पूर्व प्रहरीको गैरजिम्मेवारी- विचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पूर्व प्रहरीको गैरजिम्मेवारी

डा. गणेश रेग्मी

२०६७ भदौ अन्तिम । पूर्वप्रहरी महानिरीक्षक खड्गजीत बरालज्यूसँग नसोचिएको कुरा भयो । 'ए ! तँ डिएसपी गणेश रेग्मी हो ?' अरू खुल्दै जानुभयो, 'कान्तिपुरमा ‘पुलिसको पिरलो’ भन्ने लेख छपाइछस् । त्यसको अन्तिम तीन हरफले साह्रै मन छोयो । अनि सचिवालयबाट नम्बर मागेर फोन गरेको । हिम्मत गरेर लेखिछस् । ठीक गरिस् । एउटाले लेखेपछि अरूले पनि लेख्छन् । अनि प्रहरीले गरेको दु:ख देखिन्छ । नत्र प्रहरीको दु:ख नै देखिँदैन ।'

'अर्कोतिर हाम्रा केही प्रहरी पनि कस्ता ! मौका पाए प्रहरीकै विरोध गर्ने । विरोध गरेरै बोल्छन्, लेख्छन् । ‘चिप पपुरालिटी' को लागि प्रहरीकै बेइज्जत गर्छन् । प्रहरीले नै प्रहरीकै विरोधमा बोल्ने र लेख्ने गरे झन् ठूलो क्षति हुन्छ । त्यत्ति पनि बुझ्दैनन् । त्यस्तोलाई के भन्ने खै ।' कुरा छोटो तर तर्कनाहरू कहिल्यै हट्दैनन् । ‘प्रहरीका भिष्म पितामह’ भन्न सकिने अग्रजको विचारमा टेकेर यी पङ्ति कोर्दैछु । अग्रजका कतिपय लेखाई र बोलाइले संगठनलाई क्षति पुर्‍याएको देख्छु । पोल्छ । कसैलाई तोकेको छैन । प्रहरी दिवसको अवसरमा आत्मालोचना गर्नुपर्ने भएको छ ।

प्रहरी कार्य प्रकृति र नकारात्मकता

गत जनवरी ५, २०२० मा भारत दिल्लीस्थित ‘जवाहरलाल नेहरू युनिभरसिटी’मा नकावधारी प्रवेश गरी अन्धाधुन्द आक्रमण गरे । प्रहरी समयमै भित्र नगएको र सुरक्षा नगरेको गम्भीर आरोप । यसैमा भारतका पूर्वडिजी प्रकाश सिंह (यूपी कार्यक्षेत्र, हाल दिल्ली) भन्छन्, प्रहरी ढिलो गयो भनेर विवाद गरियो । छिट्टो भएको भए पनि विवादित हुन्थ्यो । प्रहरी छिर्ने समयको सम्बन्धमा प्रहरीलाई होइन, युनिभरसिटी प्रशासनलाई जिम्मेवार बनाउनु पर्छ ।

प्रहरीका कतिपय काममा ‘गरे किन गर्‍यो, नगरे किन गरेन’ हुन्छ । प्रतिपक्षी दल प्रहरीको स्थायी प्रतिद्वन्द्वी बन्छ । विभाजित राजनीतिक र भौगोलिक मनस्थितिले प्रहरीलाई पहिलो दुस्मन देख्छ । राज्य उपरको प्रहार रोक्दा असम्बन्धित कुरामा पनि प्रहरी विवादित हुन पुग्छ । अपराधिक मनोवृत्तिले प्रहरीलाई सधैँ अर्घेलो देख्छ । राज्यका अन्य अंग माथिको आक्रोश पनि प्रहरीले थेग्नुपर्ने हुन्छ । ‘सोसल इभिल’ ले अपराधीकरण बढाउँछन् । साधन श्रोत सधैँ कम हुन्छ । अन्तत: प्रहरी कमजोर तर अपजस प्रहरीले मात्र ।

सामान्यत: प्रहरीउपर प्रहार हुँदा प्रहरीको रक्षा गर्ने व्यक्ति वा संस्था पाउन गाह्रो । कतिपयले यसै बेला प्रहरीलाई विवादित बनाएर ‘चिप पपुलारिटी’ लिने गर्दछन् । यस अवस्थामा पूर्व प्रहरीको भूमिका प्रभावकारी हुनुपर्ने हो तर कतिपय उल्टो बदख्वाई गर्दै हिँडेका छन् ।

अत्युक्तिपूर्ण व्यवहार

२०७५ भदौमा ‘५२ वर्ष सजाय तोकिएको त्यो अपराधी’ शीर्षकको मेरो लेख छापियो । रौतहटको एक लठेव्रो ‘सिरियल किलर’ बारेमा । लेखमा अनुसन्धानमा जोसुकैलाई पनि शंका गर्न सकिन्छ भन्ने छनक थियो । एक पूर्व डिआईजीले फोन गरेर तत्कालीन नेतृत्वलाई सहयोग पुग्ने गरी किन लेखेको भनेर एक्कासी आक्रोश पोख्नु भयो । भन्नु भो, कञ्चनपुर घटनामा ठूलो मानिसको संलग्नता छ । बचाउन खोजिएको छ, आईजी मतियार हो आदि ।

लागूऔषध क्षेत्रमा जाज्वल्य एक पूर्व एसएसपीले लेखमा पूर्व आईजीको किताबको चर्चा गर्नुभयो । एक पूर्व डिआईजीलाई राम्रो र व्यावसायिक अधिकृत लेखिएकोमा विरोध गर्नु भयो । किताबमा राजनीतिक दललाई पैसा दिएको भन्ने पनि उल्लेख छ । त्यसलाई हिम्मत गरेको र प्रहरीको अप्ठयारो देखाएको भन्नुपर्नेमा उल्टो गर्नु भो । गलत र सजाययोग्य भनेर।

एकजना पूर्व डिआईजीले टेलिभिजनमा एक पूर्व आईजीलाई जन्मजात लम्पसारवादी, पैसा उठाएर नेतृत्वमा पुगेको र त्यही पैसा पचाउन अपराधमा संलग्न भएको खुल्ला आरोप लगाउनु भयो । आफूलाई पूर्वप्रहरी भन्न लाज लागेको, अर्को आईजी पनि नालायक, निकम्मा, नतमस्तक, चिठ्ठा परेर बनेको, मूर्ति भन्ने आरोप लगाउनुभयो ।

एक पूर्व एआईजीले अर्बौंको हतियार खरिदको नाममा हुन लागेको भ्रष्टाचार आफूले रोकेको लेख्नुभयो । प्रहरी नेतृत्व भ्रष्टाचारमा चुर्लुम्म डुबेको कुरा सगर्व उठाउनु भयो । गायिका आस्था राउतले फेसबुक लाइभमार्फत प्रहरीको मानमर्दन गरेको विषयमा आस्था र महिला प्रहरी जवान दुबैको गल्ती बताउनु भयो । आस्था राउतलाई मुद्दा चलाउन नहुने, छलफलमा टुंग्याउनुपर्ने कुरा गर्नुभयो ।

माथिका केही प्रतिनिधिमूलक उदाहरण हुन्, एसएसपीदेखि एआईजीसम्मका मात्र । अन्य दर्जाको उल्लेख छैन । पूर्व प्रहरीबाट यस्ता कुरा किन हुन्छन् ?

कारण र तुलनात्मक विश्लेषण

प्रहरीमा साथीलाई नै भड्खालोमा हालेको देखिन्छ। जति माथि उति दुस्मनी । सेवानिवृत्त भइसकेपछि पनि तुस कायमै । शायद, यसको जरो प्रहरीको कार्य प्रकृति । कसैलाई साथी बनायो, उसको मन जित्यो, त्यसैबाट गोप्य कुरा खोतल्यो, त्यसैलाई प्रमाण बनायो, पक्राउ गर्‍यो, जेल पठायो अनि जेल पठाउन सकेकोमा सन्तुष्टि लियो । मानौं प्रहरीको जन्मजात गुण- मौका मिल्यो फसाउने ।

तुलनात्मकरुपमा सैनिकमा यस्तो हुँदैन । सामूहिक जिम्मेवारी र काम । उपलब्धिमा खुसी अनि क्षतिमा पीडा सँगसँगै। दुस्मनलाई आक्रमण गर्ने र साथीलाई बचाउने । यसैले गर्दा सेनामा एकमत छ । अनुशासन, संगठन बलियो । सेनाउपर आक्रमण हुँदा सेना एकजुट हुन्छ । प्रहरी भने तितरबितर र अर्कोलाई बली चढाउन पछि नपर्ने ।

हिजो पदोन्नती, सरुवा, विदेश अवसर, पदक नदिएको जस्ता कुरामा नेतृत्वसँग आक्रोश । अन्याय परेँ भनेर भित्रै आगो दन्केको हुन्छ । हाकिमका निकटका सहकर्मीसँग पनि मतभेद हुन्छ। चौतर्फी भूमिकाको प्रहरी जीवनमा कुनै समय सहकर्मी बीच टकराव हुनु स्वाभाविकै हो । तर सेवानिवृत्त भइसकेपछि पनि रहनु दुर्भाग्य ।

कतिपय अर्धेला प्रहरीहरू निवृत्त भएको वर्षौसम्म पुरानै इबी साध्ने ताकमा देखिन्छन् । मौका पाए एक अर्कामा आक्रमण गर्छन् । आङ कन्याएर छारो उडाउने जस्तो । दाजुभाइ बीचको झगडामा नाङ्गिदा परिवारकै इज्जत उदाङ्गो भएको अनुमान गर्न नसक्ने कस्तो अल्प ज्ञान !

संगठनका ठूला दुर्घटना

संगठनको एउटा ठूला दुर्घटनामा सुडान काण्ड हो । करिब दुई दर्जन वहालवाला प्रहरीमाथि मुद्दा । पूर्व र बहालवाला गरी तीन जना आईजीपी जेल । कल्याण कोषको करिब ३० करोड सम्पत्ति स्वाहा । प्रहरीलाई भ्रष्टाचारको पर्याय बनाउने कुख्यात घटना । प्रहरीको कानुन शाखाको अनुभवले फाइल हेरेको छु । त्यो घटनामा चार किसिमका कमजोरी देख्छु । पहिलो, यो नेपाल प्रहरीको लागि पूर्व अनुभव बिनाको खरिद प्रक्रिया थियो त्यसैले आवश्यक तयारी र प्रक्रिया अवलम्बन हुन सकेन । दोस्रो, आर्थिक लालच । तेस्रो, दुई दलको राजनीतिक स्वार्थको टकराव । चौथो, संगठनकै केही कर्मचारीले खनेको खाल्टोमा फसिएको अवस्था वा आफ्नै जालमा परेको स्थिति ।

छोटकरीमा भन्न सकिन्छ, यस प्रकारको घटना सेना वा सशस्त्रमा भएको भए त्यसको भित्रै उपचार खोजिन्थ्यो । समाधान हुन्थ्यो । सुडान पोर्टमा करिब एक वर्ष त्यत्तिकै छोडिएका एपीसी पछिल्लो चरणमा ठेकेदार आफै मर्मत गर्न तयार थिए । तत्काल मर्मत गर्न दिएको भए एपीसी चल्थे । ‘रिइम्बर्समेन्ट’ आउँथ्यो। मुद्दा पर्ने थिएन । कल्याण कोषको संवर्द्धन हुन्थ्यो । यो गाडीसकेको मुर्दालाई उठाउनु छैन तर केही पूर्व प्रहरीका छुद्र बोली, लाञ्छना र आपसको गाँड कोराकोरले अर्को दुर्घटना नहोला भन्न सकिन्न ।

सुन्नमा आउँछ, कतिपय पूर्वप्रहरी साथीलाई फसाउन अख्तियारलाई गुहार्ने गर्छन् । पत्रिकामा लेख्छन्, लेखाउँछन् । सामाजिक सञ्जाल रंगाउँछन् । यसैगरी, संगठनमा कतिपय दुर्घटना पूर्व प्रहरीले आवश्यक प्रतिरक्षा नगरेर पनि भएका छन् ।

धरातलीय यथार्थ

देश गरिब छ । राजनीतिप्रति वितृष्णा । नेतृत्वप्रति दिक्दारी । अत्याधिक ‘नेगेटिभिटी’। मुलुकका अधिकांश निकायप्रति आक्रोश । कुनै न कुनै कोणबाट ती सबै आक्रोशको सिकार प्रहरी बन्नुपर्छ । राम्रो कामका बाबजुद पनि प्रहरी विवादित हुन्छ । जब पूर्वले प्रहरीकै बदख्वाई गर्दछन् त्यसरी बोल्ने वा लेख्ने प्रहरी कर्मचारी ‘हिरो’ बन्छन् तर संगठनलाई भने ठूलो क्षति ।

केवल १० प्रतिशत प्रहरीले मात्र काम गर्छन् । प्रहरीले भ्रष्टाचार गरेर नै देशका टोले गुण्डा, लुटेरा र मिटरव्याजी अर्बपति बनायो । प्रहरीका सबै हाकिम क्यासिनोबाट पैसा लिन्छन् । जनता लुटिए । यस्ता कुरा पूर्व प्रहरीले नै दाबी गरेपछि प्रहरी आफैंमा भ्रष्टाचारी र कामचोर प्रमाणित हुन्छ । के प्रहरी आफैं चोर, डाँका, भ्रष्टाचारी, लम्पसारवादी र अपराधीको जन्मदाता हो ?

अग्रजलाई कसरी बुझाउँ, अख्तियार दुरुपयोग अनुसन्धान आयोग २०७६ को प्रतिवेदनअनुसार राज्यका कानुन कार्यान्वयन निकायहरूमध्ये नेपाल प्रहरीमा सबैभन्दा कम भ्रष्टाचार देखिएको थियो । सवारी दुर्घटना हुनुमा ट्राफिकको करिब ५ प्रतिशतमात्र भूमिका हुन्छ, अरु यातायात व्यवस्था कार्यालय, व्यवसायी, मजदुर, सडक विभाग, सवारी जाँच आदिको हो । त्यस्तै क्यासिनो व्यवस्थापनमा पनि प्रहरीको भन्दा धेरै बढी भूमिका उद्योग, वाणिज्य, पर्यटन मन्त्रालय र स्थानीय प्रशासनको हुन्छ । पर्यटन मन्त्रालयमा अनुगमन समिति हुन्छ । अनियमितता फेला पारे लाइसेन्स खारेज गर्छ ।

सर्वस्वसहित जन्मकैद तोकिएको माओवादी सभासद् बालकृष्ण ढुंगेल २०६६ सालदेखि काठमाडौं कपनमा बस्ने र संसद् आउने जाने गर्थे । ढुङ्गेललाई अन्तत: २०७४ कार्तिक २४ गते तत्कालीन आईजीको ठाडो आदेशमा सीबीआईको टोलीले पक्राउ गर्‍यो । काठमाडौं प्रहरी प्रमुख हुँदा आफूले समात्न नसकेको ढुङ्गेललाई पक्राउ गरेका संगठन प्रमुखलाई निकम्मा, मूर्ति भनेको सुन्दा अलिक हजम हुँदैन । एउटामा एक किसिमको क्षमता हुन्छ, अर्कोमा अर्कै किसिमको ।

केही पूर्वडिआईजी र एआईजीहरू (अन्यको चर्चा नगरेको) ले प्रहरी नेतृत्व भ्रष्टाचारमा डुब्न लागेको बेलामा रोकेको सगौरव दाबी गर्नुहुन्छ । मेरो सादर प्रश्‍न छ । उहासँग अहिले प्रहरीका ड्राइभर र कार्यालय सहयोगी छन् कि छैनन् ? कानुनको कुरा गर्ने हो भने पूर्व महानिरीक्षकलाई दुई पिएसओ राख्ने अधिकार छ । अरूलाई छैन । भ्रष्टाचारविरुद्ध मसिहा दाबी गर्ने पूर्व प्रहरीले के आधारले भान्छे र ड्राइभर राखेको ? अरुको आङको जुम्रा देख्नेले आफ्नोमा हेर्ने कि नहेर्ने ? अहिले छिपछिपे पानीमै आहल बसिरहेको व्यक्ति हिजो स्वीमिङ पुल फेला पार्दा पौडिनु भएन भन्ने कसरी अनुमान गरौं ? आन्तरिक व्यवस्थापन मिलाई सरकारी गुलियो चुसिरहनु तर ठूला कुरा गर्नु ‘डबल स्ट्याण्डर’ भएन ? बिहान उठ्दा चिया खुवाउने, दिउँसो सैर गराउनेदेखि बेलुका भात भान्सासम्मका सुविधा लिएर पानीमाथि ओबानो ?

प्रहरीमा समस्या अवश्य छ । कर्मचारीको भन्दा प्रणालीको हो । संगठनले सिफारिस गरेभन्दा धेरै विभूषण बाँडियो भन्ने हल्ला छ । सरुवा, बढुवा अन्यत्र छलफल हुने चर्चा छ । भिआईपीका पिएसओलाई बढी सुविधाको कुरा उठ्छ । प्रहरी एकेडेमी सन्दर्भ । लाठीधारी जमातले प्रहरीकै लाईसेन्स, ब्लुबुक मागेको, प्रहरी निरीह । प्रहरीका ड्राइभर र भान्छे बाहिर र ‘पावर सेन्टर’मा छन् कि छैनन् ? प्रणाली बनाउने व्यक्तिले हो तर प्रहरीको प्रणाली प्रहरी आफैंले मात्र बनाउने हैसियत छैन ।

तपाईंहरू अभियन्ता बन्नुस् । भ्रष्टाचारविरोधी बन्नुस् । त्यसमा मातृसंस्थालाई गौरव छ । तर प्रहरी मनोबल उँचो हुने काम गर्नुस् । भन्नु सक्नुस्, ठूलो संख्याका प्रहरीका केही अवश्य खराब छन् । अधिकांश होइनन् । आस्था राउतले कफी लिएर एयरपोर्ट सेक्युरिटीमा जान हुँदैन । अनि फेसबुक लाइभबाट प्रहरीको मानमर्दन गर्नु अपराध हो । बच्चासहितकी महिलालाई दुर्व्यवहार गर्नु गतल हो तर बच्चा बोकेर आन्दोलन गर्न मिल्दैन । कोरोनामा हिँड्डुल रोक्दा प्रहरीबाट दुर्व्यवहार भए पनि व्यक्तिगत स्वार्थ होइन । यस्तालाई फिलिपिन्समा गोली हान्ने आदेश थियो । यथार्थ बोल्नुस् । आखिर अब जाने के ? तर प्रहरीकै मानमर्दन नगर्नुस् । आफूमात्र राम्रो, अरु सब खराब नभन्नुस् । अन्यथा कर्तव्यपालनाको क्रममा दिवंगत हुने करिब सत्र सय ‘अमर प्रहरी’ को अवमूल्यन होला । जोसँग तपाईंको तुलनै हुँदैन ।

उपसंहार

हेडक्वार्टरमा भएको एउटा कुरा । ‘इम्मेडियट कमाण्डर’ डिआईजीले आफूलाई एसएसपी हुँदा सरुवा नगरेर सडाएको गुनासो गरे । त्यही आईजीपी पूर्व भइसकेपछि भेट हुँदा अनादर गरेको बताए । मरेको बाघको जुँगा उखेलेर बहादुर भइँदैन । सेवामा हुँदा डराउने र गुनासो नगर्ने । सेवानिवृत्त भैसकेकपछि सामान्य मर्यादा नाघ्ने ? दिन खोजेको सन्देश हो, वहालवाला कर्मचारीले पनि पूर्वलाई विगतको पूर्वाग्रहको कारण अहिले अनादर गर्नु विभागीय कसूर हो ।

अर्कोतर्फ, बोल्ने, लेख्ने संवैधानिक हक छ, तर प्रहरी संगठन र कर्मचारीको विरोध गर्नु अन्तत: राष्ट्र विरुद्धको अपराध हुन पुग्छ । फौजदारी अपराध संहिता २०७४ को दफा ५५ अनुसार प्रहरीलाई दुरुत्साहन दिन र कर्तव्यवाट बिचलित गराउन हुँदैन । दफा २९४ अनुसार व्यावसायिक कामको सिलसिलामा थाह पाएको गोप्य कुरा प्रकट गर्नु हुँदैन । यी दुवैमा कैद सजायसम्म छ ।

आदरणीय पूर्वप्रहरी तपाईं अहिले यो अवस्थामा पुगेको संगठनले गर्दा हो । प्रहरीमा आउँदा कस्तो अवस्थामा हुनुहुन्थ्यो, जाँदा कस्तो हुनुहुन्छ विचार गरौं । अब पनि पहिचान प्रहरी नै हो । सांसद र मन्त्री पनि भएका डीबी लामाको पहिलो पहिचान पूर्वआईजी नै हो । निकट भविष्यमा आफैं पूर्व प्रहरी हुँने पंतिकारलाई पनि यहि लागू हुने हो ।

अन्तमा, प्रहरीले नगरेको वा गर्न नसकेको केवल प्रहरीको कमजोरीले होइन । ‘जेएनयु’ मा प्रहरीको नभएर युनिभरसिटी प्रशासनको समस्या थियो भन्ने जस्तो प्रस्ट बोल्ने पूर्वप्रहरी नेपालमा पनि चाहिएको छ । स्मरणीय छ, प्रहरीका पूर्वमहानिरीक्षक खड्गजीत बरालले प्रहरीलाई मानमर्दन नगरे पनि सबैको मनमा राज गरेकै छन् । अनि उनैको भनाइ सापटी लिँदै पुन: दोहोर्‍याए, 'प्रहरी पनि कस्ता ! मौका पाए आफैंले आफ्नो विरोध गर्ने । विरोध गरेरै बोल्छन् । विरोध गरेरै लेख्छन् । ‘चिप पपुरालिटी' को लागि प्रहरीकै बेइज्जत गर्छन् । प्रहरीले नै प्रहरीकै विरोधमा बोल्ने, लेख्ने गरे त्यसबाट झन् ठूलो क्षति हुन्छ ।' सबैमा प्रहरी दिवसको शुभकामना ।

(‘प्रहरी र कानुनको शासन’ विषयका विद्यावारिधी लेखक प्रहरी वरिष्ठ उपरीक्षक हुन्)

प्रकाशित : आश्विन ३०, २०७७ १९:०१
प्रतिक्रिया
पठाउनुहोस्

कोरोना रोकथाममा सरकार गम्भीर नबनेको भन्दै दसैंपछि आन्दोलन गर्ने कांग्रेसको चेतावनी 

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोभिड- १९ रोकथाम तथा नियत्रणका लागि सरकार गम्भीर नभएको भन्दै आन्दोलन गर्ने चेतावनी दिएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले सरकार कोभिड- १९ रोकथाम तथा नियत्रणका लागि गम्भीर नभएकोले दसैंलगत्तै विरोधका औपचारिक कार्यक्रम घोषणा गरी आन्दोलन गर्ने बताएका हुन् ।

कांग्रेसले गठन गरेको कोभिड- १९ सम्बन्धी अनुगमन टोलीले तयार पारेको प्रतिवेदन बुझेपछि सभापति देउवाले दसैंलगत्तै संसद भित्र र बाहिर देशैभर सशक्त विरोध कार्यक्रम गर्ने बताएका हुन् ।

कोभिड- १९ संक्रमणबाट जनताको जीवन बचाउन सरकार जिम्मेवार नबन्दा संक्रमण महामारीको रूपमा फैलिएको देउवाको भनाइ छ । सरकार संक्रमण रोकथाम तथा नियन्त्रणका लागि काम गर्न भन्दा पनि भ्रष्टाचार गर्नमा तल्लीन रहेको उनको आरोप थियो। औषधिको व्यवस्था, क्वारेन्टाइन, आइसोलेसन, अक्सिजन, भेन्टिलेटर लगायतको व्यवस्था गरी उपचार गर्नु सरकारको कर्तव्य भएको तर कुनैपनि काम जिम्मेवारीपूर्वक नगरेको उनले बताए ।

नेपाली कांग्रेसका सहमहामन्त्री एवं कोभिड- १९ अनुगमन समितिका संयोजक प्रकाशशरण महतले सरकार नागरिकको स्वास्थ्य सुरक्षा र दैनिक जीवनमा परेको आर्थिक सामाजिक कठिनाइप्रति संवेदनशील नभएको बताए । उनले सरकारलाई जिम्मेवार बनेर काम गर्नसमेत आग्रह गरे ।

कोभिड- १९ का कारण नागरिक समस्यामा परेको भन्दै उद्दार र राहतको सुमचित व्यवस्था गर्न र देशको अर्थतन्त्रलाई बचाउन कांग्रेसको सुझाव छ । कांग्रेसद्वारा गठित अनुगमन समितिले विभिन्न क्षेत्रका व्यक्ति, विज्ञ र कोभिड- १९ रोकथाम तथा नियत्रणमा खटिएका व्यक्तिहरूसँग समन्वय गरी अनुगमन गरेको थियो । समितिले कोभिड- १९ संक्रमण समुदाय स्तरमा फैलिँदासमेत सरकार गम्भीर नबनेको निष्कर्ष निकालेको छ ।

प्रकाशित : आश्विन ३०, २०७७ १८:३०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×