कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

परिवार नियोजन महिलाको ठेक्का !

अमृता अनमोल

सामान्यतया परिवारको योजना दम्पती मिलेर बनाउँछन् । कति बच्चा जन्माउने, कहिले जन्माउने, रोकथामका लागि के विधि अपनाउने भन्ने निर्णय प्रायः पुरुषले गर्छन् । तर, तिनै पुरुषहरू परिवार नियोजनका साधन अपनाउन भने अगाडि सर्दैनन् । नियोजनका अस्थायी र स्थायी उपाय अपनाउन बच्चा जन्माउने महिलाले नै अघि सर्नुपर्ने बाध्यता छ । परिवार नियोजनलाई महिलाको ठेक्काजस्तो बनाइएको छ ।

परिवार नियोजन महिलाको ठेक्का !

लुम्बिनी प्रदेशको तथ्यांक हेरौं । आर्थिक वर्ष २०७७–७८ मा कोरोना महामारीबीच यहाँका १,७२४ जनाले स्थायी परिवार नियोजन गरे । १,४८९ महिलाले मिनील्याप गरे । तर, स्थायी नियोजन भ्यासेक्टोमी गर्ने पुरुष थिए— जम्मा २३५ जना । कपिलवस्तुमा ११३ महिलाले परिवार नियोजन गर्दा पुरुष जम्मा १ जना थिए । उनी पनि स्वतःस्फूर्त नभई पत्नीको पाठेघर खस्ने समस्या भएकाले स्थायी नियोजन गर्न नहुने भन्दै फर्काइएपछि आएका थिए ।

पश्चिम नवलपरासीमा ४८९ जनाले परिवार नियोजन गर्दा पुरुष ९ जना थिए । रुपन्देहीमा १४४ महिलाले परिवार नियोजन गर्दा पुरुष १३ जना थिए । बर्दियामा ३४४ महिलाले बन्ध्याकरण गर्दा पुरुष १५ जना भेटिए । ती पुरुष पनि विभिन्न समस्याका कारण पत्नीहरूले स्थायी नियोजन गर्न नहुने भएपछि आएको स्वास्थ्य निर्देशनालयको सर्वेक्षणमा उल्लेख छ ।

शारीरिक सम्बन्ध दम्पतीबीच हुन्छ । तर, समय र परिस्थितिले त्यसलाई प्रभाव पार्छ । हाम्रोजस्तो पितृसत्तात्मक समाजमा दम्पतीबीच शारीरिक सम्बन्ध राख्ने वा नराख्ने एवं कसरी राख्ने भन्ने निर्णय पनि प्रायः पुरुषले गर्छन् । अधिकांश महिलाले पुरुषले चाहेका समयमा चाहेजसरी चुपचाप शारीरिक सम्बन्ध राखेका हुन्छन् । तर, आफैं अघि सरेर राखेको सम्बन्धलाई कसरी सुरक्षित बनाउने भन्नेमा भने पुरुषको ध्यान गएको पाइँदैन, जुन विडम्बनापूर्ण छ । परिवार नियोजन गर्नु भनेको सन्तान जन्माउन रोक्नु मात्र होइन, गर्भलाई सुनियोजित बनाउनु पनि हो । स्थायी नियोजनले अनिच्छित सन्तान जन्माउन रोक्छ । अस्थायीले जन्मान्तरमा सघाउँछ । तैपनि नियोजनका साधन अपनाउन पुरुषहरू अगाडि सर्दैनन् । कतिपयले परिवार नियोजनपछि अण्डकोष झिकिने र पुरुषत्व नै बाँकी नरहने तर्क गर्छन् । स्थायी नियोजन गर्दा पुरुष अंग काटेर फालिने भ्रम पाल्छन् ।

परिवार नियोजनप्रति तराईका तुलनामा पहाडी जिल्लाका पुरुषहरू केही संवेदनशील छन् । तर, उनीहरू पनि नियोजनको विधि अपनाउन हत्तपत्त अघि सर्दैनन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७६–७७ मा १० लाख १ हजार ८ सय ६ महिलाले मिनील्याप गर्दा ३ लाख १६ हजार २६७ पुरुषले मात्रै भ्यासेक्टोमी गराएका थिए । चिकित्सकहरूका अनुसार भ्यासेक्टोमी गर्दा पुरुषमा रहेको शुक्रकीट वहने नलीलाई काटिन्छ । भ्याक्सेक्टोमीले पुरुषको यौनक्षमता र यौनसन्तुष्टिमा कुनै असर गर्दैन । मिनील्याप गर्दा महिलाहरूको घाउ निको हुन महिना दिनजस्तो लाग्छ । महिलाका तुलनामा पुरुषको स्थायी बन्ध्याकरण सुरक्षित र सजिलो हुन्छ । स्थायी नियोजनपछि महिलाले फेरि सन्तान जन्माउन मिल्दैन, पुरुषले चाहेचाहिँ उल्टाउन पनि मिल्छ । तर, पितृसत्तात्मक समाजको असर परिवार नियोजनमा उल्टो देखिएको छ जुन गलत हो । यसको यौटा मात्रै कारण महिलाको भन्दा पुरुषको शरीरलाई महत्त्व दिइनु हो ।

परिवार नियोजनका अस्थायी साधन उपभोगमा पनि पुरुषको सहभागिता निकै कम छ । महिलाका लागि धेरै प्रकारका साधन छन् भने पुरुषका लागि कन्डम मात्रै । कन्डम प्रयोग गर्दा पनि यौन असन्तुष्टि हुने या चरम सुख नपाउने हुँदैन तर पुरुषहरू यौन सन्तुष्टि नमिल्ने भ्रमकै कारण अलमलिइरहेका छन् । यही कारण परिवार योजनाका साधनको प्रयोगमा देशले उल्लेख्य फड्को मार्न सकेको छैन । परिवार योजना नअपनाउँदा अनिच्छित सन्तान जन्मने र गर्भपतन गर्ने क्रम बढिरहेको छ । सन् २०१६ को जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण अनुसार, ९० प्रतिशतभन्दा बढीमा परिवार नियोजनका साधन प्रयोग गर्नुपर्छ भन्ने ज्ञानचाहिँ छ तर आधुनिक साधन प्रयोगको दर जम्मा ४३ प्रतिशत छ । पहुँच ५३ प्रशितमाथि पुगेको छैन ।

महिला र पुरुषबीचको विभेदले गर्दा पुरुषहरू परिवार नियोजन गर्नबाट पन्छिरहेका छन् । अब परिवार नियोजन गरेका पुरुषलाई रोल मोडलका रूपमा उभ्याउनुपर्छ । परिवार नियोजनपछि यौन दुर्बलता आउने र शारीरिक रूपमा कमजोर हुने भ्रमलाई उनीहरूका अनुभव सुनाएर चिर्नुपर्छ । यसले गर्दा परिवार नियोजनमा पुरुषको संख्या बढ्न सक्छ । अनि मात्रै परिवार योजनामा लैंगिक समानता कायम हुन सक्छ ।

प्रकाशित : माघ १०, २०७८ ०८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?