जग्गा हुनेखानेकै पोल्टामा- विचार - कान्तिपुर समाचार

जग्गा हुनेखानेकै पोल्टामा

चन्द्रकिशोर

कथा एक : उनी पहिला व्यापार गर्थे, त्योभन्दा नाफा जग्गाको कारोबारमा देखे । उनको आर्थिक हैसियत पछिल्लो आधा दशकमै ह्वात्तै उक्लिएको छ । भन्दै थिए, ‘व्यापार गर्दा अनेक जोखिम हुन्छ, राजनीतिक आन्दोलनले समेत आघात पुर्‍याउँछ । तर जग्गा प्लटिङमा लगानी गर्‍यो भने कुनै रिस्क हुँदैन । लगानीचैं एकमुस्ट गर्नुपर्छ । आँट भयो भने च्याउसरि उम्रिएका बैंकहरूले सघाइहाल्छन् ।’

कथा दुई :ऊ अहिले महानगरको बासिन्दा भएको छ । पुर्खौंदेखि बसिआएको गाउँ केही वर्षपहिला महानगर घोषित भयो । ऊसँग घडेरी पनि छ र खेती गर्ने केही जग्गा पनि । उसको कथा यति मात्र होइन । घरपरिवारको संख्या बढ्दै गएपछि साबिकको घडेरीमा अटाउन नसकिने भइयो । उता खेत वर्षभरि जलमग्न हुने । कारण, अव्यवस्थित प्लटिङ र पूर्वाधार निर्माणले पानीको निकास थुनिन गयो । गाईबस्तुपालन तथा खेतीबाट हुने गुजारा निर्वहनको पारम्परिक तरिका बन्द भयो । ई रिक्सा चलाएर तथा नजिकका कारखानाहरूमा काम गरेर जेनतेन परिवार चल्दै छ । जग्गाहरू यति महँगा हुँदै गएका छन् कि यो परिवारले महानगरभित्र नयाँ घडेरी जोड्न सक्दैन, त्यसैले महानगरबाट विस्थापित हुनुको विकल्प छैन ।

कथा तीन : बर्दिबासमा अनुसन्धान सम्बन्धी एउटा गोष्ठीमा एक शोधार्थी भन्दै थिए, ‘भूमि अधिकारको आन्दोलन हाइज्याक भएको छ । राज्य र समाजमा पर्वते उच्च जातको सम्भ्रान्त वर्गको प्रभुत्व छँदै छ । मुख्य राजनीतिक दलहरूमा पनि त्यही वर्गको वर्चस्व रहेको स्थितिमा भूमि अधिकारको आन्दोलनसमेत उनीहरूकै स्वार्थको झोलीमा पुग्यो ।’

नेपालीको समृद्धि, आर्थिक–सामाजिक रूपान्तरण र सामाजिक न्यायको सुनिश्चितता लोकतन्त्रको बृहत्तर छहारीभित्रै सम्भव भएको मानिए पनि यथार्थमा गणतन्त्रको चम्किलो उज्यालोमा फेरि पनि भूस्वामित्वको फेरिँदो सन्दर्भ देखिएको छ । यो भूस्वामित्वको फेरिँदो क्रमले फेरि पनि पहाड र मधेशका सम्बन्धमा जटिलता ल्याएको छ । टुप्पोमा बसेकाहरूले भुइँतहमा व्याप्त उकुसमुकुसभित्र निकट आगतको द्वन्द्वलाई देख्न सकिरहेका छैनन् । २००७ सालको क्रान्तिअघि मधेशका अधिकांश जग्गामा शाह र राणाहरूको एकलौटीजस्तो थियो । ती शासकहरूकै अनुकम्पाप्राप्त केही पहाडबाट झरेका वा स्थानीय मधेशी जमिनदारहरू ठूला जग्गाधनी थिए । पञ्चायती शासनले त झन् पुनर्वास कम्पनी, सुकुम्बासी आदिका नाममा तराईको जनसांख्यिकीलाई मात्र फेरेन, नव शैलीमा बिर्ता प्रथा सुरु गर्‍यो । यो काठमाण्डू–सत्ताको मधेश–कब्जा–नीति थियो ।

पछिल्ला दशकमा भएको मधेश आन्दोलनहरूको परकम्पबाट अचम्मित र त्रसित वर्चस्वशाली तप्काले मधेशमा नियन्त्रण राख्न भूस्वामित्वमा कब्जा र सघन सुरक्षा सञ्जालको व्यवस्था गर्‍यो । उपर्युक्त तीन कथाका भित्री पाटाहरू बहुआयामी छन् । विगतले सृजना गरेको विभेद र असमानताको अन्त्य हुनुपर्ने ठाउँमा नयाँ ढंग र ढाँचामा यो फैलिँदै पो आयो । मधेश प्रदेशभित्र मात्र होइन, सम्पूर्ण तराई–मधेशभित्र शान्ति, समृद्धि, स्थायित्व र समतामूलक समाज निर्माण गर्न पनि भूमिको अर्थराजनीति पहिल्याउन जरुरी छ ।

अहिले सितिमिति कोही पहाडमा टिक्न चाहँदैन, तराई झर्न खोज्छ । जनगणनाले पनि यही प्रवृत्तिलाई औंल्याएको छ । अहिले तराईमा औलो छैन, बरु अवसरहरू छ्यापछ्याप्ती छन् । तराईमा जग्गा जोड्नु गैरतराईवासीको प्राथमिक ध्येय भएको छ । सरकारी स्वामित्वको जग्गा हडप्नु गैरसुकुम्बासीको अभीष्ट भएको छ । हिजो जंगल मासेर को बस्यो, आज कसले बन्चरो हान्दै छ ? पुनर्वास कम्पनी वा सुकुम्बासीका नाममा त्यत्रो जग्गा राज्यले बाँड्दासमेत भूमिहीनको सवाल किन अन्त भएन ? अहिलेको भूमि अधिकार आन्दोलनले कुन तप्कालाई हौस्याएको छ ? हो, नेपालको भूमि समस्या न चीनको जस्तो छ न त भारतकै जस्तो । नेपालमा तराई र पहाडको आफ्नै खालको संकट छ । मधेशको कोणबाट कतिपयले भूस्वामित्वको सन्दर्भमा चिन्ता प्रकट गरेका छन्, जमिन रैथानेहरूको हातबाट आप्रवासीहरूले हरण गर्दै गएका छन् भन्छन् । हामीले यो संकथनभित्रको पीडालाई बुझ्नुपर्छ ।

कुनै पनि नेपाली नागरिकलाई नेपालभित्र जग्गा किन्न रोक छैन । आज हाम्रो मुलुक नयाँ राजनीतिक धरातलमा छ । मधेश प्रदेशलाई छाडेर प्रदेश १, लुम्बिनी वा सुदूरपश्चिम तराई–पहाड जोडिएका मुख्य प्रदेशहरू हुन्, जहाँ एउटै प्रदेशभित्रको सामाजिक–आर्थिक अन्तरक्रियाले बसाइँसराइ वा तराईमा जग्गा आर्जन गर्न हौस्याएको छ । लोकतन्त्रले उपलब्ध गराउने अवसरमा सबैको उचित हक हुनुपर्छ भन्नुको अर्थ हो- कुनै पनि व्यक्तिलाइ आफ्नो मुलुकको जुनसुकै ठाउँमा सम्पत्ति (जग्गा) जोड्न पाउने स्वतन्त्रता । यस परिप्रेक्ष्यमा अर्को प्रश्न जन्मिन्छ- तराई–मधेशका सन्दर्भमा जग्गाको न्यायोचित बाँडफाँट भनेको के हो, तराई झर्नेलाई जति पनि जग्गा किन्न दिने कि नदिने ? यी प्रश्नहरूको उद्देश्य कसैलाई निषेध वा स्वागत गर्नेभन्दा पनि साँचो सहकार्य र सौहार्द हुनुपर्छ भन्ने हो । ‘अन्नको माइती’ भनेर चिनिने तराई–मधेशमा जसरी जुन सघनताका साथ जग्गाको खण्डीकरण–प्लटिङ हुँदै छ, त्यसले अन्ततोगत्वा नेपालको समग्र आर्थिक–सामाजिक रूपान्तरणलाई नै एम्बुसमा पार्दै छ ।

मधेश आन्दोलनका क्रममा समुदायविशेषलाई आन्तरिक विस्थापनका लागि बाध्य पारियो । मधेशका कतिपय गाउँ–सहरमा ठूलो संख्याका मान्छेहरूले घरजग्गा बेचे । त्यतिखेर कुनै पनि राजनीतिक वा सामाजिक शक्तिले तिनलाई रोक्ने नैतिक साहस देखाएन । त्यतिखेर स्वभावतः यो भाष्य रचियो- जुन समुदाय पलायन भयो, उसले पक्कै त्यस क्षेत्रको जग्गा कारोबारमा कब्जा जमाएको थिएन होला । तर भुइँ यथार्थ त्यस्तो थिएन । केही शहरमा तिनकै माझकाहरू ठूलो जग्गा कारोबारीका रूपमा उदाए । समानान्तरमा यस्तो पनि देखियो कि, कतिपय नव नागरिकसमेत यस नाफामुखी धन्धाको ठूलो खेलाडी भए । अहिले जग्गा कारोबार सबैभन्दा सुरक्षित र नाफामूलक लगानी भएको छ । जसले जमिनको ठूलो हिस्सा ओगटेको छ, उसले बजारको पनि नियन्त्रण गरेको हुन्छ । मालपोत कार्यालय वा पालिका कार्यालयको अभिलेखमा देखा पर्ने जग्गाको दररेटभन्दा निकै महँगो हुन्छ चलनचल्तीको बजार मूल्य । कुन जग्गाको कति भाउ हुने, त्यो संगठित जग्गा कारोबारीको रुझानमा निर्भर हुन्छ । संगठित जग्गा कारोबारीहरूले टुक्रा जग्गा खरिदबिक्रीलाई समेत नियन्त्रणमा राखेका छन् । यसले गर्दा सहरमा बस्न चाहनेहरूले सोझै जग्गाधनीबाट खरिद गर्न पाउँदैनन्, जग्गा दलालहरूको शरणमा पर्नुपर्छ । यसले शहरमा बसाइँसराइको अर्थ नै फरक पारिदिएको छ । सहरमा घडेरी किन्न जति लगानी गर्नुपर्छ, त्यो अनुपातमा त्यसबाट प्रतिफल पाइँदैन । बाध्यात्मक स्थितिका कारण सहरमा सर्नेहरूले भन्दा सहरमा घरजग्गाको कारोबार गर्नेहरूले नै उल्लेख्य मुनाफा कमाइरहेका छन् ।

जतिसुकै होहल्ला गरे पनि जमिन राज्यको नियन्त्रणमा छैन । सरकारी–सार्वजनिक र गुठी (संस्थागत) जग्गामाथि भूमाफियाहरूको गिध्देदृष्टि छ । भूमि प्रशासन अति अपारदर्शी छ । लिजमा लिने, अतिक्रमण गर्ने वा घुनपुत्ला बनेर कागजपत्र तयार गरी भोगचलन देखाउने तिकडम चलेको छ । हिजोका कतिपय जग्गा कारोबारीहरू राजनीतिक संरक्षण पाएर स्थानीय सरकारहरूमा पुगे । तिनीहरूले मुख्य बस्तीको पूर्वाधारमा गुणात्मक सुधार गर्नुभन्दा यस्ता ठाउँहरूमा चौडा बाटाहरू बनाए जहाँ उनीहरूको जग्गा कारोबार फस्टाउन सक्थ्यो । झट्ट हेर्दा त्यो विकास हो तर सूक्ष्म नजरले हेर्दा डाडुपन्यु हातमा लिनेहरूका निम्ति त्यो बजार हो । जमिनमा बजार पसेको छ । यही तराईमा स्कुलकलेज खोल्न समुदायले सयकडौं बिघा जग्गा बिनासर्त दिएका थिए, अहिले पाँच–सात धुर दिनेहरू महादानी कहलिँदै छन् । जग्गा कारोबारीहरूले आफ्नो सामाजिक स्वीकार्यताका लागि सामाजिक कार्यमा लगानी गर्न थालेका छन् । तराईका गाउँ–सहरमा सुरक्षा तन्त्रका लागि निर्माण गरिएका पूर्वाधारहरूमा संलग्न दाताहरूको पृष्ठभूमि खोतलियो भने धेरै कुरा छर्लंग हुन्छ ।

तराईमा पूर्वपश्चिम राजमार्गको निर्माणले बसाइँसराइसँगै केही जटिल सामाजिक प्रश्नहरू खडा गर्‍यो । अहिलेको बसाइँसराइको सामाजिक अध्ययन गरियो भने जहाँ थारू बस्ती छ त्यहाँ दशगजासम्मै पहाडबाट झर्दै बस्नेहरू छन्, त्यो प्रवृत्ति मधेशीहरूको सघन बसोबास भएका ग्रामीण क्षेत्रमा न्यून छ । गुलरियादेखि राजापुरसम्म हुलाकी सडक छेउछाउको बस्ती विकास यस्तो अध्ययनको एउटा क्षेत्र हुन सक्छ । समुदायविशेष थारू क्षेत्रमा बस्न किन मन पराउँछ भन्ने जान्न जरुरी छ । नेपालको सामाजिक अन्तरघुलन र सामञ्जस्यको कोणबाट समेत यसलाई नियाल्नुपर्छ । औद्योगिक घराना, आवास कम्पनी, रियल स्टेटहरूले न्यायिक होस् कि गैरन्यायिक प्रक्रियाबाट, भूमिमाथि जसरी पनि कब्जा जमाउने ध्येय राखेका छन् । त्यसको उदाहरण बारा–पर्सा हुन सक्छ । भूस्वामित्वको बदलिँदो समीकरणले नयाँ खालका भूमिहीन र गरिब, खाद्य सुरक्षामा फेरबदल, वातावरणीय संकट, उर्वर जग्गाको उपयोगविहीनता, नाफामा संगठित समूहको कब्जाजस्ता समस्या सतहमा आएका छन् । नेपाली राज्य बहिष्करणदेखि समावेशीकरणको राजनीतिक यात्रामा छ तर भूमिमाथिको न्याय बहिष्करणको पीडा सबैभन्दा बेसी भोग्न विवश मधेशी दलित समुदायलाई नै अत्यावश्यक भएको छ ।

वर्तमान अवस्थामा भूमि अधिकारको आन्दोलन दलविशेषको कठपुतली बनेको छ । यसले तराई–मधेशमा पारेको प्रभावबारे यसका अभियन्ताहरूमा अनिवार्य आत्ममन्थन खोजेको छ । फागुन ७ को जनक्रान्तिपश्चात् मधेशमा ज्यादै सफल र प्रभावकारी किसान आन्दोलनहरू भएका थिए, अहिले यो सुषुप्त र शिथिल हुनुको मुख्य कारण हो- असमावेशी र दोषी चस्मा हुनु । बलियोलाई कुट्दा निर्धो पहलमान हुँदैन ।

प्रकाशित : फाल्गुन ५, २०७८ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्

गान्धी किन मर्दैनन् ?

अहिलेको नेपाली भूमि लुम्बिनीमा जन्मिएर सिद्धार्थ जसरी विश्व–प्रणम्य हुन पुगेका छन्, त्यसरी नै गान्धी कुनै पनि देशको राजनीतिक भूगोलभन्दा अग्ला छन् ।
चन्द्रकिशोर

३० जनवरी १९४८ मा महात्मा गान्धीमाथि दिल्लीमा आयोजित प्रार्थनासभामा गोली प्रहार भो, उनी भौतिक रूपमा ढले । सुनियोजित षड्यन्त्र गरी गान्धीको हत्या गर्ने नाथुराम गोडसे थिए । त्यो दिनदेखि फाँसी नलागुन्जेल एक वर्ष नौ महिना सोह्र दिनसम्म गोडसे आफूले गान्धीलाई सधैंका लागि भारत र दुनियाँबाट समाप्त गरिदिएको विश्वासमा थिए ।

जुन विचारधाराले गोडसेलाई गान्धीको हत्या गर्न उक्सायो, त्यो विचार राख्नेहरू गान्धी अझै पनि मर्न नसकेकामा उद्वेलित छन्; गान्धी विचार र कर्मप्रति अनेक थरी मिथ्या तर्क र तथ्य तिनीहरूबाट प्रक्षेपण गरिँदै छन् । तर अचम्म, गान्धीको प्रकाश दुनियाँभर झन्झन् फैलिँदै गएको छ ! यसबाट आत्तिएर गोडसेपन्थीहरू गान्धीको तस्बिरमाथि नै गोली चलाउँदै छन् । गान्धी आज पनि दुनियाँको सबैभन्दा ठूलो तागत हुन् र आफ्नो जीवनकालभन्दा बढी वर्तमानमा प्रासंगिक छन् । तसर्थ गान्धी जिउँदै छन्, उनलाई गोलीले समाप्त पार्न सकिँदैन ।

निक विगतमा, भारतमा लामो समयदेखि चल्दै आएको सरकारविरुद्धको किसान आन्दोलनको सफलतालाई गान्धीवादी तरिकाको जित हो भनेर बताइन्छ । त्यहाँ किसानहरू एक वर्षभन्दा बढी धर्ना बसे । चिसो, गर्मी, वर्षा झेल्दै संघर्षको मोर्चामा डटिरहे । आफ्नो अडानमा अडिग बनिरहे । कैयौं किसान संघर्षकै क्रममा मरे । आन्दोलनका क्रममा सरकारी पक्षबाट कैयौं आरोप लगाइए, तर पनि उनीहरूले बडो इमानदारीपूर्वक आफूमाझ लुकेका असामाजिक तत्त्वहरूलाई प्रहरीको जिम्मा लगाए । एक वर्षसम्म धैर्यपूर्वक संघर्षलाई कायम राखे र सरकारी षड्यन्त्रलाई संयमपूर्वक बेहोरे । जब सरकारले आफूहरू अघि बढ्दै गरेको बाटामा किला ओछ्याइदिए तब उनीहरूले त्यसमाथि माटो हालेर फूल उमारिदिने भनाइ राखे ।

अर्कातिर, आन्दोलनकारीहरूले सुरुआतमा अन्य भारतीय क्रान्तिकारी स्वतन्त्रता सेनानीहरूका पोस्टर टाँसे पनि आफूलाई गान्धीवादी भनाउन चाहेनन् । जो आफूलाई ज्यादा आक्रामक, उग्र र जोसिला ठान्छन्, तिनीहरू गान्धीको नाम वा तस्बिरबाट आफूलाई परै राख्न चाहन्छन् । वास्तवमा अप्ठ्यारो शान्तिपूर्ण संघर्ष गर्नेहरूको होइन, यो त त्यस्तो मनोविज्ञानको हो जहाँ ‘गान्धी गोरेटो’ लाई कायरहरूको प्रयोग बताइन्छ । उसो त आन्दोलनकारीहरूको गान्धीप्रतिको अलमल लामो समयसम्म टिक्न सकेन । अन्ततिर उनीहरू आफ्नो आन्दोलन अहिंसक रहेको दाबी गर्न थाले ।

जहाँ शान्तिपूर्ण आन्दोलन गरिन्छ, संवादद्वारा समाधान खोजिन्छ, प्रतिपक्षी कित्तामा रहेको असल पक्षलाई मान्यता दिइन्छ, कुनै पनि सत्ताको सामुन्ने भयमुक्त भई खडा होइन्छ, त्यहाँ गान्धीको प्रयोगले निरन्तरता पाएकै हुन्छ । लाठी होस् वा गोली चलाउने आकर्षणले केवल आफू वा अर्को पक्षलाई क्षति पुर्‍याउन सकिन्छ । आजको समयमा सरकारसँगको संघर्षमा कोही एक्लो व्यक्ति खुकुरी चम्काएर टिक्न सक्दैन । त्यस्तो उपक्रमलाई, निर्वाचित सरकार नै किन नहोस्, बल वा कानुन प्रयोग गरेर निमोठ्न तत्पर रहन्छ । तर मुठी कसेर संघर्षमा टिक्न खोज्दा, त्यस्तो प्रयासमाथि दमन गर्दा कुनै सैनिक सरकारले समेत अनेकौं ठाउँमा जवाफ दिनुपर्छ । लोकतान्त्रिक तरिकाले गरिएको विरोधलाई स्वीकार गर्ने र त्यस विरोधको सामुन्ने निहुरिन सक्ने व्यवस्था मात्र टिक्छ । शान्तिपूर्ण आन्दोलनले समय लामो लिए पनि अन्ततः आफूलाई उपलब्धिसमक्ष पुर्‍याउँछ नै । जहाँ जुनसुकै पक्षबाट यस्तो लोकतान्त्रिक चेतनालाई विस्तार दिने काम गरिन्छ, त्यहाँ गान्धी बाँचेकै हुन्छन् ।

जो हिजो शान्तिपूर्ण संघर्ष गरेर वा सशस्त्र संघर्ष गरेर सत्तामा पुगेका छन्, तिनीहरूमा पनि सडकबाट उठाइएका असहमतिका हातहरू भाँच्ने सोच देखिन्छ । कुनै पनि सरकारको चरित्र नै थिचोमिचो गर्ने हुन्छ, हतपती जनआलोचना सहन गर्दैन । सरकारमा बसेकाहरूलाई लाग्छ, ‘मलाई सबै कुरा थाहा छ ।’ । थाहा पाउने अरूको हकको कदर गर्ने विनम्रता उसले देखाउँदैन । यहाँ सरकारलाई लोकतान्त्रिक चेतनाले युक्त हुन प्रेरित गर्नुपर्ने खाँचो जति छ, त्यति नै सडकमा आवाज उठाउनेहरू संयमित हुन । शान्तिपूर्ण आन्दोलन भनिएको हुन्छ, तर ढुंगा–इँटा बर्साइन्छ, तोडफोड गरिन्छ, प्रहरीमाथि अनाहक प्रहार गरिन्छ । सरकारले पनि जबसम्म सडक उत्तेजित हुँदैन तबसम्म कान बन्द गरेर बस्छ । उता संघर्ष गर्ने पक्षलाई पनि लाग्छ, थोरबहुत तोडफोड नहुन्जेल सरकारले बेवास्ता गरिरहन्छ ।

लोकतन्त्र प्राप्त गरेर मात्र पुग्दैन, नागरिकहरूबीच सामञ्जस्य स्थापित हुनु पनि पर्छ । लोकतन्त्रको रक्षासँगसँगै मुलुकको राष्ट्रिय एकताको प्रश्न जल्दोबल्दो रूपमा अघि आएको छ । इतिहासले स्थापित गरेको शिक्षा के हो भने, स्वतन्त्रता–लोकतन्त्र तबसम्म जोगिन्छ जबसम्म राष्ट्रिय एकता कायम रहन्छ । जबजब एकता झ्याल खोलेर निस्किन्छ तबतब स्वतन्त्रता–लोकतन्त्र मूल ढोका खोलेर हिँडिदिन्छ । जो विविधतालाई अनेकता मान्छन् र विविधतालाई निमिट्यान पारेर एकता ल्याउन चाहन्छन्, उनीहरू कहिल्यै सफल हुँदैनन् । विविधतालाई कायम राख्दै जुन ऐक्यबद्धता ल्याइन्छ त्यो टिकाउ पनि हुन्छ, त्यस्तै एकताको कामना पनि गरिन्छ । सबै नागरिक एउटैजस्तो भाषा, भेष–परिधानमा जबर्जस्ती देखिनुभन्दा बहुल स्वरूपमै रहेर एकअर्कालाई राम्रोसँग बुझ्न सकिन्छ ।

सांस्कृतिक एकीकरण वा कृत्रिम राष्ट्रवादको राप–तापको माहोलमा महात्मा गान्धी यस्तो नैतिक, मानवीय दृष्टिकोण हुन् जो जहाँ पनि प्रासंगिक छन् । गान्धी भौतिक रूपमा रहँदासमेत उनको आलोचना र विरोध कम भएन तर उनी प्रत्येक मोडमा झन् चम्किलो भएर देखा परे । गान्धी भन्थे, ‘सत्य मसँग मात्र छैन, त्यसको अर्को हिस्सा अरूसँग पनि हुन सक्छ ।’ अरूको विचार र पहिचानप्रतिको सहिष्णुताको व्यवहार आज पनि त्यत्तिकै अपरिहार्य छ । प्रश्न उठाउने र प्रश्न स्वीकार गर्ने मानसको सामाजिकीकरण नहुन्जेल द्वन्द्व रहिरहन्छ ।

गान्धीको ज्यान मार्ने प्रयास कैयौं पटक भएको थियो । तर उनले कहिल्यै प्रतिरोध गरेनन् । बरु सदा आफ्ना विरोधीसमक्ष समेत छाती फैलाएर खडा भए, संवादका लागि । आफ्नो हत्याको प्रयास गर्ने कुनै पनि व्यक्तिमाथि कहिल्यै मुद्दा हालेनन् । सधैं उनी कामना गर्थे, ‘सब को सम्मति दे भगवान् ।’ उनी उच्च मानवीय विवेकको अपेक्षा राख्थे । जसले गान्धीको भौतिक हत्या गर्न सफलता पाए, ती चुकेका भए गान्धीले तिनका लागि समेत प्रार्थना गर्थे होलान् । तिनलाई संवादका लागि निम्त्याउँथे होलान् । अनि भन्थे होलान्, ‘त्यो गोडसेलाई छाडिदेऊ । आफूले के गरेँ भन्ने उसलाई थाहा छैन ।’ गान्धीप्रति औपनिवेशिक बेलायती वर्चस्वशाली पुस्ता कम रिसाएको थिएन, तत्कालीन भारतीय कम्युनिस्टहरू कम आलोचना गर्दैनथे, अम्बेडकरवादीहरूसँग कम्ती घर्षण परिरहेको थिएन, जिन्नाको नेतृत्वमा मुस्लिमहरूको एउटा तप्काले उनीविरुद्ध घृणा फिँजाउँदै थियो, तर गोली कसैले पनि हानेन । निकै लामो बहस–विमर्श र आत्ममन्थनपश्चात् तिनले बिस्तारै गान्धीलाई बुझ्न थाले, उनका संवाद र शान्तिपूर्ण विमतिको प्रयोगको युगबोध स्वीकार गर्न थाले ।

गान्धी प्रत्येक व्यक्तिलाई अभय बनाउन चाहन्थे । तर गोडसेलाई सुकृत्य गरेको मान्नेहरू प्रत्येक व्यक्तिलाई भयभीत पार्न चाहन्छन् । गान्धी प्रत्येक व्यक्तिलाई आफ्नो बराबरीमा ल्याउन चाहन्थे । उनी श्रेष्ठता भावबाट मुक्त थिए र यही भावनाले उनलाई एक जाग्रत नागरिकका रूपमा स्थापित गर्छ । उनी कुनै पनि जाति–समुदायको श्रेष्ठता स्वीकार गर्दैनथे । उनी अहिंसामाथि भरोसा गर्थे । तर यो अहिंसाले उनलाई निरीहता सिकाउँदैनथ्यो । यो अहिंसाले उनलाई संघर्षपथमा पिठ्यूँ फर्काएर भाग्न सिकाउँदैनथ्यो । उनलाई हिंसाको बाटो कुनै पनि समस्याको समाधान होइन भन्ने थाहा थियो । उनलाई आफू ‘हिन्दु’ हुनुमा गर्व थियो तर उनको हिन्दु हुनुले अरू धर्मावलम्बीप्रति घृणा गर्न सिकाउँदैनथ्यो । आजका सन्दर्भमा प्रत्येक राष्ट्रले गान्धीले भोगेका चुनौतीहरू आआफ्नै ढंगले बेहोरिरहेको छ, अहिले देखिएका कतिपय चुनौतीको त्यतिखेर कल्पनासम्म गर्न सकिँदैनथ्यो । तर, गान्धीमार्ग सबै खाले झञ्झावातको निदान हो भनी मान्नेहरू प्रत्येक दिन बढ्दै गएका छन् ।

आज जब हाम्रो सार्वजनिक जीवनमा नैतिक मूल्यको क्षरण हुँदै गएको छ, संस्थाहरूको स्थापित मानक खण्डित हुँदै छ, निजी जीवनमा नैतिक मूल्यप्रतिको सजगता हराउँदै गएको छ, यस्तोमा गान्धीले स्थापित गरेको प्रभावी विकल्पतर्फ दुनियाँको ध्यानाकर्षण भएको छ । महामारीको यस संक्रमणकालले हाम्रो विकासको मोडल मौलिक रूपमै कति त्रुटिपूर्ण छ भन्ने देखाएको छ । गान्धीको आर्थिक दर्शन स्थिर छैन, त्यो त जीवन्त र व्यापक छ; मेसिनभन्दा मान्छेकेन्द्रित छ । प्रकृतिबाट के र कति लिने ? त्यससँग तालमेल कसरी मिलाउने ? प्रकृतिसँगको सम्बन्धबारे गान्धीका विचारहरू आज पनि प्रासंगिक छन् ।

निश्चित रूपमा गान्धी भगवान् थिएनन् । उनले आफ्ना अन्धभक्तहरूबाट आफूलाई भगवान् घोषित हुनबाट जोगाए । उनीसँग असहमति र आलोचना राख्न पाइन्छ तर आलोचना केको गर्ने ? सत्य बोल्ने आग्रहको, अहिंसाको प्रणको, विपक्षी मतबाट समेत असल नौनी निकाल्ने वा संवाद र सामञ्जस्यको प्रयोगको, एउटा वञ्चित व्यक्तिले समेत हाकाहाकी प्रश्न गर्न सक्ने मन्त्रको ? यी सवाल र सरोकारहरू रहेसम्म गान्धी मर्दैनन् । नेपालमा गान्धीको चर्चा गर्दा उनलाई ‘भारतीय नागरिक’ भनेर उपेक्षा गर्नुपर्ने कतिपयको बुझाइ छ । अहिलेको नेपाली भूमि लुम्बिनीमा जन्मिएर सिद्धार्थ जसरी विश्व–प्रणम्य हुन पुगेका छन्, त्यसरी नै गान्धी कुनै पनि देशको राजनीतिक भूगोलभन्दा अग्ला छन् ।

प्रकाशित : माघ २०, २०७८ ०८:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×