अबको यात्रा कृषि र पर्यटनतिर- विचार - कान्तिपुर समाचार

अबको यात्रा कृषि र पर्यटनतिर

‘इको टुरिजम’, ‘रिलिजियस टुरिजम’ र ‘रिक्रिएसन टुरिजम’ गरी पर्यटनलाई तीन श्रेणीमा विभक्त गरेर पर्यटन शिक्षाको नयाँ ढाँचा ल्याउनु अबको आवश्यकता हो । अब आफ्नै देशको संस्कृति र प्रकृतिअनुसारको विषयवस्तु पढाउनुपर्छ ।
सुरेशराज शर्मा

कृषि, वन र जलस्रोत नै हाम्रो देशका सम्पत्ति हुन् । तिनको ठीकसित जगेर्ना गरी विकसित भइसकेको आधुनिक प्रविधिको प्रयोग पनि ठीकसित गर्ने हो भने हामीलाई पुग्ने सबै थोक हामीसँगै छ । आज सूचना–प्रविधिले ज्ञान र प्रविधि घरघरसम्म पुर्‍याइदिएको छ । त्यसको फाइदा लिन जान्नु मात्र परेको छ ।

तर यो कुरा हामीले भन्ने गरेको र खासै केही गर्न नसकेको भने धेरै वर्ष भइसक्यो । अब नयाँ ढंगले कृषिकर्म गर्न थालिहाल्नुपरेको छ । तर कुन प्रविधि हाम्रा लागि बढी सुहाउँदो छ, त्यसका लागि निरन्तर प्रयास गरिरहन अनुसन्धान गर्नु पनि आवश्यक छ । अनुसन्धान प्रयोगशालामा मात्र होइन, उत्पादनस्थलको नजिकै वा त्यही स्थलमै गरिनु उत्तिकै महत्त्वपूर्ण छ ।

हामीले उत्पादन गरेका वस्तु निर्यात गर्नु आवश्यक छ । प्रकृतिले दिएको ठूलो वरदान प्राकृतिक सौन्दर्यलाई नबिगारी पर्यटकलाई यहाँ आउन लोभ्याउनु त्यत्तिकै जरुरी छ । अर्कातिर, कोभिड–१९ को विश्वव्यापी असरपछि शिक्षाको ढाँचाले परिवर्तन खोजेको छ । त्यसका लागि संविधानले नै विकेन्द्रित प्रणालीलाई स्वीकार गरेकाले शिक्षण क्षेत्रलाई विकेन्द्रित ढाँचामै लैजानुपर्छ एवं प्रान्तीय विश्वविद्यालय र कलेज बनाउनुपर्छ । नेपालका लागि संस्कृतिसँग जोडिएको पर्यटन, कृषि र प्राकृतिक स्रोत महत्त्वपूर्ण विषय हुन् । त्यसैले सरकारले पनि पर्यटकका रूपमा धेरै सङ्ख्याका विदेशीलाई नेपालमा भित्र्याउन खोजेको हो । नेपालप्रति विदेशीलाई आकर्षित गर्न प्राकृतिक सौन्दर्य भएको संरचनालाई दोहन गर्न हुँदैन ।

‘इको टुरिजम’, ‘रिलिजियस टुरिजम’ र ‘रिक्रिएसन टुरिजम’ गरी पर्यटनलाई तीन श्रेणीमा विभक्त गरेर पर्यटन शिक्षाको नयाँ ढाँचा ल्याउनु अबको आवश्यकता हो । कृषिप्रणालीजस्ता विषयहरूलाई यस्तै दृष्टिकोणले हेर्नुपर्छ । हामीले विकसित देशको प्रकृति र संस्कृति पढायौं, आफ्नै देशको चाहिँ पढाएनौं । अब आफ्नै देशको संस्कृति र प्रकृतिअनुसारको विषयवस्तु पढाउनु आवश्यक छ । यही कुराको सेरोफेरोमा रहेर पहाडी खेती (हिल एग्रिकल्चर), पर्वतीय पर्यटन (इको–टुरिजम, माउन्टेनियरिङ स्टडिज एन्ड रिसर्च) का बारेमा यहाँ केही भन्न चाहन्छु । नेपालको ८७ प्रतिशत भाग भिरालो जमिन पर्वतीय क्षेत्रमा परेको हुँदा त्यसैबारे चर्चा गर्नु सान्दर्भिक पनि देखिन्छ । पहिलो चरणमै सुरु गर्नुपर्ने तीन ठाउँको यहाँ चर्चा गर्छु ।

पाख्रिबास कृषि विकास तथा अनुसन्धान केन्द्र

पूर्वी पहाडको केन्द्रजस्तै ठाउँ हो पाख्रिबास । त्यहाँबाट हिमालका सबैभन्दा आकर्षक भागहरू देखिन्छन् । कञ्चनजङ्घा, मकालु, सगरमाथा, रोल्वालिङ त्यसैका नजिक छन् भने, थुप्रै औषधिजन्य वनौषधि, चिया र जुस उत्पादन हुने पर्वत र उपत्यका पनि त्यतै छन् । जलस्रोतको कुरा गर्दा अरुण नदी, तमोर नदी र सप्तकोशी त्यतै छन् । पाख्रिबास कृषि अनुसन्धान केन्द्र र उत्तरपानी कृषि तालिम केन्द्र आसपासमै छन् । कृषि, वन, जलस्रोत र पर्यटनसम्बन्धी उद्योग र अनुसन्धान तथा अध्ययन केन्द्र बनाउन सकिने केन्द्र त्यहीँ हुन सक्छ । यातायातका दृष्टिकोणले पनि त्यो क्षेत्र निकै अनुकूल देखिन थालेको छ ।

त्यही ठाउँमा एक–दुईवटा साना आकारका ताल पनि बनाएर स्वदेशी–विदेशी पर्यटकलाई आकर्षित गर्न सकिन्छ । अब शिक्षा दिने केन्द्र, अनुसन्धान गर्ने केन्द्र, उत्पादन गर्ने केन्द्र छुट्टाछुट्टै बनाउनेभन्दा ती सबैबीच आपसी सहयोग र आपसी प्रयासमा इन्क्युबेसन सेन्टर, साइन्स पार्क, टेक्नोलोजी पार्क वा औद्योगिक पार्क सँगसँगै बनाउने सोच चाहिएको छ । रोजगारदाता पनि त्यहीँ र रोजगारी पनि त्यहीँ हुनुपर्ने सोच चाहिएको छ ।

अब बाटो पनि, उद्योग पनि, अनुसन्धान स्थल र शिक्षण केन्द्र पनि विदेशीले गरे मात्र हुन्छ भन्ने दिन गए । विदेशीले यहाँ व्यापार वा उद्योग हुन सक्छ भनी लगानी (फोरेन डाइरेक्ट इन्भेस्टमेन्ट) गर्न सक्छन् र त्यहाँ नजिककै क्षेत्रमा राम्रा हिल स्टेसन हुन सक्छन् ।हिल स्टेसनमा आवासीय विद्यालय (बोर्डिङ स्कुल), अस्पतालहरू, पर्यटन केन्द्रहरू, होटल र लजहरू स्थापना हुन सक्छन् । तिनै भेगतिर चौंरीगोठ र भेडीगोठहरू बनाएर ऊनी धागो र दुग्ध पदार्थका थुप्रै उद्योग खोल्न सकिन्छ । न्युजिल्यान्ड, अस्ट्रेलिया, इजरायलले जे गरे, त्यो गर्न सकिन्छ । बागवानीका लागि त्यही क्षेत्र उत्तम हुन सक्ने देखिन्छ ।

दामन–पालुङ–टिस्टुङ क्षेत्र

त्यत्तिकै अनुकूल दामन, पालुङ र कुलेखानी क्षेत्र पनि छ । यो मध्यपहाडी भेग काठमाडौं उपत्यका, हेटौडा, चितवन उपत्यकाको केन्द्रजस्तै ठाउँमा रहेको अत्यन्त आकर्षक स्थल हो । यो पनि पहाड र उपत्यका भेगका कृषि, वन, पर्यटन र जलस्रोतको केन्द्रस्थल भएको ठाउँ हो । कृषि र वनका विश्वविद्यालय र कलेज त्यतै छन् । काठमाडौंमा त स्वास्थ्य, प्रविधि र अरू विषयका केन्द्रहरू पनि छन् । पर्यटनका लागि चितवन राष्ट्रिय निकुञ्ज र पर्सा निकुञ्ज नजिकै छन् । केबलकार, रोप– वेहरू आसपासमै छन् । वरिपरिका नदीनालाबाट एकत्रित भएर पानी जम्मा भएको कुलेखानी प्रोजेक्टकै शिरतिर भएको, हिमाली शृङ्खला, महाभारत शृङ्खला र चुरे शृङ्खलाको समेत बीचबीचतिर वा सामुन्ने रहेको अत्यन्त आकर्षक स्थल हो यो । यहाँ त्यस्ता हिल स्टेसन बनाउन सकिन्छ, जहाँ हप्तौं वा महिनौं पर्यटकहरू बस्न आउने लज बनाउन सकिन्छ, बौद्ध गुम्बा वा अध्ययन केन्द्रहरू बनाउन सकिन्छ ।

शिक्षण संस्था भनेका गुरुले पढाउने, घोकाउने र जाँच लिएर प्रमाणपत्र दिने केन्द्र मात्र होइनन्, रोजगारी प्राप्त गर्ने केन्द्र मात्र पनि होइनन्, रोजगारी प्रदान गर्ने स्थल पनि हुन् । त्यस्तै ज्ञान भित्र्याउने, प्रविधि भित्र्याउने, प्रविधि र ज्ञान प्रसारित गर्ने स्थल मात्रै होइनन्, ती विषय विकास गर्ने, सिकाउने र सिक्ने मिलेर नयाँ खोज र उत्पादनमा सरिक हुने स्थल पनि हुन् र ती विषय विकास गर्ने केन्द्रसमेत हुन् । आजको समयमा एकपल्ट विकास भएको प्रविधिलाई धेरै समयसम्म प्रयोग गरिरहनेभन्दा प्रविधि नै चाँडै–चाँडै परिवर्तन भइरहेका छन् । तिनको प्रयोग गर्ने स्थलहरू पनि कङ्क्रिटका घरले भरिएका हाताभित्रभन्दा सूचना–प्रविधिले पूरै प्रवाहित भएका अनलाइन क्रियाकलापबाट विस्थापित हुँदै जान थालेका छन् । अब ज्ञानहरू पुस्तकालयमा सङ्गृहीत हुन्छन्, विद्वान्हरू एकै ठाउँमा थुप्रिएका हुन्छन् भन्न मिल्दैनÙ ती त जताततै छरिएका हुन्छन् । सेकेन्ड–सेकेन्डमा सम्पर्कमा रहिरहेका हुन्छन् । सूचना–प्रविधिले जस्तै जीवप्रविधिले पनि चमत्कार गर्दै छ । यी कुराहरू बिस्तारै सबैको जनजीवनभित्र पसिसकेका छन् ।

विश्वलाई चाँडै आतंकित पारेको कोभिड–१९ ले चाँडै राहत पनि दिन सक्छ । अझ बढी समय आतंकित पार्न पनि सक्छ । यसले शिक्षामा, स्वास्थ्यमा र यातायातमा पनि प्रभाव पारेको छ । यसले आजको अवस्था कस्तो दिशातिर जाँदै छ भन्ने संकेत गरेको छ ।

गण्डक र अन्नपूर्ण क्षेत्र

यस क्षेत्रले त हिमालवारि मात्र होइन, हिमालपारिसम्मै ओगटेको छ । पूर्वी क्षेत्रको एउटा चरित्र छ भने मध्यक्षेत्रको अर्को । गण्डक र अन्नपूर्ण त अझ धौलागिरि क्षेत्रसम्म पुगेको छ । कृषिको दृष्टिकोणले उच्च पहाडी भाग र आकर्षक उपत्यका, टार र नदीकिनार (रिभर बेसिन) भएको क्षेत्र हो यो गण्डक र अन्नपूर्ण क्षेत्र । पहिले २०२५ सालतिर पोखरा पुग्दा त्यहाँबाट अन्नपूर्ण र माछापुच्छ्रे अनि फेवा र बेगनास ताल देखेर म खुबै लोभिएको थिएँ । पछि मुस्ताङका जोमसोम, मुक्तिनाथ, मार्फा, टुकुचे, कोबाङ, लेते हुँदै बागलुङ पुग्दा ‘मेरो देश कति राम्रो रहेछ, यहाँका दाजुभाइ र बासिन्दालाई हेर्दा आफ्नै देशको विविधता देख्न पाइँदो रहेछ’ भन्ने सम्झन पुगेको थिएँ ।

यस भेगले कति लोभ्यायो भने, म मुस्ताङतिर नै बीसौंपल्ट पुगें होला । उपल्लो मुस्ताङ नै दुईपल्ट जोमसोमबाट हिँडेरै पुगें । ‘त्यो ठाउँ बिछट्टै राम्रो छ, हेर्न जाऊ, उडेर मात्र होइन, हिँडेरै जाऊ’ भनेर राजा वीरेन्द्रले भनेको सम्झन्छु । स्विस भूगर्भविद् टोनी हेगनले लेखेको ‘टोनी हेगन्स नेपाल’ र मिखेल पिसेलले लेखेको ‘अ लस्ट टिबेटन किङडम’ पुस्तक पढेपछि नेपाल कस्तो रहेछ भनेर हामी नेपालीले भन्दा पहिले त विदेशीले पो चिनेछन् जस्तो लाग्यो ।

म राष्ट्रिय शिक्षा समितिमा काम गर्थें । नेपालको शिक्षा योजना लागू गर्न बनेको माथिल्लै तहको संस्था थियो त्यो । राजालाई बागलुङमा एउटा कृषि कलेज बनाउने इच्छा जागेछ । विशेष गरेर उच्च पहाडी भेग मार्फाको कृषि फर्ममा फलेका स्याउको स्वाद, बेनी (म्याग्दी) भेगका सुन्तला, जुनार, भोगटे र बागलुङतिरका आँप, मेवा, केरा, कटहरले र त्यताका तरकारीले निकै लोभ्याएछन् । शिक्षामन्त्री, उपकुलपति, कृषिका डिन र म शिक्षा समितिको सदस्य–सचिवलाई पोखराको रत्न मन्दिरमा बोलाई राजाले ‘कृषि कलेज बनाइहाल’ भनेका थिए । पछि जोमसोममा प्लेनबाट ओर्लिई धौलागिरि अञ्चलका मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वत चारै जिल्लामा पैदलै पुगें म । धौलागिरि पर्वतको फेदीतिरका मार्फा, टुकुचे, कोबाङ र लेतेको सौन्दर्य देखें ।

मिखेल पिसेलले मुस्ताङको यात्रामा संसारकै ठूलो र गहिरो म्याग्दीको खोच देखेपछि जियोलोजिकल स्टडिज, बुद्धिस्ट स्टडिज, हाई हिल एग्रिकल्चरल र मेडिसिनल प्लान्ट बारेको अनुसन्धानात्मक अध्ययन गर्न सुझाएको सम्झें । अझ हाइड्रोपावर डेभलपमेन्ट, विन्डपावर डेभलपमेन्ट र सोलारपावर डेभलपमेन्टको समेत गहन अध्ययन–अनुसन्धानको त्यत्तिकै महत्त्व बोकेको, थकाली र गुरुङ जातिको संस्कृति र भूगर्भशास्त्रको शिक्षण–अनुसन्धान, पर्यटनमुखी सीप विकास गर्न उर्वर भूमि रहेको पाएको थिएँ । अनि शिक्षा भनेकै ज्ञान र खोज गर्ने र नयाँ पिँढीलाई सिकाउने कुरा रहेछ भन्ने लाग्यो ।

कृषि, वन पैदावार, ऊर्जा, पर्यटन र अझ विशेष गरी बुद्धधर्मको मर्म र गहिराइबारे अध्ययन–अनुसन्धान र खोजका लागि संसारका सर्वोच्च शिखरहरू, त्यो पनि नेपालभित्रकै अन्नपूर्ण र धौलागिरि एवं गण्डकी नदीकै आसपासका क्षेत्रहरूका लागि यो भेग अति नै आकर्षक र उत्तमजस्तो लाग्छ । पर्यटन, कृषि, वन र ऊर्जाकै सेरोफेरोमा हाम्रो शिक्षा पनि केन्द्रित हुनुपर्ने र त्यसको केन्द्रभूमि पोखरा नै हुनुपर्ने भन्ने पनि लाग्छ ।

कृषि, वन, पर्यटन र ऊर्जासम्बन्धी अध्ययन–अध्यापन, सीप र पर्यटनजस्ता आर्थिक र सामाजिक कार्यक्षेत्रभित्र ध्यान केन्द्रित गर्दै अगाडि बढाउन नयाँ पिढीलाई उत्प्रेरित गर्नु नै आजको आवश्यकता हो र मार्गचित्र पनि हो ।

(शर्मा काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति हुन् ।)

प्रकाशित : भाद्र १४, २०७७ ०९:११
प्रतिक्रिया
पठाउनुहोस्

अबको युग हातमा सीप हुनेको

अटोमोबाइल, मेकानिकल, विद्युत्, कृषि र निर्माणसम्बन्धी सीप तथा प्रशिक्षक तयार पार्ने कामको सुरूआत युद्धस्तरमै गर्नुपर्छ ।
सुरेशराज शर्मा

मुलुकको चौतर्फी विकास अपरिहार्य भइसकेको छ । तर, यसका लागि आवश्यक ऊर्जाशील र कर्मशील युवाको जमात तयार भइसकेको छैन । त्यस जमातभित्र सक्षम योजनाकार, सक्षम प्राविधिज्ञ, सक्षम व्यवस्थापक र सक्षम शिल्पकार वा सीपयुक्त कामदार पर्छन् । मुलुकमा भएका शिक्षण संस्था र तालिम केन्द्रहरूले त्यो भूमिका निर्वाह गरिरहेका हुन्छन् ।

राम्रो योजना चाहिन्छ । त्यसको कार्यान्वयन गर्न सक्ने अठोट र क्षमता पनि चाहिन्छ । जनस्तरमा ‘यिनीहरू गर्छु भनेका कुरा गर्न सक्छन्’ भन्ने विश्वास पनि चाहिन्छ । गर्न सक्नेलाई प्रोत्साहन गर्ने र नसक्नेलाई दण्डित गर्ने परिपाटी पनि चाहिन्छ । गर्न नसक्नेलाई हटाउन नसक्ने वा मोलाहिजा गर्ने संस्कारको अन्त्य हुनैपर्छ ।

हालैका वर्षहरूमा भीषण बाढी–पहिरो गएको, ठूलो भुइँचालो गएको र हालसालै कोरोना भाइरसको सङ्क्रमणसमेत भएको छ । यी कार्यको सम्पादन राम्रोसँग भयो कि भएन, बाहिरी जगत्ले पनि हेरिरहेको छÙ मुलुकभित्र पनि जनताले धैर्य जनाउँदै हेरिरहेका छन् । आजको समयमा भित्री प्रतिस्पर्धा मात्र होइन, बाहिरी प्रतिस्पर्धा पनि त्यत्तिकै चर्को रूपमा देखा परिरहेको छ । उत्पादित वस्तुको स्तर र मूल्य, रोजगारीको अवसर र तालिम तथा शिक्षा दिने अवसर पनि सीमारहित (बोर्डरलेस कमोडिटिज) हुन पुगेको छ । योग्य छन्, सक्षम छन् भने जहाँ पनि बिक्छन् । योग्य र सक्षम छैनन् भने कहीँ पनि बिक्तैनन् । उच्च शिक्षा दिने संस्थाहरूको स्तर मापन (ग्लोबल र्‍याङ्किङ) तटस्थ संस्थाहरूले गरिरहेका छन् । स्तर मापन गर्ने ‘एक्रिडिटेसन सिस्टम’ पनि निकै सशक्त भएको छ । हामी तिनको मापनका आधारमा अवसर पाइने समयमा छौं ।

विज्ञान र प्रविधिको विकासको वेग पनि बेजोडको भएको छ । औद्योगिक क्रान्ति (इन्डस्ट्रियल रिभोल्युसन) पश्चात् तीव्र औद्योगिक विकास भयो । त्यसको लाभ बढी विकसित र नवविकसित राष्ट्रले लिए । त्यसपछि हरित क्रान्ति र श्वेत क्रान्ति (ग्रिन रिभोल्युसन एन्ड ह्वाइट रिभोल्युसन) को युग आयो । त्यसको लाभ हाम्रा छिमेकी मुलुकहरूदेखि इजरायल, न्युजिल्यान्ड, अस्ट्रेलिया, भियतनाम, कम्बोडिया, मलेसियाजस्ता थुप्रै नवविकसित राष्ट्रहरूले राम्रैसित लिइरहेका छन् । अहिले सूचना प्रविधि (इन्फर्मेसन टेक्नोलोजी) र जीव प्रविधि (बायोटेक्नोलोजी) को युग छ । त्यसमा पनि चुक्यौं भने हामी असफल राष्ट्रको पङ्क्तिमा पुग्न सक्छौं । अठोट, चुस्तपन (स्मार्टनेस) र चनाखोपनमै हाम्रो विकास निर्भर गर्छ ।

अब ध्यान आफ्नै समस्यातिर केन्द्रित गर्न खोजौं । पहिले त हामी परनिर्भरताको अवस्थाबाट मुक्त भई आत्मनिर्भरताको अवस्थामा पुग्नैपर्छ । विश्वविद्यालयका स्नातक होऊन् वा सीप–परीक्षणमा सफल भएका प्राविधिज्ञ वा कामदार, ती प्रमाणपत्र बोक्ने होइन कि जहाँ पनि माग गरिने पोख्तता बोक्ने हुनुपर्‍यो । स्नातक त भयौं, तर रोजगारी पाउनलायक भएनछौं भनी ‘नो अब्जेक्सन लेटर’ बोकेर त्यही कुरा सिक्न बाहिर जाने क्रमलाई रोक्नुपर्‍यो । यस्तै कोर्स पढ्न लोभ्याउने अस्ट्रेलिया, कोरिया, बेलायत, अमेरिकासम्मका आएर नेपालबाट पचासौं हजारमा बाहिर लगिन थालेको दशकौं भइसक्यो । नेपालले बाहिर जान खोज्ने होइन, यहाँ पनि शिक्षा र तालिम उम्दा दर्जाको छ भनेर देखाउने शिक्षण संस्था वा तालिम केन्द्रहरू बनाउनुपर्‍यो । त्यस काममा नेपालको उद्योग–व्यवसायसित हातेमालो वा साझेदारी गर्नुपर्‍यो । सञ्चारमाध्यमले पनि यस्ता संस्था नेपालमा बनाउन र देखाउन भनिदिनुपर्‍यो । कहीँ बाहिरी संस्थाको पो विज्ञापन भइरहेको छ कि भन्ने हेरेर राष्ट्रप्रेम जगाइदिनुपर्‍यो ।

नेपालकै विश्वविद्यालय र मेडिकल कलेजहरूमा आधाभन्दा बढी सिटमा विदेशी विद्यार्थीले पढेका उदाहरणहरू छन् । सूचना प्रविधिको विधामा त्यो हुन सक्ने अवस्थामा हामी पुगेका पनि छौं । गलैंचा, पस्मिना, ऊनीका ओढ्नेहरू उम्दा दर्जा र स्तरका बनाएर युरोप–अमेरिकासम्म राम्रैसित निर्यात गरेका पनि थियौं । अब त ऊन उत्पादन गर्ने भेडा, च्याङ्ग्रा आदिका गोठहरू पनि शून्य र उजाड हुन लागेको देख्तै छौं । उच्च गुणस्तरका काठ र वनस्पति नेपालमै छन् । वनौषधि पनि यहीँ छन् । सुगन्धित तेलहरू हुने वन पैदावार पनि यहीँ छन् । काष्ठकला, पाषाणकला र धातुकलामा आफ्ना कीर्तिहरू परसम्म पुर्‍याएका कालिगडहरूले प्रोत्साहन नपाएकाले उनीहरू पेसा छोड्दै वा झोक्राएर बस्तै गएको अवस्थामा भेटिन थालेका छन् ।

आधारभूत तहको सीप विकास गर्न शिक्षा मन्त्रालयको मात्र होइन, कृषि, वन, स्वास्थ्य, श्रम तथा युवा रोजगारी, निर्माण–यातायात मन्त्रालयहरूको पनि सामूहिक प्रयास आवश्यक देखिन्छ ।

कृषिका लागि उर्वर भूमि यहीँ छ । वन पैदावारका लागि त्यस्तै छ । जल ऊर्जा पनि त्यस्तै छ । सुन्दर, शान्त, विशाल भनिएको प्राकृतिक रूपले अत्यन्त सुन्दर नेपालको सुन्दरतालाई फस्टाउन दिएर पर्यटक लोभ्याउन सक्यौं भने अथाह अवसर यहीँ छन् ।

हामीले हाम्रो शिल्पकलालाई जोगाउनु छ, जुन गाह्रो पनि छैन । सीप सिकाउने काम सीप भएकै प्रशिक्षकलाई दिनुपर्छ । सीप सिकाउने प्रशिक्षक हामीलाई पचासौं हजारमा चाहिएका छन् । ती कहाँ तयार हुन्छन् र कसले तयार गर्छ, त्यतातिर हेरेका छैनौं । १ लाख सीपयुक्त कामदार तयार गर्ने संरचना बनिसकेको छैन । हामी चाँडै ७–८ लाख जनशक्ति तयार गर्छौं भनेर सरकार कस्सिएको देख्तै छौं । सीप सिकाउने ठाउँ सीप भएकै ठाउँ हुन सक्छ । औद्योगिक क्षेत्रको सीप उद्योगमै सिकाउनुपर्छ । कार्पेन्ट्री सिकाउने काम काठ उद्योगमै हुनुपर्छ । स्वास्थ्यसम्बन्धी सीप अस्पतालमै सिकाउनुपर्छ । कृषि प्राविधिज्ञ कृषि फार्म या कृषि उद्योगबाटै उत्पादन गर्नुपर्छ । ‘हस्पिटालिटी’ व्यवस्थापन क्षमता होटल, लज, रेस्टुराँमै सिकाउनुपर्छ । माध्यमिक र उच्च माध्यमिक विद्यालयमा ज्ञान त सिक्छन्, तर सीप सिक्तैनन् । यो कुरा बुझ्नु आवश्यक छ । हुन सक्ने कुरा गरौं, हुनुपर्ने ढंगबाट गरौं । हामीले पार गर्नुपर्ने बाटो लामो छ । तर ढंगसित गर्‍यौं भने छोटो पनि हुन सक्छ ।

आज ट्रान्सपोर्टसम्बन्धी सीप (अटोमोबाइल स्किल), उत्पादनसम्बन्धी सीप (मेकानिकल स्किल), विद्युत्सम्बन्धी सीप, कृषिसम्बन्धी सीप, निर्माणसम्बन्धी सीप र प्रशिक्षक तयार पार्ने काम प्राथमिकतासहित युद्धस्तरमै थाल्नुपर्छ । कोसँग बढी बुद्धि छ भनेर बुद्धिमान्हरू खोज्ने होइन; गर्न सक्ने, रोजगारी मात्र नदिई तालिमको प्याकेज बनाउने, तालिमको स्तर निर्धारण गर्ने, तालिममै बलियो साझेदारी गर्ने सहयात्री (पार्टनरसिप) चाहिएको छ । व्यावहारिक ज्ञान उत्पादन स्थलमै गर्न दिने र प्रशिक्षणको काममा सघाउन खोज्ने हो भने तालिमको खर्च धेरै कम हुन जान्छ । राम्रो साझेदारीका हस्तीहरू खोज्न मात्र सक्नुपरेको छ ।

अब आधारभूत तहको सीप विकास गर्न शिक्षा मन्त्रालयको मात्र होइन, कृषि, वन, स्वास्थ्य, श्रम तथा युवा रोजगारी, निर्माण–यातायात मन्त्रालयहरूको पनि सामूहिक प्रयास आवश्यक देखिन्छ । मध्यमस्तरका प्राविधिज्ञमा उच्च तहको प्राविधिज्ञको सहायकको भूमिका खेल्न सक्ने र तल्लो स्तरको सुपरभाइजर तथा केही हदमा सम्भारकार्य (मेन्टिनेन्स) लाई सघाउन सक्ने पनि क्षमता रहनुपर्ने हुँदा यस तहको शिक्षा विद्यालय जाने उमेर समूहलाई दिने गरी सीटीईभीटीले व्यवस्था गर्नुपर्ने हुन्छ । यस्तो काम उच्च शिक्षा दिने संस्थाले पनि गर्नुपर्ने र केही हदमा औद्योगिक क्षेत्र, बैंक र रेस्टुराँमा समेत गर्नुपर्ने देखिन्छ । यसमा निजी तथा आवासीय विद्यालयहरूले खेल्न सक्ने भूमिका पनि निकै ठूलो छ ।

-शर्मा काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति हुन् ।

प्रकाशित : श्रावण ६, २०७७ १०:०६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×