कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८२
लुम्बिनीको सामर्थ्य

विगतको विकास, भविष्यको भरोसा

नेपालले अरु कुनै काम गर्नुपर्दा स्रोतको अभाव हुन सक्छ, तर लुम्बिनीका निम्ति स्रोतको अभाव हुँदैन, यहाँ सहयोग गर्न तँछाडमछाड हुन्छ ।

मानिसले ठूल्ठूला प्रगति हासिल गरेका छन् । अरू नयाँ प्रगति पनि हासिल गर्लान् । नयाँ–नयाँ सिर्जना गर्दै जान सक्लान् । तर अर्को लुम्बिनी बनाउन सक्दैनन् । त्यसैले लुम्बिनी पृथ्वीकै महत्त्वपूर्ण सम्पदा हो । यसबाट नेपालले लाभ लिन सक्नुपर्छ ।

विगतको विकास, भविष्यको भरोसा

विश्वको जनसंख्याको ठूलो हिस्सा बुद्ध धर्मावलम्बीहरूको छ । हामी तिनको बीच भागमा पर्छौं । चीन, जापान, थाइल्यान्ड, भियतनाम, कम्बोडिया, श्रीलंका, म्यानमार जस्ता धेरै बुद्धिस्ट देशको बीचमा छौं । उनीहरूका निम्ति जीवनमा एकचोटि पुग्नैपर्ने महत्त्वपूर्ण गन्तव्य लुम्बिनी हो ।

तर लुम्बिनीलाई त्यस रूपले विकास गर्न यथेष्ट पहल हुन सकेन । लुम्बिनीले जुन उचाइ प्राप्त गर्नुपर्ने हो, त्यो बाँकी नै छ । विश्वविख्यात इन्जिनियर स्वर्गीय केन्जो टांगेलाई बोलाएर लुम्बिनीको गुरुयोजना तयार गर्न लगायौं । उनले आफ्नो जीवनमा निर्माण गरेका योजनामध्ये यसलाई महत्त्वपूर्ण मान्थे । सबैभन्दा बढी मिहिनेत गरेको योजना कुन हो भन्दा, लुम्बिनी भन्थे । उनका योजनाहरूमा बुद्धका विचार, बुद्धकालीन सभ्यता छ । अहिलेको बुद्धिस्ट युगसँग मिल्ने हिसाबले उनले योजना बनाएका छन् ।

गुरुयोजना तयार भएको ४० वर्ष भइसक्यो । तर अहिले पनि कार्यान्वयन भइसकेको छैन ।

नेपालले अरू कुनै काम गर्नुपर्दा स्रोतको अभाव हुन सक्छ । तर लुम्बिनीका निम्ति स्रोतको अभाव हुँदैन । यहाँ सहयोग गर्न तँछाडमछाड हुन्छ । तर पनि गुरुयोजना कार्यान्वयनको गति धीमा भयो । यसको पीडाबोध केन्जो टांगेलाई पनि हुन्थ्यो । प्रगति नभएपछि उनी दिक्क मानेर नेपाल आउनै छाडेका थिए । पीडाबोध भएर ‘एन’ अक्षरप्रति उनको मोहभंग भएको रहेछ । ‘एन भन्दा नेपाल सम्झिन्छु अनि लुम्बिनी सम्झिन्छु । आफूले बनाएको त्यसको गुरुयोजना कार्यान्वयन भएन भन्ने कुराले पीडाबोध हुन्छ,’ उनी भन्ने गर्थे ।

नेकपा एमाले सरकारमा आएपछि यसलाई कार्यान्वयन गर्ने तत्परता देखायो । अध्यक्ष केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री भएका बेला अर्थमन्त्रीका हैसियतले म र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको हैसियतमा आनन्द पोखरेल लुम्बिनी गयौं । सबै स्थितिको जानकारी लियौं । बृहत् छलफलपछि तीन वर्षभित्र सबै निर्माण गरेर सकिन्छ भन्ने हिसाबले गुरुयोजना घोषणा गरियो । नौ महिनामै हामी सरकारबाट बाहिरियौं ।

ओली दोस्रो पटक प्रधानमन्त्री भएपछि मैले अर्थमन्त्रीका हैसियतमा फेरि काम अघि बढाएँ । ७ अर्ब ३३ करोड रुपैयाँ बजेटसहित बहुवर्षीय ठेक्काका रूपमा स्वीकृत गरियो । अहिले त्यो बजेटलाई सदुपयोग गरेर ठीक ढंगले काम गर्ने हो भने लुम्बिनीको गुरुयोजना पूर्ण रूपमा कार्यान्वयन हुनेछ । राम्रो तयारी गरेर समयमै गुणस्तरीय काम सम्पन्न गर्नेतर्फ पर्यटन मन्त्रालय र लुम्बिनी विकास कोष लाग्नुपर्छ । यो लुम्बिनी र रूपन्देहीको मात्रै आयोजना होइन, राष्ट्र्रको हो । यो विश्व समुदायको आकर्षणको केन्द्र हो ।

लुम्बिनीका लागि हामी २०५१ सालदेखि नै योजनाबद्ध काम गर्ने गरी अघि बढेका थियौं । त्यति बेला लुम्बिनी अञ्चलबाट प्रतिनिधिसभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सांसदहरूको भेला गरियो । लुम्बिनी विकासका साझा मुद्दा पहिचान गरौं भनेर संयुक्त रूपमा अगाडि बढ्न पहल भयो । लुम्बिनी विकासको गुरुयोजना सम्पन्न गर्ने र ‘ग्रेटर लुम्बिनी मास्टर प्लान’ बनाएर कार्यान्वयन गर्ने भनियो । लुम्बिनी विश्वविद्यालय स्थापना अर्को विषय थियो । लुम्बिनी अञ्चलका ६ वटा जिल्ला जोड्ने गरी चक्रपथ निर्माण गर्ने र रूपन्देहीमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने भनियो । र, प्रतिनिधिसभा र राष्ट्रिय सभामा कायम रहेका सबै दलका १६८ सांसदको हस्ताक्षर संकलन गरियो ।

१. ग्रेटर लुम्बिनीमार्फत स्वाभिमानसँगै आम्दानी

लुम्बिनी गौतम बुद्धको जन्मस्थानका साथै तिलौराकोटका राजा शुद्धोधनको दरबार भएको ठाउँ हो । जहाँ बुद्धको बाल्यकाल र किशोर अवस्था बित्यो, जुन दरबारबाट गौतम बुद्ध बाहिर निस्किए । यसको आसपासमा महत्त्वपूर्ण ठाउँ छन् ।

बुद्धका शरीरका अंग (अस्तु) राखिएका सबै ठाउँको उत्खनन गरिएको छ । तिनलाई विभिन्न ठाउँमा वितरण पनि गरिएको छ । एउटा नवलपरासीको रामग्राममा छ । बुद्धको अंग छ भन्ने कुरा पुरातात्त्विक रूपमा प्रमाणित छ, उत्खनन भएको छैन । बुद्धको मावली रूपन्देहीको देवदहमा छ । रामग्राम र आसपासका क्षेत्रलाई पनि समावेश गरेर अर्को गुरुयोजना बनाउनुपर्छ । यी सबैलाई जोडेर ‘ग्रेटर लुम्बिनी मास्टर प्लान’ बनाउनुपर्छ भन्ने प्रस्ताव २०५१ सालमै हामीले अघि सारेका थियौं । यसको मुख्य केन्द्र लुम्बिनी हो । किनभने त्यो ठाउँबाट केही किलोमिटर पूर्व–पश्चिम, उत्तर–दक्षिण भाग समावेश गरेर अर्को बृहत् लुम्बिनी योजना बनाऔं भन्ने हो । ‘ग्रेटर लुम्बिनी’ गुरुयोजना निर्माण गरेर कार्यान्वयन गरिहाल्नुपर्छ ।

लुम्बिनी गुरुयोजनालाई जसरी ४० वर्ष लगाउने हो भने यसको अर्थ हुँदैन ।

२. ५० वर्षको आवश्यकता पूरा गर्ने अन्तर्राष्ट्रिय विमानस्थल

२०५१ सालमै हामीले रूपन्देहीमा अन्तर्राष्ट्रिय विमानस्थल चाहिन्छ भनेर आवाज उठायौं । सरकारले पनि दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका निम्ति सम्भावित ठाउँको अध्ययन गर्न एउटा संस्थालाई जिम्मा दियो । नेपालगन्ज, दाङ, रूपन्देही, जनकपुर, निजगढ, विराटनगर सबैतिर हेरेर अन्य ठाउँमा सम्भव छैन, निजगढमा मात्र सम्भव छ भनेर प्रतिवेदन दियो ।

हामीले चुनौती दिँदै अन्तर्राष्ट्रिय विमानस्थल निर्माण रूपन्देहीमा सम्भव छ, हामी बनाउँछौं भनेर अभियान थाल्यौं । सम्भव छैन भन्नेहरूले आलोचना गरिरहे, हामीले प्रयास गरिरह्यौं । सरकारी निकायहरूले अन्तर्राष्ट्रिय विमानस्थल किन चाहियो, क्षेत्रीय विमानस्थल भए पनि हुन्छ भन्थे । हुँदै नहुनुभन्दा क्षेत्रीय भए पनि हुन्छ भनेर हामीले सहमति जनायौं । त्यसलाई विस्तार गरेर पछि अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सकिन्छ भन्ने सोच भने थियो ।

क्षेत्रीय विमानस्थलका लागि त्यति बेला एसियाली विकास बैंक (एडीबी) ले ऋण लगानी गर्ने भयो ।

विस्तृत योजना प्रतिवेदन (डीपीआर) बन्यो, टेन्डर भयो, निर्माणको काम सुरु भयो । निर्माण हुँदै गर्दा तत्कालीन प्रधानमन्त्री ओलीले अर्थमन्त्री भएका बेला मलाई आकस्मिक रूपमा भैरहवा लिएर जानुभयो । विमानस्थल निर्माण र डीपीआरको अवस्था के भनेर उहाँले सबै ब्रिफिङ गर्न लगाउनुभयो । पार्किङ, ट्याक्सी वे, रनवे, टर्मिनल बिल्डिङलगायत सबैबारे जानकारी लिनुभयो । उहाँले यो अन्तर्राष्ट्रिय विमानस्थल हुनुपर्छ, त्यसका लागि के गर्नुपर्छ भनेर त्यहाँका आयोजनाका अधिकारीहरूलाई सोध्नुभयो । आयोजनाले ५ सय बिघा थप जग्गा अधिग्रहण गर्नुपर्छ भन्ने कुरा आयो । उहाँले तत्कालै जग्गा अधिग्रहण गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा ल्याउन निर्देशन दिनुभयो । सुविधा र संरचनाका हिसाबले आधुनिक टर्मिनल भवनको डिजाइन गर्न निर्देशन दिनुभयो । नभन्दै हामीले एक महिनामा जग्गा अधिग्रहणको प्रस्ताव मन्त्रिपरिषद्मा लग्यौं । जग्गा अधिग्रहण गर्दा २५ अर्ब खर्च भएको थियो ।

हाम्रो ५० वर्षको आवश्यकता पूरा हुने गरी अहिले आधुनिक भवनको डिजाइन भएको छ । अब थप २१ अर्ब रुपैयाँ बजेट लाग्ने भयो । यसका लागि सुरुमा हामीले १४ अर्ब रुपैयाँ

छ्ट्यायौं । यसमध्ये ७ अर्ब लगानी गर्न एडीबी तयार भयो । बाँकी ७ अर्ब सरकारले राख्नुपर्नेछ । म अर्थमन्त्री हुँदा यी सबै काम गरी अब अन्तर्राष्ट्रिय टेन्डर गरेर निर्माणको काम अघि बढाउने भन्नेमा पुगिएको थियो । सरकारबाट हामी बाहिरिएपछि त्यत्रो बजेट किन चाहियो भनेर अहिलेको सरकारले भने रोकेको छ ।

यो आयोजना निर्माण सम्पन्न हुनसके अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमताको हुने थियो । सबै जहाज अवतरण र उडान गर्न सकिन्छ ।

पहिलो चरणमा हामी उद्घाटनको बिन्दुमा पुगेका छौं । परीक्षण उडान पनि भइसकेको छ । तर दोस्रो चरणको काम भने रोकिएको छ । सबै तयारी पूरा हुँदासमेत अर्थ मन्त्रालयबाट बजेट किन रोकिएको हो, आश्चर्यको विषय हो ।

अहिले यसमा हवाई रुटको पनि समस्या छ । हामीले भारतसँग कुराकानी सुरु गरेका छौं । तर्कपूर्ण संवादका माध्यमबाट रुट तय गर्न सकिन्छ । छिमेकीहरू एकअर्कालाई आश्वस्त पार्न सक्ने क्षमता सरकारले राख्नुपर्छ । भारतलाई हामीले यो नेपालको आवश्यकता हो, यसका पक्षमा भारत सकारात्मक हुनुपर्छ भन्न सक्नुपर्छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको तुलनामा धेरै आधुनिक र व्यवस्थित विमानस्थल भैरहवामा हुनेछ । यसले देशको अर्थतन्त्रमा धेरै ठूलो योगदान गर्नेछ ।

३. बहुविषयक लुम्बिनी विश्वविद्यालय

अहिले लुम्बिनी विश्वविद्यालयको केन्द्रीय क्याम्पस लुम्बिनीभन्दा बाहिर तर नजिकै छ । पर्याप्त पूर्वाधार, जनशक्ति र संकाय छैनन् । त्यसलाई केवल बुद्धिजम मात्र पढाउने विश्वविद्यालयका रूपमा परिभाषित गर्न खोजिएको थियो । बुद्धिजम त्यसको एउटा महत्त्वपूर्ण तत्त्व हो । अरू संकाय पनि चलाउनुपर्छ भनेर बहुविषयक विद्याललका रूपमा अगाडि बढाउने निर्णय गरेका थियौं ।

धेरै ठूलो मिहिनेतपछि लुम्बिनी विश्वविद्यालय स्थापना गर्ने ठाउँमा पुग्यौं । लुम्बिनी विश्वविद्यालयका लागि मायादेवीको माइती देवदहमा ६५ हेक्टर जमिन व्यवस्था गरिएको छ । लुम्बिनी विश्वविद्यालयमा आधुनिकतम् विश्वविद्यालयका रूपमा संरचना निर्माण गरिनेछ । डिजाइनको काम भइरहेको छ । आवश्यक स्रोत प्रबन्ध गर्दै लुम्बिनी विश्वविद्यालयलाई त्यो उचाइमा उठाउने हिसाबले काम गर्नेछौं ।

४. पूर्वाधारमा लुम्बिनी अवधारणा

लुम्बिनीमा पूर्वाधार निर्माणका दृष्टिकोणले एउटा मोडल बनाउनुपर्छ भन्ने सोच र तत्परता हो । यस दृष्टिकोणले केही महत्त्वपूर्ण काम भएका छन् । ६ लेन सडकको अवधारणा लुम्बिनीबाट सुरु भएको हो । बुटवल–भैरहवा–सुनौली सडक निर्माण गर्न खोज्दा धेरैले ‘के गर्न खोजेको ?’ भन्थे । बुटवल–सुनौली सडक अहिले पूरा भएको छ ।

बुटवलको चौराहाबाट पहाडको फेदीसम्म सडक विस्तारको काम अघि बढेको छ । बुटवल–सुनौली सडक पहाडको फेदीसम्म पुग्नेछ ।

बुटवलबाट गैंडाकोटसम्म सडक विस्तारको काम भइरहेको छ । दाउन्नेमा सुरुङमार्गको अध्ययन भइरहेको छ । बुटवलबाट गोरुसिंगे कपिलवस्तुसम्म एडीबीले डिजाइन गरिरहेको छ, जसमा विश्व बैंकले लगानी गर्दै छ । केही समयभित्र यसको पनि निर्माण प्रक्रिया अघि बढ्नेछ । कतिपय ठाउँमा हुलाकी सडक बनिसकेको छ । भैरहवाबाट लुम्बिनी जाने हुलाकी सडक चार लेनको छ । त्यहाँबाट तौलिहवा चार लेनको सडक, अर्कोतिर परासी हुँदै त्रिवेणीसम्म त्यही ढंगले हुलाकी सडक बन्नेछ । रूपन्देही र पाल्पाको सिमानामा पर्ने सिद्धबाबामा ढुंगा खसेर गाडीमा लाग्ने, मानिसको ज्यान जाने जाने ठूलो समस्या छ । त्यहाँ सुरुङ निर्माणका लागि ठेक्का सम्झौता भएर काम अघि बढ्दै छ । बुटवलबाट पोखराको बाटो छोटो पार्न जरुरी छ । सिद्धार्थ र रत्न राजमार्गका लागि निर्माण अघि बढाउन ५ अर्ब रुपैयाँ मेरै पालामा छुट्याएको थिएँ । सिद्धार्थ राजमार्गको डीपीआर बनिसकेको छ । यसमा साना–साना सुरुङ पनि पर्छन् ।

यसलाई डेटिकेटेड डबल लेनमा स्तरोन्नति गर्ने र यसो गर्दा बढीमा आधा घण्टामा तानसेन पुग्न सकिनेछ । लगभग दुई घण्टामा पोखरा पुग्न सकिनेछ । कालीगण्डकी करिडोर हुँदै कोरलासम्म पुगिनेछ । यसले उत्तर–दक्षिण जोड्नेछ । यी आयोजनालाई हामीले एकसाथ अघि बढाउन खोज्दै छौं ।

देशमा कहीं पनि हेर्नलायक नदी नियन्त्रण बनेको छैन । तिनाउ र दानव नदीका दुवै किनारमा नदीको सीमा क्षेत्र छाडेर पर्खाल, ग्रिन बेल्ट, डबल लेनको बाटो, फुटपाथ र बस्ती दुवै किनारमा बनाउने गरी टेन्डर भइसकेको छ । आकाशबाट हेर्दा नेपालको झन्डा आकारको बुटवलमा अन्तर्राष्ट्रिय सम्मेलन निर्माण गरिएको छ । १६ बिघामा एउटा सम्मेलन केन्द्र छ भने एकसाथ १० हजार दर्शकले अवलोकन गर्न मिल्ने प्रदर्शनी केन्द्र बन्दै छ ।

‘एक प्रदेश, एक सरकारी स्वामित्वको मेडिकल कलेज’ को अवधारणाअनुसार लुम्बिनीको तिलोत्तमा नगरपालिका–१ मा जग्गाको प्रबन्ध गरिएको छ । डीपीआर भएर टेन्डरमा जाने अवस्था छ । अहिले ५० बिघा जग्गा छ । पछि दुई सय बिघासम्म पुर्‍याउन सकिनेछ ।

बुटवलको पुरानो अञ्चल अस्पताल अहिले प्रादेशिक अस्पतालका रूपमा छ । यसलाई स्तरोन्नति गर्न भन्दै टेन्डर गरे पनि प्रक्रिया अघि बढ्न सकेको छैन । नियमसंगत ढंगले टेन्डर भए निर्माणमा जान तयारी पूरा छ ।

बसपार्क भनेको अव्यवस्थाको केन्द्र हो भन्ने सोचाइ सबैमा छ । बसपार्क भनेको भद्रगोल हुने ठाउँ हो भन्ने छ । तर बसपार्क भनेको राम्रो ठाउँ हो भन्ने सन्देश दिन तिलोत्तमा–१७ मा प्रादेशिक बसपार्कको डिजाइन सकिएको छ ।

मेचीदेखि महाकालीसम्म कतै नभएको काम सैनामैना नगरपालिकामा गर्दै छौं । बोलबम धाम छ । यसलाई व्यवस्थित गर्दै छौं । चुरेको काखबाट सानो खोला बगेर आएको र खोला अलि भित्र गएपछि उपत्यका जस्तो छ । त्यहाँ २० मिटर अग्लो बाँध बनाउँदै छौं । त्यसमा ९ हेक्टरको ताल निर्माण हुनेछ । पर्यटन प्रवर्द्धन गर्ने गरी त्यो ताल बनाइनेछ । यसको लागत करिब ४ अर्ब हुने अनुमान छ । सैनामैना नगरपालिकामै ५७ किमि चक्रपथ निर्माण गरिएको छ । ४३ किमि कालोपत्र भइसकेको छ ।

ल्यान्डफिल साइडको काम अघि बढाएका छौं । म अर्थमन्त्री भएर बजेट प्रस्तुत गर्दा ७ प्रदेशमा एक/एकवटा औद्योगिक क्षेत्र बनाउने कुरा ल्याइएको हो । लुम्बिनी प्रदेशमा रूपन्देही र बाँकेमा प्रस्तावित थियो ।

रूपन्देहीको मोतीपुर औद्योगिक क्षेत्र करिब आठ सय बिघाभित्र पर्छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका नाममा जग्गा

छुट्याइसकिएको छ । डिजाइनको काम भइरहेको छ । शिलान्यास भएको छ । जिल्लाभित्र छरिएका उद्योग एकीकृत गर्ने र नयाँ उद्योगलाई उक्त ठाउँ उपलब्ध गराउने योजना हो । उद्योग स्थापनाका निम्ति जुन रफ्तारमा लगानीकर्ता आकर्षित भएका छन्, त्यसबाट हामीलाई उत्साहित बनाएको छ । बुटवलमा अर्को पुरानो औद्योगिक क्षेत्र पनि बन्दै छ । भैरहवामा एउटा सेज पनि छ । अब थप ठूल्ठूला औद्योगिक क्षेत्रले सहरीकरणलाई नकारात्मक प्रभाव नपारून् भनेर काम पनि गर्नु छ ।

(कृष्ण आचार्य र विमल खतिवडासँगको कुराकानीमा आधारित)

प्रकाशित : चैत्र ७, २०७८ १०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

८ देशका लागि सिफारिस भएका राजदूतको नाम लाग्यो ?

x