सहर असुरक्षित- विचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
जलवायु परिवर्तन विशेष

सहर असुरक्षित

जनघनत्व र आर्थिक क्रियाकलापको सघनता बढी हुने भएकाले प्रकोपको असर अन्यत्रभन्दा सहरमा बढी घातक 
उत्तमबाबु श्रेष्ठ

केन्द्रीय तथ्यांक विभागद्वारा हालै सार्वजनिक जनगणना २०७८ को प्रारम्भिक तथ्यांकअनुसार मुलुकको कुल जनसंख्याको ६६.०८ प्रतिशत सहरी क्षेत्रमा बस्छन् । विभागले ७ सय ५३ स्थानीय तहमध्ये २ सय ९३ नगरपालिकालाई सहर र त्यसमा बस्नेलाई सहरी जनसंख्या मानेको छ ।

सरकारले वर्गीकरण गरेको नगर क्षेत्र र तथ्यांक विभागको सहरी जनसंख्याको परिभाषालाई प्रश्न गर्न सकिने ठाउँहरू प्रशस्त छन् । सरकारले घोषणा गरेका देशका कतिपय नगरपालिकाहरू त नाम मात्रैका छन् र हाम्रा बनिसकेका सहर पनि सहर भन्न लायक छैनन् । तथापि मुलुकमा सहरीकरणको तीव्र वृद्घि अकाट्य सत्य हो । संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक मामिला विभागले प्रकाशित गरेको प्रतिवेदनअनुसार नेपाल विश्वमै उच्च गतिले सहरीकरण भइरहेको मुलुकहरूमध्येमा पर्छ । त्यसैले अब नेपाल गाउँ नै गाउँको देशबाट सहरउन्मुखमा फेरिइसकेको छ ।

मानव इतिहासमा सहरको इतिहास वा मानिस सहरमा बस्न थालेको लगभग ७ हजार वर्ष भएको छ । प्राचीन मेसापोटामियामा अवस्थित संसारकै पहिलो सहर अरिख बनेयता केही अपवादलाई छाड्ने हो भने विश्वभर सहरी जनसंख्या निरन्तर बढ्दो छ । विशेषगरी औद्योगिक क्रान्तिपछि विश्वभर नगरवासीहरूको संख्यामा निरन्तर वृद्घि भइरहेको छ, जसको रफ्तार सन् १९५० पछि उल्लेख्य रूपमा बढेको छ । सन् १९५० मा विश्वका एक अर्ब मान्छे सहरमा बस्थे । अहिले त्यो संख्या बढेर ४ अर्ब ३० करोड पुगेको छ । सहरवासी जनसंख्याको यस्तो निरन्तर वृद्घिले सन् २००७ मा पहिलो पटक विश्वमा सहरियाको संख्याले गाउँले जनसंख्यालाई उछिन्यो । संयुक्त राष्ट्रसंघको पछिल्लो प्रक्षेपणअनुसार सन् २०५० सम्ममा विश्वको ६८ प्रतिशत जनसंख्या सहरिया हुनेछ । त्यसकारण सहर आधुनिक मानव सभ्यता विकास र आर्थिक समृद्घिको प्रमुख स्वरूप हो ।

सहरको परिभाषा देशअनुसार फरक–फरक छन् । तर धेरैजसो देशमा कुनै एउटा ठाउँको कुल जनसंख्याले निश्चित संख्या (थ्रेसहोल्ड) पार गरेपछि त्यसलाई सहरको उपमा दिने गरिन्छ । जनसंख्याका साथै कुनै निश्चित भूगोलमा विद्यमान पूर्वाधारको अवस्था, अधिकांशको प्रमुख पेसा (कृषिबाहेक) र जनघनत्व पनि सहरी वर्गीकरणका थप आधारहरू हुन् । त्यसैले सहर भनेको भौतिक पूर्वाधारहरू थुप्रिएको ठाउँ मात्रै होइन, सामाजिक र आर्थिक गतिविधिका हिसाबले, पेसागत विविधताको कारण र संस्कृतिको दृष्टिकोणले पनि गाउँभन्दा पृथक् संरचना हो । जहाँ गाउँका तुलनामा सेवा प्रवाह र गुणस्तरको अवस्था राम्रो हुन्छ । गुणस्तरीय सेवा सुविधामा पहुँच, बन्दव्यापार र रोजगारीको अवसर धेरै हुनाले सहरले मानिसलाई आकर्षित गर्छ । ओइरिनेहरूमध्ये धेरै र मेधावी मानिसहरूलाई आकर्षित गर्ने हुनाले विश्वमै शिक्षित, अभिनवी (इनोभेटिभ) र उद्यमशील मानिसहरूको केन्द्र हो सहर । सहरमा हुने त्यस्ता अभिनव र उद्यमले मानव सभ्यतालाई नै थप प्रगतितिर डोर्‍याउन मद्दत गरेका हुन्छन् ।

सहरको जलवायु परिवर्तनसँग साइनो


सहर निर्माण मानव प्रगतिको सूचक भए तापनि यसको चर्को वातावरणीय मूल्य पनि छ । पृथ्वीको कुल भूभागको २ प्रतिशत मात्र सहरी इलाकाले ओगटे पनि सहर कार्बन उत्सर्जनको प्रमुख स्रोत हो । यूएन ह्याबिट्याटका अनुसार, विश्वभरको कार्बन उत्सर्जनको लगभग ६० प्रतिशत हरितगृह ग्यास उत्सर्जन सहरी क्षेत्रबाट हुने गर्दछ । सहरी यातायात, कलकारखाना, घर, अफिसजस्ता पूर्वाधारहरूबाट उत्सर्जन हुने हरितगृह ग्यास नै जलवायु परिवर्तनको मुख्य कारक हो । साथै सहरमा मानव जनसंख्यासँगै कंक्रिट, सिसा र धातुका विभिन्न संरचनाहरू अर्थात् आर्थिक र भौतिक सम्पत्तिहरू पनि थुप्रिएका हुनाले जलवायु परिवर्तनको सबैभन्दा ठूलो जोखिम पनि सहरमा नै हुन्छ । जनघनत्व र आर्थिक क्रियाकलापको सघनता पनि सहरमा बढी हुने भएकाले जलवायु परिवर्तनजन्य प्रकोपको असर अन्यत्रभन्दा सहरमा ज्यादा घातक हुने गर्दछ ।

त्यसका साथै हाम्रो जस्तो अल्पविकसित मुलुकहरूमा निर्माण भएका अव्यवस्थित र विनायोजनाका सहरहरूले सुकुम्बासी बस्ती, अनौपचारिक र गैरकानुनी संरचना र न्यून गुणस्तरीय पूर्वाधारहरू विस्तारको समस्या निम्त्याउँछ । रोजगारीको खोजीमा सहर पसेका न्यून आय भएकाको जनसंख्याले निर्माण गर्ने यस्ता बस्तीहरू नै जलवायुजन्य विपद्हरू जस्तै– अतिवृष्टि, बाढी, डुबान, पहिरो, सुक्खा, प्रचण्ड गर्मी, वायु प्रदूषणबाट सबैभन्दा धेरै प्रभावित हुने गर्दछन् । साथै त्यस्ता बस्तीहरूमा बस्ने जनसंख्याको जलवायु परिवर्तनसँग जुध्ने आर्थिक अवस्था पनि कमजोर हुन्छ । जसले गर्दा जलवायु परिवर्तनको प्रभावबाट सबैभन्दा बढी मारमा सहरी गरिब र कमसल गुणस्तरले बनेका सहरी पूर्वाधारहरू पर्दछन् । त्यसैले सहर जलवायु परिवर्तनको कारक र त्यसको प्रभावबाट सबैभन्दा जोखिमयुक्त संरचना पनि हो ।

सहरमा मानिस, निजी र सार्वजनिक सम्पत्ति, उत्पादनका सम्बन्धहरू, भौतिक पूर्वाधार, सेवा सुविधाका सञ्जालहरू एकअर्कासँग अन्तरसम्बन्धित र निर्भर हुने भएकाले जलवायु परिवर्तनका असर एक क्षेत्रमा देखिँदा अर्को क्षेत्र पनि प्रभावित हुन्छ । उदाहरणका लागि जलवायुजन्य अतिवृष्टिको सहरमा पर्ने प्रभाव बहुआयामिक हुन्छ । जमिनले मुसलधारे वर्षालाई सोस्न नसकेपछि त्यसले डुबानको समस्या निम्त्याउँछ । जसले मानवीय क्षति र सम्पत्तिमा नोक्सानी पुर्‍याउँछ । त्यसमाथि सहर निर्माणका क्रममा वर्षात्को पानी सोस्ने सिमसारजस्ता संरचनाको नष्ट गरिँदा, खोला, नदीका किनार, बाँध क्षेत्रहरू मिचेर संरचना बनाउँदा जलवायु परिवर्तनको कारण हुने चरम वर्षाको घटनाको प्रभावलाई थप घनिभूत पार्दछ । नेपालका तराईका र काठमाडौं उपत्यकाका सहरी क्षेत्रहरूमा पछिल्लो समयमा देखिएको डुबानको समस्या यिनै कारणहरूबाट सिर्जित हुन् ।

वर्षात्को कारण काठमाडौंको फोहोर विसर्जन गर्ने ठाउँसम्म जाने बाटो अवरुद्घ भयो र उपत्यकामा फोहोर उठ्न सकेन । त्यसैले जलवायु परिवर्तनजन्य बाढीको जोखिम सहरको निश्चित क्षेत्रमा अधिक भए तापनि त्यसले पार्ने समग्र प्रभाव बहुआयामिक र व्यापक हुन्छ ।

जलवायु परिवर्तनले सहरमा बस्ने मानिसको जीउधन, जीवनशैली, भौतिक पूर्वाधार र पानी, ढल र सरसफाइका संरचना, विद्युत्, खाद्यान्नजस्ता मानवीय सेवा र सुविधाको आपूर्तिमा सोझै प्रभाव पार्ने मात्र होइन, जनस्वास्थ्यमा प्रभाव पार्दछ । तापमान वृद्घि र वर्षात्को सघनता, आवृत्तिमा हुने वृद्घिले जनस्वास्थ्यमा प्रभाव पार्नुका साथै सरुवा रोगका जीवाणु र फैलावटलाई पनि असर पार्दछ । जलवायु परिवर्तनले डेंगु, मलेरिया, कालाजार, जापानिज इन्सेफ्लाइटिसजस्ता रोगका कारकको भौगोलिक फैलावटलाई बढाउने अध्ययनहरूले देखाएका छन् । सहरको जनघनत्व उच्च हुने भएकाले यस्ता रोगहरूका कारकको फैलावटसँगै सहरमा तुरुन्तै महामारी फैलने र त्यसले ठूलो क्षति गर्ने सम्भावना पनि हुन्छ ।

सहरमा जलवायु परिवर्तनको अर्को प्रमुख असर सहरी तापमानलाई थप बढाउनु हो । सहरमा भौतिक पूर्वाधारहरू र जनघनत्व बढी हुने भएकाले तापक्रम सामान्य अवस्थामा पनि अन्यत्रभन्दा बढी हुन्छ । त्यसैले सहर औसत तापमानको हिसाबले वरपरका स्थानभन्दा अधिक तापमान हुने टापु (अर्बन हिट आइल्यान्ड) हो । जलवायु परिवर्तनसँगै तापमानमा वृद्घि हुँदा त्यसले सहरको आफ्नै संरचनाले बढेको तापक्रमलाई झनै बढाउँछ । त्यसैले अन्यत्रभन्दा जलवायु परिवर्तनले निम्त्याउने प्रचण्ड गर्मीको प्रभाव सहरी क्षेत्रमा बढ्दा हुन्छ ।

भविष्यको जोखिम
जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी प्यानल (आईपीसीसी) को पछिल्लो प्रतिवेदन (एआर—सिक्स) ले सन् २०३४ सम्ममा पृथ्वीको तापमानमा १.५ डिग्रीले बढ्ने अनुमान गरेको छ । पृथ्वीको तापमानको क्रमिक वृद्घिसँगै त्यसले गर्मी र भारी वर्षातको परिमाणलाई घातक हुने गरी बढाउने अनुमान उक्त प्रतिवेदनमा गरिएको छ । वैज्ञानिकहरूले पृथ्वीको तापमानमा १.५ डिग्रीभन्दा बढीको अवस्थालाई असुरक्षित र पुरानै अवस्थामा फर्काउन नसकिने भनेका छन् । उक्त प्रतिवेदनमा हिमालय क्षेत्रमा प्रचण्ड गर्मी बढिरहेको र चिसोपनाको सघनता र आवृत्ति घटिरहेको देखाइएको छ । त्यसले एसियाका धेरै भूभागमा वर्षात्को चरित्रमा फेरबदल आउनुका साथै भारी र आरीघोप्टे वर्षा हुने क्रम बढाएको देखाएको छ । यस्तो

वर्षात्को दर र प्रभाव भविष्यमा अझै बढ्ने प्रतिवेदनमा अनुमान गरिएको छ । त्यसकारण नेपाललगायतका दक्षिण एसियाका सहरहरूले आगामी दिनहरूमा झनै ठूलो वर्षात्को सामना गर्नुपर्ने हुन सक्छ ।

जसले यस क्षेत्रमा डुबान र बाढीपहिरोको प्रकोपलाई थप बढाउन सक्छ । साथै भविष्यमा तापमान वृद्घिसँगै बढ्ने तातो हावाको सघनता र आवृत्ति उच्च हुँदा त्यसले अहिले नै प्रचण्ड गर्मी हुने हाम्रा तराईका कतिपय सहरको जनजीवनलाई थप अस्तव्यस्त पार्ने निश्चित छ ।

जलवायु परिवर्तनले सहरमा अहिल्यै ल्याइसकेको प्रभाव र भविष्यमा ल्याउन सक्ने यस्ता प्रभावहरूलाई न्यूनीकरण गर्नका लागि नेपाल जस्तो कम आर्थिक स्रोत तर धेरै प्राकृतिक विविधता भएको देशका लागि प्राकृतिक अनुकूलनका कार्यक्रमहरू जस्तै परिस्थितिकीय प्रणालीमा आधारित अनुकूलन बढी प्रभावकारी साथै कम खर्चिलो हुन सक्छ ।

परिस्थितिकीय प्रणाली वा प्रकृतिलाई प्रयोग गरेर जलवायु परिवर्तनको प्रभावलाई न्यूनीकरण गर्ने उपाय हो अनुकूलन । जसले जलवायु परिवर्तनको असरबाट मानिस र भौतिक पूर्वाधारलाई जोगाउँछ । न्यूनीकरणको यस्तो उपायलाई हिजोआज सस्तो र बहुआयामिक फाइदाजनक उपाय ठानिन्छ । यसअन्तर्गत सहरमा खैरो पूर्वाधार (सिमेन्ट कंक्रिट प्रयोग गरिने) मात्र होइन, हरित पूर्वाधारहरू सहरी वन हुर्काउने, रूखबिरुवा रोप्ने र नीलो पूर्वाधारहरू जस्तै– नदीका बाढी क्षेत्र, पोखरी, राजकुलो, नहरजस्ता सहरका सिमसारको संरक्षण गर्ने कामहरू पर्छन् ।

यस्ता हरित र नीला पूर्वाधारको संरक्षण र प्रवर्द्धनले ठूलो वर्षातमा बाढी घटाउन (पानी सोसेर), प्रचण्ड गर्मीमा सहरलाई चिस्याउन (बोटबिरुवाबाट आद्रता वायुमण्डलमा जाने भएकाले), जलीय चक्रलाई सन्तुलित राख्न र भूमिगत पानीको भण्डारणलाई पुनर्भरण गरिराख्न मद्दत गर्दछ । हरित पूर्वाधारहरूले सहरमा आएका फोहोर पानीलाई प्रशोधन गर्ने र पानीका बाटाहरूलाई स्वस्थ र स्वच्छ राख्न मद्दत गर्दछ । त्यसका साथै पोखरी, नदी जस्ता नीला र सहरी वन जस्ता हरिया पूर्वाधारको सामीप्यताले मानिसको शारीरिक र मानसिक स्वास्थ्यलाई पनि राम्रो बनाउँछ ।

अन्त्यमा, सहरको वृद्घिदरमा मात्रै होइन, जलवायु परिवर्तनको कारक मानिएको प्रतिव्यक्ति कार्बन उत्सर्जनको वृद्घिदरमा पनि नेपाल दक्षिण एसियाकै अग्रणी छ । हाम्रा सहर अव्यवस्थित र अनधिकृत संरचनाले कुरूप मात्र बनेका छैनन्, प्रकोपको हिसाबले पनि संकट सन्निकट छन् । त्यसकारण सहर बनाउँदा अव्यवस्थित खैरा पूर्वाधार (कंक्रिटका संरचना) मात्रै होइन, नीला पूर्वाधार (पोखरी, नदी) र हरिया पूर्वाधार (वन, रूखबिरुवा) को पनि प्रचुरतामा ध्यान दिन जरुरी छ । अबका सहरमा पूर्वाधारलाई जलवायु उत्थानशील (रेजिलिएन्ट) नबनाउने हो भने हामीले सहरवासीलाई जलवायुजन्य जोखिमतर्फ धकेलिरहेका हुनेछौं ।

प्रकाशित : फाल्गुन ७, २०७८ ११:३१
प्रतिक्रिया
पठाउनुहोस्

अनिश्चित मेलम्ची

वर्षायामको सुरूमै उच्च हिमाली भेगमा अस्वाभाविक वर्षात् भयो, त्यससँगै वर्षौंदेखि हिउँले बनेका स–साना पोखरीको मुख र हिममाटोमा भूक्षय सुरू भयो, अहिलेसम्मको प्राविधिक अध्ययनमा गत असारमा हेलम्बुबाट सुरू भएको विनाशकारी पहिरोको मुख्य कारण यही हो
ऋषिराम पौड्याल

काठमाडौँ — गत असारमा हेलम्बुको हिमाली भेगबाट सुरु भएको पहिरोले मेलम्ची खानेपानी आयोजनाको हेडवर्क्स पुरियो । ६ वटा पुल बगायो । प्रवेशमार्गको ८ किलोमिटर सडकको नामोनिसान छैन । वर्षात् सुरु भएपछि यातायात पूर्ण रूपमा बन्द छ । आयोजनाको क्याम्प र ठेकेदारको उपकरणको नोक्सानी यकिन छैन ।


सुरुङको अवस्था के छ, पत्तो छैन । बाढीले बगाएका आयोजनासम्बद्ध आठ जनामध्ये दुई नेपालीसहित पाँच जना विदेशी अझै बेपत्ता छन् । १५ स्थानीय पनि अझै भेटिएका छैनन् । दुई चिनियाँ र एक भारतीय मृत फेला परेका थिए ।

आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तका अनुसार अकल्पनीय बाढीपहिरोले गरेको क्षतिको अध्ययन मुख्य ऋणदाता एसियाली विकास बैंक (एडीबी) को प्राविधिक टोलीले गरिरहेको छ । अहिलेसम्मको सतही अध्ययनले मानवनिर्मित संरचनाले पहिरो रोकिने सम्भावना नदेखिएको आयोजनाका प्राविधिकको भनाइ छ ।

एक्कासि किन आयो थेग्नै नसक्ने बाढीपहिरो ? इन्जिनियरिङ भूगर्भविद् रञ्जन खनालका अनुसार हेलम्बु तार्केघ्याङ क्षेत्रमा पछिल्लो ३० वर्षदेखि परेको वर्षाको परिणाम नै हो । ‘हिमाली भेगमा परेको अस्वाभाविक वर्षा, लेदो र स–साना हिमपोखरीबाट सुरु भएको भूक्षय बाढीपहिरोको मूल कारण हो,’ उनले भने । हरेक वर्ष हिउँ पग्लिएर नाङ्गा डाँडा र काला पत्थर देखिन थालेपछि वर्षाले भूक्षय सुरुवात गराएको विज्ञहरूको भनाइ छ । भूक्षय बढ्दै गएर दिनैपिच्छे हिममाटोको पहिरो गएको देख्न सकिन्छ । यसको परिणामस्वरूप सामान्य वर्षा हुनेबित्तिकै गेग्रान र लेदो बग्ने भएकाले पहिरो नरोकिएसम्म मेलम्ची धरापमै रहेको प्राविधिकहरूको बुझाइ छ । सिन्धुपाल्चोकको हिमाली पहाड हेलम्बुबाट सुरु भएको पहिरोले मेलम्ची खोलाको आसपासका झन्डै ४० किमि भूभागमा क्षति मात्र गराएको छैन, यहाँको मानवबस्तीलाई नै चुनौती दिएको छ ।

वर्षायामको सुरुमै उच्च हिमाली भेगमा अस्वाभाविक वर्षात् भयो । त्यससँगै हिउँले बनेका स–साना पोखरीको मुख र हिममाटोमा भूक्षय सुरु भयो । अहिलेसम्मको प्राविधिक अध्ययनमा गत असारमा हेलम्बुबाट सुरु भएको विनाशकारी पहिरोको मुख्य कारण यही हो । मुलुकको गौरवको आयोजना मेलम्ची खानेपानीको अर्बौं खर्चेर निर्माण गरिएका ठूल्ठूला संरचना बगरमा परिणत भएका छन् । विदेशी दातृनिकायले लामो समय गरेको भौगर्भिक अध्ययनमै प्रश्न उब्जिएको छ । विश्व बैंक र नरप्लानको सहयोगमा आयोजनाको सम्भाव्यता अध्ययन गरिएको थियो । विश्व बैंक र नरप्लानले नै विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार पारेका थिए । अन्तर्राष्ट्रियस्तरमा ख्याति कमाएका परामर्शदाताको अध्ययनपछि निर्माण गरिएको आयोजनाको हेडवर्क्स पूर्ण रूपमा सञ्चालनमा नआउँदै क्षति भएपछि आयोजनाको भविष्य नै धरापमा परेको छ । मेलम्चीको क्षतिपछि हिमपहाडका तल्लो भागमा निर्मित वा भविष्यमा निर्माण हुन सक्ने आयोजनाको सम्भाव्यता अध्ययन अबको प्राथमिकता हुनुपर्ने सुझाव विज्ञहरूले दिन थालेका छन् ।

एडीबीको ४६∞ भन्दा बढी ऋण सहयोगमा २२ वर्ष लगाएर बनाएको मेलम्चीको हेडवर्क्स, सुरुङ, सडक, पुल निर्माण, मुआब्जा र काठमाडौं उपत्यकाको खानेपानी वितरण प्रणालीसमेतका लागि झन्डै ६० अर्ब खर्च भइसकेको छ । मेलम्चीको निर्माण दुई भागमा भएको छ । मेलम्ची–सुन्दरीजल सुरुङसहित पानी प्रशोधन केन्द्रसम्मको संरचना निर्माणलाई पहिलो खण्ड भनिएको छ । जसका लागि ३० अर्ब खर्च भएको छ । हेडवर्क्स निर्माण अन्तिम चरणमा पुगेका बेला बाढीले पुरिएको छ ।

पानी वितरणलाई व्यवस्थित गर्न काठमाडौं उपत्यका खानेपानी सुधार आयोजनाअन्तर्गत आयोजना कार्यान्वयन इकाइले उपत्यकामा गरिरहेको दोस्रो भागको कामका लागि करिब ३० अर्ब खर्च भइसकेको छ । आयोजना इकाइले मुख्यतया काठमाडौं उपत्यकाको खानेपानी वितरणलाई व्यवस्थित गर्न संरचना निर्माण, मर्मतलगायत काम गर्छ । आयोजनाका अधिकारीहरू भन्छन्, ‘पहिराले हेडवर्क्सभन्दा झन्डै २० किमिमाथि हिममाटो बगेर यति ठूलो क्षति होला भन्ने सायद अनुमान गरिएको थिएन ।’ मेलम्चीका सिनियर इन्जिनियर तथा प्रवक्ता राजेन्द्रप्रसाद पन्त आयोजनाको रिपोर्टमा पहिरो आउन सक्ने सम्भावना उल्लेख भएको बताउँछन् । ‘अध्ययन नभएको होइन,’ उनले भने, ‘तर यति ठूलो र अपत्यारिलो बाढी आउने अनुमान गरिएको थिएन ।’ हेडवर्क्सभन्दा धेरै टाढा यसरी हिममाटो बग्ने अनुमान नभएका कारण यो अवस्था आएको प्राविधिकहरू बताउँछन् ।

सधैं खतरा बाढी गएको झन्डै सात महिनापछि अध्ययनका लागि गत पुसमा पहिरोस्थल गएको एडीबी टोलीका प्राविधिकका अनुसार थोरै वर्षात्ले पनि हिममाटो बग्ने क्रम रोकिएको छैन । पानी र हिउँका कारण अध्ययनमा गएको टोली बस्दै आएको टेन्ट नै बगाएको थियो । पानी पर्नासाथ पहाडबाट माटो बग्ने गरेको छ । यो बगेको माटो भेमाथाङमा जम्मा भएपछि त्यसले पहिरोको रूपमा लिने हो । हिउँदमा पनि माटो बग्न नछाडेकाले मेलम्चीलाई पहिरोको खतरा सधैं रहने सम्भावना रहेको प्राविधिकहरू बताउँछन् । गत असार १ मा मेलम्चीमा आएको बाढीले तीन दिनसम्म लगातार हिममाटो बगाइरह्यो । मेलम्ची तलका भूभाग बाढीले सोर्दै लग्यो भने कतिपय बस्ती बगरमा परिणत भयो । पहिलो बाढी कम हुँदै गएका बेला डेढ महिनापछि गत साउनमा फेरि वर्षात् बढेसँगै थप संरचनालाई क्षति गर्‍यो । सामान्य वर्षा हुनेबित्तिकै हिममाटो बग्ने भएकाले आयोजनाको हेडवर्क्सलाई सधैं खतरा देखिएको हो ।

अहिले हेडवर्क्सको ढुंगामाटो पन्छाउने काम भइरहेको छ । हेडवर्क्सको ढुंगा पन्छाउन विस्फोटक पदार्थको प्रयोग गर्ने तयारी मेलम्ची आयोजनाले गरेको छ । अहिले जुन पहिरो आयो, त्यसको तुलनामा अझ धेरै हिममाटो मेलम्ची खोलाको शिरमा जम्मा भएको छ । सयौं ट्रक माटो बगाएर मेलम्ची आयोजनाको हेडवर्क्समा ल्याउने भएकाले वर्षात्को समयमा अझै बाढी आउने खतरा रहेको विज्ञहरूको भनाइ छ ।

मेलम्ची मुहानको हिमाली भेगमा १० वर्षदेखि ट्रेकिङ गाइडको काम गरिरहेका हेलम्बुका सोनाम लामाका अनुसार सामान्य वर्षात् सुरु भएपछि हिउँले ढुंगामाटो बगाउन थाल्छ । ‘हिउँको भित्रभित्रैबाट डङडङ आवाज आउने गर्छ,’ उनले भने, ‘दशकअघिसम्म हिउँले ढाकेको ठाउँमा अहिले कालो पत्थर देखिन्छ ।’

२०–२५ वर्षपछि के होला भन्ने अध्ययन नगर्दा मेलम्ची मात्र होइन, हिमालमुनिका धेरै आयोजनामा क्षति हुन सक्ने संकेत मेलम्ची बाढीपहिरोले गरेको छ । विगतमा हामीले आयोजना निर्माणका क्रममा जसरी सतही रूपमा भौगर्भिक अध्ययन गर्थ्यौं, अब त्यसरी चल्दैन भन्ने प्रस्ट सन्देश प्राप्त भएको इन्जिनियरिङ भूगर्भविद् दाहालले बताए । उनी भन्छन्, ‘अब भौगर्भिक अध्ययनले प्राथमिकता पाउनुपर्छ ।’

...

‘भूक्षयले हिममाटो बग्न थाल्यो’

अध्ययनअनुसार हेलम्बुको तार्केघ्याङ क्षेत्रको हिमाली भागमा ३० वर्षयता धेरै वर्षा भएकाले भूक्षय बढ्दै गएर हिममाटो (पर्माफ्रोस्ट) बग्न थालेको छ । हिममाटो विस्तारैविस्तारै बगिरहेको छ । भूक्षय दुई–चार वर्षदेखि बढिरहेको छ । हिमाली डाँडाहरूमा सेता धर्साजस्ता खोल्सीहरू धेरै देखिन्छ । ती खोल्सी हिमालबाट बगाएको ढुंगामाटोले बनाएका हुन् । वर्षौंसम्म जमेर रहेको माटो बगाउन थालेपछि हिमाली भेगमा भू–क्षय विस्तारै बढ्दै गएको देखिन्छ ।


मनसुन वर्षात् हिमालको तल्लो भागमा बढी पर्नुपर्नेमा माथिल्लो मागमा पर्न थालेको छ । गत वर्षात्मा गोरखा, मनाङ र मेलम्ची पहिरो त्यसकै कारण बढी हो । पानी किन बढी पर्न थाल्यो गहिरो अध्ययन भएको छैन । पानी बढी परेपछि त्यसको असरले साना हिमताल फुट्ने, भूक्षय बढ्ने र हिममाटो बगाउने क्रम सुरु भएको देखिन्छ ।

४ हजार ७ सय मिटर उचाइको हिमाली भेगमा बनेका स–साना तालको मुख विस्तारै फुट्दै गएपछि भूक्षय बढेको देखिन्छ । भूक्षय बढ्दै गएर गत असारमा पहिरो सुरु भएको समतल भूमि भेमाथाङमा हिममाटोले भरियो । त्यहाँ पहिलेदेखि नै जमेको माटो थियो । भेमाथाङको पछिल्लो मुखमा बढी दबाब परेपछि बग्न थाल्यो । त्यसले पहिरोको रूप लियो ।

भूक्षयले त्यसलाई पनि भत्काउँदै लग्यो । यो घटनाले दूधकोसीलगायत हिमनदी आसपासका आयोजनाको निर्माणमा ध्यान दिन ढिला गर्नुहुँदैन । विद्युत् आयोजनाको निर्माण जसरी भइरहेको छ त्यसमा पनि पुनर्विचार गर्नु जरुरी छ ।

इन्जिनियरिङ भूगर्भविद् रञ्जनकुमार दाहालसँगको कुराकानीमा आधारित

प्रकाशित : फाल्गुन ७, २०७८ ११:२७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×