कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

ती थोत्रा स्मारिकाहरू !

तीक्ष्ण समाजशास्त्री वा मानवशास्त्रीले स्मारिकामा थप अध्ययन गर्न लायक अनेक विषयवस्तु फेला पार्न सक्छन् । कतिपय नलेखिएका इतिहास सतहमा आउन सक्छन् भने भविष्यमा काम लाग्ने ज्ञानका स्रोतहरू खुल्न सक्छन् ।
उज्ज्वल प्रसाई

अचेल विद्यालय र कलेजहरूले स्मारिका कत्तिको प्रकाशन गर्छन्, यकिन छैन । केही वर्षपहिलेसम्म गाउँसहरका सानाठूला शैक्षिक संस्थाहरूमा पुग्दा शिक्षक वा कर्मचारीले संस्थाबाट प्रकाशित पत्रिका, स्मारिका र पुस्तक कोसेलीका रूपमा थमाउँथे । त्यसरी हात पारेका धेरैजसो सामग्री पढिएनन् । जति पढिए, तिनले कहिल्यै हानि गरेनन् । बरु कतिपय सन्दर्भमा स्मारिकामा पढिएका सामग्रीले नयाँ सूचना मात्रै दिएनन्, नेपाली समाजबारेका जटिल प्रश्नको उत्तर पहिल्याउन सघाए । उपयोगी छैनन् भनेर बेवास्ता गरेका यस्ता कति प्रकाशनहरू समय अन्तरालमा पढ्दा आफू आनन्दित भएका क्षणहरू पनि छन् ।

ती थोत्रा स्मारिकाहरू !

यस्ता प्रकाशनमा तत्तत् संस्थाका परिचयहरू लेखिएका हुन्थे, शिक्षक र कर्मचारीका सूची हुन्थे, जाँगर चलाएर लेख्ने र सम्पादन गर्ने मान्छेले प्रकाशनको नेतृत्व गरेका बेला संस्थाका इतिहास पनि समेटिएका हुन्थे । विद्यार्थी र शिक्षकका साहित्यिक रचना र संस्मरण हुने नै भए । उहिलेउहिले समुदायकै अग्रसरता र सक्रियतामा शैक्षिक संस्था सञ्चालन हुने भएकाले संस्था सञ्चालनमा योगदान पुर्‍याएका समुदायका अगुवाले आफैं लेखेका वा उनीहरूबारे लेखिएका सामग्री पनि प्रकाशित हुन्थे । देउसीभैलो खेलेर सहयोग जुटाएका अनुभव लेखिन्थे, विद्यालयले राजनीतिक र सामाजिक आन्दोलनलाई टेवा पुर्‍याएका कथा भनिन्थे ।

शैक्षिक संस्थाले छापेका यस्ता सामग्री सबै गुणस्तरीय एवं उययोगी हुन्थे भन्ने छैन । कतिपय औसत हुन्थे, कतिपय कमजोर लेखनका उदाहरण नै मान्न सकिने खालका हुन्थे भने केही सामग्री लेखनका दृष्टिले स्तरीय हुन्थे । जस्ता भए पनि यी प्रकाशनले संस्थाका स्मृतिहरू साँचेका हुन्थे । विद्यार्थी र शिक्षकलाई आफ्ना भोगाइ, बुझाइ र सृजनात्मक क्षमता अभिव्यक्त गर्ने अवसरका रूपा यी प्रकाशित हुन्थे । यसरी प्रकाशित सामग्री लामो समयसम्म राख्न सकिने र तीसँगै सिंगो संस्था, संलग्न व्यक्ति एवं समुदायसमेतको इतिहासका रूपमा त्यो संरक्षित हुन्छ भन्ने विश्वासले यस्ता उपक्रम गरिन्थे । गहिरिएर सोच्यो भने बुझिन्छ, यस्ता प्रकाशनमा स्थानीय इतिहासका भरपर्दा स्रोत बन्न सक्ने सामर्थ्य हुन्छ ।

एउटा विद्यालयले दुःखले प्रकाशन गरेको र स्थानीय स्तरमै लेखाइएका सामग्रीहरू संकलन गरेको पत्रिकाले विद्यालय रहेको सिंगो भेगबारे थुप्रै महत्त्वपूर्ण कथा हाल्न सक्छ । कम्तीमा, विद्यायलकै बारेमा पनि थप अध्ययनका निम्ति प्रेरित गर्न सक्छ । तीक्ष्ण समाजशास्त्री वा मानवशास्त्रीले ध्यान दिएर यस्ता सामग्रीको अध्ययन गरे, थप अध्ययन गर्नलायक अनेक विषयवस्तु फेला पार्न सक्छन् । यसरी पहिल्याएका विन्दुबाट अनुसन्धान अघि बढाए कतिपय नलेखिएका इतिहास सतहमा आउन सक्छन् भने भविष्यमा काम लाग्ने ज्ञानका स्रोतहरू खुल्न सक्छन् । यसो हेर्दा अत्यन्तै सामान्य र तत्काल अनुपयोगी देखिएको स्मारिका गतिलो अनुसन्धानको खुड्किलो बन्न सक्छ ।

शैक्षिक संस्था मात्र होइन, स्थानीय स्तरका साहित्यिक समूहदेखि सहकारीसम्म र युवा क्लबदेखि परोपकारी संस्थासम्मले प्रकाशन गर्ने जमर्को गरेका सयौं उदाहरण छन् नेपालमा । यी प्रकाशनहरू धेरै पढालिखा नेपालीका घरहरूमा अद्यापि बसिरहेका होलान् । त्यसो त नाम चलेका ठूला बैंकहरूसमेतले साहित्यिक पत्रिका निकाल्ने गरेका थिए । सार्वजनिक जीवनमा सक्रिय भई पहिचान बनाएका व्यक्तिका नाममा स्थापना गरिएका प्रतिष्ठानबाट समेत प्रकाशनहरू हुने गरेका छन् । स्मृतिग्रन्थका नाममा प्रकाशित किताबहरू पनि स्थानीय इतिहासका स्रोत बन्ने गरेका छन् ।

मृत्युपछि पनि आफूलाई स्मरण गरिरहून् भन्ने मनसुबासहित यस्ता काम गरिएका हुन सक्छन् । विशुद्ध नाफा र पैसा संकलन मात्र नभएर अन्य उद्देश्य नै धेरै राखेर यस्ता प्रकाशनहरू गरिएका हुन् । संस्था होस् वा व्यक्ति, नाम राख्ने मोह होस् वा आफ्ना कीर्तिको इज्जत बढाउने, यी सबै लिखत स्थानीय इतिहासका स्रोत हुन् ।

मार्टिन चौतारीबाट प्रकाशित जर्नल ‘समाज अध्ययन’ को पछिल्लो अंकमा प्रकाशित एक खोजमूलक लेखमा अर्घाखाँचीको हरिहर संस्कृत विद्यालयको इतिहास लेखिएको छ । यस खोजका निम्ति सबैभन्दा भरपर्दा स्रोत स्मृति ग्रन्थलाई मानिएको देखिन्छ । मूलतः व्यक्तिका सेखपछि उनीहरूका नाममा प्रकाशन गरिएका स्मृति ग्रन्थमा संकलित सामग्रीबाट विद्यालयको इतिहास उधिनिएको छ । यसका साथै, विभिन्न संस्थाले प्रकाशन गरेका स्मारिका र पत्रिका पनि मुख्य स्रोतका रूपमा देखा पर्छन् । काठमान्डुको दधिराम मरासिनी स्मृति प्रतिष्ठानदेखि ताप्लेजुङको श्रीराम सार्वजनिक पुस्तकालयसम्मका प्रकाशनबाट सामग्री जुटाएर यो इतिहास तयार पारिएको छ ।

अनुसन्धाता अर्जुन पन्थीले अर्घाखाँचीको खिदिममा विक्रम संवत् १९७० देखि २०२१ सम्म सञ्चालनमा रहेको हरिहर संस्कृत पाठशालाको इतिहास लेखेर ब्राह्मण समुदायको शैक्षिक गतिशीलता र प्रभावका घुम्तीहरू देखाएका छन् । एउटा सानो पहाडी गाउँको विद्यालयमा गरिएका पठन र सिकाइका उपक्रमहरूमा काठमान्डुका राणा शासकदेखि ब्रिटिस साम्राज्यको प्रभावसम्म देख्न सकिन्छ । संस्कृत पाठशालाको इतिवृत्तान्त सुनाउनुको उद्देश्य स्पष्ट पार्दै निष्कर्ष खण्डमा अनुसन्धाता पन्थी भन्छन्, ‘हरिहर संस्कृत पाठशाला लगायत संस्कृत पाठशालाका उत्पादनहरू (खास गरी ब्राह्मण समुदायका) ले शैक्षिक, राजनीतिक र प्रशासनिक क्षेत्रमा राणाकालपछि आफ्नो उपस्थिति क्रमशः बढाउँदै गएको देखिन्छ । यसबाट उच्च कुलीन

ब्राह्मण, राणा/शाह तथा सैनिक वंशजको राणाकालीन प्राधिकारलाई पछाडि पार्दै २००७ साल अघिपछिका शैक्षिक, राजनीतिक र प्रशासनिक क्षेत्रमा गाउँघरमा संस्कृत पढेका ब्राह्मणहरूले महत्त्वपूर्ण पहुँच कायम गर्दै गएको र पछिसम्म पनि यसकै निरन्तरता रहेको अनुमान गर्न सकिन्छ ।’

अनुसन्धाता पन्थीले झैं अरूले पनि यस्ता सामग्री पल्टाउन सके अरू रोचक इतिहास लेखिँदा हुन् । सयौं यस्ता लिखत अनुसन्धाताका तिखा दृष्टि पर्खेर बसेका छन् । अर्थात्, उधिन्न सकिने नेपाली इतिहासका दर्जनौं महत्त्वपूर्ण घुम्ती अझै नछोइएका पत्रिका र ग्रन्थका चेपमा ओसिएर बसिरहेका छन् । पुराना घटनाका पत्र उक्काउँदै आफूअनुकूल तथ्यको पसारो लगाएर खास राजनीतिक उद्देश्य पूर्ति गर्ने उद्देश्यले इतिहास–उद्यम भइरहेका बेला यो दुःखजिलो काममा धेरैको जाँगर नहुन सक्छ । सार्वजनीक जीवन बुझ्ने चासो राखेर इतिहास उधिन्न चाहनेका लागि भने सयौं ठाउँमा छरिएर बसेका यी सामग्री घतलाग्दा सूचनाका खानी हुन सक्छन् ।

समय बदलियो, प्रकाशनप्रतिको मोह र दृष्टिकोणमा पनि फेरबदल आए, प्रकाशनका ढाँचा र फैलावटमा पनि धेरै परिवर्तन देखिए । अचेल सार्वजनिक संस्थाका फेसबुक र ट्वीटर पेज छन्, कतिपयले वेबसाइट पनि निर्माण गरेका हुन्छन् । पुराना प्रकाशनको झल्को दिने शैलीले केहीले ब्लग सञ्चालन गरेका छन् तर यस्ता जाँगर भएका संस्था अत्यन्त न्यून छन् । मूलतः व्यापारिक प्रयोजनका लागि विद्युतीय सञ्जालमा संस्थाहरूको सक्रियता बढी देखिन्छ । प्रकाशनका नाममा रंगीन र चिल्ला कागजमा तस्बिरहरूको बाहुल्य भएका सूचना र वैज्ञापनिक सामग्री भएका ब्रुसर र पत्रिका प्रकाशन गरिएका हुन्छन् । खास गरी निजी शैक्षिक संस्थाले भर्ना खुल्ने बेला यी सामग्री प्रकाशन गर्छन् ।

सामुदायिक संस्थाका सयौं दुःखबीच स्मारिका र साहित्यिक संकलनजस्ता सामग्री प्रकाशन गर्ने काममा उल्लेखनीय अल्पता आएको अन्दाज गर्न सकिन्छ । यस्ता कामलाई उपयोगी र उत्पादनमूलक नठान्ने प्रवृत्तिले पनि काम गरेको हुन सक्छ । तात्कालिक प्रभाव जमाउने, क्षणिक मनोरञ्जनमा निमग्न हुने, तुरुन्त आर्थिक लाभ मात्रलाई महत्त्व दिने थितिको निर्माणका कारण पनि प्रकाशनका मात्रा, शैली र रूप फेरिएका छन् । सामुदायिक विद्यालय वा सार्वजनिक संस्थानका प्रकाशनमा आएका न्यूनताले लेखिनुपर्ने इतिहासका अनेकन् विषय नलेखिएका हुन सक्छन् । साथै, विभिन्न सामाजिक तथा राजनीतिक आन्दोलनका प्रभावस्वरूप यी सार्वजनिक संस्थाहरू पहिलेका तुलनामा अहिले बढी विविधतापूर्ण भएका छन् । नियमित प्रकाशनहरू हुन्थे भने, तिनमा छापिने सामग्री पनि विविधतापूर्ण र व्यापक हुन सक्ने सम्भावनासमेत प्रचुर हुन्थ्यो ।

कागज र मसी प्रयोग गरेर किताबका रूपमा स्मारिका वा साहित्यिक संकलन प्रकाशन गर्नैपर्छ भन्ने जिरह गर्नु यस लेखको उद्देश्य होइन, बरु विविधतापूर्ण स्थानीय इतिहासका स्रोतका रूपमा अब कस्ता सामग्रीहरूको उपयोग होला भन्ने चासो मुख्य हो । साथै, विद्युतीय सञ्जालजस्ता संयन्त्रको व्यापकताका कारण प्रकाशन र प्रसारण सहज र लोकतान्त्रिकसमेत भएको दाबी चल्दै गरेका बेला स्थानीय प्रकाशनहरूमा आएको अल्पतालाई कसरी बुझ्ने भन्ने सवाल पनि उठाउन खोजिएको हो । के स्मारिकाको साटो फेसबुक पेज र युट्युब वा वेबपेजजस्ता डिजिटल माध्यममा स्थानीय इतिहास लेखिन थालेका छन् ? जस्ता सामग्रीहरू यी माध्यममा राखिएका छन्, के ती इतिहासका भरपर्दा स्रोत बन्न सक्छन् ? समाजविज्ञानी अनुसन्धाताका लागि यी विषय महत्त्वपूर्ण हुन सक्छन् ।

एकातिर प्रकाशित सामग्रीको अध्ययन बढाउनु आवश्यक छ भने, अर्कातिर स्थानीय इतिहास कसरी लेखिँदै छ भनेर पहिल्याउन जरुरी छ । यी दुई महत्त्वपूर्ण काम हुन सक्ने मुख्य ठाउँहरू अध्ययन प्रतिष्ठान र शैक्षिक संस्थाहरू नै हुन् । दुःख एउटै छ, असल काम गर्न चाहनेहरूसँग पर्याप्त स्रोत छैन, जो स्रोत सोहोरेर बसेका छन्, तिनलाई ज्ञान होइन द्रव्य मात्रको मोह छ । द्रव्यमोह त्यस्तो लगाम हो जुन एक पटक लगाएपछि द्रव्यबाहेक अरू केही देखिन्न, र फुकाएर मिल्काउन लगभग असम्भव छ । थिति बदल्ने बौद्धिक हस्तक्षेप कहाँबाट कसरी र कहिले हुन्छ, मेसो पाउन सजिलो छैन ।

प्रकाशित : फाल्गुन १३, २०७८ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?