श्रमिक बालबालिकाको संरक्षण- विचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

श्रमिक बालबालिकाको संरक्षण

सुशीला शर्मा

हाम्रा ग्रामीण भेगमा बालबालिका परिवारका सक्रिय हिस्सेदार हुने गर्छन् । अभिभावकलाई खेतीपाती, भात–भान्सालगायतका काममा सघाउँदै आएका छन् । आफ्नो परिवारको काम गर्नु र अर्काकोमा गर्नुमा फरक छ । गरिबीले गाँजेका धेरै परिवारका बालबालिका अर्काका घरमा घरेलु कामदारका रूपमा छन् । कतिपय बालबालिका सर्कस तथा इँटाभट्टामा काम गर्छन् । कतिपय खोला किनारमा गिट्टी कुटिरहेका वा बालुवा चालिरहेका भेटिन्छन् । खेल्ने–कुद्ने उमेरमा श्रममा लगाउँदा बालबालिकाको बौद्धिक, शारीरिक र भावनात्मक विकासमा असर परिरहेको हुन्छ । 



एक थरी वर्ग संरक्षणका नाममा हरेक क्षण आफ्ना सन्तान वरिपरि नै भइरहून् भन्ने ठान्छन् र अति आवश्यक दैनिक कार्यसमेत छोराछोरीलाई गराउँदैनन् वा सिकाउँदैनन् । ती काम नोकरचाकरमार्फत गराइन्छन् । अर्का थरी अभिभावक आफू मरिमेटेर छोराछोरीलाई विद्यालय पठाउने गर्छन् र पढेर छोराछारीले

आफ्नो दुःख छिट्टै हटाइदिन्छन् भन्ने आशा राख्छन् । आफ्नो सपना छोराछोरीमार्फत पूरा भइरहेको छ भनेर रमाउँछन् । अभिभावकले आफ्नो सम्पूर्ण आशा बालबालिकामाथि थुपार्नु उनीहरूलाई दबाब दिनु हो । प्रत्येक व्यक्तिको क्षमता फरकफरक हुन्छ भन्ने बुझ्न अभिभावकले सकिरहेका छैनन् । यस्तो व्यवहारले बालबालिकाबाट बालापन खोसिँदै छ ।

अर्को वर्ग छ, जसको जीवनको उद्देश्य नै दैनिक ज्यालामजदुरीबाट सामल जुटाउने अनि खाने–पिउने हुन्छ । उनीहरूको धेरै ठूलो सपना छैन । सन्तान लड्दैपड्दै हुर्किरहेका हुन्छन् । त्यही समाजभित्रका कतिपय तेज बालबालिकाले संघर्ष गर्दै जीवन रूपान्तरण पनि गरेका छन् । कोही अभिभावक अझैं सर्वहारा जीवनमै रमाइरहेका हुन पनि सक्छन् । यसरी बालबालिकाको हुर्काइ भिन्न भए पनि उमेरअनुसार हुर्कन पाउने उनीहरूको अधिकारलाई भने चासो दिइएको पाइँदैन । जुनै वर्गको भए पनि बालबालिका आखिर बालबालिका नै त हुन् !

बाल मजदुरी बालअधिकारका धाराहरूले स्विकार्दैनन् । तर निम्न वर्गीय बालबालिकालाई आफ्ना अभिभावकसँगै काम गर्नुपर्ने बाध्यता छ । अनि यस्ता श्रमिक बालबालिकामा पढ्नुपर्छ भन्ने चेत पनि विकसित हुन कठिन हुन्छ । पढ्नै पाए पनि उनीहरूले यसलाई निरन्तरता दिन सक्ने वातावरण परिवारमा हुन्न । कतिपय बालबालिका पढ्न विद्यालय पनि जान्छन् र बाँकी समय मजदुरी पनि गर्छन् । यस्तो अथक मिहिनेत गरे पनि उनीहरू पढाइमा धेरै लामो समय टिक्न सक्दैनन् । कुनै न कुनै बेला विद्यालय छुटिहाल्छ । उनीहरूले सुन्दर भविष्यको कल्पना पनि गर्न सक्दैनन् ।

नेपालमा बाल श्रममा निर्भर परिवार निकै छन् । लालनपालन गर्न नसकेपछि उनीहरूलाई श्रममा लगाउन बाध्य छन अभिभावकहरू । यसले बालबालिकाको मनोविज्ञान र स्वास्थ्यमा निकै असर पुर्‍याइरहेको छ । बालबालिकाले काम गर्ने स्थान पनि सुरक्षित हुँदैनन् । समाजमा असमान पुँजी वितरणका कारण गरिब परिवार झन् गरिब, धनी झन् धनी भइरहेका छन् । यसको मार निम्न आय भएका परिवारका बालबालिकामा पनि परिरहेको छ । पढ्ने उमेरमा श्रममा खटिँदा भविष्य अन्धकार भइरहेको छ ।

बालबालिका हुर्कंदै गर्दाको समय संवेदनशील हुने गर्छ । यस्तो बेला परिवारले निकै हेरचाह गर्नुपर्ने हुन्छ । परिवार, समाज र राज्यको सकारात्मक भूमिका रहे बालबालिकामाथि भइरहेको अन्याय र शोषण कम गर्न सकिन्छ । बालापनको सुरक्षा र विकास कसरी गर्ने भन्ने प्रश्न दिनदिनै जटिल बन्दै गइरहेको बेला यो विषयमा सबैभन्दा पहिले अभिभावक सचेत हुनुपर्छ । बालबालिकाको सुरक्षा परिवारभित्रै हुने हो । अभिभावकले बालबालिकालाई अतिरिक्त आर्थिक भार थोपर्नु हुन्न । बाल अधिकारका बारे पनि उनीहरू जानकार हुनुपर्छ । कतिले त बाध्यतावश बालबालिकालाई श्रममा धकेलिदिएका हुन सक्छन् । यस्तो परिवारको पहिचान गरी तिनको आर्थिक अवस्था कसरी उकास्ने भन्नेमा राज्यले ध्यान दिनु जरुरी छ । यस क्षेत्रमा राज्यको बलियो पहलकदमी आवश्यक छ ।

कुनै तनाव–झन्झटबिना पढेर, खेलेर समय बिताउनुपर्ने बालबालिकाले खानकै लागि श्रम गर्नुपर्ने वातावरणको अन्त्य हुनुपर्छ । प्रत्येक अभिभावकले बालबालिकाको अधिकारबारे सोच्नुपर्छ, उनीहरूको बालापन बचाउने उपाय खोज्नुपर्छ । बालबालिकाको प्रतिभा पहिचान गरी निखार्ने अवसर विद्यालयले दिलाउनुपर्छ । कानुनले बाल श्रम रोके पनि, व्यवहारमा रोकिएको छैन । यसलाई रोक्न अभिभावक, विद्यालय तथा राज्यले पनि विशेष पहल गर्नुपर्छ ।

प्रकाशित : चैत्र २३, २०७८ ०७:५३
प्रतिक्रिया
पठाउनुहोस्

बुधबारदेखि जनकपुरमा साहित्य महोत्सव

कान्तिपुर संवाददाता

जनकपुर — मैथिली विकास कोषले जनकपुरमा साहित्य, कला तथा नाट्य महोत्सव–२०७८ गर्ने भएको छ । बुधबारदेखि हुने तीनदिने महोत्सवका कार्यक्रम जानकी मन्दिर परिसर र उद्योग वाणिज्य संघको सभाहलमा हुनेछ ।

महोत्सवमा नेपाल र भारतका सय जनाभन्दा बढी वक्ता–स्रष्टा सहभागी हुने कोषका अध्यक्ष जीवनाथ चौधरीले बताए । पत्रकार सम्मेलन गर्दै कोषले महोत्सवको तयारी पूरा भएको जनाएको छ । ‘सत्तामा रमाएको विद्रोह,’ ‘मातृभाषामाथि लगाम,’ ‘भाषा, भाषिका तथा मैथिली,’ ‘मैथिली भाषामा वैचारिक चेत तथा नेपाली साहित्यमा वर्णित मिथिला–मधेस’ लगायतका १० शीर्षकमा बहस हुनेछ ।

महोत्सवको क्रममा हरेक साँझ सांस्कृतिक कार्यक्रमको आयोजना हुने कोषका अध्यक्ष चौधरीले जानकारी दिए ।

प्रकाशित : चैत्र २३, २०७८ ०७:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×