कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रोजीरोटीकै लागि महिला कहिलेसम्म बिदेसिनुपर्ने ?

‘मैले चार वर्षसम्म गाली र कुटाइ सहँदै आधा पेट खाएर दिनको अठार–बीस घण्टासम्म काम गरें । आज सास मात्र लिएर रित्तो हात फर्कें ।’
सीता घिमिरे

मेरो घरको पल्लोपट्टि करिब २१–२२ वर्षकी झरना नेपाली (नाम परिवर्तन) भाडामा बस्छिन् । ज्याला–मजदुरी गरेर गुजारा गर्दै आएकी उनी एक दिन बिहानै अतालिँदै मेरो घर आइन् र आमा (रमा) ले कुवेतमा घरायसी काम गर्ने क्रममा दुःख पाएको, तलब नपाएको र साहुले घर फर्कन नदिएको कुरा सुनाउँदै भनिरहिन्, ‘ममी भारतको बाटो भएर कुवेत जानुभा’ चार वर्ष भयो ।

रोजीरोटीकै लागि महिला कहिलेसम्म बिदेसिनुपर्ने ?

पहिलो दुई वर्ष पैसा पनि पठाउनुभयो । त्यसपछि हरेक एक वर्ष पुग्नेबित्तिकै अर्को घरमा सारिदिन थालेछ । पैसा पनि खासै दिँदैन रे ! सुत्न पनि दुई–तीन घण्टा मात्र पाउनुहुन्छ रे ! यस्तो दुःख सहन नसकेर एक दिन ममी भागेर सडकमा भौंतारिरा’ बेला एक जना नेपाली ट्याक्सी ड्राइभरले दूतावाससम्म पुर्‍याइदिएछन् ।’ उनी सासै नफेरेझैं बोल्दै गइन्, ‘ममी दूतावास आइपुगेको पनि एक हप्ता भयो रे ! अब दूतावासको सरले तुरुन्त टिकट किन्ने पैसा घरबाट मगाऊ, नत्र जेल पठाइदिन्छौं भन्दै झर्को र फर्को गर्नुहुन्छ रे ! जेलमा पानी पनि किन्नुपर्छ रे ! ममीसँग त पानी किन्ने पैसासम्म छैन ।’

झरनाले भनेझैं, दूतावासले आफूकहाँ आएका नेपालीलाई जेल त पठाउँदैन, उनकी आमाले सायद घर फिर्ती केन्द्रलाई जेल भनेर बुझेकी थिइन् । झरना पीडा पोख्दै नै थिइन्, ‘ममीले पैसा खोजेर पठाउने भए पठा, नत्र मेरो लास देख्नुपर्ला भन्नुभयो । बाबा पनि कहिलेकाहीँ ज्यामी काममा जानुहुन्छ, पैसा भयो कि रक्सी खाएर झोक्राएर मात्र बस्नुहुन्छ । ममी मर्नुभयो भने म पनि मर्ने हो, ममीबाहेक मेरो कोही छैन । मेरो आफ्नो बाबाले त झन् रक्सी खाएर सधैं ममीलाई कुट्ने भएकाले नै त उहाँ यो बाबासँग आउनुभा’ हो ।’

झरनाबाट यति सुनिसकेपछि मैले सम्बन्धित निकायमार्फत कुवेतस्थित नेपाली दूतावासमा सम्पर्क गरें । विभिन्न निकायबाट रमालाई यथाशीघ्र सकुशल नेपाल फर्काउन अनुरोध भयो । त्यसपछि भने रमाले दूतावासका कर्मचारीहरूको राम्रो व्यवहारको अनुभव गर्न पाइछन् । प्रक्रिया सुरु गरेको महिनादिनभित्रै उनी नेपाल आइपुगिन् ।

अर्को एक बिहान सात बजेतिर मेरो घरको डोरबेल बज्यो । झरना एक महिलासाथ आएकी रहिछन् । ती महिला दुब्ली–पातली थिइन् । अनुहार पूरै चाउरी परेको, हातखुट्टाका नसानसा देखिने, करिब ५५ वर्षकी जस्ती । मैले अनुमान पनि गर्न सकिनँ, यिनै हुन् झरनाकी ४० वर्षीया आमा भनेर ! झरनाले हँसिलो अनुहारमा भनिन्, ‘ममी आउनुभयो नि आन्टी ! तपाईंलाई भेट्छु भन्नुभा’ भएर ल्याइदेको ।’ रमाले मास्क चिउँडोमुनिसम्म तान्दै भनिन्, ‘मलाई नेपाल फर्काइदिनुभयो, जिउँदै आउँछु भन्ने लाग्या थिएन, धेरै धन्यवाद । मैले चार वर्षसम्म गाली र कुटाइ सहँदै आधा पेट खाएर दिनको अठार–बीस घण्टासम्म काम गरें । आज सास मात्र लिएर रित्तो हात फर्कें । हजुरले सक्नुहुन्छ भने मेरो पैसा र पासपोर्ट पनि मगाइदिनुपर्‍यो । मलाई सन्चो पनि छैन, धेरै कुरा गर्ने तागत पनि छैन ।’ यति भनेर उनले मास्क तानेर नाकमुख छोपिन् । चिया खाँदै अरू केही कुराकानी गरेपछि आमा–छोरी बाहिरिए ।

रमाको अवस्थाले ममा अनगिन्ती प्रश्न उब्जाइदियो । उनले त्यत्रो समय विदेशमा हाड घोटेर पनि किन खाली हात फर्कनुपर्‍यो ? त्यो पैसा उठाइदिने जिम्मेवार निकाय को हो ? उनले त्यहाँ गाली र कुटाइ खाँदै दिनहुँ अठार–बीस घण्टा किन काम गर्नुपर्‍यो ? उनी राम्रो काम र तलब पाइन्छ भन्ने विश्वासमा भारतको बाटो हुँदै कुवेत जानुपर्ने अवस्था किन आयो ? बल्लतल्ल नेपाली दूतावास आइपुगेकी उनले कर्मचारीको झर्कोफर्को किन सुन्नुपर्‍यो ? फेरि तिनै मान्छेबाट अलि दिनपछि राम्रो व्यवहार किन भयो ? हुन त उनी सकुशल नेपाल फर्किइन्, यी प्रश्नको उत्तर दिनुपर्ने जिम्मेवार निकायहरूलाई यस्ता कथा–व्यथा थाहा नभएको होइन, तर आज हजारौं रमाले यो नियति किन भोगिरहनुपरेको छ ?

प्रथमतः बर्सेनि हजारौंको संख्यामा नेपाली महिला आफ्नो वेश, भूषा, भाषा, संस्कृति, खानपान केही नमिल्ने विदेशी भूमिमा जानुपर्ने बाध्यता किन आइपर्‍यो भन्नेमा प्रस्ट हुन जरुरी छ । झापा जिल्ला प्रशासन कार्यालयभित्र रहेको आप्रवासी स्रोत केन्द्र (एमआरसी) मा छ महिनायता पासपोर्ट बनाउने क्रममा ३,९३९ जना सूचना लिन आएका थिए । तीमध्ये १,३४६ (३४ प्रतिशत) महिला थिए । सबैजसोको चाहना भने विदेशमा काम गर्न जाने नै थियो, जसले कारण सोध्दा भनेका थिए- घरेलु हिंसा भोग्नु, बालबालिकाको पालनपोषणको जिम्मा आफूमा मात्र हुनु, घर–व्यवहार नहेर्ने तथा अत्यधिक जाँडरक्सी खाने श्रीमान् हुनु, खेतीपातीबाट घर–व्यवहार नचल्नु अनि स्वदेशमा परिवार धान्ने किसिमको काम नपाइनु । तीमध्ये करिब २५ प्रतिशतले कि भारतको बाटो भएर कि त भिजिट भिसामा काठमाडौंबाट विदेश जाने बताएका थिए । बाँकी महिलाहरूचाहिँ कम्पनीमा काम गर्ने भनी नेपालकै विमानस्थलबाट गए पनि घरायसी काममा पुग्छन् भन्ने कुरा सोझै अनुमान गर्न सकिन्थ्यो । भारतको बाटो भएर विदेश जाँदा छिटो र सजिलोसँग जान पाइनेमा उनीहरूको सम्पर्कव्यक्तिले दरैसँग विश्वस्त गराएको हुने रहेछ । त्यसैले पनि स्रोतकेन्द्रले नेपालको विमानस्थलबाट जानुका फाइदाहरू बताउँदा सबैजसो महिला ‘हामीलाई नेपालकै एयरपोर्टबाट काम गर्न जान त दिनुपर्‍यो नि सरकारले ! न यो देशमा काम दिन्छ न विदेशमा जान दिन्छ !’ भन्दै रिसाउने गर्छन् ।

सन् २०१९ मा पौरखी नेपालको सुरक्षित गृहमा वैदेशिक रोजगारीबाट फर्किएका जम्मा २७६ महिलाले आश्रय लिएका थिए, जसमध्ये १६० जना अलेखबद्ध अवस्थामा भई नेपाल फर्किएका थिए । आम्कास नेपालमा सन् २०२१ मा आश्रय लिएका ३९३ महिलामध्ये २१५ जना भारतको बाटो भएर गएका थिए र १७६ जना खाली हात फर्केका थिए । अलेखबद्ध अवस्थामा रहेको व्यक्तिलाई विदेशमा काम पाउन गाह्रो हुनुका साथै उसको आत्मबलसमेत घट्छ । फलस्वरूप एकातिर रोजगारदाताले त्यसको फाइदा उठाएर थोरै तलब दिने वा तलबै नदिने तथा हेला गर्ने हुन सक्छ भने, अर्कातिर यस्तो अवस्थाका नागरिक विदेशमा अप्ठ्यारोमा पर्दा नेपाल सरकारले साधारणतया मद्दत गर्दैन । यस्ता कामदारको विदेशमा मृत्यु वा अंगभंग भएमा सरकारले मृतकका बालबालिकालाई दिने छात्रवृत्तिजस्तो कुनै पनि सहयोग वा क्षतिपूर्ति दिँदैन ।

खाडी मुलुक र मलेसियामा घरायसी कामका लागि जानेहरूलाई नेपाल सरकारले सुरक्षाका कारण श्रम स्वीकृति दिनमा विभिन्न खाले सर्त राख्दै तथा प्रतिबन्ध लगाउँदै आएको छ । २०६९ सालमा ३० वर्षभन्दा कम उमेरका महिलालाई खाडी मुलुक जान रोक लगाइएको थियो । २०७२ सालमा उक्त उमेर हदलाई कम गरेर २४ वर्षमा झारिएको थियो भने २०७४ सालमा खाडी मुलुकमा घरायसी कामका लागि जान प्रतिबन्ध नै लगाइयो । हाल आएर उक्त प्रतिबन्ध खोलिएझैं देखिन्छ तर सात सर्त पूरा भएको अवस्थामा मात्र श्रम स्वीकृति दिइने प्रावधान छ । त्यस्ता सर्तहरूमध्ये एउटा हो- दुई सरकारबीच श्रम सम्झौता भएको हुनुपर्ने । हाल नेपाल–जोर्डनबीच मात्र घरेलु महिला कामदार सम्बन्धी श्रम सम्भौता भएको छ । यो अवस्थामा घरेलु कामका लागि खाडी मुलुक र मलेसियामा जान चाहने व्यक्तिले श्रम स्वीकृति पाउने त कुरै भएन । यस्तै कारणले गर्दा आर्थिक वर्ष २०७३–७४ मा ३३,५२० महिलाले श्रम स्वीकृति लिएकामा २०७७–७८ मा त्यो संख्या ११,४५६ मा झरेको थियो । यसको मतलब महिला वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यतामा सुधार आएर यस्तो भएको चाहिँ होइन भन्ने तथ्यको पुष्टि, माथि उल्लिखित, भारतको बाटो भएर खाडी मुलुक जाने महिलाको संख्याले गर्छ ।

हाल खाडी मुलुक र मलेसिया जाने घरेलु कामदारका लागि सहज श्रम स्वीकृति दिनुपर्ने विषयमा नीतिनिर्माणको तहमा व्यापक छलफल चलिरहेको छ, जुन आफैंमा सकारात्मक पक्ष हो । यसो भन्दैमा घरेलु कामदारको सुरक्षा र अधिकार प्राप्तिका लागि बिनातयारी श्रम स्वीकृति खुला मात्र गर्नुचाहिँ सतही तथा क्षणिक लोकप्रियताका लागि गरिएको निर्णय मात्र हुनेछ । यसो त सरकारले हालै खाडी मुलुक र मलेसियामा रहेका घरेलु कामदारका लागि पुनः श्रम स्वीकृति दिने निर्णय गर्नुलाई भने स्वागतयोग्य मान्नुपर्छ । स्मरण रहोस्, घरेलु कामदार भन्नाले केवल महिला मात्र नभएर घरभित्रका काम गर्नेसहित ड्राइभर, मालीजस्ता पुरुषहरू पनि पर्छन् ।

हाल मैले घरमा काम सघाइरहेकी धादिङकी अनिता घलेको वैदेशिक रोजगारीमा जाने छटपटी दिनहुँ देख्दै आइरहेकी छु । करिब ३५ वर्षकी अनिताका श्रीमान् अर्की केटी लिएर सहरमा बसेका छन् । अनिता दुई बच्चा लिएर माइत बसेकी छन्, दाजुभाइसँग । उनले मलाई काम सघाउन थालेको एक वर्ष भयो । आएको एकै महिनामा भनेकी थिइन्, ‘दिदी, मलाई म्यानपावरले कतारमा काम लगाइदिन्छु, १ लाख २० हजार ठिक्क पार भन्या छ । त्यही पैसा जुटाउन यहाँ काम गरेको ।’ मैले स्वदेशमै गर्न सकिने विभिन्न कामका बारेमा जानकारी दिँदा पनि केही नलागेपछि नेपालकै विमानस्थल प्रयोग गरेर, केही न केही सीप सिकेर मात्र जानुपर्छ भनें । उनी घरीघरी भन्ने गर्छिन्, ‘अबको एक हप्तामा उडाउँछ रे ! पैसा मागिसक्यो ।’ हाल उनी पैसा तिरेको रसिद माग्न र कामका बारेमा प्रश्न गर्न सक्ने भएकी छन् । त्यही भएर होला, उनीसँगै त्यताको प्रक्रिया सुरु गर्ने धेरै जना उडिसक्दा पनि उनको पालो आएको छैन । उनीचाहिँ ‘बच्चालाइ भेट्न साह्रै मन छ तर घर जान मिलेन, बोलाइहाल्यो भने त’ भन्दै हरपल तयारी अवस्थामा बसिरहेकी छन् ।

जति नै रमाहरू सास मात्रै वा लास मात्रै लिएर फर्केको देखे पनि अनिताहरूले वैदेशिक रोजगारी नै रोज्नुपर्ने बाध्यताको अन्त्य कसरी होला ? छोरीको शिक्षादीक्षामा जोड दिन र सामाजिकीकरणसँगै सशक्तीकरण गर्न अनि छोराको सामाजिकीकरणको तौरतरिकामा परिवर्तन गर्दै उसलाई जिम्मेवार पति र बाबु बन्न उत्प्रेरित गर्न तथा यसरी वैदेशिक रोजगारीका क्षेत्रमा मौलाइरहेको कुशासनको अन्त्य गरी सुशासन स्थापना गर्न सकेमा हजारौं अनिता र रमाका पनि दिन फिर्ने थिए ।

घिमिरे सुरक्षित आप्रवासन परियोजनामा आबद्ध छिन् ।

प्रकाशित : चैत्र २०, २०७८ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?