अपराजित निराशा- विचार - कान्तिपुर समाचार

अपराजित निराशा

भास्कर गौतम

शक्तिशाली राष्ट्रका सेनाहरू आफ्ना देशवासीको सुरक्षा सुनिश्चित गर्न होइन, बाँकी विश्वलाई असुरक्षित बनाइराख्न खडा गरिएको सन्देश रूसी सेनाले दिएको छ । अमेरिकी र युरोपेली राष्ट्रका सेनाले त पछिल्ला केही शताब्दीदेखि यस्तै सन्देश दिएका उदाहरण विश्वइतिहासमा छरपस्ट छन् ।



शक्तिराष्ट्रहरूलाई लाग्छ, विश्वलाई दिशानिर्देश गर्ने ध्येय र हकाधिकार उनीहरूसँग मात्रै छ । शक्तिशाली राष्ट्रको यस्तो काल्पनिकीले सदैव बाँकी विश्वको सैन्य रणनीतिको सुझबुझलाई नजरअन्दाज गर्छ । भनिन्छ, रणनीतिक रूपमा सोच्न आफूलाई शत्रुको स्थानमा राख्नुपर्छ । त्यसरी सोच्न सकियो भने भविष्यको आकलन गर्न सकिन्छ । अथवा शत्रुलाई चकित पार्न सकिन्छ । शत्रुलाई छक्याउन, झुक्याएर प्रहार गर्न, रक्षात्मक बनाउन, परास्त गर्न आदि सम्भव हुन्छ । शत्रुलाई गलत तरिकाले बुझियो भने लामो दूरीमा त्यसले आफ्नै पराजय निम्त्याउँछ । कतिपय अवस्थामा साम्राज्यहरू यसरी नै बरबाद हुन्छन् ।

रूसले युक्रेनमा छेडेको युद्धसँगै समकालीन विश्वमा अनेकौं अपेक्षित बहस चलेका छन् । युद्धको परिप्रेक्ष्यमा झुठका पुलिन्दासमेत बुन्न थालिएका छन् । यी समसामयिक बहसलाई फरक आयामबाट हेर्दै संक्षिप्त टिप्पणी यहाँ गरिनेछ । नेपालजस्तो सानो र अविकसित भनिने मुलुकले पश्चिमा राष्ट्रले देखाएको बाटो पछ्याइरहँदा युक्रेनको भन्दा फरक नियति हुन्छ भन्ने सुनिश्चित अहिले छैन । प्राकृतिक स्रोतसाधनको सीमितता र भूराजनीतिक विशिष्टताले गर्दा उस्तै नियतिको प्रकट रूप भने भिन्न हुने सम्भावना रहन्छ ।

युक्रेनमा रूसले हमला गर्नासाथ पश्चिमले झुठको खेतीलाई तीव्रता दिएको छ । त्यहाँका सञ्चारकर्मी र प्राज्ञहरूले भन्न थालेका छन्- युक्रेन अफगानिस्तान, सिरिया, प्यालेस्टाइनजस्तो राष्ट्र होइन, पश्चिमसँग जोडिएको सभ्य मुलुक हो । सबै सार्वभौम मुलुक समान हैसियतले स्वतन्त्र छैनन् । युद्धमार्फत शान्ति कायम गर्ने वा रणनीतिक सुनिश्चितता खोज्ने अधिकार रूससँग छैन तर पश्चिमा शक्तिराष्ट्रहरूसँग छ । प्रस्ट छ, यस्ता अभिव्यक्ति ठूला राष्ट्र र विद्यमान आर्थिक प्रणाली कायम राख्न युद्ध–रणनीतिको हितमा मात्र छन् ।

सँगै अर्को थरी झुठको खेती पनि चलेकै छ । युक्रेन वा अर्को कुनै सानो राष्ट्रलाई आफ्नो सार्वभौमिकता र रणनीतिक सजगताका लागि मित्रराष्ट्रहरू छनोट गर्ने छुट छैन । रूस वा चीनजस्ता ठूला राष्ट्रहरूले रणनीतिक वा व्यापारिक सजगताका लागि अमेरिकी र युरोपेली राष्ट्रसँग मित्रता राख्न भने सक्छन् । प्रस्ट छ, रूस र चीनले आफ्नो रणनीतिक स्वार्थमा शक्तिराष्ट्रसँग सहकार्य गरिरहँदा तिनै राष्ट्रसँग सहकार्य गरिरहने समान अधिकार युक्रेनलाई छैन । अमेरिकी सहयोग नियोग एमसीसीका सन्दर्भमा चीनका पछिल्ला अभिव्यक्तिहरूले भन्छन्- युक्रेनलाई मात्र होइन, नेपाललाई पनि छैन । अमेरिकी अभिव्यक्तिले भन्छ- नेपालले अमेरिकी सहायतालाई अस्वीकार गर्‍यो भने त्यो चीनको दबाबमा सार्वभौम निर्णय नभएको ठहरिनेछ ।

युक्रेनले आफ्नो साझा भविष्य रोज्न सार्वभौम निर्णय गरिरहँदा, रूसलाई लागिरह्यो, पूर्वी युरोप र मध्यएसियामा अब युद्ध छेड्नुपर्छ । आखिर रूसले बाँकी राष्ट्रलाई असुरक्षित राख्न आफ्नो सेना खडा गरेकै छ । त्यसरी नै जसरी पश्चिमा शक्तिराष्ट्रहरूले अफगानिस्तान, सिरिया, प्यालेस्टाइन वा बाँकी धेरै मुलुकमा बेरोकटोक रणनीतिक हस्तक्षेप गरिरहन्छन् । युद्धरत अवस्था कायम राखिराख्छन् ।

पश्चिमा शक्तिराष्ट्रहरूले अपनाएको यस्तो रणनीतिको एउटै सन्देश छ- उनीहरूले दिशानिर्देश गरेअनुसार विश्वको गति समात्न प्रत्येक मुलुक अभिशप्त छ । मौजुदा आर्थिक प्रणाली बेरोकटोक अघि बढिरहनुपर्छ । इन्धन, ग्यास र खनिजमा पश्चिमा पकड रहिरहनुपर्छ । अन्यथा संसार रणभूमिमा परिणत हुनेछ । भन्नलाई आत्मरक्षा भने पनि शक्तिराष्ट्रहरूले यसैका लागि त सेना खडा गरेका हुन् ।

यस्तो अभिव्यक्ति र तर्कले अमेरिकी र युरोपेली काल्पनिकीलाई मात्र संसार ठान्छ । अनि सो काल्पनिकीभित्रको भूगोलमा हुने खतरालाई मात्र खतरा ठान्छ । त्यसैले आज रूसको आक्रमण युक्रेनमा हुँदा पश्चिमा राष्ट्रहरू खास अभिव्यक्तिसहित जागेका छन् । रूसलाई साम्राज्यवादी ठम्याउन उद्यत छन् । युक्रेनमा युद्ध लम्ब्याउन फ्रान्स र जर्मनीले सैन्य सहायता दिन थालिसकेका छन् । सुनिन्छ, अमेरिकी नीतिले अहिले युक्रेनमा सैन्य विद्रोहका लागि सामरिक सहयोग गरिरहेको छ । तर अफगानिस्तान, सिरिया, प्यालेस्टाइन वा अन्य मुलुक जाग्दा रूसकै जस्तो साम्राज्यवादी शैलीमा पश्चिमा शक्ति उत्रने रणनीतिभन्दा यो खासै भिन्न छैन । शक्तिशाली राष्ट्रको यस्तो रबैया रहेसम्म सार्थक शान्ति दिग्भ्रमित अवस्था मात्र हो । सुषुप्त वा प्रकट युद्ध वास्तविकता हो ।

भनिरहनु परेन, युद्ध आफैंमा अपराध हो । युद्धले अपराधको उत्पादन मात्र गरिरहन्छ । झुठको पुलिन्दा मात्र रचिरहन्छ । तथापि शक्तिराष्ट्रहरूको रणनीतिक स्वार्थमा यस्ता आपराधिक कार्य अकण्टक चलिरहन्छन् । त्यसैले युद्धको पृष्ठभूमिमा आजको एउटा महत्त्वपूर्ण प्रश्न यस्तो छ- संसारलाई कसबाट खतरा छ, यसलाई अलिक तन्काउँदा कस्तो लडाकुले बलिदान दिइरहनुपर्छ ? त्यो लडाकु जसले हमला गर्छ वा त्यो लडाकु जसले प्रतिहमला गर्छ ? आक्रामक वा रक्षात्मक जुनै अवस्थामा लडाकु हुनु सुखद होइन । एक प्रकारको निराशा हो । अथवा जीवन बलिदान गरिरहँदा लडाकुलाई आफ्नो जीवनले अमरत्वको उपहार ग्रहण गरेजस्तो लाग्छ । यस्तो नलागेसम्म उसको निराश अवस्था बोधगम्य हुँदैन ।

लडाकुले जीवनको आहुति दिएपछि अमरत्वको उपहारस्वरूप भएकाले ‘बलिदान’ शब्द त्यत्ति उपयुक्त छैन । किनकि बलिदानमार्फत प्राप्त अमरत्वले मात्र उसलाई विजयको आभास दिन्छ । शत्रुहरूविरुद्धको विजय जसलाई उसले घृणा गर्न सिकेको छ । तर घृणा गर्ने शत्रुमाथि विजय प्राप्त गर्न बलिदान दिने कुरा धेरै किसिमले नमिल्ने अवस्था हो । सम्भवतः साम्राज्यवादी काल्पनिकीले यस्तै किसिमको विरोधाभास मात्र निम्त्याउने गर्छ ।

त्यसैले साम्राज्यवादी वैचारिकीले विश्वमा छेडिरहेको सुषुप्त र प्रकट युद्ध आफैंमा अपराध हो भनेर मात्र पुग्दैन । यस्तो आपराधिक कार्यले साना राष्ट्रमाथि अत्याचार निम्त्याइरहेको छ भनेर मात्र समेत पुग्दैन । विद्यमान अत्याचारमाझ बाँचिरहेका लाखौं जीवन र अनेकौं प्रतिरोधमा निहित जिजीविषालाई ठम्याउन सक्नुपर्छ । किनकि ती संघर्ष र प्रतिरोधमा अपराजित निराशाको पुनरुत्पादन भइरहेको छ । कमजोर राष्ट्रको जनगणका जीवनमा लादिएको निरर्थकता, निष्क्रियता र गतिहीनताको भावमाथि विजय निराशाभित्रको गहिराइबाटै जन्मने हो । आजको युद्धरत विश्वमा सयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले होइन, अपराजित निराशाले मात्र मुक्तिका सम्भावनाहरूलाई जीवित राख्न सक्छ । कानुनको जंगलमा अल्झिएको सुरक्षा परिषद्ले त केवल शक्तिराष्ट्रहरूको स्वार्थरक्षा गर्न सक्छ ।

युक्रेनबाट अन्य युरोपेली राष्ट्रमा शरण लिइरहेका नागरिकहरू ‘युरोपबाहिरका शरणार्थीजस्ता होइनन्’ भन्ने रंगभेदी उद्घोषले भन्छ- पश्चिमको विकसित विश्वलाई अपराजित निराशाको कल्पना गर्न गाह्रो छ । अनुभूति गर्न असम्भवप्रायः छ । पश्चिम रंगभेद र वैभवका कारण मात्र यस्तो स्थिति उत्पन्न हुने होइन । रंगभेद र वैभवले पनि आफ्नै किसिमको निराशा उत्पादन गरिरहेकै हुन्छ । पश्चिममा विश्वको ध्यान र ध्येय विश्वमा शान्ति कायम गर्ने नाममा आफैंमा केन्द्रित भएकाले यस्तो अवस्था आएको हो । संसारलाई दिशानिर्देश गर्ने सवाल आफ्नो मुख्य सवाल नभएकाले पश्चिम निरन्तर विमुख भइरहन्छ । आफ्नो अप्रकट स्वार्थलाई सम्बोधन गर्न युद्धलाई उसले नियमित आकस्मिकता ठानिरहन्छ । अधिकांशतः तेल र खनिजमाथिको पहुँचमा अवरोध पुर्‍याउने देशविरुद्ध । बाँकी सबै समयमा संसारको जनसंख्याका आधाभन्दा बढी गरिबविरुद्ध ।

अपराजित निराशा मूलतः त्यस्तो पीडादायी अवस्थाबाट आउँछ जसलाई शक्तिराष्ट्रहरूले एकपक्षीय किसिमले मात्र हेर्ने गर्छन् । उदाहरणका लागि, जो पुस्तौंपुस्तादेखि भूमिहीन र गरिब छन्, वा जो दशकौंदेखि शरणार्थी जीवन बिताइरहेका छन् । पश्चिमा शक्तिराष्ट्रहरूले अमानवीय अवस्थामा बाँचिरहेको कथित कमजोर वा युद्धरत मुलुकका भूमिहीन, गरिब वा शरणार्थीहरूलाई जीवनयापनको अर्को कुनै तरिका अवलम्बन गर्ने हकाधिकार छैन भनिरहेका छन् । यस्तो अवस्थामा अपराजित निराशाले गौण ठानिएको प्रत्येक जीवनमा घर गर्ने नै भयो ।

आखिर अपराजित निराशा विशिष्ट भाव छ । परित्यक्तको जीवनलाई उसको परिवेशमा उद्देश्यबिना बाँचिरहेका अधिकांश जीवनको सार्थक गणना नभएको उसलाई महसुस हुन्छ । उसको देशले कुनै अर्थपूर्ण गन्तव्य नसमातेको समेत आभास छ । उसको निरर्थक जीवनले यस्तो अवस्था अनेकौं तहमा महसुस गर्छ । यति धेरै तह कि निराशाको गठजोडले आफैंमा नयाँ र पूर्ण आकार लिन्छ । निरंकुशतामा जस्तै निर्भय स्वरूप । अनि निराशाले हासिल गरेको समग्रताले उसको जीवनका उमंगहरूलाई सदाका लागि खोसेको भाव । प्रत्येक युद्धले निम्त्याउने अवस्था यस्तै हो, जहाँ अधिकांश जीवन कि मर्न तयार हुन्छन् कि मार्न । युरोपसँग जोडिएकै कारण युक्रेन अहिले अपवाद होइन ।

जाँन बर्जरले सेप्टेम्बर २००१ मा अमेरिकामा भएको हमलापछि औंल्याए जस्तै, युद्धमा बाँचिरहेको र गौण ठानिएको प्रत्येक जीवनले हरेक बिहान अर्को एक दिन बाँच्नका लागि एक त्यान्द्रो सहारा खोज्छ । युद्धले घर गरेको अवस्थामा कानुनी जंगलले जीवनको कुनै अधिकार सुरक्षित नरहेको हेक्का सर्वत्र हुन्छ । वरिपरि प्रत्येक कुरा बिग्रेको निरन्तरको अनुभवले बितेका वर्षहरू कुनै दृष्टिले गतिला नरहेको बोझमा उसको जीवन थला पर्छ । सार्थक परिवर्तन गर्न नसकेको अवस्थामा अर्को गतिरोधले घर बनाएको अपमानबोधसँगै जीवन चलिरहन्छ । लाखौं आश्वासन मात्र सुनिरहन अभिशप्त जीवनले प्रत्येक वाचाले निरर्थक शैलीमा गिज्याइरहेको ठान्छ । प्रतिरोधी जीवनहरू कतै बारुदको विस्फोटमा धूलिसात् भएका त कतै संरचनाले मरिरहेका दृष्टान्तले सम्पूर्ण परिवेश आक्रान्त हुन्छ । यी भारहरूले प्रत्येक जुझारुलाई मारिरहँदा युद्धरत विश्वको भारले अर्को एउटा निश्छल जीवनको हत्या हुन्छ । अहिले निराशालाई अपराजित राख्न अनकौं निश्छल जीवनले युक्रेनमा बन्दुक र बारुद उठाइरहँदा पश्चिमा शैलीमा विश्वको ठूलो हिस्साले त्यहाँ देशभक्ति जागेको देखिरहेछ । अन्यत्र लाखौंको पैमानामा निश्छलताको हत्या भइरहँदा यही पश्चिमा चस्माले कतै आतंकवाद, कतै असभ्यता, कतै मानवतामाथि खतरा जागेको देख्ने गर्छ ।

युक्रेनमा रूसी आक्रमणको प्रतिवाद अपरिहार्य थियो, त्यसैले भयो । अन्य युद्धरत मुलुकहरूमा पनि निराशा अपराजित भइरहँदा संसारमा सदैव त्यस्तो जीवन देखिन्छ जसले अत्याचारको प्रतिवाद गरिरहन्छ । शक्तिराष्ट्रले लादेको युद्धको प्रतिवाद गरिरहँदा मात्र सबै निराशा एकसाथ अपराजित हुन्छन् । कुनै एक निराशाभन्दा शक्तिशाली बनेर बौरिन्छन् । आखिर अपराजित निराशाको भ्रूणमा मात्रै विद्यमान अमानवीय अवस्थालाई मानवीय बनाउने आकांक्षा मिश्रित छ । गौण ठानिएको प्रत्येक जीवनको हकाधिकार र मुक्त निराशा अपराजित रहेको अवस्थामा मात्र जीवित छ । युक्रेनमा पनि अहिले योभन्दा पृथक् अवस्था कहाँ छ र !

तर शक्तिशाली राष्ट्रका नेताहरूले यी निराशाको सूक्ष्मतालाई ठम्याउनेछैनन् । किनकि इतिहास त्यस्तो भएको छैन । निराशाको समग्र गठजोड अनुभूति गरेको उदाहरणको त झन् अभाव छ । यस्तो अवस्थामा ती नेताहरूले तर्जुमा गर्ने प्रत्येक रणनीति सफल हुने सम्भावना रहन्न । ती असफल हुने नीतिहरूले कि त सफलतापूर्वक शत्रुहरू खडा गर्छन् कि युद्धलाई अर्को एउटा सम्भावित क्षणका लागि धकेल्छन् । ढिलो–छिटो वार्ताद्वारा युक्रेनमा युद्धरत अवस्थाको अन्त्य हुने नै छ । शान्तिको दिग्भ्रमित अवस्था कायम हुने नै छ । किनकि अपराजित निराशाको पुनरुत्पादनले निरन्तरता पाइरहेसम्म सार्थक शान्ति हासिल गर्न सजिलो छैन ।

प्रकाशित : फाल्गुन १६, २०७८ ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्

मदन भण्डारी राजमार्गमा अलमल

बारम्बार सडक रेखांकन परिवर्तन हुने र पर्याप्त बजेट नभएपछि थपिएको समयमा पनि काम नसकिने चिन्ता
विमल खतिवडा

काठमाडौँ — मदन भण्डारी राजमार्ग निर्माण थालेको चार वर्ष पुग्न लाग्दा यसको भौतिक प्रगति ३२ प्रतिशत मात्र छ । निर्माणको समय तीन वर्ष बाँकी छँदा प्रगति सोचेअनुरूप छैन ।

बजेट पर्याप्त नहुनु र पटकपटक रेखांकन परिवर्तन भइरहनु प्रगति कम हुनुको मुख्य कारण रहेको मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयले जनाएको छ । बजेट सुनिश्चितता नहुँदा नयाँ अहिले ठेक्का हुन सकेको छैन । ८० किलोमिटर सडकको ठेक्का गर्न अर्थ मन्त्रालयमा बजेट सुनिश्चितताका लागि पठाएको दुई महिना भइसक्दा पनि केही निर्णय नआएको आयोजनाका सिनियर डिभिजनल इन्जिनियर (सीडीई) रमेशकुमार सिंहले बताए ।

नयाँ ठेक्काका लागि ६ अर्ब ७० करोड रुपैयाँ सुनिश्चितताका लागि पठाइएको आयोजनाले जनाएको छ । ‘जहाँ तयारी पूरा भएको छ, त्यहाँ ठेक्का लगाउँदै जाऔं भन्ने हाम्रो योजना छ,’ सिंहले भने, ‘तर बजेट सुनिश्चितता नहुँदा काम अघि बढ्न सकेको छैन ।’ ठेक्का गर्ने भनिएको सडकमा विस्तृत परियोजना रिपोर्ट (डीपीआर) र वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) भइसकेको छ । ठेक्का मात्र हुन नसकेको हो । झापाको शान्तिनगर खण्ड १७ किमि, रतुवा–कमलखोला १३ किमि, सन्धिखर्क खण्ड १२ किमि, सिमलटारी–सौतामारे ३० किमि र रतनमारे ८ किमि खण्डमा तयारी पूरा भए पनि ठेक्का हुन नसकेको उनले बताए ।

आयोजनाका लागि चालु आर्थिक वर्षमा २ अर्ब ८६ करोड रुपैयाँ मात्र विनियोजन भएको छ । उक्त बजेट पर्याप्त नभएको आयोजनाले जनाएको छ । ‘तयारी भएको खण्डमा ठेक्का गर्न पाए काम अघि बढ्दै जान्थ्यो,’ सिंहले भने, ‘अब बजेट सुनिश्चितताका लागि चालु आर्थिक वर्षभित्रै सहमति आउँछ/आउँदैन, टुंगो छैन ।’ बजेट र सडक रेखांकन फेरिरहँदा तोकिएको समयमा अयोजना सकिने छाँट छैन ।

आयोजनाअन्तर्गत केही सडक खण्डको भने अझै डीपीआर सकिएको छैन । झापाको बाहुनडाँगीदेखि डडेलधुराको रूपाल जोड्ने गरी २०७५ जेठ ६ मा मन्त्रिपरिषद्बाट निर्णय भएसँगै राजमार्गको निर्माण थालिएको हो । यसको दूरी १ हजार ३ सय ९० किमि छ । योमध्ये ७ सय ४० किमि मात्र आयोजनाको कार्यक्षेत्रभित्र पर्छ । बाँकी ६ सय ५० किमि सडक विभागअन्तर्गतकै अन्य आयोजनाले हेरिरहेका छन् ।

राजमार्ग घोषणा हुनुअघि नै विभिन्न क्षेत्र अरू नै आयोजनाले नै हेरिरहेका थिए । आयोजनाको सुरु लागत अनुमान ७५ अर्ब रुपैयाँ छ । अहिलेसम्म २३ अर्ब खर्च भइसकेको छ । ७ सय ४० मध्ये २ सय ४० किमि सडक र १ सय ८५ मध्ये ७७ वटा पुल मात्र बनेका छन् । ३ सय ६६ किमि सडकमा ठेक्का व्यवस्थापन हुन बाँकी छ । १ सय ३५ किमि सडक निर्माणाधीन रहेको आयोजनाले जनायो । अहिले पनि काम भइसकेका सडकको भुक्तानी हुन नसकेको इन्जिनियर सिंहले बताए ।

‘काम सम्पन्न गर्ने योजना कार्यालयमा रकम पठाउन सकिएको छैन,’ सिंहले भने, ‘दमक योजना कार्यालयमा ५० करोड र हेटौंडामा २४ करोड रुपैयाँ पठाउनु छ, जुन रकमका लागि सडक विभाग हुँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा माग पठाइएको छ ।’ भौतिकले अर्थ मन्त्रालयमा पठाउने उनले बताए । मध्यपश्चिम खण्डमा नयाँ रेखांकन भएको सडकमा सर्भेको काम भइरहेको छ ।

‘सर्भे एकातिर भएको छ, यसलाई परिवर्तन गरेर अर्कोतिर लग्नुपर्‍यो भन्दै निवेदन पनि आइरहेका छन्,’ सिंहले भने, ‘सुर्खेतमा ३५ किमि खण्डमा ठेक्का भएकोमध्ये ७ किमिमा यस्तै समस्या आएको छ ।’ रेखांकन परिवर्तन गर्न स्थानीय जनप्रतिनिधिदेखि सांसदसम्म लागिपरेको आयोजना स्रोतले जनायो ।

महेन्द्र राजमार्गको उत्तर र मध्यपहाडी राजमार्गको दक्षिणतिर पर्ने गरी यसको निर्माण थालिएको आयोजनाको भनाइ छ । अहिले हेटौंडा–चतरा–धरान–सडक खण्डमा काम भइरहेको छ । यस खण्डमा कतै काम सकिएको छ, कतै जारी छ । सिन्धुलीको भिमानदेखि सिन्धुली बजारसम्म बीपी राजमार्गले ओभरल्याप गरेकाले उक्त खण्डमा आयोजनामार्फत निर्माणको काम गर्नुपर्ने छैन । निर्माणमा ढिलाइ भएको र राम्रो काम नभएको गुनासा आएपछि यस खण्डमा प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले गत मंसिरमा स्थलगत अध्ययन अवलोकन भ्रमण गरेको थियो । भ्रमणपछि समितिले तयार पारेको प्रतिवेदनअनुसार उक्त सडकमा सबैभन्दा ठूलो समस्या सडक सीमाको रहेको पाइएको छ । दायाँबायाँ कति मिटर छाड्नुपर्ने हो भन्ने द्विविधा स्थानीयमा कायमै छ ।

सडकलाई राजमार्ग भनिए पनि आवश्यकताभन्दा बढी बांगोटिंगो रहेको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै नम्बरी जग्गामा मात्र नभई ऐलानी र जंगल भएको ठाउँमा समेत सडक बांगोटिंगो रहेको प्रतिवेदनमा भनिएको छ । सिन्धुलीस्थित वाग्मतीलगायत नदीमा पुल समयमै नबन्दा समस्या भएको छ ।

सडक बनाए पनि घरअगाडि ‘ड्रेनेज ढक्कन’ राखिएको छैन । नाली पनि अव्यवस्थित रहेको बताइएको छ । जंगल क्षेत्रमा आवश्यकताभन्दा बढी सडक बांगोटिंगो बनाउँदा रूखबिरुवाको धेरै नाश भएको समितिको प्रतिवेदनमा उल्लेख छ । कतिपय स्थानमा काम सन्तोषजनक रहेको पाइए पनि कतिपय स्थानमा निर्माण व्यवसायीको लापरबाही, ढिलासुस्ती र त्यसउपर प्रभावकारी अनुगमन तथा निरीक्षण नभएको पाइएको जनाइएको छ ।

प्रकाशित : फाल्गुन १६, २०७८ ०८:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×