कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

दुई जीविकावादीहरू !

ज्ञान, प्रज्ञा र विवेकको उद्यम गौण भएर जाँच पास मात्र गराउने ध्याउन्नमा पूर्णतया केन्द्रित भएपछि शिक्षक के बन्छ ? जीविका मात्र चलाउन जान्ने बजार व्यवस्थाको सामान्य पुर्जा ।
उज्ज्वल प्रसाई

बग्रेल्ती झुटो इतिहास लेखिइरहेको समयमा, कथा विधाले साँचेको सामर्थ्यलाई प्रयोग गर्नु श्रेयस्कर हुन्छ । त्यसैले ‘विचार’ लेखिने यस पृष्ठमा आज एउटा कथा भन्ने जमर्को गरौं । यो स्नातक तह पढिरहेको एक विद्यार्थी र उसलाई पढाइरहेको शिक्षकको साँचो कथा हो । कथाको सुरुआत विद्यार्थीबाट गरौं, मानौं उसको नामै विद्यार्थी हो । सोहीअनुरूप शिक्षकको नाम शिक्षकै मान्नुमा सुविधा हुन्छ ।

दुई जीविकावादीहरू !

‘फलामे ढोका’ जस्ता विशेषण जोडेर भयकारी बनाइएको एसईई राम्रै भन्न मिल्ने अंकसहित छिचोलेदेखि नै विद्यार्थीमा अन्योल थियो । पुर्ख्यौली भनिने सम्पत्तिमा ठूलो पहिरो नगइसकेका कारण जीवन जसोतसो चल्छ भन्ने हेक्का उसलाई थियो । तर वयस्क नागरिक बन्न थालेको उमेरमा उच्च शिक्षा हासिल नगर्दा ‘खत्तम’ भइन्छ भनेर उसलाई बुझाइएको थियो । नपढेर तन्नम भएका दर्जनौं उदाहरण वरपर देखाइएका थिए । त्यसैले पढ्नैपर्छ वा पर्दैन भन्ने अन्योललाई थाती राखेर उसले उच्च शिक्षामा ‘अघि बढ्ने’ निधो गरेको थियो । निधो भएलगत्तै अर्को उस्तै अन्योलले उसलाई दपेटिहाल्यो । आफ्नो रुचिअनुरूप औपचारिक उच्च शिक्षा लिने वा मालदार जागिर/इलम सुनिश्चित गरिदिने विषय छनोट गर्ने ? अन्योल चिर्न सघाउने गरी घरमा उसले कुनै सल्लाह पाएन, शिक्षक लगायत उसले मानेका मान्छेहरूले पनि खासै जाँगर लगाएर उसका प्रश्नहरूमाथि चिन्तन गरिदिएनन् । बरु बजारसँग उत्तरका दर्जनौं पुडिया थिए, उसको ध्यान तिनै तयारी उत्तरहरूले खिच्न थालेका थिए ।

विशिष्ट अंक प्राप्त नगरेकाले विज्ञान संकाय आफ्नो भागमा पर्दैन भन्ने उसले पहिल्यै तय गर्‍यो । यद्यपि विज्ञानसम्मत प्रश्न र जिज्ञासाका प्रचुरता उसका मनमा कति थिए कति १ मानविकी वा समाजविज्ञानको बजारमा कुनै हैसियत छैन भन्थे उसका सबै चिनारु । जसलाई भेटे पनि दिमाग भएका मान्छेले त्यस्ता विषय पढ्दैनन् र पढेर खासै केही गर्न पनि सक्दैनन् भन्थे । स्वयं समाजविज्ञानका विषय पढेर उसलाई पढाउन विद्यालय पुगेका शिक्षकहरूमा समेत मानविकी र समाजविज्ञानप्रति उति ठूलो सम्मान थिएन । त्यही पढ्ने भएर आफू ‘बोर्डिङे टिचर’ मै खुम्चनुपरेको भन्दै खुइय्य गरिरहन्थे तिनीहरू । जिउने उत्साहसमेत कम भएझैं गरिरहन्थे ।

उपलब्ध विकल्पमा बच्यो व्यवस्थापन संकाय, ऊ त्यसैमा भर्ना भयो । प्लस टुको दुईवर्षे पढाइका दौरान शिक्षकले प्रोजेक्टरको नीलो बत्तीले भित्तामा उज्यालो पार्दै कम्प्युटरको पावर प्वाइन्टमार्फत दान गरेका सयौं ‘बुलेट प्वाइन्ट्स’ र हिसाबका केही शिल्प उसलाई कण्ठ भए । रुचि नमिलेकाले हो वा उसको ध्यान अरू नै प्रश्न र जिज्ञासामा बढी केन्द्रित भएर, पढ्नमा खासै मजा भने भएन । विद्यालय नियमित जानुमा साथीहरूसँगको गफगाफ, चिया–चुरोट र घुमघाम प्रभावी कारक थिए । आफ्नै कलेजमा पढ्ने मित्रसँग अंकुराउन थालेको प्रेमजस्तो आभास पनि अर्को एउटा कारण थियो उसलाई विद्यालयसम्म पुर्‍याइरहने ।

विद्यार्थीले कोर्स सिध्यायो, एसईईमा झैं यस पटक पनि नराम्रो अंक आएन । तर व्यवस्थापन थप पढिरहन जाँगर भएन । त्यसो त उसलाई औपचारिक शिक्षाका लागि कक्षाकोठामा बसिरहन पनि खासै रुचि थिएन । बरु इन्टरनेटमा चहारेर विद्यालयमा भन्दा बढी सिकेको भान पर्थ्यो, त्यसैले करिब हरेक रात कम्प्युटरकै संसारमा बित्थ्यो । तर कलेज नपढे खत्तम भइने भयबाट ऊ मुक्त भइसकेको थिएन । जे त पर्ला भनेर उसले बीए पढ्ने निधो गर्‍यो । केही गर्न नसके, भएको जेथोका भरमा टिकौंला भन्ने सोचेर उसले ‘ब्याचलर्स अफ आर्ट्स’ मा हामफालेको थियो ।

बीए पढाउने शिक्षा–पसलमा उपलब्धमध्ये पत्रकारिता र समाजशास्त्रको गठजोडमा उसको मन अडियो । पत्रकारिता भन्ने विषय देख्दा उसले टीभीमा समाचार भनिरहेका चलायमान ओठ र सुन्दर अनुहारका हाउभाउ कल्पना गर्‍यो, अन्तर्वार्ता गरिरहेका सुकिला कोट–प्यान्ट र लच्छेदार आवाज सम्झ्यो । ‘समाजशास्त्र’ शब्दले उसमा कुनै ठोस कल्पना फुराउन सकेन । विद्यालयमा ‘सोसल स्टडी’ पढाउने ‘सर’ ले समाजशास्त्र पढेको हो कि भन्ने अनुमान गर्‍यो । सो अनुमान गरेका दिनदेखि सोही शिक्षकको अनुहार एवं हाउभाउ कल्पेर उसले समाजशास्त्र विषय ठम्याउने प्रयत्न गरिरह्यो ।

यसरी समाजशास्त्र र पत्रकारितामा स्नातक तह अध्ययन गर्न आइपुगेको विद्यार्थीलाई तेस्रो वर्षमा राखिएको एक विषय ‘सोसियलोजी अफ डेमोक्रेसी, डिभर्सिटी एन्ड इन्इक्वालिटी’ पढाउन आइपुगेको शिक्षकको कथा सुनौं अब । शिक्षकले पढाउनुपर्नेछ विल किम्लिकाको लोकतन्त्र र बहुसंस्कृतिवाद सम्बन्धी जटिल प्राज्ञिक लेख वा चैतन्य मिश्रको सजिलो भन्न नसकिने ‘ह्वाट लेड टु २००६ डेमोक्रेटिक रेभोलुसन इन नेपाल ?’ जस्ता आलेख । राजनीतिक र समाजशास्त्रीय सिद्धान्तका अनेक धाराको प्रयोग गर्दै नेपालमा भएका पछिल्ला परिवर्तन एवं क्रान्तिबारे व्याख्या गरिएको गम्भीर लिखतलाई पाँचवटा बुलेटमा खुम्च्याउनु कसरी ? सांस्कृतिक, जातीय, नस्लीय र क्षेत्रीय विविधताका कारण जटिलतम बनेका सामाजिक सम्बन्धलाई लोकतन्त्रीकरण गर्ने उपायबारेका प्राज्ञिक चिन्तनलाई ससाना सूत्रमा रूपान्तरण गर्न कति सम्भव वा उचित हुन्छ ?

यी प्रश्नको सामना गर्नुअघि शिक्षकले छिचोलेका केही रोचक घुम्तीबारे नभन्दा कथा अपुरो हुन्छ । ऊ आफैंले स्नातक पढेका बेला यस्ता विषयहरू थिएनन् । पाठ्यक्रममा केके थिए भन्दा पनि कलेजका शिक्षकले पढ्नू भनेर सिफारिस गरेका टेक्स्टबुकमा के थिए भन्ने महत्त्वपूर्ण मानिने बेला थियो त्यो । स्नातकसम्म उसले न कुनै समाजशास्त्री मिश्रबारे थाहा पायो, न विल किम्लिकाजस्ता नाम नै सुन्न पायो । मिश्रहरू स्वयंले लेखेका लेख देख्न र सुन्नसम्म पाएको त एमएमा भर्ना भएपछि हो । तर यस तहमा पनि परीक्षा पास गर्न केही तयारी क्याप्सुलहरूकै खोजी भएको थियो । अनेक काकताली र संगतका कारण औपचारिक पढाइ सकेपछि मात्रै उसले यस्ता केही असली लिखत खोजी गरेर पढ्यो ।

अहिले लोकतन्त्र, विविधता र असमानताबारे कर्णधारहरूलाई पढाउन आइपुगेको शिक्षकलाई लाग्यो— विषय गम्भीर छ, त्यसैले अध्यापन–उद्यमले ठूलो मिहिनेतको माग गर्छ । ऊ आफूले पढाउनुपर्ने आलेखहरूमा घण्टौं घोत्लियो । यी विषयमा रुचि मिल्ने साथीहरूसँग कैयौं पटक अन्तरक्रिया गर्‍यो । मिल्दाजुल्दा थप सामग्री खोजेर विषयलाई अझ गहिराइमा बुझ्ने कोसिस गर्‍यो । तिनका विभिन्न आयामबारे सोच्यो । विषयवरपर नेपाली समाजबारे लेखिएका रैथाने लेख र किताबको सहारा लियो । यति काम गरिसकेपछि उसलाई लाग्यो, अब कक्षाकोठामा राम्रोसँग विमर्श सञ्चालन गर्न सकिन्छ । विद्यार्थीलाई बुझाउन र उनीहरूका प्रश्न सम्बोधन गर्न सम्भव हुन्छ । साथै, प्रत्येक पाठमा आउन सक्ने सम्भावित प्रश्नबारे पनि उसले सोच्न थाल्यो ।

पढाउनुपर्ने प्रत्येक पाठ प्रायः अंग्रेजीमा लेखिएका छन् । जटिल विषयमा गरिएका चिन्तन एवं प्राज्ञिक खोज सम्बन्धी लिखत सबै सरल हुँदैनन् । विषय दुरूह र लेखाइ जटिल भएपछि तिनलाई पढ्न र बुझ्न भाषामा एक तहको पकड आवश्यक हुन्छ । ठूलो यत्नसाथ अंग्रेजीमा पकड बनाएको शिक्षकले माथि भनिएका सबै काम गरेको थियो । त्यसैले पहिल्यै अंग्रेजी भाषाको बलियो पकड नबनाई स्नातक तहमा आइपुगेकालाई कसरी बुझाउन सकिएला भनेरसमेत उसले सोच्न थाल्यो ।

यी तमाम तयारी गर्दा उसका मनमा अनेक अन्तरविरोधी तर्कना नआएका होइनन् । जस्तो, जति मिहिनेत गरिन्छ, त्यस अनुसारको वेतन पाइन्छ ? जति वेतन हातलागी हुन्छ, के त्यसले काठमाडौं जस्तो महँगो सहरमा जीविका चलाउन सम्भव हुन्छ ? यति नै तयारी गरेर दिनको कति कक्षा लिन सम्भव हुन्छ ? एक विषयका तीन वा दुई विषयका चारभन्दा बढी कक्षा अध्यापन गर्न सम्भव नै छैन । निजी कलेजहरूमा दैनिक तीन वा चार कक्षा पढाएर गुजारा चलाउन असम्भव छ । अर्थात्, अध्यापनका साथै अन्य काम पनि गर्नुपर्ने बाध्यता आइलाग्छ । अन्य काममा समय र ऊर्जा गएपछि कक्षाका लागि यति तयारी गर्न सम्भव हुँदैन । अनि बिनातयारी पढाउनु जायज हुँदैन, न आफ्नो बौद्धिक विकास हुन्छ, न विद्यार्थीलाई न्याय गर्न सकिन्छ । तर्कका यस्ता जंगल फैलँदै गर्दा पनि उसले सबै तयारी गरेको थियो ।

लोकतन्त्र, बहुसंस्कृतिवाद, सामाजिक असमानता लगायत असहज विषयका गुत्थी फुकाउन यसरी तम्तयार भएको शिक्षकले भेट्यो हाम्रो विद्यार्थी पात्रलाई । ऊ करिब प्रतिनिधि पात्र हो । एक या दुई जना केही फरक भए पनि, अधिकांश ऊजस्तै विद्यार्थी थिए । यी सबै ससाना सूत्र र बुलेटका खोजीमा थिए । जाँचमा सोधिने प्रश्न कस्ता हुन्छन् र कस्ता उत्तर लेखे औसत वा अलि बढी अंक प्राप्त हुन्छ भन्ने मात्र ध्याउन्न थियो । हातमा चैतन्य मिश्र र राजेन्द्र प्रधानजस्ता समाजविज्ञानीका लामा आलेखहरू बोकेर कक्षामा पुगेको उसले विद्यार्थीका हातमा बजारमा पाइने रंगीन टेक्स्टबुक देख्यो । ‘असली बाजेका पेडा’ शैलीका पाठ्यपुस्तकका घेराबन्दीमा परेर मिश्र र प्रधानहरू महत्त्वहीन बन्लान् भन्ने चिन्तामै शिक्षकको समय र ऊर्जा बित्न थाल्यो ।

ठीक यहाँनेर उठाउनैपर्ने केही प्रश्न छन् । ज्ञान, प्रज्ञा र विवेकबाहेक अरू विषय प्राथमिक बनेपछि विद्यार्थी के बन्छ ? जीविका र सोभन्दा बढी भए सम्पत्ति थुपार्ने वैध र अवैध विधिको खोजीमा तल्लीन हुन्छ । ज्ञान, प्रज्ञा र विवेकको उद्यम गौण भएर जाँच पास मात्र गराउने ध्याउन्नमा पूर्णतया केन्द्रित भएपछि शिक्षक के बन्छ ? जीविका मात्र चलाउन जान्ने बजार व्यवस्थाको सामान्य पुर्जा । के यी दुई जीविकावादीको कथा ठूलो संख्याका आम नेपाली विद्यार्थी र शिक्षकको यथार्थ हो ?

प्रकाशित : पुस ३०, २०७८ ०८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?