कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

जनगणनाको सन्देश र प्रयोग

नमिता पौडेल

जनगणना–२०७८ को प्रारम्भिक नतिजामा नेपालको जनसंख्या वृद्धिदर घटेको देखिन्छ । पछिल्लो समय अविकसित देशहरूमा जनसंख्या वृद्धिदर कम भइरहेका उदाहरणका आधारमा हाम्रोमा पनि घट्ने अनुमान गरिएको थियो, जसलाई नतिजाले पुष्टि गर्‍यो । विश्वव्यापीकरणको युगमा अविकसित देशहरूमा यस्तो परिवर्तन देखिनु स्वाभाविकै मानिन्छ । विभिन्न देशले नेपालीलाई कामदार, विद्यार्थी वा स्थायी बासिन्दाका रूपमा छानीछानी लगिरहेको थियो, छ ।

जनगणनाको सन्देश र प्रयोग

त्यसरी छानिनेहरू प्रायः अब्बल नै हुन्छन् । अन्तर्राष्ट्रिय बसाइँसराइबाहेक पहिलेको तुलनामा जन्मदर घट्नुले पनि जनसंख्या वृद्धिदर घटेको हो । सरकारले विकसित देशहरूमा जस्तै नागरिकलाई शिक्षा, स्वास्थ्यजस्ता आधारभूत आवश्यकतामा सहायता दिन सकेको छैन, कहिले यस विषयमा ध्यान दिन्छ भन्न सक्ने अवस्था छँदा पनि छैन । यस्तोमा धेरै बच्चा हुँदा उनीहरूको शिक्षा, स्वास्थ्यलगायत आधारभूत आवश्यकतामा खर्च गर्न कम आय भएका परिवारलाई गाह्रो पर्छ । कम बच्चा जन्माउनुपर्ने बाध्यता नेपालीलाई छ, जसको असर जनसंख्या वृद्धिदरमा देखियो ।

पहाडको जनसंख्या ४३.०१ बाट घटेर ४०.२५ प्रतिशत र हिमालको ६.७३ बाट घटेर ६.०९ प्रतिशत भएको छ । तराईमा भने जनसंख्या ५०.२७ बाट बढेर ५३.६६ प्रतिशत पुगेको छ । यो परिवर्तन अपेक्षित नै थियो । सरकारले गर्न खोज्दाखोज्दै पनि भौगोलिक कठिनाइका कारण चाहेअनुरूप पहाड र हिमालमा पूर्वाधारको विकास भएका छैनन् । जबकि तराईमा सडक लगायत पूर्वाधार बनाउन सजिलो हुने गर्छ, विकास पहाड र हिमालको तुलनामा पहिल्यै पुग्ने गरेको छ, त्यसैले यहाँ बसाइँसराइ बढेको हो । तराईको जनसंख्या बढ्नुमा असन्तुलित विकास नीति मुख्य कारक हो । तराईलाई पहिल्यैदेखि नेपालको अन्नभण्डार मानिन्थ्यो, मलिलो माटो र उत्पादन बढी हुनुले पनि यसो भनिएको हो । कतिपय हिमाली तथा पहाडी क्षेत्रमा अझै खाद्यान्न अभाव हुने गर्छ । तराईको यस्तो विशेषताले पहाड तथा हिमालको ठूलो जनसंख्यालाई तानिरहेकै थियो, छ । अनि विवाह तथा रोजगारीजस्ता कारणले तराई झर्नेहरू पनि धेरै छन् ।

जनगणनाको प्रारम्भिक नतिजामा परिवार सदस्य घटेको देखिएको छ । यसो हुनुमा सरकारले लिएको ‘थोरै सन्तान, सुखी परिवार’ नारालाई कारक मान्न सकिन्छ । १० वर्षको तुलनामा अहिले शिक्षा, प्रविधि र चेतनाले फड्को मारेको छ । नाफा कमाउने हेतुले नै भए पनि शिक्षण संस्थाहरू निकै फस्टाएका छन् । हुँदा–खाने र हुनेखाने दुवै वर्गले आआफ्नो हैसियत अनुसार शिक्षण संस्थाको छनोट गर्छन् । आफ्ना छोराछोरीलाई शिक्षा दिनुपर्छ भन्ने चेतना समाजमा बढेको छ, आम्दानी बढ्नेबित्तिकै छोराछोरीका शिक्षाका लागि सहर पस्ने क्रम बढेको छ, जसले गर्दा संयुक्त फरिवार टुत्रेर एकल हुने गरेको छ । विश्व व्यवस्थाले ल्याएको परिवर्तनसँगै काम गर्न बिदेसिने, उतै परिवार बनाउने तथा बढ्दो सम्बन्धविच्छेद पनि परिवार सदस्य घट्नुका कारक तत्त्व हुन् । पहिला धेरै बच्चा हुँदा खेतबारीमा सहयोग हुने ठानिन्थ्यो, समयक्रमसँगै अहिले कृषिमा निर्भर जनसंख्या घटिरहेको छ, जसले गर्दा परिवार पनि सानो भएको छ ।

पुरुषका तुलनामा महिलाको संख्या अघिल्लो जनगणनामा पनि बढी नै थियो । नेपाली समाज पितृसत्तात्मक छ, यसका अवगुणबाट टाढिन सकेको छैन । धेरैजसो दम्पती पहिलो सन्तान छोरा भए एउटा मात्र बच्चा जन्माउने तर छोरी भए अर्को सन्तान पनि जन्माउने गरेका छन् । यस्तो मानसिकता पितृसत्ताकै देन हो, जसले गर्दा छोरीको संख्या बढेको हो । शिक्षा र जनचेतना विस्तारका कारण छोरीप्रतिको दृष्टिकोणमा परिवर्तन आए पनि पहिलाकै असन्तुलित मात्रालाई परिपूर्ति गर्न अझै केही दशक लाग्न सक्छ ।

महिला–पुरुष गरेर लगभग २१ लाख नेपाली विदेशमा छन् । अर्थतन्त्रका लागि यो निकै ठूलो चुनौती हो । नेपाल कृषिप्रधान देश भए पनि कृषिलाई आधुनिकीकरण गर्न असफल भएकाले खेतबारी बाँझै छाडेर युवाहरू खाडीलाई हरियाली बनाउन पुगेका छन् । पर्यटन विकासको अथाह सम्भावना हुँदाहुँदै पनि यस क्षेत्रमा अपेक्षाअनुरूपको रोजगारी सृजना गर्न सकिएको छैन । निर्यातभन्दा आयात बढी हुने भएकाले यहाँ ठूलठूला कलकारखानाहरू पनि कमै छन्, जसले बिदेसिने वातावरण तयार पारिदिएको छ । महिलाहरू बिदेसिने क्रम बढ्नुको मुख्य कारण हो— विकसित देशहरूमा कामदारहरूको माग तीव्र हुनु र नेपालको तुलनामा श्रमको मूल्य बढी हुनु । जस्तो— इजरायलमा ‘केयर गिभर’ का रूपमा नेपाली महिला खटिइरहेका छन् र उनीहरूको माग पनि त्यहाँ तीव्र गतिमा बढिरहेको छ । आम्दानी पनि राम्रै गर्छन् । हाम्रो समाजमा छोरीका लागि पीआर वा ग्रिन कार्ड भएको दुलहा खोज्ने चलन पछिल्लो समय झनै बढेको छ, छोरीहरूको आर्थिक सुरक्षाका लागि पनि यसो गर्न अभिभावकहरू लालायित हुने गर्छन् । फलस्वरूप महिलाहरू बिदेसिने क्रम बढेको छ । पहिलेजस्तो छोरीहरू घरमै बस्नुपर्छ भन्ने धारणामा कमी आइरहेको छ, जसको उदाहारण हो— उच्च शिक्षाका लागि छोरीहरूलाई विदेश पठाउने चलनको वृद्धि । यसरी पढ्न भनेर गएका छोरीहरू नेपाल फर्कने सम्भावना कमै हुन्छ ।

डिग्री पास गरे पनि खरिदार पदका लागि लड्नेहरू यहाँ धेरै छन् । शिक्षा अनुसारको रोजगारी पाउन मुस्किल छ । महँगो शुल्कमा प्राविधिक विषय पढेर पनि बजारमा बिकिँदैन । समाज विज्ञान पढेकाहरूको पनि हालत उही हो । शैक्षिक उत्पादनलाई न बजारले पहिचान गर्न सकेको छ न त विद्यार्थी आफैंमा सन्तुष्ट देखिन्छ । फलस्वरूप पैसाका लागि भए पनि विदेश चर्न चाहने महिला–पुरुष दुवैको भीड बढिरहेको छ ।

पछिल्लो समय भइरहेका यस्ता परिवर्तनका बारेमा चर्चा गर्न जनगणनाले सहयोग गरेको छ । तथ्यांक विभिन्न संस्थाको अध्ययन–अनुसन्धानको आधार हो । केन्द्रीय तंथ्याक विभागले गरेको जनगणनाको महत्त्व छ, यसका विधि तथा प्रक्रियामा कमीकमजोरी होलान्, तैपनि देशमा भइरहेको सामाजिक विकास यसमा देखिन्छ, जसका आधारमा राज्यलाई सुहाउँदो नीतिनियम बनाउन मद्दत पुग्नेछ ।

प्रकाशित : माघ १६, २०७८ १२:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?