परराष्ट्र सम्बन्धमा सकारात्मक चिन्तन- विचार - कान्तिपुर समाचार

परराष्ट्र सम्बन्धमा सकारात्मक चिन्तन

संवादहीनताको अन्त्यका लागि प्रधानमन्त्री मोदीको सन्देश लिएर जोसुकै आएको भए पनि नेपालका प्रधानमन्त्रीले भेट्नु नै उपयुक्त थियो र त्यो व्यक्तिमार्फत आफ्नो सन्देश पनि पठाउन आवश्यक थियो ।
सूर्यप्रसाद सुवेदी

हालै नेपाल भ्रमणमा आएका भारतीय गुप्तचर संस्थाका प्रमुख र प्रधानमन्त्री केपी ओलीबीचको भेटघाटलाई लिएर विभिन्न नकारात्मक टिप्पणी भएको पाइयो ।

भेटघाटको तौरतरिकामा भन्दा उनले प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट के सन्देश लिएर आएका रहेछन् र प्रधानमन्त्री ओलीले उनीमार्फत के सन्देश पठाएका रहेछन् भन्नेतर्फ बढी जिज्ञासा हुनुपर्थ्यो । तर, त्यो देखिएन । लिम्पियाधुरा, लिपुलेक र कालापानी लगायतका नेपालको भूभाग फिर्ता लिने काम सजिलो छैन । सामरिक महत्त्वका यी भूभाग भारतले त्यसै छोड्दैन भनी अन्तर्राष्ट्रिय सम्बन्धबारे जानकारी राख्ने जोसुकैले बुझ्ने कुरा हो । संवाद र अन्तर्राष्ट्रिय कानुनको सहायता लिएर नेपाल अगाडि बढेमा यो सम्भव कुरा हो । तर, नेपालले प्रयास गर्दा पनि यो विषयमा भारतसँग संवादहीनताको अवस्था थियो । त्यसैले संवादहीनताको अन्त्यका लागि प्रधानमन्त्री मोदीको सन्देश लिएर जोसुकै आएको भए पनि नेपालका प्रधानमन्त्रीले भेट्नु नै उपयुक्त थियो र त्यो व्यक्तिमार्फत आफ्नो सन्देश पनि पठाउन आवश्यक थियो । नेपालमा कस्तो दूत पठाउने, त्यो प्रधानमन्त्री मोदीको सोचको कुरा हो । नेपालमा अरू जोसुकै प्रधानमन्त्री भए पनि सम्भवतः यसै गरी भेट गर्नुको विकल्प हुँदैनथ्यो होला ।

समकालीन नेपालमा प्रधानमन्त्री ओली एक प्रकारका चतुर खेलाडी नै हुन् । प्रधानमन्त्री ओलीका पनि कमजोरी छन् र उनीबाट केही गलत काम पनि भएका छन् । तर, नेपाल–भारत सम्बन्धका बारे सन् २०१५ को नाकाबन्दीको समयदेखि नै अहिलेसम्म ओलीजीले लिएका अडानहरू राष्ट्रिय हितमा छन् । त्यसैले मैले आलोचनाभन्दा उनलाई सकारात्मक सुझाव दिनु नै श्रेयस्कर ठानेको छु एवं वर्तमान अन्तर्राष्ट्रिय कानुन र अन्तर्राष्ट्रिय अभ्यासले कसरी नेपालको अडानलाई समर्थन गर्छ भन्ने आफ्ना विश्लेषणात्मक विचार पनि व्यक्त गरेको छु । अंग्रेजसँगको युद्धमा नराम्रो पराजय भोगेपछि खुम्चिएको नेपालको सैन्य शक्ति धेरै कमजोर भएको थियो । त्यसैले नेपालले उदाउँदो ब्रिटिस साम्राज्यलाई खुसी पारेर आफ्नो स्वाधीनताको संरक्षण गर्ने नीति अख्तियार गरेको थियो । तत्कालको राजनीतिका चतुर खेलाडी जंगबहादुरले त्यही गरेका थिए र नेपालले नयाँ मुलुक फिर्ता पाएको थियो । राजनीतिका अर्का चतुर खेलाडी चन्द्रशमशेरलाई पनि बेलायतले पुरस्कृत गर्न उनको सन् १९०८ को बेलायतको राजकीय भ्रमणको समयमा अक्सफोर्डको महाविद्यावारिधिजस्तो सर्वोच्च उपाधि दिएको थियो । प्रसंगवश, आफ्नो प्राज्ञिक योगदानको भरमा, गत वर्ष अक्सफोर्डको यस्तो सर्वोच्च उपाधि पाउने चन्द्रशमशेरपछिको पहिलो नेपाली यो पंक्तिकार बनेको थियो । चन्द्रशमशेरको यस्तै चतुर प्रयासका कारण कहिल्यै सूर्य नअस्ताउने साम्राज्य भनेर चिनिएको शक्तिशाली बेलायती साम्राज्यसँग सन् १९२३ मा नेपाल सार्वभौमिक समानताको पारस्परिक मान्यता हुने सन्धि गर्न सफल भएको थियो । तसर्थ, नेपालजस्तो सानो देशले चतुर खेलाडी नभई र अन्तर्राष्ट्रिय कानुनको खुट्टा नटेकी लिम्पियाधुरा लगायतका भूभाग फिर्ता पाउन गाह्रो छ ।

राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा राष्ट्रहरूबीचका यस्ता संवेदनशील मामिलामा सल्लाह दिएको अनुभवका आधारमा र नेपाल–भारत सम्बन्धका अन्तर्राष्ट्रिय कानुनी पक्षका प्रायः आयाममा अध्ययन–अनुसन्धान गरी अन्तर्राष्ट्रिय स्तरमा कृतिहरू प्रकाशन गरेको व्यक्तिको नाताले म यी कुरा लेख्दै छु । बेलामौकामा नेपाल सरकारले सल्लाह माग्दा राजा वीरेन्द्रका पालादेखि गिरिजाबाबु र प्रचण्डजी हुँदै ओलीजीसम्मलाई सरसल्लाह दिएको हुनाले नेपालको परिस्थितिको म जानकार नै छु ।

यही वर्ष पनि नेपाल–भारत सीमासम्बन्धी विज्ञ समूहमा काम गर्ने आग्रह गरियो र मैले आफ्नो भूमिका निर्वाह गरें । अन्तर्राष्ट्रिय रूपमै आफ्नो प्राज्ञिक क्षमताले खेल्न सक्ने खुला मैदानको खेलाडी भएको मलाई प्रधानमन्त्री ओलीको पक्षमा बोल्नु आवश्यक छैन र बोलेर लिने–पाउने पनि केही छैन । लामो समयसम्म नेपाल–भारत सम्बन्धमा काम गरेको व्यक्तिको नाताले, नेपालले न्याय पाओस् र नेपाल–भारत सम्बन्ध राम्रो रहोस् भन्ने मात्रै मेरो कामना र प्रयास हो ।

त्यसैले प्रबुद्ध नेपालीहरूले देशका प्रधानमन्त्रीलाई सोचमूलक सल्लाह र सुझाव दिएमा भारत लगायतका मित्रराष्ट्रहरूमा नकारात्मकभन्दा सकारात्मक सन्देश प्रवाह हुनेछ र भारतसँग संवाद र अन्तर्राष्ट्रिय कानुनी आधारमा सीमासम्बन्धी विवाद निराकरण गर्न मद्दत मिल्नेछ । भारत र नेपाल दुवै प्राचीन सभ्यता भएका मुलुक हुन् एवं त्यही सभ्यताका आदर्शभित्र रहेर समस्याको समाधान खोजिनुपर्छ । उदाहरणार्थ, नेपालका सपूत गौतम बुद्धकै समयमा संघीयता र संसद्को प्रारम्भिक रूपको संरचनाको अभ्यास भएको थियो भनेर प्रतिष्ठित पाश्चात्य लेखकहरूले नै स्वीकार गरेका छन् । अरस्तु र उनका शिष्य प्लेटो आदिबाट सुरु भएको पाश्चात्य सभ्यताभन्दा पूर्वीय सभ्यता धेरै पुरानो हो । आधुनिक अन्तर्राष्ट्रिय कानुनका मूलभूत मान्यता समेट्ने पञ्चशीलको सिद्धान्त अधिकांशतः बुद्धका सन्देशबाट अभिप्रेरित छ । यी सबै कुराको अध्ययन–अनुसन्धान गरी मैले हालै अंग्रेजीमा लेखेको ‘पूर्वीय सभ्यतामा मानवअधिकार’ भन्ने ग्रन्थ बेलायतको प्रतिष्ठित प्रकाशन गृहले छाप्न भर्खर स्वीकार गरेको छ ।

सारांशमा युगौंदेखि सांस्कृतिक, धार्मिक र ऐतिहासिक सम्बन्ध भएका भारत र नेपालजस्ता दुई देशले पूर्वीय सभ्यताका प्राचीन मान्यता र आधुनिक अन्तर्राष्ट्रिय कानुनी सिद्धान्तका आधारमा समाधान खोजेमा र संवाद अगाडि बढाएमा सीमा लगायतका सबै समस्या समाधान हुन सक्छन् । नेपाल सरकार मात्र होइन, नेपालको प्रबुद्ध वर्गले समेत परिपक्व भएर सकारात्मक चिन्तनमा आधारित टीकाटिप्पणी गर्दा यस्तो समस्याको समाधानमा सहयोग पुग्नेछ ।

(सुवेदी बेलायतको लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक हुन् ।)

प्रकाशित : कार्तिक १९, २०७७ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्

वृद्धवृद्धा र हाम्रो दायित्व

वृद्धवृद्धा हाम्रो समाजका आस्थाका धरोहर, जिउँदा इतिहास, हामीलाई सत्मार्गमा लगाउने पथप्रदर्शक, हाम्रो सपनाका कालिगड हुन् ।
कल्पना भण्डारी

जन्मदिवसको कार्डमा लेखिएको सन्देशविपरीत बुढ्यौली चालीस वा पैंसट्ठी वर्षमा सुरु हुँदैन । हुन त हामी बुढ्यौलीसम्बन्धी परिवर्तनहरूलाई जीवनको सुरुका अवस्थाहरूमा ध्यान दिँदैनौं तर जन्मेकै घडीदेखि बूढो हुन थाल्छौं ।

सामान्यतया बुढ्यौलीले व्यक्तिको जीवन अवधिमा हुने जैविक परिवर्तनलाई सम्बोधन गर्छ जुन सकारात्मक वा नकारात्मक वा तटस्थ हुन सक्छ । मानिसको बाल्यकालले विकास र परिपक्व हुने अवधिलाई देखाउँछ । कुनै व्यक्तिले यो उमेरमा शारीरिक र सामाजिक स्तरमा विकास एवं परिपक्वता हासिल गर्छ । मानिसमा तीस वर्षको उमेरपछि केही शारीरिक अंगहरूमा घट्दा परिवर्तनहरू देखा पर्छन्, जसलाई सिनेसन भनिन्छ । सिनेसन बिस्तारै शरीरभरि हुन थाल्छ । अन्ततोगत्वा यसले शरीरको कार्यशक्ति घटाइदिन्छ र अंगहरूको संवेदनशील अवस्थालाई रोगमा परिणत गरिदिन्छ । यही जीव विकासको अन्तिम अवस्था हो (इन्टरनेसनल लङ्ज्याभिटी सेन्टर, सन् १९९९) ।

सिनेसन श्रव्य, दृश्य तथा दैनिक क्रियाकलापमा देखिएको परिवर्तनबाट अनुभव हुन्छ । मानिसले आफ्नो शरीरमा कुनै महत्त्वपूर्ण प्रभावबेगर नै केही मात्रामा शरीरबाट केही गुमाएको वा कमजोर भएको अनुभव गर्छ । त्यो अनुभूति नै बुढ्यौली सुरु भएको संकेत हो । यो संकेत जैविक सिद्धान्तअनुसार सामान्यतया तीस वर्षपछि हुन सक्छ तर हरेक व्यक्तिमा यो अत्यन्तै फरक ढंगले लागू हुने भएकाले बुढ्यौली तीस, चालीस वा पचासभन्दा धेरै वर्षपछि पनि सुरु हुन सक्छ । गर्भावस्थादेखि जन्मपछि वातावरणीय अन्तरक्रियासँगै पोषणले शरीरको अवस्थालाई निर्धारण गरेको हुन्छ । सामान्यतया विकसित देशहरूमा पोषणको अवस्था राम्रो हुने भएकाले पैंसट्ठी वर्षभन्दा माथिको उमेरलाई बूढोपन वा आश्रित उमेर सुरु हुने र पचासीभन्दा माथिको उमेरलाई बुढ्यौली भन्ने गरिन्छ । नेपालको परिप्रेक्ष्यमा साठी वा सोभन्दा माथिको उमेर समूहलाई आश्रित वा वृद्धवृद्धाको जनसंख्या भनिन्छ ।

वृद्धवृद्धा हाम्रो समाजका आस्थाका धरोहर, जिउँदा इतिहास, हामीलाई सन्मार्गमा लगाउने पथप्रदर्शक, हाम्रो सपनाका कालिगड हुन् । वृद्धवृद्धाको संगत गरी बुद्धि प्राप्त गर्नुपर्छ भनी कौटिल्यको अर्थशास्त्रमा उल्लेख छ । यसरी जस्ता र जति उपमा दिए पनि हाम्रो समाजले वृद्धवृद्धाको उपेक्षा त गरिरहेको छैन ? मननयोग्य छ यो विषय । विकसित मुलुकहरूमा वृद्धवृद्धाको अवस्था सुरक्षित र संरक्षित हुन्छ । पालनपोषण र स्वास्थ्योपचारको दायित्व राष्ट्रको काँधमा हुने हुँदा बुढेसकालमा के गर्ने भन्ने चिन्ताले उनीहरूलाई छुँदैन । हाम्रो देशको अवस्था भने फरक छ । हाम्रो समाजमा प्रायः अभिभावकहरू जब पाका हुँदै जान्छन्, उनीहरू आफ्नै परिवार र सन्तानहरूबाट उपेक्षित र तिरस्कृत हुन्छन्, आफैंले जन्मएका सन्तानका आँखाको कसिंगर बन्दै जान्छन् ।

नेपालमा हालसम्म पनि आफ्नो चल–अचल सम्पत्ति सन्तानहरूबीच भागबन्डा गरिदिने चलन छ । यसरी सम्पत्ति अंश लगाउने बेला अभिभावकको पालनपोषणको कुरा पनि आउँछ । बाबुआमा कोसँग बस्ने वा कसले पाल्ने ? निर्णयको अधिकार अभिभावकहरूमै हुन्छ । अभिभावकहरूले सम्पत्ति प्रशस्त जोडेका भए पाल्न सबै सन्तान लालायित हुन्छन्, तर अलि विपन्नै भए सो कर्तव्यबाट सकभर पन्छिन खोज्छन् । यही विषयबाट सन्तानहरूबीच मनमुटाव र वैमनस्य पनि बढ्न जान्छ । जुन अभिभावकहरूले जन्माई, हुर्काई, दुःख–पीडा सहेर सक्षम बनाउन कुनै कसर बाँकी राखेका हुँदैनन्, तिनैलाई सन्तानले तुलोमा राखेर तौलिनु कति उपयुक्त होला ? मैले धेरै बुबाआमा, हजुरबा, हजुरआमा साथै अन्य वृद्धवृद्धा तिरस्कृत र अपहेलित भएको देखेकी छु । समाजका अगाडि आफू शिक्षित र सभ्य हुँ भन्दै छाती फुलाउने सन्तानहरूमध्ये कतिले गाला चाउरी परिसकेका अभिभावकहरूलाई रूखो व्यवहार गरिरहेका हुन्छन् ।

डाँडामाथिको घाम बनेका वृद्धवृद्धासँग हामी किन सम्मानजनक व्यवहार गर्न सक्दैनौं ? बाँचुन्जेल एक गाँस राम्ररी खुवाउन र एक वचन राम्रो बोल्न किन कन्जुस्याइँ गर्छौं ? हामी आफ्ना अभिभावकलाई जस्तो व्यवहार गर्छौं, त्यस्तै पाठ हाम्रा सन्तानहरूले सिकिरहेका हुन्छन् र भोलि हामीले पनि त्यही आचरणको सामना गर्नुपर्ने हुन्छ भन्नेपट्टि हाम्रो सोच किन पुग्न सक्दैन ? छोराबुहारी, छोरीज्वाइँ, नातिनातिना, पनाति–पनातिना, दाजुभाइ, भदा–भदै, आफन्तहरू र समाजबाट तिरस्कृत, अपमानित र उपेक्षित भएका धेरै वृद्धवृद्धा यही समाजमा आँसु बगाउँदै काल पर्खिन बाध्य भइरहेका छन् । ‘घरले जाजा, वनले आइज–आइज’ भन्ने बेला परिवारबाट उपेक्षित हुनु हृदयविदारक हुन्छ ।

जुन अभिभावकहरू सन्तानका लागि दस नङ्ग्रा खियाउँदा–खियाउँदै आफ्ना लागि केही गर्न सक्दैनन्, तिनको सहारा हुन प्रायः सन्तान तयार हुँदैनन् । ‘न सम्पत्ति छ न कमाइ, यस्ता बूढाबूढीलाई कसले पाल्छ’ भनेर आफ्नो कर्तव्यबाट पन्छिन्छन् सन्तानहरू । कसैले भने बाबुआमाको सम्पत्ति नपाउन्जेल माया र आदरको नाटक गर्ने अनि सम्पत्ति हात परेपछि तिनलाई पाटीमा पुर्‍याउने गर्छन् । कोही भने आफ्ना बच्चाहरू ससाना हुन्जेल वृद्ध अभिभावकहरूसँग बस्ने अनि जब बच्चाहरू हुर्कन्छन्, कि आफू छुट्टिएर बस्ने नत्र अभिभावकहरूलाई नै घरबाट निकालिदिने गर्छन् ।

यस्ता कुरामा बुहारी मात्र हैन, छोराहरू पनि होमा हो मिलाउँछन् अनि आफ्नै आमाबुबालाई पराई र शत्रु देख्न थाल्छन् । अभिभावक मानौं ‘दुहुनु गाई’ हुन्, दूध दिउन्जेल ठीक, त्यसपछि घाँडो ! वृद्ध भत्ता आफूलाई नदिएको निहुँमा कति सन्तानहरूले आमाबुबालाई घरबाट निकालिदिएका छन् । कतिले यी बूढाबूढी कहिले मर्लान् अनि आनन्दको सास फेरौंला भनेर दिन पर्खेर बसेका हुन्छन् । कतिपय वृद्धवृद्धाले टाउको दुख्दा न एउटा सिटामोल पाएका हुन्छन् न त सुत्नका लागि तातो ओछ्यान नै । आफूसँग हुँदै नहुनेले त भएन, के दिऊँ भन्नु ठीकै हो, तर पुगीसरि हुनेहरूले पनि यी कुराबाट वञ्चित गराएका हुन्छन् आफ्ना अभिभावकलाई ।

अभिभावकलाई जिउँदो हुन्जेल आङ ढाक्ने एकसरो कपडा नदिने, मन लागेका खानेकुरा नदिने, जान चाहेको ठाउँमा नपुर्‍याइदिने, अपमान र तिरस्कार गर्ने अनि मरिसकेपछि दुःख बोकेको छु भन्दै सेतो पहिरन लगाएर श्राद्धमा पिण्ड चढाउनु, पितृ प्रसाद भनेर मान्छेलाई बोलाएर खुवाउनु, ब्रह्माण्ड दान गर्नु र पितृको नाममा भन्दै धार्मिक स्थल डुलेर धर्म प्राप्त गर्न खोज्नु कसरी युक्तिसंगत हुन्छ ? तपाईं–हामी अपवाद हुने हो कि ? आआफ्ना घरका वृद्धवृद्धाहरूलाई सम्मानजनक व्यवहार गर्न थालिहाल्ने हो कि ?

प्रकाशित : कार्तिक १९, २०७७ ०८:०९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×