समाजवादी संस्कृति निर्माणको यात्रा- विचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

समाजवादी संस्कृति निर्माणको यात्रा

जसरी समाजवादी राजनीतिक व्यवस्था र अर्थतन्त्रबिना समाजवादी संस्कृतिले पूर्ण आकार पाउन सक्दैन, त्यसै गरी समाजवादी संस्कृतिलाई व्यवहारमै अभ्यासको थालनीबिना पनि समाजवादी राजनीति अगाडि बढ्न सक्नेछैन ।
आहुति

विश्व मानव समाजसँगै आजको नेपाली समाजका पनि राजनीतिक र आर्थिक क्षेत्रमा जसरी फरक–फरक वर्ग र समुदाय आपसमा संघर्षरत छन्, त्यसरी नै संस्कृतिका क्षेत्रमा समेत परस्पर विरोधी संस्कृति टकरावमा छन् । आर्थिक वर्गको कोणबाट हेर्‍यो भने सिंगै विश्व सम्पूर्ण उत्पादनका साधन र पुँजी कब्जा गरेको थोरै संख्याको पुँजीपति वर्ग र बहुसंख्यक श्रमिक वर्गका रूपमा दुई फ्याकमा विभाजित छ ।


त्यही सम्पत्ति वितरणको असमान अवस्थालाई टिकाइराख्ने कि त्यसलाई भत्काएर आर्थिक समानता र सामाजिक समतायुक्त न्यायपूर्ण व्यवस्था निर्माण गर्ने भन्ने विषयमा पुँजीवादी र समाजवादी राजनीतिविपरीतका रूपमा उपस्थित छन् । यस प्रकारको विभाजन र द्वन्द्वका कारण स्वाभाविक रूपमा संस्कृतिका क्षेत्रमा पनि दुई भिन्न संस्कृतिको टकराव उत्पन्न हुन पुगेको सहजै बुझ्न सकिन्छ । नेपालमा परिवर्तनका निम्ति राजनीतिक आन्दोलनहरू इतिहासमा र आज जुन झन्झनाहटका साथ देखा पर्ने गरेका छन्, सांस्कृतिक रूपान्तरणको प्रयत्न भने त्यति गतिलो देखा पर्दैन बरु बिस्तारै आफैं हुँदै जान्छ भन्ने प्रकृतिको स्वस्फूर्तवादको चौघेरामा कैद भएको प्रतीत हुन्छ । सांस्कृतिक रूपान्तरणका क्षेत्रमा यस प्रवृत्तिलाई त्याग्नु आवश्यक भइसकेको छ । समाजवादी संस्कृति निर्माणको यात्रालाई अब सचेत एवम् योजनबद्ध रूपमा कार्यक्रमिक बनाउन थाल्नैपर्छ ।

मानिसले बौद्धिक र शारीरिक श्रमद्वारा निर्माण गरिएको प्रत्येक वस्तु र चेतनालाई संस्कृति मानिन्छ । सजिलोका निम्ति संस्कृतिलाई भौतिक संस्कृति र बौद्धिक संस्कृतिका रूपमा विभाजन गरेर पनि अध्ययन गरिन्छ तर वस्तुत: बौद्धिक र भौतिक संस्कृतिलाई अलग्याउन भने सकिँदैन । संस्कृतिले खास समय र समाजको चेतनाको स्तरलाई प्रकट गर्ने गर्छ, त्यसैले संस्कृतिमा खास समय र समाजको विचारधारा व्यक्त हुन्छ । भौतिक संस्कृतिले वर्ग पक्षधरता लिँदैन त्यसै गरी संस्कृतिभित्रका मानकहरू पनि वर्गनिरपेक्ष रहन्छन् भन्ने मानिन्छ । बौद्धिक संस्कृतिले भने वर्गीय समाजमा स्पष्ट रूपमा वर्ग पक्षधरता लिन्छ । संस्कृति वर्गीय हुन्छ भन्नुको तात्पर्य यही नै हो । खास संस्कृतिको जन्म मुख्य रूपमा खास उत्पादन सम्बन्धका कारणले हुन पुग्छ । त्यसै गरी मानिसले आफ्नो जीवनलाई व्यवस्थित गर्न गर्ने निरन्तरको प्राकृतिक एवं सामाजिक प्रक्रियाका कारण पनि संस्कृतिको जन्म हुन पुग्छ । एउटै समाजमा शोषक वर्ग, जात, जाति, लिंग आदिको स्वार्थ र शोषित वर्ग, जात, जाति, लिंग आदिको स्वार्थ फरक हुने हुनाले परस्पर विरोधी संस्कृति जन्मिन पुग्छन्; तिनले एकअर्कालाई निषेध गर्न संघर्ष गर्छन् । परस्पर विरोधी संस्कृति जन्मिने वर्ग, जात, जाति, लिंग आदिको सामाजिक–आर्थिक–राजनीतिक अवस्थामा हेरफेर भएपछि त्यसमा आधारित संस्कृति पनि क्रमश: बदलिन पुग्छ । वस्तुगत आवश्यकताले संस्कृति जन्मिन्छ तर फेरि संस्कृतिले वस्तुलाई अर्थात् समाजलाई नै परिवर्तन गर्न पनि भूमिका खेल्छ । पदार्थबाट चेतना जन्मिन्छ तर चेतनाले पदार्थलाई बदल्न पनि भूमिका खेल्छ भनेजस्तै हो । संस्कृति राजनीतिको अधीनमा हुन्छ भन्ने भ्रम पनि आन्दोलनमा छ तर त्यो सत्य होइन । संस्कृति र राजनीति दुवै विचारधाराको अधीनमा हुन्छन् । राजनीति वर्गसंघर्षका क्रममा तीव्रतामा चलायमान हुने भएकाले संस्कृति राजनीतिको अधीन हुन्छ भन्ने विभ्रम जन्मिन पुग्ने मात्र हो । सांस्कृतिक रूपान्तरणको गति आम रूपमा ढिला तर दूरगामी हुन्छ । त्यसैले संस्कृति र राजनीतिले एकअर्कालाई प्रभावित गर्छन् तर एकअर्काको अधीन हुँदैनन् । बौद्धिक संस्कृति मूलत: दर्शन, राजनीति, विज्ञान, शिक्षा, ललितकलाका विभिन्न शाखा; धर्म; सांस्कृतिक पर्व, अनुष्ठान र संस्कारहरूमार्फत व्यक्त हुन्छ । सांस्कृतिक रूपान्तरणको सन्दर्भमा सबैभन्दा ध्यान दिनु आवश्यक विषयचाहिँ शिक्षा हो ।

समाजवादी संस्कृति निर्माणको आवश्यकताका निम्ति अघि बढ्दा नेपाली समाजमा आज केकस्तो संस्कृति हावी छ र कस्ता सांस्कृतिक चेतनाहरू समाजमा क्रियाशील छन् भन्ने विषयलाई निरूपण गर्नु जरुरी छ ।

(क) विकृत पुँजीवादी साम्राज्यवादी संस्कृति : नेपालमा संस्कृतिको क्षेत्रमा आज विकृत पुँजीवादी साम्राज्यवादी संस्कृति हावी छ । यस संस्कृतिको मुख्य गुदी भनेको उपभोक्तावाद हो । मानिस र मानवतालाई मालकरण गर्नु र मालको उपभोगको लालसा जन्माएर अनन्त अन्ध सुरुङमा मानिसलाई फसाउनु यसको मूल पक्ष हो ।

(ख) सामन्तवादी संस्कृति : नेपालको सामन्तवाद जात व्यवस्थामा आधारित थियो । आजको दलाल पुँजीवादले पनि जात व्यवस्थालाई सहवरण गरिसकेको छ । संस्कृतिका क्षेत्रमा सामन्तवादी रूढिवाद र जात व्यवस्थामा आधारित संस्कृति अहिले पनि जबरजस्त रूपमा क्रियाशील छ । पितृसत्तावाद, जात व्यवस्था, जातीय उत्पीडन, विभिन्न धर्मको प्रकोप, रूढिवादी प्रथा–परम्परा यसका ज्वलन्त उदाहरण हुन् । यस प्रकार विकृत पुँजीवादी साम्राज्यवादी संस्कृति मुख्य रूपमा र सामन्तवादी संस्कृति सहायक रूपमा सांस्कृतिक क्षेत्रका दुस्मन हुन् ।

(ग) परम्परागत मानव र प्रकृतिप्रेमी संस्कृति : संसार र नेपालको प्रत्येक सभ्यता र जातिले हजारौं वर्षको अभ्यासद्वारा मानव जीवन र प्रकृतिलाई सन्तुलन गर्न व्यावहारिक जीवनमा ज्ञानका सबैजसो शाखामा सांस्कृतिक अभ्यास गर्दै आएका छन् । ती सांस्कृतिक विषयहरू खास राजनीतिद्वारा निर्देशित होइनन् बरु आम मानिसले आर्जन र अभ्यास गर्दै आएका सांस्कृतिक सम्पदा हुन् । उदाहरणका लागि, नेपालका जनजातिले महिला स्वतन्त्रतालाई दिने महत्त्व, सामुदायिक जीवनमा रम्ने प्रवृत्ति र प्रकृतिसँग सन्तुलन बनाउने अभ्यास त्यही कोटिका संस्कृति हुन् । यस्ता संस्कृतिमा विज्ञान पनि हुन्छ र रूढिवाद पनि, विज्ञानलाई रक्षा र रूढिलाई नकार्दै जानुपर्छ भन्ने कुरा स्वत: सिद्ध छ । बच्चालाई माया गर्नु, बूढाबूढीको स्याहार गर्नु, खेतबारीमा मल बनाउन आगो बाल्नु तर जंगलको डढेलो निभाउन चाहनुजस्ता सांस्कृतिक चेतना प्रत्येक जाति र सभ्यतासँग धेरथोर छ । यो संस्कृति महत्त्वपूर्ण रूपमा अझै पनि बाँकी छ । यो सकारात्मक विषय हो ।

(घ) प्रगतिशील पुँजीवादी संस्कृति : सामन्तवादविरोधी औद्योगिक पुँजीवादले समानता, स्वतन्त्रता र भ्रातृत्वको नारा लिएर आयो । त्यो प्रगतिशील र त्यति बेलाको क्रान्तिकारी अवधारणा थियो । आजसम्म पुग्दा व्यक्तिगत स्वतन्त्रता र मानव अधिकारको रक्षासम्म त्यो विकसित भएको छ । पुँजीवादी संस्कृतिले जहाँसम्म सामन्तवादको विरोध गर्छ र मानिस एवं मानवतालाई नै मालकरण गर्दैन, त्यो सीमासम्म पुँजीवादी संस्कृति प्रगतिशील नै हुन्छ । त्यस्तो पुँजीवादी प्रगतिशील संस्कृति पनि क्रियाशील छ नेपालमा । त्यो पनि सकारात्मक विषय नै हो ।

(ङ) समाजवादी संस्कृति : आज नेपालमा समाजवादी संस्कृति एउटा ठोस व्यवहारकृत विषय बनिसकेको छैन । त्यसका निम्ति असाधारण त्याग र बलिदान भएका छन् तर पनि त्यो निश्चित कम्युनिस्टहरूको इच्छा र धेरथोर व्यवहारमा सीमित छ । तर समाजवादी व्यवस्था निर्माणको क्रान्तिकारी प्रक्रिया सुरु गर्न त्यस दिशामा यथासम्भव भइरहेका वैचारिक, राजनीतिक र संगठनात्मक प्रयत्नहरू पनि स्वयंमा वैज्ञानिक समाजवादी संस्कृतिका सचेत भ्रूणहरू हुन् । त्यसैले यो पनि एउटा निश्चित रूपमा सांस्कृतिक प्रवृत्ति हो ।

समाजवादी संस्कृतिका ध्येय र आधारहरू
हरेक नयाँ र प्रगतिशील वस्तु वा चेतना पुरानोको गर्भबाट जन्मिन्छ । इतिहासलाई व्याख्या गर्ने भौतिकवादी यस महत्त्वपूर्ण सिद्धान्तबाट हेर्दा समाजवादी संस्कृति परम्परागत मानव र प्रकृतिप्रेमी संस्कृति र प्रगतिशील पुँजीवादी संस्कृतिको गर्भबाटै जन्मिनु अनिवार्य हुन्छ । यसरी पुरानोबाट जन्मिएको संस्कृतिलाई व्यवस्थित र पूर्ण रूप दिनचाहिँ पुरानो व्यवस्थाको विचारधाराले सक्दैन । त्यसैले नयाँ वैज्ञानिक विचारधारा जरुरी हुन पुग्छ । यसर्थ, समाजवादी संस्कृतिका आधारहरू तीनवटा हुन्छन् । एक, परम्परागत मानव र प्रकृतिप्रेमी संस्कृति । दुई, पुँजीवादी प्रगतिशील संस्कृति । र तीन, मार्क्सवादी विचारधारा । यी तीन आधारमा उभिएर नै समाजवादी संस्कृति निर्माण हुने हो । समाजवादी संस्कृतिका मुख्य ध्येयहरू हुन्-

(क) सामाजिक समता र आर्थिक समानता : समाजमा रहेको जात, जातीय, लैंगिक, क्षेत्रीय, रंगभेदी, अपांगताविरोधी लगायतका सम्पूर्ण सामाजिक विभेदहरूलाई अन्त्य गर्नु र आर्थिक क्षेत्रमा रहेका सबै प्रकारका असमानतालाई अन्त्य गर्नु समाजवादी संस्कृतिको एउटा मुख्य ध्येय हो ।

(ख) पर्यावरणको रक्षा : मानव जाति, जीवहरू र वनस्पतिको निरन्तर सकुशल अस्तित्वका निम्ति पर्यावरणको रक्षा आजको एउटा मुख्य मुद्दा हो । आज सामाजिक क्रान्तिको एउटा मूल सवालका रूपमा यो विषय उपस्थित भैसकेको छ । स्वाभाविक रूपमा वर्गसंघर्ष र क्रान्तिका अनिवार्य प्रक्रियामा गर्नुपर्ने क्रियाकलाप गर्दा पर्यावरणमा हुन सक्ने क्षतिलाई बेहोर्नुको विकल्प श्रमिक वर्गसँग छैन । यसबाहेक भौतिक समृद्धिको यात्रामा भने पर्यावरणको रक्षा अनिवार्य रूपमा एउटा मुख्य विषय बन्नैपर्छ । त्यसैले वैज्ञानिक समाजवादी संस्कृतिको अर्को मुख्य ध्येय पर्यावरणको रक्षा हो ।

(ग) मानवीय स्वतन्त्रताको अधिकतम भोग र उपयोग : आजसम्मका सबै सामाजिक व्यवस्थाले मानिसको स्वतन्त्रता एक वा अर्को रूपमा कुण्ठित पार्दै आए । धर्म, राज्य, वर्गीय समाज आदिका कारण मानिसले व्यक्तिगत रूपमा अधिकतम स्वतन्त्रताको अनुभूति गर्न पनि सकेन, यस स्थितिका कारण मानिसको चेतनाको अधिकतम उपयोग पनि हुन सकेन । त्यसैले सबै सामाजिक बन्धनबाट मुक्त मानवीय स्वतन्त्रताको उपभोग र उपयोग समाजवादी संस्कृतिको एउटा मुख्य ध्येय हो ।

(घ) सम्पदाहरूको रक्षा : मानव समाजले हजारौं वर्षमा निर्माण गरेका भौतिक तथा सांस्कृतिक सम्पदाहरूको रक्षा समाजवादी संस्कृतिको अर्को मुख्य ध्येय हुनुपर्छ ।

(ङ) चेतनाको अधिकतम वैज्ञानिकीकरण : चेतनाको वैज्ञानिकीकरण तीव्र नबनाई न सारा अवैज्ञानिक पर्यावरणबाट मानिसलाई मुक्त गर्न सम्भव छ, न त मानव समाज र पर्यावरणकै प्रगति एवं रक्षा सम्भव छ । त्यसैले चेतनाको अधिकतम वैज्ञानिकीकरण समाजवादी संस्कृतिको एउटा मुख्य अनिवार्य ध्येय हो ।

श्रमिक वर्ग एवं उत्पीडित समुदाय र शोषक वर्ग एवं उत्पीडक समुदायबीचको टकरावबाट समाजवादी संस्कृतिको भ्रूण त जन्मिएको छ तर त्यो सम्पूर्ण रूपमा विकसित हुन विद्यमान राजनीति व्यवस्थाले रोकिराखेको छ । त्यसैले विद्यमान दलाल पुँजीवादी व्यवस्थाको विकल्पमा समाजवादी व्यवस्था निर्माण गर्ने राजनीतिक आन्दोलनले नै समाजवादी संस्कृति निर्माणको कार्यभारलाई पनि अघि बढाउनुपर्ने हुन्छ । एक, विद्यमान दलाल पुँजीवादले शासन गरिरहेको व्यवस्थाको विकृत पुँजीवादी र सामन्तवादी संस्कृतिको भण्डाफोर गर्नु, आम मानिसलाई त्यसको मानव र प्रकृतिविरोधी प्रपञ्चबाट बाहिर निकाल्न अभिप्रेरित गर्नु । दुई, आजैदेखि क्रमश: निर्माण गर्दै जाने वैज्ञानिक समाजवादी व्यवस्थाभित्र समाजवादी संस्कृतिको व्यवहारमै अभ्यास सुरु गर्नु । यी दुवै कार्यभार सँगसँगै अगाडि बढाउनुपर्ने हुन्छ । यो काम श्रमिक वर्गसहित सबै उत्पीडित वर्ग र समुदायले स्वस्फूर्त होइन, सचेत रूपमा अगाडि बढाउनुपर्ने कुरा हो । समाजवादी संस्कृतिको अभ्यास सबैभन्दा पहिले राजनीतिक पार्टी, संगठनहरू र त्यसको पक्षधर नवीन चेतनायुक्त नागरिक जमातले सुरु गर्नुपर्ने हुन्छ । त्यसपछि आम श्रमिक वर्ग र उत्पीडित समुदायमा अभ्यासमा लानुपर्ने हुन्छ । तसर्थ, पार्टी समाजवादी व्यवस्था र संस्कृति निर्माणतिर अघि बढ्न चाहने पार्टी, संगठनहरू र नागरिक जमातले आफूभित्र र समाजमा समाजवादी संस्कृति के अनि कसरी लागू गर्दै जाने भन्ने विषयमा समग्र सांस्कृतिक कार्यक्रम नै बनाएर अघि बढ्नु आवश्यक छ । त्यस प्रकारको समग्र सांस्कृतिक कार्यक्रम बनाउँदा (क) संघर्ष गर्नुपर्ने अर्थात् त्याग्नुपर्ने संस्कृति, (ख) सहवरण गर्न सकिने संस्कृति, र (ग) नयाँ सृजना गर्नुपर्ने संस्कृतिको सूची नै तयार पार्नु आवश्यक छ, अमूर्त कुराबाट काम चल्नेवाला छैन ।

समाजवादीहरूले आजैदेखि लागू गर्दै जाने सांस्कृतिक पक्षहरू तय गर्दा ती दीर्घकालीन र तत्कालीन दुई खण्डमा उपस्थित हुन्छन् । वैज्ञानिक विचारहरूद्वारा सिंगै समाजलाई क्रमश: कसरी प्रशिक्षित गर्दै जाने, शिक्षा कस्तो अन्तर्वस्तुमा आधारित तयार पार्ने, कला–साहित्य कस्तो हुनेजस्ता विषयहरू दीर्घकालीन रूपमा बहस छलफलसहित नीति र सामग्री तयार पार्दै अभ्यास गर्नुपर्ने हुन्छ । त्यसैले तिनलाई दीर्घकालीन खण्डमा राखेर योजना बनाउनु आवश्यक छ । तत्कालीन खण्डका रूपमा भने जन्मदेखि मृत्युसम्मका संस्कारहरूलाई कस्तो बनाउने, मानिसहरूबीचको स्थानमान (हाइरार्की) मा आधारित सम्बन्धलाई समानतामा आधारित बनाउन केके कुरा थालनी गर्ने, आर्थिक अनुशासन पारदर्शिताका निम्ति न्यूनतम मापदण्ड के लागू गर्ने, यौन जीवनलाई अनुशासित र युगसापेक्ष बनाउन के गर्ने, उपभोक्तावादको चरम मारबाट किफायती आचरणतिर जान आजैदेखि केके गर्ने, पर्यावरणको रक्षासँग समाजलाई जोड्न अहिलेदेखि केके गर्ने र विभाजित हुँदै गएको समाजलाई सामाजिकीकरणका निम्ति व्यावहारिक आयामहरू केके हुनेजस्ता विषयहरू समावेश गर्नु आवश्यक छ । विगतमा जस्तो केवल नयाँ संस्कृति निर्माणको सांस्कृतिक नीति बनाउने अनि अभ्यासचाहिँ पुरानै संस्कृति गर्दै जाने दोगला चरित्रमा फस्नु ऐतिहासिक गल्ती हुनेछ बरु नीतिलाई आजैदेखि के गर्दै जाने भन्ने विधि र अनुष्ठानमै ढालेर आवधिक योजनासहित अभ्यास सुरु गर्नुपर्छ ।

आजको पुँजीवादी तथा सामन्ती संस्कृतिको विकल्पमा समाजवादी संस्कृति अभ्यास गर्न थाल्नु भनेको नयाँ सांस्कृतिक सम्प्रदाय अर्थात् भौतिकवादी सांस्कृतिक सम्प्रदाय निर्माण गर्न थाल्नु हो भन्ने विषयलाई आत्मसात् गर्नैपर्छ । जसरी समाजवादी राजनीतिक व्यवस्था र अर्थतन्त्रबिना समाजवादी संस्कृतिले पूर्ण आकार पाउन सक्दैन, त्यसै गरी समाजवादी संस्कृतिलाई व्यवहारमै अभ्यासको थालनीबिना पनि समाजवादी राजनीति अगाडि बढ्न सक्नेछैन ।

प्रकाशित : फाल्गुन २२, २०७८ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्

काठमाडौं ढुङ्गेधारामा तरकारी बजारमा आगलागी

कान्तिपुर संवाददाता

काठमाडौँ — बालाजु  ढुङ्गेधारा चोकनजिकैको तरकारी बजारमा आगलागी भएको छ । आइतबार बिहान सवा १ बजे बालाजु ढुङ्गेधारा चोकनजिकैको तरकारी बजारमा आगलागी भएको बालाजु प्रहरी वृत्तका डीएसपी गौतम मिश्रले जानकारी दिए । 

दमकलको प्रयोग गरी बिहान पौने दुई बजे आगो नियन्त्रणमा लिइएको डीएसपी मिश्रले बताए ।

आगलागीबाट केहि तरकारी र टहरो जलेको उनले जानकारी दिए । आगलागीको कारण भने नखुलेको तर बिजुली सटका कारण दुर्घटना घटेको हुन सक्ने डीएसपी मिश्रले बताए ।

प्रकाशित : फाल्गुन २२, २०७८ १०:०६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×