कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोभिड–१९ उपचारमा अमेरिकी अनुभव

उच्चस्तरको हेरचाह हुँदाहुँदै कोरोनाका कतिपय बिरामीमा बहुअंगको खराबी देखिन्छ । जतिसुकै राम्रो उपचार पाए पनि यस्ता बिरामी निको हुन धेरै समय लाग्ने र तिनले लामो समयसम्म अपांगता लिएर बाँच्नुपर्ने हुन सक्छ ।
राधा अग्रवाल

गएको फेब्रुअरीमा आफू कार्यरत सियाटल क्षेत्रमा कोभिड–१९ को पहिलो केस देखेयता मैले त्यस्ता संक्रमितको हेरचाहबारे धेरै कुरा सिक्न पाएँ, सिकिरहेकी छु ।

कोभिड–१९ उपचारमा अमेरिकी अनुभव

संक्रमितहरूको हेरचाहका लागि, पल्मोनरी (फोक्सोसम्बन्धी) र आईसीयूमा भर्ना भएका गम्भीर अवस्थाका बिरामी हेरचाह गर्ने डाक्टरको हैसियतमा म र मेरा साथीहरूले चीन, इटाली र स्पेनमा त्यस्तै उपचारमा संलग्न डाक्टरहरूका अनुभवहरू पछ्यायौं । बाँकी विश्वजस्तै हामी पनि संक्रमितका लागि भेन्टिलेटरजस्ता अत्यावश्यक स्रोतसाधनहरू सकिने हुन् कि भनी चिन्तित थियौं । बितेका सात महिनामा हामीले कोभिड–१९ बाट गम्भीर भएका धेरै बिरामीको हेरचाह गर्‍यौं । ह्यान्ड स्यानिटाइजर, फेस मास्कजस्ता आधारभूत आवश्यक सामग्रीहरू सकिने अवस्था कैयौंपटक उत्पन्न भयो । तर भेन्टिलेटरमा त्यस्तो समस्या भोग्नुपरेन ।

कोभिड–१९ ले धेरै अंगमा असर गर्न सक्छ । ज्वरोसहित चिसो, खोकी, सास फेर्न गाह्रो, वाकवाकी, बान्ता, पखाला, स्वाद थाहा नहुनु आदि यसका सामान्य लक्षण हुन् । अक्सिजन स्तर घटी सास फेर्न कठिनाइ हुने गर्छ । जब श्वास–प्रश्वास प्रणाली थकित हुन्छ, अक्सिजनको स्तर तल झर्दै जान्छ । यस्तो अवस्थामा बिरामीहरूलाई उच्चस्तरको हेरचाह चाहिन्छ तथा तिनलाई आईसीयू र भेन्टिलेटरमा राख्नुपर्ने हुन्छ । कोभिड–१९ बाट संक्रमित भएका धेरै मानिस हल्का बिरामी पर्छन् र चाँडै निको हुन्छन् । कतिपय लामो समयसम्म खोकी, थकान र सास फेर्न गाह्रो भएर थला हुन्छन् । उनीहरूलाई निको हुन धेरै समय लाग्छ । तर भरपूर सेवा र ढाडस दिए उनीहरू राम्रोसँग निको हुन सक्छन् । दुर्भाग्यवश, थोरै प्रतिशत बिरामीहरूलाई श्वास–प्रश्वासमा धेरै कठिनाइ हुन्छ र अक्सिजनदेखि भेन्टिलेटरसम्म चाहिन्छ । उच्चस्तरको हेरचाह हुँदाहुँदै पनि यीमध्ये कतिपयमा बहुअंगको खराबी देखिन्छ । जतिसुकै राम्रो उपचार पाए पनि यस्ता बिरामीहरू निको हुन धेरै समय लाग्न सक्छ र तिनले लामो समयसम्म अपांगता लिएर बाँच्नुपर्ने पनि हुन सक्छ ।

कोभिड–१९ का बिरामीहरूको श्वास–प्रश्वाससम्बन्धी कठिनाइ कम गर्न हामीले निम्नलिखित उपाय अपनाउँदै आइरहेका छौं–

१. नाकको क्यानुलामार्फत अक्सिजन : श्वास–प्रश्वाससम्बन्धी समस्या कम गर्ने पहिलो उपाय अक्सिजनको सप्लाई हो । अक्सिजन नाकमा लगाइएको प्लास्टिकमार्फत दिन सकिन्छ ।

२. मास्कका माध्यमबाट अक्सिजन : नाक र मुख ढाक्ने मास्कमार्फत पनि धेरै मात्रामा अक्सिजन दिन सकिन्छ । यसमा प्रयोग हुने नन–रिब्रिथर भनिने विशेष प्रकारको मास्कमा अक्सिजन भण्डार गरिएको हुन्छ ।

३. उच्च प्रवाह अक्सिजन : हालका वर्षहरूमा आईसीयूमा ‘हाई फ्लो अक्सिजन’ भन्ने प्रणालीको प्रयोग बढ्दो छ । यसले धेरै उच्च तहमा अक्सिजन दिने गर्छ, विशेष गरी नाकमार्फत नै । यो उपकरणको सहायताले निकै कठिन अवस्थाको सामना गर्न सकिन्छ ।

४. सीपीएपी/बाईपीएपी (कन्टिन्युज पोजेटिभ एयरवे प्रेसर थेरापी/बाइलेभल पोजेटिभ एयरवे प्रेसर थेरापी) : यी यस्ता भेन्टिलेसन उपकरण हुन्, जसले हावा र अक्सिजनलाई बिरामीको फोक्सोमा धकेलिदिन्छन् । यी उपकरण अनुहारमा लगाइन्छन् । यिनले बिरामीलाई अक्सिजन मात्र नदिई हावालाई भित्र धकेलेर श्वास–प्रश्वासमा पनि सघाउ पुर्‍याउँछन् ।

५. भेन्टिलेटर : श्वास–प्रश्वासमा लगातार समस्या भएका बिरामीलाई माथिका उपाय काम लागेनन् भने, उनीहरूको होस पूर्णतः फर्किन सकेन भने भेन्टिलेटरमा राखिन्छ । भेन्टिलेटरले ट्युबमार्फत अक्सिजन र हावा फोक्सोमा पुर्‍याई सास फेर्न सहयोग गर्छ । भेन्टिलेटरका बिरामीहरू खान र बोल्न असमर्थ हुने भएकाले उनीहरूलाई आराम होस् भन्न निद्रा लगाउने वा आराम दिने औषधि आवश्यक पर्छ ।

६. ईसीएमओ (एक्स्ट्रा कर्पोरियल मेम्ब्रेन अक्सिजेनेसन) : कहिलेकाहीँ बिरामीलाई भेन्टिलेटर मात्र पर्याप्त नहुन सक्छ । त्यसैले उनीहरूलाई रगत दिन र रगतमा अक्सिजन थप गर्न अर्को मेसिन चाहिन्छ । ईसीएमओ भनिने त्यही मेसिनले अक्सिजनयुक्त रगत बिरामीको शरीरमा पुर्‍याउँछ । हामीले आईसीयूमा सुरुसुरुमा श्वास–प्रश्वासमा समस्या भएका बिरामीहरूका लागि भेन्टिलेटर नै प्रयोग गर्ने गरेका थियौं । अधिक उच्च प्रवाह अक्सिजन र बाईपीएपी उपकरणहरूको उपयोग गर्न थालेका थियौं । हामीले अप्ठेरो स्थितिमा सबै उपकरणको उपयोग गर्‍यौं । यस्तो अप्ठेरो स्थितिमा जहाँ बिरामीहरूले दिनको चौध–चौध घण्टासम्म घोप्टो परेर सुत्नुपर्थ्यो ।

कोभिड–१९ को उपचारका लागि अहिलेसम्म कुनै औषधि उपलब्ध नरहेको सर्वविदितै छ । केही उपचार विधिहरूमार्फत बिरामी हुने अवधि घटाउन मात्र सकिन्छ । यसको मुख्य औषधि भनेको स्पेक्ट्रम एन्टिभाइरल औषधि अर्थात् रेमडिसिभिर हो, जुन क्लिनिकल परीक्षणहरूमा प्रभावकारी देखिएको छ । यो औषधि मध्यमदेखि गम्भीर बिरामीहरूको उपचारमा प्रयोग भइरहेको छ । तर यो बिरामीलाई चाँडै दिनुपर्छ अनि मात्र प्रभावकारी हुन्छ ।

गम्भीर बिरामीहरूका लागि फाइदाजनक अर्को औषधि हो– डेक्सामेथासोन । यसले शरीरमा बढी सक्रिय र जोखिमपूर्ण भाइरसलाई कमजोर बनाउन सक्छ । यो केवल डाक्टरहरूको सुपरिवेक्षणमा प्रयोग गर्नुपर्छ, नत्र यसले अन्य संक्रमण बढाउन सक्छ । वृद्धावस्थाका, कमजोर एवं मधुमेह, उच्च रक्तचाप र मोटोपन भएकाहरूलाई कोभिड–१९ ले बढी दुःख दिने गरेको पाइन्छ । तैपनि कतिपय पूर्ण स्वस्थ व्यक्तिहरू यसकै कारण मृत्युवरण गर्न बाध्य बनेका छन् । यसकारण यसबाट बच्ने उत्कृष्ट उपाय भनेको रोकथाम नै हो । लगातार फेस मास्क लगाएर, आई सिल्ड प्रयोग गरेर, सामाजिक दूरी कायम गरेर र हात स्वच्छ पारेर यसबाट बच्न सकिन्छ ।

कोभिड–१९ का धेरैजसो संक्रमितले अस्पताल जानुपर्ने आवश्यकता हुँदैन । सावधानी अपनाई घरै बस्न सकिन्छ । तपाईं संक्रमित हुनुभयो भने परिवार सदस्यहरूबाट टाढै बस्नुस्, मास्क लगाउनुस् । यसको सबैभन्दा सामान्य लक्षण ज्वरो र खोकी नै हो । यी दुवैका लागि घरमै बसी औषधि लिन सकिन्छ । तपाईंले पल्स अक्सिमिटर किनेर घरमै अक्सिजनको स्तर मापन गर्न सक्नुहुन्छ । अक्सिजनको स्तर ९० प्रतिशतभन्दा कम भयो भने डाक्टरी सहयोग लिनुपर्छ । अस्पतालमा बेड नपाइए दिनहुँ बाह्र–तेह्र घण्टा घोप्टो परेर सुती अक्सिजनको कमी केही मात्रामा पूरा गर्न सकिन्छ । पौष्टिक खाना र व्यायामले प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ अनि भाइरससँग लड्न मद्दत गर्छ ।

अर्को कुरा, इन्फ्लुएन्जाको खोप लिन सकिन्छ । इन्फ्लुएन्जा आफैंमा खतरनाक रोग हो, जसबाट बिरामी हुनुभयो भने कोभिड–१९ को संक्रमणले तपाईंलाई चाँडै सिकिस्त बनाउन सक्छ ।

(अग्रवाल अमेरिकाको सियाटलमा कार्यरत चिकित्सक हुन् ।)

प्रकाशित : कार्तिक १७, २०७७ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?