कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नक्कली कोभिड रिपोर्टको धन्धा रोकियोस्

सम्पादकीय

विदेश जानेहरूका लागि कोभिडको पीसीआर नेगेटिभ रिपोर्ट अनिवार्य छ । सहयात्री र ट्रान्जिट तथा गन्तव्य मुलुकको जनस्वास्थ्यप्रति संवेदनशील बन्न यो नियम बसालिएको हो, जुन अपरिहार्य पनि छ । यात्रुसँगसँगै संक्रमणले पनि यात्रा नगरोस् र नेपालबाट गएका मानिसका कारण अन्यत्र संक्रमण नफैलियोस् भनेर लागू गरिएको यो प्रबन्धलाई कडाइका साथ पालना गर्नैपर्छ ।

नक्कली कोभिड रिपोर्टको धन्धा रोकियोस्

तर, यस्तो व्यवस्थाको खिल्ली उडाउँदै कतिले पीसीआर रिपोर्ट नै नक्कली बनाउने गरेको पाइएको छ । स्वयम् अस्पतालका कर्मचारीहरूको संलग्नतामै यसरी नक्कली रिपोर्ट बनाउने धन्धा चलिरहेको तथ्य खुलेको हो ।

संघीय राजधानी काठमाडौंकै दुई अस्पतालले ८ हजारदेखि १८ हजार रुपैयाँसम्म असुलेर नक्कली पीसीआर रिपोर्ट बनाउने गरेको पाइएको हो । महानगरीय अपराध महाशाखाले मंगलबार यस्तो रिपोर्ट बनाउने भक्तपुरको मध्यपुर थिमिस्थित नागरिक कम्युनिटी टिचिङ हस्पिटलका दुई र काठमाडौंको तीनकुनेस्थित कान्तिपुर अस्पतालका दुई कर्मचारीलाई नियन्त्रणमै लिएको छ । ती अस्पतालले सम्बन्धित व्यक्तिको उपस्थितिबिनै बिचौलियाले आफ्नै वा परिवारका सदस्यको स्वाब संकलन गर्ने र ल्याबले सहजै पीसीआर नेगेटिभ रिपोर्ट उपलब्ध गराउने कार्य गरिरहेका रहेछन् । यसरी आफ्नो वास्तविकता परीक्षण नै नगराई नक्कली रिपोर्ट बनाएर विदेश उड्नु उक्त व्यक्तिको गैरजिम्मेवारीको पराकाष्ठा हो भने त्यसका निम्ति सघाउनु सम्बन्धित अस्पतालहरू पेसागत निष्ठाबाट च्युत भएको चरम नमुना । यो आपराधिक कार्यमा संलग्न सबै दण्डित हुनुपर्छ ।

नक्कली पीसीआर रिपोर्ट बनाउनेहरूले देशको नियम–व्यवस्थाको मात्र आँखा छलिरहेका हुँदैनन्, देश–विदेशका अरू नागरिकलाई पनि धोका दिइरहेका हुन्छन् । गन्तव्य मुलुक पुग्नेबित्तिकै परीक्षण गराउँदा यसरी नेपालबाट पुगेका धेरै व्यक्तिमा संक्रमण पाइयो भने त्यसबाट नेपालकै छविमा पनि स्वाभाविक रूपमा प्रश्न उठ्न सक्छ । यसबाट उनीहरूले जानाजान आफ्नो देशको प्रतिष्ठामाथि पनि खेलबाड गरिरहेका हुन्छन् । यात्रा गर्नुअघि पीसीआर रिपोर्ट नेगेटिभ हुनुपर्ने नियम विश्वभरजस्तै प्रचलनमा छ, नक्कली रिपोर्टको धन्धा नरोकिएमा नेपालले यो अभ्यासलाई गम्भीरतापूर्वक नलिएको अर्थ लाग्न सक्छ । त्यसैले सरकारले यो विषयमा कडीकडाउ गर्नुपर्छ । यसको मतलब फेरि विदेश जानेहरूमाथि झमेला सृजना गर्ने होइन, खालि नक्कली रिपोर्ट बनाउने कार्य रोक्नचाहिँ विचार पुर्‍याउनुपर्छ ।

अस्पताल नै यसमा संलग्न पाइनु भने बडो दुःखलाग्दो कुरा हो । अस्पतालका कर्मचारीले एजेन्ट नै खटाएर फोटो र पासपोर्टका आधारमा पीसीआर नेगेटिभ रिपोर्ट बनाइदिने गरेको तथ्य प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । अस्पतालले केही बिचौलियालाई आफ्नो कर्मचारी भनी परिचयपत्रसमेत बनाई सामूहिक स्वाब संकलन गरेको भेटिएको प्रहरीको भनाइ चिन्तालाग्दो छ । प्रहरीले यसमा केही कर्मचारी मात्र सम्बन्धित छन् कि अस्पतालको सम्पूर्ण व्यवस्थापनले नै यस्तो धन्धालाई प्रश्रय र प्रोत्साहन दिइरहेको छ, अनुसन्धान गर्नुपर्छ । यसका निम्ति हाल फरार रहेका उल्लिखित दुवै अस्पतालका ल्याब सञ्चालकहरूलाई पनि नियन्त्रणमा लिनुपर्छ । र, ‘अस्पतालका विशेषज्ञ चिकित्सकले रिपोर्ट नै नहेरी आफ्नो डिजिटल हस्ताक्षर प्रयोग गरी रिपोर्ट दिने गरेको र कतिपय पीसीआर पोजिटिभ देखिएका नमुनाको सीटी भ्यालु तलमाथि गरी नेगेटिभ रिपोर्ट दिने गरेको भेटिएकाले’ प्रहरीले यो पाटोमा पनि थप छानबिन गर्नुपर्छ । सम्पूर्ण रूपमा मिहिन अनुसन्धान गरेर प्रहरीले यो प्रकरणको तमाम जालोलाई नै कानुनी कारबाहीको दायरामा ल्याएर निस्तेज तुल्याउनुपर्छ ।

पीसीआर परीक्षण गराउने अरू अस्पताल तथा प्रयोगशालाका व्यवस्थापन पनि यो विषयमा सतर्क रहनुपर्छ । केही कर्मचारी बिचौलियाको प्रलोभनमा परेर कतै आफ्नो संस्थाबाट पनि गैरकानुनी कार्य भैरहेको त छैन भन्नेमा उनीहरू चनाखो हुनुपर्छ । केही गरी यस्तो कार्य भैरहेको रहेछ भने जनस्वास्थ्यको नियम उल्लंघन मात्र होइन, देशका साथसाथै स्वयम् उक्त संस्थाकै पनि बदनामी भैरहेको हुन्छ भन्ने तथ्यप्रति उनीहरू गम्भीर हुनुपर्छ ।

सर्वप्रथम त, यस कार्यमा व्यक्ति स्वयंले आफ्नो नागरिक कर्तव्य निर्वाह गर्नुपर्छ । विदेश जानुभन्दा केही दिनअघिदेखि जनस्वास्थ्यका नियमहरूको विशेष ख्याल पुर्‍याउने हो भने संक्रमण हुनै पाउँदैन । अनि, संक्रमण देखिएला र उड्न नपाइएला भनेर गलत कार्यतर्फ लाग्नैपर्दैन । दोस्रो, प्रयोगशाला तथा अस्पतालहरूले पैसाको प्रलोभनमा यस्तो गैरकानुनी कार्य नगर्ने हो भने नक्कली रिपोर्ट बनाउन चाहनेहरू त्यसै निरुत्साहित भैहाल्छन् । र तेस्रो, व्यक्ति र अस्पताल तथा प्रयोगशालाहरूले यस्तो गैरकानुनी कारबाही गरेका छन्–छैनन् भन्ने विषयमा स्वास्थ्य मन्त्रालय लगायत सम्बन्धित सरकारी संयन्त्र र गृह प्रशासन तथा प्रहरीले पनि यथोचित अनुगमन र अनुसन्धान जारी राख्नुपर्छ । व्यक्ति तथा स्वास्थ्य संस्था सचेत हुनुका अतिरिक्त सम्बन्धित सरकारी संयन्त्रहरू पनि सक्रिय भए भने मात्रै यस्तो धन्धा दोहोरिन तथा मौलाउन पाउँदैन ।

प्रकाशित : माघ २१, २०७८ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?