाहरू बुझ्ने सामर्थ्य हुनुपर्छ । सोचेजति काम गर्न निश्चय नै स्रोतको कमी होला, तर मुख्य कुरा हो, स्रोतको अधिकतम उपयोग । अर्थात्, समृद्धिको ‘जुनून’ । पैसा चाहिएला, तर मुख्य कुरा हो, जनतालाई उत्प्रेरित गर्ने तागत । यो अर्थमा मेयरले पालिकालाई त चिन्नैपर्छ, साथमा पालिकाको माटोले समेत उसलाई चिनोस् ।

मेयरमा सौन्दर्यचेतना हुनु अर्को योग्यता हो । किनभने, हाम्रा विकास योजनाहरू सफा अनुहारमा मैलो पोतेजस्तै लाग्छन् । यता लतपत, उता लतपत । न राम्रा रूखहरू छन्, न त बगैंचा र फूलहरू । सम्पदाहरूको अवस्था उस्तै अलपत्र । पार्क हुनुपर्ने ठाउँमा घर छन्, खुला ठाउँमा कबाडखाना छ । न साइकल लेन, न त अपांगमैत्री पेटी । सहर मात्र हैन, ग्रामीण बस्तीहरू पनि उस्तै । सडकमा हिलोमैलोको डंगुर छ । यतै दुर्गन्ध, उतै फोहोर । घरहरू बहुरंगी छन् । यसरी कसरी हुन्छ ? अतः मेयरमा नगरको सौन्दर्यलाई बुझ्ने र चमचम चम्काउने क्षमता हुनुपर्छ ।

स्थानीय विकासका हाम्रा पछिल्ला अनुभवहरू निश्चय नै सुखद छैनन् । बिहान घरबाट निस्कँदा ठीकठाकै भएको बाटो साँझ घर फर्कंदा भत्किएको हुन्छ । त्यसपछि त्यो वर्षौं बन्दैन । सडकमा ठूलो भ्वाङ हुन्छ र समयमा पुरिँदैन । मान्छे नालामा खस्छ र मर्छ । कसैले जवाफ दिनुपर्दैन । पुलहरू उद्घाटन नहुँदै भत्किन्छन् । कसलाई गुनासो गर्ने ? न मेयर, न उपभोक्ता, न त ठेकेदार ! यसले कानुनी शासनको त धज्जी उडाएकै छ, मान्छेलाई पनि अनेक सास्ती दिएको छ । जब मेयर आफैंले यस्ता विषयमा चासो राख्ला तब धेरै कुरा फेरिन्छन् । यसर्थ हामीलाई ठालु पल्टने हैन, नागरिकसँग सहकार्य गर्ने मेयर चाहिन्छ । हामीलाई निवेदन हेर्ने र तोक हान्ने हैन, स्वयं आफ्नो वरिपरि देख्ने र काम गर्ने मेयर चाहिन्छ ।

सुशासन र न्याय
विकाससँग तीनवटा पक्ष अनिवार्य जोडिन्छन् । पहिलो, दिगोपन । दोस्रो, सुशासन र गुणस्तरीय सेवा । तेस्रो, सम्पूर्ण न्याय । अनुभवहरूले भन्छन्- सुशासनबिना विकास सम्भव छैन । र, सामाजिक न्यायबिनाको विकासले विभेद घटाउँदैन । यहाँ न्याय भनेको अदालती न्याय हैन । मुख्यतः यो विकासमा न्यायको कुरा हो । र, यो आर्थिक–सामाजिक लोकतन्त्रको कुरा हो । परम्परादेखि चलिआएका अन्यायपूर्ण खेलहरू बुझ्ने र तिनलाई बदल्ने चेतना न्यायसँग अविभाज्य जोडिन्छ । अन्यथा, न्यायिक चेतनाबिनाको विकास ठेकेदारी मात्र हो ।

हामीले भ्रष्टाचार घटाउनु छ । तर सँगै मान्छेको सार्वभौमिकता र मर्यादा उच्च बनाउनु छ । अर्थात्, हामीले इतिहासबाट पाएको वैचारिक जडता र सत्तामुखी चरित्र फेर्नु छ । नत्र भने उस्तै बेथिति, उस्तै गतिहीनता । यसरी नयाँ परिणाम कसरी आउँछ ? यसर्थ सीमित मान्छेको शासनाधिकारविरुद्ध आम जनतालाई उभ्याउनु आजको आवश्यकता हो, जसलाई प्रवर्द्धन गर्ने उदार, सुसंस्कृत र सचेत मेयर हामीलाई चाहिन्छ ।

पार्टी कि व्यक्ति ?
कसलाई भोट होल्ने ? दलको मान्छेलाई कि योग्य मान्छेलाई ? यो आजको चर्चित प्रश्न हो । अहिले एकातिर स्थानीय सरकारलाई गैरदलीय गरौं भन्ने बहस छ, अर्कातिर ‘अटेरी’ अभियानमार्फत स्वतन्त्र उम्मेदवारहरूले पुरानो राजनीतिक वर्चस्वमाथि प्रश्नहरू उठाइरहेका छन्, जुन निकै गजबको कुरा हो ।

विचार गरौं, पालिकाहरूले आज भोगिरहेको राजनीतिक संकट के हो ? दलीय भागबन्डा, पूर्वाग्रह र टकराव । उम्मेदवार छान्दा नै स्थानीय आवश्यकतालाई दलगत आवश्यकताले संकुचित पारिदिन्छ । र, टिकट वितरणबाट सुरु हुने यस्तो गडबडीले बिस्तारै धेरै कुरा बिगार्दै लैजान्छ । जस्तो- मेयरहरू जनताप्रति कम र पार्टी वा गुटप्रति ज्यादा उत्तरदायी हुँदै जान्छन् । न वाचाप्रति जिम्मेवारी, न परिणामप्रति सचेतना ।

व्यक्ति स्वयंको उत्तरदायित्वलाई कमजोर बनाउने यो प्रक्रियाले स्थानीय सरकारलाई परिणामविहीन बनाउँदै लैजाँदो छ । यसरी दलगत राजनीति त सफल होला, तर पालिकाहरू असफल हुने पक्कापक्की देखियो ।

राजनीति आफैंमा उत्तरदायित्व हो । आफ्ना वाचाहरूप्रतिको उत्तरदायित्व । काम र परिणामप्रतिको उत्तरदायित्व । पदप्रतिको उत्तरदायित्व । उत्तरदायित्वबिनाको राजनीति एउटा चुनावबाट अर्को चुनावसम्म घुमिबस्ने तमासा मात्र हो । अतः अबको चुनावले राजनीतिलाई तमासाबाट जिम्मेवारीमा फेर्नुपर्छ । त्यसैले कसलाई भोट हाल्ने ? यो गम्भीर प्रश्न हो । योग्यतम मान्छेलाई स्थानीय सरकारको नेतृत्वमा पुर्‍याउन दलगत संकीर्णता अबलाई कसै गरी बाधक बन्नु हुँदैन ।

अन्त्यमा, फेरि उही प्रश्न गरौं- हामीलाई कस्तो मेयर चाहिन्छ ? सोचौं, अझै सोचौं । र, यो निर्वाचनमा खेलाँची नगरौं । अन्यथा केही पनि फेरिनेछैन, जसका लागि हामी विगत लामो समयदेखि निरन्तर लड्दै र सपनाहरू देख्दै आइरहेका छौं ।

प्रकाशित : चैत्र १५, २०७८ ०८:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×