पितृसत्ताको अग्निमा स्त्री-दहन- विचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पितृसत्ताको अग्निमा स्त्री-दहन

इतिहासको एउटा बर्बर संस्कृति सतीप्रथा, जसले सदियौंसम्म स्त्रीलाई जिउँदै आगोमा पोलिरह्यो । अर्को मिथक होलिकादहन, जसले प्रत्येक वर्ष विजयोत्सवको झुटो बहानामा एउटी स्त्रीको पुत्ला जलाउँछ ।
सुमिना

इतिहास में वह पहली औरत कौन थी
जिसे सब से पहले जलाया गया ?
मैं नहीं जानता
लेकिन जो भी रही होगी, मेरी माँ रही होगी
मेरी चिन्ता यह है कि
भविष्य में वह आखिरी स्त्री कौन होगी
जिसे सब से अन्त में जलाया जाएगा ?
मैं नहीं जानता
लेकिन जो भी होगी, मेरी बेटी होगी
और यह मैं नहीं होने दूंगा ।
- रामाशंकर यादव ‘विद्रोही’





उल्लिखित अंश कवि रामाशंकर यादव ‘विद्रोही’ को ‘औरत’ शीर्षक कविताको अन्तिम अनुच्छेदबाट लिइएको हो । कविले कविताको सुरुआत यसरी गरेका छन्-

कुछ औरतों ने अपनी इच्छा से कूदकर जान दी थीं
ऐसा पुलिस के रिकार्ड में दर्ज है
और कुछ औरतें अपनी इच्छा से चिता में जलकर मरी थीं
ऐसा धर्म की किताबों में लिखा हुआ है ।

कविताका हरफहरूले पक्कै पनि इतिहासको एउटा बर्बर प्रथा सतीप्रथाप्रति इंगित गरेका छन् । कविले चिन्ता व्यक्त गरेका छन्- इतिहासमा जलाइएकी ती पहिली स्त्रीजस्तै भविष्यमा जलाइने अन्तिम स्त्री को हुने हुन् ?

इतिहासमा महिलाहरूको पीडा सामान्य थिएन । बर्बरतापूर्ण सामन्ती समाजले महिलाहरूलाई जिउँदै जल्न आदेश दिन्थ्यो । थाहा छैन, पितृसत्ताको आगोमा इतिहासदेखि नै कति स्त्रीहरू निरन्तर जलाइएका छन् र अझै कति जलाइने हुन् ! मनुस्मृति भन्छ, ‘जन्मोत्सव या जन्मकर्म केवल पुत्रका निम्ति हुन्छ ।’ छोरा जन्मिँदा भव्य उत्सव मनाएर भोजभतेर गर्ने समाज छोरीलाई जन्मिनसम्म रोक लगाई पाठेघरभित्रै मार्ने प्रपञ्च रच्छ । थाहा छैन, कति छोरीहरू लिंग पहिचान गरी जन्मिन नपाई गर्भमै मारिए ! जो कठिनतापूर्वक जन्मिए, उनीहरूको जीवन पनि विभिन्न अत्याचारी सामाजिक नियम र कानुनहरूको परिधिमा बाँधिएर जन्मिनुभन्दा पनि अझै कठिन परिस्थितितर्फ धकेलियो । इतिहासदेखि नै यो समाजले निरन्तर आमा, छोरी र बुहारीहरूको बलि चढाइरह्यो । कतै महान् त कतै नीच र कतै सती त कतै होलिका बनाएर ।

इतिहासमा एउटा बर्बर प्रथा थियो, सतीप्रथा । त्यसको सुरुआत कसरी भयो, को र कस्ता महिलाहरू स्वयम् जले वा जलाइए भन्नेमा विभिन्न मतमतान्तर भए पनि यसलाई निरन्तरता दिन भने सामन्ती धार्मिक पितृसत्ता नै अघि सरेको देखिन्छ । धर्मका नाममा जिउँदै स्त्रीहरूलाई जल्न बाध्य पारेर आत्मत्यागको महिमा गाउँदै महान् करार गरी भनियो- ती स्त्रीहरू बहादुर हुन्, जसले बहादुरीका साथ चितामा प्रविष्ट भएर पतिव्रता धर्म पूरा गरी विधवा जीवनलीला समाप्त पारे । निजी सम्पत्तिको अवधारणा सुरु भएसँगै, एकनिष्ठ विवाह र पितृसत्ताको उदयसँगै पुरुषसत्ताको वर्चस्वको अघिल्तिर महिला अस्तित्वलाई पुरुषमा विलय गराउने धार्मिक पितृसत्ताको कठोर प्रपञ्च थियो सतीप्रथा, जसले एकनिष्ठ विवाहका नाममा महिलाको यौनिकतामाथि नियन्त्रण गर्ने कठोर सांस्कृतिक षड्यन्त्र रच्यो, जसले एउटा पुरुष ‘पति’ को मृत्युपछि विधवा बनाइएका महिलाको अन्य पुरुषसँग यौन सम्बन्ध रहन सक्ने सम्भावनालाई सधैंका निम्ति ‘बन्ध्याकरण’ गर्दै पतिव्रता धर्मका नाममा पतिको चितासँगै मृत्युवरण गर्नुपर्ने हिंसात्मक संस्कृतिको बीजारोपण गर्‍यो । पुरुष छ र स्त्री छे अर्थात् स्त्री आफैंमा केही हैन । पुरुष बाँचेको छ र स्त्री बाँचेकी छ । स्त्रीलाई एक्लै बाँच्ने छुट छैन । जुन दिन पुरुष मर्छ, त्यही दिन त्यही पुरुषसँगै स्त्री सती जान्छे । अर्थात्, पत्नीको जीवन पतिको जीवनमा निर्भर गराइयो । थाहा छैन, धर्मको डर देखाएर कति स्त्रीहरूलाई इतिहासको आगोमा जिउँदै पोलियो र सती बनाइयो ! जिउँदै स्त्री मार्ने बर्बर हत्यालाई स्वैच्छिक देहत्यागको तक्मा भिराइयो ।

नारीवादी लेखिका मेरी डेलीले सती शब्दसँग जोडिएको भक्तिभाव र त्यागप्रति असहमति जनाउँदै त्यस्तो खाले महानताको खण्डन गरेकी छन् । विधवाहरू राजीखुसीले सती गएका होइनन् भन्ने उनको तर्क छ । उनले मानव दबाबबाट विधवा स्त्रीहरूलाई चितामा चढाउन नसकिए लागूऔषध खुवाएर आगोमा धकेल्ने र बाँसले थिचेर त्यहाँबाट उम्किन नदिने चलनबारे उल्लेख गरेकी छन् । विभिन्न कथा, कहानी तथा सिनेमाहरूमा सती उम्किएको दृश्य देखाए पनि त्यस्तो कठोर निगरानीबाट सायदै कोही उम्किन सके होलान् र उम्किएकै भए पनि त्यस्तो खाले समाजमा तिनले भोग्नुपरेको सामाजिक र सांस्कृतिक हिंसा कस्तो रह्यो होला, हामी सहजै आकलन गर्न सक्छौं । सांस्कृतिक आधिपत्य कति खतरा हुन्छ भन्ने बुझ्न नारीलाई पतिको शवसँगै जिउँदै पोल्ने अत्यन्तै क्रूर प्रथाको निरन्तरतालाई रोक लगाउनसमेत राज्यस्तरबाट गर्नुपरेको बलप्रयोगले स्पष्ट पार्छ । अन्ततः त्रिभुवन शाहको राज्यकालमा चन्द्र शमशेरद्वारा १९७७ असार २४ देखि लागू हुने गरी कानुनी रूपमै सतीप्रथा बन्द गरियो । यो अमानवीय प्रथा रोकिए पनि पितृसत्तात्मक समाजमा स्त्री उत्पीडनलाई प्रोत्साहन गर्ने अनेकौं सांस्कृतिक हिंसाजन्य पर्वहरू आस्था र परम्पराका नाममा आज पनि जीवितै छन् ।

होलीको ऐतिहासिक मिथक
हिन्दु समाजमा प्रचलित मान्यता अनुसार ‘असत्यमाथि सत्यको विजय’ अर्थात् देवताहरूको पराक्रमका अगाडि असुर प्रवृत्तिको विनाशको इतिहास भनेर होलीको वर्णन गर्ने गरिन्छ । होली पर्व (फागु पूर्णिमा) विशेष गरी नेपाली तथा भारतीय हिन्दुहरूले प्रत्येक वर्षको फाल्गुन शुक्ल पूर्णिमाको दिन मनाउने प्रमुख चाड हो । हिन्दु संस्कृति अनुसार यसको इतिहास त्रेता युगसँग जोडिएको छ । त्रेता युगमा भगवान् विष्णुका परम भक्त प्रह्लादसँग यस चाडलाई जोडेर हेरिन्छ । कथित असुर कुलका भनिने हिरण्यकशिपुले ईश्वरभक्त पुत्र प्रह्लादलाई जलाउन सृष्टिकर्ता भनिने ब्रह्माबाट आगोमा नजल्ने वरदान पाएकी आफ्नै बहिनी (प्रह्लादकी फुपू) होलिकालाई प्रह्लादलाई काखमा लिएर आगोमा बस्न आदेश दिए । प्रह्लादलाई भस्म पार्न होलिका आगोमा बस्दा आफू स्वयम् जलेर भस्म भएकी तर विष्णुभक्त प्रह्लादलाई भने केही नभएको मिथकका आधारमा त्यही दिनको सम्झनामा होली पर्व मनाउन सुरु गरिएको मानिन्छ । यो चाडले वसन्त ऋतु आगमनको संकेत पनि गर्छ । विभिन्न रङ खेलेर मनाइने होली रङहरूको पर्व भनेर पनि चिनिन्छ ।

होलीको मिथकले अरूको कुभलो चिताउनेहरू आफैं जलेर नष्ट हुन्छन् भन्ने भाष्य निर्माण गरे पनि होलीसँगै जोडिएको अर्को पाटो होलिकादहनले भने केही प्रश्न उठाउँछ । होली विजयोत्सव हो कि विभेदोत्सव ? सत्य र असत्य सापेक्षिक हुन्छ कि हुँदैन ? यदि हुन्छ भने होलीको ऐतिहासिकताले सत्य र असत्यमाथि, धर्म र पापमाथि, विजय र पराजयमाथिका स्थापित भाष्यहरूमाथि पनि प्रश्न उठाउँछ । यसले देवता र दानवलाई धर्म र पाप, सत्य र असत्य, उत्कृष्ट र निकृष्टको कसीमा बाँधेका मान्यताहरूको विवरण माग गर्छ । को किन र केका आधारमा देवता बनाइएका थिए र को केका आधारमा असुर बनाइएका थिए ? देवताहरू किन महान् र असुरहरू किन नीच ? देवभक्त हुनु अर्थात् आस्तिक हुनु कसरी धर्म र देवताको पूजा नगर्ने नास्तिक हुनु कसरी पाप ? देवभक्त भएकै कारण प्रह्लादलाई नजलाउने आगोले आगोबाट नजल्ने वरदान पाएकी होलिकालाई किन जलाउँछ ? हामी लिखित मिथकका आधारमा होलिकालाई त जलाउँछौं, तर पितृसत्तात्मक समाजको पारिवारिक जाँतोमा पिसिएकी एक विवश नारीको निरीहता बुझ्न खोज्दैनौं । जहाँ स्त्रीको सृजन नै पिता, पुत्र र पतिको आदेश शिरोपर गर्नका निम्ति भएको हो भनिन्छ, त्यहाँ स्त्रीहरूका अगाडि पिता, पति र दाजुहरूको आदेश अस्वीकार गर्ने सुविधा हुन्छ कि हुँदैन ? त्रेता युगमा स्त्री विद्रोह वर्जित थियो कि थिएन ? थिएन भने राजघरानामै पनि रामकी पत्नी सीताले आफ्नो पवित्रताको प्रमाण दिन किन चुपचाप अग्निपरीक्षाबाट गुज्रिनुपरेको थियो ? किन गर्भवती अवस्थामा कठिन वनवास भोग्नुपरेको थियो ? किन सीताले आफूमाथि भएको अन्याय चुपचाप ग्रहण गरिरहिन् ? किन विद्रोह गर्न सकिनन् ? पितृसत्तात्मक समाजमा नारी विद्रोह वर्जित हुनुका यस्ता असंख्य दृष्टान्त छन् ।

धर्मशास्त्रमा नारी
नारीवादी लेखिका सिमोनले लेखेकी छन्, ‘साहित्य, संस्कृति, इतिहास तथा परम्परा पुरुषद्वारा लेखिएका हुन् र पुरुषद्वारा निर्मित विधानमा महिलालाई सधैं दोस्रो दर्जामा राखियो ।’ पितृसत्ताद्वारा रचित धर्मशास्त्रका स्त्री पात्रहरू कोचाहिँ तत्कालीन पुरुष प्रभुत्वको जाँतोमा कुल्चिइएका छैनन् होला ? अन्याय र अत्याचारमा पिल्सिएका स्त्रीहरूको फेहरिस्त निकै लामो बन्छ । सती, पार्वती, वृन्दा, गोमादेखि माधवी, द्रौपदी र सीतासम्म आइपुग्दा कुनचाहिँ स्त्री पात्रले पितृसत्ताको प्रकोपबाट आफूलाई सकुशल उम्काउन सकेका छन् र ? धर्मशास्त्र होस् या वैदिक साहित्य, ती पितृसत्तात्मक व्यवस्थाद्वारा लिखित दस्तावेज हुन् । जहाँ स्त्री पात्रको निर्माण, प्रयोग र वर्णन पितृसत्ताको विकासको निरन्तरताकै उद्देश्यका निम्ति गरिएको छ । कतै पुरुष पात्रकै छाया बनाएर पुरुषकै वरिपरि नचाइएको छ भने कतै थेग्नै नसक्ने अन्यायको चाङमा राखेर सहनशील र महानताको पगरी गुथाइएको छ अनि कतै इतिहासले घृणा ओकल्ने गरी तुच्छ करार गरिएको छ । तिनै स्त्रीद्वेषी शास्त्रलाई समाज चलाउने विधानका रूपमा प्रयोग गरेर कालान्तरसम्म महिलाहरूलाई नियमकानुन र परिधिको लगाममा बाँधेर सांस्कृतिक प्रभुत्वद्वारा भाग्यवाद र नियतिवादको दलदलमा फसाई पितृसत्ता अनुकूल हुने गरी निर्माण र विकास गरिएको छ । त्यसै गरी होलीको मिथकले अन्याय गरेकी कथित असुर घोषित एक स्त्री पात्र हुन् होलिका, जो अहंकारी दाजु र कथित पराक्रमी देवताहरूको युद्धको रापमा पिल्सिन बाध्य भई पितृसत्ताको आगोमा जलेर नष्ट भइन् । न्याय र अन्याय, सत्य र असत्य, धर्म र पाप, विजय र पराजयको भाष्य स्थापित गर्न धर्मको अग्निमा उनको बलि चढाएर नयाँ कथा रच्दै एउटा सन्देश प्रवाह गरियो- यसरी हुन्छ, ‘असत्यमाथि सत्यको विजय’ ।

पितृसत्ताको अग्निमा बलि चढाइएकी होलिका
आज पनि हाम्रो समाज पितृसत्तात्मक छ । मनुले भनेजस्तै, बाल्यकालमा छोरीहरू पिता र दाजुहरूको नियन्त्रणमा हुनुपर्छ, बिहेपछि पति अनि वृद्धावस्थामा छोराहरूको संरक्षकत्व र नियन्त्रणमा बस्नुपर्छ । यो मान्यतालाई शिरोधार्य गर्ने समाजमा युगौंसम्म महिलाहरूलाई शिक्षाबाट वञ्चित राखेर घरभित्रै थुन्ने सामाजिक कानुन बनाइयो । आज त महिलाहरू स्वतन्त्रतातर्फ बल्ल बामे सर्दै छन् भने प्राचीन समयका महिलाहरूको अवस्था कस्तो थियो होला ? त्रेता युगका महिला कस्ता थिए होलान् ? उनीहरूको निजत्व र स्वतन्त्रता केकति परिबन्धित थियो ? त्यही परिस्थितिमा चेपिएकी होलिकाको अवस्थिति कस्तो रह्यो होला ? को थिइन् होलिका, आज्ञाकारी बहिनी या एक असुर जातकी स्त्री ? के चुकाउनुपर्‍यो उनलाई प्राण त्यागेर, आज्ञाकारी बहिनी हुनुको मूल्य या असुर कुलमा जन्म लिनुको पीडा ? एउटै अग्निमा बसेको छोरा प्रह्लादचाहिँ जीवितै छ (देवभक्त भएकै कारण) । किन चढाइयो इतिहासको आगोमा एउटी बहिनीको बलि ? प्रत्येक वर्षको होलीमा तिनै एउटी असुरकी बहिनी, सदियौंअघि धर्मको अग्निमा बलि चढाइएकी होलिकालाई निर्ममतापूर्वक दहन गरेर खुब उत्साहित हुँदै भनिन्छ- ‘विजयोत्सव’ ।

होलीलाई सांस्कृतिक पर्वका रूपमा मनाउनु एउटा पाटो होला तर हाम्रा परम्परागत पर्वहरूले सांस्कृतिक हिंसा र विभेदलाई प्रश्रय दिइरहेका छन् भने तिनको शल्यक्रिया र पुनर्व्याख्या अनिवार्य हुनुपर्छ । संस्कृति समयसँगै परिमार्जन र रूपान्तरण हुने विषय हो । धर्म, संस्कृति र परम्पराका यस्ता अध्यायहरूबाट कहिले फाल्ने सांस्कृतिक हिंसा र विभेदका पाटाहरूलाई ? तीज, स्वस्थानी, ऋषि पञ्चमी आदिजस्ता महिलामाथि सांस्कृतिक हिंसा गर्ने पर्वहरूलाई कहिलेसम्म संरक्षण गरिरहने ?

इतिहासको एउटा बर्बर संस्कृति सतीप्रथा, जसले सदियौंसम्म स्त्रीलाई जिउँदै आगोमा पोलिरह्यो । अर्को मिथक होलिकादहन, जसले प्रत्येक वर्ष विजयोत्सवको झुटो बहानामा एउटी स्त्रीको पुत्ला जलाउँछ । जिउँदै स्त्री जलाउने सतीप्रथा होस् या निर्जीव पुत्ला जलाउने होलिकादहन, यो स्पष्ट छ, दुवै स्त्रीविरोधी प्रथा हुन् । कतै देवी बनाएर त कतै दानव बनाएर, कतै महान् त कतै नीच बनाएर ।

सदियौंदेखि स्त्रीलाई जिउँदै पोल्ने प्रथाको सांकेतिक निरन्तरता हो, होलिकादहन । कहिलेसम्म यस्ता स्त्री पोल्ने प्रथाहरूले सांस्कृतिक निरन्तरता पाइरहने ? कहिलेसम्म स्त्रीहरूको देवत्वकरण र दानवीकरण गरिरहने ? कहिलेसम्म आस्थाका नाममा होलिकादहन गरी स्त्री पोल्ने प्रथालाई निरन्तरता दिइरहने ?

प्रकाशित : चैत्र ३, २०७८ ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्

यी जोधाहा कविता

कविताको भाषा कठोर छ र शैली जोधाहा । तर, अनुभूतिको स्वतःस्फूर्त अभिव्यक्ति यी कवितामा छन् ।
सुमिना

एउटा आदिम चुल्ठो छ मसँगमानव सभ्यताले बाटिदिएकोरीतिरिवाजले कोरिदिएकोआफ्नै शिरमा लर्किरहनेनारी हुनुको परिचय बोकेकोगजबको केशपास

महिला–पुरुष जैविक मात्रै नभई सम्पूर्ण रूपमै भिन्न हुन् भन्ने मान्यता स्थापित गर्न आदिम समाजले संस्कार र मर्यादाका नाममा महिलाको शिरमाथि जबर्जस्ती गुथाइएको वस्तु हो– ‘चुल्ठो’ । चुल्ठोसँग निकै पुरानो सम्बन्ध छ महिला दासताको । लामो कपाल सर्लक्क कोरेर बाट्नु, शरीरभरि विभिन्न धातुका आभूषण पहिरिनु र हिँड्दा वा उफ्रिँदा असहज हुने पोसाक लगाउनु परम्परागत समाजको नजरमा साँचो अर्थमा महिला हुनु हो ।

यसको ऐतिहासिकता जोडिन्छ, पुरानो समाजसँग । दास युगमा अधिकतम मात्रामा स्त्रीहरू दास बनाइए । जब महिला सामूहिक कार्यशालाबाट घरभित्र कैद हुन थाले, उनीहरूको स्वतन्त्रतालाई जकडेर नियम–अनुशासनको लगाम खिच्न पुरुषले ठूला प्रपञ्च रचे । त्यहाँ धर्म, संस्कार, संस्कृति र परम्पराका नाममा महिला स्वतन्त्रतामाथि ठूलै हस्तक्षेप गरियो– महिलाले यो गर्नु हुन्छ–यो हुँदैन, यहाँ जानु हुन्छ–यहाँ हुँदैन, यो लगाउनु हुन्छ–यो हुँदैन आदि इत्यादि । कवि कल्पना चिलुवालको कविता–किताब ‘चुल्ठो’ ले समाजमा स्थापित तिनै पुरातन मूल्य–मान्यतामाथि प्रश्न गरेको छ । कल्पनाका कवितामा आक्रोश छन्, आवेग छन्, काव्यिक कटाक्ष छन् । उनी सामाजिक कुरीति र कुसंस्कारसँग आँखा जुधाएर सशक्त प्रतिवाद गर्छिन् । प्रत्येक उत्पीडन, दलन, हिंसा र शोषणको अन्त्य चाहन्छिन् । उनका कवितामा सनातनी भाषा होइन, सदियौँदेखि समाजको पीँधमा दबिएका मानिसको आवाज सुनिन्छ ।

उनी आम महिलाका मर्मसँग एकाकार छिन् । उनी कविताको औंला उठाएर शासक वर्गलाई प्रश्न गर्छिन् । उनको निडरता कतै राज्यसत्तासँग टकराउँछ त कतै जनतालाई खेलको मोहोरा बनाएर सत्तासम्म पुग्ने भर्‍याङ सम्झिने पथभ्रष्ट राजनीतिक चरित्रसँग ।

कल्पनाका कवितामा प्रश्न छन्, उत्तेजना छन्, विश्लेषण छन्, अन्वेषण छन् । धेरैलाई लाग्न सक्छ, उनका कवितामा प्रेम किन छैन ? नितान्त एक प्रेमी–प्रेमिकाबीचको प्रेम नहोला, तर मानवीय प्रेम, सामूहिकताप्रतिको प्रेम, देशप्रेम र वर्गीय प्रेम उनको कवितामा भरिभराउ छन् । मार्क्सवादको वैचारिक आलोकमा प्रशिक्षित उनी वर्गीय समाजका अन्तर्विरोध खोतल्दै त्यसले माग्ने वर्गीय सङ्घर्षलाई आत्मसात् गर्छिन् ।

भौतिकवादी दृष्टिकोणद्वारा जीवन र जगत्प्रतिको द्वन्द्वात्मकतालाई उनका कविताले प्रस्ट भाषामा प्रतिविम्बित गर्छन् । उनी शोषक–उत्पीडकलाई वर्गीय शत्रु ठान्छिन् । सर्वहारा श्रमिकजनको आवाज बोल्छिन् । दलाल प्रवृत्ति, नवसामन्त तथा उपभोक्तावादी पुँजीवादविरुद्ध प्रतिपक्षीय भूमिकामा हुन्छिन् । ठगिखानेविरुद्ध लेख्छिन् र गरिखाने भुइँमान्छेका पक्षमा कविताबाटै ‘इन्कलाब’ बोल्छिन् ।

एउटा स्थापित भाष्य छ, ‘साहित्य समाजको दर्पण हो ।’ तर, अब साहित्य समाज बदल्ने पतिवर्तनकारी अस्त्र पनि बन्नुपर्छ । साहित्यले वर्तमानमा उभिएर भविष्यको दिशानिर्देश गर्न सक्नुपर्छ, वर्तमान समाजको उल्थासँगै भविष्यको चित्र निर्माण गर्न सक्नुपर्छ । साहित्यको यो भाष्य चिलुवालका कवितामा प्रयोग भएका छन् । उनका कविता वर्तमानका जटिलतालाई कसरी चिर्ने भन्ने मार्ग पहिल्याउन प्रयत्नशील छन् । कल्पनाका कविताको भाषा कठोर छ र शैली जोधाहा । तर, विलियम वर्डस्वर्थलगायतले भनेजस्तै ‘अनुभूतिको स्वतःस्फूर्त अभिव्यक्ति’ उनका कवितामा छन् । कवि पाशको जस्तो क्रान्तिचेत र वर्गसङ्घर्षप्रेम अनि कवि कृष्ण सेन ‘इच्छुक’ को जस्तो निडरता र बुलन्द विद्रोही भाव छन् । भलै एकाध कवितामा कला पक्ष केही कमजोर छन् । तर, कविताले दिने सन्देश, विचार पक्ष र विषयवस्तुको उठान स्पष्ट छ ।

किताबका ‘चुल्ठो’, ‘बोक्सी जुलुस’, ‘भान्सा घर’ जस्ता केही कविता नारी हुनुको मर्मसँग एकाकार छन् र तिनले अस्तित्ववादी धार बोकेका छन् । ‘बजार’, ‘बजारको रमिताशास्त्र’ लगायतका केही कविताले केवल क्रय–विक्रयको अन्तर्वस्तु बोकेको बजारवादमाथि प्रहार गरेका छन् । ‘सरकार’, ‘भूकम्पपछिको मध्यान्तर’, ‘लाठीचार्ज, हुरी र शासक’ जस्ता कविताले शोषित तथा उत्पीडित जनताको मर्मबोध नगर्ने शासकीय प्रवृत्तिमाथि कटाक्ष गर्दै राज्यसत्ताको चरित्रलाई उदाङ्गो पारेका छन् । कतिपय कविताले परम्पराका रूपमा लादिएका अन्धविश्वास, रुढी र पुरातन संस्कारमाथि प्रहार गरी प्रगतिशील धार पछ्याएका छन् । ‘गुलाबको ट्याटु र पन्युको डाम’ कविताले बढ्दो पश्चिमा संस्कृतिको अनावश्यक सिको अनि परम्परा र संस्कृतिका नाममा दिएको घाउ, रहर र बाध्यताबीचको विरोधाभास बोलेको छ । सदियौँदेखि समाजमा बाँचिरहेको एउटा अन्धविश्वासको दृष्टान्त हो, ‘बोक्सी जुलुस’ । बोक्सी प्रथा अर्थात् पुरातन परम्पराको एउटा विकार, जसबाट आज पनि कैयौँ महिलाहरू प्रताडित छन् ।

दुःख, दर्द र पीडाको फेहरिस्त फुकाउँदै कविताले शालीन विद्रोही चेत बोलेका छन् । कवितामा निराशा भेटिँदैनन् । यी कविताले पाठकलाई उमङ्ग र ऊर्जा भर्दै जीवनप्रति सकारात्मक र आशावादी बन्न सिकाउँछन् ।

चिलुवालका कविता वास्तविकतासँग साक्षात्कार गर्छन् । सुन्दर शैली, प्रस्ट भाव यी कविताको विशेषता हो । कवि परिवर्तन पक्षधर हुन् भन्ने उनको ‘छनोट’ कविताले बोल्छ । उनले जीवनको परिभाषा दिन नदीलाई रोजेकी छन् । नदी निरन्तरताको विम्ब हो भने चलायमान हुनु नदीको विशेषता । कविले आकाशको भव्यता होइन, नदीको चलायमान पक्षसँग जिन्दगीलाई परिभाषित गरेकी छन् । उनको ‘छनोट’ भव्यतामाथि नभएर निरन्तर चलिरहने प्रक्रियामाथि अडिएको छ ।

कविसँग मेरो दोहोरो सम्बन्ध छ । नारी हुनुको सम्बन्ध र कविले कविसँग स्थापित गर्ने भावनात्मक एवम् वैचारिक सम्बन्ध । शोषित, दमित र उत्पीडित वर्गको आवाज बोल्दै युगीन चेतना बोक्ने यी कवितासँग म सहमत छु र तिनले बोक्ने विचारप्रति एक्यबद्ध छु ।

प्रकाशित : माघ ८, २०७८ १०:१७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×