२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

फेरि ‘कम्युनिस्ट एकता’ : प्रहसन कि दुःखान्त ?

नयाँ समयको कम्युनिस्ट पार्टीले आजको मानवद्रोही अनि पृथ्वी–पर्यावरण ध्वस्त बनाइरहेको पुँजीवादसँग लड्ने कार्यदिशा, नेपाली समाजको पितृसत्ता, जातसत्ता र अतिवादी राष्ट्रवादी सत्ताविरूद्ध लड्ने कार्यक्रम अनि ज्यामीवर्गको पक्षमा जुधिरहने संकल्प खोजिरहेको छ ।
एमाले र माओवादी केन्द्रमा आबद्ध केही नेता वा बौद्धिकहरू मुखैमा आएको निर्वाचनमा पराजयको भयले पुरानै रहर दोहोर्‍याउन बेहोसीमा कुदिरहेका छन्, हारेर पछारिएपछि मात्रै सायद उनीहरू बिउँझिनेछन् ।
सङ्गीत

स्थानीय निर्वाचन मुखैमा छ, संघीय संसद्को निर्वाचन आउन वर्षदिन पनि बाँकी छैन । टोलटोलका ठेकेदार, धन्देबाजदेखि राष्ट्रियस्तरका साहुकारसम्मले चुनावमुखी सक्रियता बढाइरहेका छन् । तर, आउने चुनावको परिणाम सम्झेरै केही ‘कम्युनिस्ट’ नेताहरू आँतैदेखि आतंकित देखिन्छन् । उनीहरूका सार्वजनिक अभिव्यक्तिमै भयग्रस्तता र मनोवैज्ञानिक त्रास सुन्न सकिन्छ । यस्तो त्रसित पंक्ति सबैभन्दा बढी माओवादी केन्द्र र एकीकृत समाजवादी (एस) मा छ ।

फेरि ‘कम्युनिस्ट एकता’ : प्रहसन कि दुःखान्त ?

बाहिर हुँकार गरे पनि भित्रभित्रै एमाले समूहसमेत भयग्रस्त देखिन्छ । बौद्धिक नेता घनश्याम भुसालको ‘कान्तिपुर’ मा प्रकाशित ‘कम्युनिस्ट पार्टीको भविष्य : एकता वा सत्यानाश’ लाई पनि चुनावी भयको पूर्वाभिव्यक्तिका रूपमा लिन सकिन्छ । तथापि, उनको लेखले केही राजनीतिक र सैद्धान्तिक प्रश्न त सतहमा ल्याइदिएकै छ— के एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी एक नहुँदा कम्युनिस्टहरूकै सत्यानाश हुन्छ ? के आजका संसदीय कम्युनिस्टहरूले नै यो देशको वाम–राजनीतिको प्रतिनिधित्व गर्छन् ?

एमाले, एस र माओवादी केन्द्रबीच फेरि एकता नहुनुपर्ने कुनै दार्शनिक तथा सैद्धान्तिक कारण छैन । त्यो हुन सक्छ, जसरी हिजो भएको थियो । प्रश्न त के हो भने, जुन एकता हिजो भएकै थियो, त्यसले जनताको दैनिकीमा के फरक पार्‍यो ? त्यो एकताले नेकपा नामको ठूलो संसदीय पार्टी बनाउनुभन्दा बढी के गर्‍यो ? बरु एकतापछिको सरकारले भ्रष्टाचारको पारो झन् बढाइरह्यो । महँगीले गरिखाने वर्गको ढाड सेकिरह्यो । कमिसनखोरहरू नै चकित पर्ने गरी मन्त्रीहरू स्वयम् कमिसनको मोलमोलाइमा उत्रिए । प्रधानमन्त्री धर्मनिरपेक्षता र समावेशिताको धज्जी उडाउन अघि सरे । नाम कम्युनिस्ट राखियो, तर त्यस पार्टीमा आधिपत्य जमाउनेहरू श्रमजीवी होइन, दलाल पुँजीपतिहरू थिए । झन्डा कम्युनिस्टको बोकेर त्यो पार्टीले दलाल पुँजीपतिहरूको हितार्थ काम गर्ने एजेन्सीको भूमिका खेलिरह्यो ।

अहिले तीनतिर भएका समूहहरू (एमाले, माओवादी, एस) तीनवटैको चरित्रमा आधारभूत भिन्नता छैन । कम्युनिस्ट पारिभाषिक पदावलीमा भन्ने हो भने यी तीनै समूह मूलतः दक्षिणपन्थी, संशोधनवादी र प्रतिक्रियावादी छन् । तैपनि, कमरेड घनश्याम भुसाल यी पार्टीहरूको मिलेमतोलाई ‘कम्युनिस्ट एकता’ किन भनिरहेका छन् ? उनीहरूबीच संसद् र सरकारमा हुने लुछाचुँडी, भाग–खोसाखोस र गुट–झगडाको परिणाम कम्युनिस्टहरूकै सत्यानाश हो त ?

यी प्रश्नको उत्तरसम्म पुग्नका लागि हिजो जेटप्लेनका कथित जोर–ड्राइभरहरू (ओली–प्रचण्ड) ले एकै रातमा टुंग्याइदिएको र सम्पूर्ण पार्टी पंक्तिले बाँकी दुई वर्षसम्म निरन्तर स्वागत गरेको नेकपा डबलको एकतालाई सन्दर्भमा राखेर हेर्न सकिन्छ । ‘आर्थिक समृद्धि’, ‘राजनीतिक स्थिरता’, ‘कम्युनिस्ट एकता’ जस्ता भ्रमपूर्ण नारालाई राष्ट्रिय संकथन बनाएर एमाले र माओवादी केन्द्रले संसदीय निर्वाचनमा जनताबीच झिलीमिली आशा बाँडेका थिए । र, लगत्तै उनीहरू सत्तामा पनि बलियो उपस्थितिसहित पुगे । तर, भ्रमको पर्दा च्यातिन संसद्ले एक कार्यकाल पनि पूरा गर्नुपरेन । ‘कम्युनिस्ट एकता’ बाटै प्रधानमन्त्री बनेका केपी ओलीले ‘ज्यानमारा ट्रिपर’ को भाँतिमा सरकार र पार्टीलाई यसरी हुइँक्याए, अन्ततः सरकार प्रमुखबाट उनी आफैं गलहत्याइए, पार्टी तीन फ्याक हुन पुग्यो ।

फेरि एकता नामको अर्को झिलीमिली भ्रम बाँड्नका लागि केपी ओली र प्रचण्डका सामु अहिले न कुनै एजेन्डा छ, न नैतिक आधार नै । कुनै उपाय फेला नपारेर उनीहरू सायद हैरान छन् । तर कमरेड घनश्याम यतिखेर टेन्टभित्रबाट फुत्त निस्केर ‘कि एकता, कि सत्यानाश’ भन्ने भाष्य स्थापित गर्न कम्मर कसेर लागेका देखिन्छन् । उनको ‘गौरवशाली पार्टी’ एमाले अहंकारको बार्दलीबाट तल ओर्लिएको छैन, एस र माओवादी केन्द्र गठबन्धनबाटै सिट सुरक्षाको ओत खोज्न अनुनय गरिरहेका छन् । यस्तो बेलामा फेरि एकता गरौं भन्ने आँट गर्नु आफैंमा एउटा आँटिलो प्रयत्न पक्कै हो ! बाह्य रूपमा यो आँटले चुनावी ठाँट प्रदर्शन त गर्छ तर अन्तर्यमा यसले ‘कम्युनिस्ट एकता’ भनेर फेरि ढाँटकृत्य नै गर्न खोजिरहेको सजिलै बुझ्न सकिन्छ ।

एकता होइन, नवनिर्माण !

आज नेपाली समाजमा जुन स्तरको कम्युनिस्ट जनमत निर्माण भएको छ, त्यसमा सात दशकसम्म कम्युनिस्ट नेता–कार्यकर्तासँगसँगै हजारौं जनताले गरेका संघर्षहरू, उनीहरूका रगत–पसिना, सपना–विपना, त्याग–तपस्याको निकै ठूलो शृंखला जोडिएको छ । पुष्पलालकै जमर्को वरिपरिबाट सुरु भएका लाल कम्युनिस्ट पार्टी लगायतका संगठनहरू होऊन् वा पञ्चायतकालमा अलगअलग ठाउँबाट अलगअलग समूह र व्यक्तिहरूले मिहिनेत गरेर निर्माण गरेका विभिन्न कम्युनिस्ट समूह, गाउँगाउँ र टोलटोलमा पुगेर न्यायपूर्ण समाजको सुन्दर सपना रोप्ने हजारौं प्रयत्न आजको कम्युनिस्ट जनमतको पृष्ठभूमि हो । समाजवादको सपना पूरा गर्नका खातिर बलिदान हुन तयार भई लड्ने शोषित वर्ग र उत्पीडित समुदायका हजारौं योद्धा नहुँदा हुन् त आज कम्युनिस्ट ब्याड यति उर्वर र यति उन्नत हुन सम्भव थिएन । यो कम्युनिस्ट आधार ‘ढुंगामाटोसँग समेत भोट माग्न सिकेका’ एमाले कार्यकर्ताले मात्रै बनाएका होइनन् ।

नेपाली समाजमा कम्युनिस्ट विचारको प्रभाव राणाविरोधी आन्दोलनको उत्कर्षतिर, सन् १९४० वरपर देखिन थालेको थियो । चीनमा नयाँ जनवादी क्रान्ति भएकै वर्ष तर त्यसभन्दा केही महिनाअघि सन् १९४९ मा पुष्पलालको नेतृत्वमा कम्युनिस्ट पार्टी गठन भएयता कम्युनिस्ट आन्दोलनले सात दशक पार गरिसकेको छ । यी सात दशकभरि कम्युनिस्ट आन्दोलनले मूलतः नयाँ जनवादी क्रान्तिको सपना देखिरह्यो, त्यसका लागि अविच्छिन्न संघर्ष सञ्चालन गर्‍यो । अर्धसामन्ती र अर्धऔपनिवेशिक समाजमा नयाँ जनवादी क्रान्ति गर्ने लक्ष्य राखेको कम्युनिस्ट आन्दोलनले नेपालको सामन्तवाद अन्त्यका लागि यहाँको लोकतान्त्रिक भनिने बुर्जुवा शक्तिसँग २०४६ र २०६२–६३ सालका आन्दोलनमा सहकार्य गर्‍यो । २०४६ सालको आन्दोलन वरपरदेखि एवं २०५० र २०६० का दशकमा नेपाल तीव्रतम गतिले विश्वपुँजीवादको अंग बन्दै गयो । अर्थराजनीतिक हिसाबले गतिशील नेपाली समाजको उत्पादन सम्बन्धमा पनि परिवर्तन आउन थाल्यो ।

माओवादी पार्टीको शान्ति–प्रक्रियामा प्रवेश र नयाँ संविधान निर्माणको प्रक्रियासँगसँगै समाजको चरित्रमा आइरहेको परिवर्तनले नेपालको कम्युनिस्ट आन्दोलनलाई नयाँ मोड दिनुपर्ने खाँचो परिसकेको थियो । तर, त्यो नयाँ कार्यभारतिर कुनै पनि कम्युनिस्ट समूहले सोचेन । कम्युनिस्ट आन्दोलनको क्रान्तिकारी धारा (माओवादी) मा विद्रोह र विभाजन देखिन थाल्यो, त्यसको मूल हिस्सा संसद्वादकै भ्रष्ट भेरिएन्टमा रूपान्तरित हुँदै गयो । अन्ततः संसद्वादमा खली खाइसकेको एमाले र संसद्मा नवप्रवेशी माओवादी केन्द्र त्यस्तो एकीकृत पार्टी बनाउने होडमा एकताबद्ध भए, जसले दलाल पुँजीपतिको असली प्रतिनिधि ‘अब कांग्रेस होइन, हामी नै हौं’ भन्न चाहन्थ्यो र व्यवहारमा देखाउन चाहन्थ्यो । नेकपा (नेकपा) बनेपछि त्यसले गरेको पनि त्यही हो ।

कम्युनिस्ट आन्दोलनले आज बुर्जुवा संसद्भित्र एकता वा मिलेमतो खोजिरहेको छैन, जनवादी क्रान्तिका लागि भएको सात दशक लामो प्रयत्नले बरु नयाँ मोडको सन्धान गर्दै छ । देशव्यापी संगठन सञ्जाल भएका कम्युनिस्ट भनिने पार्टीहरू यतिखेर दार्शनिक–सैद्धान्तिक हिसाबले विचलित, वैचारिक–सांस्कृतिक हिसाबले विघटित र राजनीतिक हिसाबले पतित छन् । उनीहरूका संगठनमा खटिइरहेका वा जनवर्गीय अंगहरूमा रहेका हजारौं कार्यकर्ता निराश र हताश मनोदशामा छन् । आफ्ना नेताहरूका कामकारबाही र पार्टीले लिएका निर्णयहरूको बचाउ गर्न सक्ने नैतिक बल कसैमा छैन । वास्तवमा उनीहरू नैतिक हिसाबले झोक्राइरहेको, मौन बसिरहेको र टाउको झुकाइरहेको स्थितिमा छन् । उनीहरूलाई क्रान्तिकारी पुनर्जीवन दिनका लागि समयले यतिखेर ‘शिर उभ्याउने’ संस्क्रिया खोजिरहेको छ । यो संस्क्रिया चुनावी एकताबाट सम्भव छैन, किनभने नेपालको कम्युनिस्ट ब्याड सयौं जागरण अभियान, जनसंघर्ष र वर्गसंघर्षका शृंखलाहरूले बनाएका हुन् ।

कम्युनिस्ट आन्दोलनलाई नयाँ युग अनुसार अगाडि बढाउन चाहने पहलकर्ताहरूले क्रान्तिकारी आन्दोलनको निकट विगतको गौरवशाली इतिहास र वर्तमानमा आत्मसम्मान खोसिएर झोक्राइरहेको यथार्थको आत्मसमीक्षा गर्नुलाई पहिलो कार्यभार बनाउनु जरुरी छ । सात दशक लामो नेपाली कम्युनिस्ट आन्दोलन, त्यसको उत्कर्ष माओवादी जनयुद्ध, जनयुद्धको स्थगन (अवसान ?) हुनाको कार्यकारण, नेपालको भू–राजनीति, विश्वपरिस्थितिलाई पुनर्मूल्यांकन र आत्मसमीक्षा गर्न तयार हुनेहरूसँग मात्रै नयाँ आन्दोलन र नयाँ संगठन बनाउने आत्मविश्वास पैदा हुन्छ । र, उनीहरूले मात्रै कम्युनिस्ट विरासतलाई अगाडि बढाउन सक्छन् ।

यो काम फेरि चुनावी विभ्रम बाँडेर, केही थान सांसद वा मन्त्री हुँदैमा र कुनै नेता प्रधानमन्त्री हुँदैमा हुन सम्भव छैन । २०४६ सालयता देखिएकै छ, नेपालको ‘कम्युनिस्ट आन्दोलन’ को एउटा धारा निर्वाचनदेखि निर्वाचनसम्म घुमिरहेकै छ । त्यो त्यही प्रवृत्ति हो, जो कम्युनिस्ट हौं भनिरहन्छ तर आफ्नो समाजको आजको मूल अन्तरविरोध के हो भनेर अध्ययन गर्न छाडिदिन्छ, मार्क्सवादको मूल सिद्धान्तका रूपमा रहेका वर्ग, वर्गसंघर्ष, पार्टी, क्रान्ति, राज्यसत्ता, राज्यमा वर्गीय पकड आदिलाई तिलाञ्जली दिन्छ, अनि आजको मानवद्रोही र शोषणकारी व्यवस्था बचाउने रिलेदौडमा कुदिरहने गर्छ ।

समाज अविरल परिवर्तनशील छ । लोकतन्त्र, सामाजिक न्याय, मार्क्सवाद, समाजवादजस्ता अवधारणा र सिद्धान्तहरू पनि आफैंमा अविरल परिवर्तनशील छन् । वर्ग, पार्टी, क्रान्ति, राज्यसत्ता पनि चरित्र र स्वरूप दुवै हिसाबले परिवर्तनशील छन् । आज हामी विश्व–व्यवस्थाका सन्दर्भमा कहाँनिर छौं ? नेपाली समाजको ऐतिहासिक परिप्रेक्ष्यमा हामी कुन मोडमा उभिएका छौं ? लोकतान्त्रिक र कम्युनिस्ट दुवै राजनीतिक धाराको उत्थान, विकास र आजको हाल के हो ? यी सैद्धान्तिक प्रश्नहरूको जवाफ खोज्ने कष्टसाध्य कामसहित क्रान्तिको कार्यक्रम निर्माण गर्नु र नयाँ कम्युनिस्ट धारा नवनिर्माण गर्नुपर्नेछ । यो नवनिर्माण मार्क्सवादको नाम लिएर वा मार्क्सवादी पहिचानभित्रै बसेर मार्क्सवादी सिद्धान्तको भ्रष्टीकरण गर्नेहरूबाट सम्भव छैन । विडम्बना, आज नेपालमा पपुलर डिस्कोर्सका मञ्चहरूमा यस्तै भ्रष्टीकरण गर्नेहरू चल्तापुर्जा छन् । उनीहरू राजनीतिक समस्याको कारक कुनै एक व्यक्तिको भूमिकामा देख्छन् । समाधानका लागि पनि उनीहरू कुनै एक औतारीसँग हारगुहार गर्छन् ।

घनश्याम भुसाल पनि उपर्युल्लिखित लेखमा ‘कम्युनिस्टहरूको यो हालत हुनुमा ... मुख्य भूमिका कम्युनिस्टहरूकै, तिनका नेताहरूकै अयोग्यताले खेलेको छ’ भन्छन् । नेपालको कम्युनिस्ट आन्दोलन न कुनै नेताको योग्यता वा चातुर्यका कारण उठेको हो, न चुनावमा कम्युनिस्ट नामका उम्मेदवारहरूले नजित्दैमा यो आन्दोलन सत्यानाश हुन्छ । समाजमा हुने क्रान्ति र प्रतिक्रान्तिका घटनाहरूलाई कुनै व्यक्तिको योग्यता वा अयोग्यताको कसीमा मात्रै हेर्न मिल्दैन भन्ने मार्क्सवादको सामान्य ज्ञान भुसाल कमरेडलाई नभएको होइन । समाजमा विद्यमान वर्गसम्बन्ध, वर्गसंघर्ष र त्यसको गतिले पैदा गर्ने अन्तरविरोधहरूको विकासको सापेक्षतामा हरेक आन्दोलनलाई हेर्नुपर्छ । पहिलो संविधानसभा विघटनको पृष्ठभूमिसँगै नेपाली राजनीतिमा प्रतिक्रान्तिकारी धाराले शक्ति हासिल गर्दै गएको हो ।

समाजमा चलिरहेको वर्गहरूबीचको द्वन्द्व, अर्थराजनीतिक संरचनामा भइरहेको परिवर्तन, अनि त्यसकै सापेक्षतामा क्रान्तिकारी संघर्षबाट स्थापित पार्टीभित्र तीव्र वेगमा भएको वर्गोत्थान र नेता–कार्यकर्तामा आएको नैतिक–सांस्कृतिक विचलनले माओवादी केन्द्र र एमालेलाई एउटै आधारमाथि उभ्याइदिएको थियो । त्यो आधार कमरेड घनश्यामले भनिरहने पन्पिइरहेको दलाल पुँजीवादको आर्थिक आधार नै थियो । त्यसकारण राजनीतिको क्रान्तिकारी उभारको कारण होस् या पराजयको कारण, त्यो केही नेताका आकस्मिक प्रयत्नहरू, प्रतिभाहरू, त्रुटिहरू, गल्ती र गद्दारीहरूमा खोज्ने होइन, बरु उथलपुथलग्रस्त राष्ट्रहरूको आम सामाजिक स्थितिमा र तिनको अस्तित्वको अवस्थामा खोज्नुपर्छ (जर्मनीमा क्रान्ति र प्रतिक्रान्ति) भनेर एंगेल्सले हामीलाई सिकाएकै छन् ।

के इतिहास पटकपटक दोहोरिन्छ ?

२००६ सालदेखिको ‘नयाँ जनवादी क्रान्ति’ को कम्युनिस्ट सपना कति फक्रियो ? कति ओइलायो ? सात दशकको कम्युनिस्ट इतिहासले दिएको शिक्षा के हो ? माओवादी जनयुद्धजस्तो उथलपुथलकारी आन्दोलन कुन जगमा उठेको थियो र कुन घुम्तीमा पुगेर त्यसले सहिदी–हाल बेहोर्‍यो ? इतिहासतिर फर्केर आत्मसमीक्षा गर्नुपर्नेमा नेकपा डबल नामको अल्पकालीन पार्टीले तिनताका इतिहासतिर फर्केर असैद्धान्तिक गोली हानेको थियो, त्यस पार्टीको विघटनको परिणतिले एमाले–माओवादीको सपनामाथि दुई वर्षमै तोप बर्साइहाल्यो । संसदीय

व्यापारमा ‘जनमतको मुनाफा’ आफ्नो थैलीमा पर्ने पक्का भएपछि ‘कम्युनिस्ट एकता’ को माइकिङ गर्दै थुप्रै बौद्धिक नेता र सिद्धान्तवेत्ताहरू पनि हूलमूलमा मिसिन पुगेका थिए । त्यो संसदीय अवसरवाद आज सडकमा पछारिएको छ । तर, कम्युनिस्ट आन्दोलन त्यति मात्रै होइन । समग्र कम्युनिस्ट आन्दोलनले आज जुन हालत र हविगत बेहोरिरहेको छ, अब कमरेड भुसालले चाहेजस्तो एकताबाट त्यो नयाँ बन्दैन । त्यस्तो एकताले नयाँ युगको कार्यभार वहन गर्न सक्दैन भन्ने सबैभन्दा ठूलो साक्ष्य नेकपा डबलको आतंकमय आगमन र घीनलाग्दो अवसान हाम्रासामु छँदै छ । अबको युगलाई नेतृत्व गर्ने नयाँ राजनीतिक आन्दोलन पुराना अवसरवादी, दक्षिणपन्थी, भ्रष्ट, जनविरोधी चरित्रमा फेरिइसकेका दलहरूको एकताबाट कदापि हुनेछैन, जुन दिवास्वप्न घनश्याम भुसाल र उनका अनुयायीहरूले देखिरहेका छन् ।

नयाँ कम्युनिस्ट पार्टी टुटफुट तर पुनर्गठन भन्ने तरिकाबाट बन्न सम्भव छैन । आफूलाई संस्थापक घोषणा गरेर संगठन विस्तारमा निस्कने तरिकाबाट पनि बन्न सम्भव छैन । कानुनी औपचारिकतामा दल दर्ता गर्दैमा वा मन परेको चुनाव चिह्न पाउँदैमा नयाँ पार्टी बन्दैन । नयाँ समयको कम्युनिस्ट पार्टीले त आजको मानवद्रोही अनि पृथ्वी–पर्यावरण ध्वस्त बनाइरहेको पुँजीवादसँग लड्ने कार्यदिशा, नेपाली समाजको पितृसत्ता, जातसत्ता र अतिवादी राष्ट्रवादी सत्ताविरुद्ध लड्ने कार्यक्रम अनि ज्यामीवर्गको पक्षमा जुधिरहने संकल्प खोजिरहेको छ । यस्ता जरुरी प्रश्नहरूमा प्रवेश गर्दै नयाँ आन्दोलन तथा पार्टी निर्माणको लम्बे महाभियानमा निस्कन तयार पहलकर्ताहरूले मात्रै आजको युगीन कार्यभार पूरा गर्न सक्नेछन् ।

कम्युनिस्ट ब्यानर बोकेर उभिँदैमा कम्युनिस्ट होइँदैन भन्ने बुझाउन कुनै सैद्धान्तिक बहसको खाँचो पर्दैन, त्यसका लागि ह्यान्स एन्डर्सनको बालक पनि चाहिँदैन । कम्युनिस्ट गुरुहरूको तस्बिर टाँग्दैमा वा कम्युनिस्ट नाराहरू भट्याउँदैमा कुनै संगठन गरिखाने वर्गको संगठन हुँदैन भन्ने तथ्य नेपालका कम्युनिस्टहरूले नै देखाइसकेका छन् । दलाल ठेकेदारहरूको काखमा बसेर, बहुराष्ट्रिय कम्पनीहरूले छलिरहेको करबाट चन्दा मागेर, यती–ओम्नी–बतासहरूलाई राज्यढुकुटी बेचेर अनि जनताबीच जाँदा ललाटमा कम्युनिस्ट नामै लेख्ने रहर गर्ने पंक्ति आजको एमाले–माओवादीभित्र अझै छ ।

विचार–निर्माणका क्षेत्रमा होस् या संगठन र संघर्ष उठानका क्षेत्रमा, इतिहासमा प्रायशः अगाडि बढ्नु र नयाँ गर्नुभन्दा पछि हट्नु र पुरानै रहर दोहोर्‍याउनु सजिलो हुन्छ । एमाले र माओवादी केन्द्रमा आबद्ध केही नेता वा बौद्धिकहरू मुखैमा आएको निर्वाचनमा पराजयको भयले पुरानै रहर दोहोर्‍याउन बेहोसीमा कुदिरहेका छन्, हारेर पछारिएपछि मात्रै सायद उनीहरू बिउँझिनेछन् ।

आज नेपाली राजनीति जुन वस्तुगत विन्दुमा छ, यतिखेर ‘कम्युनिस्ट एकता’ को नारा मीठो त सुनिन सक्छ, इतिहास दोहोर्‍याउने रहर पनि कतिलाई हुन सक्छ तर, मार्क्सले भनेझैं, इतिहास दोहोरिन्छ केवल रंगमञ्चमा— एक पटक प्रहसन बनेर, अर्को पटक दुःखान्त बनेर ! ‘कम्युनिस्ट एकता’ नामको ओली–प्रचण्ड अवसरवादी गठजोड फेरि दोहोरिन अवश्य सक्छ तर अब त्यो कि दुःखान्त कि प्रहसन हुनेछ !

प्रकाशित : चैत्र ७, २०७८ ०८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?