कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोनाका मृतकको अन्त्येष्टि

हरिहर वस्ती

आठ महिनायता विश्वलाई नै आतंकित बनाइरहेको कोरोना भाइरस रोग (कोभिड–१९) बाट आजसम्म लाखौं व्यक्तिले ज्यान गुमाइसकेका छन्, करोडौं संक्रमित छन् । यो रोग नेपालमा पनि बाढीजस्तो देखिएको छ । यसबाट मृत्यु भएकाहरूको अन्तिम संस्कारलाई लिएर परिवारजन लगायतले ठूलो चुनौती सामना गर्नुपरिरहेको छ ।

कोरोनाका मृतकको अन्त्येष्टि

विश्व स्वास्थ्य संगठन लगायतका संस्था तथा सबै देशले समेत कोरोनापीडितहरूको शवको व्यवस्थापन कसरी गर्ने भनी विभिन्न निर्देशिका तथा प्रोटोकलहरू लागू गरेको धेरै महिना बितिसकेको छ । तर नेपाली जनमानसमा त्यसबारे प्रशिक्षण र सूचनाको सरल प्रवाह नगरिएकाले विभिन्न भ्रम तथा शंका उब्जिरहेका छन् । फलस्वरूप कोरोनाबाट मृत्यु भएकाहरूको शवको व्यवस्थापनमा अनावश्यक जटिलता उत्पन्न भएको छ र मानव शरीरले मृत्युपछि पाउनुपर्ने न्यूनतम संस्कारमा समेत ठूलो विचलन आइरहेको छ । कुनै पनि सभ्य समाजको ठूलो मापक त्यस समाजको नागरिकलाई मरेपछि गरिने व्यवहार हो भन्ने विश्वव्यापी मान्यता हुँदाहुदै पनि कोरोनाकालमा मानव सभ्यता जनावरहरूको संस्कारभन्दा पनि पछाडि फर्कंदै त छैन भनी सोच्ने बेला भइसकेको छ ।

शव व्यवस्थापनमा जटिलताका कारण

१. डर : कोभिड–१९ बाट मृत्यु भएकाहरूलाई लिएर स्वास्थ्यकर्मी, शववाहन चालक, आफन्त तथा सम्बन्धित जोकोही अत्यधिक डराएको देखिन्छ । मुर्दाबाट कोरोना भाइरस रेडिएसनझैं अन्यत्र फैलन्छ वा बमजस्तो विस्फोट नै भइहाल्छ कि भनी तिनीहरू त्रस्त हुने गरेका छन् । तर, त्यस्तो सम्भावना कत्ति पनि हुन्न । असुरक्षित रूपले शवको प्रत्यक्ष सम्पर्कमा आउनबाट चाहिँ बच्नुपर्छ ।

२. अन्तिम संस्कार गर्ने ठाउँसम्बन्धी विवाद : साबिकका दाहसंस्कार वा समाधिस्थ गरिने घाटहरूमा समुदायका व्यक्तिहरूले नै अन्तिम संस्कार गर्न निषेध गरेको देखिन्छ, जुन गलत छ । शव जलाउँदा सयौंदेखि हजारौं डिग्री सेन्टिग्रेडको तापक्रम पैदा हुन्छ र शरीर खरानी बन्छ । यसरी खरानी हुँदा कोभिड मात्र हैन, सबै भाइरस तथा ब्याक्टेरियाहरू पूर्ण रूपमा नष्ट हुन्छन् । पानी उम्लनेसम्मको तापक्रमले नै कोभिड भाइरस नष्ट हुन्छ भनी वैज्ञानिकहरूले पुष्टि गरिसकेका छन् । जलेर बाँकी रहेको खरानी वा अस्तु संकलन गर्नसमेत कुनै खतरा छैन । जमिनमा पाँच–छ फिट तल गाडिएको शवबाट भाइरस बाहिरी वातावरणमा आउँदैन ।

३. शव व्यवस्थापनमा ढिलाइ : मृत्युपछि तत्काल अन्त्येष्टि प्रक्रियामा लाग्नु धेरैजसो धर्म तथा संस्कारको मान्यता हो । जिल्ला कोभिड व्यवस्थापन समितिको संलग्नता हुनुपर्ने कारणले पनि कतिपय अवस्थामा ढिलाइ भएको देखिन्छ । मृत्युजस्तो अति संवेदनशील अवस्थामा कुनै प्रशासकीय वा कागजी झमेला नगरी सम्बन्धित निकायले कागजात तथा मानव संसाधनको तुरुन्त व्यवस्था गरिदिनुपर्छ ।

४. प्रशिक्षणको अभाव : शववाहन चालक तथा शवसँग प्रत्यक्ष सम्पर्क गर्ने व्यक्तिहरू उचित प्रशिक्षणको अभावले गर्दा आफ्नो दायित्व वहन गर्न हच्केका छन् । जिम्मेवार निकायहरूले उचित ध्यान दिई नियमित प्रशिक्षणको व्यवस्था गर्नुपर्छ । यस्तो कार्यमा आफैं अगाडि आउने स्वयंसेवकहरूलाई संलग्न गराउन सक्नुपर्छ र आवश्यक सुरक्षा सामग्री उपलब्ध गराई अन्य सबै तरिकाद्वारा प्रोत्साहित गर्नुपर्छ ।

५. समुदायमा बढ्दो मानसिक तनाव : सामाजिक तथा सांस्कृतिक पक्षसँग जोडिएको मृत्युपछिको अन्तिम संस्कारबारे मानिसहरूमा कोभिडले मरियो भने अगति परिने भैयो, अन्त्येष्टि तथा काजकिरियासमेत प्रचलनअनुसार हुँदैन भनी एक प्रकारको सांस्कृतिक आतंक पैदा भएको छ । माथि उल्लिखित प्रक्रियालाई सरल रूपमा व्यवहारमा उतार्न सके कसैमा पनि अनावश्यक मानसिक तनाव पर्दैन ।

शव व्यवस्थापनमा सुरक्षाका उपाय

१. अस्पताल वा घरमा जहाँसुकै मृत्यु भए पनि कोरोना शंकास्पद वा यकिन दुवै अवस्थाका शवहरूको यथाशक्य चाँडो अन्त्येष्टि गर्ने ।

२. परम्परागत स्थानमै प्रचलित विधिअनुसार दाहसंस्कार वा समाधिस्थ गर्ने ।

३. शवलाई उठाउँदा, घाट लैजाँदा, चितामा राख्दा वा गाड्ने तयारी गर्दा गर्नुपर्ने प्रक्रियामा विशेष सावधानी अपनाउनुपर्ने हुँदा त्यसअघि व्यक्तिगत सुरक्षाका सामग्री (जस्तो : मास्क, पन्जा, टोपी, चस्मा, गाउन आदि) लगाउने ।

४. धेरै मलामी जम्मा नहुने । भौतिक तथा सामाजिक दूरी पालना गरी एक–दुई दर्जन मानिस जम्मा भई अन्त्येष्टि गर्दा फरक पर्दैन । भौतिक तथा सामाजिक दूरी र मास्कको प्रयोग अरू सामान्य अवस्थामा पनि अत्यावश्यक भैसकेको अवस्थामा अन्त्येष्टि गर्दा पनि यो नियम पालना गर्नुपर्छ ।

५. वृद्धवृद्धा, केटाकेटी तथा अन्य शारीरिक रोगका कारण कमजोर स्वास्थ्य भएका व्यक्तिहरू अन्त्येष्टिमा सहभागी नहुने ।

६. अन्तिम संस्कारको प्रक्रियामा मुखमा पानी चुहाइदिने, ढोग्ने, अँगालो हाल्ने, मिचीमिची धुने–नुहाउने जस्ता प्रक्रिया नगर्ने । एक मिटरको दूरीबाट हेर्दा, जल छर्कंदा, नमस्कार गर्दार्, फूल चढाउँदा जोखिम हुन्न ।

७. शवसँग प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिले हरेक चरणमा हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने ।

८. शववाहनका चालकले मास्क, पन्जा लगाएर मात्र गाडी चलाएमा पनि कोरोना सर्ने सम्भावना देखिँदैन ।

९. शवसँग प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिहरूले अन्त्येष्टि सकिएपछि बाहिरी सबै कपडा, जुत्ता, टोपी आदि डिस्पोजेबल भए सुरक्षित स्थानमा संकलन गर्ने र त्यसको उचित उपचार गरी थन्काउने वा जलाउने । पुनर्प्रयोग गर्नुपर्ने वर्गका भए १ प्रतिशत क्लोरिनको झोलले निर्मलीकरण गरी धुने–पखाल्ने र घाममा सुकाउने ।

१०. माथि उल्लिखित बुँदाहरू पालना गर्न मृतकका परिवारका सदस्यहरू सधैं सक्षम नहुन सक्छन् भनी जिल्लास्थित कोरोना व्यवस्थापन समितिले विशेष प्रशिक्षण दिएका व्यक्तिहरूको टोलीबाट शवको व्यवस्थापन गर्ने भनिएको हो । अरू कसैले हेर्नै नहुने र अरू कोही मलामीसमेत जान नहुने भन्ने होइन ।

११. अन्य शव नछुने मलामीहरूले अरू समयमा जस्तै लगाएका कपडाहरू धुने र नुहाइ–धुवाइ गरेमा पर्याप्त हुन्छ ।

हाल समुदायमा देखिएका विविध भ्रमबाट र कार्यान्वयनमा देखिएका अनावश्यक जटिलताका कारण कोभिडसँग जोडिएका अन्त्येष्टि कर्महरू समस्यामूलक देखिएका छन् । यसमा तथ्यगत कारण भने छैन । सामान्य अवस्थाको अन्त्येष्टिभन्दा अहिलेकामा फरक भनेको केवल सावधानीको हो, जुन कुरा जीवित मान्छेका गतिविधिहरूमा पनि अपनाइएका छन् । जिउँदा व्यक्ति वा बिरामीबाट कोभिड सर्ने खतरा शवबाट भन्दा धेरै गुणा बढी हुन्छ । होस पुर्‍याई शवको व्यवस्थापन गरेमा रोग सर्ने जोखिम छैन । सरकारद्वारा तयार निर्देशिकाको सानो ब्रसर बनाई समुदायसम्म वितरण गर्ने र शव व्यवस्थापनमा प्रत्यक्ष जोडिने व्यक्तिहरूलाई सामान्य प्रशिक्षण मात्र दिने हो भने अन्त्येष्टिसँग जोडिएका भ्रमहरूबाट सबै मुक्त हुन सक्छन् ।

प्रकाशित : भाद्र २, २०७७ ०८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?