कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भरोसायोग्य प्लाज्माथेरापी

सुमनराज ताम्राकार

कोरोना कहर खप्न थालेको महिनौं भइसके पनि यो महामारीको पटाक्षेप कसरी हुने हो, केही निश्चितता छैन । आम मानिस एवं चिकित्सकहरूको ठूलो आशा खोपमा छ तर निकट विकटमा यसको सम्भावना छैन ।

भरोसायोग्य प्लाज्माथेरापी

खोप बनिहाले पनि सुरुमा निकै महँगो हुने, सहजै नपाइने तथा विकसित देशहरूकै हालीमुहाली हुने हुनाले युनिसेफ वा विश्व स्वास्थ्य संगठन लगायतले सहयोगी भूमिका नखेले नेपालजस्ता देशका लागि यो ‘आकाशको फल, आँखा तरी मर्’ साबित हुनेछ ।

यस्तैमा अमेरिकाको खाद्य तथा औषधि प्रशासन (एफडीए) ले आशंकाका बीच कोरोनाको उपचारका लागि रेमडेसिभिरलाई स्वीकृति दियो, जुन एफडीएको इतिहासमा अपवादजस्तै हो । रेमडेसिभिर नामको एन्टिभाइरल औषधिको असर थोरै आसलाग्दो भए पनि महँगो हुनुका साथै धेरैपटक दिनुपर्ने एवं सहजै नपाउने समस्या छ । कतिपय मुलुकमा गरिएका स–साना स्केलका अध्ययनहरूबाट रेमडेसिभिर प्रभावकारी छैन भन्ने समाचार आइरहेका छन् ।

यस्तो परिस्थितिमा नेपालजस्तो विकासोन्मुख देशहरूका लागि प्लाज्माथेरापी वरदानसिद्ध हुन सक्छ र केही हदसम्म राम्रो नतिजा पनि मिलिरहेको छ । थोरै बाध्यता अनि भरपर्दो विकल्पको अभावमा नेपालमा कोरोना संक्रमित भई अस्पतालमा भर्ना भएका बिरामीहरूका लागि प्लाज्माको माग निकै बढ्दो छ । प्लाज्मादानकै कारण समाजमा कोरोना संक्रमणबाट तङ्ग्रिएका व्यक्तिहरूको प्रतिष्ठा बढ्न थालेको छ ।

प्लाज्माथेरापी नौलो प्रविधि भने होइन । करिब एक शताब्दीअगाडि नै भ्यागुते रोगमा प्लाज्माथेरापी काम लाग्छ भनेर प्रमाणित गरेका कारण इमिल भन बेहरिङले चिकित्साशास्त्रतर्फको पहिलो नोबेल पुरस्कार पाएका थिए । समयक्रममा धनुष्टंकार र पछिल्लो समय इन्फ्लुएन्जा, सार्स, स्वाइन फ्लु र इबोला संक्रमणविरुद्ध पनि प्लाज्माथेरापीको उपयोग गरियो ।

मानिसको रगतमा रातो, सेतो र प्लेटलेट्स गरी तीन प्रकारका कोषहरू हुन्छन् । रातो रक्तकोषले मानिसका लागि आवश्यक अक्सिजन प्रत्येक कोषमा पुर्‍याउन मद्दत गर्छ भने, सेतो रक्तकोषले मानव शरीरलाई आक्रमण गर्ने संक्रामक एवं बाह्य तत्त्वबाट प्रतिरक्षा गर्छ । प्लेटलेट्सले चाहिँ घाउ, चोटपटक लाग्दा रगत थाम्नमा सघाउँछ । यी सबै कोष रगतको तरल भागमा तैरिरहेका हुन्छन् । रगतबाट यी सबै कोष हटाएपछि बाँकी हुने भाग नै प्लाज्मा हो । मानिसको रगतमा ४५ प्रतिशत कोष र ५५ प्रतिशत प्लाज्मा हुन्छ । प्लाज्मा हल्का पहेंलो हुन्छ । समग्रमा रगतमा ९१ प्रतिशत पानी हुन्छ ।

मानिस लगायतका प्राणीको शरीरमा कुनै पनि घातक बाह्य वस्तु (जसलाई एन्टीजेन भनिन्छ) छिरेपछि त्यसविरुद्ध प्रतिरोधात्मक क्षमता (एन्टीबडी) विकसित हुन्छ । संक्रमणसँग लड्न विकसित प्रोटिनयुक्त एन्टीबडी रगतको प्लाज्मा भागमा हुन्छ । एकपटक संक्रमणबाट मुक्त भएपछि एन्टीबडीले भावी दिनमा त्यस्ता बाह्य तत्त्व (वा संक्रमणविशेष) विरुद्ध फेरिफेरि लड्न मद्दत पुर्‍याउँछ । यस्तो एन्टीबडीले व्यक्तिविशेषलाई फाइदा पुर्‍याउने त भैहाल्यो, उसको रगत (प्लाज्मा) निकालेर अन्य संक्रमितलाई दिए फाइदा पनि पुग्छ । अनि संक्रमित व्यक्तिलाई आफैंले एन्टीबडी उत्पादन गर्नुअघि नै संक्रामक तत्त्व (भाइरस) विरुद्ध लड्न बल मिल्छ ।

कोरोना वा अन्य संक्रमणमा एकपटक संक्रमित भएर तङ्ग्रिएका व्यक्तिहरूबाट निकालिएको प्लाज्मा उपयोगमा ल्याइने हुनाले यसलाई मेडिकल भाषामा ‘कन्भालासेन्ट प्लाज्माथेरापी’ भनिएको हो । त्यसो त खोपका माध्यमबाट दिइने प्रतिरोधात्मक क्षमता सक्रिय खालको हुन्छ भने प्लाज्माको चाहिँ निष्क्रिय खालको । कोरोना संक्रमणको हकमा प्लाज्माथेरापीको आफ्नै महत्त्व छ किनभने यो नयाँ खालको भाइरस भएका कारण यसअगाडि कोही पनि यसको समीपमा आएको थिएन । भनेपछि, कसैसँग यसअघि कोरोनाविरुद्ध एन्टीबडी हुने कुरै भएन । भलै खोपको दाँजोमा प्लाज्माथेरापीद्वारा दिइएको प्रतिरोधात्मक शक्ति अस्थायी हुने गरे पनि विश्व स्वास्थ्य संगठनले यसलाई आकस्मिक अवस्थाका लागि सिफारिस गरेको छ । विश्वमा करोडौं अनि नेपालमै पनि आधा लाखभन्दा बढी व्यक्ति संक्रमित भैसकेको परिस्थितिमा प्लाज्माथेरापीको महत्त्व बढेको छ ।

नेपालमै पनि कतिपय संक्रमित व्यक्तिलाई प्लाज्माथेरापीबाट फाइदा पुगेको छ । हालसम्म अस्पतालमा भर्ना भएका एवं कोभिड–१९ को सुरुआती लक्षण भएकामा यो थेरापी सुरक्षित पाइएको छ । अस्पतालमा भर्ना भएका संक्रमितहरूमा प्लाज्माथेरापीपछि अक्सिजनको स्तर, ज्वरो, खोकी, स्याँस्याँजस्ता लक्षणमा सुधार आएको पाइएको छ । तर मध्यमदेखि सिकिस्त केसमा भने केकति फाइदा पुग्छ, अनुसन्धान प्रक्रियामै छ । हालसम्म नेपालका १२ अस्पताललाई प्लाज्माथेरापीका लागि स्वीकृति दिइएको छ ।

संक्रमण हटेको तथा पीसीआर नेगेटिभ भएको दुई–चार हप्तापछि प्लाज्मा दिन योग्य मानिन्छ । सामान्य रक्तदानमा ५०० मिलि रगत निकालिने भए पनि कोरोनामुक्त व्यक्तिको रगत भने एकपटकमा आवश्यकता हेरी २०० मिलिदेखि ४०० मिलिसम्म निकालिन्छ । कोरोनामुक्त व्यक्तिले रक्तदानमा जस्तै केवल रगत दिए पुग्छ । रक्तसञ्चार केन्द्र वा अस्पतालमा त्यस्तो रगतबाट प्लाज्मा छुट्याइन्छ र चिसो बनाएर भण्डारण गरिन्छ । यस्तो खालको फ्रोजन प्लाज्मा आवश्यकताअनुसार पुनर्प्रयोगमा ल्याइन्छ ।

कोरोनाबाट तङ्ग्रिएकाहरूले एक पटकभन्दा बढी प्लाज्मा दिन सक्छन् । सातामा दुईपटकसम्म दिन सकिन्छ । यसरी एक व्यक्तिको प्लाज्माले दुई संक्रमितलाई पुग्छ । रक्तदानमा जस्तै प्लाज्मा लिनेदिने दुवैको रक्तसमूह मिल्नुपर्छ । प्लाज्माथेरापीका कारण कसैकसैमा यससँग सम्बन्धित रियाक्सनका कारण फोक्सोमा एक्कासि चोट पुग्ने हुन सक्छ । अहिलेसम्मको अनुभवमा कोरोनामुक्त सुत्केरीको रगत अन्य संक्रमितलाई दिँदा यस्तो जोखिम बढ्ता देखिएको छ । रक्तदान, आँखाको नानी दान, शरीरदान, छालादान, मानवअंग दानजस्तै अहिलेको परिप्रेक्ष्यमा प्लाज्मादान पनि निकै पुण्यको काम हो ।

(ताम्राकार चिकित्सक हुन् ।)

प्रकाशित : कार्तिक २८, २०७७ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?