कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बच्चाको श्रवणशक्ति

पविना रायमाझी

हाम्रो शरीरका पाँच इन्द्रियमध्ये कान पनि महत्त्वपूर्ण इन्द्रिय हो । मानवले सिक्ने र बुझ्ने प्रक्रिया आमाको गर्भावस्थामै सुनेर सुरु गर्छ, जसलाई ज्ञानको पहिलो चरणका रूपमा पनि लिने गरिन्छ । अनि त्यसमा श्रवणशक्तिकै मुख्य भूमिका हुने गर्छ । तर, सबैमा यो क्षमता एक समान हुँदैन ।

बच्चाको श्रवणशक्ति

विश्व स्वास्थ्य संगठनका अनुसार, विश्वमा करिब ४.६ प्रतिशत जनमानसमा सुस्तश्रवणको समस्या छ । नेपालमा भने लगभग १६.६ प्रतिशत जनसंख्यामा यो समस्या छ । विशेषतः बालबालिकामा बहिरोपनका कारण बोली र भाषाको विकासमा प्रत्यक्ष असर पर्छ, दैनिक क्रियाकलाप र ज्ञानको विकासक्रमसमेत प्रभावित हुन्छ ।

कानलाई साधारणतया बाहिरी कान, मध्य कान, भित्री कान गरी तीन भागमा विभाजन गरिन्छ । यीमध्ये कुनै एकमा समस्या आए सुन्ने क्षमतामा असर पर्छ । बाहिरी र मध्य कानमा समस्या भए आवाज भित्री कानसम्म पुग्न सक्दैन, जसलाई ‘कन्डक्टिभ हियरिङ लस’ भनिन्छ । भित्री कानको या श्रवण नसामा हुने समस्यालाई ‘सेन्सर न्युरल हियरिङ लस’ भनिन्छ । बालबालिकामा कमजोर श्रवणशक्ति मुख्यतः दुई किसिमले हुन्छ— जन्मैदेखि वा जन्मपछि । जन्मिँदै हुने कम श्रवणको समस्याको मुख्य कारणमध्ये आनुवंशिक र गैरआनुवांशिक हुन्छ । गैरआनुवांशिक समस्या उब्जिनुका कारक हुन्— गर्भावस्थामा आमालाई संक्रमण हुनु, जन्मँदा बच्चालाई अक्सिजनको मात्रा कम हुनु, कम तौलको वा परिपक्व नभई जन्मनु, गर्भवती आमाले बच्चालाई हानि हुने औषधि सेवन गर्नु, आमा दीर्घरोगी (मधुमेह, थाइराइड लगायत) हुनु आदि ।

नवजात शिशुलाई ४८ घण्टाभन्दा बढी एनआईसीयुमा राखे, उच्च चापको कमलपित्त भए, गलफुलो वा दादुरा वा मेनिन्जाइटिस भए, कानलाई हानि हुने औषधिको प्रयोग गरे, बच्चाको विकासक्रमसँगै तीव्र ज्वरो आएचाहिँ जन्मेपश्चात् कम सुन्ने समस्या हुन्छ । बच्चा बढ्दै जाँदा केही समयपछि बाहिरी कानमा धेरै कानेगुजी जम्मा भए, कानमा बाहिरी वस्तुहरू अड्किए, चर्को ध्वनि सुन्ने गरे, टाउको या कानमा चोट लागे, बाहिरी वा मध्य कानमा मासु पलाए, कानको संक्रमण भई जालीमा प्वाल परे वा मध्य कानको हड्डीमा संक्रमण भए पनि श्रवणशक्ति कम हुन्छ ।

माथि उल्लिखित कारणहरूका अलावा जन्मँदा कानको बनावट असामान्य रहे वा बच्चाका अन्य अंगमा समस्या देखिए, शारीरिक र मानसिक विकासमा सुस्तता देखिए पनि श्रवणशक्तिमा अवरोध उत्पन्न हुन सर्क्छ । यसर्थ, हरेक अभिभावकले आफ्ना बालबालिकाले आवाज सुनेका छन् कि छैनन् भनेर ख्याल राख्नु अत्यावश्यक हुन्छ । भनिन्छ, रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नदिनु नै उत्तम उपाय हो । बच्चाको श्रवणशक्तिमा समस्या नआओस् भनी गर्भावस्थामै आमाले आफ्नो स्वास्थ्यको ख्याल राख्नुपर्छ । चिकित्सकको सल्लाहबेगर जथाभावी औषाधि सेवन गर्नु हुन्न । जन्मेपश्चात् बच्चाको श्रवणशक्तिमा विशेष ध्यान दिनुपर्छ । विकसित देशहरूमा बच्चाको श्रवणशक्ति अनिवार्य परीक्षण (हियरिङ स्क्रिनिङ) गर्ने व्यवस्था हुन्छ । केही वर्षयता नेपालका केही अस्पतालमा पनि यो सेवा उपलब्ध हुँदै आएको छ ।

अभिभावकहरूले आफ्ना बालबालिकाको श्रवणशक्तिमा समस्या आउन नपाओस् भनी समयमा खोप लगाउने, कानमा तेल नहाल्ने, सुताएर स्तनपान नगराउने, जथाभावी कान नकोट्याउने, कान पाकेको अवस्थामा चिकित्सकको सल्लाह लिने, उच्च ध्वनिबाट टाढै राख्ने, पौष्टिक खाना र सरसफाइमा ध्यान दिने गर्नुपर्छ । बाहिरी र मध्य कानसम्बन्धी कतिपय समस्या औषधिको प्रयोगबाट हटाउन सकिन्छ । मध्य कानको जाली वा हड्डीको समस्या भए साधारण शल्यक्रियाबाट निराकरण गर्न सकिन्छ । भित्री कानमा वा श्रवण नसाकै समस्या भए श्रवणयन्त्रको प्रयोग गर्न सकिन्छ । श्रवणयन्त्रको मद्दतले समेत फाइदा हुन नसके कक्लियर इम्प्लान्ट शल्यक्रिया गर्नुपर्छ । यो शल्यक्रिया बच्चा दुई वर्षको हुँदासम्म गर्न सके उसमा मातृभाषा बोल्ने क्षमताको विकास पूर्ण रूपमा हुन्छ र ज्ञानको विकासमा मद्दत पुग्छ । यो सुविधा काठमाडौंका सीमित अस्पतालमा मात्र छ । सुस्तश्रवण भएकाहरूको लक्षणको पहिचानमा अभिभावकको मुख्य भूमिका हुन्छ । बच्चामा बोलीको विकास ढिलो हुनुको मुख्य कारण श्रवणशक्ति पनि हो । यस्तो लक्षण देखिए नाक कान घाँटी विशेषज्ञको परामर्श लिइहाल्नुपर्छ ।

(नाक, कान, घाँटी विशेषज्ञ रायमाझी महाराजगन्ज मेडिकल क्याम्पसकी सह–प्राध्यापक हुन् )

प्रकाशित : श्रावण ५, २०७७ ०७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?