कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४८

यूपीमा भाजपा लहरका आधार

समृद्ध घिमिरे

भारतीय जनता पार्टी (भाजपा) आजको मितिसम्म आइपुग्दा भारतको सबैभन्दा प्रभावशाली पार्टी बनेको छ । अटलबिहारी वाजपेयीपछि नरेन्द्र मोदीको नेतृत्वमा बलियो हुँदै आएको भाजपा एउटा धर्मनिरपेक्ष राष्ट्रमा खुलेर हिन्दुत्वको राजनीति गर्ने पार्टी भनेर चिनिँदै आएको छ । सन् १९८४ मा लोक सभामा दुई सिट हात पारेको भाजपा सन् १९९६ को लोकसभामा सबैभन्दा ठूलो पार्टी बन्न सक्षम भयो । सन् १९९९ मा सहयोगी दलहरूसँग मिलेर केन्द्रमा सरकार बनायो र पहिलो पटक भाजपाका तर्फबाट वाजपेयी प्रधानमन्त्री बन्न सफल रहे । 

यूपीमा भाजपा लहरका आधार

यसबीच भाजपालाई लिएर धेरै आरोप–प्रत्यारोप भइरहे । ६ डिसेम्बर १९९२ को बाबरी मस्जिद काण्डमा भाजपाका केही ठूला नेता मुछिए । भाजपाका प्रमुख नेता लालकृष्ण आडवाणीको सोमनाथदेखि अयोध्यासम्मको रथयात्रा भारतीय राजनीतिक इतिहासको सम्झनायोग्य एउटा घटना बन्यो । जब मण्डल राजनीतिका कारण हिन्दुहरूबीच तिखो मतभेद बढ्दै थियो, सोही समय आडवाणीको अयोध्यासम्मको रथयात्राले धार्मिक ध्रुवीकरणलाई मजबुत बनायो । र यही समयदेखि आक्रामक रूपमा सुरु भएको भाजपाको ‘हिन्दुत्व राजनीति’ आजसम्म निरन्तर छ ।

अनेक साम्प्रदायिक हूलदंगा र आरोप–प्रत्यारोप पार गर्दै आजको समयसम्म आइपुग्दा भाजपा भारतीय राजनीतिक इतिहासकै सबैभन्दा प्रभावशाली र बलियो पार्टी बनिसकेको छ । सन् २०१४ मा गुजरातका मुख्यमन्त्री नरेन्द्र मोदी पहिलो पटक लोकसभा चुनाव लडे र प्रधानमन्त्रीको कुर्सीसम्म पुगे । त्यसयता मोदी सरकारले भाजपालाई जस्तो लोकप्रियता दिलाइरहेको छ, त्यो सितिमिति नगुम्ने देखिन्छ ।

यूपी र भाजपा
सत्तारूढ भाजपा सन् २०१७ पछि लगातार दोस्रो पटक उत्तर प्रदेश (यूपी) मा विजयी इतिहास रच्न सफल भयो । सन् १९८५ पछि यूपीमा कुनै पनि पार्टी दोस्रो पटक लगत्तै सत्तामा फर्किन विफल रहेका बेला, भाजपाको लगातारको जितले नयाँ इतिहास रच्यो । सन् १९९१ मा बहुमत हासिल गरेको २६ वर्षपश्चात् २०१७ मा बहुमत नै पाएको भाजपा लगातार दोस्रो कार्यकालका लागि सत्तामा फर्कियो । र, २०२२ को यो जित २०१७ को भन्दा कैयौं गुणा प्रभावशाली साबित भयो । यसले समग्र यूपीमा र पार्टीभित्रै योगी आदित्यनाथको उचाइ अझ बढाइदियो ।

यूपी विधानसभा चुनाव–२०२२
यूपी विधानसभा चुनाव–२०२२ मा भाजपा २५५ सिट जितेर फेरि पनि सबैभन्दा ठूलो पार्टी बन्यो । समाजवादी पार्टी (सपा) १११ सिट जितेर दोस्रो ठूलो पार्टी बन्यो भने कांग्रेस र बसपाले क्रमशः २ र १ सिट जिते । सन् २०१७ को भन्दा लगभग ५५ सिट कम हुँदा पनि र सपाको करिब ८० सिट वृद्धि हुँदा पनि भाजपा ठूलो पार्टी बन्न सफल रह्यो । कैयौं विश्लेषकद्वारा यो चुनावमा भाजपाले नोक्सानी बेहोर्नुपर्ने आशंका गरेका थिए । तर, भाजपाले तिनलाई असफल तुल्यायो र यो चुनावी नतिजा उसका लागि कैयौं हिसाबले मूल्यवान् रहन पुग्यो । दुईध्रुवीय मानिएको यूपी चुनावमा भाजपाका लागि सपा कडा प्रतिस्पर्धी मानिएको थियो । यद्यपि दुवै दलले सबै सिटमा प्रतिस्पर्धा भने गरेनन्, क्षेत्रीय दलहरूसँग गठबन्धन बनाएर । भाजपा ३७६ सिटमा चुनाव लडेको थियो भने सपा ३४७ सिटमा । र, दुवै पार्टीले आफ्नो मतको हिस्सा भने बढाए ।

सन् २०१७ को चुनावपछि मुख्यमन्त्री बनेका योगी आदित्यनाथको कार्यकालमा सरकारको रणनीति र राष्ट्रको स्थिति कमजोर साबित भएको थियो । बेरोजगारी, महँगी, किसान आन्दोलनजस्ता मुद्दामा भाजपा विफल देखिएको थियो । एकातर्फ पिछडा जातिका नेता स्वामीप्रसाद मौर्य, दारासिंह चौहान, धर्मसिंह सैनी र ओमप्रकाश राजभरसहित दर्जनौं विधायकले भाजपा छोडेर जातीय समीकरणलाई उल्झाइदिएका थिए भने, अर्कातर्फ मुस्लिम र यादव वर्गको एकछत्र मानिएको समर्थनले सपाका लागि एउटा ठूलो भोट बैंक तयार गरेको थियो, जसले भाजपालाई थप कमजोर बनाइदिएझैं देखिएको थियो । किनकि २०१७ को चुनावमा भाजपाका लागि यिनै नेताका कारण जातीय भोटले अहं भूमिका खेलेको थियो । चुनाव अगाडिको यो फुटले भाजपामा ठूलो तरंग ल्याइदियो र भाजपा चुनाव जित्न सक्ने–नसक्ने अन्योलमा रह्यो । सोही कारण भाजपाले चुनावी घोषणापत्र जारी गर्न पनि समय लगायो ।

तर, यी सबै समस्याका बावजुद भाजपाले विधानसभा चुनाव जित्यो । यूपीमा लगातार दोस्रो पटक चुनाव जित्नु र योगी आदित्यनाथ लगातार दोस्रो पटक मुख्यमन्त्री बन्नुमा भाजपाको चुनावी रणनीतिले उल्लेख्य काम गर्‍यो भन्नेहरू धेरै भेटिन्छन् । यूपीमा भाजपाको जित र भाजपाको चुनावी रणनीति राजनीति क्षेत्रमा विश्लेषणको विषय बनेको छ ।

भाजपाको जित कसरी ?
इतिहास र विश्लेषकहरूका दृष्टिले हेर्ने हो भने भाजपाको आजसम्मको चुनावी रणनीति तीन आधारहरूमा उभिएको पाइन्छ- धार्मिक ध्रुवीकरण, राष्ट्रवाद र कल्याण । यीमध्ये धार्मिक ध्रुवीकरण प्रमुख हो । यूपीको चुनावका लागि यसपालि पनि भाजपाले यिनै रणनीति अपनायो । यीबाहेक पनि अन्य केही समयसापेक्ष मुद्दाहरूमा टेकेर भाजपा चुनावी अभियानमा लाग्यो । यिनै रणनीतिहरूका कारण भाजपा नतिजा आफूतिर पल्टाउन सफल रह्यो ।

कारण १ : धार्मिक ध्रुवीकरण
अधिकांश मानिस - जो भाजपाका विरोधी तथा विश्लेषक छन् - ले यूपीमा भाजपाको जितको नम्बर एक र प्रमुख कारण धार्मिक ध्रुवीकरणलाई मानेका छन् । स्थापनाकालदेखि नै धर्ममा टेकेर राजनीति गरिरहेको भाजपाका लागि यो विश्लेषण धेरै हदसम्म मेल खान्छ । भाजपाले आफैंलाई धार्मिक मसिहा साबित गर्दै अरू पार्टीलाई हिन्दुविरोधी घोषित गर्दै आएको पाइन्छ । र निःसन्देह भन्न सकिन्छ, यसपालिको चुनावमा पनि, अझ विशेषतः यूपीमा भाजपाले हिन्दु–मुसलमान राजनीति चलायो । योगी आदित्यनाथको चुनावअघिको ‘समाजवादी पार्टीले इद र मुहर्रममा मात्र बिजुली दियो, होली र दीपावलीमा दिएन’ जस्तो भनाइले पनि त्यसलाई पुष्टि गर्छ । यूपीजस्तो राज्यमा, जहाँ ‘बरु भीख मागेर खाइन्छ, तर भोटचाहिँ भाजपालाई नै दिइन्छ’ भन्ने कट्टर हिन्दु भोटरहरूको वर्चस्व छ, मुस्लिमविरोधी भ्रम फैलाउनु र हिन्दुलाई माथि ल्याउन अनेक अभियान चलाउनु भाजपाको चुनावी अभियानको बलियो कडी हो । यस पटकको चुनावमा पनि भाजपाले यही कडी समात्यो र आधाभन्दा बढी हिन्दु मतदाताको समर्थन पायो ।

तर, धार्मिक ध्रुवीकरण र हिन्दु राजनीति त्यति ठूलो कारक पनि थिएन जति विश्लेषकहरू सम्झन्छन् । यूपीको चुनावमा अन्य केही अति मजबुत कारक थिए, जसले भाजपाको विजयी अभियानमा मद्दत पुर्‍याए ।

कारण २ : समाजवादी पार्टीको कमजोर जग
यसपालिको चुनावमा सपा भाजपाको एक मात्र बलियो प्रतिस्पर्धी थियो । आजको दिन कुनै पार्टीलाई चुनाव जित्नु छ भने बलियो मुख्यमन्त्रीको अनुहार हुनु एकदम जरुरी मानिन्छ । भाजपाका लागि त्यो अनुहार थियो योगी आदित्यनाथको । अर्कातर्फ, विरोधीको अनुहारमा थिए- सपाका अखिलेश यादव । र रोचक कुरा, सपाले पाएको भोट प्रतिशत अहिलेसम्मकै उच्च हो, सन् २०१७ मा २२ प्रतिशत मात्र भोट पाएको उसले यसपालि त्यो अँकडा ३२ प्रतिशतमा पुर्‍यायो । भाजपाले यूपीमा इतिहासमा पहिलो पटक ४० प्रतिशत भोटको कोसेढुंगा पार गर्‍यो, जुन सपाको भन्दा केवल ७ प्रतिशत बढी थियो । यो तथ्यांकले नै बताउँछ, यो चुनाव यी दुई पार्टीका लागि टक्करको बन्यो ।

यो चुनाव सपालाई एक्लै बहुमत ल्याउने र भाजपालाई हराउने एउटा राम्रो मौका थियो । समस्या के भइदियो भने, अखिलेश यादव पछिल्ला पाँच वर्षदेखि त्यति सक्रिय देखिएका थिएनन् । यूपीमा पछिल्ला पाँच वर्षमा सरकारविरुद्ध कैयौं मुद्दा उठे, कैयौं आन्दोलन भए तर विपक्षी अनुहार रहेर पनि अखिलेशले तिनमा अहं भूमिका निभाएनन्, कतिमा त देखै परेनन् । विपक्षमा रहँदा सरकारलाई प्रश्न गर्न नसक्नु विपक्षी पार्टीको ठूलो कमजोरी हो । यसैमा अखिलेश चुके ।

सपाले एउटा जातिमा आधारित रहेर राजनीति गर्छ । यादव र मुस्लिम समुदायबाट बढी भोट पाउने सपालाई यस पटक जातीय राजनीतिबाट निस्केर अन्यसँग पनि जोडिने मौका थियो, यहाँ पनि अखिलेश र समग्र सपाले फाइदा उठाउन जानेनन् । यी सबका बावजुद अखिलेश तुलनात्मक रूपमा भने सफल रहे । बढ्दो महँगी, बेरोजगारी र सरकारबाट आजित भएका उल्लेख्य जनताको समर्थन सपाले पायो । यही कारण सपाको भोट प्रतिशत पनि राम्रै गरी बढ्यो ।

र तेस्रो कारणमा थिए- बीएसपी र कांग्रेस । यी दुई पार्टी यो चुनावमा लगभग हराइसक्ने स्थितिमा थिए । बीएसपी र कांग्रेसले चुनाव जित्ने कुनै चान्स नभएका बेला, अखिलेश यादवले यी दुई पार्टीका समर्थकहरूलाई आफ्नो पोल्टामा पार्न सक्थे तर उनी यहाँ पनि चुके । भनिन्छ नि, ‘दिल्लीको बाटो यूपी हुँदै जान्छ ।’ केन्द्रसम्म पुग्ने अवसर अखिलेशलाई थियो, तर उनले त्यो बाटो समाउन सकेनन् । सपाका यिनै कमजोरीले गर्दा भाजपालाई नसोचेको फाइदा भयो ।

कारण ३ : सक्रिय सरकार
पछिल्ला पाँच वर्षमा भाजपाको सरकार एकदमै सक्रिय रह्यो । चाहे भाजपा नेतृत्व होस् या राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस), सबै हरेक मुद्दामा कहीँ न कहीँ देखिइरहे । समयसमयमा राजनीतिक र्‍यालीदेखि क्याम्पेन आयोजनामार्फत भाजपा जनतामाझ हाइलाइट भैरह्यो । र यो सक्रियताले भाजपालाई लोकप्रियता दिलाउनुका साथै भोटर बढाउन मद्दत गर्‍यो भन्दा फरक पर्दैन ।

कारण ४ : कल्याणकारी योजना
भाजपाको अर्को मजबुत रणनीति हो- कल्याणकारी योजना । चाहे सरकारमा रहँदा होस् या चुनावमा जाँदा, भाजपा अनेकौं कल्याणकारी रणनीति र योजना अपनाइरहन्छ । केही यस्ता निश्चित भोटर पनि छन् जसले यस्ता योजनाबाट फाइदा लिनकै लागि या पाएकै कारण भाजपालाई भोट हाल्छन् र ती कल्याणकारी योजनाहरूले यस्ता भोटरहरू तान्न सघाइरहेका हुन्छन् । चुनावभन्दा ठीक अगाडि यूपी सरकारले निःशुल्क रासन वितरणको महायोजना ल्यायो, जुन सफल हुन पुग्यो । चुनावअघि नै यसै वर्ष योगी आदित्यनाथले यूपीका किसानहरूका लागि बिजुली महसुलमा आधा कटौती गरिदिए । यी र यस्तै अन्य योजनाले धेरै हदसम्म भाजपालाई चुनावमा फाइदा गरे ।

कारण ५ : मिडियाको प्रभाव
भाजपाको हरेक जितको पछाडि कतै न कतै मिडियाको हात हुने गरेको छ । राजनीतिमा मिडियाको प्रचुर प्रयोग नरेन्द्र मोदी, योगी आदित्यनाथ तथा समग्र भाजपाले जस्तो अरूले गरेको पाइँदैन । मिडिया र प्रचारकै कारण हरेक चुनावमा भाजपालाई ठूलो अन्तरमा फाइदा हुँदै आएको छ, र यूपीको चुनावमा पनि यो लाभ कायमै रह्यो । अर्थपूर्ण होस् या अर्थहीन, आफ्नो हरेक भनाइ मिडियामा हाइलाइट गर्नदेखि जनतामा भ्रम छरेर तिनलाई आफ्नो समर्थनमा ल्याउनसम्म यो चुनावमा योगी आदित्यनाथ तुलनात्मक रूपमा चतुर दरिए । यसले चुनावी प्रचारमा त सघायो नै, भाजपाको जितलाई अझ उत्साहजनक पनि बनाइदियो ।

अन्य
शान्ति–सुरक्षाको मुद्दा, सरकारी योजनाको सीधा लाभ र बलियो नेताका रूपमा योगी आदित्यनाथको उम्मेदवारी भाजपाका सन् २०२२ को यूपी विधानसभा चुनावका मजबुत पक्ष रहे । यीबाहेक पनि, महिला भोटरको उत्साहजनक समर्थन रहनु, केन्द्रीय योजनाको लाभ जनतासमक्ष पुर्‍याउनु र यसबारे बुझाउनु, अन्तिम समयमा भोटरहरूलाई बुथसम्म लगेर भोट हाल्न लगाउनुजस्ता सानातिना रणनीतिले पनि पार्टी फुटपछि अन्योलमा रहेको भाजपालाई जित हासिल गर्न मद्दत पुर्‍याए ।

अन्तमा, राष्ट्रवाद, हिन्दुत्व र कल्याणकारीजस्ता तीन स्तम्भले भाजपालाई राष्ट्रमा प्रभावशाली चुनावी शक्ति बनाएको निष्कर्षमा पुग्न सकिन्छ । भाजपाका केही कल्याणकारी योजनाहरू परम्परागत अर्थमा दक्षिणपन्थीका नभई वामपन्थीका जस्ता छन् । कल्याणकारी योजना, हिन्दुत्व र राष्ट्रवाद यस्तो अनौठो प्याकेज सिद्ध भएको छ, जसलाई हिन्दी ‘हार्टल्यान्ड’ का मानिसहरूले खोजिरहेका छन् । जबसम्म हिन्दुत्व र राष्ट्रवादजस्ता दुई अमूर्त आदर्शभन्दा बाहिरको केही प्रस्ताव गर्न कुनै पार्टीले सक्दैन, तबसम्म भाजपाले हिन्दी ‘हार्टल्यान्ड’ मा प्रभुत्व कायम राखिरहनेछ । फलस्वरूप, राष्ट्रमै फनि ।

प्रकाशित : चैत्र २२, २०७८ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?