कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५१

सुन्दर भविष्यका लागि हातेमालो

बाटो लामो भए पनि हिँडिरहे अवश्य पुगिन्छ, काम गाह्रो भए पनि गरिरहे अवश्य पूरा हुन्छ
होउ यान्छी

काठमाडौँ — दोस्रो विश्वयुद्धको अन्त्य र संयुक्त राष्ट्रसंघ स्थापनाको ७५औं वर्ष हो अहिले । ७५ वर्ष पछिको यो समयमा विश्वभरि नोवल कोरोना भाइरसको महामारी फैलिरहेको छ । अहिलेसम्म यो महामारी २१० भन्दा बढी देश र क्षेत्रहरूमा पुगिसकेको छ । यसले ४ लाखभन्दा बढी मानिसको ज्यान लिइसकेको छ ।

सुन्दर भविष्यका लागि हातेमालो

र, विश्वभरका मानिसका लागि गम्भीर खतरा बनिरहेको छ । संयुक्त राष्ट्रसंघका महासचिव आन्टोनियो गुटरेसले भन्नुभएको छ, ‘दोस्रो विश्वयुद्धपछि सार्वजनिक स्वास्थ्यलाई विश्वव्यापी रूपमा सबैभन्दा गम्भीर असर पारेको अप्रत्याशित घटना हो यो ।’ उहाँले विश्वलाई इतिहासका पाठ नबिर्सी महामारीविरुद्ध संयुक्त रूपमा लड्न एवं शान्तिपूर्ण, सुरक्षित र स्वाभिमानयुक्त भविष्यको निर्माण गर्न अपिल गर्नुभएको छ ।

विज्ञान र प्रविधिमा भएका क्रान्तिहरू र भूमण्डलीकरणको विकाससँगै अहिले पृथ्वीका हरेक देश र व्यक्तिको भाग्य अनि भविष्य ७५ वर्षअघिभन्दा धेरै नजिकबाट जोडिएको छ । विश्व बैंकको तथ्यांक अनुसार, विश्वको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा निर्यात र सेवा व्यवसायको अनुपात सन् १९७० को १३.६४ प्रतिशतबाट बढेर २०१८ मा ३०.१ प्रतिशत पुगेको छ । स्वीस आर्थिक अनुसन्धान संस्थाबाट प्रकाशित तथ्यांक अनुसार, भूमण्डलीकरण सूचाकाङ्क १९७० को ३८.४ बाट बढेर २०१७ मा ६२.१ पुगेको छ । त्यस्तै सरुवा रोग, आर्थिक संकट, जलवायु परिवर्तन, आतंकवादजस्ता नयाँ सुरक्षा जोखिमहरूले पनि मानवजातिका विभिन्न पक्षलाई अत्यधिक असर गर्न थालेका छन् । उदाहरणका लागि, विश्व बैंकले २०२० मा प्रत्येक देशको अर्थतन्त्रमा गम्भीर असर पर्ने पूर्वानुमान गरेको छ र विश्व आर्थिक वृद्धिमा ५.२ प्रतिशतले गिरावट आउने बताएको छ । मानवजाति अहिले एकलाई लाभ भए सबैलाई लाभ हुने, एकको नोक्सान भए सबैको नोक्सान हुने साझा भाग्यको समष्टि बनिसकेको छ ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले हरेक कोणबाट विश्व–परिस्थितिबारे विचार गर्दै मानवजातिको साझा भाग्यको समष्टिको निर्माण गर्नुपर्ने बताउनुभएको थियो । साथै, मानवजातिले विश्वव्यापी समस्याको सामना र समाधान संयुक्त रूपमा गर्नुपर्ने उल्लेख गर्दै कुनै पनि देश आसन्न चुनौतीहरूसँग एक्लै जुझ्न नसक्ने औंल्याउनुभएको थियो । दिगो शान्तिपूर्ण, सुरक्षित, सामूहिक समृद्धिशाली, खुला तथा समावेशी, स्वच्छ सुन्दर विश्वको निर्माणमा सम्पूर्ण देशले हातेमालो गर्नुपर्छ । यी महत्त्वपूर्ण अवधारणाहरू धेरैपटक संयुक्त राष्ट्रसंघको दस्तावेजमा लेखिएका छन् र ती अहिले सम्पूर्ण विश्वको मान्यताप्राप्त अन्तर्राष्ट्रिय सम्बन्धका आधार बनिसकेका छन् ।

चीनले जिम्मेवार ठूलो देशका रूपमा मानवजातिको साझा भाग्य समष्टिको अवधारणाबारे बोल्दै आएको मात्र होइन, त्यसलाई साकार बनाउन काम पनि गर्दै आइरहेको छ । चीन देशभित्र हामीले पूर्वी भूभागका विकसित प्रान्तहरूले मध्य तथा पश्चिमी भूभागका कम विकसित प्रान्त र क्षेत्रहरूलाई सहयोग गर्ने व्यवस्था मिलाई सम्पूर्ण देशको समन्वयात्मक विकासलाई सम्भव तुल्याएका छौं । यस वर्ष हामीले निरपेक्ष गरिबीको निवारण गरी सम्पूर्ण जनतालाई एकसाथ मध्यमवर्गीय हैसियतमा उकास्दै छौं । अन्तर्राष्ट्रिय जगत्मा हामी ‘संयुक्त सरसल्लाह, संयुक्त निर्माण र संयुक्त उपभोग’ को नीति अन्तर्गत नेपाललगायतका अन्तर्राष्ट्रिय समुदायमा ‘बेल्ट एन्ड रोड’ को निर्माणलाई सक्रिय रूपमा अघि बढाउँदै छौं । त्यसअन्तर्गत १५० भन्दा बढी देश तथा अन्तर्राष्ट्रिय संस्थासँग १७० भन्दा बढी सहकार्य दस्तावेजमा हस्ताक्षर भइसकेको छ । हामीले ‘आयात एक्स्पो’ को आयोजनालगायतका माध्यमबाट सक्रिय रूपमा आयात र बाहिरी विश्वतर्फको खुलापनलाई बढाएका छौं । हरेक देशलाई बजारको अवसर प्रदान गरेका छौं र प्रोत्साहन दिएका छौं ।

भाइरसको राष्ट्रिय सीमा हुँदैन । रोगले मानिसलाई यो जातिको, त्यो जातिको भन्दैन । महामारीको सामना गर्न मानवजातिको साझा भाग्य पुनः एकपटक एकसाथ प्रयास नगरी नहुने स्थानमा पुगेको छ । हामीले मानवजातिको साझा भाग्यको समष्टिको चेतनालाई जगाउन सकेमात्रै हाम्रा हेर्ने आँखाहरू ढाकिएलान् कि भनेर डराउनुपर्दैन । एकसाथ मिल्ने र सहयोग गर्ने दिशामा अघि बढिरह्यौं भने मात्र यो धूवाँ नदेखिएको युद्ध जित्न सक्छौं । सम्पूर्ण मानवजातिको समृद्धिलाई बढाई संयुक्त राष्ट्रसंघको बडापत्रमा उल्लिखित ‘हाम्रा साझा प्रयासबाट यी लक्ष्य प्राप्त गर्नेछौं’ भन्ने वाक्यलाई साकार बनाउन सक्छौं ।

कोरोना महामारी सुरु भएदेखि चीनले विभिन्न सूचना तथ्याङ्क, उपयोगी अनुभव तथा उपचार विधि आदानप्रदान, रोग परीक्षण, चिकित्सा उपचार, खोप तथा औषधिको अनुसन्धानमा सक्रिय रूपमा अन्तर्राष्ट्रिय सहकार्य गर्दै आएको छ । करिब १५० देश र ४ अन्तर्राष्ट्रिय संस्थालाई संकटकालीन सहयोग प्रदान गरेको छ । १७० भन्दा बढी देशका स्वास्थ्यकर्मीसँग चिनियाँ विशेषज्ञहरूको भिडियो कन्फरेन्स आयोजना गरी परिपक्व उपचार अनुभव र रोकथामका उपायबारे विचार आदानप्रदान गरेको छ । अत्यन्त आवश्यक परेका २४ देशमा विशेषज्ञ चिकित्सकहरूका २६ टोली पठाएको छ । विभिन्न देशमा ५६ अर्ब ८० करोड वटा मास्क र २५ करोड वटा सुरक्षा पहिरन (पीपीई) निर्यात गरेको छ । हालै सम्पन्न विश्व स्वास्थ्य संगठनको ७३औं बैठकमा राष्ट्रपति सी चिनफिङले चीनमा नोवल कोरोना भाइरसको खोपको अनुसन्धान पूरा भएर प्रयोग गर्न थालिएपछि त्यसलाई सम्पूर्ण विश्वको साझा उपयोगको वस्तुका रूपमा विकासशील देशहरूका लागि सुलभ र सुपथ मूल्यको बनाउन चीनको योगदान रहने घोषणा गर्नुभएको थियो । किनभने हामीलाई राम्ररी थाहा छ, विश्व राम्रो भएमात्र चीन राम्रो हुनसक्छ, चीन राम्रो भएमात्र विश्व अझ राम्रो हुनेछ ।

अहिले महामारी फैलिँदै जान सक्ने परिप्रेक्ष्यमा प्रत्येक देशले यसको नियन्त्रणलाई व्यवस्थित गर्ने पूर्वसर्तमा बिस्तारै उत्पादन कार्य पुनः प्रारम्भ गर्ने, संयुक्त रूपमा उत्पादन शृङ्खलालाई स्थिर र सुचारु बनाई विश्व–अर्थतन्त्रलाई पुनर्जीवित गर्ने प्रयास गर्नुपर्छ । मानवजातिको साझा भाग्यको समष्टिको अवधारणाको निर्देशनअन्तर्गत चीन अन्य देशका साथ बृहत अर्थनीतिक समन्वय र सम्पूर्ण विश्वको महामारीविरुद्धको सहकार्यलाई अघि बढाउन चाहन्छ, सम्पूर्ण मानवजातिको विकास एवं समृद्धिका लागि चिनियाँ सूत्र र चिनियाँ ज्ञान–विवेक प्रदान गर्न चाहन्छ । विश्वमा महामारी नियन्त्रण भएपछि विश्व स्वास्थ्य संगठनको निर्देशनमा विश्वभरको महामारीविरुद्धको कार्यको सर्वपक्षीय मूल्याङ्कन गर्ने, विश्व सार्वजनिक स्वास्थ्य सुरक्षा व्यवस्थापन संयन्त्रको विकास गर्ने, अप्रत्याशित सार्वजनिक स्वास्थ्यसम्बन्धी समस्या सामना गर्ने क्षमता बढाउने, विश्वको सार्वजनिक स्वास्थ्य व्यवस्थापनको विकास गर्ने, संयुक्त रूपमा मानवजातिको साझा स्वास्थ्यको एक समष्टिको निर्माण गर्ने कुराको पनि चीन समर्थन गर्छ ।

हामीलाई स्पष्ट रूपमा थाहा छ, भविष्य उज्ज्वल छ तर बाटो लामो र घुमाउरो छ । मानवजातिको साझा भाग्यको समष्टिको निर्माण अवरोधविहीन हुनेछैन । त्यस प्रक्रियामा कुनै देश अथवा शक्तिको आत्मस्वार्थवाद, एकलवाद, सुरक्षावाद, प्रभुत्ववाद आदिको सामना गर्नुपर्ने हुन्छ । केही देश र राजनीतिज्ञहरू आफ्नो एउटा देशको स्वार्थलाई अगाडि राखी, अझ कोही त व्यक्तिगत स्वार्थका लागि महामारी नियन्त्रणलाई प्रमुख कार्य नबनाई महामारीलाई नै राजनीतिकरण गरी दोषारोपण गर्ने व्यस्त रहे । अनुचित दोषारोपणका माध्यमबाट आफ्नो जिम्मेवारीबाट पन्छिन खोजे । साथसाथै अरू देशको आन्तरिक मामिलामा हस्तक्षेप गरी मानिसहरूको ध्यान उतातिर आकर्षित गरी, सर्वसाधारण जनतालाई धोका दिई अर्को चुनावका लागि मत बटुल्ने सोच बनाउन पुगे । यसको अन्तिम परिणाम आत्मघात र अरूको घातबाहेक केही हुन सक्दैन । तर राष्ट्रपति सी चिनफिङले भन्नुभएजस्तै, ‘इतिहासको धार सदा अगाडि बढिरहेको हुन्छ । कुनै पनि शक्तिले इतिहासको अगाडि बढ्ने पाङ्ग्रालाई रोक्न सक्दैन ।’ बाटो लामो भए पनि हिँडिरहे अवश्य पुगिन्छ, काम गाह्रो भए पनि गरिरहे अवश्य पूरा हुन्छ । सहकार्य मात्रै गर्दै जानुपर्छ, हामी अवश्य पनि विश्वका लागि अझ सुन्दर भविष्यको निर्माण गर्न सक्छौं ।

यान्छी नेपालका लागि चिनियाँ राजदूत हुन् ।

प्रकाशित : असार ३, २०७७ १७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?