लोडसेडिङको आभास दिलाउने समस्या- विचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लोडसेडिङको आभास दिलाउने समस्या

सम्पादकीय

अहिले घोषित रूपमा देशभर कहीँकतै विद्युतीय ‘लोडसेडिङ’ छैन । तर जाडोयाम सुरु भएसँगै सहरी क्षेत्र र विशेष गरी काठमाडौं उपत्यकामा बिजुली झ्याप्प–झ्याप्प जान थालेको छ, त्यो पनि बिनाजानकारी र कैयौं घण्टासम्म । लोडसेडिङ हटे पनि विद्युत् प्रणाली भरपर्दो र सुरक्षित हुन नसकेको भनेर जनगुनासाहरू बढ्न थालेका छन् ।

कुनै समय दैनिक १८ घण्टासम्म लोडसेडिङ भोगेको देशले अहिले मागभन्दा बढी बिजुली उत्पादन गरिरहेको छ । एउटै आयोजना माथिल्लो तामाकोसी जलविद्युत्बाट उत्पादित बिजुलीले काठमाडौं उपत्यकाको माग धान्न सक्छ । तर गुणस्तरीय विद्युत् आपूर्तिका सन्दर्भमा भने नेपाल विद्युत् प्राधिकरणले सर्वसाधारणलाई आश्वस्त पार्न सकिरहेको छैन ।

खासगरी सहरी क्षेत्र र काठमाडौं उपत्यकाको बिजुली व्यवस्थापन प्राधिकरणका लागि निकै ठूलो समस्याको विषय बनिरहेको छ । यसको एउटा प्रमुख कारण हो— जीर्ण र न्यून गुणस्तरको विद्युत् वितरण पूर्वाधार । विगतमा विस्तार गरिएको कमजोर पूर्वाधारमाथि छानबिन त गर्नैपर्छ तर फेरि लोडसेडिङको आभास दिलाउने वितरण प्रणाली तत्कालै सुधार्न पनि आवश्यक छ ।

गत हप्ता काठमाडौं उपत्यकाको बिजुली खपत ४७० मेगावाटसम्म पुग्यो । उपत्यकामा यो माग धान्न अहिले उत्पादन पर्याप्त छ । तर विद्यमान कमजोर वितरण प्रणाली, खासगरी ट्रान्सफर्मरहरूले भार धान्न नसकेर अहिले कुनै न कुनै ठाउँमा बिजुली आपूर्तिमा अवरोध देखिइरहेको छ । भार धान्न नसकेर तीन दिनमै पाँच दर्जनजति ट्रान्सफर्मर पड्किए, जले । सिंहदरबारभित्र प्राधिकरणको एउटा फिडरमा आगलागीसमेत भयो । गत वर्षको तुलनामा यस वर्ष उपत्यकाको विद्युत् माग ८० देखि १०० मेगावाटसम्म बढेको छ । उपत्यकाभित्रको वितरण प्रणालीले साढे ४०० मेगावाटभन्दा बढी बिजुलीको भार धान्दैन ।

उपत्यकाको विद्युत् वितरण प्रणाली करिब ३ हजार ८ सय ट्रान्सफर्मरले धानिरहेका छन् । एउटा ट्रान्सफर्मर बिग्रँदा दर्जनौं घरमा बिजुली जान्छ । अझ फिडर नै बिग्रिँदा कैयौं ट्रान्सफर्मर बिजुलीविहीन हुन्छन् । हिउँदको समय उपत्यकामा बिजुली खपत बढ्ने भएकाले हरेक वर्ष प्राधिकरणलाई भार व्यवस्थापनको सकस पर्छ । तर वितरण प्रणाली सुधारका लागि प्राधिकरणले गरिरहेका प्रयासहरू पर्याप्त छैनन् । उपत्यकाको बढ्दो बिजुली खपतलाई धान्न प्राधिकरणले जीर्ण र न्यून क्षमताको प्रसारण प्रणाली सुधार गर्नुपर्छ र त्यसका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन कार्य आवश्यक छ । अल्पकालका लागि चाँडोभन्दा चाँडो जीर्ण फिडर तथा ट्रान्सफर्मरहरू परिवर्तन गर्ने, मध्यकालका लागि नयाँ ट्रान्सफर्मरहरू थप्ने र दीर्घकालका लागि भूमिगत वितरण प्रणालीलाई प्रभावकारी बनाउने नीति लिनुपर्छ ।

प्राधिकरणले भूमिगत वितरण प्रणाली निर्माणको काम सुरु गरेकै एक वर्ष हुन लागिसक्यो तर यो परियोजना प्रभावकारी रूपमा अघि बढ्न सकेको छैन । एसियाली विकास बैंकको ऋण सहयोगमा बनिरहेको उपत्यका अन्डरग्राउन्ड केबलिङ प्रोजेक्ट सडक र खानेपानी कार्यालयका कारण सुस्त बन्दै गइरहेको छ । अन्तरनिकाय समन्वयको अभावमा भूमिगत वितरण प्रणालीको कामले गति लिन सकेको छैन । यो ढिलासुस्तीको हेक्का राखी कामलाई तीव्रता दिएर विद्युत् अनियमितताको अवस्था अन्त्य गर्नुपर्छ । अन्यथा दैनिकजसो दर्जनौं ट्रान्सफर्मर जल्ने र ओभरलोड भएर ट्रिपिङ हुने समस्या देखा परी नै रहनेछ ।

उपत्यकाको माग व्यवस्थापनकै लागि भनेर प्राधिकरणले अहिले चक्रपथबाहिरका विभिन्न नौ स्थानमा सबस्टेसनहरू बनाइरहेको छ । यी सबै सबस्टेसन बनिसक्दा उपत्यकाको प्रसारण र वितरण प्रणालीमा १ हजार मेगावाटसम्मको भार धान्ने क्षमता थपिन्छ । उपत्यकाका भित्री सडकमा पनि १२० केभी क्षमताका प्रसारण लाइन बिछ्याउनुपर्ने अवस्था सृजना भइसकेको छ । चक्रपथको बाहिरी क्षेत्रमा २२० र ४०० केभी क्षमताका हाई भोल्टेज प्रसारण लाइन बनाइनुपर्छ ।

चार वर्षअघिसम्म विद्युत् माग धान्न नसक्ने अवस्थामा रहेको प्राधिकरणका लागि अहिले उत्पादित विद्युत्‌को खपत सबैभन्दा ठूलो चुनौती बनेको छ । कार्यकारी निर्देशकका रूपमा दोस्रो कार्यकालका लागि आएलगत्तै कुलमान घिसिङले ऊर्जा खपतका लागि ‘उज्यालो र सफा सहर अभियान’ लागू गर्ने घोषणा गरे । सहरका सार्वजनिक स्थलहरूलाई उज्यालो बनाउने योजना कार्यान्वयनका लागि हालसम्म २० नगरपालिकासँग सम्झौता भइसकेको छ । अर्कातर्फ सबै औद्योगिक क्षेत्रमा चाहिएजति बिजुलीको सुविधा दिने भनेर प्राधिकरणले उद्योगी–व्यवसायीहरूलाई आश्वस्त तुल्याइरहे पनि त्यसमा सफलता भने पाएको छैन ।

सुक्खायाममा वितरण प्रणालीमा अझ बढी समस्या देखिन्छन् । प्राधिकरणले पोल सार्ने, ट्रान्समिटर बदल्ने लगायतका काम यही बेला बढी गर्छ । हिउँदयाममा हावाहुरीका कारण प्रसारण र वितरण प्रणालीमा हुने ट्रिपिङ अर्को समस्या हो । विद्युत्‌को माग पनि वर्षातमा भन्दा सुक्खायाममा बढ्छ । प्राधिकरणका अनुसार, पिक आवर साँझ ५ बजेदेखि ८ बजेसम्म र बिहान ५ बजेदेखि ९ बजेसम्म विद्युत्‌को माग अत्यधिक बढ्छ । हिटर, वासिङ मेसिन, आइरन, पानी तान्ने पम्प, राइसकुकर, टेलिभिजनजस्ता घरायसी विद्युतीय सामग्री यही बेला बढी प्रयोग हुन्छन् ।

ल्यापटप, मोबाइल फोनको चार्ज यही बेलामा हुन्छ । बर्सेनि उत्पादन र माग बढिरहेको विद्युत् वितरणलाई व्यवस्थित, भरपर्दो र गुणस्तरीय बनाउन सकिएन भने फेरि अघोषित लोडसेडिङकै अवस्था आउन सक्छ, जुन लोडसेडिङ अन्त्यको जस लिन होडबाजी गर्नेदेखि समग्र मुलुककै लागि प्रत्युत्पादक हुनेछ । यसकारण पनि लोडसेडिङको आभास दिलाउने वितरण प्रणालीमा तत्कालै सुधार ल्याउन जरुरी छ ।

प्रकाशित : पुस २०, २०७८ ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्

विपन्न–निरक्षर नागरिकलाई कानुनी पासो

सम्पादकीय

तामाकोसी खोलामा माछा मारेर जीवन गुजारा गर्ने दोलखाको माझीगाउँका आठ जनामाथि पीआरके ट्रेड इन्टरनेसनल नामको कम्पनी खोलेर ५ करोड ५६ लाख राजस्व छलेको भन्दै उच्च अदालत पाटनमा मुद्दा परेको छ । अदालतले मुद्दाको सुनुवाइका लागि आउन भन्दै पत्र पठाएपछि कुन दिन पक्राउ परिने हो भन्ने डरले माझीबस्ती भयभीत छ ।

वर्षौंदेखि गरिबी र अशिक्षामा जकडिएको उक्त गाउँका व्यक्तिहरूलाई भूकम्पपीडितको राहत उपलब्ध गराउने भन्दै संकलित नागरिकता तथा उनीहरूका हस्ताक्षर र ल्याप्चे दुरुपयोग गर्दै कम्पनी खोलिएको थियो । त्यसरी खोलिएको कम्पनीबाट राजस्व चुहावट गर्ने मुख्य व्यक्ति फरार छन् भने माझीहरू आफूले गर्दै नगरेको अपराधका लागि जेल जान सक्ने डरले त्रसित छन् ।

त्यस्तै प्रदेश–२ को बारा जिल्लाको परवानीपुर–१ का उमाशंकर रायभर पनि यस्तै ठगी गर्ने गिरोहको फन्दामा परेका छन् । करिब २८ करोड रुपैयाँको राजस्व छली गरेको अभियोगमा उनलाई गत वर्षको फागुन १९ देखि नख्खु कारागारमा राखिएको छ । उच्च अदालत पाटनले माग गरेको ७५ लाख रुपैयाँ धरौटी बुझाउन नसकेर उनले जेल जीवन बिताउनुपरिरहेको छ । बिहान–साँझ हातमुख जोड्न पनि धौधौ पर्ने परिवारका उमाशंकरबाट अदालतले अत्यन्त चर्को धरौटी रकम माग गरेको छ ।

हाम्रो समाजका गरिब, अशिक्षित र निमुखा नागरिक कसरी ठगहरूको फन्दामा पर्छन् र उनीहरूमाथि राज्य संयन्त्रबाट कसरी थप ज्यादती हुन्छ भन्ने यी प्रतिनिधि घटना मात्र हुन् । यस्ता घटनाको सूची लामो छ । उनीहरू राजस्व अनुसन्धान विभाग, महान्यायाधिवक्ताको कार्यालय (मातहतका सरकारी वकिलको कार्यालयसमेत) र अदालतजस्ता राज्य संयन्त्रले गरेका गलत र अनुचित निर्णय–अनुसन्धान–अभियोजन–आदेशको सिकार भएका छन् । यी घटनाबाट राज्यका यस्ता निकायमाथि केही गम्भीर प्रश्नहरू उब्जेका छन् ।

राजस्व अनुसन्धान विभाग मुलुकमा राजस्व चुहावट नियन्त्रण गर्नका लागि गठन भएको विशिष्टीकृत निकाय हो । राजस्व चुहावट र विदेशी विनिमय अपचलनसम्बन्धी कसुरमा अनुसन्धान, तहकिकात र अभियोजन गर्ने अधिकारप्राप्त विभाग अहिले देशको कार्यकारी शक्ति अभ्यास गर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत क्रियाशील छ । राजधानीबाहेक इटहरी, पथलैया, बुटवल र कोहलपुरमा पनि यसका कार्यालय छन् ।

यस्तो स्रोतसाधन र शक्तिसम्पन्न विभागले गर्ने अनुसन्धान किन यति फितलो हुन्छ ? अभियोग लगाइएका व्यक्तिहरूको नागरिकतालगायतका कागजात र अन्य विवरण कम्पनी स्थापना गर्नका लागि दुरुपयोग गरिएको मात्र हो वा उनीहरू त्यस्ता कम्पनीले गरेको ठगी र राजस्व छलीका लाभग्राहीसमेत हुन् ? लाभग्राही होइनन् र ठगी गरिएको रकमको प्रयोग अन्य व्यक्ति/समूह वा कम्पनीले गरिरहेका छन् भने नागरिकताको फोटोकपी दिएका कारणले मात्रै माझीगाउँ वा मधेसको देहातका सर्वसाधारणविरुद्ध करोडौं ठगीको मुद्दा चलाइनुपर्ने किन हो ? के हाम्रो राजस्व अनुसन्धान विभागले परिबन्दमा परेका सर्वसाधारण जनता र उनीहरूका कागजात दुरुपयोग गरी कम्पनी खडा गरेर करोडौं रकम ठगी गर्नेहरूबीच भेद छुट्ट्याउने क्षमतासम्म राख्दैन ?

यस्तै प्रश्न महान्यायाधिवक्ता कार्यालयअन्तर्गतका सरकारी वकिलको कार्यालयमाथि पनि उठेका छन् । राजस्व चुहावटका मुद्दाहरूको सुरु सुनुवाइ नै उच्च अदालतमा हुने भएकाले खास गरी उच्च सरकारी वकिलको कार्यालयले अभियोजन गर्दा पर्याप्त ध्यान पुर्‍याएको देखिँदैन । अनुसन्धान गर्ने निकायले गरेको अनुसन्धान पूर्ण नभएको, मुद्दा चलाउन पर्याप्त प्रमाणहरू नपुगेको अवस्थामा थप अनुसन्धान गर्न र प्रमाण जुटाउन आवश्यक निर्देशन दिन सक्ने अधिकार उच्च सरकारी वकिलको कार्यालयलाई छ ।

प्रहरीले अनुसन्धान गर्ने अन्य कतिपय आपराधिक घटनामा मुद्दा चलाउनुअघि जिल्ला सरकारी वकिलको कार्यालयले फाट्टफुट्ट रूपमा त्यसरी निर्देशन दिने गरेका छन् । तर, राजस्व चुहावटसम्बन्धी मुद्दामा राजस्व अनुसन्धान विभागले तयार पारेको प्रतिवेदनकै आधारमा सीधै मुद्दा चलाएको देखिन्छ । त्यसरी मुद्दा चलाउँदैमा सरकारी वकिलले आफ्नो दायित्व पूरा गरेको मान्न सकिँदैन । निर्दोष मानिसमाथि मुद्दा चलेका कारण ऊ थप पीडित हुनु नपरोस् भन्नेतर्फ थप चनाखो बन्नैपर्छ । गतिलो अनुसन्धान नभएको र कुनै पनि व्यक्तिलाई मुद्दा चलाउन चाहिने प्रमाण नपुगेको अवस्थामा वा आरोप लगाइएको व्यक्तिले कसुर गरेको नदेखिएमा मुद्दा नचलाउने निर्णयसमेत गर्नुपर्छ । सरकारी वकिलको कार्यालयलाई संविधानले नै त्यस्तो अधिकार दिएको छ ।

त्यस्तै, उच्च अदालतहरूको भूमिकामाथि पनि प्रशस्त प्रश्न उठ्ने ठाउँहरू पाइएका छन् । जिल्ला प्रशासन कार्यालय, राष्ट्रिय निकुञ्ज तथा वन कार्यालय, भूमिसुधार कार्यालयजस्ता अर्धन्यायिक निकाय तथा जिल्ला अदालतहरूले गरेका आदेश र फैसलाको पुनर्परीक्षण गर्नका लागि संविधानले नै उच्च अदालतहरूलाई जिम्मेवारी दिएको छ । मौलिक हक उल्लंघन भएको अवस्थामा त्यसको उपचार दिन पहिले सर्वोच्च अदालतले मात्रै अभ्यास गर्ने रिट क्षेत्राधिकार पनि उच्च अदालतलाई सुम्पिएबाट संविधानले यी अदालतहरूलाई शक्तिशाली बनाउन खोजेको देखिन्छ । कतिपय मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गर्न नपाइने गरी उच्च अदालतबाटै अन्तिम फैसलासमेत हुन्छन् ।

यस्तो महत्त्वपूर्ण जिम्मेवारी भएका उच्च अदालतहरूले राजस्व अनुसन्धान र उच्च सरकारी वकिलको कार्यालयले गरेको ‘गलत’ अनुसन्धान र अभियोजनलाई नै मान्यता दिने गरी अभियोग लाग्नेबित्तिकै थुनामा पठाउने वा अत्यन्त चर्को धरौटी माग्ने आदेश गरिरहेको देखिएको छ । अभियुक्तको आर्थिक हैसियतले धान्न नसक्ने धरौटी माग गर्ने र तिर्न नसकेमा थुनामा जान बाध्य पार्ने गरी भएका अदालतका आदेशलाई कदापि न्यायोचित मान्न सकिँदैन ।

‘कुनै अभियोग लागेको व्यक्तिलाई कसुर प्रमाणित नभएसम्म कसुरदार मानिनेछैन’ भन्ने सिद्धान्तलाई हाम्रो संविधानले समेत स्वीकार गरेको छ । त्यस्तै फौजदारी कानुनको अर्को सिद्धान्तले भन्छ— बरु सय जना दोषी व्यक्ति जेलबाट छुटून्, तर एक जना पनि निर्दोष थुनामा नपरोस् ।’ राजस्व चुहावटका मुद्दामा थुनछेकको आदेश गर्दा वा फैसला गर्नुअघि उच्च अदालतका न्यायाधीशहरूले यस्ता सिद्धान्तमा विचार पुर्‍याउनैपर्छ ।

केही गरी निरपराध व्यक्ति अदालतको आदेशका कारण जेलमा थुनिन बाध्य भएको छ भने उसलाई हुने क्षतिको पूर्ति कहिल्यै हुन सक्दैन । पछि अन्तिम फैसला हुँदा उक्त व्यक्ति निर्दोष पाइयो भने पहिल्यै थुनामा बस्न बाध्य पारिएका कारण भएको अपूरणीय क्षतिको कल्पना पनि गर्न सकिँदैन । त्यस्तो अवस्थामा उक्त व्यक्ति, परिवार र सिंगो समाजको नजरमा अदालतप्रतिको जनआस्था गिरावट हुनेछ । त्यसैले कसुर गरेको भन्ने कुरामा थोरै मात्र शंका छ भने कसैलाई पनि कसुरदार ठहर्‍याउन वा थुनामा पठाउन मिल्दैन ।

आफूमाथि गलत अभियोजन भएको दाबीसहित न्यायको याचना गर्दै कठघरामा उभिएका देहातका उमाशंकरजस्ता व्यक्ति साँच्चै करोडौं राजस्व छलीमा संलग्न व्यक्ति हुन् वा उनीहरूलाई फसाइएको हो भनेर छुट्ट्याउनसमेत नसक्ने हो भने उच्च अदालतका न्यायाधीशहरूको कार्यक्षमतामाथि पनि गम्भीर प्रश्न उठ्नेछ ।

प्रकाशित : पुस १९, २०७८ ०७:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×