कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मानव जाति र विश्व–स्वास्थ्य

पूनम खेत्रपाल सिंह

कोभिड–१९ महामारीले दक्षिणपूर्वी एसिया क्षेत्र तथा विश्वभरिका मानिसहरू बाँचिरहेको र कार्यरत स्थानको असमान प्रणालीलाई उजागर गरिदियो । विश्वभरि, करिब ९० प्रतिशत मानिसले प्रदूषित हावामा सास फेरिरहेका छन्, जसका कारण हरेक वर्ष दक्षिणपूर्वी एसिया क्षेत्रका २४ लाख मानिसले ज्यान गुमाइरहेका छन् । असुरक्षित, अस्वास्थ्यकर तथा अस्थायी खाद्य प्रणालीका कारण लाखौं व्यक्तिको अकालमै मृत्यु भइरहेको छ । नसर्ने रोगहरू र जलवायु परिवर्तन तथा एन्टिमाइक्रोबियल प्रतिरोध हाल मानव जातिले भोगिरहेका सबैभन्दा ठूला स्वास्थ्य जोखिमका कारक हुन् ।

मानव जाति र विश्व–स्वास्थ्य

सन् २०२० मा, विश्वभरिका प्रत्येक ४ जनामध्ये १ जनालाई खानेपानीको अभाव थियो, र अति कम विकसित मुलुकका ५० प्रतिशत स्वास्थ्य संस्थाहरूले मात्रै आधारभूत खानेपानीको सेवा उपलब्ध गराएका थिए । पानीमा आर्सेनिकजस्तो हानिकारक रसायन भेटिनाले तथा कम गुणस्तरको खानेपानीले गर्दा पानीबाटै सर्ने जटिल रोगहरू लाग्न सक्छन् । स्वास्थ्य संस्थाहरूमा खानेपानी तथा सरसफाइको पहुँच पर्याप्त नहुँदा त्यसले स्वास्थ्य सेवालाई नै कम प्रभावकारी बनाउँछ र यसको असर सबैभन्दा बढी महिला तथा बालिकाहरूमा पर्छ । समग्रमा, विश्व स्वास्थ्य संगठनले परिर्वतन गर्न सकिने वातावरणीय कारकहरूले गर्दा विश्वभरमा वार्षिक रूपमा १ करोड ३० लाखभन्दा बढीको मृत्यु हुने अनुमान गरेको छ, जुन मानव समाजका लागि किमार्थ स्वीकार्य छैन ।

कोभिड–१९ ले राजनीतिक, सामाजिक तथा व्यापारिक निर्णयहरूमा व्याप्त असमानतालाई उदांगो पारिदिएको छ । यसले हामीलाई दीर्घकालीन परिवर्तन र रूपान्तरण गर्ने दुर्लभ अवसर पनि दिएको छ । यदि निर्णय प्रक्रिया पारदर्शी, तथ्यमा आधारित र समावेशी भए मानिसहरूले आफ्नो स्वास्थ्य, परिवार तथा जीविकाको संरक्षण गर्ने यस्ता नीतिहरूको समर्थन गर्छन् भन्ने देखाएको छ । दीर्घकालीन लगानी, भरपर्दो आर्थिक योजना, कानुनी तथा आर्थिक रणनीति र व्यवस्थित सामाजिक सुरक्षामार्फत समतामूलक स्वास्थ्यलाई प्राथमिकता दिने हो भने मानवजातिको हितका लागि ‘स्वस्थ समाज’ निर्माण गर्न सक्छौं भन्ने यो महामारीले सिकाएको छ । र, यसले पर्यावरणीय सीमाहरूलाई आत्मसात् गर्दै प्रत्येक व्यक्तिको स्वास्थ्य र विकासको अधिकारलाई सुनिश्चित गरिदिएको छ ।

सबैका लागि स्वच्छ हावा, खानेपानी–खाना तथा अर्थतन्त्रले नै प्रवर्द्धन गरेको शारीरिक तथा मानसिक स्वास्थ्य, बस्नयोग्य सहर र व्यक्तिको आफ्नै नियन्त्रणमा रहेको स्वास्थ्यका साथै स्वस्थ विश्व बनाउन हामीले पाँचवटा प्राथमिकतालाई मिलेर सम्बोधन गर्नुपर्छ ।

पहिलो, प्रकृतिको संरक्षण तथा संवर्द्धन । त्यसका लागि वन फँडानी घटाउने, वृक्षरोपण प्रवर्द्धन गर्ने, प्रदूषणयुक्त कृषि अभ्यासहरूको अन्त्य गर्ने, हावाको गुणस्तर र खाद्य प्रणालीमा सुधार गर्ने र दिगो कृषि तथा वन व्यवस्थापनको प्रवर्द्धन गर्ने । यति गरेमा पशु तथा जंगली जनावरबाट सर्ने ६० प्रतिशतभन्दा बढी संक्रामक रोगहरूको जोखिम घटाउन सकिन्छ ।

दोस्रो, स्वास्थ्य संस्थामा खानेपानी तथा सरसफाइदेखि स्वच्छ ऊर्जासम्मका अत्यावश्यक सेवामा लगानी । दक्षिणपूर्वी एसियाका मुलुकहरूले बहुपक्षीय खानेपानी योजना कार्यान्वयनमार्फत खानेपानी आपूर्तिको संरक्षणलाई जोड दिनुपर्छ, र प्राथमिक स्वास्थ्य संस्थामा पहुँच बढाउनेतर्फ केन्द्रित हुनुपर्छ । स्वास्थ्य नीति, रणनीति तथा कार्यक्रमहरूमा खानेपानी तथा सरसफाइलाई पनि समावेश गर्नुपर्छ । दक्षिणपूर्वी एसियाका लागि भएको माले घोषणापत्र बमोजिम, यो क्षेत्रका मुलुकहरूले वातावरणीय स्वास्थ्य चुनौतीहरूको सम्बोधन तथा सामना गर्ने मात्रै नभएर वातावरणीय रूपमा दिगो हुने अभ्यासहरूलाई पनि प्रवर्द्धन गर्नु जरुरी छ । त्यस्तै जलवायु उत्थानशील स्वास्थ्य संस्थाहरूको विकासलाई प्रवर्द्धन गर्नुपर्छ ।

तेस्रो, छरितो र स्वस्थ ऊर्जाको सुनिश्चितता । विश्वभरि, जलवायु परिवर्तनको मुख्य कारक पेट्रोलियम पदार्थ हो, जसबाट सन् २०३० देखि २०५० सम्म हरेक वर्ष २ लाख ५० हजार व्यक्तिले ज्यान गुमाउने आकलन गरिएको छ । यस क्षेत्रका मुलुकहरूले नवीकरणीय ऊर्जाका स्रोतहरू बढाउन सराहनीय प्रयास गरे पनि यसका लागि थप कार्य आवश्यक छ, जस्तो वायु गुणस्तरका कठोर मापदण्डका साथै सार्वजनिक यातायातका पूर्वाधारहरूमा लगानी ।

चौथो, स्वस्थ तथा दिगो खाद्य प्रणालीको प्रवर्द्धन । खानाको अभाव वा अस्वास्थ्यकर, उच्च क्यालोरीयुक्त खानाको उपभोग नसर्ने रोगहरूका मुख्य कारक हुन्, जसका कारण दक्षिणपूर्वी एसियामा वार्षिक रूपमा ९२ लाख व्यक्तिले ज्यान गुमाइरहेका छन् । यस क्षेत्रका सबै मुलुकमा, खाद्य वातावरणलाई रूपान्तरण गर्न खाद्य वस्तुलाई स्वास्थ्यकर हुने गरी परिष्कृत र लेबलिङ गर्दै अस्वास्थ्यकर खाद्य वस्तु र पेय पदार्थको कर बढोत्तरी गर्नुपर्छ । साथै, बालबालिकामा केन्द्रित भएर गरिने बजारीकरणलाई पनि निरुत्साहित गर्नुपर्छ ।

पाँचौं, स्वस्थ सहरको विकास । सन् २०२१ मा, दक्षिणपूर्वी एसियाका पाँच सहरलाई स्वास्थ्य क्षेत्रका स्थानीय असमानतालाई सम्बोधन गर्न विश्व स्वास्थ्य संगठनको स्वास्थ्य तथा आरोग्यका लागि सहरी सुशासन कार्यक्रममार्फत विविध कार्ययोजना बनाएर स्वास्थ्यको प्रवर्द्धन गर्न छनोट गरिएको थियो । त्यसका लागि दुइटा मात्रै उदाहरण लिँदा, नीतिनिर्माताहरूलाई साइकल लेन विस्तार गर्न र हरियालीसहितका स्थानहरू बढाउन प्रेरित गर्न सकिन्छ । यसले गर्दा हरितगृह ग्यासको उत्सर्जन र सडक दुर्घटना दर घट्छ भने शारीरिक कसरत बढ्दा मानिसको स्वास्थ्य राम्रो हुन्छ ।

हामी महत्त्वपूर्ण समयमा छौं । अहिले लिने निर्णयले कि मानव स्वास्थ्य तथा जीविकालाई दिगो बनाउने पारिस्थितिकीय प्रणालीमा क्षति बढ्छ वा अझ स्वस्थ, न्यायोचित र हरित विश्वको प्रवर्द्धन हुन्छ । हामीले एकताबद्ध भएर यसका लागि आवाज उठाउनुपर्छ र हाम्रो विश्व, हाम्रो स्वास्थ्य र हाम्रो भविष्यको सुरक्षाका लागि अहिले नै काम गर्नुपर्छ ।

सिंह विश्व स्वास्थ्य संगठन दक्षिणपूर्वी एसिया क्षेत्रकी क्षेत्रीय निर्देशक हुन् ।

प्रकाशित : चैत्र २४, २०७८ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?