कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

युवा-सपनामाथि पुटिनको प्रतिबन्ध

जीवन क्षेत्री

रुसले युक्रेनमाथि भीषण युद्ध सुरु गरेयता, ‘द गार्डियन’ पत्रिकाको एउटा रिपोर्ट अनुसार, मस्कोमा बस्ने डिमिट्री नामका युवकले आफ्ना बाआमालाई युक्रेनमाथिको रुसी अतिक्रमणबारे बुझाउने प्रयास गरे । त्यसका लागि इन्टरनेटबाट रुसी अतिक्रमणका अनेक भिडियो क्लिप र समाचारहरू देखाए । तर बाआमाले निरन्तर भनिरहे- यो युद्ध, आक्रमण वा अतिक्रमण हैन, युक्रेनी जनतालाई नाजीहरूबाट बचाउने ‘स्पेसल अपरेसन’ हो । 

युवा-सपनामाथि पुटिनको प्रतिबन्ध

छोराका विचारमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन डरलाग्दो रक्तपिपासु तानाशाह हुन्, बाआमाका विचारमा पुटिन रुसीहरूका लागि महान् देशभक्त नेता हुन् अनि युक्रेनीहरूका लागि मुक्तिदाता । डिमिट्रीले बाआमालाई जति सम्झाउन कोसिस गरे, पुटिनप्रतिको उनीहरूको भक्ति उति नै बढ्यो । घरको द्वन्द्व असह्य भएपछि उनी त्यहाँबाट निस्के । लगत्तै आमाले उनलाई एसएमएस गरिन्- तैंले हाम्रो देशप्रति गद्दारी गरिस् । अनि बाबुले उनलाई एउटा समाचारको लिंक पठाए जस अनुसार दक्षिण–पूर्वी युक्रेनको मरिउपोलको मातृ–शिशु अस्पतालमाथिको भीषण आक्रमण रुसले गरेको नभई युक्रेन आफैंले मञ्चन गरेको नाटक हो । घाइते भएका भनेर पश्चिमा मिडियामा देखाइएका आमाहरू अभिनय गर्ने कलाकार हुन् ।

यसरी अहिले रुसमा पुरानो र नयाँ पुस्ताका मानिसहरू पूर्ण रूपमा भिन्न सूचनाका संसारहरूमा विचरण गरिरहेका छन् । यीमध्ये मूलतः टेलिभिजनबाट सूचना र समाचार हेर्ने पुरानो पुस्ताले रुसको सरकारी च्यानलले जे भन्छ त्यसलाई दुरुस्त स्विकार्ने गरेको छ । अर्कातिर, सानैदेखि इन्टरनेटबाट सबै खालका सामग्रीमा पहुँच पाएको नयाँ पुस्ताले भने सरकारी सूचनामाथि चरम अविश्वास र आलोचनात्मक चेत विकास गरेको छ । अहिलेको युक्रेन युद्धमा दुवै पक्षको अडान छ- अर्को पक्ष यथार्थबारे पूर्ण रूपमा दिग्भ्रमित छ ।

यसरी जनसंख्याको ठूलो हिस्सासम्म पुग्ने सूचना प्रवाहमा सरकारी सञ्चारमाध्यमहरूमार्फत एकाधिकार कायम गरेका कारण पुटिन अहिलेसम्म रुसभित्र युद्धको विनाश र बीभत्सतामाथि पर्दा हाल्न सफल भएका छन् । तर उनको कदमले सिंगो रुस र त्यहाँको खास गरी युवा पुस्ताको भविष्यलाई भने अन्धकारतिर धकेलिरहेको छ । रुसमा यस्तो अवस्था एकाएक आएको भने हैन । त्यसका ऐतिहासिक कारणहरूबारे अहिले संसारभर धेरै मिडियामा व्यापक चर्चा भइरहेको छ । तर डिमिट्रीको अनुभवले मलाई भने अन्ना क्रेस्निख नामक एक रुसी युवतीले मसितको संवादमा भनेका कुराहरूलाई ताजा बनाइदियो । २०७५ सालमा भारतमा एउटा लामो बस यात्रामा सँगै परेकी अन्नासित संवाद सुरु गर्दै मैले सोधेको थिएँ, ‘रुसीहरूको मुड अहिले कस्तो छ ?’

उनले भनिन्, ‘पुस्ता अनुसारका तीनथरी मुड छन् रुसमा । पहिलो, सोभियत रुसको स्वर्णकाल देखेका मेरा हजुरआमा–हजुरबाको पुस्तालाई बितिसकेको समयको नोस्टाल्जियाले गाँजेको छ र ती अहिलेको अवस्थाप्रति चरम असन्तुष्ट छन् । दोस्रो, सोभियत शासनको अन्तिम दशकको हाहाकार र नब्बेको दशकको डाँवाडोल भोगेका मेरा आमा–बाको पुस्तालाई लाग्छ, जे भए पनि अहिलेको अवस्था त्यसभन्दा राम्रो छ । उनीहरू कुनै पनि खालको अस्थिरताको सम्भावनाबाट त्रस्त छन् । अनि हाम्रो पुस्ता ।’ यति भनेर अन्नाले लामो सास फेरिन् । लाग्थ्यो, उनलाई आफ्नो पुस्ताको ‘मुड’ बताउन सकस परिरहेको छ ।

अन्नाका बज्यैहरूको पुस्ताले देखेको सोभियत शासनको स्वर्णकाल सन् १९५०–७० तिरको हुनुपर्छ । सन् १९५७ मा सोभियत संघ विश्वमै पहिलोपल्ट अन्तरिक्षमा कृत्रिम उपग्रह पठाउन सफल भएको थियो । अन्तरिक्ष पहिले पुग्ने होडमा रहेको अमेरिकालाई उछिनेसँगै दुई पक्षको प्रोपगान्डा युद्धमा पनि सोभियत संघको पल्ला भारी भएको थियो । त्यही समय उता अमेरिकामा सिभिल राइट्स आन्दोलन चर्केर त्यहाँको विभेद र शोषण उदांगो भइरहेको थियो । यता समानता र भ्रातृत्वसहितको सर्वहारा शासन भएको देश भनेर संसारभरका उपेक्षित र उत्पीडितहरूले सोभियत संघलाई उदाहरणका रूपमा हेर्न थालेका थिए । सोभियत साम्यवाद सुरु भएको केही दशकमा अर्को विशाल मुलुक चीनले पनि साम्यवाद अँगालेको थियो । त्यससँगै बोल्सेभिक र चिनियाँ क्रान्तिको सफलता अन्यत्र दोहोर्‍याउन वाम पार्टीहरू लागिपरेका थिए ।

सिभिल राइट्स आन्दोलनको सफलतासँगै नस्लीय विभेद न्यूनीकरणमा अमेरिका केही अघि बढे पनि त्यो यात्रा निकै घर्षणमय थियो । सन् १९६४ मा सिभिल राइट्स कानुन त बन्यो तर १९६८ मा मार्टिन लुथर किङ जुनियरको हत्या भयो र देशव्यापी दंगा फैलियो । दंगाकारीहरूलाई नामेट पारी अमन–चयन फर्काउने वाचा गरेर रिचर्ड निक्सनले अमेरिकाको राष्ट्रपतीय चुनाव जिते । यसरी अमेरिकामा अश्वेतहरूले पाएका धेरथोर अधिकार कुल्चेर जाने प्रयास भइरहँदा पश्चिमा विश्वका अरू दर्जनौं देशमा संस्थापनविरोधी आन्दोलनहरू चर्केका थिए । ती देशका राजधानीका सडकहरूमा एकसाथ पुँजीवाद, साम्राज्यवाद र नस्लभेदविरोधी नाराहरू घन्केका थिए । खास गरी फ्रान्समा सन् १९६८ मा एक करोडभन्दा बढी श्रमिकले आन्दोलनमा उत्रेर सरकारलाई घुँडा टेकाएका थिए ।

त्यो माहोलमा संसारभरका वामपन्थी दलहरू मात्रै नभई बौद्धिकहरूले समेत प्रेरणा र मार्गनिर्देशनका लागि मस्कोतिर हेर्नु स्वाभाविक थियो । लगत्तैको भियतनाम युद्धमा अमेरिकी युद्ध संयन्त्र संसारभर बदनाम मात्रै भएन, अपमानित भएर फर्क्यो पनि । उत्तर कोरिया, क्युबा र भियतनाममा अमेरिकाको इच्छाविपरीत सोभियत संघ पक्षधर साम्यवादीहरू सत्तामा पुगेपछि प्रभाव र प्रतिष्ठाको लडाइँमा वासिङ्टनभन्दा मस्को धेरै कदम अगाडि परेको थियो ।

तर शीतयुद्धको सामरिक सन्तुलन लामो समय त्यस्तै रहेन । अन्नाकी आमाको पुस्ताले करिअर सुरु गर्ने बेला अर्थात् ’७० को दशकमा परिस्थिति फेरिन थालेको थियो । अनि ’८० को दशकमा यसरी पासा पल्टेको थियो कि, सन् १९९० मा पुग्दा सोभियत संघ विघटनको संघारमा थियो । केन्द्रीय योजनामा आधारित सोभियत अर्थतन्त्रले पश्चिमा देशका अर्थतन्त्रहरूलाई टक्कर दिन छाडेको दशकौं भइसकेको थियो । साम्यवाद ‘निर्यात’ गर्दै अफगानिस्तान पुगेको सोभियत संघलाई मुजाहिद्दिन लडाकुहरूले ठूलो धनजनको क्षति पुर्‍याइदिएका थिए । मुखले साम्राज्यवादको निन्दा गर्दै सोभियत संघले सर्लक्क निलेका वा बलपूर्वक साम्यवाद लादेका पूर्वी युरोपका मुलुकहरू स्वतन्त्रताका लागि अधीर थिए । १९८९ मा बर्लिन पर्खाल ढालिएसँगै सोभियत साम्यवादको अन्त नजिकिँदै गएको थियो ।

आखिर एक दिन सोभियत संघ धानिन सकेन र ढल्यो । उद्योग, कलकारखाना लगायत सारा सम्पत्ति राज्यको हुने व्यवस्था रातारात व्यक्तिको हुने व्यवस्थामा बदलियो । रुसलगायत नवजात गणराज्यहरूमा सीमित मानिसले ती सम्पत्ति हत्याए । हरेक नवजात देशमा औंलाले गन्न सकिने मानिसहरू करोडपति वा अर्बपति भए, आम नागरिकका हातमा अभाव र गरिबी पर्‍यो । अनि पहिले राज्यले दिने गरेको निःशुल्क शिक्षा र स्वास्थ्य सेवा पनि अब रहेनन् । आफ्ना बाआमाको पुस्ताको मुड बुझाउन अन्नाले प्रयोग गरेको ‘असीको दशकको अभाव र नब्बेको दशकको डाँवाडोल’ शब्दावलीभित्र सोभियत संघको पतन र रुसको नवजात शिशु गणतन्त्रले भोगेका यी यावत् पीडा लुकेका थिए ।

त्यसपछि अन्नाले आफ्नो पुस्ताको दुःख बिसाइन्, ‘हाम्रो पुस्ता बिलखबन्दमा छ र क्रुद्ध छ । पुटिनको शासनमा यति भ्रष्टाचार छ, यस्तो मनपरी छ, संसार अघि बढ्दै गर्दा रुस पछिल्तिर खस्किँदै गइरहेको छ । न शिक्षा अनुसारको काम, न काम अनुसारको प्रगतिको सम्भावना । न समाजमा छाप छाड्ने र केही गर्ने अवसर । रुसमा युवाहरू निसासिइरहेका छन् ।’

चीनमा अंग्रेजी भाषा पढाएर जीविका चलाइरहेकी अन्नालाई अनि मैले सोधें, ‘अहिलेको चिनियाँ समाजसित रुसी समाजको कसरी तुलना हुन्छ त ?’

उनले भनिन्, ‘कहिलेकाहीँ म केही महिना रुसमा बिताउँछु । जब बिदा सकेर काममा चीन फर्कन्छु, आफू बसेको सहरको अनुहार फेरिइसकेको हुन्छ । पहिलेका पसल, होटल र क्याफेहरू भत्केर तिनका ठाउँमा नयाँ संरचनाहरू स्थापित भइसकेका हुन्छन् । सबै कुरा नयाँनयाँजस्तो । जब कि रुसको कुनै सहरमा पन्ध्र वर्षपछि फर्केर जाँदा पनि ऊ बेलाको क्याफे जस्ताको तस्तै हुन्छ । माहोल पनि उस्तै । एक हदसम्म त रमाइलो र आफ्नोपनको अनुभूति हुन्छ, तर समाज यति गतिहीन हुनु पनि राम्रो हो र ?

‘मेरा कति युवा साथीहरू सरकारी सेवामा छिरेका छन् । तर त्यहाँ तिनको केही चल्दैन । साठी कटेका र भविष्यतिर फर्केर सोच्ने क्षमता गुमाइसकेका मानिसहरू तिनका बोस छन् । तिनका हातखुट्टा बाँधिएजस्तै छ र गर्न खोजेर पनि उनीहरूले कुनै सुधार गर्न सक्दैनन् । चिनियाँहरूसित आर्थिक प्रगतिका कारण चित्त बुझाउने बाटो छ तर हामीसित त केही पनि छैन । फेरि धेरै युवा चिनियाँहरू बाहिरको संसारलाई राम्रोसित हेर्दै नहेरी हुर्किरहेकाले समाज कतिसम्म खुला र स्वतन्त्र हुन सक्छ भन्ने उनीहरूलाई अनुमान नै छैन । तर रुसीहरू त रातदिन बाहिरी विश्वको प्रगति र खुलापन हेरेर हुर्किरहेका छन् अनि आफू कति अवसरबाट विमुख र कुण्ठित छौं भन्नेमा सचेत छन् । यसले पनि रुसी युवाहरूको अवस्थालाई झनै पीडादायी बनाएको छ ।’

अन्ना र डिमिट्रीजस्ता रुसी युवाहरू पश्चिमा विश्वको जस्तो खुलापन र स्वतन्त्रताका लागि तड्पिरहेका छन् । तर पुटिनको युक्रेन अतिक्रमणपछि अहिले रुस बाँकी विश्वसित सूचनाको खुला आदानप्रदान रोक्न चिनियाँ इन्टरनेटको जस्तै ‘फायरवाल’ खडा गर्ने प्रक्रियामा छ । रुसी युवाहरूले देखेका सपना युक्रेन युद्धअगाडिको रुसमा असम्भव प्रतीत हुन्थे, अब ती प्रतिबन्धित हुने क्रममा छन् । किनकि पुटिनको हिंस्रक र उग्र राष्ट्रवादी दर्शनमा ‘गद्दार’ युवाका सपना र चाहनाहरूको कुनै अर्थ छैन । तर यथार्थ के हो भने, रुसको भविष्य त पुटिन लगायतको त्यहाँको वृद्ध पुस्ता हैन, युवाहरू नै हुन् । त्यसैले युवाहरूलाई क्षुब्ध र हतोत्साहित बनाएर पुटिनले भविष्यको रुसलाई नै कमजोर बनाउँदै छन् । सायद रुस देशप्रति सबैभन्दा ठूलो गद्दारी त्यही हो ।

प्रकाशित : चैत्र ११, २०७८ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?