कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तर्क मात्र पर्याप्त छैन

पश्चिम रुकुमको घटनाले कथित उचनीचमा विभाजित नेपाली समाज अझै पनि सामन्ती जात व्यवस्थामै मग्न छ भन्ने छर्लंग पारेको छ ।
सन्तोष परियार

पश्चिम रुकुमको चौरजहारी–८, सोतीमा ६ जनाको ज्यान लिने गरी भएको घटनाको ठ्याक्कै दुई दिनपछि अर्थात्, गएको मे २५ मा संयुक्त राज्य अमेरिकामा प्रहरीले अश्वेत नागरिक जर्ज फ्लोइडको खुट्टाले घाँटी थिचेर हत्या गरिदियो ।

यस घटनाले लोकतन्त्र र मानवाधिकारमा आफूलाई मसिहा ठान्ने अमेरिकाको वास्तविक चरित्रलाई सतहमा ल्याइदिएको छ । यता, रुकुममा वर्णाश्रमको पापाचार र जातीय अहंकारका कारण नेपाली समाज कति अमानवीय, क्रूर र हिंस्रक बन्न सक्छ भन्ने यथार्थ बोध गराएको छ । साथै, सर्वथा रूपान्तरणकारी भनिएको दशक लामो माओवादी आन्दोलनको उद्गमस्थलमा भएको यस घटनाले माओवादी आन्दोलनले सामाजिक–राजनीतिक मुद्दाहरूमा सहरलाई भन्दा दूरदराजका जनतालाई प्रशिक्षित गर्‍यो, जागरुक बनायो भन्ने हाम्रो विश्वासलाई फिक्का बनाइदिएको छ । र, द्वन्द्वकालीन माओवादी सांस्कृतिक रूपान्तरणको वस्तुपरक लेखाजोखा गर्नुपर्ने यथार्थको उद्घाटन गराइदिएको छ ।

जर्ज फ्लोइडको हत्यापछि श्वेत–अश्वेत सबै अमेरिकीले गरेको व्यापक प्रदर्शनले लोकतन्त्र र मानवाधिकारप्रति अमेरिकी समाजका मूल्यमान्यतालाई राजनीतिले अवमूल्यन गर्न पाउँदैन भन्ने सशक्त सन्देश दिएको छ भने, रुकुम घटनापछि कथित उचनीचमा विभाजित नेपाली समाज अझै पनि सामन्ती जात व्यवस्थामै मग्न छ भन्ने छर्लंग भएको छ । र, यो संसारको आजसम्मको इतिहासलाई वर्ग संघर्षको इतिहास भन्ने दर्शन बोकेका मार्क्सवादी–माओवादी नेताहरूलाई भोटको चाणक्य राजनीतिले वर्गीय हैन जातिवादी दलदलमा डुबाएको प्रस्ट पारिदिएको छ । जात व्यवस्थाले धर्म–संस्कृतिका आडमा आफ्नो कुलबाहेक प्रत्येक मानिसलाई सानो कि ठूलो देख्छ । यो व्यवस्थामा यति धेरै दृष्टिदोष छ, यसले मानिसको सौन्दर्य, गुण, दोष र क्षमतामा पनि नस्लीय प्रभाव स्विकारिदिन्छ अनि मानिसको वैज्ञानिक उत्पत्तिको सिद्धान्तलाई नै अस्वीकार गरिदिन्छ । जात व्यवस्थाले निश्चित जातीय परिधिभन्दा बाहिर सपना देख्न दिँदैन । अझ, भारतीय उपमहाद्वीपमा रहेका तमाम दलितलाई त यसले व्यक्तिको क्षमतानुसारको सपनाको कुरै छोडौं, मानिस भएर बाँच्नसम्म दिँदैन ।

जात व्यवस्थाका आधारमा स्थापित समाजले इटालीका चिन्तक एन्तोनियो ग्राम्स्कीले भनेझैं, उच्च जातीय हैकमलाई स्विकार्छ जसका कारण इतिहासको हरेक मोडमा शोषित–उत्पीडित वर्ग शासक–उत्पीडक वर्गको हितमा लड्छ र आफ्नो जातीय एवं वर्गीय उत्पीडनलाई जानी–नजानी स्वीकर गर्छ । रुकुम घटनापछि, त्यही क्षेत्रबाट निर्वाचित संघीय सांसद तथा पूर्वगृहमन्त्री जनार्दन शर्माले पीडकहरूका पक्षमा बोलेर, सकेजति गरेर र पीडितहरू रहेको जाजरकोटबाट निर्वाचित सांसद एवं वर्तमान सरकारका मन्त्रीसमेत रहेका शक्ति बस्नेतले चुइँक्क नबोलेर ग्राम्स्कीले भनेझैं उच्च जातीय प्रभुत्वलाई प्रमाणित गरिदिएका छन् । यसका कारण हाम्रो सभ्यताको जगै हल्लाउने यति क्रूर जातीय हिंसामा पनि पीडकहरूले नै राजनीतिक संरक्षण पाउने खतरा देखिरहिएको छ ।

जातीय विभेदभित्रको पनि छुवाछूतजस्तो निकृष्ट अमानवीय व्यवहारका कारण भएको घटनालाई पनि अमेरिकातिर देखाएर औधी सामान्य प्रकृतिको ठान्ने गृहमन्त्रीको बुझाइ अनि यसलाई उच्च जातीय अहंकारले सिर्जित हिंसाभन्दा फरक बनाउन सरकारका महान्यायाधिवक्ताले गरेको चेतावनीसहितको विनम्र अनुरोधले स्पष्ट पारिदिएको छ— सरकार घटनाको निष्पक्ष छानबिन र न्याय सम्पादनमा हैन, राजनीतिक जोडघटाउमा लागिपरेको छ । घटनाकी प्रमुख योजनाकार र आक्रमणमा पनि प्रत्यक्ष संलग्न भनिएकी प्रकाशी मल्ललाई सामान्य धरौटीमा छोड्न आदेश दिएर जिल्ला अदालत रुकुम पश्चिमले यसलाई पुष्टि गरिदिएको छ । स्थलगत अध्ययन प्रतिवेदनहरू अनुसार, निहत्था ६–६ युवालाई चार गाउँ मिलेर बाटो छेकी विभिन्न घरेलु हतियारले जंगली युगमा एउटा समूहले अर्को समूहलाई झैं बर्बरतासाथ मारिएको छ । तर स्थानीय राजनीतिज्ञहरू, जनताको न्यायसँग जोडिएका केही जिम्मेवार अधिकारीहरू नयाँनयाँ कथा बुनिरहेका छन् र सिंगो समाज नै आहत भएको घटनाको फरक भाष्य निर्माण गर्न तल्लीन छन् ।

जर्ज फ्लोइडको घटनापछि देखिएको अमेरिका र नवराज विक घटनापछि देखिएको नेपाल समकालीन विश्वका दुई फरक उपल्लो र नीच सामाजिक–राजनीतिक चेतना भएका समाज हुन् । उता एउटा समाज छ, जुन रंगका आधारमा राज्यले गरेको विभेदविरुद्ध एकताबद्ध हुन्छ, संघर्ष गर्छ । यता अर्को समाज छ, जो राज्यभन्दा पनि माथि छ, विभिन्न कालखण्डमा भएका सामाजिक–राजनीतिक परिवर्तनका आधारभूत मान्यताहरूलाई मान्दैन र कानुनी राज्यको खिल्ली उडाउँछ । विश्वविख्यात दार्शनिक कार्ल मार्क्सले आफू बाँचेको युरोपेली समाजलाई टाउकाले टेकेको संज्ञा दिएका थिए । सायद मार्क्सले हामी बाँचिरहेको हिन्दु जात व्यवस्था भएको समाज देखेका भए यसलाई उच्च जातीय अह‌ंकार, घृणा र हिंसाले टेकेको समाज भन्ने थिए । उनले यो पनि भनेका थिए— समाज जस्तो हुन्छ, व्यक्ति पनि अपवादमा बाहेक त्यस्तै हुन्छ । त्यही भएर होला, एउटा अश्वेत नागरिकको हत्यामा श्वेत अमेरिकीहरूले हाम्रोजस्तो अन्य कथा बनाउने कष्ट गरेनन्, रंगभेद प्रस्ट देखे र आन्दोलनमा होमिए ।अनि मार्क्सले भने जस्तै भएरै होला, उच्च जातीय अहंकारकै कारण भएको सामूहिक हत्यालाई पनि केही अपवादमा समाजभन्दा फरक रहेका बाहेकका गैरदलितहरूले जातीय विभेदका कारण घटना भएको भनी देख्न सकेनन् र त्योभन्दा फरक कथाहरू निरन्तर खोजिरहे, अझै खोजिरहेका छन् ।

रुकुम घटनाबारे सामाजिक सञ्जालमा गरिएका टीकाटिप्पणी पनि उदेकलाग्दा छन् । यति स्पष्ट घटनामाथि पनि अस्पष्ट र साह्रै संयमित अभिव्यक्ति दिएर आफूलाई परिवर्तनका पक्षमा रहेको प्रगतिशील कित्तामा उभ्याउन प्रयासरत एउटा झुन्ड छ, जो घटनामा भएको निर्ममताको विरोध त गर्छ तर यसलाई जातीय रंग नदिऔं भन्छ । अर्को पढे–लेखेका विद्वान्हरूको समूह छ, जो समाज बुझेको ढोङ त गर्छ तर मौका पाउनेबित्तिकै परिवर्तनविरुद्ध लागिहाल्छ । सदियौंदेखि उत्पीडनमा पारिएकाहरूको उत्थानमा बाधा हाल्न हरसम्भव प्रयास गरिरहन्छ । आफ्नै क्षमतामा विश्वास गर्दैन र उत्पीडितहरूको दलनमै आफ्नो क्षमता संरक्षित गर्न खोज्छ । यो समूहको सोच यति नस्लीय छ, आफ्नै जातलाई मात्र महान् सम्झिन्छ । सधैं धर्म–संस्कृतिको कुरा गर्ने अनि पूर्वीय शास्त्रहरूलाई नै ज्ञानको अन्तिम स्रोत मान्ने अझ अर्को धार्मिक अनुयायीहरूको समूह छ । शुद्धतामा ऊ ब्राह्मण खोज्छ । ब्राह्मणकै संरक्षण गर्छ । ब्राह्मणको हित नै उसको धर्म हो । विभेद र शोषणका अनेक औपनिवेशिक घटना र तर्कहरू खोज्छ । सट्टामा, आफ्नै धर्मले बसालेको समाजको गल्ती देख्दैन । सार्वजनिक र औपचारिक स्थानहरूमा धर्मले विभेद गर्दैन भन्छ । जन्मँदा सबै शूद्र हुन्छन्, कर्मले मात्र कोही ब्राह्मण हुन्छ भनी अलापिरहन्छ तर थर हेरेर व्यवहार गर्छ । माथि उल्लिखितभन्दा फरक, साँचो अर्थमा परिवर्तन चाहने एउटा गैरदलित समूह छ, जो समाजमा विद्यमान हरेक शोषण एवं दलनविरुद्ध उभिन्छ । ऐतिहासिक रूपमा दलितहरूमाथि भएको पीडालाई महसुस गर्छ र दलितहरूमाथि हुने सबै प्रकारका भेदभाव तथा उत्पीडनविरुद्ध वकालत मात्रै गर्दैन, हातमा हात मिलाउँछ ।

माथि उल्लेख गरिएकामध्ये अघिल्ला दुई समूहले नै रुकुम घटनालाई जातीय नबनाऔं भनेर अनुनय–विनय गरिरहेका छन् । स्मरण रहोस्, जसले यस घटनालाई जातीय नबनाऔं भनिरहेका छन्, यथार्थमा उनीहरू नै बढी जातीय बनाउँदै छन् । उनीहरूले त यसलाई ‘तल्लो जातीय’ होइन, ‘उच्च जातीय’ बनाऔं भनेका हुन्, ताकि पीडकहरूलाई संरक्षण गर्न सकियोस् । यीबाहेक रुकुम घटनालाई लिएर अनेक गैरजिम्मेवार भनाइहरू पनि सार्वजनिक भइरहेका छन्, जसले प्रत्यक्ष–अप्रत्यक्ष रूपमा पीडितको मानमर्दन (भिक्टिम सेमिङ) त्यसरी नै गरिरहेका छन्, जसरी बेलाबेला बलात्कारजस्तो आपराधिक घटनामा पनि पितृसत्तात्मक दम्भले अनेक तर्क गरेर गर्ने गर्छ । हामी स्विकारौं, हाम्रो समाजमा व्याप्त ब्राह्मणवाद, जातिवाद र धर्मवादले गर्दा नै रुकुममा जातीय हिंसाको पराकाष्ठा भएको हो । सत्यलाई अस्वीकार गरेर न्याय सम्भव छैन ।

अन्त्यमा, सन् १८६६ मा पहिलोपटक ‘रसियन म्यासेन्जर’ शीर्षक साहित्यिक जर्नलमा छापिएको फ्योदोर दोस्तोएभ्स्कीको उपन्यास ‘क्राइम एन्ड पनिसमेन्ट’ मा एक वृद्धाको हत्या गर्ने पात्र रादिओन रास्कोलनिकोभ अन्ततः सत्यको बोध गर्छ । ऊ भन्छ, ‘जीवनका लागि तर्कहरू मात्र पर्याप्त छैनन् । तर्कभन्दामाथि आस्था छ । तर्कभन्दा बलियो छ प्रेम र सद्भाव ।’ प्रेम र सद्भाव त्यति बेला सम्भव छ जति बेला न्याय र समानता स्थापित हुन्छ ।

प्रकाशित : असार २३, २०७७ १०:०५
प्रतिक्रिया
पठाउनुहोस्

भक्तपुर क्यान्सर अस्पतालका ४ कर्मचारीलाई कोरोना संक्रमण

कान्तिपुर संवाददाता

भक्तपुर — सोमबार भक्तपुर क्यान्सर अस्पतालका ४ कर्मचारीसहित  ९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुर प्रमुख एसपी तारादेवी थापाका अनुसार सोमबार अस्पतालमा कार्यरत भक्तपुर नगरपालिका–१ दूधपाटीका एक जना पुरुष, कालिघाट ब्यासीका २४ वर्षीय पुरुष, ब्यासीकै २१ वर्षीया महिला र भक्तपुर–९ च्याम्हासिंहकी ३३ वर्षीया महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भक्तपुरका १० जनामा कोरोना संक्रमण पुष्टि भएको बताए पनि एक जना काठमाडौं चाबहिल निवासी ४२ वर्षीय पुरुष भएको स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ । चाँगुनारायण नगरपालिका–१ दुवाकोटका ३४ वर्षीय पुरुष, वडा नम्बर २ दुवाकोटकी २७ वर्षीया महिला, वडा नम्बर ७ खरिपाटीकी ३० वर्षीया महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । खरिपाटी निवासी संक्रमित महिला भक्तपुर क्यान्सर अस्पतालबाट रिफर भई पाटन अस्पतालमा उपचाररत रहेको स्वास्थ्य कार्यालय भक्तपुर प्रमुख स्वास्थ्य अधिकृत कृष्णबहादुर मिजारले बताए ।

त्यस्तै, सूर्यविनायक नगरपालिका–२ बालकोटका २३ वर्षीय पुरुष र वडा नम्बर ५ का अढाई वर्षीय बालकमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित बालक सिद्धि स्मृति अस्पताल आदर्शमा उपचाररत थिए । संक्रमित सबैको ट्राभल हिस्ट्री तथा कन्ट्याक्ट ट्रेसिङ भइरहेको एसपी थापाले बताइन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार मात्रै काठमाडौं उपत्यकामा मात्रै ५४ जनामा कोरोना पुष्टि भएको थियो ।

प्रकाशित : असार २३, २०७७ ०९:५२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×