जीविकोपार्जनमा दूरगामी प्रभाव- विचार - कान्तिपुर समाचार
जलवायु परिवर्तन विशेष

जीविकोपार्जनमा दूरगामी प्रभाव

सगरमाथाको सर्वोच्च हिमनदी चिन्ताजनक गतिमा पग्लिरहेको छ, विश्वका सबैभन्दा गरिब र सीमान्तकृत समुदाय, जसले सबैभन्दा कम कार्बन क्षति पुर्‍याएका छन्, उनीहरुले नै जलवायु संकटको कठिन प्रभाव सबैभन्दा चाँडो महसुस गर्नेछन्
र्‍यान्डी बेरी

यतिखेर इतिहासको नजर हामीमाथि छ । हजारौं वर्षसम्म यस ग्रहले स्थिर तापक्रम कायम गरी जीवनलाई दिगोपन प्रदान गर्ने जलवायु उत्पन्न गरेको छ । अहिलेसम्म प्रकृति नै मानवको अभिभावक हो ।


पछिल्ला दुई शताब्दीमा हामीले जीवाष्म इन्धन जलाउन थाल्यौं, सम्पूर्ण वनजंगल र पारिस्थितिक प्रणाली नष्ट गर्न थाल्यौं, भावी पुस्ताका बारेमा सोच्दै नसोची सम्पूर्ण राष्ट्रहरूलाई औद्योगिकीकरण गर्न थाल्यौं । पृथ्वीमा घुमफिर गर्ने सबैभन्दा चेतनशील प्राणी हामी तर हामीले नै अल्पकालीन लाभका निम्ति यसलाई हानि पुर्‍याउन थाल्यौं ।

अब विज्ञान अकाट्य बनेको छ– हामीलाई यति लामो समयसम्म जोगाइराख्ने यो ग्रह नै संकटमा परेको छ । जलवायु परिवर्तनलाई सम्बोधन गर्ने विश्व शिखर सम्मेलन कोप–२६ मा नेपालले विश्वका नेताहरूलाई जलवायु परिवर्तनको विनाशकारी प्रभावबाट हिमालय पर्वतहरूलाई जोगाउन

आह्वान गरेको थियो । लाखौं मानिस पिउने पानीका लागि हिमशृंखलामा प्रत्यक्ष रूपमा निर्भर छन् तर हिमनदीहरू द्रुत गतिमा लोप हुँदै छन् । गत साता मात्रै एक प्रतिवेदनले देखाएअनुसार सगरमाथाको सर्वोच्च हिमनदी चिन्ताजनक गतिमा पग्लिरहेको छ । यसले जनजीवन र जीविकोपार्जनमा दूरगामी र गम्भीर प्रभाव पार्नेछ ।

विश्वका सबैभन्दा गरिब र सीमान्तकृत समुदाय, जसले सबैभन्दा कम कार्बन क्षति पुर्‍याएका छन्, उनीहरूले नै जलवायु संकटको कठिन प्रभाव सबैभन्दा चाँडो महसुस गर्नेछन् । यस्ता हिमाली समुदायमा थप चेतना जगाउन नेपालका लागि बेलायती राजदूत निकोला पोलिट र अस्ट्रेलियाली राजदूत फेलिसिटी भोल्कका साथ मैले केही समयअघि रारा ताल भ्रमण गरेको थिएँ ।

रारा ताल नेपालका सबैभन्दा रमणीय स्थलमध्येको हो । संसारका अन्य भागमा नपाइने २ सयभन्दा बढी चराका प्रजाति र मत्स्य तथा उभयचर प्रजाति यहाँ पाइन्छन् । ताल वरपरका सल्ला, धुपी र जुरे सल्लाका वनजंगलले हिमाली कालो भालु, रातो पान्डा, कस्तूरी मृग र चितुवा बिरालोजस्ता स्तनधारी प्राणीलाई प्राकृतिक बासस्थान प्रदान गर्दछन् । राराको सौन्दर्यले विगतमा राजा महेन्द्रलाई समेत कविता लेख्न प्रेरित गरेको थियो । हामीले तुरुन्त र महत्त्वाकांक्षी रूपमा काम गरेनौं भने यी सबै हराएर जानेछन् । अर्थतन्त्रका सबै क्षेत्रलाई कार्बनमुक्त बनाउने र नेपालको समृद्ध जैविक विविधतालाई प्रकृतिमा आधारित समाधानको विकासमा प्रयोग गर्ने प्रधानमन्त्री देउवाको वाचाले नेपालले यस क्षेत्रमा नेतृत्व प्रदान गर्न सक्छ भन्ने प्रमाणित गर्छ । हामी ती प्रतिबद्धताहरूले साकार रूप लिएको हेर्न उत्सुक छौं ।

यस विपत्तिको बीचमा संयुक्त राज्य अमेरिकाले कसैलाई पनि पछि नछोड्ने कबुल गरेको छ । कोप–२६ मा हामीले अनुकूलन र उत्थानशीलताका लागि राष्ट्रपतिको आपत्कालीन योजना (प्रिपेयर) घोषणा गर्‍यौं । विश्वभरका संकटासन्न समुदायमाथि पर्ने जलवायु प्रभावलाई सम्बोधन गर्नका लागि गरिएको यो आजसम्मको सबैभन्दा ठूलो अमेरिकी प्रतिबद्धता हो । यसले आर्थिक वर्ष २०२४ सम्ममा वार्षिक ३ अर्ब सहायता अनुकूलनका लागि प्रदान गर्नेछ । अमेरिकी सरकारको सम्पूर्ण कूटनीतिक, विकास र प्राविधिक दक्षताको उपयोग गर्ने समन्वयात्मक विधिमार्फत प्रिपेयरले विकासोन्मुख देशहरूमा आधा अर्बभन्दा बढी मानिसलाई सन् २०३० सम्म जलवायु परिवर्तनका प्रभावलाई अनुकूलन र व्यवस्थापन गर्न मद्दत गर्नेछ । अझ व्यापक रूपमा अमेरिकाले स्वदेशमा उदाहरणद्वारा नेतृत्व गर्ने आशय लिएको छ । अमेरिकी सरकारले सौर्य प्यानल, विद्युतीय सवारीसाधन र स्वच्छ ऊर्जाको प्रयोगलाई विस्तार गर्नेछ । विश्वव्यापी तापमानलाई केवल १.५ डिग्री सेल्सियसमा सीमित गर्ने लक्ष्यलाई पहुँचभित्रै राख्न हामीले सन् २०३० सम्ममा सन् २००५ को दरलाई ५० प्रतिशतले घटाउने र यस निर्णायक दशकको अन्त्यसम्ममा समग्र मिथेन उत्सर्जनलाई ३० प्रतिशतले घटाउने संकल्प गरेका छौं ।

यो विश्वव्यापी समस्या हो, जसका लागि विश्वव्यापी कामकारबाही आवश्यक छ । विश्वका राष्ट्र र नागरिकले दृढताका साथ हाम्रा प्रतिबद्धता पालना गर्नुपर्छ । भविष्यका गम्भीर सम्भावनाका बाबजुद म अझै आशाद्वारा उत्प्रेरित हुन चाहन्छु । विज्ञानले यस प्रकोपको भविष्यवाणी गरेको थियो र विज्ञानले नै यसको सम्बोधनका लागि उपाय पत्ता लगाएको छ, जसअनुसार विश्वव्यापी तापमानलाई सीमित गर्न सुरुमा कार्बन र मिथेन उत्सर्जनलाई कम गर्नुपर्छ । हामी हाम्रो ग्रह, हाम्रो स्वास्थ्य र हाम्रो अर्थतन्त्रलाई दीर्घकालीन हानि पुर्‍याउने उद्योगलाई दिगो उद्योगहरूले प्रतिस्थापन गर्न सक्छौं । मानवीय कौशलमार्फत प्रकृतिलाई प्रदूषित, फोहोर र बेवास्ता गरेर बदनाम गर्नुको सट्टा समाधान खोज्ने सहयोगीका रूपमा प्रयोग गर्न सक्छौं । हामी पृथ्वीमा घुमफिर गर्ने सबैभन्दा बुद्धिमान प्रजाति हौं । हाम्रो सबैभन्दा ठूलो चुनौतीको सामना गर्ने र हामीलाई धेरै थोक दिएको ग्रहको रक्षा गर्ने समय आएको छ ।

(बेरी नेपालका लागि अमेरिकी राजदूत हुन् ।)

प्रकाशित : फाल्गुन ७, २०७८ १२:५१
प्रतिक्रिया
पठाउनुहोस्

पृथ्वी जोगाउन सहकार्य

जलवायु परिवर्तन हाम्रो प्रमुख चुनौती भएकाले मिलेर सामना गर्न क्षेत्रीय सहकार्यको खाँचो 
फेलिसिटी भोल्क

सन् २०२१ को सुरुवातसँगै नेपालका लागि अस्ट्रेलियाको राजदूतका रूपमा जिम्मेवारी सम्हाल्न म काठमाडौं आएको हुँ । यहाँ नयाँ जीवनको सुरुवात गर्दै गर्दा नेपालका वन डढेलोको खबरहरू सुनेर दुःख लाग्यो । काठमाडौंको आकाशमा धूवाँले ढाकिरहँदा मलाई अस्ट्रेलियाको सन् २०१९–२०२० कोब्ल्याक समर भनिएको विनाशकारी वन डढेलोको सम्झना आयो । त्यो डढेलोले निकै ठूलो क्षति गरेको थियो र विश्वव्यापी रूपमा प्रमुख समाचार बनेको थियो । 

नेपालमा जस्तै, अस्ट्रेलियामा महिनौंको सुक्खा मौसमले वनस्पति सुकेर आगो लागेको थियो । ब्ल्याक समरको अन्त्यसम्ममा त्यो विशाल आगलागीले करिब एक लाख ८६ हजार वर्गकिलोमिटरको वन क्षेत्र जलेर नष्ट भयो । त्यो क्षति भएको वन नेपालको कुल क्षेत्रफलभन्दा बढी थियो । मानवीय क्षतिका अलावा यस घटनाले एक अर्ब जीवहरू मारिए, थप दुई अर्ब जीवहरू विस्थापित भए । आगलागीमा जलेर थुप्रै जीवहरू विलुप्त भए । यो विपद्बाट पुनरुत्थान गर्ने क्रममा गैरआवासीय नेपाली संगठनलगायत विश्वभरबाट सहयोग प्रदान गर्ने सबैप्रति अस्ट्रेलिया आभारी छ ।

उक्त घटनापछि अस्ट्रेलियामा भइरहेको विश्वको जलवायु परिवर्तनको राष्ट्रिय छलफलहरूको दिशान्तर गर्न महत्त्वपूर्ण रह्यो र योलगायत अन्य कारणहरूले जलवायु परिवर्तनविरुद्ध लड्न नेपाल र अन्तर्राष्ट्रिय स्तरमा भइरहेका सहकार्यहरू थप विस्तार गर्न प्रेरित गरेको छ ।

भौगोलिक रूपमा टाढा भए पनि नेपाल र अस्ट्रेलिया दुवैले विषम मौसमका समान प्रकारका घटनाहरू भोगेका छन् र यसले जलवायु परिवर्तनले सिर्जना गरेको असर कम गर्नुपर्ने र जोखिमपूर्ण अवस्थामा रहेका समुदायहरूको पुनरुत्थानशीलतामा वृद्धि गर्नुपर्ने समान आवश्यकताहरू देखिएको छ । जलवायु परिवर्तनलाई हाम्रो प्रमुख चुनौतीको रूपमा चित्रित गर्दै गर्दा हामीले क्षेत्रीय सहकार्यलाई हाम्रो मुख्य शक्तिको रूपमा बुझेका छौं ।

नेपालसँग वातावरण संरक्षणमा अस्ट्रेलियाको सहकार्य सन् १९६० को दशकदेखि सामुदायिक वन कार्यक्रमसँगै सुरु भएको थियो । सन् २००६ सम्ममा सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोक जिल्लाहरूमा करिब २१ हजार हेक्टर सामुदायिक वन स्थापना भयो । यो परियोजनाको सहयोगमा नेपालमा बृहत् स्तरमा वन पुनःस्थापना गरेर क्षेत्र करिब ४५ प्रतिशत पुगेको छ । नेपालको प्राकृतिक क्षेत्रमा गरिएको यो प्रारम्भिक सहयोगको बीजारोपणले गएको दशकमा नयाँ दिशा लिएको छ ।

यहाँ जारी सहयोग कार्यक्रम नेपालले तोकेको प्राथमिकताका क्षेत्रमा अस्ट्रेलियाली विज्ञताका माध्यमबाट सहयोग गर्ने एक प्रमुख सिद्धान्तमा आधारित छ । यस्तो सहकार्य नेपालको नयाँ तर परिष्कृत हुँदै गरेको संघीयतामा आधारित तीनै तहका सरकारहरूसँग भइरहेको छ ।

दशकौंदेखि विश्वव्यापी रूपमा जलवायु परिवर्तनसँग सम्बन्धित असर न्यूनीकरण र अनुकूलन योजना निर्माण केन्द्रमा रहेका विज्ञहरूबाट निर्देशित रह्यो । नेपालमा सन् २०१५ मा जारी नयाँ संविधान र यसको संघीयताको व्यवस्थाले योजना निर्माण पद्धतिलाई परिवर्तन गरेको छ । अब सबै सार्वजनिक योजना निर्माणलाई समावेशी बनाई बाढी वा सुक्खाजस्ता कुनै पनि घटनाले प्राथमिक रूपमा असर गर्ने स्थानीय समुदायहरूको सहभागिता बढाउनुपर्नेछ । अस्ट्रेलियाले नेपालमा जलवायु क्षेत्रमा गरेको सहयोगले सबै तहका सरकारहरूको प्रभावकारी रूपमा योजना बनाउने र लागू गर्ने क्षमतामा वृद्धि गर्ने उद्देश्य राखेको छ ।

कतै साह्रै थोरै र कतै अधिक पानी उपलब्ध हुने चुनौती सामना गरिरहेको नेपालमा जलस्रोत व्यवस्थापन क्षेत्रको सहयोगमा विशेष जोड छ । अस्ट्रेलियाको इन्टरनेसनल सेन्टर अफ एक्सिलेन्स इन वाटर रिसोर्स मेनेजमेन्टका माध्यमबाट त्यहाँका विश्वविख्यात जलस्रोत व्यवस्थापन विज्ञहरूको सहयोगमा नेपालको राष्ट्रिय जलस्रोत नीति र जलस्रोत विधेयक तयार गर्ने काम भइरहेको छ ।

अस्ट्रेलियाको कमनवेल्थ साइन्टिफक एन्ड इन्डस्ट्रियल रिसर्च अर्गनाइजेसन (सीएसआईआरओ) ले कमला जलाधार क्षेत्र रणनीति निर्माण गर्न र त्यसलाई लागू गर्न सहयोग गरिरहेको छ र अहिले अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) लाई कोसी जलाधार क्षेत्र अभियान (कोसी बेसिन इनिसिएटिभ), समुदायमा आधारित बाढी पूर्वसूचना प्रणाली र कोसी विपद् जोखिम न्यूनीकरण केन्द्रको स्थापना गरेर समावेशी र लैंगिक–संवेदनशील जलाधार व्यवस्थापन र विपद् प्रतिकार्यलाई प्रवर्द्धन गरेको छ ।

जलस्रोत व्यवस्थापन र बृहत्तर रूपमा जलवायु परिवर्तनसँग सम्बन्धित क्रियाकलापहरूमा महिलाको सहभागिताको महत्त्वलाई जति जोडले उठाए पनि अतिशयोक्ति हुँदैन । केही समयअघि नेपालका लागि बेलायती राजदूत निकोला पोलिट र अमेरिकी राजदूत र्‍यान्डी बेरीसँगै कर्णाली प्रदेशमा अवस्थित राराताल घुम्ने र यस क्षेत्रमा जलवायु परिवर्तनका असरहरूका बारेमा जानकारी लिने अवसर मिलेको थियो ।

भ्रमणका अवसरमा त्यहाँका महिला र बालिकाहरूसँग भेट भएको थियो । प्रत्येक दिन पानीको जोहो गर्न टाढा रहेको मुहानहरूमा जानुपर्नाको कारण शिक्षा र जीविकोपार्जनका अवसरहरू गुमाउनुपरेको कुरा उनीहरूले बताए । जलवायु परिवर्तनले महिला किसानहरूको कृषि प्रणाली र खेती गर्ने तरिकाहरूलाई प्रभावित गरेको, परिवार र समुदायमा खाद्य सुरक्षामा चुनौती थपिएको कुरा उनीहरूले बताए । जलवायु संकटको अग्रपंक्तिमा रहेकाहरूलाई सम्बन्धित छलफलहरूमा, असर कम गर्ने र अनुकूलन गर्ने निर्णय गर्ने प्रक्रियामा अनिवार्य रूपमा मुख्य जिम्मेवारी दिनु पर्दछ ।

तराईमा अस्ट्रेलियन सेन्टर फर इन्टरनेसनल एग्रिकल्चरल रिसर्च (एसीआईएआर) ले आधाभन्दा धेरै महिलाहरूसहित ५० हजारभन्दा बढी किसानलाई संरक्षणमा आधारित खेतीमार्फत उत्पादकत्व वृद्धि गर्ने र कृषिजन्य व्यापार गर्ने उपायहरूका बारेमा तालिम दिएको छ । अहिले एसीआईएआरले नेपालका मध्य पहाडहरूमा खेती र वनजन्य उत्पादन वृद्धि गरेर पोषण, खाद्य सुरक्षा र जीविकोपार्जनमा सुधार ल्याउन र स्थानीय वनजन्य उद्यम स्थापना गर्ने सीप वृद्धि गर्ने तालिमहरू प्रदान गरिरहेको छ ।

जलवायु परिवर्तनका विषयमा निजी क्षेत्रको पनि महत्त्वपूर्ण भूमिका छ । हामीले बिजनेस पार्टनरसिप प्लेटफर्मका माध्यमबाट नेपाल र अस्ट्रेलियाका सामाजिक र निजी उद्यमहरूलाई जोडेर जलवायु परिवर्तनलाई मिलेर सम्बोधन गर्न साझेदारी निर्माण गर्न सहयोग गरिरहेका छौं ।

उदाहरणका लागि, हाम्रो सहयोगले बिल्ड अप नेपालले लघुउद्यमीहरूको बढ्दो सञ्जाललाई कम कार्बन उत्सर्जन गर्ने इँटा उत्पादन गर्न तालिम दिइरहेको छ । यो इँटाको प्रयोगले परम्परागत रूपमा पोलिएका इँटाभन्दा २५ प्रतिशत कम लगानी र निकै कम कार्बन उत्सर्जन गरेर घर निर्माण गर्न सकिने भएको छ । यो प्रविधिको इँटाले एउटा सानो परिवारलाई हुने घर बनाउँदा भट्टाबाट उपादितका तुलनामा करिब ४.५८ टन कम कार्बनडाइक्साइड उत्सर्जन गर्छ । यसले रोजगारीसँगै सीमान्तकृत समुदायमा हरित आर्थिक पुनरुत्थानका अवसर सिर्जना गरेको छ । सन् २०२४ सम्ममा यो संस्थाले १४ हजार नयाँ घरहरू निर्माण गर्ने र ४ हजार ५ सय रोजगारीका अवसरहरू सिर्जना गर्ने अपेक्षा गरेको छ ।

क्षेत्रीय स्तरमा हामीले इसिमोडसँगको सहकार्यमा हिन्दुकुश हिमालय क्षेत्रको वर्तमान अवस्थाको आधारभूत मूल्यांकन गरेर यो क्षेत्रमा जलवायु परिवर्तनका प्रमाणहरू जुटाएका छौं । यसले हिन्दुकुश हिमालय कल टु एक्सनलगायत अन्तर्राष्ट्रियस्तरमा वकालत गर्ने आधार प्रदान गरेको छ ।

जलवायु परिवर्तनमा हाम्रो प्रतिक्रिया घरायसीदेखि गाउँस्तर, पालिका सरकार, प्रदेश, राष्ट्रिय, क्षेत्रीय हुँदै विश्वव्यापी प्रतिबद्धतामा पुगेको छ र यो हामीले कोप–२६ मा देख्यौं । गत नोभेम्बरमा ग्लास्गोमा अस्ट्रेलियाले आफ्नो देशमा र अन्यत्र कार्बन उत्सर्जन घटाउने र नेपालजस्ता राष्ट्रहरूको जलवायु वित्तीयकरणका प्राथमिकतालाई र अनुकूलन क्रियाकलापहरूलाई सहयोग गर्ने आफ्नो प्रतिबद्धतालाई अझ सुदृढ बनाएको छ ।

नेपाल सरकारले कोप–२६ मा व्यक्त गरेको आफ्नो प्रतिबद्धता र यो विषयमा अन्तर्राष्ट्रिय छलफलहरूमा खेलेको भूमिकाको सराहना गर्दछु । प्रधानमन्त्री शेरबहादुर देउवाले शिखर सम्मेलनमा भन्नुभएअनुसार, ‘नेपालको कार्बन उत्सर्जन न्यूनीकरण लक्ष्य सन् २०४५ सम्ममा पूर्ण खुद शून्यमा झार्ने र कुल ऊर्जा मागको १५ प्रतिशत स्वच्छ ऊर्जाले पूर्ति गर्ने र सन् २०३० सम्ममा देशको ४५ प्रतिशत भूभाग वन क्षेत्रले ढाक्नेछ ।’ प्रधानमन्त्री देउवाले विश्व नेतृत्वसमक्ष उच्च हिमालयको जलवायु जोखिमको विशिष्ट प्रकृतिका आवश्यकताहरूलाई सम्बोधन गर्न आग्रह गर्नुभयो । उहाँले ‘विश्व तापक्रम १.५ डिग्रीभन्दा कम राख्न अत्यावश्यक छ र यो हाम्रो जीवनसँग सम्बन्धित छ भन्नुभयो ।’

अस्ट्रेलियाले यो सुनेको छ र यसको सम्बोधन गर्दै छ । कोप–२६ मा व्यक्त गरेको आफ्नो प्रतिबद्धताअनुरूप अस्ट्रेलियाले विकासशील राष्ट्रहरूका लागि सन् २०२०–२०२५ का लागि आफ्नो जलवायु वित्तीय प्रतिबद्धता वृद्धि गरेर अस्ट्रेलियाली डलर दुई अर्ब पुर्‍याएको छ । योमध्ये ५० लाख अस्ट्रेलियाली डलर नेपालमा इसिमोडलाई प्रदान गरिनेछ । यो सहयोगले हिन्दुकुश हिमालय क्षेत्रलाई भनिने पृथ्वीको धड्कन को सुरक्षा गर्ने इसिमोडको महत्त्वपूर्ण प्रयासमा थप टेवा दिनेछ । नवीकरणीय ऊर्जाको विकास र उपयोगमा आफ्नो विशिष्ट क्षमताका आधारमा नेपालसँग सहकार्य गर्न अस्ट्रेलिया इच्छुक छ ।

सौर्य ऊर्जा प्रविधिको अनुसन्धान र विकासमा अस्ट्रेलियाली विश्वविद्यालयहरू विश्वमा नेतृत्वदायी स्थानमा छन् । आज धेरै अस्ट्रेलियालीहरूका (करिब एक तिहाइ घरपरिवार) घरहरूका छतमा सौर्य ऊर्जा प्रणाली जडित छ र यो विश्वमा प्रतिघर जडित सौर्य ऊर्जा प्रणालीमा सबैभन्दा धेरै हो । २५ लाखभन्दा धेरै घरहरूमा जडित हाम्रा सौर्य प्रणालीहरूले राष्ट्रिय ऊर्जा ग्रिडमा ऊर्जा थप गर्दछन् र यो निकै प्रजातान्त्रिक तरिकाले सञ्चालित छ ।

अस्ट्रेलियाका वैज्ञानिकहरू र व्यवसायीहरूले आजकल नयाँ पुस्ताको ऊर्जा सञ्चित गर्ने ब्याट्रीको प्रविधि विकास, हरित स्टिल र आल्मुनियम उत्पादन गरेर विश्व ऊर्जा र उत्पादन प्रणालीलाई स्वच्छ भविष्यतर्फ रूपान्तरण गर्न लगानी गरिरहेका छन् । अस्ट्रेलियाले टाउन्सभिल्लीदेखि तास्मेनियासम्म र एडिलेड पारिसम्म ४० हजार किलोमिटरभन्दा लामो विश्वकै ठूलो राष्ट्रिय ऊर्जा प्रणालीको व्यवस्थापन गर्छ । सन् २०२५ सम्ममा यो प्रणाली सम्पूर्ण रूपमा नवीकरणीय ऊर्जाको माध्यमबाट सञ्चालन गर्ने विश्वकै पहिलो राष्ट्र हुनेतर्फ काम गरिरहेको छ ।

अस्ट्रेलियाका भूतपूर्व प्रमुख वैज्ञानिक एलन फिंकेलले भनेजस्तै जंगल डढेलोपछि अस्ट्रेलियाको राष्ट्रिय फूल गोल्डेन वाटल सबैभन्दा पहिले पुनरुत्थान भएको वनस्पति हो । यो जहाँ जहाँ फुलेको छ, त्यहाँ पूर्ण अठोटका साथ लागिपरे जस्तोसुकै चुनौती पनि अवसरमा बदल्न सकिन्छ भन्ने उदाहरण दिएको छ ।

नेपाल र अस्ट्रेलियाले पृथ्वीको धड्कनको सुरक्षा गर्ने काममा सहकार्य गर्दै गर्दा हामीले वाटलले सिकाएको पाठ सम्झेर अझ दृढ संकल्पित भएर लागिरहे उज्ज्वल दिनहरू आउनेछन् ।

(भोल्क नेपालका लागि अस्ट्रेलियाली राजदूत हुन् ।)

प्रकाशित : फाल्गुन ७, २०७८ १२:५१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×