कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोभिड संक्रमण र रेडियोलोजी

कोभिड–१९ अबको केही दिनको मात्र समस्या नभएकाले सुरक्षित, संयमित र स्वस्थ जीवनशैली नै हामी सबैका लागि प्रतिरक्षाको एक मात्र विकल्प हो ।
बेनु लोहनी, सुजितकुमार झा

मानव सभ्यताले संक्रामक रोग र बेलबखतको महामारीबाट आदिकालदेखि नै विभिन्न चुनौतीको सामना गर्दै आइरहेको छ । मलेरिया, क्षयरोग, बिफर, इन्फ्लुएन्जा, हैजा, प्लेगजस्ता रोगहरू मानव सभ्यतासँगै परिष्कृत हुँदै गए र ठूलै जनधनको क्षति गरे; कति हराउँदै गए, कतिले संसारलाई अझै आक्रान्त पारिरहेका छन् ।

कोभिड संक्रमण र रेडियोलोजी

प्रकृतिले मनुष्यको शरीरमा विभिन्न रोगबाट बच्न प्रतिरोधात्मक क्षमता प्रदान गरेको हुन्छ । त्यही क्षमतालाई चिर्दै र विज्ञानको सीमितता तथा मानव सभ्यताको चरम आधुनिकीकरणको उपहास गर्दै विभिन्न रोग हामीमाझ विकराल रूपमा प्रस्तुत हुने गर्छन् । महिनौंपहिले चीनमा कोभिड–१९ को उद्गम हुँदा यो रोगले यस्तो रूप धारण गर्ला भन्ने अनुमान कतै थिएन, र आज यसबारे विभिन्न खोज–अनुसन्धान चलिरहँदासमेत भविष्यमा यसको प्रारूप कस्तो होला भनी किटान गर्न सकिने अवस्था छैन । हाललाई यो रोगसँगै बच्दै र संयमित हुँदै जीवनयापन गर्नुको विकल्प छैन ।

रोकथाम, पहिचान र निदानले रोगलाई नियन्त्रणमा राख्छ । चिकित्सा विज्ञानका विभिन्न संकायको सामूहिक प्रयासबाट विगतमा अनेक संक्रामक रोगउपर विजय प्राप्त गरिएको सर्वविदितै छ । चिकित्सा विज्ञानको उदाउँदो र बहुआयामिक एक संकाय हो– रेडियोलोजी । सामान्य भाषामा रेडियोलोजी भन्नाले विकिरणको प्रयोगबाट शरीरभित्रका अंगको अध्ययन बुझिन्छ । सन् १८९५ मा विल्हेल्म कोनार्ड रोन्टजेनको एक्स–रेको आविष्कारदेखि अहिले सूक्ष्म घाउ मात्रबाट गरिने विभिन्न अंगका जटिल शल्यक्रियाहरूले समेत रेडियोलोजीले चिकित्सा विज्ञानमा मारेको फड्को दर्साउँछन् । रोग पत्ता लगाउन भनेर सुरु भएको डाइग्नोस्टिक रेडियोलोजी आज रोग निदानका लागि हुने इन्टरभेन्सनको अभिन्न अंग बनेको छ । शरीर नचिरीकनै विभिन्न अंग कम्प्युटरमा हेर्न मिल्ने र त्यसलाई सामान्य घाउ मात्रबाट विभिन्न पाइप र तारका मद्दतले शल्यक्रिया गर्न मिल्ने भएपछि रेडियोलोजीले चिकित्सा संसारमा नयाँ आयाम थपेको छ । अहिले विकिरणको प्रयोग गर्ने एक्स–रे, सीटी स्क्यान, म्यामोग्राम, फ्लुरोस्कोपी, एन्जियोग्राफी तथा विकिरणरहित अल्ट्रासाउन्ड, एमआरआई लगायतबाट रोग पत्ता लगाउने तथा निदान गर्ने गरिन्छ । रेडियोलोजी विभागको विकास र यस अन्तर्गतका सूक्ष्म शल्यक्रिया पद्धतिहरूलाई पाश्चात्य जगत्मा अस्पतालको सूचकका रूपमा समेत हेर्ने गरिन्छ ।

विश्व स्वास्थ्य संगठनले कोभिड–१९ सम्बन्धी विभिन्न जानकारी तथा सन्दर्भ सामग्री उपलब्ध गराउँदै आएको छ । मिल्दाजुल्दा यस्तै रोगहरू विगतमा देखिए पनि कोभिड–१९ विभिन्न रूपमा नौलो छ । हालसम्मको प्रयासले यस रोगबाट बच्न सकिने जीवनशैली, रोग पहिचानका आधारहरू र उपचारका लागि गर्न सकिने विभिन्न प्रयत्नबारे सफल अन्वेषण गरेको भए पनि रोग नियन्त्रणका लागि खोप र भाइरस निष्क्रियताका लागि ओखती भने अझै परीक्षणकै क्रममा छन् । कोरोना भाइरस प्रमुखतः श्वास–प्रश्वासका माध्यमबाट सर्ने गर्छ । नाक तथा माथिल्लो सासनली हुँदै तल्लो सासनली र फोक्सोलाई कोरोना भाइरसले आक्रान्त पार्छ र फोक्सोका कोषिकाहरूलाई क्षति गर्छ । त्यही क्षतिका कारण शरीरले फोक्सोबाट प्राप्त गरिरहेको अक्सिजनमा कमी आउन थाल्छ र विभिन्न जोखिमहरू उत्पन्न हुन थाल्छन् । पीसीआर प्रविधिबाट माथिल्लो सासनलीमा रहेका भाइरसको पहिचान गर्न सकिन्छ र यो नै सबैभन्दा विश्वसनीय र प्रचलित विधि हो ।

रेडियोलोजीको प्रयोगबाट शरीरका भित्री अंगहरूको जानकारी हुने भएकाले कोभिड–१९ को क्षति पहिचानमा रेडियोलोजीको भूमिका रहन्छ । छातीको एक्सरे र सीटी स्क्यानबाट फोक्सोको स्थितिबारे जानकारी प्राप्त गर्न सकिन्छ । सीटी स्क्यान प्रविधिको प्रयोगबाट कोभिड–१९ को पहिचान र स्क्रिनिङ गर्न सकिने विभिन्न आकलन भए पनि अमेरिकन कलेज अफ रेडियोलोजीले उपचाररत बिरामीहरूमा मात्र यसको प्रयोग गर्न निर्देशिका जारी गरेको छ । कोभिड–१९ को संक्रमणले फोक्सोमा देखिने असरहरू चित्रमा उतार्न सकिने भएकाले रोगको असर बढ्दो वा घट्दो के छ भनेर अध्ययन गर्न सकिन्छ । यसले रोगको समग्र निदानमा महत्त्वपूर्ण र निर्णायक भूमिका निर्वाह गर्छ । कोरोना भाइरसको संक्रमणसँगै फोक्सोमा विभिन्न किसिमका दाग देखा पर्छन् । यिनै दागहरूको अवस्था, प्रकार र वितरणबाट रोगको स्थितिबारे जान्न सकिन्छ ।

कोभिड–१९ बाहेकका उस्तै प्रकृतिका अन्य संक्रमणबाट समस्या उत्पन्न भएको हुन सक्ने जानकारीसमेत हासिल गर्न सकिन्छ । अल्ट्रासाउन्डको प्रयोगबाट समेत सिकिस्त बिरामीहरूमा विकिरणरहित तवरले विभिन्न शारीरिक स्थितिको जानकारी प्राप्त गर्न सकिन्छ । कोभिड–१९ हाल पनि अनुसन्धानकै विषय रहेकाले यससम्बन्धी विभिन्न तथ्य भविष्यमा अझ उजागर हुँदै जानेछन् ।

रेडियोलोजीको प्रयोग अनिवार्य रूपमा चिकित्सकीय सल्लाह र आवश्यकताअनुरूप मात्र गर्नुपर्छ । स्वपहिचानका लागि आफैं एक्सरे र सीटी स्क्यान गराउँदा जोखिम बढ्ने सम्भावना उच्च हुन्छ । एकातर्फ विकिरणको प्रयोगबाट सञ्चालित हुने यी जाँचहरूले शरीरमा क्षति पुर्‍याउन सक्छन् भने, अर्कातिर सीमित स्रोत भएको हाम्रो देशमा संक्रमितले बिनासावधानी यस्ता यन्त्रको उपयोग गर्दा अन्य बिरामी र स्वास्थ्यकर्मीमा भाइरस सर्ने सम्भावना रहन्छ ।

कोभिड–१९ को महामारी जति विकराल भए पनि यसबाट सुरक्षित रहने उपायहरू अवलम्बन गर्न सके उति नै सहज छन् । मानिस–मानिसबीच न्यूनतम एक मिटरको भौतिक दूरी, अन्य व्यक्तिको नजिक वा सम्पर्कमा रहँदा मास्कको प्रयोग तथा नियमित हातको सरसफाइ गर्नाले मात्र पनि यो रोगबाट अधिकतम सुरक्षित रहन सकिन्छ । ज्वरो, रुघाखोकी वा श्वास–प्रश्वासमा केही समस्या आएमा अनिवार्य चिकित्सकीय परामर्श लिनुपर्छ । कोभिड–१९ अबको केही दिनको मात्र समस्या नभएकाले सुरक्षित, संयमित र स्वस्थ जीवनशैली अपनाउनु नै हामी सबैका लागि एक मात्र प्रतिरक्षाको विकल्प हो ।

(लोहनी र झा चिकित्सक हुन् ।)

प्रकाशित : कार्तिक २३, २०७७ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?