कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

साझा भविष्यका लागि सहकार्य

आपसी समझदारी, असल छिमेकीपन, एकअर्काको सार्वभौम स्वतन्त्रता तथा भौगोलिक अखण्डताको सम्मान एवं आपसी खाद्य चासो र स्वार्थको रक्षामा प्रतिबद्धता नेपाल–चीन सम्बन्धका खास विशेषता हुन् ।
लीलामणि पौड्याल

सांस्कृतिक र जनस्तरमा हजारौं वर्ष पुरानो सम्बन्ध रहेका नेपाल र चीनले १ अगस्त १९५५ मा कूटनीतिक सम्बन्ध स्थापना गरेका हुन् । नेपाल र चीनका दुवै समाजले शाक्यमुनि गौतम बुद्ध र कन्फ्युससका करुणा, मैत्री, अहिंसा, सहअस्तित्व र सामाजिक हितका लागि व्यक्तिगत हितको उत्सर्गजस्ता मूल्यमान्यतालाई जीवनपद्धतिका रूपमा पुस्तान्तरित गर्दै आएका छन् ।

साझा भविष्यका लागि सहकार्य

दुवै मुलुकसँग संसारका दुई पुराना सभ्यता र उन्नत संस्कृतिको गौरवशाली इतिहास छ । हाम्रा पुर्खाले हिमाल छिचोल्ने दुरूह घाटी, गहिरा र खतरनाक गल्छी–गल्छेडा तथा उच्चसमस्थलीय मरुभूमि पार गर्ने चिया–घोडेटो र दक्षिणी रेसममार्ग खोले अनि सभ्यता–संस्कृतिको आदानप्रदान र व्यापार–व्यवसायलाई सहज बनाए । बुद्धभद्र र फा सियान (५ औं शताब्दी), भृकुटी र ह्वेन शाङ (७ औं शताब्दी) तथा अरनिको (१३ औं शताब्दी) जस्ता विद्वान्–विभूतिहरूले हाम्रा दुई मुलुकबीचको सभ्यता र सांस्कृतिक आदानप्रदानमा अमूल्य योगदान गरेका छन् ।

सांस्कृतिक, व्यापारिक तथा जनस्तरको सम्बन्धको जगमा स्थापित कूटनीतिक सम्बन्ध नेपाल र चीनबीच नयाँ युगको थालनी थियो । सन् २०२० मा हामी कूटनीतिक सम्बन्ध स्थापनाको सुखद ६५ औं वार्षिकोत्सव मनाउँदै छौं । यो दिन विगतका हाम्रा कामको समीक्षा गर्ने र आगामी दिनमा सम्बन्धलाई कसरी थप मजबुत बनाउन सकिन्छ भनी चिन्तन गर्ने अवसर पनि हो । विगत ६५ वर्षमा हाम्रो सम्बन्ध शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तमा आधारित रह्यो । आपसी समझदारी, असल छिमेकीपन, एकअर्काको सार्वभौम स्वतन्त्रता तथा भौगोलिक अखण्डताको सम्मान एवं आपसी खास चासो र स्वार्थको रक्षामा प्रतिबद्धता दुई मुलुकबीच खारिएको सौहार्दपूर्ण सम्बन्धका खास विशेषता हुन् । नेपाल एक–चीन नीतिमा दृढ र नेपालको भूमि चीनविरोधी गतिविधिमा प्रयोग हुन नदिन प्रतिबद्ध रह्यो । ताइवान, हङकङ, सिन्च्याङ तथा तिब्बतका मामिलामा नेपाल सधैं चीनको साथ रह्यो । चीनले पनि नेपालमा गत ६५ वर्षमा ६ पटक सत्ता परिवर्तन हुँदा समेत नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेन, बरु सजिलो र असहज दुवै परिस्थितिमा नेपालको सार्वभौम स्वतन्त्रता र भौगोलिक अखण्डताप्रति दह्रो समर्थन तथा सामाजिक सद्भाव, स्थिरता र नेपाली जनताको विकासको चाहनामा निरन्तर सहयोग गरिरह्यो । भूगोल, जनसंख्या, विकासको अवस्था र राजनीतिक प्रणालीमा ठूलो भिन्नता भएर पनि असल छिमेकीका रूपमा सहकार्य गर्न सकिन्छ भन्ने नमुना नेपाल–चीन सम्बन्ध हो ।

नेपाल–चीन सम्बन्धलाई दुई मुलुकका जनताका अपेक्षाहरूको सम्बोधन तथा उनीहरूको हित र समृद्धिको चाहनालाई प्रवर्द्धन गर्ने हेतुले विगत ६५ वर्षमा थुप्रै सन्धि–सम्झौता भएका छन् । तीमध्ये शान्ति तथा मैत्री सन्धि–१९६०, सीमासम्बन्धी सन्धि–१९६१, व्यापार र भुक्तानीसम्बन्धी सम्झौता–१९७४, सांस्कृतिक सहयोगसम्बन्धी सम्झौता–१९९९, व्यापार अन्य सम्बन्धित विषयसम्बन्धी सम्झौता–२००२, पारवहन तथा यातायात सम्झौता–२०१६, बेल्ट एन्ड रोड संयुक्त विकाससम्बन्धी समझदारी–२०१७, लगानी तथा व्यापार प्रवर्द्धनसम्बन्धी फ्रेमवर्क समझदारी–२०१७, सीमापार विद्युत् प्रसारणसम्बन्धी समझदारी–२०१८, सीमापार आर्थिक क्षेत्र विकाससम्बन्धी सम्झौता–२०१८, नेपालमा रेलसेवाको विकास तथा परियोजना निर्माणसम्बन्धी समझदारी–२०१९ र सीमा क्षेत्रको व्यवस्थापन तथा विकाससम्बन्धी सम्झौता २०१९ प्रमुख हुन् । सम्बन्धलाई अगाडि बढाउन विभिन्न तहमा विभिन्न विषयसम्बद्ध संयन्त्र र संयुक्त कार्यदलहरू बनेका छन् । हालैका वर्षहरूमा नगरपालिका, मैत्री संगठन, गैरसरकारी संस्था, विश्वविद्यालय तथा बौद्धिक र शैक्षिक संस्था तथा व्यावसायिक संघ–संगठनका बीच जनस्तरमा सम्बन्ध विस्तार भएका छन् ।

विगत ६५ वर्षमा नेपाल र चीनबीच विकास सहायता, लगानी, व्यापार र पर्यटनको प्रवर्द्धनले धेरै ठूलो फड्को मारेको छ । चार वर्षयता विकास सहायता अमेरिकी डलर ३५४ लाखबाट बढेर करिब १,५०४ लाख पुगी ४.२५ गुणाले वृद्धि भएको, नेपालमा भित्रिएको कुल

वैदेशिक लगानी करिब १२३ अर्ब रुपैयाँमध्ये चिनियाँ लगानी ८४.४ अर्ब (झन्डै ६९ प्रतिशत) रहेको, सन् २०१७ मा नेपाल घुम्न आएका चिनियाँ पर्यटकको संख्या करिब १०५ हजारबाट २०१९ मा करिब ६२ प्रतिशतले बढेर झन्डै १७० हजार पुगेको र २०१६ मा चीनबाट नेपालमा १३० अर्ब रुपैयाँ बराबरको आयात भएकामा २०१९ मा आयात बढेर २१५ अर्ब तथा निर्यात १.८१ अर्ब रुपैयाँबाट बढेर २.५८ अर्ब पुगेको छ । चीन अहिले नेपालको प्रमुख विकास साझेदार, सबैभन्दा ठूलो वैदेशिक लगानीको स्रोत, दोस्रो ठूलो पर्यटनको स्रोत र दोस्रो ठूलो व्यापार साझेदार हो । धेरैजसो वैदेशिक सहायतामा नीतिगत हस्तक्षेप, महँगा परामर्शदाता र तयारीमा वर्षौं लाग्ने हुँदा परियोजना लागत अस्वाभाविक बढ्ने गरेको परिप्रेक्ष्यमा सरकारी माध्यमबाट, सरकारका प्राथमिकतामा, नीतिगत हस्तक्षेपबिना दिने र छिटो काम गर्ने चिनियाँ सहयोगका लोकप्रिय विशेषता हुन् ।

चीनसहित बाँकी विश्वसँग नेपालको व्यापार र व्यापारघाटा निरन्तर बढिरहेको छ । नेपालको उत्पादन क्षमता कमजोर भएको र चीनबाट प्राप्त शून्य–भन्सार सुविधा पनि हाम्रो क्षमताअनुकूल नभएकाले निर्यात बढाउन सकिएको छैन । तसर्थ, नेपाल–चीन सीमापार औद्योगिक क्षेत्र स्थापना गरी चिनियाँ बजारको मागबमोजिमका सामान उत्पादन गर्न र नेपाली उत्पादन प्रणालीलाई चिनियाँ उत्पादनको मूल्यशृंखलामा जोड्न पहल भैरहेको छ । सन् २०१९ नेपाल–चीन सम्बन्धमा ऐतिहासिक वर्ष रह्यो । नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको अप्रिलमा, गणतन्त्र स्थापनापछिका नेपालका राष्ट्राध्यक्षको पहिलोपटक, चीनमा राजकीय भ्रमण र चीनका राष्ट्रपति सी चीनफिङको २३ वर्षपछि अक्टोबरमा नेपालमा राजकीय भ्रमण सम्पन्न भए । बेइजिङमा अप्रिल भ्रमणका क्रममा भएका सम्झौताहरू र पेटी तथा मार्ग पहल (बीआरआई) सम्बन्धी दोस्रो अन्तर्राष्ट्रिय सहयोग सम्मेलनमा जारी भएको राष्ट्रप्रमुख तथा सरकारप्रमुखको साझा घोषणापत्र एवं काठमाडौंमा अक्टोबर भ्रमणका क्रममा भएका सम्झौता र दुई मुलुकबीचले सम्बन्धलाई नयाँ ढंगले परिभाषित गर्दै जारी गरिएको संयुक्त वक्तव्यका आधारमा यी भ्रमणलाई ऐतिहासिक भनिएको हो ।

अक्टोबर भ्रमणमा नेपाल–चीन सम्बन्धलाई विकास र समृद्धिका लागि चिरस्थायी मित्रताको विशेषता भएको सहयोगात्मक रणनीतिक साझेदारीका रूपमा परिभाषित गरिएको छ । उपर्युक्त समझदारीले समयको मागलाई सम्बोधन गर्ने र नेपाली जनताको विकास तथा समृद्धिको चाहनालाई उदाउँदो विश्व आर्थिक शक्ति चीनबाट भरपर्दो सहयोग पुग्ने विश्वास गर्न सकिन्छ ।

चीनले सात दशकयता गरेको सामाजिक–आर्थिक रूपान्तरण र गरिबी निवारणमा हासिल गरेको अभूतपूर्व सफलतामा नेपाली जनता खुसी व्यक्त गर्छन् । सन् २०४९ सम्म चीन गौरवपूर्ण सभ्यताको पुनर्जागरण र समृद्धि हासिल गर्दै शताब्दीका दुई लक्ष्य पूरा गर्न सफल होस् भन्ने कामना पनि गर्छन् । समृद्ध चीन हाम्रा लागि एक अवसर हो । नेपाल र चीन सबैजसो क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मामिलामा समान धारणा राख्छन् र विश्वशान्ति तथा क्षेत्रीय स्थिरताका लागि सहकार्य गरिरहेका छन् । विकसित हुँदै आएका सम्बन्ध र विश्वासका कारण नेपाल र चीन कसैले तोड्न नसक्ने साझेदार तथा भरपर्दा र असल छिमेकी मित्र भएका छन् ।

सन् २०१९ को अन्त्यमा चीनको वुहानमा पहिलोपटक पत्ता लागेको कोरोना भाइरसको महामारीले विश्व अहिले आक्रान्त छ । संक्रमणका सुरुका दिनहरूमा एक्लै बढी आक्रान्त देखिएको चीन सबै राज्यसंयन्त्र परिचालन गरी छोटो अवधिमै कोभिड–१९ लाई आधारभूत रूपमा नियन्त्रण गर्न सफल भयो । विश्वव्यापी महामारीको रूप लिएको यो भाइरसको संक्रमण नेपाललगायत दक्षिण एसियामा हाल तीव्र विस्तार भैरहेको छ ।

कोभिड–१९ का कारण नेपाललगायत विश्वभरिको अर्थतन्त्र चौपट भएको छ । पर्यटन व्यवसाय सात महिनादेखि ठप्पप्रायः छ । विकास सहायता र लगानी खुम्चिएका छन्, विश्वभर लाखौं नयाँ व्यवसाय बन्द भएका छन् र करोडौंले रोजगारी गुमाएका छन् । विश्वका ठूला अर्थतन्त्रमध्ये चीन मात्र तुलनात्मक रूपले कोभिड–१९ नियन्त्रण गरी अर्थतन्त्रलाई लयमा फर्काउन सफल भएको छ । यस अवस्थामा विश्व अर्थतन्त्रलाई पुनः गतिशील बनाउन चीनसँगको सहकार्य जरुरी छ ।

नेपालमा संक्रमण विस्तार भइरहेको र चीनले नेपाललाई कुनै पनि सहयोग दिन तत्पर रहेको बताइरहेको परिप्रेक्ष्यमा कोभिड–१९ नियन्त्रणमा चीनको सहयोग एकदमै मूल्यवान् हुनेछ । सन् २०१५ मा नेपालमा गएको महाविनाशकारी भूकम्पपश्चात् खोजी, उद्धार, राहत र पछि पुनर्निर्माणमा पुर्‍याएको अमूल्य सहयोगका लागि नेपाली जनताले चीनलाई दुःखको साथीका रूपमा दीर्घकालपर्यन्त सम्झिरहनेछन् । साथै, स्रोतसाधनको खाँचो भएको तर द्रुत विकासको आकांक्षी नेपाललाई वैदेशिक सहयोग, लगानी, पर्यटन र व्यापारमा निर्णायक हिस्सा भएको र सहयोगका लागि तत्पर छिमेकी मित्रराष्ट्र चीनसँगको सहकार्य अपरिहार्य छ ।

दौत्य सम्बन्धका सुखद ६५ वसन्त पार गर्दैगर्दा नेपाल–चीन सम्बन्ध सुविस्तारित, सुदृढ र समयका चुनौती खेप्न सक्ने गरी परिपक्व भएको छ । यो सम्बन्धलाई दुवै मुलुकका जनताको हितमा निरन्तर विकसित गर्न आगामी दिनमा देहायबमोजिमका पहल गर्नु समीचीन हुनेछ :

  • २०१९ अक्टोबरमा दुई मुलुकबीचको सम्बन्धलाई विकास र समृद्धिका लागि रणनीतिक साझेदारी गर्ने गरी परिभाषित गरिएको पृष्ठभूमिमा अहिलेको आवश्यकतालाई सम्बोधन र आगामी चुनौतीहरूलाई सामना गर्ने गरी सन् १९६० मा हस्ताक्षरित शान्ति र मैत्री सन्धिको सट्टा नयाँ शान्ति र मैत्री सन्धि गर्ने ।
  • दौत्य सम्बन्ध स्थापनाको ६५ औं वार्षिकोत्सव उच्चस्तरीय भ्रमण आदानप्रदान गरी विशेष कार्यक्रमसहित मनाउने ।
  • सम्बन्धलाई अझ फराकिलो र जनस्तरमा सुदृढ गर्न सांस्कृतिक कार्यक्रमहरू, चित्रकला/तस्बिर/पुस्तक प्रदर्शनी, विचार गोष्ठी, खेलकुद, हाजिरीजवाफ तथा निबन्ध प्रतियोगिता, खाना महोत्सव, व्यापार मेलाजस्ता कार्यक्रम दुवैतर्फ आयोजना गरी, राजनीतिक दलहरू, संघीय, प्रान्तीय तथा स्थानीय सरकार, युवा, महिला र मैत्री संगठनका उच्च पदाधिकारीहरूले भाग लिने । साथै, विश्वविद्यालय, शैक्षिक तथा बौद्धिक संस्था, कलाकार, पेसागत संघसंस्था, उद्यमी–व्यवसायी र मिडियाकर्मीहरूलाई सहभागी गराई जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउने ।
  • शाक्यमुनि गौतमबुद्धका उस्तै र उत्रै मूर्तिहरू दुवै मुलुकमा स्थापना गर्ने । साथै, नेपाल–चीन सम्बन्धमा अद्भुत योगदान गर्ने बुद्धभद्र, फा सियान, भृकुटी, ह्वेन शाङ र अरनिकोका उस्तै र उत्रै मूर्तिहरू दुवै मुलुकमा स्थापना गर्ने ।
  • सम्बद्ध मन्त्रालयहरूले सन् २०२२ सम्म २०१९ का तुलनामा द्विपक्षीय लगानी, पर्यटन र व्यापारलाई दुई गुणा बनाउने लक्ष्य राखी सो हासिल गर्न आवश्यक रणनीति र योजना सार्वजनिक गर्ने ।
  • द्विपक्षीय सबै संयन्त्रको बैठक यो वर्ष कम्तीमा एकपटक बस्ने । हालसम्म भएका सन्धि–सम्झौता, समझदारी र परियोजनाको कार्यान्वयनलाई तीव्रता दिने र सम्बन्ध विस्तारका क्षेत्र पहिल्याई उपयुक्त प्रस्ताव गर्ने । परियोजना कार्यान्वयनका सम्बन्धमा समयसीमासहितको कार्ययोजना सार्वजनिक गर्ने ।
  • कोभिड–१९ बाट थलिएको अर्थतन्त्रलाई शीघ्र पुनर्जीवन दिन सहकार्य गर्ने । विपत् व्यवस्थापनमा द्विपक्षीय सहयोगलाई सुदृढ बनाउने । साथै, महामारी र जलवायु परिवर्तनजस्ता साझा मानवीय चुनौती सामना गर्न तथा विश्वभरका द्वन्द्वको वार्ताद्वारा शान्तिपूर्ण समाधान, क्षेत्रीय स्थायित्व, दिगो, न्यायपूर्ण र समतामूलक विकास एवं साझा समृद्धिका लागि अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मञ्चहरूमा सहकार्य गर्ने ।

दुवै मुलुकमा विगत ६५ वर्षका उपलब्धि, भावी सम्भावना, चुनौती र समाधानका उपायसहित दुवैतिरका सांस्कृतिक वैभव, प्राकृतिक सुन्दरता तथा मानव प्रयत्नका उच्चतम उपलब्धि समेटी नेपाली र चिनियाँ दुवै भाषामा नेपाल र चीनमा मुद्रण तथा श्रव्यदृश्य सामग्रीहरू तयार गराई प्रकाशन र प्रसारण गर्ने । यी सबै कार्यक्रम कोभिड–१९ का कारण सन् २०२१ अगस्त १ सम्म सम्पन्न गर्नु व्यावहारिक हुनेछ ।

नेपाल र चीन सुख–दुःखका साथी हुन् । यस अवसरमा दुवै देशका जनताको हित हुने गरी हिमालपार बहुआयामिक सम्पर्क सञ्जालको विकास गरी उज्यालो भविष्य निर्माण गर्न दुवै मुलुकका नेतृत्व र जनताले साझा संकल्प र साझा प्रयत्न गरौं । हाम्रो भविष्य हाम्रै हातमा छ ।

प्रकाशित : श्रावण १६, २०७७ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?