कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

माडी–अयोध्याकाण्ड र विकासको दु:स्वप्न

‘विकास’ को तिर्खा विचारधारा र राजनीतिभन्दा जब्बर हुने रहेछ । माडीको विकास–तिर्खामा ‘कम्युनिस्ट किल्ला’ को वैचारिक विचलन मात्र होइन, अप्ठेरो भूस्थिति र त्यसबाट निर्मित हीन मनोविज्ञानजन्य कारणसमेत जिम्मेवार थियो भन्ने बुझ्नुपर्छ । 
सरिता तिवारी

डेढ वर्षअघि भानुजयन्तीका दिन रामायणमा वर्णित राम नेपाली हुन् र ‘वीरगन्जदेखि केही पश्चिम ठोरी आसपास’ क्षेत्रमा वास्तविक रामजन्मभूमि छ भनेर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले रामभूमिको विषय उठाए । एकाएक यो विषय चर्चाको उत्कर्षमा पुग्यो । ओलीले बोलेपछि जेसुकै पनि सही हो भन्ने अनुचर वृत्तले त हो मा हो मिलाउने नै भयो । आम जनमानसले भने उटुंगो–उटुंगो बोलेर लोकहँसाइ गरिरहने ओलीले अर्को एक थान उटुंगो बोलेको ठान्दै यसलाई प्रहसनात्मक अर्थमा लिए ।

माडी–अयोध्याकाण्ड र विकासको दु:स्वप्न

असार २९ पछि पनि विभिन्न मञ्चबाट ओलीले यो विषयलाई प्राथमिकतासहित तानिरहे र त्यसको ‘मिडिया कभरेज’ भइरह्यो । समर्थन र आलोचनाले सामाजिक सञ्जाल तात्ने नै भयो । २०७२ सालको नाकाबन्दीभरि ‘राष्ट्रवादी’ भड्काउका बलमा राजनीतिक शक्ति बटुलेका ओलीले रामभूमिको विषयलाई पनि भारतलाई चुनौती दिएर प्रोपगान्डाको राजनीति गर्ने अर्को सुनौलो मुद्दा ठानेको अनुमान गर्न गाह्रो भएन । तर बाहिर जुनै मुद्रामा भारतलाई चुनौती दिए पनि भित्र उनी कुनकुन मुद्रामा भारतभक्ति गर्छन् भन्ने कुरा महाकाली सन्धियता आजसम्म नै आमजनलाई राम्रै हेक्का छ ।

यसैबीच ओलीले दाबी ठोकिदिए, ‘अयोध्या त चितवनको माडीमै रहेछ †’ एकाएक रामभूमिको लक्ष्यभेदन माडीको अयोध्यापुरीमा हुँदा आम माडीवासी मात्रै होइन, यहाँका बुद्धिजीवी, उद्यमी र दलका नेतागणसम्मै हक्क न बक्क भए । यो खुसीले उफ्रने कुरा हो कि आश्चर्य र उदेकले अचम्मित हुनुपर्ने विषय अथवा लीलाकारी ओलीको खेला के हो भन्ने अन्तर्यमा पस्ने कुरा ? मानिसहरूले भेउ पाउनै सकेनन् । भरतपुर र काठमाडौंदेखिका ओलीगण गुटुटुटु गर्दै अयोध्यापुरी दौडाहामा आए । रमाइलो त अझ के भयो भने, अचानक साबिक अयोध्यापुरी गाविस अयोध्या दरबारक्षेत्र बन्यो । रेवा (प्रचलित भाषामा रिउ) खोलो ‘सरयू नदी’ बन्यो । नजिकैको राम–सीता गुफाको पनि चर्चा थपियो । तिनैताकाको कुरा हो, अब माडीलाई नै ‘अयोध्या’ नामकरण गर्नुपर्छ भन्दै ओलीले ‘बृहत् गुरुयोजना’ का लागि माडीका जनप्रतिनिधिसहितको टोली बालुवाटार बोलाए । ‘प्राज्ञ’ जगमान गुरुङ र ‘लेखक’ लोकमणि पौडेलको निष्ठ अनुसन्धानपछि माडी नै रामभूमि हो भन्ने तथ्य पत्तो लागेको भन्ने ओलीवाणीको प्रचार गर्दै जनप्रतिनिधिहरू घर फर्किए ।

अब माडीमा ठूलो अयोध्याधाम बन्ने निश्चित भयो । माडीको नाम फेरिएर ‘अयोध्या’ बन्ने कुरो पनि लगभग तय भयो । यति हुन्जेल माडीमा यो विषयमाथि आलोचनात्मक स्वरको एउटा पातसम्म हल्लिएन । भित्रभित्र घरघरमा केके कुरा भए, त्यो थाहा हुने विषय भएन तर सार्वजनिक वृत्तमा भने चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती जंगलले घेरिएर विकासको अड्चन खेप्दाखेप्दा ‘पिछडिएको’ माडी अब झलमल हुने भयो भन्ने भाष्यकै बोलवाला भयो ।

...

माडी, धीमा नै सही, आफ्नै संघर्ष र गतिमा चलायमान थियो । कम्युनिस्ट राजनीतिको किल्ला मानिए पनि चेतनाको तहमा पञ्चायतकालजति पनि प्रतिरोधी र गतिशील भएको महसुस नहुने आजको माडीले अयोध्या परियोजनालाई स्वागत गर्नुमा कुनै आश्चर्य भएन । किनभने पार्टी जुनै होस्, तिनलाई गतिमान बनाउने मानिसहरूको मथिंगलमा मलपानी दिने त परम्परागत भाग्यवादी धार्मिक चेतले नै रहेछ । प्रगतिशील राजनीतिक तप्कासमेत यसैका जराबाट फैलिएका मानिसहरूको वर्चस्व र नेतृत्वमा रहेछ । यो आजको समग्र राजनीतिको टड्कारो प्रकट भएको सत्य हो । यसमा माडी अछुतो हुने कुरा भएन । हिजो एकतन्त्रीय व्यवस्थाविरुद्ध लड्नलाई व्यवस्था मात्रै दुश्मन थियो तर आज नयाँ थिति बसाल्न आफूभित्रै खाँदिएका संस्कार र मनोविज्ञानविरुद्ध लड्नुपर्छ भन्ने यथार्थ आत्मसात् गर्न नसक्दा लहडी ओलीकै कुराको पछि लाग्ने स्थिति आइलाग्यो । वामपन्थी भनिएका एमाले र माओवादी केन्द्र दलालपन्थको चरमावस्थामा ‘मर्ज’ भएर नेकपा (नेकपा) बनेका बेला आफ्नै पार्टीका शक्तिशाली मुखियाविरुद्ध उभिएर तर्कसम्मत–विवेकसम्मत हस्तक्षेप गर्ने आँट कसैमा नदेखिनु पनि स्वाभाविकै भयो ।

तर माडीमा ‘राम’ र ‘विकास’ यसरी जोडिएर आए कि, अरूको त कुरै छाडौं, सत्ताइतरका कम्युनिस्ट पार्टीसमेतले ‘पिन ड्रप साइलेन्स’ बनाइदिएर ओलीलाई सहयोग गरे । जनताको धार्मिक भावनाविरोधी र ‘विकासविरोधी’ भइने, लोकप्रियता गुमाइने भयले सबैजसो तैं चुप मै चुप भए । हुन त २०७० सालको संविधानसभा चुनावमा माडी क्षेत्रमा ठेक्कापट्टा लिएर बनाएका सडक देखाएर त्यसैलाई ‘विकासप्रिय नेता’ को सबुतका रूपमा पेस गर्दै ठोस विचार र कार्यक्रमबिनाका ठेकेदारले पनि चुनाव जित्न सफल भएकै हुन् । चितवन राष्ट्रिय निकुञ्जले २०२९ सालदेखि यो क्षेत्रलाई मानव कान्जीहाउस बनाइरहेको सकस र अमिक शेरचनजस्ता खरा वामपन्थी नेतालाई जिताएर पठाउँदा पनि बिजुली, सडक र न्यूनतम सुविधासम्म तय गर्न नसकेको तीतो यथार्थले माडीवासीलाई राजावादी ठेकेदार नेता रोज्ने झुर विकल्पमा पुर्‍याएकै हो । यसले के पनि देखायो भने, ‘विकास’ को तिर्खा विचारधारा र राजनीतिभन्दा जब्बर हुने रहेछ । माडीको यो विकास–तिर्खामा ‘कम्युनिस्ट किल्ला’ को वैचारिक विचलन मात्र होइन, अप्ठेरो भूस्थिति र त्यसबाट निर्मित हीन मनोविज्ञानजन्य कारणसमेत जिम्मेवार थियो भन्ने बुझ्नुपर्छ ।

राष्ट्रवादको प्याकेजमा ‘राम’ परियोजना हुलेर पेस गरिएको ‘विकास’ ले डेढ वर्षयता ओली र उनी आसपासका दृश्य–अदृश्य स्वार्थकेन्द्रहरूको खेलमैदान बन्न पुगेपछि अहिले आएर माडीको स्थानीय नेतृत्व रनभुल्ल परेको छ । कारण, अबको राजनीतिमा यही मन्दिर पनि चुनावी एजेन्डा बन्ने निश्चितै छ । २०७७ फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलापछि नेकपा (नेकपा) खारेज गरी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) पूर्ववत् छुट्टाछुट्टै पार्टी बनेर अलग्गिए पनि मन्दिर बनाउने विषयमा आलोचना र फरक मत राख्नासाथ आफूहरूको राजनीतिक भविष्य अनिश्चित हुने डर सबैमा देखिन्छ । हुन त नेकपा (नेकपा) टुक्रिएपछिको नेकपा (एमाले) पनि विभाजन भएर नेकपा (एस) नामको अर्को पार्टी बनेको स्थितिमा हिजो प्राविधिक रूपले एकै ठाउँमा रहेका मानिसहरू अहिले फरकफरक पार्टीमा भएकाले त्यसको प्रभाव राम मन्दिरको राजनीतिमा पर्ने नै भयो । परेकै पनि छ । तर यसैबीच पनि ध्यान दिनैपर्ने कुरा के छ भने, राम मन्दिर मुद्दामाथि स्वामित्व र अग्रसरतामा यत्रो ‘अयोध्याकाण्ड’ जन्माएर उधुम मच्चाउने नेकपा (एमाले) कै स्थानीय नेतृत्वको चासोसमेत कम देखिएको छ । ओलीबाहेक कुनै केन्द्रीय नेताले सार्वजनिक वक्तव्य नदिएको यो मुद्दामा ओलीकै बोलीको लयमा बोल्दा भारतीय संस्थापन र भाजपा सरकारसँगको सम्बन्धको सन्तुलन बिग्रन्छ भन्नेमा केन्द्रीय र जिल्ला नेताहरूसमेत सतर्क रहेको बुझिन्छ । त्यसैले राम मन्दिर राष्ट्रिय सरोकारमा मत्थर हुँदै गए पनि स्थानीय चुनाव राजनीतिमा भने लामो समयसम्म भजाइखाने विषय बनिरहन सक्छ ।

जुन तीव्रताले ‘राम राजनीति’ आयो, त्यही तीव्रताले अब यो कमजोर हुँदै गएको स्थितिमा बाहिर जति चर्का कुरा गरे पनि अहिले अयोध्याको मुखपात्र (भोकल पर्सन) कोही पनि छैन । एकले अर्कोलाई दोषारोपण गरेर टकटकिने अवस्था छ । घाँघर र रिउको दोभाननजिकैको चउरमा छुट्याइएको जग्गामा प्रदेश सरकारको अनुदानस्वरूप आएको ३० लाखबाट एउटा मन्दिर ठिंग उभ्याइएको छ र बाहिर अयोध्याधामको नाम लिँदै बजार लगाइएका घडेरी विज्ञापनका होर्डिङ बोर्डहरू छन् । अयोध्याकाण्डसँगै आएका ‘विकासका लड्डू’ यिनै घडेरी मात्रै हुन् । यिनैले गर्दा केही थान जग्गा कारोबारीको राम्रै उत्थान भइरहेको छ ।

सुरुमा केही नबोले पनि पछिल्लो समयसम्म आइपुग्दा आफूले लड्ने निर्वाचन क्षेत्र ताकेर ओलीले आफूलाई कमजोर बनाउनैका लागि रामजन्मभूमिको खेल खेलेको भन्न थालेका प्रचण्ड यहाँ मन्दिर बनाउन इच्छुक छैनन् भन्ने प्रस्टै छ । त्यसो हुँदा माओवादी केन्द्रकै नेतृत्व रहेको माडी नगरपालिकाले पनि अहिले यसबारे खास चासो नदेखाउनु स्वाभाविकै भयो । नगरप्रमुख ठाकुरप्रसाद ढकाल भन्छन्, ‘म मन्दिर बनाउने कुराको विरोधी होइन तर त्यति ठूलो लगानीको परियोजनामा नगरपालिकाले मात्रै पहल गर्न सक्दैन । माथिबाट बजेट आए मन्दिर बनाउन सघाउन सकिन्छ, नआए यताबाट बनाउन सकिन्न ।’ स्मरणीय के छ भने, प्रारम्भिक अवस्थामा ओलीकै बोलीमा बोली मिसाएर मन्दिर बनाउने पहलमा कस्सिएर बल लगाउनेमध्ये स्वयं नगरप्रमुखसमेत पर्छन् ।

हुन त सुरुमा ‘वीरगन्जदेखि केही पश्चिम ठोरीको आसपास’ भन्ने ओलीवाणीलाई माडीतिर खिच्ने काम आम सञ्चारमाध्यम र विश्लेषकहरूले अनुमान गरे अनुसार ओलीकै ‘डिजाइन’ चाहिँ रहेनछ भन्ने कुराको खुलासा पछिल्लो समय हुँदै छ । यसबारे जिज्ञासा राख्दा अयोध्याधाम अध्ययन तथा अनुसन्धान समितिका अध्यक्ष नारदमणि पौडेलले अघिल्लो हप्ता मात्रै भने, ‘धेरैले प्रचण्डलाई मेख मार्न र अप्ठ्यारो पार्न ओलीले माडी नै अयोध्या हो भनेका हुन् भन्छन् । तर सुरुआतमा यो प्रचण्डतिर लक्षित थिएन । अयोध्या यही नै हो भनौं र अयोध्याको ह्वीम चलेको मौका छोपेर सकेको बजेट ल्याऊँ भन्ने उद्देश्यले म आफू र विजय सुवेदीसमेत लागेर माथि पहल गरेका हौं । यो कुरा बाहिर थाहा दिइएन ।’ (नारदमणि साबिक अयोध्यापुरी गाविसका पूर्वअध्यक्ष र हाल नेकपा (एस) का नेता हुन् भने विजय सुवेदी नेकपा (एमाले) का तर्फबाट प्रदेश सांसद र वाग्मती सरकारका पूर्वमन्त्रीसमेत हुन् ।) यही कुरा माडी नगरपालिका वडा नं. ९ (अयोध्यापुरी) का अध्यक्ष शिवहरि सुवेदी पनि स्विकार्छन् । हाल नेकपा (एमाले) तिर रहेका उनी माडीलाई नै अयोध्या हो भनेर ओलीसम्म कुरा पुर्‍याउने पहल स्थानीय स्तरबाटै भएको भन्दै पार्टी विभाजनका कारण यत्रो परियोजना संकटमा परेको, धार्मिक पर्यटनबाट माडीको विकास गर्ने आफूहरूको सपनामा अहिले नगरप्रमुखले पनि साथ नदिएको र प्रदेशले यही आर्थिक वर्षमा छुट्याएको १ करोडसमेत निकासा नगरिएको गुनासो गर्छन् ।

देशका अन्य ठाउँका मानिसका लागि अयोध्या राजनीतिक दाउपेचको एउटा किस्सा मात्र भएर बिर्सिजाने विषय बनिसकेको छ तर माडीमा भने यसलाई विकासको तारणहारका रूपमा व्याख्या गर्न छोडिएको छैन । ‘भौतिकवादी’ समेत देखिनुपरेकाले ‘विकास हुन्छ भने’ मन्दिर बनाउन पछि पर्न हुन्न भन्ने दोहोरो चरित्र देखाउने प्रवृत्ति नै हावी छ ।

...

माडीमा अहिले कृषि र कृषिजन्य उद्यम, पर्यापर्यटन, होमस्टे, फार्मस्टे लगायतका अवधारणाले केही आकर्षक कामहरू गरिन थालेका छन् । यद्यपि यो सुरुआत मात्र हो र अहिल्यै यिनैका आधारमा भविष्यवाणीको हतार गर्नु मनासिब हुँदैन तर संकेत राम्रै छ । सिंगो अयोध्याधाम बनाउन जमिन छुट्याउन सकिने माडीमा विकासकै लक्ष्यले ठूला शिक्षण अस्पताल र विश्वविद्यालयजस्ता पूर्वाधार स्थापनाको सपना देख्न र पहल गर्न नसक्ने स्थिति पनि होइन । कंक्रिटका भयावह संरचना नबनाईकनै यहाँको जैविक जीवनपद्धतिको रक्षा गरेर आदिवासी थारू, अल्पसंख्यक बोटे, कुमाल, दराई र कुसुमखोलाबाट भर्खरै निस्केर नयाँ बस्तीमा बस्न थालेका चेपाङ समुदायलाई सामुदायिक विकासमा अग्रसर हुन उत्प्रेरित गर्ने कार्यक्रम ल्याउन ठूलो आकारको बजेट होइन, राजनीतिक–सांस्कृतिक इच्छाशक्ति चाहिन्छ । सोमेश्वर पहाडबाट उत्तर बग्दै रिउ खोलामा मिसिने ठाडा खोलाहरूमा अहिले धमाधम बनिरहेका पुलहरू सञ्चालनमा आएपछि माडीमा उत्पादन भएका अन्न, फलफूल, तरकारी र माछामासु बाहिरको बजारसम्म पुग्न अब ठूलो समस्या हुने देखिँदैन । सिँचाइका लागि प्रशस्त जलाधार भएको यो क्षेत्रमा एकल वा सामूहिक स्वरोजगारी र ठूला स्केलका व्यावसायिक कृषि उद्यम विस्तार गरेरै भरपर्दो आर्थिक उपार्जन गर्न सकिन्छ । त्यसमाथि, भर्खर–भर्खर थालिएको जैविक कृषिले पाइला टेकेर हिँड्ने वातावरणसम्म बनाइदिन सक्ने हो भने भविष्यमा माडीको अर्थतन्त्र एक्लो जैविक प्रणालीले नै धान्ने सम्भावना उत्तिकै छ । यति काम गर्न न निकुञ्ज प्रशासनले छेक्छ, न त कुनै राजनीतिक स्वार्थले तगारो हाल्न सक्छ ।

सम्भावनाका अपार आधार भएको यस्तो ठाउँमा ओलीले रोपेको राष्ट्रवादी लहडको निराधार बीउ अहिले विकासको एक मात्र ‘विकल्प’ बनेर माडीका सबै दलका नेतृत्वलाई निल्नु न ओकल्नु बनिरहेको दृश्य साँच्चै दिक्कलाग्दो छ । ओलीले अयोध्याकाण्डको राजनीतिक प्रोपगान्डा गरेको कुरा निर्विवाद छ किनभने यसलाई पुष्टि गर्ने स्पष्ट आधार न ओलीले दिन सके न माडीकै अयोध्याधाम अध्ययन तथा अनुसन्धान समितिले । महेशराज पन्त लगायतका अनुसन्धाताहरूले समेत माडी रामजन्मभूमि भएको विषय निराधार रहेको कुरा स्पष्ट पारेका छन् । इतिहासकार वा पुरातत्त्वशास्त्रीहरूले यो विषयमा चासो राखेर अयोध्याधामको बहस ठीक हो भनेको कहीँकतै सुनिँदैन । यी सबैका बावजुद अयोध्याधामकै कारण माडीको विकास हुन्छ भन्ने दु:स्वप्नमा अमूल्य समय र ऊर्जा खेर फाल्नु डरलाग्दो स्तरको मूर्खता हो । विकासविरोधी वा जनताको भावनाविरोधी भइने र भोट गुमाइने डरले यो दु:स्वप्नलाई मलजल गरिरहनु विचारधारामाथिको मात्रै होइन, समाज र आउने कैयौं पुस्तामाथिकै बेइमानी हो भन्ने कुरो कम्तीमा यहाँका वामपन्थी भनिने शक्तिले बुझून् ।

प्रकाशित : माघ ४, २०७८ ०८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?