एमसीसी र ‘काउन्टर महाभियोग’ को पोस्टमार्टम- विचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एमसीसी र ‘काउन्टर महाभियोग’ को पोस्टमार्टम

एमसीसी पास गराउन जोड गर्ने एमालेले मतदान हुँदा संसद् घेर्ने काम गरिरह्यो । तर पछि ‘हामीलाई मतदान गर्न दिइएन’ भनी झूटा बोल्नसमेत संकोच मानेन । स्थानीय र संसदीय चुनावमा भोट लिन एमालेले ‘एमसीसी राष्ट्रघाती’ भनेर राजनीतिक नैतिकता र इमानदारी नछाडोस् ।
बलराम केसी

एमसीसीको पोस्टमार्टम
अर्थ मन्त्रालय र एमसीसीबीचको अनुदान सम्झौता बाह्रबुँदे व्याख्यात्मक घोषणासहित संसद्बाट अनुमोदन गराउन प्रधानमन्त्री शेरबहादुर देउवा सफल भए । व्याख्यात्मक घोषणा मान्न अमेरिका तयार भयो । सम्झौता व्यापारिक प्रकृतिको थिएन । यस्ता सम्झौतालाई ‘आर्थिक विकास’ सम्झौता भनिन्छ । दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध र नेपाल विकासशील राष्ट्र भएकाले अमेरिकाले ५० करोड डलर अनुदान दिएको हो । तर एमसीसीविरोधीले नेपालमा अमेरिकी सेना आउने भयो, नेपालको सार्वभौमसत्ता जाने भयो भन्दै प्रचार गरे । 

नाफाको उद्देश्यले चल्ने कम्पनीसँग यही सम्झौता भएको भए उसले व्याख्यात्मक घोषणा मान्दैनथ्यो । भन्थ्यो- हस्ताक्षर गर्दा ‘रिजर्भेसन’ नराख्ने, साढे चार वर्षपछि व्याख्यात्मक घोषणाका नाममा संशोधनको नतिजा निस्कने खालको एकपक्षीय कार्य गर्ने ? एमसीसीले गर्दा नयाँ वानेश्वर दंगाग्रस्त क्षेत्र बन्यो । तर अमेरिकी दूतावासले आफ्नो विरोध गर्ने जमातलाई नै समर्थन हुने गरी ‘प्रजातन्त्रमा मानिसले बोल्न र विरोध गर्न पाउनुपर्छ, शान्तिपूर्वक विरोध गर्न दिएको भए हुन्थ्यो’ भन्ने आशयको विज्ञप्ति मात्र जारी गरेन, व्याख्यात्मक घोषणाको स्वागतसमेत गर्‍यो । दूतावासको स्वागत र अर्को दिनको अमेरिकी परराष्ट्रमन्त्रीको नेपालका प्रधानमन्त्रीसँगको वार्तापछि एमसीसी आर्थिक सहायता होइन, अमेरिकी सेना ल्याउने सम्झौता हो भनेर गलत प्रचार र भ्रम सिर्जना गर्ने उग्र राष्ट्रवादीहरू झूटा ठहरिए । उनीहरूले त माफी माग्नुपर्ने हो । सूचना नदिई अन्धकारमा राखिएको जनसमूहभन्दा गलत सूचना दिएर भ्रममा पािरएको जनसमूह समाजका लागि बढी अप्ठेरो हुन्छ भन्ने यसबाट साबित भयो ।

एमसीसीले केही दल र नेताहरू सिद्धान्तविहीन रहेछन् भन्ने पनि देखायो । प्रजातन्त्र भन्दैमा सरकारमा बसेर सरकारको विरोध गर्न कहीँ पनि पाइँदैन । विरोध गर्ने हो भने सरकार छाड्नुपर्छ । नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले सरकारमा बसेर सरकारकै विरोध गरे । अझ अनौठो त, सरकार गठन हुनासाथ प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसीसी अनुमोदन गरिन्छ भनेर चिठी पनि लेखिसकेका थिए । यदि कानुन र नैतिकता मान्ने हो भने माओवादी केन्द्र त्यस दिनदेखि नै विबन्धित थियो । एमसीसी पारित गराउन विबन्धित विपक्षी नेकपा एमालेको पनि सिद्धान्तविहीन नाटक देखियो । पदमा हुँदा केपी ओलीले एमसीसी संसद्मा प्रवेश गराउन प्रयास गरेकै हुन् । तर गठबन्धन भत्काउन सकिन्छ कि, सभामुखलाई हटाउन सकिन्छ कि भन्दै संसद् अवरुद्ध गरेर उनले एमसीसीलाई भाँड्न सक्दो प्रयत्न गरे । एमसीसी पास गराउन जोड गर्ने एमालेले मतदान हुँदा संसद् घेर्ने काम गरिरह्यो । तर पछि ‘हामीलाई मतदान गर्न दिइएन’ भनी झूटा बोल्नसमेत संकोच मानेन । स्थानीय र संसदीय चुनाव नजिकिएको छ । भोट लिन त्यति बेला एमालेले ‘एमसीसी राष्ट्रघाती’ भनेर राजनीतिक नैतिकता र इमानदारी नछाडोस् ।

एमसीसीले सन् २००८ को भारत–अमेरिका ‘न्युक्लियर डिल’ लाई सम्झाइदियो । न्युक्लियर डिल हुँदा भारतका प्रधानमन्त्रीमा डा. मनमोहन सिंह थिए भने सभामुखमा भारतीय कम्युनिस्ट पार्टीका नेता सोमनाथ चटर्जी । दुवै नेता आ–आफ्ना विषयमा ‘टावरिङ पर्सनालिटी’ थिए । त्यति बेला भारतीय लोकसभामा भारतीय जनता पार्टी प्रमुख विपक्षी थियो । अमेरिकासँगको उक्त डिल पास हुन नदिन विपक्षीहरू मिलेर सबै हत्कण्डा प्रयोग गरे । भारतीय कम्युनिस्ट पार्टीले सोमनाथ चटर्जीलाई सभामुखबाट राजीनामा गर्न भन्यो तर उनले मानेनन् र दलबाट निकालिए । सभामुख निष्पक्ष रहनुपर्छ भनेर उनी पदमा बसिरहे । बहुमतले न्युक्लियर डिललाई समर्थन गर्‍यो । उक्त सम्झौताले गर्दा अन्तर्राष्ट्रिय जगत्मा आज भारतको उच्च सम्मान छ । संसद्बाट एमसीसी अनुमोदनका सम्बन्धमा नेपालमा पनि धेरै हदसम्म त्यस्तै घटना भयो । जसरी न्युक्लियर डिलले गर्दा आणविक क्षेत्रमा आज भारतलाई विश्वले स्वागत गरेको छ, त्यसरी नै नेपालमा एमसीसीका कारण उदारीकरण, बजार अर्थतन्त्र र विदेशी लगानी बढ्नेछ ।

प्रमुख विपक्षी एमाले गठबन्धन भत्केको देख्न वा भत्काउन चाहन्थ्यो । तर प्रधानमन्त्री देउवाको कुशल नेतृत्व (यस पटक देखियो, यसअघि देखिएको थिएन) ले व्याख्यात्मक घोषणा समावेश गरेर एमसीसी पास गराइयो । यो मामिलामा देउवाले आफूलाई सफल नेताका रूपमा चिनाए । नेपालमा धेरै प्रधानमन्त्री भए तर थोरैले मात्र नाम लिने खालको काम गरे । बीपी कोइरालाको कुरै भएन, ज्यादै महान् थिए । कृष्णप्रसाद भट्टराई त्यस्तै थिए । गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा पछिल्लो चोटि प्रजातन्त्र बहाली भएको हो । नेकपा एमालेका मनमोहन अधिकारी नाम लिनलायक अर्का प्रधानमन्त्री थिए । पञ्चायतकालका कीर्तिनिधि विष्टले नेपालबाट भारतीय सेनाका पोस्टहरू फिर्ता गराए, मरीचमान सिंहले २०४६ सालको भारतीय नाकाबन्दीताका भ्रष्टाचार नगरी मालसामान आपूर्ति गराए । अहिले देउवाले ‘स्टेट्सम्यानसिप’ भएको प्रधानमन्त्रीमा आफूलाई स्थापित गरे ।

एमसीसी पारित हुनाले उग्र राष्ट्रवाद र उग्र वामपन्थीको हार भयो । सम्झौता राम्ररी पढ्ने हो भने एमसीसीको विरोध गर्नैपर्ने थिएन । अमेरिकाले बिनासर्त तुरुन्त व्याख्यात्मक घोषणालाई समर्थन गरेकाले हाम्रा कथित राष्ट्रवादीहरू झनै नांगिए । एमसीसी प्रकरणमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पनि बिर्सन हुन्न । आर्थिक विकासका लागि नेपालसँग पुँजी र प्रविधि छैन, त्यसैले अमेरिकाको प्रविधि र पुँजी देश विकासका लागि आवश्यक हुन्छ भनेर होला, नेपालले एमसीसीको अनुदान लिँदैमा न देश बेचिन्छ न अमेरिकी सेना आउँछ न सार्वभौमसत्ता नै जान्छ भन्ने बुझेर होला, उनले पनि एमसीसीको समर्थन गरेर स्टेट्सम्यानसिप देखाए ।

एमसीसीको विरोधले नेपाल धेरैतिर शीर्ष समाचार बन्यो । उत्तरको छिमेकीले एमसीसीलाई ‘पान्डोराज बक्स’ भनेर व्यंग्य गर्‍यो । एमसीसीको पोस्टमार्टमका लागि अध्ययन समिति गठन गर्नुपरे त्यसमा स्वतन्त्र, तटस्थ, निष्पक्ष र सन्धिसँग सम्बन्धित अन्तर्राष्ट्रिय कानुनको ज्ञान भएका व्यक्तिहरूलाई समेट्नुपर्छ भन्ने देखियो । ‘बायस्डनेस’ भएका व्यक्तिहरूबाट प्रतिवेदन निष्पक्ष र तटस्थ आउँदैन भन्ने पाठ पनि सिक्नुपर्‍यो । यसो भन्नुका पछाडि केही आधार छन् । सन्धिको व्याख्यामा हाम्रै संविधान र ‘भियना कन्भेन्सन अन ल अफ ट्रिटिज’ आकर्षित हुन्छन् । नेपालको संविधानको धारा २७९(२)(घ) अनुसार एमसीसी सुरक्षासम्बन्धी सन्धि हो भने पारित हुन दुईतिहाइ बहुमत आवश्यक पर्छ । एमसीसी

सम्झौतामा सुरक्षासम्बन्धी कुरा नभएकाले संविधानतः संसदीय अनुमोदन आवश्यक थिएन ।

विरोधका मोटामोटी दुई मुख्य कारण मानौं । एउटा, एमसीसी संविधानभन्दा माथि हुने भयो रे; अर्को, इन्डो–प्यासिफिक स्ट्राटेजीअन्तर्गत अमेरिकी सेना आउने भयो रे ! दुइटै कुरा भ्रामक थिए । व्याख्यात्मक घोषणा नगरीकनै एमसीसी लागू भएको भए र विवाद उत्पन्न भएकै भए पनि ‘भियना कन्भेन्सन अन ल अफ ट्रिटिज’ का धारा ३१ र ३२ ले नेपालको संवैधानिक सर्वोच्चता र सार्वभौमिकतामा कुनै असर र आँच आउने थिएन । ‘भियना कन्भेन्सन अन ल अफ ट्रिटिज’ को धारा ३१(१) मा सन्धिको व्याख्या सन्धिको प्रयोजन, उद्देश्य र प्रसंग हेरेर शब्दहरूको ‘साधारण अर्थमा’ ‘असल नियत’ ले गर्नुपर्छ भनिएको छ । सन्धिका प्रस्तावना अनुसूचीहरू र पछि भएका अन्य पूरक कागजात, सम्झौताहरूसमेत हेरेर सौहार्दपूर्ण रूपमा व्याख्या गरिनुपर्छ भन्ने पनि त्यसमा उल्लेख छ ।

एमसीसीले नेपाल ‘भियना कन्भेन्सन अन ल अफ ट्रिटिज’ को धारा ६ का लागि सार्वभौमसत्ता सम्पन्न राष्ट्र हो भन्ने मानेकै छ । ‘भियना कन्भेन्सन अन ल अफ ट्रिटिज’ को धारा ७(१)(क) को सार्वभौम राष्ट्रको ‘फुल पावर्स’ हेरेरै सम्झौता भयो । सम्झौतामा नेपालको संविधानको धारा ८२(१) को कार्य विभाजन नियमावलीअन्तर्गत गठित अर्थ मन्त्रालय (रक्षा मन्त्रालय होइन) बाट उठान र कार्य सम्पादन नियमावली अनुसार बनेको नियमावलीको कार्यविधिबमोजिम हस्ताक्षर भएको हो । नेपालको संविधान लागू हुने कि नेपालको संविधानमाथि एमसीसी लागू हुने भन्ने विवाद उत्पन्न भएर व्याख्या गर्नुपर्ने अवस्था आइपरेकै भए पनि ‘भियना कन्भेन्सन अन ल अफ ट्रिटिज’ का धारा ३१ र ३२ अनुसार यी कागजातका आधारमै हुने हो, अमेरिकी कानुन अनुसार होइन । एक्काइसौं शताब्दीको नेपालका लागि एमसीसी सम्झौता र एमसीसीको प्रधान कार्यालय ‘कोलोनियल पिरियड’ को सोह्रौं शताब्दीको ‘इस्ट इन्डिया कम्पनी’ बन्ने कतै कुनै ‘लुप होल नै थिएन’ । अध्ययन गर्नेहरू कि स्वतन्त्र, तटस्थ र निष्पक्ष भएनन्, कि त ‘भियना कन्भेन्सन अन ल अफ ट्रिटिज’ बुझेनन् या देखेनन् ।

अमेरिकाका पूर्वराष्ट्रपति ट्रम्पले एक पटक डेनमार्कले उसको ‘ग्रिनल्यान्ड’ टापु अमेरिकालाई बिक्री गरे हुन्थ्यो भन्दै भाषण गरे । डेनिस नागरिक र सरकारले त्यसलाई वास्ता गरेनन् । डेनिसहरू पनि राष्ट्रवादी र देशभक्त छन् । यदि ट्रम्पले नेपालको सगरमाथा बिक्री गर भनेका भए यहाँ सायद दूतावास जल्दो हो, सयौं मारिँदा हुन् ।

नेपाल स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न राष्ट्र हो भनेर कसैले प्रमाणित गरिरहनुपर्दैन । संयुक्त राष्ट्रसंघको सदस्य, १५० भन्दा बढी राष्ट्रसँगको दौत्य सम्बन्ध, आफ्नै संविधानसभाले बनाएको संविधानको धारा ४ छ जसमा नेपाल सार्वभौमसत्ता सम्पन्न राष्ट्र हो भन्ने उल्लेख छ । व्याख्या गर्नुपरे यी विषयलाई महत्त्वपूर्ण प्रमाणका रूपमा लिइन्छ । यस्तो देख्दादेख्दै कसरी नेपालको संविधानभन्दा पनि एमसीसी ठूलो हुन्छ भन्ने आँट आयो ? कानुनको कुरा गर्ने हो भने, नेपाल सन्धि ऐन–२०४७ को दफा ९ मा ध्यान दिनुपर्छ । सन्धिका सम्बन्धमा अन्तर्राष्ट्रिय कानुनमा दुई सिद्धान्त हुन्छन्- ‘मोनिजम’ र ‘डियोलिजम’ । मोनिजममा सार्वभौम राष्ट्रले गरेको सन्धि राष्ट्रिय संसद्ले कानुन नबनाईकन स्वतः लागू हुन्छ । डियोलिजममा सन्धिमा हस्ताक्षर भए पनि संसद्ले ‘इनेबलिङ लेजिस्लेसन’ द्वारा राष्ट्रिय कानुनमा समावेश गरेपछि मात्र सन्धिको व्यवस्था लागू हुन्छ । नेपालले नेपाल सन्धि ऐन–२०४७ को दफा ९ मा नेपालले अनुमोदन गरेको सन्धि र नेपाल कानुन बाझिएमा नेपाल कानुन होइन सन्धि लागू हुन्छ भन्यो । यसको मतलब नेपालले मोनिजम मान्दै आएको छ । सन्धि ऐनको दफा ९ अनुसार बाह्रबुँदे व्याख्यात्मक घोषणा समावेश नगरी एमसीसी लागू गरेको भए पनि नेपालको सार्वभौमसत्ता हनन हुँदैनथ्यो । सन्धि ऐनको दफा ९ बारे छलफल हुँदा त्यति बेला संसद्मा कसले विरोध गरे र कसले गरेनन् भनी पत्ता लगाउन र सार्वजनिक गर्न पंक्तिकार यसै लेखमार्फत सञ्चारमाध्यमहरूलाई अनुरोध गर्छ ।


काउन्टर महाभियोगको पोस्टमार्टम

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा हाल निलम्बित छन् । उनी नेपालको मात्र होइन, विश्वकै विवादित प्रधानन्यायाधीश बने । आचारसंहिता पालना गरिदिएका भए, न्यायपालिकाको सुधारमा लागेका भए विवादित बन्ने थिएनन् । विवादित बनेपछि पनि राजीनामा गरिदिएका भए विवादमा सय पूर्णांक नै पाउने थिएनन् ।

न्यायाधीशको कामकारबाही, भ्रष्ट आचरण, गुण, खुबी, क्षमता, ज्ञान, सीप, कला, इमानदारी र ढंग आदि वकिलहरूको संगठन नेपाल बार एसोसिएसनलाई जति अरूलाई थाहा हुँदैन । अरू भनेका राजनीतिक दल र नेताहरू । चोलेन्द्रशमशेरका सम्बन्धमा नेपाल बार एसोसिएसनले १७ आरोपसहित राजीनामा माग गर्दै अभियान चलायो । सरकारले महाभियोग प्रस्ताव दर्ता गर्‍यो । धारा १००(४) क्रियाशील छ । प्रक्रिया अगाडि बढ्ला । संविधानले नेपालीलाई स्वतन्त्र न्यायपालिका उपहार दिएको छ । स्वतन्त्र न्यायपालिका सबैलाई चाहिएको छ । स्वतन्त्र न्यायपालिका र न्यायाधीशलाई राजनीतिक दल र नेताहरूले स्वार्थी भएर ‘पर्दा’ काखी च्याप्ने र ‘नपर्दा’ फाल्ने सोचै नगरे हुन्छ । चोलेन्द्रशमशेरले आफ्नै कारणले महाभियोग खेप्नुपरेको हो । न्यायपालिकाको स्वतन्त्रता जोगाउन, बचाउन र टिकाउन; न्याय खोज्नेहरूका लागि सर्वोच्च अदालतप्रति विश्वास बढाउन, जगाउन र कायम राख्न चोलेन्द्रशमशेरमाथि महाभियोग आवश्यक थियो । प्रस्ताव दर्ता भएलगत्तै एमालेका नेताहरूले चोलेन्द्रशमशेरलाई महाभियोग लगाउने हो भने संसद् विघटन बदर गरी पुनःस्थापित गरेर एमालेको सरकार ढाल्ने अन्य चार न्यायाधीशलाई पनि ‘काउन्टर महाभियोग’ लगाउनुपर्छ भन्दै आफ्ना सांसदहरूलाई खाली कागजमा सही गराएर राखेको सार्वजनिक नै भइसक्यो । एमालेका केही नेताले ‘हामी काउन्टर महाभियोग लगाउँछौं’ भनेर टीभीमा बोलेको प्रसार भयो । एक नेताले त यतिसम्म भने, ‘हाललाई कायममुकायम त्यति बेलाका वरिष्ठतम न्यायाधीशविरुद्ध पहिले काउन्टर महाभियोग दर्ता गर्छौं, त्यसपछि अवस्था हेरेर बाँकी तीन जनाविरुद्ध पनि काउन्टर महाभियोग दर्ता गर्छौं ।’ तर, काउन्टर महाभियोगलाई संविधानले चिन्दैन ।

चोलेन्द्रशमशेरविरुद्धको महाभियोग मुद्दा हार्ने झगडियाले हारेको झोंकमा दर्ता गरेको मुद्दा होइन । मुद्दा हारजित संसारमा कतै पनि न्यायाधीशविरुद्ध महाभियोगको विषय बन्नै सक्दैन । जसले संविधान बुझ्दैन, स्वतन्त्र न्यायपालिका बुझ्दैन र केवल प्रजातन्त्र भन्छ, उसले मात्र मुद्दा हराउनुको कारण काउन्टर महाभियोग भन्छ । यदि कथित काउन्टर महाभियोग दर्ता भइहालेछ भने पनि त्यो किर्ते हुन जान्छ । किर्ते त्यसै भनिएको होइन । ‘कोलोनियल पिरियड’ मा सर्भिस लमा कर्मचारी र सरकारलाई ‘मास्टर’ र ‘सर्भेन्ट’ को सम्बन्ध भनिन्थ्यो । कोलोनी समाप्त भएपछि ‘मास्टर’ र ‘सर्भेन्ट’ भन्न छाडियो । हिजोआज मुख्य सचिव वा मन्त्रीले भने पनि तल्लो स्तरको निजामती कर्मचारीले खाली कागजमा सही गर्न मान्दैन । तर अनौठो, संविधान संशोधन गर्ने अधिकार भएका, संसदीय सुनुवाइ गर्ने अधिकार भएका र कानुन बनाउने अधिकार भएका सांसदहरूलाई खाली कागजमा सही गराएर महाभियोग दर्ता गर्ने हो भने अन्तर्राष्ट्रिय जगत्मा नेपालको छवि कस्तो होला ! खाली कागजमा सही गर्ने हाम्रा सांसदहरू कस्ता ? र खाली कागजमा सही गराउने राजनीतिक दलहरू कस्ता ? प्रार्थना गरौं, विदेशीहरूले यो कुरा थाहा नपाऊन् ।

यदि निकट भविष्यमा कुनै दिन खाली कागजमा गराइएको सही - जुन कानुनतः किर्ते हो - का आधारमा संसद् विघटन बदर गर्ने सबै वा कुनै न्यायाधीशलाई काउन्टर महाभियोग प्रस्ताव दर्ता भएछ भने त्यो कार्य स्वतन्त्र न्यायपालिकामाथि हस्तक्षेप र अदालतको अवहेलना हुनेछ । यदि दर्ता भएछ भने त्यो दिनलाई स्वतन्त्र न्यायपालिकाका लागि, खास गरी सर्वोच्च अदालतका लागि २०१७ पुस १ र २०६१ माघ १९ गते राजाबाट प्रजातन्त्र हरिएको दिनजस्तो एमालेबाट नेपालको न्याय हरण गरिएको दिन मान्नुपर्छ; सर्वोच्च अदालतको स्वतन्त्रता अपहरण भएको कालो दिन मान्नुपर्छ ।

एमालेका नेता एवं पूर्वप्रधानमन्त्री स्वयंबाट बारम्बार संसद् पुनःस्थापनाको बदर फैसलालाई अवहेलनाजनक शब्दमा ‘स्याटारिकल स्यान्डलाइजेसन’ भइरहेको छ । अदालतले नचाहेर मात्रै, चाहने हो भने त्यो अदालतको अवहेलना हुन सक्छ । विचाराधीन मुद्दामा असर पर्ने गरी न्यायाधीशलाई डर देखाउने, धम्क्याउने, तर्साउने, हप्काउने, झस्काउने, अत्याउने वा फकाउने; मुद्दामा प्रभाव पर्ने गरी केही बोल्ने वा गर्ने काम कसैले गर्नु हुँदैन । गरे अवहेलना हुने मात्र होइन, न्याय सम्पादनमा प्रभाव पारेर हस्तक्षेप गरेको मानिन्छ । काउन्टर महाभियोग भनेर सर्वोच्च अदालतका न्यायाधीशमाथि तरबार झुन्ड्याइएको धम्की दिइएको हो । प्रजातन्त्र र स्वतन्त्र न्यायपालिकाप्रेमी कुनै पनि नेपालीले यसको विरोध गर्नुपर्छ । यदि काउन्टर महाभियोग दर्ता भएछ भने जेनेभाको मानव अधिकार परिषद्, आईसीजे, एम्नेस्टी, ह्युमन राइट वाचजस्ता संस्था र नेपालको राजनीतिक समाजले भीषण विरोध गर्नुपर्छ ।

खारिएको, इमानदार र देशभक्त; कानुनी शासन, प्रजातन्त्र र संविधानवादमा विश्वास गर्ने; स्वतन्त्र न्यायपालिका चाहने प्रजातन्त्रवादी दल र नेताले मुद्दा हारजितमा न्यायाधीश र अदालतलाई काउन्टर महाभियोगको धम्की दिँदैनन् । उदाहरण नै खोज्ने हो भने, सन् २००० को अमेरिकी राष्ट्रपति चुनावमा दुई उम्मेदवार जर्ज डब्लु बुस र अल गोरबीचको मुद्दा हेरे हुन्छ । पपुलर भोट धेरै भए पनि अल गोरले इलेक्टोरल भोटको थोरै अन्तरले हारे । फैसला सुनेपछि अल गोरले भने, ‘यो अमेरिका हो । यहाँ प्रजातन्त्र छ । यहाँको न्यायपालिका स्वतन्त्र छ । मलाई हराउने फैसलामा म सहमत छैन तर त्यसलाई मान्छु । अदालतको सम्मान गर्नुपर्छ । म पुनरावेदन गर्दिनँ ।’ उनले किन त्यसो भनेका थिए भने, उनको डीएनएमा नै प्रजातन्त्र थियो । डीएनएमा प्रजातन्त्र हुनेबित्तिकै त्यस्तो व्यक्तिले स्वतन्त्र न्यायपालिकालाई स्वतः रक्षा र सम्मान गरिहाल्छ । अल गोरले न्यायपालिकालाई विवादमा ल्याएनन् । तर हामीकहाँ केसम्म हुन सक्छ, अन्दाज गर्न सकिन्छ । विभिन्न संवैधानिक निकायमा भागबन्डामा नियुक्ति गरिएको छ, जस सम्बन्धी मुद्दा चोलेन्द्रशमशेरले थन्क्याएको वर्षदिन नाघिसक्यो । ती मुद्दासँग अध्यादेशको आडमा अपूरो संवैधानिक परिषद्का तिनै सदस्यको स्वार्थ गाँसिएको सार्वजनिक भएकै हो । त्यो मुद्दामा नियुक्ति बदर नहोस् भनेरै काउन्टर महाभियोग लाग्न सक्ने धम्की दिइएको हुन सक्छ । एमालेले न्यायाधीशलाई थर्काउन हुन्न भन्नेबारे आईसीजेको एघारौं संस्करणको प्रतिवेदन हेर्नुपर्‍यो ।

केसी पूर्वन्यायाधीश हुन् ।

प्रकाशित : चैत्र २, २०७८ ०८:१०
प्रतिक्रिया
पठाउनुहोस्

संविधानका आँखामा चोलेन्द्रशमशेर राणा

बलराम केसी

चोलेन्द्रशमशेर राणाका दुई व्यक्तित्व छन् । एउटा, नेपालको संविधान–२०७२ को धारा १६(१) बमोजिम ‘सम्मानपूर्वक बाँच्न पाउने’ मौलिक हक सम्पन्न नागरिक व्यक्तित्वको । यो हैसियतमा उनलाई धारा २८ को गोपनीयताको हकले संरक्षण गर्छ । यो हैसियतका चोलेन्द्रशमशेर राणाका बारेमा छलफल, चर्चा वा आलोचना हुन सक्दैन ।



उनको अर्को व्यक्तित्व संविधानको धारा १२९(१) अनुसार सार्वजनिक पद धारण गरेको सर्वोच्च अदालतको प्रधान न्यायाधीशको हो । दोस्रो व्यक्तित्वले सर्वोच्च अदालत ऐन–२०४८ को दफा ८ अनुसारको ढाँचामा शपथ खाएको हुन्छ । शपथ खाएपछि उनि दोस्रो व्यक्तित्व हुन्छन् । यो व्यक्तित्वको शपथले गर्दा उनले गरेको हर काम ‘पब्लिक डोमेन’ भित्र पर्छ । यो व्यक्तित्वको हर कामको चर्चा हुन सक्छ । यो लेख यही दोस्रो व्यक्तित्वमा केन्द्रित छ ।

दोस्रो व्यक्तित्वका चोलेन्द्रशमशेर राणा राज्यका तीन अंगमध्येको न्यायपालिकाका नेता हुन् । ६०१ जना सभासद्ले बनाएको संविधानको व्याख्या गर्ने अधिकार राख्छन् । २७५ सांसदले बनाएको कानुनको संवैधानिकता परीक्षण गर्ने अधिकार राख्छन् । संविधानसँग बाझेको देखिएमा अन्य चार न्यायमूर्तिलाई साथ लिएर त्यस्तो ऐन बदर गर्ने अधिकार राख्छन् । संविधान नै पनि तोकिएको प्रक्रियाविपरीत संशोधन भएको रहेछ भने त्यस्तो संशोधनसमेत अमान्य गर्ने अधिकार राख्छन् । कार्यकारी प्रमुख प्रधानमन्त्रीले गरेको कार्यकारी निर्णय स्वेच्छाचारी, मनपरी, कानुनविपरीत, भेदभावकारी, प्राकृतिक न्यायको सिद्धान्तविपरीत अधिकार मिचेर गरिएको रहेछ भने राष्ट्रप्रमुखको अनुमोदन भए पनि बदर गर्ने अधिकार राख्छन् । संविधान, स्वतन्त्र न्यायपालिका, मौलिक हक र मानव अधिकारको अभिभावक र संरक्षकको हैसियत राख्छन् ।

दोस्रो व्यक्तित्वका चोलेन्द्रशमशेर राणा आफ्नै सहयोगीसहित सबै न्यायाधीशलाई आफैं नियुक्त गर्छन् । त्यस्तो परिषद्को आफैं अध्यक्षता गर्छन् । प्रदेश–प्रदेश र प्रदेश–संघ विवादमा पनि आफैं अध्यक्ष भएर निर्णय दिन्छन् । संवैधानिक र कानुनी प्रश्न समावेश भएको समाजमा चलेको गम्भीर मानव अधिकार उल्लंघन वा गम्भीर घोटाला आदि सार्वजनिक सरोकारका विषयमा अदालतमा कसैले निवेदन नल्याए पनि आफैं जानकारीमा लिएर सरकारलाई बोलाई कुरा सुनेर पूर्ण न्याय प्रदान गर्न आवश्यक जस्तोसुकै आदेश गर्ने असाधारण अधिकार राख्छन् । नेपालका प्रधान न्यायाधीशको अधिकार, भारतको भन्न सकिँदैन तर अमेरिका र बेलायतको सर्वोच्च अदालतका प्रधान न्यायाधीशको भन्दा बढी छ भन्न हिचकिचाउनुपर्दैन । अधिकार पाए पनि चोलेन्द्रशमशेर राणाले सही प्रयोग कहिल्यै गर्न सकेनन् । अधिकार कि दुरुपयोग गरे कि खेर फाले ।

उनी न्याय प्रशासनलाई प्रभावकारी बनाउन सर्वाधिकारसम्पन्न छन् । अन्य न्यायाधीश बिचौलियाको नाइके बनेछन् भने वा भ्रष्टचार गरेछन् भने कारबाही गर्ने अधिकार राख्छन् । कुनै न्यायाधीशले तत्कालीन मुलुकी ऐनको अ.बं. १८८ र हालको फौजदारी कार्यविधिको ‘सेन्टेन्सिङ पोलिसी’ विपरीत ज्यादै दयालु र कोमल भएर चित्त दुखाई तल्लो अदालतले दोषी ठहर्‍याएकोलाई कारागार ऐन लगाएर सजाय स्वाट्टै घटाएर जेलमुक्त गरेछन् भने त्यस्तो न्यायाधीशलाई कारबाही गर्ने अधिकार राख्छन् । राजस्व र कर मुद्दामा सरकारलाई बेफाइदा र करदातालाई अत्यधिक फाइदा हुने गरी फैसला गरेका न्यायाधीशलाई कारबाही गर्ने अधिकार राख्छन् ।

विभिन्न संवैधानिक आयोगमा राम्रा, इमानदार, अनुभवी र विषयवस्तुको ज्ञान भएको व्यक्ति नियुक्त गर्न संवैधानिक परिषद् बनाइयो । त्यस्ता आयोगहरूमा नियुक्तिको जिम्मा कार्यपालिकालाई मात्र दिइयो भने भर्तीकेन्द्र बनाउँछ भनेर रोक्न प्रधान न्यायाधीशलाई त्यसमा दोस्रो नम्बरको सदस्य बनाइयो । त्यसैले उनले परिषद्मा प्रभावकारी अधिकार राख्छन् । त्यति मात्र होइन, व्यक्तिव्यक्तिबीचको अत्यन्त घरायसी र पारिवारिक निजी मुद्दासमेत हेर्न अधिकारसम्पन्न छन् । तर प्रधान न्यायाधीशले बदमासी अरूले गरे भने कारबाही गर्नुपर्नेमा आफैंले धेरै गरेका छन् ।

प्रधान न्यायाधीश आफैंमा एउटा संस्था हो । कानुनी शासन र नागरिकहरूको हकको अभिभावक हो । अदालत न्यायको मन्दिर हो । वरिष्ठताका आधारमा धेरै न्यायाधीशमध्ये प्रधान न्यायाधीश हुन पाएका चोलेन्द्रशमशेर राणाले नेतृत्व सम्हाल्न पाए । संवैधानिक परिषद् र संसदीय सुनुवाइले उनीमाथि विश्वास गर्‍यो । उनीबाट निष्पक्ष, स्वच्छ, इमानदारीपूर्वक न्याय र उच्च नैतिकता अपेक्षा गरिएको थियो । संसदीय सुनुवाइले पनि त्यही अपेक्षा गरेको थियो । त्यही अपेक्षामा उनलाई राष्ट्रपतिसमक्ष शपथ खुवाइयो । उनले खाने शपथको ढाँचा सर्वोच्च अदालत ऐन–२०४८ को दफा ८ मै ढालियो ।

शपथ खाँदा उनले त्यो ढाँचा अनुसार ईश्वर सम्झेर सार्वजनिक रूपमा भने, ‘म संविधान र कानुनको पालना गर्छु । म वफादार बन्छु । म कसैलाई पक्षपात गर्दिनँ । म लोभलालचमा पर्दिनँ ।’ यसको मतलब ‘म निष्पक्ष बन्छु, घूस कदापि खान्नँ’ भनेको हो । तर चोलेन्द्रशमशेर राणाले ईश्वर, भगवान् र नेपालीलाई ढाँटे । ३ करोड नेपाली र ईश्वरलाई पनि धोका दिए । गर्दिनँ भनेको कुरा सबै गरे । यो कुरा नेपाल बारको उनीविरुद्धको १७ बुँदे आरोपले देखायो । बारजस्तो जिम्मेवार संस्थाले भ्रष्टाचारी, बिचौलियाको नाइके, संवैधानिक अंगमा भागबन्डा खोजेको आदि भन्दै लिखित आरोप लगाउनु भनेको उनले ईश्वर र नेपालीलाई ढाँटेको र झुक्याएको बलियो प्रमाण हो । आज सर्वोच्च अदालत उनकै बन्धकमा छ ।

प्रधान न्यायाधीशको पदमा पुग्ने व्यक्तिले भ्रष्टाचार गर्ने त कुरै नगरौं, स्वतन्त्र न्यायपालिकालाई समेत कहिल्यै बन्धक बनाउन पाउँदैन । त्यो पदमा पुग्ने व्यक्तिले न्यायपालिकाको विश्वास र स्वतन्त्रतामा आँच आउन दिँदैन । आएछ भने राजीनामा गर्छ । पश्चात्ताप गर्छ । आत्मालोचना गर्छ । तर चोलेन्द्रशमशेर राणामा लाजसरम भन्ने रहेनछ । उनी सर्वोच्च अदालत विवादित बनेको हेरिरहेका छन् ।

प्रधान न्यायाधीशविरुद्ध बार आन्दोलनमा उत्रेको तीन महिना भइसकेको छ । चोलेन्द्रशमशेर राणाले राजीनामा मागलाई एक कानले सुनेर अर्को कानले उडाउने गरिरहेका छन्, कानमा तेल हालेर बसिरहेका छन् । बारको आन्दोलनको अन्त्यको बटम लाइन उनकै राजीनामा छ । अन्त्य कसरी र कहिले, बार आफैं भन्न नसक्ने अवस्थामा छ । २०७९ मंसिरमा प्रधान न्यायाधीश ६५ वर्ष पूरा भएर उमेरको हदका कारण अवकाश हुने बुझिएको छ ।

उनी ६५ वर्षमा अवकाश हुने र बारले आफ्नो इज्जत जोगाउन त्यही दिन ‘हाम्रो माग पूरा भयो, आन्दोलन आजैबाट अन्त्य गरिएको छ’ भनेर विज्ञप्ति जारी गर्न नपरोस् । बार भनेको हातमा कलम र मुखमा बोलीको शक्ति र तागत भएका बौद्धिक व्यक्तिहरूको संगठन हो । यस्तो संस्थाले ऐक्यबद्धताका लागि सडक आन्दोलन सांकेतिक रूपमा केही दिनका लागि गरेर अदालतको इजलासमा कानुनी लडाइँमा विश्वास गर्नुपर्ने हो । बारको पुनीत उद्देश्यमाथि शंका गरिएको होइन । तर बारले संसद् र सरकारको सहयोग र समर्थन पाएन । सरकार र संसद्को समर्थन त प्रधान न्यायाधीशले नै पाएको देखियो । यत्रो विरोध हुँदा पनि राजीनामा नगर्नुको मतलब संसद् र सरकारले ‘पदमा बसिरहे हुन्छ, राजीनामा गर्नु पर्दैन, हामी हटाउँदैनौं’ भनेर आश्वासन दिएका छन् भनी शंका गर्ने ठाउँ छ ।

बार र प्रधान न्यायाधीशबीचको शीतयुद्धया ‘आइस ब्रेक’ गर्ने संयन्त्र संविधानमा राखिएन । हाम्रो मात्र होइन, संसारभरकै संविधाननिर्माताहरूले न्यायपालिकाका बारेमा लेख्दा हाम्रा प्रधान न्यायाधीशजस्तो व्यक्ति पनि प्रधान न्यायाधीश हुन्छ र भनी संविधान बनाएकै हुँदैनन् । अन्य देशमा हाम्रा प्रधान न्यायाधीशजस्ता प्रधान न्यायाधीश हुँदैनन् । भैहाले पनि हाम्रो जस्तो आ–आफ्नै स्वार्थले भरिपूर्ण पाँचदलीय गठबन्धन सरकार हुँदैन । भैहालेछ भने पनि नेपालको जस्तो गैरजिम्मेवार र अवसरवादी विपक्षी दल अन्य देशमा हुँदैन । अन्यत्र यस्तो डेडलक नहुने हुनाले आइस ब्रेक गर्नुपर्ने संयन्त्र राखिँदैन ।

अन्यत्र प्रधान न्यायाधीश हाम्रोमा झैं तल्लो स्तरका र विवादित बन्दैनन् । बनिहाले पनि बारले बहिष्कार गर्नासाथ आफ्नो इज्जत र न्यायपालिका जोगाउन राजीनामा गर्छन् । शक्तिकेन्द्रबाट संकेत नआई यही अवस्थामा प्रधान न्यायाधीशको राजीनामा आयो भने अनौठो माने हुन्छ । प्रधान न्यायाधीशले राजीनामा तीन कारणले दिन्छन् । एउटा, जिम्मेवारीबोध गरेर । उनी आफैं गैरजिम्मेवार भएकाले जिम्मेवारीबोध गर्ने कुरा आएन । दोस्रो, न्यायपालिका नबिग्रियोस् भन्ने चिन्ताले । उनी स्वतन्त्र न्यायपालिकाप्रति भित्री मनले कटिबद्ध, वफादार, इमानदार व्यक्ति नै होइनन् । त्यसले गर्दा उनमा संस्था बिग्रेला भन्ने मतलब भएन । तेस्रो, महाभियोगको प्रस्ताव सामना गर्नु नपरोस् भनेर । तर महाभियोग नआउनेमा उनी ढुक्क छन् ।

नेपाल बारले प्रधान न्यायाधीशमाथिका विभिन्न सत्र आरोप लिखित रूपमै सरकार एवं प्रमुख नेताहरूलाई बुझाइसकेको छ । प्रधान न्यायाधीशमाथि भ्रष्टाचारी, बिचौलियाको नाइके आदि शब्द प्रयोग हुनु भनेको बोल्न पाइनेजति कडा बोलेको हो । त्योभन्दा तल गएर बोल्नु भनेको नांगो हुनु हो । तैपनि उनी पद छाड्दैनन्, न्यायपालिकालाई नै डेडलक बनाएर बस्छन् भने अब पनि राजीनामाको आशा गर्ने ? उनले लाज पचाइसके । सम्माननीय भएर धेरै असम्मानित काम गरे । त्यसैले बारको भाषण, राजीनामा माग, विरोध प्रदर्शन, जुलुस, नगर परिक्रमा, कालोपट्टी, दस–बाह्र बजेसम्म वकिलको धर्ना, मूल गेट घेराउले उनलाई छुँदैन । छुने भए राजीनामा आइसक्थ्यो ।

प्रधान न्यायाधीशले राजीनामा नगर्नुका अरू कारण पनि देखिन्छन् । उनीमाथि हालै सम्पत्ति शुद्धीकरण आयोगमा नागरिक समाजका अगुवा डा. गोविन्द केसीसमेतको जाहेरी परेको छ, उनको परिवारको सम्पत्ति छानबिन हुने देखिएको छ । पदमा बसुन्जेल उनीमाथि छानबिन हुन सक्दैन, उन्मुक्ति प्राप्त छ । राजीनामा गरेमा त्यस्तो उन्मुक्ति पाइने भएन । त्यसले पनि उनले राजीनामा के गर्लान् ? अर्को, हाल सर्वोच्च अदालत अस्तव्यस्त छ । न्यायाधीश नियुक्ति, सरुवा–बढुवा बन्द छ । उनी न्यायपालिका बिग्रेकामा चित्त दुखाउने मानिस नै होइनन् । उनले छाडेमा वरिष्ठतम न्यायाधीशले स्वतः कायममुकायम सम्हाल्छन् र सुधार अगाडि बढ्छ । डेडलकको फाइदा उनैलाई छ । उनीभन्दा अगाडिका दुई प्रधान न्यायाधीशले तीन सदस्य मात्र भएर बालुवाटार निवासबाटै न्यायाधीश नियुक्ति गरिदिएकै हुन् । त्यस्तै मौका कुरेको पनि हुन सक्छ । त्यस्तै, राजीनामा नगर्नुको तेस्रो सम्भावित कारण हो— संवैधानिक आयोगमा भागबन्डामा गरिएका नियुक्तिहरू । ती नियुक्तिमाथि परेका रिट निवेदनहरू उनकै कारण एक वर्षभन्दा बढी समयदेखि थन्किरहेका छन् । उनले राजीनामा गरेपछि नियुक्त प्रधान न्यायाधीशले ती रिटहरूलाई प्रक्रियामा हालेर अगाडि बढाएमा उनको उद्देश्य पूर्ति नहुन पनि सक्छ । त्यसैले राजीनामा गर्दैनन् ।

चौथो, आगामी मंसिरताका आम चुनावको घोषणा हुनैपर्छ । यसभन्दा अगाडि खिलराज रेग्मीले चुनाव गराएकै हुन्, रेग्मी कार्यकारी प्रमुख र न्यायपालिकाको प्रमुख एकै पटक बने । नेपालका राजनीतिक दलहरू संविधान उल्लंघन गर्नमा एक नम्बरमा पर्छन्, एकआपसमा विश्वास गर्दैनन्, त्यसैले चोलेन्द्रशमशेर राणामा अर्को खिलराज बन्ने आकांक्षा नहोला भन्न सकिन्न । वा, आश्वासन नै पाइसकेका छन् कि ? हाल राजीनामा गर्दा असम्मानित बहिर्गमन हुन्छ । भाग्यले साथ दिए चुनाव गराएर अवकाश हुँदा मन्त्रिपरिषद्को अध्यक्षमा बढुवासहितको सम्मानित बहिर्गमन हुने हुनाले त्यो अवसर पनि उनले कुरिरहेका हुन् कि ? यी कारणले गर्दा पनि बारले आशावादी आन्दोलन गर्नुभन्दा रिट निवेदक भएर कानुनी लडाइँ लड्नु नै राम्रो हुन्छ । कानुनी लडाइँ भनेको राजीनामा गर्नू भन्ने आदेश माग गर्ने होइन । राजीनामा गर्ने कुरा न्यायिक पुनरवलोकन हुन सक्दैन । धारा १२९(६) मा वरिष्ठ न्यायाधीश कायम मुकायम हुन सक्ने चार अवस्था उल्लेख भएकाले तिनैमाथि न्यायिक पुनरवलोकन हुन सक्छ र रिटमार्फत यही माग गर्नुपर्छ । बारलाई निरन्तर सडक आन्दोलन सुहाउँदैन । कानुन थाहा भएको, हक प्रचलन गराउने फोरम थाहा भएको बार आफैं निवेदक बनेर रिट गर्नु नै उचित हुनेछ ।

बारको सत्रबुँदे आरोपमा एउटा संवैधानिक आयोगमा नियुक्तिविरुद्धको रिट पेसीमा नचढाई थन्क्याएको भन्ने पनि छ । प्रधान न्यायाधीशकै स्वार्थका कारण त्यो थन्किएको सार्वजनिक छ । संविधान, सर्वोच्च अदालत ऐन र सर्वोच्च अदालत नियमावलीले प्रधान न्यायाधीशलाई दैनिक प्रशासनमा हस्तक्षेप गर्ने अधिकार दिँदैनन् । कजलिस्ट तोक्ने अधिकार प्रधान न्यायाधीशमा थियो, जुन अब खोसियो । सर्वोच्च अदालत नियमावलीका नियम ७(१), ८(१)(क) मा ‘प्रधान न्यायाधीशको सामान्य निर्देशन र नियन्त्रणमा रही मुख्य रजिस्ट्रारले अदालतको प्रशासकीय प्रमुखका रूपमा रही काम गर्नेछ’ भन्ने व्यवस्था छ । ‘प्रधान न्यायाधीशको सामान्य निर्देशन र नियन्त्रण’ शब्दावलीबारे गलत बुझाइ र व्याख्या प्रधान न्यायाधीश र मुख्य रजिस्ट्रारबाट भएको देखिन्छ । ‘सामान्य निर्देशन र नियन्त्रण’ भन्नुको अर्थ मुख्य रजिस्ट्रारको अधिकार प्रधान न्यायाधीशले प्रयोग गर्ने भन्ने होइन, अदालत कसरी चलेको छ, के भैरहेको छ, रिटहरू कति र कस्ता छन् आदि विषयमा न्यायपालिकाको नेता भएका नाताले बेलाबेलामा जानकारी राख्ने भनेको हो । रिट निवेदन दर्ता गर्न ल्याउनासाथ मुख्य रजिस्ट्रार वा रजिस्ट्रारले प्रधान न्यायाधीशलाई दर्ता गरौं कि नगरौं भनेर सोध्ने, प्रधान न्यायाधीशले दर्ता गर्नू भने दर्ता गर्ने भनेको होइन । आलटाल गर्ने, भोलि आउनू भनेर झुलाउने पनि होइन ।

रिट दर्ता गरौं कि नगरौं भनेर प्रधान न्यायाधीशलाई सोध्नै हुँदैन । मुख्य रजिस्ट्रारले धारा ७५(१) पढ्नुपर्‍यो । ७५(१) मा पनि नेपालको शासन व्यवस्थाको सामान्य निर्देशन, नियन्त्रण र सञ्चालन मन्त्रिपरिषद्ले गर्ने भन्ने छ । यसको मतलब र अर्थ जिल्लामा अशान्ति भयो भने प्रमुख जिल्ला अधिकारीले प्रहरी परिचालन गर्न मन्त्रिपरिषद्लाई सोध्ने र मन्त्रिपरिषद्को आदेश कुर्ने होइन । नियम ८(१)(७) र नियम ४५(१) रजिस्ट्रार र मुख्य रजिस्ट्रार, जो अधिकारवाला हुन्, उनीहरूबाट उल्लंघन भैरहेको छ । ८(१)(ठ) मा दर्ता गर्न ल्याएको लिखत दर्ता गर्न नमिल्ने रहेछ भने दरपीठ गर्ने स्पष्ट व्यवस्था छ । नियम ४५(१) मा दर्ता गर्ने निवेदन ढाँचा अनुसार मिलेको छ कि छैन जाँच्ने, मिलेको रहेछ भनी दर्ता गरी पेस गर्ने व्यवस्था छ । नियुक्ति सम्बन्धी ती रिटहरूमा सर्वोच्च अदालत प्रशासनबाट जुन खेलबाड गरियो, सर्वोच्च अदालत नियमावलीको मात्र होइन धारा ४६ कै ठाडो उल्लंघन भयो ।

सर्वोच्च अदालत प्रशासन अर्थात् मुख्य रजिस्ट्रार वा रजिस्ट्रार प्रधान न्यायाधीशप्रति उग्र वफादार देखियो । कानुन मिचेर वफादारी हुनु हुँदैन । मुख्य रजिस्ट्रार निजामती कर्मचारी हो । उसले कानुनविपरीत काम गर्न सक्दैन । प्रधान न्यायाधीशको इसरामा दर्ता नगर्नु कानुनमिचाइँ हो । हाम्रो संविधानको धारा २८० भारतको संविधानका धारा ३०८ र ३०९ जस्तै हो । ती धाराको विवेचना गर्ने सम्बन्धमा मोरिसनलिखित ‘गभर्मेन्ट एन्ड पार्लियामेन्ट’ शीर्षक पुस्तकको पृष्ठ ३२४ मा स्पष्ट लेखिएको छ— निजामती कर्मचारीले माथिको आदेश कानुन बमोजिमको छ भने पालना गर्नुपर्छ, होइन भने इन्कार गर्नुपर्छ । कानुनी शासन भनेकै यही हो । सर्वोच्च अदालत प्रशासनले छानीछानी कुनै रिट निवेदन दर्तामा आनाकानी गर्ने, ढिलाइ गर्ने, दर्ता गरिहाले पनि पेसी लम्ब्याइदिने प्रचलन गैरकानुनी हो । बन्द गर्नुपर्छ यस्तो प्रचलन ।

रिट दर्ता र पेसी चढाउने काममा कानुनले प्रधान न्यायाधीशलाई चिन्दैन । यदि १ वर्षदेखि थन्क्याएर राखिएको रिटमाथि निष्पक्ष न्यायिक जाँच गर्ने हो भने त्यसमा मुख्य रजिस्ट्रार/रजिस्ट्रारले नै गैरकानुनी र अनुशासनहीन काम गरेको ठहरिन सक्छ । मुख्य रजिस्ट्रारलाई, विगतको अनुभवले, प्रधान न्यायाधीशलाई रिझाएमा एकै पटक उच्च अदालतको मुख्य न्यायाधीशमा नियुक्ति पाउने आशा हुन सक्छ । तर विचार गरौं, न्याय परिषद्का सदस्यहरू कुनै दिन कानुन नछाड्ने, निष्पक्ष, स्वतन्त्र न्यायपालिकाका लागि मरिमेट्ने परे भने यी कुराहरू ध्यानमा राखेर नियुक्ति गर्न आपत्ति गर्नेछन् । त्यति मात्र होइन, भाग्यवश संसदीय सुनुवाइ हुने पदमा पुग्ने अवसर आयो भने र हाम्रा सांसदहरू अमेरिकाका सिनेटरजस्ता भए भने यी कुरालाई नोटिसमा लिएर अनुमोदन इन्कार गर्न सक्छन् । त्यसैले प्रधान न्यायाधीशको पछि लागेर कानुन उल्लंघन नगर्नु राम्रो हुन्छ ।

अन्त्यमा, प्रधान न्यायाधीश चोलेन्द्रशमशेर राणा पद अनुसार महान् प्रधान न्यायाधीश बन्न सकेनन् । अति विवादित बने । प्रतिष्ठा गुमाए । न्यायको मन्दिर सर्वोच्च अदालतलाई अरू विवादित नबनाउन राजीनामा गर्नु समयोचित हुन्छ ।

केसी पूर्वन्यायाधीश हुन् ।

प्रकाशित : माघ १२, २०७८ ०८:३३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×